रुपन्देही । रुपन्देहीमा निर्माणसम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज २०७९ साल बैशाख १ गते नयाँवर्षको पहिलो दिन हुने भनिएको परीक्षण उडान नहुने भएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैशाख १ गते परिक्षण उडान गर्ने पर्यटनमन्त्री प्रेम आलेले केही समय अगाडि विमानस्थाल निरीक्षणका क्रममा भनेका थिए । यसअघि फागुनको दोस्रो साता एरोथाईले क्यालिब्रेसन फ्लाइट गरेको समयमा आएका मन्त्री आलेले यस्तो निर्देशन दिएका थिए ।
मन्त्री आलेले जेठ २ गते बुद्धपूर्णिमा जसरी पनि व्यवसायिक रुपमा उडान सुरु गर्ने र त्योभन्दा अगाडि सके अझै राम्रो हुने बताएका थिए । तर उनले प्रस्ताव गरेको समयमा परीक्षण उठान भएन । मन्त्री आलेसँगै विमानस्थल आयोजनाले पनि वैसाख १ गते अन्तर्राष्ट्रिय विमानबाट परीक्षण उडान गर्ने बताउँदै आएको थियो । तर उक्त उडान स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
प्राधिकरण नै अनभीज्ञ
तर नेपाल नागरिक उड्ययन प्राधिकरणले भने वैसाख १ गतेको परीक्षण उडानबारे जानकारी नभएको जनाएको छ। सरकारी कार्यालयहरुबीचमै आपसी समन्वय नभएकाले यस्तो समस्या आएको पर्यटन व्यवसायीको भनाइ छ । आज गर्ने भनिएको उडानका बिषयमै नागरिक उड्यान प्राधिकरण, विमानस्थल कार्यालय र वायुसेवा निगमका बीचमा समन्वय हुन नसकेको दुवै पक्षका भनाइले प्रष्ट पारेको छ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्ने भन्ने यसअघि जानकारीमा आएको भएपनि अहिले किन स्थगित गरियो ? भन्ने प्राधिकरणलाई जानकारी नभएको बताए।
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बसद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।
विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए ।
आपत्कालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने
प्राधिकरणका महानिर्देशक इन्जिनियर अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गरे ।
नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।
गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ ।
त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्नेछ ।
नयाँ एयर रुट चाहिन्छ
विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ ।
विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए। विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बिहरु सिधै लुम्बिनीमा आउनसक्ने उनको भनाई छ ।
जनशक्ति व्यवस्थापन
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताए। उनले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताए ।
उनका अनुसार विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको छ ।
उनले भने,‘विमानस्थलमा आवश्यक जनशक्तिको व्यस्थापन गरिसकेका छौं । अध्यागमन, भन्सार,क्वारेन्टाइन र सेक्युरेटी एजेन्सीहरुको सोही अनुसारको दरबन्दीका कामहरु भएको छ । मैले के भन्न खोजेको हो भने क्यानको मात्रै एयरपोर्ट होइन । क्यानले मात्रै चलाउन सक्ने विषय पनि होइन । त्यसैले त यसलाई राष्ट्रिय गौरवको आयोजना भनिएको हो । सबै स्टेक होल्डरहरु सबै एजेन्सीहरुले आ–आफ्नो तरिकाबाट काम भएको छ । आगामी जेठ २ गतेसम्म सबै काम पूरा हुनेछ । एशियाली विकास बैंक र हामीले लगानी गर्दा रेटअफ रिटन नहेरी काम गरिएको हुँदैन । हामीसँग मार्केट छ । त्यो भएकाले सोचिहाल्नु पर्ने जरुरी देखिदैन ।’
विमानस्थलको व्यापार, प्रचारप्रसार
त्यस्तै,महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए ।
विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाई छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गर्नुभयो । उहाँले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।
विमानस्थल सञ्चालन
महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायिक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको छ ।
अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले भने । यो विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।
उनले भने,‘विमानस्थल सञ्चालन भनेको विश्वव्यापी अभ्यास हेर्ने हो भने जुन परमपरागत ढङ्गले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिहेका छौं । अहिले गौतमबुद्ध विमानस्थल पनि त्यही मापदण्डमा त्यही ऐन र नियमावली अनुसार हामीले सञ्चालन गरिरहेका छौं । यो गौतमबुद्ध विमानस्थल नीजी कम्पनीले बनाएको भए यसको विज्ञापन कति हुने थियो । यसलाई व्यवसायी ढङ्गमा लिएर जाने हो भने व्यवसायी सञ्चालन गरियो भने अब हामी विस्तारी विमानस्थलको अप्रेशन, यसको मर्मत समग्र यसको सञ्चालन नीजि क्षेत्रले गराउनु पर्छ ।’
