Tag: गोदावरी सनराइज

  • प्रधानमन्त्रीले गोदावरी सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

    प्रधानमन्त्रीले गोदावरी सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

    काठमाडौं । ललितपुरको गोदावरीमा निर्माण गरिएको देशकै ठूलो सम्मेलन केन्द्रको प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन ।

    ‘गोदावरी सनराईज’ नामक सम्मेलन केन्द्रको शुक्रबार प्रधानमन्त्री केपी सर्मा ओलीले बालुवाटारबाट नै उद्घाटन गर्न लागेका हुन ।

    शहरी विकास मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी कोभिड–१९ को विषम परिस्थितीको कारण प्रधानमन्त्री निवास बालुवाटार र उद्घाटन स्थल गोदावरीमा सिमित व्यक्तिको उपस्थितिमा जनस्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गरी कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

    काेभिड-१९ को विषम परिस्थितिका बारेमा मन्त्रालय सजग र सचेत रहेकोले जनाउदै विज्ञप्तिमा कसैबाट पनि सामाजिक संजाल लगायतका माध्यमबाट भ्रम सिर्जना हुने गरी समाचार प्रकाशन तथा प्रशारण नगरि दिनुहुन भनिएको छ ।

    ‘यस्ता भ्रामक समाचारबाट भ्रममा नपर्नुहुन समेत सर्वसाधारणहरुमा मन्त्रालय अनुरोध गर्दछ ।’ सम्मेलन केन्द्रको उद्घाटनको विषयलाई लिएर सामाजिक सञ्जालमा र केही मिडियामा आएको टिप्पणीलाई लक्षित गर्दै विज्ञप्तिमा उल्लेख छ ।

  • गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

    गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

    ललितपुर । गोदावरीमा निर्माणाधिन नेपालकै सबैभन्दा ठूलो सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    करिब ३ हजार क्षमताको सभाहल निर्माणको काम ९९ प्रतिशत काम सम्पन्न भएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय बबरमहलले जनाएको छ ।

    बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सभाहलको शुक्रबार शहरी विकास मन्त्री प्रभु शाहले निरीक्षण गरेका छन ।

    भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको शहरी विकास मन्त्रालयका सचिव ई. रमेश प्रसाद सिंहले जानकारी दिए ।

    उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले सभाहललाई गोदावरी सनसाईज नाम दिईएको सचिव ई. सिंहले बताए  ।

    गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सभाहलको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ ।

    ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ । ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सभाहलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् ।

    केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको सभाहलको लागत ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ । सभाहल अन्तराष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ ।

    मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारी सहित सभाहलको निरीक्षणमा जानुभएको थियो ।