Tag: गौतमबुद्ध विमानस्थल

  • गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल अवतरण (भिडिओ)

    गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल अवतरण (भिडिओ)

    रुपन्देही । मुलुककै दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौतमबुद्ध विमानस्थलमा पहिलो पटक वाइडबडी जहाजले परीक्षण उडान गरेको छ ।

    बिहीबार साँझवाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज साँझ ५ः५५ बजे अवतरण गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चारकर्मी, पर्यटन ब्यवसायीसहित उडान भरेर आएको उक्त विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको हो ।वैशाख १ गते नैं वाइडबडी जहाजले उडान गर्ने भनिएपनि प्राविधिक कारणले केही ढिलाई भएको थियो ।

    विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आइसकेको छ । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रुपमा प्रयोग गरिएको छ । अहिले आन्तारिक तर्फबाट उडानहरु नयाँ धावनमार्गबाटै भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ ।

    यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो । उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरुले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।

    सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो ।

    एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए ।

    विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहाल वाईडवडी जहाजले सफल परीक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए ।

  • ११ अन्तर्राष्ट्रिय विमान कम्पनीको रोजाइमा गौतमबुद्ध विमानस्थल

    ११ अन्तर्राष्ट्रिय विमान कम्पनीको रोजाइमा गौतमबुद्ध विमानस्थल

    रुपन्देही । रुपन्देहीको भैरहवा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् ।

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा अवको डेढ महिनामा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भएको यो विमानस्थलको परीक्षण उडान भइसकेको छ । यो वर्षको बुद्ध पूर्णिमा परेको जेठ २ गते यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी तयारी भएको विमानस्थल आयोजनाको भनाइ छ । पर्यटन मन्त्रालयले पनि यहींअनुसारको आवश्यक तयारीका लागि मातहतका निकायलाई निर्देशन दिएको छ भने मन्त्री प्रेम आलेले विमानस्थलमै आएर बुद्ध पूर्णिमामा जसरी पनि उडान गर्ने घोषणा गरिसकेका छन् ।

    यो विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीहरुलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलंकन एयरवेज, ओमानको सलाम एयवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।

    विशेषगरी नेपाली श्रमिकका गन्तव्य मुलुकका हवाइ कम्पनीको चासो बढी छ । तर कुन कुन कम्पनीले उडान सुरु गर्छन् भन्ने अहिलेसम्म यकिन छैन । विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।

    यो विमानस्थलबाट आफ्नो उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् । पर्यटन मन्त्रालयले यो विमानस्थलबाट आफ्नो व्यवसायिक उडानका लागि विभिन्न उडान कम्पनीहरुलाई पत्र पठाएको उनीहरुले पर्यटन मन्त्रालय तथा आयोजनालाई आफूहरु उडानका लागि इच्छुक रहेको संस्थागत जानकारी गराइसकेका छन् ।

    मन्त्री आलेको यो घोषण गरेपनि त्यसअघि आन्तरिक व्यवस्थापनसँगै भारतसँग संयुक्त हवाई मार्ग र वैकल्पिक मार्ग लगायतका विषयमा भने सहमति जुटाउन बाँकी छ ।

    विमानस्थलमा परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ । वैशाख ९ गतेदेखि पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सीधै उडान गर्नका लागि अनुमति मागेको हो । यो बीचमा केही प्राविधिक समस्या नथपिए कुवेतको जजिरा एअरवेजले पहिलोपटक हप्ताको सातै दिन उडान भर्नेछ । उक्त विमान कम्पनीले हाल काठमाण्डौ–कुवेत दैनिक उडान गर्दै आएको छ ।

    गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाइ उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने अपेक्षा उनीहरुको छ ।

    अन्य कम्पनीहरूले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । प्रवक्ता कर्णका अनुसार काठमाडौंमा विमानस्थलमा विमान ल्याण्ड गर्न नसक्ने अवस्थामा अव भैरहवामा ल्याण्ड हुनेछन् । भैरहवाका लागि विमान प्रवेश बिन्दु हालका लागि सिमरा मात्रै हो । महेन्द्रनगर, नेपालगन्ज र भैरहवा वैकल्पिक मार्गका लागि नेपालले प्रस्ताव गरेपनि भारतले हालसम्म अनुमति दिएको छैन ।

    योसँगै विमानस्थलमा आइपर्ने अन्य समस्या समाधान गर्न भारतसँग संयुक्त हवाई क्षेत्र प्रयोगमा सहमति कायम गर्न विज्ञको सुझाव छ । यसमा कूटनीतिक पहल भएको छैन । प्राधिकरणका प्रवक्ता कर्णले नेपाल र भारतका बीचमा आपसी वार्ता गरेर सहमति कायम गर्नुपर्ने बताए ।

    विमानस्थलको आन्तरिक काम भने तीव्ररुपमा भैरहेको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन, सुरक्षा युनिट, आयल निगम, भन्सार स्थापना गर्ने काम भैरहेको विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

