Tag: जनकपुर–जयनगर रेल्वे

  • बसेर तलब खाने रेल्वेका १ सय ५१ कर्मचारीलाई नयाँ व्यवस्थापनले हटायो

    बसेर तलब खाने रेल्वेका १ सय ५१ कर्मचारीलाई नयाँ व्यवस्थापनले हटायो

    जनकपुरधाम । जनकपुरधाम-जयनगर(भारत) रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्त गरी कानून विपरित सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नयाँ व्यवस्थापनले हटाएको छ ।

    रेल सञ्चालनको टुङ्गो नलागेकै अवस्थामा विभिन्न मितिमा नियुक्त गरिएका विभिन्न पदका १ सय ५१ ज्यालादारी कर्मचारीलाई रेल्वे विभागका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले हटाएका हुन् । उनले ज्यालादारीका कर्मचारीलाई आफू खुशी हाजिर नगर्न सूचनासमेत जारी गरेका छन् ।

    सूचनामा भनिएको छ, ‘कार्यालयले काममा नखटाई आफू खुशी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकाले हाजिर नगर्न यो सूचना प्रकाशित गरिएको छ ।’ कोही कसैले आफू खुशी हाजिर गरेमा सोको जिम्मेवार नेपाल रेल्वे कम्पनी लिमिटेड नहुनेसमेत सूचनामा उल्लेख छ ।

    तत्कालिन रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक गुरू भट्टराईले आफू खुशी ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए । काम नगरेपनि उनको ठाडो आदेशमा कति कर्मचारीले ज्याला पाउँदै आएका थिए । तर उनलाई हटाएर वर्तमान शेरबहादुर देउवा सरकारले नियुक्त गरेका नयाँ प्रबन्ध निर्देशक झाले कानून विपरीत बसेरै तलब खाइरहेका सबै कर्मचारीलाई हटाएका छन् ।

    ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउँने कानूनी प्रावधान छैन’, प्रबन्ध सञ्चालक झाले भने, ‘नियुक्त कर्मचारीले काम नगरेपनि आफु खुशी हाजिर गर्दै आएका थिए । त्यसैले उनीहरूलाई हटाएको छु ।’ अब रेल चल्ने निश्चित भएपछि लोक सेवाको अनुमति लिएर मात्र कर्मचारी भर्ना गर्ने उनको भनाई छ ।

    रेलमा खिया लाग्न थाल्यो

    सरकारले झण्डै १ अर्ब रुपैयाँमा भारतीय कम्पनीबाट खरिद गरेको दुई सेट रेल ०७७ असोज २ मै जनकपुरधाम ल्याइयो । तर, कोरोना महामारी, कर्मचारी र कानून अभाव जस्ता कारणले सञ्चालनमा नआउने भएपछि रेल खजुरी स्टेशनमा राखिएको छ ।

    सुरुमा रेललाई त्रिपालले छोपेर राख्यो । तर, अहिले त्रिपालसमेत च्यातिइसकेको छ । र, खुल्ला आकाशमुनी थन्किएकाले रेलमा खियासमेत लाग्न थालेको छ । रेलको सुरक्षामा सशस्त्र प्रहरी खटाइएको छ । रेलमा खिया लाग्न थालेपछि सञ्चालन कहिलेदेखि हुने कुराको टुङ्गो नलाग्दा उत्साहित धनुषा र महोत्तरीका जनता निराश बनेका छन् ।

    रेलवे ट्र्याकका हजारौं क्लिपहरू पनि चोरी भइसकेको छ । रेल्वे स्टेशन भवनका झ्यालका सिसाहरू समेत अहिले फुटिसकेका छन् । जनकपुरधाम स्टेशनको नयाँ भवन अहिले नै चुहिन थालेको छ । गुणस्तरहीन काम भएका कारण भवन चुहिन थाले पनि यसप्रति सम्बन्धित निकायले चासो देखाएका छैन ।

  • ‘जनकपुर–जयनगर रेल्वे’ यही महिनादेखि सञ्चालनमा

    ‘जनकपुर–जयनगर रेल्वे’ यही महिनादेखि सञ्चालनमा

    धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए।

    भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ ।

    महाप्रबन्धक भट्टराईले भने, ‘जयनगरदेखि कुर्थासम्मका लागि रेल्वे लिक, स्टेसन, सिग्नललगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको र सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी छैन ।’

    महाप्रबन्धक भट्टराईको अनुसार माघ १५ गतेभित्र रेल सेवा सञ्चालन गर्नका लागि आवश्यक मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आइपुग्दैछ । त्यसका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेशनसँग सम्झौता हुने भएको उनले बताए ।

    भट्टराईले भने, ‘सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस’समेत तयार भइसकेको छ र ड्राइभर, इञ्जिनीयरलगायत २६ जना मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको छ ।’

    त्यसैगरी रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जानकारी दिए । निजामतीबाट आउने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र पठाइसकेको जनाइएको छ ।

    भारतीय जनशक्ति माघ १५ गतेभित्र नेपाल आइपुगेपछि रेल्वे सञ्चालनका लागि गर्नुपर्ने विभिन्न परीक्षण गर्नुका साथै नेपालका कर्मचारीलाई आवश्यक तालीम प्रदान गर्नेछ ।

    अहिले पहिलो चरणमा जयनगरदेखि कुर्था खण्डमा सञ्चालनका लागि गत असोज २ गते भारतबाट ल्याइएका दुई वटा डेमो रेल इनर्वास्थित स्टेशनमा पार्किङ गरी राखिएको छ भने रेल्वेको सुरक्षाको जिम्मा पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बललाई दिइसकेको छ  ।

    अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् । रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको छ ।

    जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा साधारणमा ७० रुपैयाँ र एसीमा ३०० सम्म तोकिएको छ । प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ साधारणमा र एसीमा साधारणभन्दा पाँचगुणा बढी भाडा तोकिएको उनले बताए ।

    एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडा लाग्ने छ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने छ । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेसन राखिएको छ ।

    जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ । स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने छ ।

    त्यसैगरी जनकपुर–जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म यात्रा गर्न एक घण्टा लाग्ने बताए । इञ्जिनीयर ओझाले डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको यो प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताए ।

    एउटै इञ्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा डब्बामा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चार वटा डिब्बासम्म जोड्न सकिने इञ्जिनियर ओझाले बताए । –राससबाट