महोत्तरी । जङ्गली सुँगुरले खेतीबाली नोक्सान गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान हैरान भएका छन् । नगरपालिकाका विभिन्न वडामा अचानक देखा परेको सुँगुरको समूहले खेतबारीमा लगाइएको दलहन, तेलहनबाली, उखु, फलफूल र तरकारी बालीलाई क्षति पुर्याइरहेका कारण स्थानीय किसान मर्कामा परेका हुन् ।
जलेश्वरका–६ मा १५/२० बिघाभन्दा बढीमा लगाइएको गहुँको जरा काटिदिने, बीचबाट बोट काटिदिने गर्नाले अधिकांश गहुँ नष्ट भएको किसान गणेश साहले बताए । केही दिन देखी सुँगुरले आफुहरुलाई हैरान पारेकाे उनकाे भनाइ छ ।
त्यस्तै ५०/६० बिघामा लगाइएको मुसुरो, आलस, रहर, तोरी र आलु, लौका, फर्सी, बोडी, भिण्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली तथा तरबुजा, काँक्रो, केरा लगायतका फलफूलहरु खाइदिने तथा जथाभाबी रुपमा खेतबारी खनेर क्षति पुर्याउने गरेको अर्का किसान रामएकवाल साहले बताए ।
सुँगुरलाई लखेट्न जाँदा सुँगुर तीव्र गतिमा मानिस तिरै आउनाले आफुहरु त्रसित भएकाे जलेश्वर नगरपालिका– ७ का किसान बिरजु महतोले बताए । हरेक दिन लखेट्न जाँदा सुँगुरकाे हुल आफै तिर आाउँदा आक्रमण गर्ने हुनकी भन्ने त्रास भएकाे उनकाे भनाइ छ ।
सुँगुर नियन्त्रण तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका किसानलाई वन कार्यालयमा जान भनिएको र वन कार्यालयले प्रक्रिया पुरा गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।
