Tag: जनार्दन शर्मा

  • गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्री शर्माको विशेष अपिल

    गठबन्धनलाई बहुमतले विजयी गराउन अर्थमन्त्री शर्माको विशेष अपिल

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिहरुबीचको लडाइँ भएको भन्दै गठबन्धन पक्षधर उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् ।

    शर्माले सोमबार विशेष अपिल जारी गर्दै वाम–लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई बहुमतले विजयी बनाउन आग्रह गरेका हुन् ।

    शर्माले न्यायालयबाट संसद पुनःस्थापना भएर मुलुक गम्भीर राजनीतिक दुर्घटनाबाट बचे पनि अझै प्रतिगमनकारी जोखिम सम्पूर्णरुपमा परास्त भइ नसकेको दाबी गरेका छन् ।

    उनले एमालेको नाम नलिइ संसद विघटन गर्ने शक्तिलाई परास्त गर्न आह्वान गरेका छन् ।

  • अर्थमन्त्रीले भने- देशमा गरिबीको पनि अडिट गर्नुपर्ने समय आयो

    अर्थमन्त्रीले भने- देशमा गरिबीको पनि अडिट गर्नुपर्ने समय आयो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरुको भूमिका सहि हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताएका हुन् ।

    उनले नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको धारणा राखे ।

    अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गरे । उनले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको बिभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताए।

    उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगायतको पनि अडिट गर्नुपर्ने उनको भनाई छ । उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफु भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पारे ।

    उनले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्ने धारणा राखे ।

     

  • एनआरएनएसँग अर्थमन्त्रीको आग्रह: नेपाली बैंकमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ

    एनआरएनएसँग अर्थमन्त्रीको आग्रह: नेपाली बैंकमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।

    ‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।

    ‘६–७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ ।’

    विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए ।

    डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए । ‘एनआरएनमा संगठितलाई मात्रै होइन । नेपाली भन्ने कुनै पनि विवरण पेश गर्दा खाता खोल्न पाइनेगरी व्यवस्था गरेका छौं । यसमा एनआरएनएले सहजीकरण गरिदियोस् भन्ने हाम्रो आग्रह हो,’ मन्त्री शर्माले भने ।

  • अर्थमन्त्रीको आरोप: राष्ट्र बैंकका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाए

    अर्थमन्त्रीको आरोप: राष्ट्र बैंकका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाए

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् ।

    अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए ।

    ‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्‍याइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’

    यसअघि अर्थमन्त्री शर्माले व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका थिए ।

    मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पु¥याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे ।
    ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’

  • संसदमा एमसीसीमाथिको छलफल छल्न खोज्दै अर्थमन्त्री शर्मा

    संसदमा एमसीसीमाथिको छलफल छल्न खोज्दै अर्थमन्त्री शर्मा

    काठमाडौं । एमसीसी टेबल हुने दिन स्वास्थ्य अवस्था ठिक नभएको भन्दै संसद नगएका अर्थमन्त्री जनार्दन शर्मा आज पनि नजाने भएका छन् । माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहँदा अर्थमन्त्री शर्मा आजको छलफलमा पनि अनुपस्थित हुने भएका हुन् ।

    संसदमा एमसीसीको प्रक्रिया छल्न खोजिरहेका शर्माले हिजो फेसबुक स्ट्याटस लेख्दै पर्वतको एक कार्यक्रममा सहभागी हुने बताएका छन् । संसदको सम्भावित कार्यसूचीमा भने अर्थमन्त्री शर्माले नै आजको बैठकमा एमसीसीमाथि छलफलको प्रस्ताव पेस गर्ने उल्लेख छ ।

    यसअघि अर्थमन्त्री शर्माले नै एमसीसी टेबल गर्ने कार्यसूची थियो । शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

    एमसीसीमाथि छलफल गर्न आज १ बजे संसद बैठक बस्दैछ ।

  • करदाताको गुनासो सम्बोधन गर्न संयन्त्र बनाउने अर्थमन्त्री शर्माको घोषणा (भिडिओ)

    करदाताको गुनासो सम्बोधन गर्न संयन्त्र बनाउने अर्थमन्त्री शर्माको घोषणा (भिडिओ)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताएका छन्। दशौँ कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उनले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

    कर प्रशासनमा हुने झन्झट र कुनै अड्चन र समस्या आयो भने तत्काल समाधान गर्ने इकाइ बनाइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले भने,‘करदाताको गुनासो सुन्नुपर्छ, तत्काल एउटा इकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, कहाँ समस्या छ त्यहाँ तत्काल समाधान गर्नुपर्छ ।’

    व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उनले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए। ‘भन्सारमा भइरहेको ढिलाइका कारण व्यवसायीले दुःख व्यहोर्नु परेको छ, अब भन्सारमा स्क्यानर राखिनेछ, जसले व्यवसायीलाई आयातनिर्यातमा सहज गर्नेछ’, उनले भने ।

    अर्थमन्त्रीले कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने बताए । कर प्रशासनबाट करदातामैत्री व्यवहार हुनुपर्नेमा जोड दिँदै उनले करदताप्रति सरकारको विभेद्कारी नीति नहुने प्रष्ट पारे । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिको आवश्यकता रहेको र त्यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

    ‘तपाईंहरुलाई के चाहिन्छ भन्नुस्, आशङ्का दूर गर्नुस्, आयात प्रतिस्थापन, देशभित्रको साधनस्रोतको उपयोग नगर्दासम्म मुलुक समृद्ध हुनसक्दैन’, मन्त्री शर्माले भने । उनले जनताको सेवकका रुपमा काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिने ।

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न कर नीतिमा स्थिरताको खाँचो रहेको उल्लेख गर्दै करको दायरा विस्तार गर्ने तर करको दर वृद्धि नगर्ने सरकारको नीति रहेको बताए । ‘करदातालाई कर कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागेको छ, विभिन्न प्रक्रियागत र प्रणालीगत सुधार गरिएको छ’, कर प्रशासन सुधारमा चालिएको कदम प्रष्ट्याउँदै उनले भने ।

     

     

     

     

  • चन्द्रागिरी-चित्लाङ खण्डमा भएको ढुङ्गा व्यापार तत्काल बन्द गर्ने अर्थमन्त्री शर्माको भनाई

    चन्द्रागिरी-चित्लाङ खण्डमा भएको ढुङ्गा व्यापार तत्काल बन्द गर्ने अर्थमन्त्री शर्माको भनाई

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।

    शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताएका छन् ।

    ‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’

    अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए ।

  • अर्थमन्त्रीले भने- सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ

    अर्थमन्त्रीले भने- सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा नेपाल गरिबी अवस्थामा रहेको बताएका छन् ।

    विहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उनले सो कुरा बताएका हुन् ।

    ‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, शर्माले भने , ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’

    यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे ।

  • सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा: अर्थमन्त्री शर्मा

    सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा: अर्थमन्त्री शर्मा

    काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिएका छन् ।

    बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उनले दिनमा एक सिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढाउन नसकिने र पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले दुई सिफ्टमा काम गर्नुपर्नेमा जोड दिए।

    उनले भने, ‘विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन । रात्रि सिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुप¥यो, हामीले पनि बेलाबेला नसुतेरै अनुगमन गर्नुप¥यो ।’ निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले अब यससम्बन्धी कानुनमा सुधार ल्याउनुपर्ने धारणा राखे । मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताए ।

