Tag: चिसाे

  • दिल्लीको तापक्रम १० डिग्रीमा झर्‍यो, प्रदूषणले जनजीवन प्रभावित

    दिल्लीको तापक्रम १० डिग्रीमा झर्‍यो, प्रदूषणले जनजीवन प्रभावित

    भारतमा मंगलबार यता निरन्तर तापक्रम घट्दै गएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा पुगेको छ । अधिकताम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको छ ।

    भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढीरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् ।

    तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

    त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।

  • चिसो बढेपछि रुपन्देही-कपिलवस्तुका विद्यालय ३ दिन बन्द

    चिसो बढेपछि रुपन्देही-कपिलवस्तुका विद्यालय ३ दिन बन्द

    रुपन्देही । चिसो अत्याधिक बढेपछि रुपन्देही र कपिलवस्तु जिल्लामा ३ दिन विद्यालय बन्दको निर्णय गरिएको छ । मौसममा आएको परिर्वतनका कारण चिसो बढेको कारण कोभिड लगाायत जनस्वास्थ्यमा प्रभाव पर्ने बताउँदै बन्द गरिएको भनिएको छ ।

    बुटवल उपमहानगरपलिकाले एक सूचना जारी गर्दै नगरपालिकाभित्रका विद्यालय ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । उपमहानगरले बिहीबार विज्ञप्ती जारी गर्दै माघ ९ र माघ ११ गते बिदा हुने र सो बिदा स्थानीय बिदाबाट कटौती हुने जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘केही दिनयता मौसममा परिवर्तन भएका कारण अत्याधिक चिसो बढेको हुँदा कोभिड र विद्यार्थीहरुको स्वाथ्यलाई मध्यनजर गर्दै बिदा दिइएको छ ।’

    उता कपिलबस्तु नगरपालिकाले शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएको भन्दै माघ ८ देखि माघ १० सम्मका लागि नगरपालिकामा रहेको सबै सरकारी र निजी विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

    नगर शिक्षा समितिले निर्णय गरेर ३ दिनका लागि जाडो बिदा दिइएको कपिलबस्तु नगरपालिका इकाईका उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । जाडोले गर्दा तल्लो कक्षा अध्ययनरत बिद्यार्थीलाई बढी असर पर्ने गरेको छ ।

    चिसो बढेपछि अभिभावकले आफ्नो बच्चालाई बिद्यालय पठाउन पनि छाडेका छन् । बिद्यार्थीको न्यून उपस्थितिले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन । नगरपालिकामा ६० बढी विद्यालयहरु छन् ।

    मन्त्री भन्छन्– चिसोबाट बच्नुस्

    लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन् । विहिबार एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।

    सामाजिक विकास मन्त्री बरालले चिसो र शीतलहरबाट प्रभावित समुदायहरुलाई सहयोग वितरण भइरहेको जानकारी दिए । उनले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन् ।

    बिहीबार विहानदेखि परेको शीतलहर र अत्याधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

    देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभावले तराईका जिल्लाहरुमा विहानैदेखि बाक्लो हुस्सु र शीतलहर देखापरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायत तराईका अन्य जिल्लाहरुमा विहानैदेखि बाक्लो हुुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको हो ।

    अपरान्हबाट यस क्षेत्रका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरोसंगै पानी पनि परेको अवस्था थियो । बाक्लो कुहिरो तथा पानीसँगैको शीतलहरले वजारमा चहलपहल पातलो भएको थियो भने सवारी साधन चलाउने क्रममा बत्तिको प्रयोग गर्नु परेको थियो ।

    देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा गिरावट आउनेछ ।

  • चिसोले मुक्त कमैया र भूमिहीनको दैनिकी कष्टकर

    चिसोले मुक्त कमैया र भूमिहीनको दैनिकी कष्टकर

    रासस । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । ‘बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखें, निकै कमजोर भएको छ’, सन्ध्याले भनिन्, ‘चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।’

    एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेकी थिइन् । ‘गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन । सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त परको कुरा,’ उनले पीडा पोखिन् ।

    टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्छन् । शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । ‘म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्’, रुपेशले भने, ‘यसपटक एउटा सिरक किनौंला भनेको सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।’

    रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरिएको छ । ‘आगो बालेर तापौंं भने पनि दाउरा पाइँदैन‘, रुपेशकी श्रीमती मनसराले भनिन्, ‘सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ ।’

    मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ ।

    बस्तीका बडघर रामफल चौधरीले शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताए । ‘हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे’, बडघर चौधरी भन्छन्, ‘आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौं भने जमिन छैन, अनि मौसमले पनि सधैं पीडा दिन्छ ।’

    विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडँदै थिइन् । उनी घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्ने रहिछन् । ‘काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु’, गीतारानीले भनिन्, ‘घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिएँ । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।’

    यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस सङ्क्रमणपछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् । टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो ।

    यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ । ‘यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौं,’ टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भन्छन्, ‘नगरपालिकामा छलफल गरेर उहाँहरुलाई राहत दिन पहल गर्छु ।’