उनले अब सरकारले नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताए । अधिकारीले सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भएपनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उनको भनाइ छ ।
रुपन्देही । यान्त्रिक परीक्षण उडान शुक्रबारबाट सुरु भएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमादेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
बिहीबार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ । अब जेठ २ गते परेको बुद्ध पूर्णिमादेखि यहाँबाट व्यवसायिक उडान हुने जनाइएको छ ।
सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।
केही साताअघि पर्यटनमन्त्री प्रेम आलेले विमानस्थलको निरीक्षण गर्दै बुद्ध पूर्णिमामा जसरी पनि व्यवसायिक उडान गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भइ उपकरणहरु जडान भइसकेको बताए ।
उनले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे÷नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको न्यौपानेले बताए ।
थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय रुपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए ।
‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ । ’ उनले भने ।
विमानस्थलको भौतिक निर्माण आयोजना (आईसीबी–वान) का प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड–१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरुप काम हुन नसकेको बताए । उनले भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको बताए ।
‘क्यालिब्रेशन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष विमानले शुक्रबारदेखि काम सुरु गरेको छ, उनले भने, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पुरा गर्नुपर्नेछ ।’
सुरुवाती चरणमा विमानस्थल निर्माण आयोजनाले विभिन्न समस्या झेलेको उनले बताए । यद्यपि सबै सरोकारवालाहरुको आपसी सहकार्यले आयोजना सम्पन्न गर्न सफल भएको उनले बताए ।
रुपन्देही । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पूरा भएको छ । अब यहाँ छिट्टै परीक्षण उडानको समेत तयारी भइरहेको छ । विमानस्थलमा परीक्षण उडान पूर्वतयारीका लागि थाइल्यान्डको प्राविधिक टोली आएको छ ।
निर्माणको अधिकांश काम सकिए पनि परीक्षण उडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको थियो । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ‘आईसीबी टू’ को ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीका चारजनाको प्राविधिक टोलीले विमानस्थलमा जडित विभिन्न उपकरणको जाँच गरी परीक्षण गरेपछि उडान सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
आयोजनाको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले यो टोलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सम्पन्न गरेर फर्किने जानकारी दिएका छन् । उनका अनुसार यो टोलीले काम थालेको केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली आउनेछ ।
यहाँ आएको थाई प्राविधिक टोलीसँग मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोलीले काठमाडौंमा छलफल गरेको थियो । टोलीले बिहीबारदेखि नै काम थालेको हो । परीक्षण उडानका लागि धावनमार्ग जाँच र विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि यही टोलीले दिनेछ ।
विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न नेपाली इन्जिनियरसहितको प्राविधिक टोलीलाई गत माघ २ गतेदेखि भैरहवामा दुईमहिने तालिम दिन सुरु भइसकेको छ । विमानस्थलमा प्राधिकरणबाट ३४ कर्मचारी परिचालन भएका छन् । अब थप १ सय ५१ जनाको दरबन्दी पूर्ति गर्नुपर्ने अवस्था छ ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको बताए । फिनिसिङका छिटफुट काम भइरहेको र केही समयमै उडान सुचारु हुने अपेक्षा राखिएको अधिकारीको भनाइ छ । २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको छ । क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको अधिकारीले बताए ।
माघ १२ देखि सुरु अभियानअन्तर्गत फागुन १० मा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त डीजी प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।
क्यालिब्रेसन उडान योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुनेछ ।
यसैगरी विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डेलिङ, फुड क्याटिरिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यानलगायतबाट मानव संंशाधनको परिचालन गर्ने बताइएको छ ।
चितवन । अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सक्रिय सिताराम कट्टेल ‘धुर्मुस’ लाई निराश नहुन आग्रह गरेका छन् । धुर्मुसले रंगशाला निर्माणमा बजेट अभाव भएको र १७ करोड ऋण लागेको सामाजिक सञ्जालबाट बताएका थिए ।