    बैठकमा मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारीसमेत दिए। अर्थ मन्त्रालयका अनुसार धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योग नयाँ ढाँचा बनाएर सञ्चालन गरिने छ ।

    यस्तै श्रम सहकारीहरुमार्फत रु १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम शुरु गरिने उहाँले बताउनुभयो । यसबाट देशमा थप पाँच लाख रोजगारी सिर्जना हुने बताइएको छ । उपभोक्ता समितिहरुबाट गर्नुभन्दा श्रम सहकारीहरुबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरु लाभान्वित हुने मन्त्री शर्माको भनाइ छ ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरुको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्नेमा जोड दिए । सीमित निर्माण व्यवसायीहरुको हातमा मात्र ७० प्रतिशत आयोजनाहरु सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको धारणा छ ।

    उपाध्यक्ष डा पौडेलले मुलुकको राजस्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानहरुको औचित्यमा प्रश्न उठाए। बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

  • निर्वाचन प्रणाली नै गलत भएको अर्थमन्त्रीको ठहर, पूर्णसमानुपातिक हुनुपर्ने तर्क

    निर्वाचन प्रणाली नै गलत भएको अर्थमन्त्रीको ठहर, पूर्णसमानुपातिक हुनुपर्ने तर्क

    काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा जान पूर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने तर्क गरेका छन् ।

    मंगलबार पेरिसडाँडामा आयोजित पार्टीनिकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्णबैठकलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन ।’

    अबको सन्दर्भमा संगठनको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउदै शर्माले पार्टी र जनवर्गीय संगठनहरुका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नुपर्ने बताए । ‘उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान सकिँदैन, हरेक कार्यकर्ता तिनको परिवारलाई आर्थिक रुपले आत्मनिर्भर बनाउनुपर्छ । त्यसो गर्नको लागि संगठनको हरेक इकालाई उत्पादनसँग जोड्नुपर्छ ।’

    पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान उनले आग्रह गरे ।

    राजनैतिक सत्ता परिवर्तन भएपनि पुरानो सामाजिक सांस्कृति सत्ता यथावतै रहेको चर्चा गर्दै उनले दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको बताए ।

  • जनार्दन शर्मा भन्छन्– प्रचण्डपथ छाडेदेखि माओवादीमा विघटन शुरु भयो

    जनार्दन शर्मा भन्छन्– प्रचण्डपथ छाडेदेखि माओवादीमा विघटन शुरु भयो

    काठमाडौं । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन शुरु भएको टिप्पणी गरेका छन्।

    शनिबार चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विचारको केन्द्रीकरणको महत्व अहिले आएर आफूहरुले बुझेको पनि बताए।

    ‘हामीले प्रचण्डपथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन शुरु भयो,’ शर्माले भने, ‘गुटबन्दी शुरु भयो । अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’

    प्रचण्डपथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माको भनाइ छ। ‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं,’ उनले भने, ‘प्रचण्डपथ निर्माण गरेका थियौं । प्रचण्डपथ भन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन । नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो ।’

    शर्माले थपे, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भवना, पछाडि परेका सबैको भावना जोडेर सामान्तवादका विरुद्ध प्रष्टरुपमा प्रहार गरेका थियौं ।’

  • बजेटको आकार घटाइयो, नयाँ बजेट- १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

    बजेटको आकार घटाइयो, नयाँ बजेट- १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

    काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ । नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

    अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १४ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

    कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

    वित्तीय हस्तान्तरण मध्ये चालु खर्चमा समानिकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४.११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड अर्थात १५.८९ प्रतिशत विनियोजन गरिएको छ ।

    चालु आर्थिक वर्षको अनुमान गरिएको खर्चको व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने उल्लेख गरिएकव छ । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजनमा खर्चमा न् राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा न्यून हुन जाने ५ खर्ब २२ अर्ब ९ करोड रूपैयाँमध्ये आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड व्यहोरिने अर्थमन्त्रालयले जनाएको छ ।

    भ्रमण र इन्धन खर्चको १० प्रतिशत कटौती

    सरकारले इन्धन र भ्रमण खर्च १० प्रतिशत कटौती गरेको छ । सरकारले भत्ता, इन्धन र भ्रमण खर्चको १० प्रतिशत बजेट कटौती गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश प्रस्तुत गर्दा इन्धन, भत्ता, सवारी लगायत मर्मतमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको बताए । कटौतीबाट वचत भएको ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदमा प्रयोग गरिने शर्माले बताए ।

    हेर्नुस् प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटको पूर्णपाठ:

  • प्रतिस्थापन विधेयक: केपी ओलीले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

    प्रतिस्थापन विधेयक: केपी ओलीले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत प्रत्यक पालिकाको केन्द्र जोडने गरि १४०० वटा सडक योजना खारेज गरेको छ। तत्कालीन एमालेको केपी ओली नेतृत्वको सरकारले एकैपटक थालेका ती सडकमा बजेट सुनिश्चितता नभएकाले खारेज भएका हुन् ।

    पूर्वाधार विकासमा पूर्वसरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई स्रोत अभावमै ल्याएको भन्दै अर्थमन्त्री शर्माले स्थगित गरिएको बताएका छन् ।

    आर्थिक दृष्टिकोणले निर्माण गर्न सक्ने सडकको नक्सांकन गरेपछि निर्माण गर्न सकिने उनले  बताए ।

    अर्थमन्त्रीले भने–आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीइ तहबाट कार्यन्वयन गर्न सकिने प्रकृतिका करीव १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यन्वयन स्थगित गरेको छु ।

  • मौद्रिक नीतिको सूचना चुहिएकोबारे अर्थमन्त्रीले भने- टेबलबाट सूचना चुहाएर ब्ल्याकमेलिङ नगरियोस्

    मौद्रिक नीतिको सूचना चुहिएकोबारे अर्थमन्त्रीले भने- टेबलबाट सूचना चुहाएर ब्ल्याकमेलिङ नगरियोस्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टी जनाएका छन् । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले आइन्दा यस्तो नगर्न चेतावनीसमेत दिए ।

    मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई यसलाई गम्भीररूपमा लिन आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल-टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न शर्माले सचेत गराए ।

    ‘तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षाअगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो । यसले राज्यको मनोबल गिराउने काम गर्छ । यस्तो कार्य तत्काल रोक्नुस्’, शर्माले भने ।

    पारदर्शिता कायम गर्न सूचनाको प्रवाह जरुरी भएपनि त्यो व्यवस्थित हुनुपर्ने उनको भनाइ थियो ।

  • राष्ट्रियसभामा अर्थमन्त्री- श्वेतपत्रलाई प्रगति रिपोर्टको रूपमा बुझिदिनु होला

    राष्ट्रियसभामा अर्थमन्त्री- श्वेतपत्रलाई प्रगति रिपोर्टको रूपमा बुझिदिनु होला

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आजको राष्ट्रियसभाको बैठकमा श्वेतपत्र प्रस्तुत गरेका छन् । उनले आफूले कोही कसैसँगको आग्रह/पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दावी गरे ।

    राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले अघिल्लो सरकारले गरेको कामका विषयमा श्वेतपत्रमा चर्चा नै नगरिएको बताएका छन् । ‘मन्त्रीज्यूभित्र रहेको पूर्वाग्रहले यस्तो गर्न दिएन कि जस्तो लाग्छ’, उनले भने । अर्थमन्त्रीले झुटको पुलिन्दा निर्माण गरेको भन्दै उनले यो ‘सरकारले वैदेशिक ऋणको साहयताबि नै सरकार अगाडी बढ्न खोजेको हो र ?’, भनी प्रश्न गरेका थिए ।

    सांसद प्रकाश पन्तले संसद भएको अवस्थामा बजेट संसदबाटै प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे । ‘हामीले बजेट खोज्नका लागि रत्नपार्क र पुतलीसडक जानु नपरोस्’, उनले भने ।

    समाजिक सुरक्षाकोष सबै वृद्धवृद्धाले पाए पनि अपांगता भएका व्यक्तिले पाउन नसकेको उनले बताए । राष्ट्रियसभा सदस्य प्रमिलाकुमारीले मानव विकास सूचांकमा पछि परेका प्रदेशमा विकास गर्नका लागि कस्तो रणनीति सरकारले अपनाउँछ भनी प्रश्न गरिन् ।

    अर्का सदस्य खिमलाल देवकोटाले अघिल्लो सरकारले धुमधामका साथ शिलान्यास गरेको ३९७ स्थानमा निर्माण हुने अस्पतालमा स्रोत सुनिश्चिताको अवस्था कस्तो रहेको छ भनी प्रश्न गरेका थिए ।

    अर्का सदस्य रामनारायण विडारीले विगतको सरकारले कृषि क्षेत्रमा लगानीका लागि ऐनसमेत निर्माण गरेको भन्दै कृषि क्षेत्रलाई आत्मानिर्भर बनाउने कि वैदेशिक लगानी भित्र्याउने ? भनी प्रश्न गरे ।

    कोभिड १९ को तेस्रो लहर फैलिरहेको समयमा स्वास्थ्य सामाग्री र बजेट व्यवस्थापन कसरी भइरहेको छ भनी उनले अर्थमन्त्री शर्मासँग जवाफ मागे ।

    डा. विमला राई पौडेलले अर्थतन्त्रमा आज गरेको कामको असर भोलि नदेखिने भन्दै समय लाग्ने बताइन । ‘अर्थमन्त्रीले श्वेतपत्रमा तथ्याङ्क प्रस्तुत गरिरहँदा २०७२ सालमा ४ महिना नाकाबन्दी उल्लेख गर्न छुटेको छ । मैले यसलाई नियतवस छुटेको ठान्दिन । त्यसको असर अहिलेसम्म पनि रहेकाले त्यस्ता महत्वपूर्ण घटनालाई श्वेतपत्रमा जस्तो महत्वपूर्ण दस्तावेजमा छुट्याउनु हुदैन’, उनले भनिन् ।

    त्यस्तै कोभिडको कारण राजस्व घट्ने र खर्च बढ्ने भएकाले सञ्चिति कोष पनि घट्नु सामान्य भएको पौडेलले बताइन् । सांसद कोमल वलीले विगत ३ वर्षको अर्थतन्त्र ओली सरकारले नै ध्वस्त पारेजस्तो गरी प्रस्तुत गरिएको टिप्पणी गरिन् ।

    कोभिड १९ कारण विगत २ वर्षको अर्थतन्त्र थलिएको र सरकारले राहात कार्यक्रम ल्याएको कुरा बिर्सिन नहुने उनको भनाइ थियो । ‘कृषि ,उद्योग, यातायात, जलविद्युतलगायतका क्षेत्र माथि उठाउन अर्थमन्त्रीज्यूले कस्ता योजना ल्याउनु भयो? , श्वेतपत्रमा प्रस्तुत भएका तथ्याङ्क त आर्थिक सर्वेक्षणमा नै छन् होइन र ?’, उनको प्रश्न थियो ।

    सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले देशको वर्तमान आर्थिक अवस्था भनी उल्लेख गरेको बताएका छन् । त्यसमा कुनै आग्रह पुर्वाग्रह नराखेको उनको जिकिर थियो । यस दस्तावेजमा पुल र सडक कति लामो बनाइयो भनेर उल्लेख नगरिने समेत उनले बताए ।

    ‘पुल र सडक कति लामो बनाइयो भनेर यसमा भनिँदैन । यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ । पुँजी निर्माण कसरी भइरहेको छ , सञ्चितीको अवस्था के छ भन्ने विषय वस्तुहरूलाई तथ्याङ्कमा जे त्यही प्रस्तुत गरेको हो’, शर्माले भने ।

    संसदमा प्रश्न उठ्ने थाहा पाएर नै उक्त तथ्यांकहरू प्रस्तुत गरिएको भन्दै अर्थमन्त्री शर्माले यसलाई विगत ३ वर्षको प्रगतिको रिपोर्टको रूपमा बुझ्न आग्रह गरे ।

    ‘हाम्रो आर्थिक अवस्थाको जे छ त्यही ऐना प्रस्तुत गरेको हुँ । ऐनामा त आफ्नै अनुहार देखिने हो । यो देशको अर्थतन्त्रको ऐना हो’, शर्माले भने । यसमा कुनै तथ्याङ्क थप्न पनि नमिल्ने तथा घटाउन पनि नमिल्ने उनको भनाइ थियो ।

    तथ्याङ्कमा श्वेतपत्र पूर्वाग्रही देखिएमा अर्थमन्त्रीको हैसियतमा त्यसको जिम्मेवारी लिन आफू तयार रहेको बताए । काम ढिलो हुँदा आयोजना प्रभावित भएको जनताले भनेको वास्तविकतालाई प्रस्तुत गरिएको उनको दावी थियो ।

    नयाँ बजेटको सन्दर्भमा अर्थमन्त्री शर्माले अध्यादेशमार्फत बजेट ल्याउनु गलत भएको भन्दै बजेटको प्रतिस्थापन तथा नयाँ कार्यक्रम ल्याउने वा नीति परिवर्तन गर्ने जिम्मा संसदकै भएको बताए ।

  • अर्थमन्त्रीको श्वेतपत्रले देखाएको अर्थतन्त्रको चित्र वास्तविक कि अतिरञ्जित ?

    अर्थमन्त्रीको श्वेतपत्रले देखाएको अर्थतन्त्रको चित्र वास्तविक कि अतिरञ्जित ?

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको समिक्षासहितको ‘श्वेतपत्र’ प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेका छन् । उनको श्वेतपत्रमा आर्थिक वर्ष २०७४/७४ को श्वेतपत्र, आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण तथा बजेट र चालू आर्थिक वर्षको बजेटबीच तुलना गरिएको छ ।

    अघिल्लोपटक डा. युवराज खतिवडाले जस्तो आक्रमक भाषाको प्रयोग नगरे पनि अर्थमन्त्री शर्माले विगत साढे तीन वर्षमा अर्थतन्त्रको नकारात्मक तस्बिर प्रस्तुत गर्न खोजेका छन् । उनले नेपालको अर्थतन्त्रको आधार कमजोर रहेकाले लक्ष्यित वृद्धिदर हासिल गर्न सम्भव नभएको उनको प्रष्टोक्ति छ ।

    शर्माले विगतको सरकारले गरेका गल्तिलाई यो सरकारले सच्चाउने आशय श्वेतपत्रमा उल्लेख गरेका छन् । विशुद्ध अर्थतन्त्रको वर्तमान अवस्थालाई प्रतिबिम्बित गर्नेभन्दा पनि अर्थराजनीतिक दस्तावेजका रुपमा श्वेतपत्र प्रस्तुत गरिएको छ ।

