Tag: गुर्जो रोपण

  • तीनकुने क्षेत्रको बागमती किनारमा पाँच गुर्जो रोपण

    तीनकुने क्षेत्रको बागमती किनारमा पाँच गुर्जो रोपण

    काठमाडौं । तीनकुनेबाट गणेश मन्दिरसम्मको बागमती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने पाँच सय गुर्जोका बिरुवा रोपिएको छ ।

    गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा रोपिएको छ । वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन समिति, आलोकनगर कम्युनिटी, नेपाल आमा सेवा आलोकनगर, जीवन विज्ञान योग साधना केन्द्र मीनभवन, पतञ्जलि योग समिति मीनभवन केन्द्रका पदाधिकारी एवं सदस्यको गुर्जो रोपणमा सक्रियता थियो ।

    कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी किनारमा महाऔषधि रोप्दा सबैलाई काम लाग्ने बताए । आलोकनगर मार्ग टोलसुधार समितिका डी आर पोखरेल, आलोकनगर मन्दिर व्यवस्थापन समितिका बोधराज श्रेष्ठ, आलोकनगर कम्युनिटीका ध्रुबराज पोखरेल, नेपाल आमा सेवा आलोकनगरका देवी सुवेदी, स्थानीय समाजसेवी राजेशमोहन प्रधानलगायतले रोपिएको बिरुवा दैनिक अनुगमन गरी संरक्षण बाचा गरेका छन् ।

    त्यस क्षेत्रको नदी किनारमा गत वर्ष रोपिएका गुर्जोका बिरुवा पनि बढेको अवस्थामा पाइएको अभियानकर्मी राजलवटले जानकारी दिए । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको सो अवसरमा उनले सुनाए ।

    यस वर्ष पनि करिब सात हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।

    निःशुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो निःशुल्क वितरणसमेत गरियो । आन्तरिक राजश्व कार्यालय लाहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रुपमा निःशुल्क वितरण अभियानमा उनी लागेका हुन् ।

    रासस

  • पशुपति क्षेत्रका खुला स्थानमा गुर्जो रोपण अभियान सुरु

    पशुपति क्षेत्रका खुला स्थानमा गुर्जो रोपण अभियान सुरु

    काठमाडौं । पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान सुरुवात भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडालगायतले गुर्जो बहु उपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिए ।

    गुर्जो रोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा.माला खरेल र पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीले गरेका थिए । आइतबार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ । पशुपति क्षेत्रका खाली स्थानमा क्रमशः गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

    पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो । अभियानकर्मी राजलवट विसं २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आएका छन् । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन् ।

    ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले बताए । उनले गत वर्ष पनि एक लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गरेका थिए ।

    आन्तरिक राजश्व कार्यालय लाहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उनले देशव्यापी रुपमा निःशुल्क वितरण अभियान चलाएका थिए । हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन् । गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांशत सेवनकर्ताको अनुभव छ ।
    –रासस