Tag: चुरे क्षेत्र

  • चुरे क्षेत्रबाट गिट्टी, बालुवा निकासी हुँदैन: राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समिति

    चुरे क्षेत्रबाट गिट्टी, बालुवा निकासी हुँदैन: राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समिति

    काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी नहुने स्पष्ट पारेको छ ।

    सरकारले वजेट वक्तव्यमार्फत् चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी गर्न लागेको भन्ने विषयमा आलोचना भइरहेको बेला राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आइतबार पत्रकार सम्मेलन गर्दै समिति चुरे, भावर, तराई–मधेशको संरक्षणप्रति सम्वेदनशिल रहेको र चुरे क्षेत्रको दोहन हुन नदिन प्रतिवद्ध रहेको जनाएको छ ।

    चुरे क्षेत्रमा ढुंगा, गिट्टी, वालुवा उत्खनन् गरी निकासी गर्ने कुनैपनि कार्यक्रम नभएको समितिले स्पष्ट पारेको छ ।

    नेपाल सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यको बुँदा नं. १९९ मा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

    राखिएको प्रति सरकारले चुरे दोहन गर्न लागेको भन्दै राजनीतिक वृत्तमा तिव्र आलोचना भएको छ । तर बुँदा नं. १९९ ले चुरे क्षेत्रलाई नसमेट्ने समितिले बताएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले वजेट वक्तव्यको बुँदा नं. १९९ मा चुरेको सन्दर्भमा केही कुरा नलेखिएको बताए । चुरे, भावर, तराईका नदीबाट गिट्टी, ढंगा, बालुवा उत्खनन् नगरिने उनले प्रष्ट पारे ।

    पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव पेम नारायण पौडेलले चुरेबाट कुनै खानिजन्य, ढंगाजन्य वस्तु निकाल्ने वजेट वक्तव्यको उद्देश्य नभएको बताए । चुरे क्षेत्रबाट उत्खनन् नगरिनेमा विश्वस्त हुन उनले आग्रह गरे ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले वजेट वक्तव्यको बुँदा नं. १९९ चुरेसँग सम्बन्धित नभएको बताए । सरकारले माथिल्लो पहाडी भेगमा रहेका स्रोतहरुलाई प्रयोग गर्न खोजेको उनले बताए ।

    वर्तमान सरकारको उद्देश्य समृद्धि हासिल गर्ने भएकाले खानिको सम्बन्धमा देशका विभिन्न १४ वटा जिल्लामा विस्तृत अध्ययन थालिएको उनले जानकारी दिए । विस्तृत प्राविधिक अध्ययन सकेपछि वातावरणीय र सामाजिक पक्षको पनि अध्ययन गरिने र नेपालमा भएका स्रोतहरुको प्रयोगमार्फत् देशलाई समृद्ध बनाउने उनले बताए ।

     

     

  • सरकारको प्रष्टोक्ति- चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध

    सरकारको प्रष्टोक्ति- चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध

    काठमाडौं । अर्थ मन्त्रालले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको बताएको छ ।

    सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख भएकोमा टिप्पणी बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्ट्याएको हो ।

    ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छु’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    प्रेस विज्ञप्तिमा बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरेर भावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

    मन्त्रालयले चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको दाबी गरेको छ ।

    मन्त्रालयले भनेको छ, ‘सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको व्यहोरा समेत सबैलाई अनुरोध गर्न चाहन्छ’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  • उपेन्द्रको ठहर – खानीजन्य वस्तुको निर्यात वातावरणीय हिसाबले घातक

    उपेन्द्रको ठहर – खानीजन्य वस्तुको निर्यात वातावरणीय हिसाबले घातक

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात वातावरणीय हिसाबले घातक भएको बताएका छन् ।

    सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात उल्लेख छ । बुधबार विज्ञप्ति जारी गर्दै यादवले त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    ‘हालै सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात अथवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ र निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोवास गराउने, वन विनास गरी होटल, मोटल, रिसोर्ट आदि खोल्ने भनिएकोमा यसप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ। यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।’

    यसले पर्यावरणमा नकरात्मक असर पार्ने र तराई-मधेशमा बसोबास गर्ने जनताले त्यसको मूल्य चुकाउनु पर्ने यादवको दावी छ । ‘व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ । यसले चुरे विनाश गर्ने, तराई-मधेशलाई मरुभूमिकरण गर्ने निश्चित नै छ,’ यादवले भनेका छन्।

    भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको नीति रद्ध गर्नुपर्ने उनको माग छ ।

  • कांग्रेस नेताहरूको टिप्पणी- तराईलाई मरुभूमी बनाउने नीतिगत भ्रष्टाचार

    कांग्रेस नेताहरूको टिप्पणी- तराईलाई मरुभूमी बनाउने नीतिगत भ्रष्टाचार

    काठमाडौं । सरकारले बजेटमार्फत खानीजन्य ढुंगा, गिटी र बालुवाको निकासी खुला गर्न खोजेकोमा नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् ।

    सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यको १ सय ९९ नम्बर बुँदामा खानीजन्य निर्माण समाग्री निकासी गरी व्यापार घाटा कम गर्ने योजनाको कांग्रेसले विरोध गरेको हो ।

    पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता महेश आचार्यले विगत ७ वर्षदेखि खानीजन्य निर्माण सामग्री निकासीमा लगाइएको प्रतिबन्ध बजेटमार्फत खुला गर्न खोजिएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । यसले तराई मधेसका जनताको जीविका, वन सम्पदा र वातावरणीय सम्पदामा गम्भीर चोट पुर्‍याउने दावी उनको छ ।

    ‘चुरे क्षेत्रको विनाशले अहिले जीवन गुजारी रहेका जनताको मात्र होइन आउने सन्ततिको जीवन र भविष्य समेत जोखिममा पर्ने निश्चित छ । चुरे विनाशले तराईको उब्जाऊ जमिन विकराल बाढी, कटान र डुबानले अन्ततः मरुभूमि बन्न सक्छ, खानेपानीको हाहाकार हुनसक्छ’, आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन् । संघीय सरकारको कदम सच्याउन प्रदेश र स्थानीय सरकारले उपयुक्त कदम चाल्नुपर्ने आचार्यको सुझाव छ ।

    कांग्रेसकै नेता गगन थापाले बजेटमार्फत चुरेक्षेत्रको ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरिनु नीतिगत भ्रष्टाचार भएको दावी गरेका छन् । थापाले प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत ल्याइएको बजेटमा अवैधानिक ढंगले प्राकृतिक स्रोतको दोहनलाई समावेश गरिएको जनाएका छन् ।

    ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रष्ट भएको छ । यो नीतिगत भ्रष्टाचार हो । आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लंग भएको छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।