    केपी शर्मा ओलीको सरकारले राष्ट्रको ऋण मात्रै बढाएर सम्झिनलायक उपलव्धि हासिल गर्न नसकेको आरोप अर्थमन्त्रीले लगाएका छन् । श्वेतपत्रको बुँदा नम्बर तीनमा सर्वोच्च अदालतको फैसलाको बुँदा नम्बर १०८ सापटी लिएर अघिल्लो सरकारले ल्याउको बजेटलाई असंवैधानिक ठहर्याइएको छ ।

    प्रतिनिधिसभा विघटन गरेर बजेट प्रस्तुत गर्नु गलत भएको दलिल उनले श्वेतपत्रमार्फत गर्न खोजेका छन् । सो कदम सच्याउन संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेर नयाँ वजेट ल्याउने अर्थमन्त्रीले बताए । विगतको सरकारका राम्रा कामलाई निरन्तरता दिने र स्रोत सुनिश्चित नभएका कार्यक्रमलाई हटाउने उनको भनाइ छ ।

    अघिल्लो सरकारले कोभिड- १९ लाई सामान्य रुघाखोकी भन्दै हल्कारुपमा लिएकाले महामारीले फैलिने मौका पाएको आरोप श्वेतपत्रमा लगाइएको छ ।

    खोप राजनीतिले पनि श्वेतपत्रमा स्थान पाएको देखिन्छ । वर्तमान सरकार निर्माण भएको एक महिनामा खोपको पहिलो डोज लगाउनेको संख्या १८ लाख ३६ हजारले बढेको तथ्याङ्कसमेत श्वेतपत्रमा उल्लेख गरिएको छ । असार मसान्तसम्ममा करिव २६ लाख ८९ हजार लाई पहिलो डोज दिइएकोमा नयाँ सरकार निर्माण भएपश्चात ४५ लाख २५ हजारलाई खोप लगाइएको दावी गरिएको छ । त्यस्तै खोपको दोस्रो डोज लगाउनेको संख्या ११ लाख १२ हजारबाट बढेर २६ लाख ६ हजार पुगेको देखाइएको छ ।

    यस्ता छन् श्वेतपत्रका आर्थिक तथ्याङ्कहरु

    उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी अपर्याप्त रहेको, उपभोग उच्च हुँदा बचत कम भइ पुँजी निर्माण हुन नसकेको, पुँजीगत खर्चको अवस्था नाजुक, विगतका सरकारले प्रचारात्मक ढङ्गले बजेट प्रस्तुत गरेका कारण बजेटको आकार बढ्दै गएको जस्ता विषयवस्तुहरु श्वेतपत्रमा समावेश गरिएको छ ।

    अर्थतन्त्रका वृहत आर्थिक सुचाङ्कहरुलाई प्रस्तुत गर्दै अर्थतन्त्रको आधार कमजोर रहेको चित्रण श्वेतपत्रमा गरिएको छ । सरकारको सञ्चिति कोष १ खर्ब ४३ अर्ब रुपैयाँले ऋणात्मक देखाइएको छ भने गत आर्थिक वर्ष बजेटमार्फत लिएको आर्थिक बृद्धिको लक्ष्य हासिल हुन कठिन रहेको बताइएको छ । अर्थमन्त्रीले सरकारी कोष १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा रहेको देखाएका छन् ।

    २०७४ सालमा केपी ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गर्दा ४८ अर्ब रुपैयाँले सञ्चित घाटामा रहेको सरकारी कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ अर्बले घाटामा रहेको तथ्य प्रस्तुत गरेका छन् ।

    श्वेतपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/७८ मा वचत हुने देखिएको ७३ अर्ब घाटा घटाउन उपयोग गर्ने हो भने पनि कोष रु १ खर्ब ४३ अर्ब रुपैयाँले घाटामा देखिन्छ ।’

    आर्थिक वर्ष २०७३/७४ मा ८.६ प्रतिशत, आब २०७४/७५ मा ७.४ प्रतिशत आर्थिक बृद्धिदर हासिल भए पनि विगतका दुई आर्थिक वर्षमा कोभिडका कारण आर्थिक बृद्धि लक्ष्यनुसार हुन नसकेको बताइएको छ । आ.ब २०७६/७७ मा ८.५ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य राखिएकोमा २.१ प्रतिशतले ऋणात्मक भएको र गत आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि उक्त लक्ष्य हासिल हुने अवस्था नरहेको श्वेतपत्रमा भनिएको छ ।

    यसैगरी गत आर्थिक वर्ष ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ८ खर्च २९ अर्ब रुपैयाँ मात्रै संकलन भएको तथ्याङ्क श्वेतपत्रमा प्रस्तुत गरिएको छ । विगतका आर्थिक वर्षमा भएको राजस्व संकलनसँग तुलना गर्दै नेपालको राजस्वको दिगो विकास हुन नसकेको बताइएको छ ।

    नेपालको राजस्वको प्रवृत्ति आयातमुखी रहेकाले आयात बढ्दा राजस्व बढ्ने र घट्दा घट्ने अर्थतन्त्रको पुरानै समस्यालाई अर्थमन्त्री शर्माले उल्लेख गरेका छन् ।

    आयात-निर्यात र विप्रेषण नेपालको अर्थतन्त्रको विशेषता भएकाले त्यसको प्रतिबिम्ब शोधान्तर स्थितिमार्फत देखिएको श्वेतपत्रमा उल्लेख गरिएको छ । गत वर्ष कोभिड १९ का कारण आयात कम हुँदा शोधान्तर स्थिति २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा रहेकोमा बैदेशिक व्यापार बढ्दै जाँदा आ.ब २०७७/७८ को ११ महिनासम्ममा १५ खर्ब १५ करोड रुपैयाँले घाटामा गएको बताइएको छ ।

    बैदेशिक सहायताको परिचालन र यसको उपयोगबाट प्रभावकारी नतिजा हासिल गर्न नसकिएको श्वेतपत्रमा भनिएको छ । आर्थिक वर्ष २०७३/७४ लाई आधार मानेर वैदेशिक सहायता परिचालनलाई गत आर्थिक वर्षसँग तुलना गरिएको छ ।

    वित्तीय क्षेत्रबाट प्रवाह भएको कर्जा प्रवाह कृषि, उर्जा, उद्योगलगायत प्राथमकिताप्राप्त क्षेत्रमा बढ्न नसकेको श्वेतमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरु शहरकेन्द्रीत भएको तथा वित्तीय साक्षरता बढाउन नसकेका कारण सिमित व्यक्ति मात्रै बैंकिङ पुहुँचमा पुगेको बताइएको छ । वीमा प्रमियमवापत १ खर्ब ५३ अर्ब परिचालन भएको छ ।

    सार्वजनिक संस्थाले लगानीनुसारको मुनाफा दिन नसकेको र यस्ता संस्थाहरुमा सरकारको लगानी ६ खर्ब ५४ अर्ब पुगेको श्वेतपत्रमा उल्लेख गरिएको छ । श्वेपत्रका अनुसार सरकारका संस्थानहरुमध्ये २४ वटा मुनाफा र १८ संस्थान घाटामा रहेका छन् ।