‘सरकार नकारात्मक छैन, बजेट बनाउने अवधिमा बजेट आउँछ, निराश नहुनू ‘, धुर्मुसलाई निराश नबनी अगाडि बढ्न आग्रह गर्दै भरतपुर विमानस्थलमा पत्रकारसँग अर्थमन्त्रीले भने, ‘रंगशाला निर्माणको अभियान चल्यो, धुर्मुस-सुन्तली फाउन्डेसनले साहसिक काम अगाडि बढाएकोमा प्रशंसा गर्न चाहन्छु ।’
कलाकारहरूले महत्वपूर्ण योजना सार्नु राज्यका लागि चुनौती भन्दै अर्थमन्त्री शर्माले रंगशाला निर्माणलाई पूर्णता दिइने दाबी गरे । २०७५ माघदेखि निर्माण सुरु भएको रंगशाला २ वर्षमा निर्माण सक्ने भनिए पनि बजेट अभावले रोकिएको छ ।
भरतपुर-१६ स्थित रामपुर क्याम्पसको २० विघा ६ कट्ठामा रंगशाला निर्माणाधीन छ । जनस्तरबाट करिब ३ अर्ब ५५ करोड संकलन गर्ने गरी रंगशाला निर्माणको घोषणा गरिएको थियो ।
चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ ।
तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उनले सरकारलाई आग्रहसमेत गरेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारीक फेसबुक पेजबाट १४ मिनेट नौ सेकेण्डको भिडियो सार्वजनिक गर्दै धुर्मुसले देशको जितकै लागि भए पनि सरकारले अपनत्व ग्रहण गरिदिनुपर्ने बताए । यस्तै अवस्था रहेर भोलिका दिनमा आफूहरू विचलित हुने दिन आएमा सिंगो देशको हार हुने उनले बताए ।
३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो ।
‘निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तित्वहरू धेरै कुरिसक्नुभयो । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उहाँहरूको तारन्तर फोन आइरहन्छ । तारन्तार मेसेज गरिरहनुहुन्छ, कहिले कहिले ? मसँग पनि जवाफ छैन कहिले ?’, उनले भावुक हुँदै भने ।
सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफुहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन उनले आग्रह गरे ।
महामारी र चाडपर्वमा पनि आराम नगरी रंगशाला निर्माण अभियान जारी राखिएको स्मरण गर्दै उनले दर्शकको माया र ममता पाएर नै सामाजिक काममा हात हालिएको बताए । रंगशाला निर्माण परियोजनाको आफूहरू माध्यम मात्र भएको उनले बताए ।
‘हरेक विषम परिस्थितिको सामना गर्दै रंगशाला जसरी पनि बन्नुपर्छ भनेर त्यो आँट, त्यो हिम्मतका साथ हामी अघि बढेका थियौँ । तर, बिडम्बना विगत चार महिनादेखि रंगशाला निर्माण अभियान रोकिएको छ’, उनले भने ।
सरकारको उपस्थितिमा घोषित परियोजना निर्माणका लागि सके जतिको उपाय अपनाइएको तर थोरै सहयोग अनि धेरै आश्वासन र धोका पाइएको उनले बताए ।
‘सरकारलाई सुरुवाती दिनदेखि नै अभिभावकत्व ग्रहण गरिदिन अनुरोध गरिरह्यौँ’, उनी भन्छन्, ‘संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार । सबैको ढोकामा हामी पटकपटक पुग्यौँ । सिंहदरबार, ७५३ वटै सरकारका ढोकामा पत्राचार गरेका छौँ । अनुरोध गरेका छौँ । हामी नपुगेको ठाउँ, सायदै कम होला ।’
आर्थिक अनियमितता हुन नदिन आफूहरू सुरुवाती दिनदेखि नै सचेत रहेको उनले बताए । फाउण्डेसनले असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ । त्योसँगै भोगाइ र पीडा पनि सार्वजनिक गर्ने सुरमा छन्, धुर्मुस । हरेक आलोचना र टिप्पणीको जवाफ दिइने उनले बताए ।
‘एकचोटी फेरि सबै जुर्मुराएर जुट्ने हो भने अबको ६ महिनादेखि वर्षदिनमा इतिहासमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय मादण्डको रंगशाला नेपालले पाउने छ’, उनले भने । रंगशालाको लागि सहयोग गरिसकेका ४० हजार जनाभन्दा बढीको भावनाको कदर सरकारले गर्नुपर्ने उनले बताए ।
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनको पहलमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम केही दिनदेखि रोकिएको छ । फाउण्डेसनलाई १६ करोड रूपैयाँ ऋण लागेपछि रंगशालाको काम अवरुद्ध भएको हो ।
फाउण्डेसनले चितवन महानगरपालिकासँगको समन्वयमा रंगशाला निर्माण सुरू गरेको थियो । रंगशालाका लागि जग्गा उपलब्ध गराएको महानगरले अन्य सहजीकरण पनि गर्दै आएको छ । अहिले रंगशाला निर्माण स्थगित भएपछि भने महानगरको औपचारिक प्रतिक्रिया बाहिर आएको छैन ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने रंगशाला निर्माण अलपत्र पर्न नदिने नेपाल प्रेससँग बताइन् । फाउण्डेसनले रंगशाला निर्माण सम्पन्न गर्न नसके सम्झौतअनुसार महानगर जिम्मा लिन तयार रहेको उनको भनाइ छ ।
‘हामी सम्झौताबाट पछि हट्दैनौं, बाँकी कामको जिम्मा लिएर यसलाई चाँडोभन्दा चाँडो सम्पन्नतातर्फ लैजान तयार छौं,’ उनले भनिन्, ‘होइन, फाउण्डेसन आफैंले यसलाई अघि बढाउँछ भने पनि हाम्रो आवश्यक सहयोग हुन्छ ।’
मेयर दाहालसँग गरिएको संक्षिप्त कुराकानीः
– भरतपुर महानगरसमेत जोडिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम आर्थिक अभावका कारण बीचमै अलपत्र परेको छ । आम जनताले चासो दिइरहेको यो परियोजनाको भविष्य अब के हुन्छ ?