    भैरहवा विमानस्थलबाट यात्रा सस्तो पर्ने र लुम्बिनी आउने पर्यटक बढ्ने सरकारको अपेक्षा छ । लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ । विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्ने पर्यटन व्यवसायी माधव नेपालले बताए ।

  • आइकाओको स्वीकृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल

    आइकाओको स्वीकृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल

    बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले परीक्षण उडानपश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेशन फ्लाईटपछि परीक्षण उडान हुने र त्यसपश्चात आइकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आउने छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल छ दशकअघिबाटै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा रहेको छ । नेपालमा तीन दशक अगाडिबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको अन्यथा काठमाडौंको विमानस्थलले मात्रै नेपालको हवाई चाप धान्न नसक्ने भनेर सिफारिस गरिएको थियो ।

    यस विमानस्थलबाट पाँच घण्टा बढीको हवाई उडान अवधि रहने ठाउँहरुमा पनि सेवा दिन सकिने विमानस्थलले जनाएको छ ।

    हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान र क्यालिब्रेशन फ्लाईटको ठेक्का पाएको एरोनोटिकल रेडियो अफ थाईल्याण्ड (एरो थाई)को विशेष विमानले परीक्षण उडानको काम गरिरहेको छ । यान्त्रिक परीक्षण उडान पश्चात नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने, त्यससँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको छ ।

    यस विमानस्थलबाट हवाई सेवा सञ्चालनका लागि एअर स्पेश, रुट डिजाइन, फ्लाईट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । त्यस्तै विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सेवा प्रदायक हवाई कम्पनीहरुले पनि यहाँबाट आफ्नो सेवा सञ्चालनका लागि तयारी थालेका छन् ।

    विमानस्थल प्रशासनका अनुसार पछिल्लो समय यो विमानस्थलबाट कतार एअरवेज, फ्लाईट दुवई, श्रीलंकन एअरवेज, म्यानमार एअरवेज लगायतका विभिन्न विमान कम्पनीहरुले आफ्नो सेवा सञ्चालन गर्न चासो देखाइरहेका छन् भने विमानस्थल आयोजनाले थाईल्याण्ड, भारत, अष्ट्रेलिया लगायतका देशहरुसँग पनि यस विमानस्थलमा त्यस देशका विमान कम्पनीहरुको सेवा सञ्चालनका लागि पत्राचार गरेको छ ।

    यो विमानस्थल फोर इ क्याटगोरीको भएकाले यहाँबाट बोइङ ७७७२००, एअरबस ए ३३० ३०० प्रकारका जहाजहरुले पनि सेवा दिन सक्नेछन् र पाँच घण्टा बढीको उडान अवधिमा पनि यहाँबाट सिधै उडान भर्न सकिने छ । अर्थात भैरहवाबाट सिधै जापान, अष्ट्रेलियादेखि युरोप, अमेरिकासम्म उडान गर्न सकिने छ ।

  • ‘क्यालिब्रेशन फ्लाइट’का लागि तयार भयो गौतमबुद्ध विमानस्थल

    ‘क्यालिब्रेशन फ्लाइट’का लागि तयार भयो गौतमबुद्ध विमानस्थल

    रुपन्देही । राष्ट्रिय गौरवको आयोजनका रुपमा रहेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ ।

    विमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रबिण न्यौपानेले यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने बताए । विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक सबै बिद्युतीय उपकरणहरु जडान गर्ने काम सबै चैत्र दोश्रो हप्तामै सकिएको उनले बताए ।

    न्यौपानेका अनुसार क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो ।

    ‘हामी निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राबिधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौ, क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक तयारीमा जुटेका थियाैं तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको अवस्था छ’ उनले भने,‘अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै काम सुरु हुन्छ, अहिले पनि हामी क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छौ, त्यतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्नसक्छौ, आवश्यकीय उपकरण सबै जडान भैसकेको छ’, न्यौपानेले भने ।

    उनका अनुसार ती उपकरणहरुले काम गरेको या नगरेको विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ र अपनाउनुपर्ने, सच्याउनुपर्ने समेत थाहा हुने भएकाले क्यालिब्रेशन फ्लाइट अनिवार्य हुन्छ । आईसीपी २ को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनी हो ।

    सचेतनाका साथ काममा निरन्तरता

    विमानस्थलमा कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र बिदेशी कामदारले काम गरिरहेका छन् । उनीहरुलाई कार्यक्षेत्रमै रहने व्यबस्था गरी काम भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इं प्रबेश अधिकारीले बताए ।

    विमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवम् प्राविधिकहरु कार्यरत छन् ।

    अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेशन, फर्निसिङ, फर्स सिलिङ, एअर कन्डिशन जडान गर्ने काम भैरहेको छ । त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंङका काम भैसकेका छन् ।