    बैदेशिक लगानीमैत्री बातावरण निर्माण गर्न नसक्दा विदेशी लगानी आउन नसकेको तथ्य श्वेतपत्रमा प्रस्तुत गरिएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा १६ अर्ब २० करोड मात्रै बैदेशिक लगानी भित्रिएको थियो । मुलुकमा १८.७ प्रतिशत जनता गरिवको रेखामुनि छन् । आर्थिक वर्ष २०७७/७८ मा ७६ अर्ब रुपैयाँ ३२ लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिइएको तथ्याङ्क छ ।

    त्यस्तै आ.ब २०७३/७४ मा ३ खर्ब ८ अर्ब अन्तर सरकारी वित्तीय हस्तान्तरण भएकोमा आ.ब २०७७/७८ को अन्त्यमा ३ खर्ब ८७ अर्ब रुपैयाँ हस्तान्तरण भएको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

    अर्थमन्त्री शर्माले श्वेतपत्रमा विगत तीन वर्षमा सरकारले सुशासन कायम गर्न नसकेको र सार्वजनिक प्रशासनका उजुरीहरु बढिरहेको तथ्य प्रस्तुत गरेका छन् ।

    आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९८ अर्ब रहेको सार्वजनिक ऋण विगत तीन आर्थिक वर्षमा २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब पुगेको तथ्याङ्क श्वेतपत्रमा उल्लेख गरिएको छ । राष्ट्रिय गौरवका आयोजना तथा रुपान्तरणकारी आयोजनामा ५८ प्रतिशत मात्रै खर्च भएको बताइएको छ ।

    चालु खर्च तिब्ररुपमा बढ्दै गए पनि पुँजीगत खर्चमा सुधार हुन नसकेको पुरानै तथ्यलाई अर्थमन्त्री शर्माले आफ्नो श्वेतपत्रमा पनि स्थान दिएका छन् । अर्थमन्त्री शर्माले कोभिड १९ को रोकथाम तथा पुनरुत्थानका लागि थप खर्च बढाउने कुरामा जोड दिएका छन् । त्यसैगरी मुद्रास्फिति बाञ्छित सिमाभित्र रहेको देखाइएको छ ।

    के भन्छन् विज्ञ ?

    अर्थविद्हरुले यस श्वेतपत्रलाई सतही विरोधाभाष र नकारात्मक चित्रण गर्ने मनशायले आएको बताएका छन् । आफु सत्तामा आउँदा अर्थतन्त्रमा समस्या देखाएर त्यसलाई समाधान गर्ने प्रयत्न गरियो भन्ने सोचका साथ श्वेतपत्र प्रस्तुत गरिएको अर्थविद् डा. डिल्लीराज खनालले बताए ।

    ‘प्रस्तुत श्वेतपत्र सतही, विरोधाभाष, नकारात्मक चित्रण र कर्मकाण्डी हिसावमा प्रस्तुत गरिएको छ,’ खनालले भने, ‘नीतिगत, संरचनागत र संस्थागत आधारभुत पक्ष खोतलेर समस्याको समाधान गर्नेभन्दा पनि पराम्परागत र प्रावधिकरुपमा प्रस्तुत गरिएको छ । यो श्वेतपत्र आर्थिक सर्वेक्षणको निरन्तरताभन्दा फरक छैन,’ डा. खनालले भने ।

    योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा पुष्पराज कँडेल पनि गठवन्धनले न्युनतम कार्यक्रम ल्याउँदा झैं नकारात्मक उद्देश्य राखेर श्वेतपत्र जारी गरेको बताउँछन् । श्वेतपत्रमा आफु अनुकुल तथ्याङ्क मात्र राख्ने प्रयास भएको उनको आरोप छ ।

    ‘नकारात्मक उद्देश्य राखेर आफु अनुकुल तथ्याङ्कको प्रयोग गरेर श्वेतपत्र ल्याउने काम भएको छ,’ उनले भने, ‘कहीँ आर्थिक वर्ष २०७४/७५ कतै २०७३/७४ र कतै २०७७/७८ का तथ्यहरु प्रस्तुत गरेर आफु अनुकुल ब्याख्या विष्लेषण गर्ने काम भएको छ ।’

    श्वेतपत्रमा धेरै नकारात्मक देखाउन जाली कुराहरु समेत समावेश गरिएको कँडेलले बताए । सरकारले काम गरेका कारण ऋण ४० प्रतिशत पुगेको उनको भनाई छ ।

    ‘राजस्वको लक्ष्यले चालु खर्च धान्न नसक्ने तथ्य श्वेतत्रमा नै उल्लेख छ । विकास निर्माणका काम गर्न ऋण लिनैपर्छ । आगामी सरकारले पनि विकास गर्न चाह्यो भने ऋण बढ्छ नै । यसमा कसैले विरोध गर्न आवश्यक छैन,’ उनले भने ।

  • अर्थमन्त्रीले संसदमा श्वेतपत्र पेस गर्ने

    अर्थमन्त्रीले संसदमा श्वेतपत्र पेस गर्ने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् ।

    मन्त्री नियुक्त भएलगत्तै शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । उनले कसैलाई दोषी करार गर्ने नभइ मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन लागेको बताएका थिए ।

    मन्त्रालयले यसलाई अन्तिमरूप दिने काम भइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । वर्तमान आर्थिक स्थितिलाई समेटेर अर्थमन्त्रीले संसदसमक्ष स्वेतपत्र प्रस्तुत गर्ने  सभामुखको सचिवालयले जनाएको छ ।

    वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिनेछ ।

  • नयाँ अर्थमन्त्रीसामू चुनौतीका चाङः बजेट कार्यान्वयनदेखि, आर्थिक पुनरुत्थानसम्म

    नयाँ अर्थमन्त्रीसामू चुनौतीका चाङः बजेट कार्यान्वयनदेखि, आर्थिक पुनरुत्थानसम्म

    काठमाडौं । विगतमा ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको जस लिएर चर्चा कमाएमा माओवादी नेता जनार्दन शर्माले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । अघिल्ला अर्थमन्त्रीजस्तै उनी पनि अर्थशास्त्रका विज्ञ भने होइनन् ।

    पाँच दलीय गठबन्धनको सरकारमा प्रधानमन्त्रीलगत्तै अर्थमन्त्री नियुक्त भएका शर्मासँग गम्भीर चुनौतीसँगै राम्रो काम गर्ने सुन्दर अवसर पनि छन् । सामान्यत: सरकारको नेतृत्व गरेको दलले नै राख्ने गरेको अर्थ मन्त्रालयको जिम्मा फरक दललाई दिएसँगै राजनीतिक वृत्तमा अनेकखाले चर्चा पनि भएको छ ।

    वर्तमान सरकारले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका तर्फबाट पूर्वअर्थमन्त्री विष्णु पौडेलले यो आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति अपनत्व ग्रहण नगरिरहेका बेला अर्थमन्त्री शर्मालाई बजेट कार्यान्वयन गराउन पक्कै चुनौती छ ।

    विगतमा गृह र शान्तिमन्त्री हुँदा क्यान्टोनमेन्टको रकम हिनामिनासँगै अनेक आरोप खेपेका नवनियुक्त अर्थमन्त्री शर्मालाई अहिलेको कोरोना महामाहारीबीच व्यापार घाटा घटाउनु, वैदेशिक ऋण घटाउनु र बजेट कार्यान्वयन गराउनु मुख्य चुनौतीका विषय हुन् ।