यसमा हामी स्पष्ट नै छौं । फाउण्डेसनसँग हाम्रो सम्झौता जे थियो त्यहीअनुसार अगाडि बढ्ने हो । सम्झौतामा फाउण्डेसनले जनस्तरबाट आर्थिक सहायोग जुटाउने र महानगरले जग्गा उपलब्ध गराउने तथा निर्माणको वातावरण बनाउने भनिएको छ । हामीले जग्गा उपलब्ध गरायौं र अरु सहजीकरण गर्दै आएका छौं । हामी सम्झौताको मर्मअनुसार नै अघि बढेका छौं ।
– तर, अहिले त फाउण्डेसनलाई ऋण लागेर कामै रोकिएको अवस्थामा महानगरको आर्थिक दायित्व रहन्छ कि रहन्न ?
फाउण्डेसनलाई आर्थिक सहयोग जुटाउन पनि हामीले धेरै सहयोग गरेका हौं । महानगरले आफ्नो बजेटमा यसलाई प्राथमिकतामा राखेर आन्तरिक कोषबाटै आठ करोड रूपैयाँ उपलब्ध गराइसकेको छ । थप ३ करोड पनि विनियोजन भएको छ ।
रंगशाला निर्माणको सहयोगार्थ धानधनाञ्चल महायज्ञ आयोजना गर्न पनि हामीले पहल गरेका हौं । त्यसमार्फत पनि १५ करोड रूपैयाँ हस्तान्तरण गरिसक्यौं । हामीले कुनै जिम्मेवारी नलिएको भन्ने होइन ।
– महायज्ञमा प्रदेश सरकारबाट कबुल भएको ३० करोड रूपैयाँ प्राप्त नभएको भनिएको छ नि ?
प्रदेश सरकारबाट ३० करोडको कबुल भएको हो, तर त्यो नगद अनुदानका रूपमा दिने भनिएको थिएन । सरकारले ठेक्का प्रक्रियामा गएर ३० करोड रूपैयाँ बराबरको बहुवर्षीय सहमति र बजेटको सुनिश्चितता दिन्छौं भनेको हो । हामीले डीपीआरभित्रको एउटा पार्टको ठेक्का गरौं भनेर अनुरोध गर्दा फाउण्डेसन त्यसमा सकारात्मक भएन । ३० करोड अनुदान नै उपलब्ध गराएर आफैंले काम गर्न पाउनुपर्ने उहाँहरूको मनसाय रह्यो । त्यसले गर्दा उक्त रकम निकासामा समस्या परेको हो ।
– अब सरकारबाट पनि बजेट उपलब्ध नहुने र जनसहयोग पनि जुट्न नसक्ने अवस्थामा यो आयोजना कसरी अगाडि बढ्छ त ?
अब फाउण्डेसनले जे चाहन्छ त्यही नै हुन्छ । मैले भन्दै आएको छु, रंगशाला अलपत्र पर्न दिइन्नँ । यदि फाउण्डेसनले नसक्ने अवस्था आयो भने महानगरले जिम्मा लिएर आफ्नो तरिकाले कामलाई निरन्तरता दिन तयार छ ।
महानगरले अघि बढाउँदा संघीय सरकारबाट बजेट विनियोजन सहज हुन्छ । अहिले प्रक्रियागत रूपमा समस्या परेको हो । संघ सरकारले फाउण्डेसनलाई एकैचोटि ठूलो रकम दिन मिल्दैन । सानो-सानो पैसाले रंगशाला बन्दैन । महानगरको स्वामित्वमा आइसकेपछि संघ सरकारबाटै बजेट विनियोजन हुन सक्छ ।
– यस्तो प्रस्ताव फाउण्डेसनलाई राख्नुभएको छ ?
हामी निरन्तर संवादमा नै छौं । मैले महानगरका तर्फबाट आफ्ना कुराहरू भनेको छु । उहाँहरूले पनि आफ्नो प्रस्ताव पेश गर्नुभएको छ । सकेसम्म फाउण्डेसनमार्फत नै यसलाई टुंगोमा पुर्याउन पाए हुन्थ्यो भन्ने चाहना उहाँहरूको छ । त्यसनिम्ति, केन्द्र सरकारसँग पनि पहलकदमीहरू गरिराख्नु भएको छ । हामीले पनि आफ्नो तर्फबाट प्रयास गरिरहेका छौं । अब कसरी जाने भन्ने फाउण्डेसनकै हातमा छ ।
– भनेपछि १६ करोड ऋणसहित अहिलेकै अवस्थामा रंगशाला हस्तान्तरण गर्न फाउण्डेसन तयार भयो भने महानगरले जिम्मा लिन्छ ?
अवश्य पनि । हाम्रो सम्झौतामा नै त्यही छ । फाउण्डेसनले सहयोग जुटाउन सकेन र बीचमा अलपत्र पर्ने अवस्था आयो भने महानगरले नै जिम्मा लिने भनिएको छ । त्यो सम्झौताबाट हामी भाग्दैनौं । हरहालतमा यसलाई अगाडि बढाउँछौं ।
हामी तपाईंहरूले सक्नुभएन, हामीलाई दिनुस् पनि भन्दैनौं । उहाँहरूले जुन मोडालिटीमा जान चाहनुहुन्छ, त्यसमा हामी सकारात्मक छौं । हामी उहाँहरूलाई असहयोग गर्दैनौं र वाधक बन्दैनौं ।
– महानगरले नै जिम्मा लिने भयो भने चाहिँ कसरी काम अघि बढाउँछ ?
