Tag: गाउँपालिका अध्यक्ष

  • जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

    जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

    काठमाडौं । ठिक ५ वर्षअघि यतिबेला होमनारायण श्रेष्ठ र जयबहादुर लामा एक अर्काको प्रमुख प्रतिस्पर्धीका रुपमा जनताबीच भोट माग्न हिँड्दै थिए । प्रतिस्पर्धामा एमालेका होमनारायण श्रेष्ठले जिते, जयबहादुर १८१ मतको अन्तरले स्तब्ध भए ।

    यो थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको दृष्य । त्यस चुनावमा एमालेका श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा जयवहादुर लामाले २६३७ मत पाएका थिए भने तेस्रो स्थानमा माओवादीका रेशम स्याङ्बोले २४४५ मत पाएका थिए ।

    पाँच वर्षपछि शनिबार ठिक उल्टो दृष्य देखियो । आफूसँग झिनो मतान्तरले पराजित जयवहादुरलाई एमालेमामा भित्र्याउँदै उनैलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने कार्यक्रमको सञ्चालक होमनारायण श्रेष्ठ थिए । गाउँपालका महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले यसअघि नै विपक्षीहरुको गठबन्धन भए आफैं भिड्ने नत्र अरुलाई मौका दिने बताएका थिए ।

    नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुराना नेता जयबहादुर लामा अन्ततः नेकपा एमालेमा प्रवेश गरेका छन्। लामासहित जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन्।

    सोही कार्यक्रममा कांग्रेस केन्द्रीय यातयात विभागका सदस्य नबिन्द्र योन्जन,तरुण दलका नेतालगायत एक सय बढी काग्रेस कार्यकर्ता एमाले मा प्रवेश गरेका छन। उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ ,पोलिट्ब्युरो सदस्य अरुण नेपाल ,केन्द्रीय सदस्यहरु दावा तामाङ ,सरेश नेपाल ,जिल्ला अध्यक्ष कमल नेपाल लगायतले स्वागत गरेका थिए ।

    पार्टी प्रवेश गरेसँगै लामालाई एमालेले जुगल गाउँपालिकाको अध्यक्षको उमेदवारसमेत बनाएको छ। काग्रेसबाट गाउँपालिकाको दाबेदार भए पनि का‌ंग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि लामासहितका नेताहरुले पार्टी परित्याग गरेका हुन्।

    सोही कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष सानोकान्छा तामाङ पनि प्रवेश गरेका छन् । २०७४ मा कांग्रेसले जुगल गाउँपालिकाका दुई वडामा अध्यक्ष जितेको थियो ,अब दुवै वडा अध्यक्ष एमाले प्रवेश गरेका छन् ।

     

     

  • गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)

    गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)

    काठमाडौं । हिमालय राई (३८), एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडियाको दैलोमा भौतारिइरहेकी छन् । भोजपुर साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले करिब चार महिनाअघि आफूसँग विवाह गरेर अहिले घर न घाटको बनाइदिएको उनको गुनासो छ ।

    गत मंसिर १३ गते महेशले हिमालयलाई विधिपूर्वक विवाह गरी श्रीमती बनाएका थिए । तर, त्यसको तीन महिनामै अर्की श्रीमती भित्र्याएर पतिले उनलाई घरबाट निकाले । किराँत रितिरिवाज पछ्याउँदै सुम्निमा-पारुहाङ साक्षी राखी गरेको विवाह लत्याउँदै जनप्रतिनिधि श्रीमान्‌ले उनलाई अथाह चोट दिएका छन् । महेश कानूनीरूपमा सजायका भागीदार भए पनि अहिलेसम्म हिमालयको बेदना प्रहरीले दर्तासम्म गरेको छैन ।

    महेशले भित्र्याएकी कान्छी श्रीमती माया राई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । पछि भित्र्याएको भए पनि मायालाई ‘जेठी’ देखाउने गरी उनले सरकारी कागजपत्र मिलाएका छन् । हिमालयसँग बिहे भएको मितिभन्दा ११ दिनअघि (मंसिर २) को मिति राखेर महेशले मायासँग विवाह दर्ता गराउन सफल भए ।

    अहिले तुम्लिङटारको जग्गा र पैसा दिने भनेर आफूलाई राईले पन्छाउन खोजिरहेको बताउँछिन् हिमालय ।

    यस्तो छ बहुविवाहको कथा

    महेश राई (४८), २०७४ को स्थानीय निर्वाचनमा भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसको महासमिति सदस्य पनि छन् ।