    अर्थतन्त्रको विज्ञता नभएकाले सुरुमा त शर्मालाई आधारभूत कुराहरु बुझ्न नै केही समय लाग्नेछ । त्यसपछि पनि धेरै नीतिगत निर्णयहरमा उनी मन्त्रालयका उच्चपदस्थ कर्मचारीमै भर पर्नुपर्ने हुन्छ । विगतमा लोडसेडिङ हटाएर कमाएको जसलाई निरन्तरता दिन उनले केही लोकप्रियतामुखी निर्णयहरु भने गर्न सक्छन् ।

    बजेट संशोधन कि नयाँ ल्याउने नै अन्योल

    पूर्वअर्थमन्त्री पौडेलले ल्याएको बजेट संशोधन गरेर कार्यान्वयन गर्ने कि नयाँ बजेट ल्याउने ? भन्नेमा अन्योल छ । संशोधन गरे पनि वा नयाँ बजेट ल्याए पनि अघिल्लो सरकारले वितरणमुखी बजेट ल्याएको भनेर विरोध गरेको गठबन्धनको सरकारका तर्फबाट एकीकृत कार्यक्रमसहितको बजेट ल्याउनुपर्ने चुनौती उनको काँधमा छ ।

    बजेटमार्फत व्यवस्था गरिएका बृद्धभत्ता एवम् कर्मचारीको तलवभत्ता वृद्धि, अर्थतन्त्रको उत्थानका लागि उद्योगी व्यवसायीलाई दिएको सहुलियत, बिजुलीको डिमाण्ड शुल्कमा दिइएको छुट र करलगायत क्षेत्रमा दिइएको छुट तथा सहुलियतलाई कटौती गर्ने आँट शर्मामा छैन ।

    आमनागरिक, र कर्मचारी र व्यवसायीलाई उपेक्षा गरेर अघि बढ्दा सरकारको लोकप्रियता घट्ने सम्भावना हुने भएकाले त्यस्ता सहुलियतका कार्यक्रमलाई शर्माले निरन्तरता दिने निश्चितप्रायः छ । उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका कुनै पनि कार्यक्रमका लागि व्यवसायीलाई दिइएको छुट तथा सुविधा घटाउने सामथ्र्य अर्थमन्त्री शर्मासँग छैन ।

    त्यस्तै, चालु खर्च तथा सञ्चालनमा रहेका परियोजनाकोका लागि बहन गर्नुपर्ने अनिवार्य दायित्व घटाउन नसक्ने भएकाले सरकारले ल्याउने नयाँ बजेटमा प्रस्तुत ‘फिस्कल स्पेस’ नभएको जानकारहरु बताउँछन् ।

    अर्थविद् डिल्लीराज खनाल सरकारसँग नयाँ बजेट ल्याउनसक्ने आधार भए पनि वजेटका नीति तथा कार्यक्रममा ठूलो परिवर्तन गर्नसक्ने ठाउँ नरहेको बताउँछन् । ‘यो सरकारले नयाँ बजेट ल्याउन चाहेको देखिन्छ । तर बजेटमा परिवर्तन गर्न सक्नेगरीका ‘फिस्कल स्पेस’ साँघुरो छ’, उनले भने ।

    बरु अर्थमन्त्रीसँग राहत तथा पुनरुत्थानका लागि बजेट बढाउन सक्ने अवस्था रहेको डा. खनालको भनाइ छ । सरकारले नयाँ बजेट प्रस्तुत गर्दा अहिलेको सिलिङ १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको ल्याउनसमेत कठिन हुने उनको बुझाइ छ ।

    कोरोना नियन्त्रण तथा व्यवस्थापन चुनौतीपूर्ण

    सरकारसामु कोरोनाका कारण जर्जर भएको अर्थतन्त्र पुनरउत्थान गर्नुपर्ने चुनौती त छँदै छ, कोरोना नियन्त्रण एवम् व्यवस्थापन गनुपर्ने जिम्मेवारी पनि छ ।

    अहिले कोरोनाविरुद्धको खोपलगायत स्वास्थ्य सामग्री खरिद गर्नु नै ठूलो चुनौतीको विषय हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा गोविन्द पोखरेल अहिलेको सरकार कोभिडका लागि खोपको प्रबन्ध र जनताको जीवनरक्षामा केन्द्रित हुनुपर्ने बताउँछन् । ‘सरकारको मुख्य प्राथमिकता कोरोनाविरुद्धको खोप खरिद गरी जनताको जीवनरक्षा र कोरोनाका कारण प्रभावित अर्थतन्त्र पुनरउत्थान तथा राहत दिनु नै अहिलेका अर्थमन्त्रीको मुख्य चुनौती हो’, पोखरेलले भने ।

    प्रधानमन्त्री शेरबाहादुर देउवाले याे आर्थिक वर्षको चैत महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेका छन् भने अर्थमन्त्री शर्माले खोप खरिदका लागि अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नै ५ अर्ब निकासाका लागि समहतिमा हस्ताक्षर गरेका छन् । तर चैतसम्म सम्पूर्ण नेपालीलाई खोप लगाउन सहज भने छैन ।

    कोरोनाको नयाँनयाँ भेरियन्ट आइरहेको र खोपकै लागि विश्वमा ठूला चलखेल भइरहेका बेला विदेशबाट खोप किनेर सबै नेपालीलाई लगाउने कुरा असम्भवप्रायः नै छ ।

    उद्योग-व्यवसाय उकास्न कठिन, बेरोजगारी समस्या चुनौतीपूर्ण

    कोरोनाकै पछिल्लो समय धेरै उद्योग व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । उद्योग व्यवसाय सञ्चालनमा नआउँदा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । रोजगारी गुम्दा गरिबी बढेको छ । जनताको खर्च गर्नसक्ने क्षमतामा ह्रास आएको छ ।

    नयाँ अर्थमन्त्रीकासामू कोरोनाका कारण कमजोर भएको उद्योग व्यवसाय उकास्नु, रोजगारी सिर्जना गर्नु र गरिबी घटाउनु ठूलो चुनौती भएको बताउँछन्, अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल । ‘विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिवेदनुसार नेपालको गरिबी करिब ३६ प्रतिशतको हाराहारीमा देखिन्छ । यो मात्रा घटाउनु सरकारको मुख्य चुनौती हो ।’

    अर्थमन्त्रीसामु बढ्दो वैदेशिक तथा आन्तरिक ऋण पनि ठूलो चुनौतिको विषय भएको उनको भनाइ छ । ‘बढ्दो वैदेशिक तथा आन्तरिक ऋणको व्यवस्थापनमा सरकारको अग्निपरीक्षा हुने देखिन्छ’ उनी भन्छन्, ‘ओली सरकारको साँढे ३ वर्षमा ऋण ४० प्रतिशत पुगेको छ । एकातिर कोभिड १९ को महामारी अर्कोतर्फ ऋणको भार, त्यसैले वर्तमान अर्थमन्त्रीलाई सहज छैन ।’

    सबैको चित्त बुझाउनुपर्ने बाध्यता

    यो सरकार संविधानको धारा ५ अनुसार प्रत्येक सांसदको स्वतन्त्र मतबाट निर्माण हुने गरी सर्वोच्च अदालतले व्याख्या गरिदिएकाले अर्थमन्त्रीले सबैको चित्त वुझाउने दबाब बढेको प्याकुरेलको भनाइ छ । अर्थमन्त्री सांसदको चित्त बुझउनतिर नलागी र उद्योगी व्यवसायीको स्वार्थ चिरेर अघि बढ्न सके अर्थतन्त्रमा सकरात्मक संकेत देखिने उनको बुझाइ छ ।