    ‘एउटा एक्सरे मेशिनबाहेक विदेशबाट आउनुपर्ने महत्वपूर्ण उपकरणहरु सबै आइसकेको छ’– उनले भने –‘धावनमार्गका लाइटस, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेशिन, ब्यागेज ह्यान्डलिंग सिष्टमलगायतका सबै काम सकिएका छन्,अहिले कोरोना भाइरसका कारणले केही असहज अबस्था देखिएको हो, डर पनि छ तर काम भैरहेको छ, सहज अवस्था हुने बित्तिकै कुनै पनि बेला ब्रेक थु्र हुनेछ ।’

    विमानस्थल क्षेत्रभित्रका अन्य पूर्बाधार निर्माण कार्य, बिद्युतीकरण लगायतका सबै काम सकिएका छन् । तारबारका काम सम्पन्न भएको छ भने पेरीफेरी रोड (इनर) निर्माण भएको छ भने बाह्य सडक निर्माण भैरहेको छ । बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तिको समस्या परेको अधिकारीले बताए ।

    २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट आईसीबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

    पहिलो चरणको अधिकांश काम सकिएसँगै अहिले दोस्रो चरणको काम चलिरहेको छ ।

  • गौतमबुद्ध विमानस्थलबाट चल्ने ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी शुरु

    गौतमबुद्ध विमानस्थलबाट चल्ने ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी शुरु

    काठमाडौं । राष्ट्र बैंकले केही समय अगाडि ल्याएको क्युआर कोडको प्रयोग चौतर्फीरुपमा बढ्न थालेको छ । गौतमबुद्ध विमानस्थलमा चल्ने भाडाका ट्याक्सीमा सोमबार क्यूआर कोड भुक्तानी प्रणाली लागू भएको छ ।

    अन्तराष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी शुरु गरिएको सनराइज बैंकले जनाएको छ । सनराइज बैंकको क्यूआर कोड प्रयोग गरी यो भुक्तानी प्रणाली शुरु भएको हो ।

    लुम्बिनीमा राष्ट्र बैंकको क्षेत्रीय कार्यलयले सो क्यूआर कोडको शुभारम्भ गर्‍यो । कार्यक्रममा राष्ट्र बैंक र सनराइज बैंकका पदाधिकारीको उपस्थित रहेको थियो ।

    नेपालमा डिजिटल बैंकिङ प्रणालीको आवश्यक्ता महशुस गरी लुम्बिनी प्रदेशमा क्यूआर कोड विस्तार गरेको राष्ट्र बैंकले बताएको छ ।

    क्यूआर कोड प्रयोग गरेपछि विमानस्थलमा चल्ने ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रणालीको प्रयोगले यात्रु तथा ट्याक्सी चालकलाई अझ सुरक्षित बनाउने र ट्याक्सीको विश्वसनीयता ढब्ने बैंकको विश्वास छ ।

    यसैगरी नेपाल बैंकले पनि पाल्पा जिल्लामा एकैपटक एकसय १८ व्यवसायीलाई क्यूआर कोडको माध्यमबाट भुक्तानी प्रणाली शुरु गरेको छ ।

    बैंकका अनुसार पाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानूनी सेवा व्यवसायी, सहकारी, विद्यालय मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्टलगायलका विविध क्षेत्रमा व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको छ ।

  • गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा, तीन महिनाभित्र सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा, तीन महिनाभित्र सञ्चालनमा आउने

    काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ ।

    विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ । प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको छ ।

    विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ । सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ ।

    विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण सबै नै आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने दक्ष जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन’, उनले भने ।

    उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् । एक /दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् । चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन् ।

    उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ । कोभिड–१९ महामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो । कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो ।

    विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो । महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो ।

    प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो ।

    सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

    आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ्गरोगनको कार्य भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ ।

    व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ ।

    एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

    अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ ।

    निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्नेछ । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो ।

    प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ ।

    बुद्धिष्ट पर्यटनको केन्द्र बनाइने छिट्टै सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल भएर विभिन्न मुलुकबाट धेरैभन्दा धेरै बुद्ध धर्माबलम्बि पर्यटक आकर्षणका लागि विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भइरहेको छ ।

    गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न मुलुकबाट पर्यटक आकर्षणका लागि सरोकारवाला संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएका हुन् ।

    यसै सन्दर्भमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगका माध्यमले अगाडि बढ्नेसम्बन्धी हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा. डा हृदयरत्न बज्राचार्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ ।

    लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् ।

    निगमका महाप्रबन्धक लुम्बिनी विमानस्थललाई बुद्धिष्ट पर्यटनको हबका रुपमा विकास गर्ने उद्देश्यले निगमले बुद्धिष्ट बाहुल्य भएका मुलुकमा नियमित उडान सञ्चालन गर्ने योजना रहेको बताए ।

    नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ ।

    उड्डयन र पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख छ ।

    लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तरराष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ ।

    लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चार वर्षका लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ ।