Tag: गिद्ध

  • नवलपरासीमा मरेका गिद्धको नमूना काठमाडौं पठाइयो

    नवलपरासीमा मरेका गिद्धको नमूना काठमाडौं पठाइयो

    नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाक्षेत्रमा मृत फेला परेका गिद्धहरुको पोष्टमार्टम गरी परीक्षणको लागि नमूना काठमाडौं पठाइएको छ ।

    एकै पटक ठूलो संख्यामा मरेका गिद्धको मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरी काठमाडौं पठाईएको हो । ६७ वटा गिद्ध मरेका भेटिएपछि गिद्धको नमूना संकलन गरी बीहीबार काठमाडौं पठाइएको नेपाल पंक्षी संरक्षण संघका ईश्वरी चौधरीले जानकारी दिए ।

    प्रारम्भिकरूपमा अनुसन्धानले विषाक्त सिनो खाएकै कारण गिद्धहरुको मृत्यु भएको देखिएपनि परीक्षणपछि मात्र वास्तविक कारण पत्ता लाग्ने चौधरीले बताए ।

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, गिद्ध संरक्षण मन्च, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण संघका प्राविधिकसहित टोली रामग्राम क्षेत्र पुगेका थिए । मरेका सबै गिद्धहरुलाई पोष्टमार्टमपछि खाडल खनेर बुधवार सांझ नै पुरिएको छ ।

    मरेको अवस्थामा फेला परेकामध्ये लोपोन्मुख प्रजातिमध्ये ३३ वटा सेतो डंगर प्रजातिका छन् । मरेकामध्ये ३१ वटा हिमाली गिद्ध र बाहिरी देशबाट आएका राजगिद्ध २ र एउटा सानो खैरो गिद्ध रहेका छन् ।

    तराई क्षेत्रमा पाइने सानो खैरो गिद्ध पनि अत्यन्त थोरै संख्यामा रहेको छ ।

  • नवलपरासीमा ६७ गिद्ध मरे, कारण खोज्दै प्रशासन

    नवलपरासीमा ६७ गिद्ध मरे, कारण खोज्दै प्रशासन

    रुपन्देही । नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा ठूलो संख्यामा गिद्ध मरेको अवस्थामा भेटिएका छन् ।

    विश्वबाट लोपहुने अवस्थामा रहेका ६७ वटा गिद्ध रामग्राम नगरपालिका–४ जितपुर क्षेत्रमा मृत अवस्थामा भेटिएका हुन । एकै पटक धेरै संख्यामा गिद्ध मरेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिभिजन वन कार्यालय नवलपरासीले अनुसन्धान सुरु गरेको छ ।

    गिद्ध मर्नुको आधिकारिक कारण नखुले पनि विषाक्त सिनो खाएर मरेको हुन सक्ने वडाध्यक्ष मदन यादवले अनुमान गरे ।

    ‘उक्त ठाउँमा १० वटा मरेका कुकुरहरु भेटिएको थियो ।’ वडा अध्यक्ष यादवले भने ‘स्थानीयले ती कुकुर विष खुवाएर फालेको र गिद्धहरुले त्यही सिनो खाएर मरेको अनुमान छ ।’

    गिद्धको मृत्युबारे जिल्ला प्रशासनको समन्वयमा गिद्ध संरक्षण केन्द्र, गिद्ध संरक्षण संघ, पशु संरक्षक संघ, वन कार्यालय, सशस्त्र प्रहरी, भेटेनरी डक्टरसहितको टोलीले बुधबार पोष्टमार्टम गरेको छ ।

    लोपोन्मुख डंगार प्रजातिका ३३, हिमाली प्रजातिका ३१, राज गिद्द २ र सानो खैरो १ रहेका गिद्ध संरक्षक संघका उपाध्यक्ष यादव खनालले नेपाल प्रेसलाई बताए । चितवनको कसरामा ट्याग लगाएको १ गिद्ध पनि मरेको भेटिएको छ ।

    सबै गिद्ध पोष्टमार्टम गरेपछि खाडल खनेर गाडिने गिद्ध संरक्षण संघका उपाध्यक्ष यादव खनालले बताए ।