    व्यापारघाटा घटाउनुपर्ने चुनौती

    पछिल्लो समय व्यापारघाटा तीव्ररुपमा बढिरहेको छ भने भुक्तानी सन्तुलन घटिरहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनुसार शोधान्तरस्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको देखाइएको छ भने मुद्रास्फिती ४.१९ प्रतिशतले बढेको छ ।

    आन्तरिक रोजगारी सिर्जना गर्न नसक्दा बेरोजगारी तिब्ररुपमा बढिरहेको छ । रेमिट्यान्स करिब १२ प्रतिशतले बढे पनि बैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको छ । अन्तर्राष्ट्रिय यात्राका लागि कोरोनाविरुद्धको खोपलाई अनिवार्य शर्त बनाइएकाले सरकार जनतालाई खोप दिन असफल भएमा वैदेशिक रोजगारी प्रभावित हुने निश्चित छ ।

    केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदननुसार विदेशी मुद्राको सञ्चितिसमेत घट्न सुरु भएको छ । यसले सरकारको वस्तु आयातमा समस्या थप हुन सक्ने भएकाले अर्थमन्त्रीले यसतर्फ पनि पर्याप्त ध्यान दिन आवश्यक भएको अर्थविद्हरु बताउँछन् ।

    बजेट खर्चमा सुधार गर्नुपर्ने

    आर्थिक वर्ष २०७७/७८ मा पनि विनियोजित बजेट खर्च गर्न सरकार असफल छ । उक्त आर्थिक वर्षमा विनियोजित बजेटको ७० प्रतिशत पुँजीगत खर्च भएको छैन ।

    त्यस्तै सरकारले बजेटमा व्यवस्था गरेबमोजिमको राजस्व पनि संकलन गर्न सकेको छैन । बजेट विनियोजन गर्ने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्नपर्ने जिम्मेवारी पनि नयाँ अर्थमन्त्रीमा थपिएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताइए पनि कोभिड १९ को दोस्रो लहरका कारण लक्ष्य भेट्टाउन कठिन भएको देखिन्छ ।

    यसैगरी अर्थमन्त्रीसामू नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिलाई रोकेर आफ्नो वित्तीय नीतिअनुसार समायोजन गर्नुपर्ने चुनौती छ । मौद्रिक नीति र सरकारको वित्तीय नीतिबीच सन्तुलन कायम गर्न नसकेमा वित्तीय अराजकता आउने खतरा हुन्छ ।

  • नवनियुक्त अर्थमन्त्रीको घोषणा – आवश्यक अध्ययनपछि श्वेतपत्र आउँछ (भिडियो)

    नवनियुक्त अर्थमन्त्रीको घोषणा – आवश्यक अध्ययनपछि श्वेतपत्र आउँछ (भिडियो)

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

    अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने बताएका छन् । अर्थमन्त्रीले भने, ‘अहिले देशका आर्थिक अवस्था कस्तो छ भनेर अध्ययन भइरहेको छ । अध्ययनपछि अर्थतन्त्रको अवस्था र आगामी योजना समेटिएको श्वेतपत्रपत्र आउनेछ ।’

    यसअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्रपत्र जारी गरेका थिए । १५ पृष्ठ लामो श्वेतपत्रले देशको आर्थिक अवस्था कमजोर देखाएको थियो ।

     

  • कोरोना खोप खरिद गर्न सरकारको ५ अर्ब सहमति (भिडियो)

    कोरोना खोप खरिद गर्न सरकारको ५ अर्ब सहमति (भिडियो)

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ ।

    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो रकम दिनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

    देउवा नेतृत्वको सरकारको हिजोको पहिलो क्याविनेटले आगामी चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको थियो ।

    अर्थमन्त्री शर्माले कोभिड-१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका छन् । जसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।

    सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेशमार्फत ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

    अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

     

    रासस

  • माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

    माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा शर्मा र भुसाललाई आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेका हुन् ।

    जनार्दन अर्थ र पम्फालाई ऊर्जामन्त्री बनाइने माओवादी स्रोतले जनाएको छ । अन्य मन्त्रीहरूको टुंगो दोस्रो चरणको विस्तारअघि लगाइनेछ ।

  • कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ : जनार्दन शर्मा

    कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न पार्टीको सम्पूर्ण शक्ति परिचालन गरौँ : जनार्दन शर्मा

    सुर्खेत। नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड–१९ बाट जनताको जीवन गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

    कर्णाली प्रदेश अन्तर्गत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्वास्थ्यकर्मीसहितको स्वयमसेवक टिम बनाएर वडा वडामा परिचालन गर्न दिर्नेशन दिए ।

    उक्त टिमलाई टोल टोल पुगेर संक्रमितहरुको उपचार गर्ने, उनीहरुको मनोबल बढाउने र जनचेतना फैलाउने कार्यमा अहोरात्र खटाउन जिल्ला नेताहरुलाई निर्देशन दिए ।

    ‘जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो, अरु सबै कुरा थाँति राखेर कोभिड–१९ विरुद्ध पार्टीको शक्ति लगाउनुस् ।’ बैठकमा प्रभाकरले भनेको प्रदेश अर्थमन्त्री एवं रुकुम जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिए । साथै नेता प्रभाकरले प्रदेशको नयाँ बजेट कोभिड–१९ बाट जनतालाई जोगाउने खालका योजनामा केन्द्रित गर्न समेत आग्रह गरे ।

    यसैबीच हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघ अन्तरगत राख्ने तयारी गरिएको भए त्यो गलत हुने नेता प्रभाकरले बताए । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भएपनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उनको धारणा थियो ।

    प्रदेश संयोजक मायाप्रसाद शर्माले सहजीकरण गरेको भर्चुअल बैठकमा रुकुम पश्चिमका अध्यक्ष एवं प्रदेश अर्थमन्त्री गोपाल शर्मा, जाजरकोट अध्यक्ष ढकवीर राना, जुम्ला अध्यक्ष वीरबहादुर कुँवर, कालिकोट अध्यक्ष धनजित शाही र हुम्ला अध्यक्ष लालकेश जैसीले जिल्लाको परिस्थिति बारे रिपोर्टिङ्ग गरेका थिए ।

  • विदेशी सहयोगबाटै भए पनि अक्सिजन आपूर्ति सहज बनाउन जनार्दनको माग

    विदेशी सहयोगबाटै भए पनि अक्सिजन आपूर्ति सहज बनाउन जनार्दनको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले विदेशी नियोगको सहायता लिएर भए पनि अक्सिजन आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन् ।

    ‘राज्यसँग भएको सम्पूर्ण स्रोतसधान ४ वटा जहाजहरू समेत प्रयोग गरी सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरी जनताको जीवन रक्षा गरियोस्,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध छु।’

    उनले अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्नेबारे जानकारी गराउन समेत माग गरेका छन्। ‘काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्। काठमाडौंमा मात्र दैनिक ८-१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस्,’ शर्माको माग छ।

  • जनार्दन शर्माको दावी : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

    जनार्दन शर्माको दावी : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली इन्चार्ज जनार्दन शर्माले कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिले राष्ट्रिय राजनीतिलाई मागर्दशन गरेको बताएका छन् ।