    महेशकी पहिलाकी श्रीमती सरवती गिरी (सरु) को २०७८ जेठ अन्तिम साता हृदयघातका कारण निधन भएको थियो । त्यसको ६ महिनामै महेशले भोजपुर षडानन्द नगरपालिका सिक्तेलटार घर भइ हाल सुनाकोटी ललितपुर बस्दै आएकी हिमालयलाई मंसिर १३ मा विवाह गरे । सुनाकोटीमा रहेको घरबाटै विधिपूर्वक उनीहरूको बिहे भएको थियो । महेशसँगको बिहेको फोटो/भिडिओ हिमालयसँग सुरक्षित छ ।

    हिमालय साल्पासिलिछोको सीमा जोडिएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईको आफन्त (पत्नी मालती राईको ठूलीआमाकी छोरी) पर्छिन् । वीरबलकी पत्नी मालती राईले नेपाल प्रेससँग भनिन्, ‘मलाई घर चलाउन एउटा साथ नभइ भएन, तपाईंकी बहिनीलाई जे-जसो गरेर भए पनि सुखैले पाल्छु भनेपछि मेयर सा’व समेत लागेर हामीले बहिनीको परिवारसँग कुरा चलायौं । त्यसरी विवाह भएको हो ।’

    मंसिर १३ मा विवाह भएपश्चात केही समय ठीकै चलेको थयो । पुसको अन्तिमतिर राई अर्जेन्ट काम परेको बहाना गरेर गाउँ गएको र माघ १ बाट आफूसँग सम्पर्कविहीन बनेको हिमालयले बताइन् । महेशले अर्की श्रीमती (माया राई) लाई घरमा ल्याएर आफूलाई फागुन १६ गतेदेखि घर पस्न नदिएको हिमालले बताइन् ।

    ‘फागुन १६ मा काठमाडौंको कपनमा भएको घरमा आउनुभएछ । बेलुका घरमा फर्किँदा मलाई ढोका खोलिएन… एकजना छोरी मान्छेले माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन्,’ उनले सुनाइन् ।

    हिमालयका अनुसार कपनमा रहेको घरमा छिर्न नदिएपछि फागुन १६ कै बेलुका उनले प्रहरीमा हारगुहार गरेकी थिइन्, तर सुनवाइ भएन ।

    त्यसको केही दिनमै महेशले अगाडिको मिति राखेर बिहे दर्ता गरेको हिमालयको माइती पक्षले थाहा पाए । बिहे दर्ताको कागजमा स्पष्ट जालसाज देखिन्छ । साल्पासिलिछो गाउँपालिका-२ चौकिडाँडामा २०७८ फागुन १ को मितिमा विवाह दर्ताको लागि सूचना फाराम भरिएको छ । जबकि विवाह दर्ता फाराममा महेश राई र माया राईबीच साल्पासिलिछो गाउँपालिका-२ मा २०७८ मंसिर २ गते नै विवाह भएको उल्लेख छ ।

    (महेश राई र माया राईको विवाह सूचना दर्ता फाराम ।)

    वडामा पेस गरिएको नागरिकताअनुसार मायाको जन्ममिति २०३८/५/१३ हो । उनको ठेगाना भोजपुरकै साविक खैराङ गाविस वडा नं १ रहेको छ । खैराङ हाल हतुवागढी गाउँपालिकामा पर्छ । माया कांग्रेसको १४ औं महाधिवेशनबाट महिला जनजातितर्फबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

    (वडा कार्यालयमा पेस गरिएको महेश र मायाको नागरिकता ।)

    ‘कानूनमा तल पार्न मलाई कान्छी देखिने गरी कागज बनाएछन् । त्यसै जहाँ जाँदा पनि साथ पाएको छैन,’ हिमालयले भनिन् ।

    प्रभावदेखि प्रलोभनसम्म

    मायालाई भित्र्याएको थाहा पाउँदादेखि आफूहरू प्रहरी चौकी, महिला सेल, महिला आयोग धाए पनि कहीँबाट साथ नपाएको हिमालय र उनको माइतीले बताएका छन् । उल्टै कानूनीरूपमा तल पर्ने भन्दै सबैले त्यही बिहे दर्ता देखाउने गरेको उनीहरूले सुनाए ।

    ‘ललितपुरको सुनाकोटी घरमा मसँग बिहे भएको फोटो/भिडिओ प्रमाण छ । देख्ने समाज छ । धेरैतिर न्यायका लागि धाए पनि कसैले साथ दिएनन्,’ हिमालयले भनिन् ।

    हिमालयका जेठा दाइ प्रेम राई कसैले सुनुवाइ नगरेकाले राजनीतिक पावर देखिएको बताउँछन् ।

