Tag: चक्रवात

  • चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

    चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

    दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।

    प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा सुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

    भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

    बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्ला-अग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ ।

    दक्षिणस्थित पटुवाखाली जिल्लाको रङ्गबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक जना वरिष्ट प्रशासक मस्फीकर रहमानले जानकारी दिए । उनले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पुरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको जानकारी गराए ।

    भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडा-घुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् ।

    पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिइन् ।

    मङ्गलबार यतामात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ ।

    कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

    कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ । गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गरेका छन् ।

  • आजदेखि नेपालमा अर्को चक्रवातको असर पर्ने : अपरान्हदेखि मौसम बदली हुने

    आजदेखि नेपालमा अर्को चक्रवातको असर पर्ने : अपरान्हदेखि मौसम बदली हुने

    काठमाडौं । ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून-चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।

    यो चक्रवात उत्तर-उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।

    चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।

    त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

    चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

    काठमाडौं । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भू-भागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

    उक्त न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।

    सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मङ्गलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

    देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

    यो मौसममा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।
    -रासस

  • चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

    चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

    मुम्बइ । भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ ।

    सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ ।

    सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।

    मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।