    आज विहान सामाजिक सञ्जालमा छोटो टिप्पणी गर्दै शर्माले कर्णालीमा जस्तै संघीय सरकारमा समेत माधव नेपाल पक्षले एमालेलाई सत्ताच्युत गर्न सघाउने संकेत गरेका हुन् ।

    शर्माले भनेका छन्- कर्णालीमा राजनीति । राजनीतिमा बिधि नमान्नेलाई एक सबकमात्र होइन राष्ट्रिय राजनीतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो ।

    कर्णाली प्रदेशसभामा शुक्रवारमात्र माओवादीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई एमालेका प्रकाश ज्वालासहित चारजना सांसदले विश्वासको मत दिएर सरकार जोगाइदिएका थिए ।

    अन्य प्रदेशमा पनि माधव नेपाल पक्षले एमालेका मुख्यमन्त्री हटाउन आवश्यक पर्ने मत फ्लोर क्रस गर्ने समझदारी बनेको बताइएको छ ।

    कर्णाली प्रकरण लगत्तै आज विहान माओवादी अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरका एक व्यवसायीको घरमा वार्ता भएको थियो ।

  • जनार्दनको टिप्पणी- नेतृत्वमा आलोचनात्मक चेत हराएकाको बाहुल्यताले राजनीति कमजोर

    जनार्दनको टिप्पणी- नेतृत्वमा आलोचनात्मक चेत हराएकाको बाहुल्यताले राजनीति कमजोर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरूको बाहुल्यता बढ्दै राजनीति कमजोर बनेको टिप्पणी गरेका छन् ।

    ‘हामीले प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ, सामाजिक सञ्‍जालमा शर्माले लेखेका छन्, ‘आफैंभित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।’

    परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरूको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको समेत उनले आजको परिस्थितिको अर्को कारण देखाएका छन् ।

    शर्माले लेखेका छन्, ‘राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपूर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्यायसहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरू बीच हातेमालो गरौं ।’

  • अध्यादेशलाई कार्यसूचीमा राखेकोले बहिष्कार गर्‍यौं : शर्मा

    अध्यादेशलाई कार्यसूचीमा राखेकोले बहिष्कार गर्‍यौं : शर्मा

    काठमाडौं । सांसद जनार्दन शर्माले संसद बैठकको कार्यसूचीमा असहमत रहेकोले आफूहरुले बैठक बहिष्कार गरेको बताएका छन् । संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले शोक प्रस्तावलाई पहिलो कार्यसूचीमा राख्नुपर्नेमा अध्यादेशलाई प्राथमिकता दिइएकोले बैठक बहिष्कार गरेको बताएका हुन् ।

    ‘दिवंगत माननीय सदस्यहरुको अपमान गरेको महसुस भयो । शोध प्रस्तावलाई पहिलो कार्यसूची नबनाएर असंवैधानिक अध्यादेशलाई महत्व दिइएकोले बैठक छोडेका हौं’, शर्माले भने ।

    सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग पार्टीको अवस्थामा फर्किएको देखिएको भन्दै शर्माले त्यसबारे छलफल गरेर उचित निर्णयमा पुगिने बताए ।

  • जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं

    जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं

    काठमाडौं । नेकपाको कानूनी विभाजन जटिल बन्दै गएको । शीर्षस्थ नेताहरुले कुनै केपी ओलीसँग नमिल्ने भनिरहेका बेला प्रचण्ड-माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गरेका छन् ।

    शर्माले बुधवार फेसबुकमार्फत आफ्नो धारणा अघि सार्दै पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुमा अपील गरेका छन् । उनले यस्तो छलफल कुनै प क्ष वा नेतृत्वको पक्ष विपक्षमा नहुने समेत प्रष्ट पारेका छन् ।

    शर्माले भनेका छन्, ‘सचिवालय सदस्यहरु बाहकका सांसदहरुले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महरि स्वतन्त्र रुपमा छलफलग र्न माननीयहरुमा हार्दिक अपील गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिनेछ ।’

    शर्माले नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक एबम् नेतृत्वको प्रश्न तथा पदय झगडाका रुपमा आ आफ्नो ढंगले बुझाइ रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना भइसकेको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको बताएका छन् ।

    शर्माले पार्टी विभाजनअघि देखिनै नेकपाको सचिवालय नै पार्टी बिग्रिने कारण भएको भन्दै सचिवालय भंगको माग गर्दै आएका थिए । उनले ९ सदस्यीय सचिवालय बाहेकका सांसदहरुको छलफलको प्रस्ताव गरेका हुन् ।

  • पत्रकारसँग जनार्दनको आग्रह – गाली हैन मुद्दामा केन्द्रित हुनुहोस्

    पत्रकारसँग जनार्दनको आग्रह – गाली हैन मुद्दामा केन्द्रित हुनुहोस्

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले एक-अर्कालाई गाली गर्नुभन्दा मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

    सत्तारुढ नेकपा विभाजनसँगै दुई धारमा बाँडिएका पत्रकारहरूबीच एकअर्काप्रति कटाक्ष चलिरहँदा प्रभाकरले आफ्नापक्षीय कर्णालीका पत्रकारसँग भने- ‘अब मुद्दा केन्द्रित भई समाचार सम्प्रेषण गर्न आग्रह गरे ।’

    ‘मैले कुनै गल्ती गरेको छु भने पनि लेख्नुहोस् । अहिले देशमा संविधानमाथि हमला भएको छ । प्राप्त उपलब्धि जोगाउन पत्रकारको भूमिका महत्त्वपूर्ण छ । निरन्तर खबरदारी गर्नुस् ।’ संविधानमाथि कू गरेर प्रधानमन्त्री ओलीले घर नै जलाएको उनको आरोप थियो ।

  • ओलीले ‘भष्मासुर धारा’ प्रयोग गरे:  जनार्दन शर्मा

    ओलीले ‘भष्मासुर धारा’ प्रयोग गरे: जनार्दन शर्मा

    सुर्खेत । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको ‘भष्मासुर धारा’ प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाएका छन् ।

    सोमबार वीरेन्द्रनगर पत्रकारसित कुरा गर्दै नेता शर्माले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमले मुलुकलाई अध्याँरोतिर धकेलेको टिप्पणी गरे ।

    उनले भने– देश कल्पना गर्न नसक्ने अवस्थामा पुग्यो । हामीले देखेको समाजवादी सपनाअनुसार मुुुलुक बढी रहेको थियो । तर प्रधानमन्त्रीले मनलाग्दी गरे । अब त्यसविरुद्ध लड्नुको विकल्प छैन ।

    उनले आन्दोलनको बलबाट संविधानलाई जिवित बनाइ जनताको चहना पूरा गर्ने बताए । दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई ओलीले तोड्न खोजेपछि विवाद बढेको उनले बताए ।

    ‘छिटै सरकार पुर्नगठन हुन्छ’

    कर्णाली प्रदेशका पार्टी इन्चार्जसमेत रहेका नेता शर्माले छिटै प्रदेश सरकार पुनर्गठन हुने बताए ।

    उनले भने– यो सरकारमा हामीले जनसंख्याअनुसार दलित समुदायको प्रतिनिधित्व गराउन सकेनौं । दुई वर्षदेखि मैले सरकार पुर्नगठन गर्न केन्द्रमा अनुरोध गर्दै आइरहेको थिएँ । अब पुनर्गठन हुने सरकारमा दलित समुदायको प्रतिनिधित्व हुन्छ ।