Tag: जघन्य अपराध

  • सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा

    सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा

    कैलाली । अघिल्लो मंगलबार बैतडी पञ्चेश्वरका राजबहादुर चन्दले आफ्नै छोरालाई जाँतोमा पछारेर हत्या गरे । छोराको हत्यापछि उनले बुवा र भाइलाई कुटे ।

    ११ फागुनमा कञ्चनपुरको बेलौरीकी वसन्ती चौधरीले फरुवा प्रहार गरी श्रीमानको हत्या गरिन् ।

    २८ माघमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ पशुपति टोलमा बुहारी सीता र नाति अर्जुन थापाले ७६ वर्षीय प्रेम थापाको कुटेर हत्या गरे । कुटपिटपछि घाइते भएका थापाको उपचारका क्रममा फागुन १० गते मृत्यु भयो ।

    माघ २१ गते बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या पनि उनकै भाइ नाता पर्ने दिनेश भट्टले गरेका थिए ।

    त्यसअघि २७ असोजमा कञ्चनपुर शुक्लाफाँटा– ८ स्थित सुनबरा खोलामा माछा मार्न गएकी कालीदेवी खुनाको उनकै देवरले हत्या गरेका थिए ।

    यी त पछिल्लो केही घटना मात्रै हुन् । गत वर्ष भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुर्वण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

    त्यसअघि पनि कञ्चनपुर भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए ।

    सोही दिन गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन् ।

    त्यतिबेलै भजनी नगरपालिका–९ भुरुवामा निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेकी थिइन् ।

    त्यसलगत्तै कैलालीको लम्की चुहा नगरपालिका– ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे ।

    केहि समयअघि मात्रै कैलालीको घोडाघोडी नगरपालिका– ११ सिसैयामा ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बुवा काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरे ।

    यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो सुदूरपश्चिम प्रदेशमा घरकलहका कारण हत्यालगायत जघन्य अपराध बढ्दो छ । आवेग र उत्तेजनामा यस्ता घटना बढिरहेको बताउँछन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंह ।

    ‘घर भित्रै बिभत्स अपराधका शृंखला बढिरहेका छन्’ एसएसपी सिंह भन्छन्, ‘यो आवेग र उत्तेजनाको परिणाम हो ।’

    अधिकांश यस्ता अपराधमा मादक पदार्थ सेवनको प्रभाव धेरै भएको उनको भनाइ छ । जनचेतनाको कमीले पनि पारिवारिक अपराध बढिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्ट बताउँछन् ।

    ‘पारिवारीक झै–झगडाहरुले ठूलो रुप लिएको पाइएको छ’ उनी भन्छन् ‘यसको लागि सबै भन्दा पहिले चेतनाको स्तर वृद्धि गर्न आवश्यक छ ।’

    बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आर्थिक अभावलगायतका कारण अपराध बढिरहेको जानकारहरु बताउँछन् ।

  • जघन्य अपराधमा युवाको संलग्‍नता बढ्दो

    जघन्य अपराधमा युवाको संलग्‍नता बढ्दो

    विराटनगर । विराटनगर महानगरपालिका-१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानको उनकै दुई छोराहरूले हत्या गरे । पैसा मागेको भन्दै मदिराको सुरमा फरुवाले हानेर हत्यापछि बाबुको शव आफ्‍नै घरभित्रै खाल्डो खनेर पुरेका थिए ।

    सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भई विराटनगर महानगर मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै पत्नी मीना श्रेष्ठले ४ जेठ २०७७ राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

    पाथीभरा फार्मेसीका सञ्चालक पति देवीप्रसाद सिरहाको लहान घर भई विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछ्यानमै हत्या गरेका थिए ।

    सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले ३० जेठमा पक्राउ गरेको छ । २९ जेठ बिहीबार बेलुका साढे ८ बजे घरायसी विषयमा भएको विवादलाई लिएर छोरा कुवेरले बाबु ५७ वर्षीय सन्तकुमार राईलाई आगो फुक्ने ढुंग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । छोराको प्रहारबाट बाबु सन्तकुमारको घटनास्थलमानै मृत्यु भएको थियो ।