हाम्रो आफ्नै प्रक्रिया हुन्छ । बहुवर्षीय ठेक्का लगाएर काम गर्ने हो । त्यसमा कुनै समस्या आउँछ जस्तो मलाई लाग्दैन ।
– त्यसो गर्दा बजेटको सुनिश्चितता चाहिँ कसरी हुन्छ ?
महानगरले अघि बढाउँदा संघीय सरकारबाट बजेट विनियोजन सहज हुन्छ । अहिले प्रक्रियागत रूपमा समस्या परेको हो । संघ सरकारले फाउण्डेसनलाई एकैचोटि ठूलो रकम दिन मिल्दैन । सानो-सानो पैसाले रंगशाला बन्दैन । महानगरको स्वामित्वमा आइसकेपछि संघ सरकारबाटै बजेट विनियोजन हुन सक्छ ।
– हस्तान्तरण गर्ने कुरामा फाउण्डेसनले के भनेको छ तपाईंहरूसँग ?
मैले उहाँहरूलाई भनेको छु कि विज्ञ अथवा परामर्शदातासँग छलफल गरेर जे गर्दा उपयुक्त हुन्छ, त्यसका लागि महानगरपालिका सहजीकरण गर्न तयार छ । यहाँसम्म गरेको कामलाई धन्यवादसहित हामी जिम्मा लिन्छौं भनेको छु । उहाँहरूको चाहिँ आफैंले सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मनसाय छ र अझै प्रयासरत हुनुहुन्छ । संघ सरकार, प्रदेश सरकार, खेलकुद मन्त्रालय, क्रिकेट संघ लगायतमा उहाँहरूले पहल गरिराख्नुभएको छ ।
– यस विषयमा महानगर आफैंले केन्द्र सरकारसँग कुनै छलफल गरेको छ ?
हामीले पनि पहल गरिरहेका छौं । अर्थमन्त्रीसँग कुरा भइरहेको छ । उहाँहरू सकारात्मक नै हुनुहुन्छ । तर, ठूलो रकम केन्द्रबाट उपलब्ध हुने अवस्था देखिएको छैन ।
– सरकारले निर्माण सुरू गरेको मुलपानी रंगशाला वर्षौंदेखि अधुरो छ । चितवनको रंगशालामा द्रुत गतिमा काम भइरहेको थियो र चाँडै सकिने आशा पनि थियो । भोलि महानगरले जिम्मा लिएको खण्डमा मुलपानीकै अवस्था नहोला भन्ने कसरी विश्वास लिन सकिन्छ ?
सरकारले निर्माण गर्ने सबै आयोजनाको मुलपानीकै अवस्था हुन्छ भन्ने छैन । समयमै निर्माण सकिएका उदाहरण पनि छन् । यो रंगशाला हामीले जिम्मा लियौं भने बहुवर्षीय ठेक्का लगाएर छिटोभन्दा छिटो सम्पन्न गर्नेछौं ।
रूपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।
अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेको भन्दै पौडेलले आक्रोश व्यक्त गरे । उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शनिबार भैरहवामा बोल्दै पौडेलले अघिल्लो केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णयलाई कार्यान्वयन गर्दै एसियाली विकास बैंक (एडीबी)सँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाउन आग्रहसमेत गरे ।
‘हामीले सेकेन्ड फेजका काम अगाडि बढाएका थियौं । जसअन्तर्गत आउँदो ५० वर्षलाई धान्ने अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङलगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा सेकेन्ड फेजको काम अगाडि बढाउने मोडालिटी तयार भएको थियो’, पौडेलले भने, ‘एडीबी ऋण सम्झौता गर्न तयार अवस्थामा छ तर सरकारले काम अगाडि बढाएन ।’
पौडेलले थपे, ‘गत असार महिनामा मैले ‘सेकेन्ड फेज’को पूर्वाधार बनाउन ‘काउन्टर पार्टस् फन्ड’ सरकारले व्यहोर्ने जानकारीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पत्र पठाएको थिएँ । त्यसको आधारमा एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता पनि गरिएको छैन । काउन्टर पार्टस् फन्डको निर्णय पनि गरेको छैन । योजनाको काम सरकारले होल्ड गरेर बस्यो ।’
उनले विमानस्थलको काम रोकिएमा लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न तयार रहन सरकारलाई चुनौती दिए । पहिलो चरणको निर्माणको काम चलिरहेको अवस्थामा केपी शर्मा ओली र पौडेलले विमानस्थलको स्थलगत अवलोकनपछि विमानस्थललाई अन्तर्राष्ट्रिय क्षमताको बनाउने प्राविधिकहरूको सुझावअनुसार ५०० विगाहा जग्गा अधिग्रहण गरिएको थियो ।
अघिल्लो ओली नेतृत्वको सरकारकै पालामा जग्गा अधिग्रहणको काम सकिएको थियो । सोहीअनुसार पहिलो फेजको काम सक्ने र दोस्रो फेजको काम अगाडि बढाइएको थियो ।
विमानस्थललाई देशकै मुहार फेर्ने आयोजनाका रूपमा लिइएको छ । पौडेलले अहिलेको सरकार केही अपेक्षा गर्न लायक नभएको बताए पनि बताए ।
रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनाअघि नै क्यालिब्रेसन फ्लाइट गर्ने तयारी थियो । तर कोरोना संक्रमणका कारण विदेशबाट आउनुपर्ने जहाज र जनशक्ति नआउँदा अझै फ्लाइट हुन सकेको छैन । जसकारण विमानस्थलको लागत खर्चसमेत बढ्ने भएको छ ।
