Tag: चिनी उद्योगी

  • अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक अग्रवाल पक्राउ

    अन्‍नपूर्ण चिनी मिलका सञ्‍चालक अग्रवाल पक्राउ

    काठमाडौं । उखु किसानको पैसा नदिने चिनी उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले नेपालप्रेसलाई बताए ।

    उखु किसानको बक्यौता रकम भुक्तानी नगरेकाले उनीविरुद्ध सर्लाही र नवलपरासीमा ठगी मुद्दा दर्ता भएकाले उनलाई पक्राउ गरिएको सिंहले बताए । अग्रवाल नवलपरासी पश्चिमस्थित इन्दिरा चिनी मिलका समेत सञ्चालक हुन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी मिलले अहिलेसम्म ९ करोड ९० लाख रुपैयाँ मात्रै किसानलाई भुक्तानी गरेको छ । मिलले किसानलाई अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

    कृषकलाई २१ दिनभित्र उद्योगीबाट भुक्तानी दिलाइदिने भनेपछि पुस १३ गते सरकार र किसानबीच ४ बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि किसानहरुले आन्दोलन फिर्ता गरेका थिए ।

  • चिनी उद्योगीबाट अहिलेसम्म ५२ करोड असुल भएको सरकारको दावी

    चिनी उद्योगीबाट अहिलेसम्म ५२ करोड असुल भएको सरकारको दावी

    काठमाडौं । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई बक्यौता तिर्न बाँकी रकममध्ये करीब ५२ करोड रुपैयाँ असुलेको छ ।

    उखु किसानले पाउनुपर्ने बक्यौता रकम भुक्तानीका लागि गृह मन्त्रालय र मातहत निकायबाट आवश्यक समन्वय भएको थियो । चिनी उद्योगीबाट अहिलेसम्म ५१ करोड ८८ लाख ४४ हजार अशुल भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार अहिलेसम्म श्रीराम सुगर मिल्स लिमिटेडले ३५ करोड ७५ लाख ४४ हजार रुपैयाँ किसानलाई भुक्तानी भइसकेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव चक्रबहादुर बढाले नेपाल प्रेसलाई जानकारी दिए ।

    त्यस्तै, अन्नपूर्ण सुगर एण्ड जेनेरल इण्डष्ट्रिज प्रालीबाट १० करोड ८८ लाख, लुम्बिनी चिनी उद्योग प्रालिबाट ४ करोड ९५ लाख र इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रालिबाट ३० लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

    किसान संर्घष समितिका संरक्षक राकेश मिश्राका अनुसार उनीहरुले कति रकम पाए कति रकम पाएका छैनन् त्यसको विवरण सरकारले नदिएको गुनासो गरेका छन् ।

    मिश्राका अनुसार अहिले किसानको खातामा रकम गएपनि दुई लाख पाउनेले ५० हजारमात्र पाएका छन् ।

    सरकारले कत्ति रकम किसानका खातामा हाल्यो भन्ने कुराको यकिन तथ्याङक नभएको मिश्रले बताए । मिश्राका अनुसार  किसानले पाएको रकम सार्वजानिक हुनु पर्‍यो । यति दिए भनेर भएन ।

    लामो समयसम्म पनि उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने उद्योगीमाथि आवश्यक कारबाही गर्न भन्दै उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।

    त्यसैअनुरुप, गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत मंसिर ३० गते बसेको बैठकले तत्काल कानून बमोजिम कारबाही गर्न निर्देशन दिएको थियो ।

    बैठकले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी चिनी उद्योग नवलपरासी, अन्नपूर्ण सुगर एण्ड जेनेरल इण्डष्ट्रिज सर्लाही र श्रीराम सुगर मिल्स र महम्मदपुर रौतहटका सञ्चालकलाई आवश्यक कारवाही गर्न प्रहरी प्रधान कार्यालय र सम्बन्धित प्रम्ुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

    उक्त निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारीबाट वक्यौता रकम भुक्तानीको लागि थप पहल भइरहेको पनि गृह मन्त्रालयका प्रवक्ता बुढाले बताए । बक्यौता रकम नतिर्ने उद्योगीको नाममा पक्राउ पूर्जी जारी भई कानूनी कारवाही प्रक्रिया शुरु भइसकेको पनि मन्त्रालयको जनाएको छ ।

    उद्योगीबाट भुक्तानी हुन बाँकी रकम जतिसक्दो चाँडै वितरण गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पुनः निर्देशन दिइएको छ ।

    भुक्तानी गर्न अटेर गर्ने उद्योगका सञ्चालकलाई कानून बमोजिम कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन भएको र गृह मन्त्रालयबाट ती निर्देशन कार्यान्वयन गराउन मन्त्रालयले ताकेता गरिरहेको मन्त्रालयले जनाएको छ ।

    रौतहट, सर्लाही र पश्चिम नवलपरासी लगायत विभिन्न जिल्लामा सञ्चालित चिनी उद्योगले किसानबाट उखु खरीद गरे बाफतको रकम भुक्तानी नदिएको भन्दै उखु किसान दुई पटक काठमाडौं पुगेर आन्दोलन गरिसकेका छन् ।