    तेह्रथुममा एक दम्पतीले छोराबाट ज्यान गुमाएका छन् । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिका-ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बूले ४२ वर्षीय बाबु रुपहादुर लिम्बू र ३५ वर्षीया आमा रुपेनी लिम्बूलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
    बुबा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई छोरा कञ्चनले बञ्चरोले टाउकोमा हानेर हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा आगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबाको पनि हत्या गरी फरार भएका थिए । फरार रहेका उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गर्‍यो ।

    यी घटनाहरूमा अभियुक्त देखिएकाहरू सबै युवा छन् । उनीहरूको उमेर २८ वर्षभन्दा कम छ। गएको साउनयता प्रदेश १ मा भएका यी घटना प्रतिनिधि प्रतिनिधि मात्र हुन् । तीमध्ये केहीले प्रेम, केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको प्रहरीले बताएको छ ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्कमा पछिल्ला वर्ष अपराधमा युवाहरूको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७मा जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेखअनुसार ८ हजार ३ सय १६ आपराधिक घटना प्रदेशभरि घटेका थिए । जसमा १ हजार ६ सय २३ जघन्य अपराधका घटना भएका छन् । ती घटनामा संलग्न १ हजार ४ सय ११ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् ।

    त्यसैगरी २०७५/७६ को अभिलेखअनुसार जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ। गत आर्थिक वर्षमा १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६ सय ९१ वटा आपराधिक घटना घटेका थिए, जसमध्ये जघन्य अपराधका घटना ९ सय ९८ वटा छन् ।

    प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिलासमेत गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो ।

    प्रदेश प्रहरीको अभिलेखअनुसार जघन्य अपराधमा १ हजार ८१ जना पक्राउ परेकामध्ये ३ सय २६ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १ सय ९० जना छन् । ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षमाथिका १ जना र १६ वर्षमुनिका ३ जना रहेको देखिन्छ ।

    यस प्रदेशमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संख्या बढी छ ।

    आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा कर्तव्य ज्यानका १ सय ३८ मुद्दामध्ये १ सय ४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता पाइएको थियो । जबर्जस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १ सय ६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवाहरू संलग्न छन् ।

    यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रवक्ता डिएसपी विपिन रेग्मीले जानकारी दिए । हातहतियार खरखजना र लागुऔषध ओसारपसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता बढी छ ।

    महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् । ‘किशोरहरू अचानक स्वभाव परिवर्तन भै रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अबलम्वन गरिरहेका छन्’, उनले भने ।

    कोशी अस्पतालका मानसिक रोग विषेशज्ञ डा. नितेशराज भण्डारीका अनुसार युवा अवस्थामा एक्लै बस्न रुचाउँछन् वा ढोका थुनेर बस्ने बानीप्रति अभिभावन सचेत हुन जरुरी रहेको बताउँछन् ।

    प्रहरीले खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागुऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र विष्फोटक पदार्थजस्ता ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । छन् । डाँकाचोरीबाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

    ६ महिनामा जघन्य अपराधका ४ सय ५५ घटना

    चालु आर्थिक बर्षको ६ महिनामा प्रदेशभरिका १४ जिल्लामा ३ हजार ३ सय १४ अपराध भएका छन् । त्यसमध्ये जघन्य अपराधमा ४ सय ५५ घटना छन् । जघन्य अपराधका घटनामा प्रहरीले ४ सय ८० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा १६ देखी २५ वर्ष उमेर समूहका ३ सय ७ जना छन् ।

    परिवारका सदस्यबाट हत्या बढ्दो

    अधिकांश हत्यामा परिवारका सदस्यनै संलग्‍न रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । प्रदेश प्रहरीको अभिलेख अनुसार गएको ६ महिनामा कर्तव्य ज्यानका घटनामा अधिकांश घरभित्रकै सदस्यबाट भएको उल्लेख छ ।

    साउनयता पुससम्म भएको जघन्य अपराध कुल ४ सय ५५ मध्ये १ सय २३ घटना घरभित्रकै परिवारबाट भएको छ ।