क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् ? ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ या छैन भनेर परीक्षण गर्ने विधि हो ।
उपकरणहरु जडानमा गल्ती भए क्यालिब्रेशन फ्लाइटमार्फत पत्ता लाग्छ र तत्काल उपकरण परिवर्तन गर्न सकिन्छ । क्यालिब्रेशन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ ।
विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आवश्यक विद्युतीय उपकरणहरु जडान गर्ने काम चैत दोश्रो हप्तामै सकिएको थियो । विमानस्थलको भौतिक कामहरु साढे ९७ प्रतिशत सकिएको छ ।
विमानस्थल निर्माण आयोजना ‘आईसिबी टू’का प्रमुख इन्जिनियर प्रवीण न्यौपानेले केही सामान ल्याउने जिम्मा पाएको थाइल्याण्डको एरोथाई कम्पनीले थाइल्याण्डकै कम्पनीबाट ल्याउन पहल गरे पनि कोभिडका कारण ल्याउन नसकेपछि आयोजनाको कार्यालयले भारतबाट ल्याउने प्रयास गरिरहेको बताए ।
उनका अनुसार थाइल्याण्डबाट सहज हुनेबित्तिकै सामान आउने आश्वासन छ तर त्यहाँको सरकारले आफ्ना नागरिकलाई बाह्य मुलुक जान रोकेको कारणले आउन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले भारत सरकारसँग सहयोगका लागि आग्रह गरे भारतबाटै क्यालिब्रेशनका लागि जनशक्ति र जहाज आउनसक्ने उनीहरुको अनुमान छ ।
भारतीय विमानपत्तन प्राधिकरण भारतको सरकारी संस्था हो । भारतीय विमानपत्तन प्राधिकरण (एअरपोर्ट अथोरीटि अफ इन्डिया)सँग क्यालिब्रेशन फ्लाइटमा प्रयोग हुने जहाज, उपकरण र दक्ष प्राविधिक छन् ।
त्यसैले पनि नेपाल सरकारले यस विषयमा सिधै भारत सरकारसँग सहयोग माग गरे सहज रुपमा उपलब्ध हुनसक्छ । अहिले भारत नेपाल (दिल्ली-काठमाडौं) हवाई उडान पनि सुरु भैसकेकाले सरकारले समन्वय गरे छिट्टै हुने आयोजनाका अधिकारीको भनाइ छ ।
‘क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक तयारीमा जुटेका थियौं, तर वैशाखबाट कोरोना संक्रमणको जोखिम बढेसँगै अहिले रोकिएको छ, हाम्रो लक्ष्य अक्टोबरभित्र क्यालिब्रेशन फ्लाइट गर्ने हो’, इन्जिनियर न्यौपानेले भने, ‘जतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्नसक्ने अवस्थामा छौ, उपकरणहरु सबै जडान भैसकेको छ ।’
स्वदेशी र विदेशी कामदार आईसिबी वानअन्तरगत टर्मिनल भवनको बाँकी काम सक्न लागिपरेका छन् । टर्मिनल भवनको काम नसकिए पनि क्यालिब्रेशन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको फर्स सिलिङ र एअर कन्डिशन जडान गर्ने काम भइरहेको छ ।
एअर कन्डिसनका पाइपहरु फर्ससिलिङभित्र राख्नु पर्ने र एअर कन्डिसनको परीक्षणका लागि चीनबाटै प्राविधिक आउनु पर्ने भएकाले त्यो काममा ढिलाइ भएको छ ।
अधिकारीका अनुसार एउटा एक्सरे मेशिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरणहरु आउन बाँकी छैन । धावनमार्गका लाइट्स, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिष्टमलगायतका सबै काम सकिएका छन् । ‘कोरोना भाइरसका कारण विदेशबाट प्राविधिक आउन नसकेर ढिला भएको हो, सहज हुनेबित्तिकै ब्रेक थ्रु हुन्छ’, उनले भने । त्यस्तै विमानस्थलको भन्सार तथा कार्गो भवन पनि निर्माणको अन्तिम चरणमा छन् ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले जिम्मा लिएको थियो । कम्पनीसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट आईसिबी जीरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी २०१५ जनवरीमा निर्माण सुरु गरिएको विमानस्थलको ठेक्का सम्झौता १३ नोभेम्बर २०१४ मा गरिएको थियो ।
सुरुवाती चरणमा ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई-मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभावजस्ता कारणले ढिलाइ भएको आयोजना निर्माणको काम अन्तिम समयमा आइपुग्दा कोभिड १९ का कारण प्रभावित बन्यो ।
आईसिबी जिरो १ अन्तर्गत ६ अर्ब २२ करोड लागतमा निर्माण भइरहेको छ भने आईसिबी जिरो २ अन्तर्गत विद्युतीकरण तथा लाईट जडान र मार्किङका लागि ५६ करोेड बढी बजेटमा काम भइरहेको छ ।
यसरी आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ । पहिलो चरणको काम अर्थात् आइसीबी १ मा एडीबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फण्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।
निर्माणतर्फ पनि आइसिबी १ अन्तर्गत चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन र आइसिबी २ अन्तर्गत एरो थाइ कम्पनीले ठेक्का सम्झौता गरेको हो ।
यो विमानस्थल संचालनमा आएपछि हाल त्रिभुवन विमानस्थलमा आउने सबै किसिमका जहाजहरु यहाँबाट पनि सुरक्षित रुपमा अवतरण गर्ने र उडान गर्न सक्नेछन् ।
रुपन्देही । रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सञ्चालनमा ल्याउन र दोश्रो टर्मिनल भवन निर्माणका लागि बजेटको सुनिश्चित भएपछि आयोजनाले गति लिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यक बजेट बिनियोजन गरेसँगै विमानस्थल निर्माणको नयाँ अध्याय सुरु भएको हो ।
आर्थिक वर्ष २०७८/०७९को बजेटमा यो विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन भएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको विमानस्थललाई बजेटको कुनै समस्या आउन नदिने अर्थमन्त्री पौडेलले पटक–पटक बताउँदै आएका छन् । नयाँ बजेटले विमानस्थलसँगै दोश्रो टर्मिनल भवन पनि छिट्टै बन्ने निश्चित भएको छ ।
अहिलेको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन सानो रहेको र त्यसमा आधुनिक विमानस्थलमा हुने एरोब्रिज सुविधासमेत नरहेकोले दोश्रो टर्मिनल भवन निर्माणको तयारी भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल आयोजनका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बजेट बिनियोजनले काम गर्न थप उत्साह आएको बताए । अहिले कोरोना न्युनीकरणका लागि निषेधाज्ञा लगाइए पनि प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यस्थलमै कामदारलाई राखेर काम भएको अधिकारीको भनाइ छ ।
‘निषेधाज्ञाले विमानस्थल निर्माणको काम रोकिएको छैन, क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थल तयारी अवस्थामा छ र अहिले टर्मिनल भवनभित्र फिनिसिङका कामहरु भइरहेका छन् । कन्भेएर बेल्ट जडान सकिएको छ,’ इन्जिनियर अधिकारीले भने, ‘आगामी बजेटमा विमानस्थलको काम सम्पन्न गर्न र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनु निकै राम्रो हो र यसले हामीलाई काम गर्न थप ऊर्जा प्रदान गरेको छ र छिट्टै सक्नुपर्ने दवाव पनि पर्ने भएको छ ।‘
प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको स्थलगत अवलोकनका क्रममा अहिलेको विमानस्थलको टर्मिनल भवन सानो भएको र नयाँ भवन बनाउनु जरुरी भएको निर्देशन दिएलगत्तै दोश्रो टर्मिनल भवन निर्माणको प्रकृया अघि बढेको र डिजाइनसमेत टुंगो लागिसकेको छ ।
अब छिटै बोलपत्र आब्हान गर्ने आयोजनाले जनाएको छ । नयाँ टर्मिनल भवन अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ निर्माण हुनेछ । नयाँ टर्मिनल भवनमा एरो ब्रिजसमेत निर्माण हुने र ६ वटा एरोब्रिज रहने गरी डिजाइन भएको छ । एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने गरी बनाइने एक किसिमको आकाशे पुलजस्तै हो । एरोब्रिज सुविधा भएको टर्मिनल भवन नेपालमै पहिलो हुनेछ ।
दोश्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ । हालका लागि भने आन्तरिक टर्मिनल भवन पुरानै भवनलाई यथावत गराइने जनाइएको छ ।
बजेट विनियोजनसँगै व्यवसायीमा उत्साह
सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेपछि दोश्रो टर्मिनल भवन निर्माण हुने सुनिश्चित भएको र अहिले निर्माण सम्पन्न हुने क्रममा रहेको विमानस्थलको बाँकी काम र क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक पहल सरकारबाट छिट्टै हुने विश्वास रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
विमानस्थलमा नयाँ भवन निर्माणका लागि बजेट बिनियोजन हुनु सकारात्मक रहेको सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेशन नेपालका उपाध्यक्ष एवम् भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले बताए ।
विमानस्थल निर्माण सम्पन्नताका लागि र नयाँ टर्मिनल भवन निर्माणका लागि बजेट बिनियोजन हुनुले पर्यटन क्षेत्रमा खुसी ल्याएको सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले बताए ।
साढे तीन प्रतिशत मात्र काम बाँकी
विमानस्थल निर्माणको ९६.५ प्रतिशत काम सम्पन्न भएको छ । अहिलेको अवस्था तत्काल सहज हुने हो भने २ महिनामै विमानस्थल तयार हुने आयोजना प्रमुख अधिकारीको दावी छ ।
यो आयोजनाको अहिलेसम्म ६ पटक म्याद थप भइसकेको छ । पछिल्लोपटक ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ देखि निर्माण सुरु भएको आयोजना सुरुमा महाभूकम्प, मधेश आन्दोलन, भारतको नाकाबन्दी तथा ठेकेदार र सह–ठेकेदारबीचको आपसी विवादमा रुमलियो । जसले गर्दा निर्माण सम्पन्न समयावधि भन्दा आयोजना थप ४ वर्ष ढिलाई भइसकेको छ ।
पछिल्लोपल्ट कोरोनाले नेपाल पनि उच्च जोखिममा परेकाले थाइल्याण्डको विकल्पमा परीक्षणका लागि विमान ल्याउन अन्य मुलुकसँग पनि कुराकानी भइरहेको छ । अब लाइट जडान, फर्निचर, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ ।
दुई चरणमा ठेक्का भएको विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड रुपैयाँमा भौतिक संरचना निर्माणको ठेक्का लिएको छ भने उपकरण जडानको काम भने थाइल्याण्डको एरो थाइ कम्पनीले करिब ५० करोड रुपैयाँमा ठेक्का लिएको छ ।
विदेशी कामदार रोकिएपछि समस्या
महामारीका कारण घर फर्किएका चिनियाँ कामदारसहित अन्य मुलुकबाट आउनुपर्ने दक्ष जनशक्ति समयमा आउन नपाएकाले विमानस्थलको काम प्रभावित भएको छ ।
यहाँको जनशक्तिलाई आयोजनास्थलमै राखेर काम गराइए पनि केही दक्ष जनशक्ति आउन नपाउँदा काम प्रभावित भएको हो । जसले गर्दा परीक्षण उडानका लागि विमानस्थल तयार भए पनि क्यालिब्रेसन फ्लाइट भने हुन पाएको छैन ।
दोस्रो चरणको महामारीले परीक्षण उडानको प्रक्रिया अवरुद्ध पारे पनि थोरै जनशक्तिबाट पनि आयोजनाका अन्य कार्य भने जारी छन् । अहिले पनि आयोजना स्थलमा नेपाली, भारतीय र चिनियाँ गरी एक सय कामदारले काम गरिरहेका छन् ।
नेपालमा दोस्रो चरणको कोरोना महामारी नफैलिएको भए यतिबेला गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भइसक्थ्यो । तर महामारी तीव्र फैलिएपछि परीक्षण उडानका लागि थाइल्याण्डबाट आउनुपर्ने जनशक्ति र क्यालिब्रेसन फलाइट रोकिएको छ ।
अर्कातर्फ अष्ट्रिया, अमेरिकालगायत मुलुकबाट उपकरण जडानका लागि आउने जनशक्ति पनि आएका छैनन् । दोस्रो चरणको निषेधाज्ञा हुनुपूर्व आयोजनास्थलमा धमाधम उपकरण जडानका कार्य जारी थिए । बैशाखको पहिलो हप्तामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान सम्पन्न भइसकेका छन् ।
विमानस्थल परिसरमा जडान गरिएका उपकरण ठीक भए÷नभएको र सही काम गरे÷नगरेको बारेमा विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला कोरोनाका कारण आयोजना फेरि प्रभावित भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।
सोल । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट चार लाख ५२ हजार ६३० रुपैयाँ सहयोग गरिएको छ ।
यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।
उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।
पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन् ।
क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।।
काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकाेमा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रंगशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भने, ‘आउँदो १४ महिनामा रंगशाला निर्माणको काम पूर्ण रूपमा सम्पन्न गर्ने विश्वास लिएका छौं । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ ।’
सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रंगशालामा ७७ जिल्लाका नाममा फरक-फरक कक्ष निर्माण हुनेछन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रंगशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पुर्याएको जनाए ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
रंगशाला निर्माणका लागि नगरपालिकाले १७ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा १० लाख प्रदान गरेको हो ।
नगरपालिकाको तर्फबाट १५ लाख, जनप्रतिनिधिको तर्फबाट एक लाख र कर्मचारीको तर्फबाट एक लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख वनले कोरोना महामारीका कारण रंगशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको स्वीकारे । उनले भने, ‘चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।’
चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी सात लाख पनि छिट्टै हस्तान्तरण गरिने जानकारी दिए । रासस