    ‘सबै गतिविधि हेर्दा राजनीतिक पावर प्रयोग भएको शंका हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्न सक्दैन । प्रमाणले अर्कोलाई जेठी नै बनाएछ ल ठीक छ । तर, एउटा पुरुषले ११ दिनको अन्तरमा दुईवटा विवाह गर्न सक्छ ? त्यसमा प्रहरीले चासो नदिएको किन हो ?’ दाजु प्रेमले भने ।

    आफूहरूलाई अहिले पैसा र जग्गा दिने भन्दै अनेक लोभ देखाएर थुमथुम्याउन खोजेको पनि प्रेमले खुलाए ।

    ‘हिजो मात्र फोनमार्फत कुरा आएको थियो । हामीले मान्छेलाई मात्र होइन भगवान्लाई साक्षी राखेर छोरीचेली देका छौं । मगनीदेखि हरेक रित पुर्‍याएर गरेका छौं । बिहेपछि दुल्हन फर्काएर सम्मान-सत्कार गरेका छौं । उसको पैसा लिएर तुरुन्त छाड्ने हामी खान नपा’को हो ? त्यही हो नेताको नैतिकता ? अर्को श्रीमती भएको जान्दाजान्दै भित्रिने नेतृको नैतिकता त्यही हो ?’ दाजुले आक्रोश पोखे ।

    हिमालयकी सानिमाकी छोरी (दिदी) मालतीले घटना सामसुम पार्न कांग्रेस नै लागेको आशंका व्यक्त गरिन् । माया राईले जिम्मेवार पार्टीको महिला नेता भएर महिलामाथि नै अन्याय गरेको उनको भनाइ छ ।

    ‘जालसाजी गरेर कागज बनाए । पीडकहरू खुलेआम हिँडिरहनुभएको छ । नेताज्यूहरूले पनि नराम्रोलाई नराम्रो भन्न सक्नुपर्‍यो । अपराधीलाई जोगाउने अपराधी नै हुन्छन्,’ उनले भनिन् ।

    बचाउ गर्दै कांग्रेस भन्छः कोही दूधले धोएको हुँदैन

    नेपाली कांग्रेस साल्पासिलिछो गाउँपालिका कमिटीले एक विज्ञप्ति निकालेर पालिका अध्यक्ष महेश राई अहिले एउटा जटिल समस्याभित्र फसेको प्रतिक्रिया दिएको छ । यो परिस्थितिलाई व्यक्तिगत बाध्यता भनेर बुझिदिन कांग्रेसको अनुरोध गरेको छ ।

    गाउँपालिका कमिटीका सचिव सेभेन गिरी (श्याम) ले बुधबार विज्ञप्ति निकाल्दै ‘सोझो मान्छेको टाउको टेक्दै रजाइँ गर्नेहरूको पोल बिस्तारै खुल्ने’ बताएका छन् ।

    ‘पाँच वर्षभित्रको विकास र परिवर्तन हेरेर महेश राई कुनै गलत नियतको भारी बोकेर हिँड्ने मान्छे होइन, बरु भ्रष्टाचारविरोधी काम गर्नु पर्छ भन्ने सिधा आदिवासी जनजातिको छोरा हो । विकास र अहिले भएको कुरा फरक पाटो हो, तर मान्छे सबै दूधले धोएको कोही हुँदैन । गल्ती हुन्छ तर यहाँ यो समस्या कसरी आयो भन्ने कुरा जसले उहाँलाई नजिकबाट नियाल्नु भएको छ उहाँहरूलाई मात्रै थाहा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गलत नियतले आफ्नै सहपाठीहरूबाट कसरी जालोमा परिन्छ भन्ने कुरा परे पछि मात्रै थाहा हुने रहेछ । साल्पासिलिछोमा मात्रै नभएर समग्र भोजपुरबाट भोलि केन्द्रमा हैसियत राख्न सक्ने एउटा होनहार जनजातिको छोराप्रति पूर्वाग्रहका साथ हानिएको बाणहरु बिस्तारै देखिँदै जानेछ । कानूनभन्दा माथि कोही नरहेको र कानूनमाथि टेकेर सोझो मान्छेको टाउको टेक्दै रजाइँ गर्नेहरूको पोल बिस्तारै खुल्दै जानेछ ।’

    गाउँपालिका अध्यक्ष महेश राईलाई हामीले सम्पर्क गर्न थुप्रैपटक प्रयास गर्दा सफल भएनौं । उनको एनटीसी/एनसेल दुवै फोन स्वीचअफ छ । गाउँपालिका स्रोतका अनुसार उनी सीमित मान्छेबाहेक कोहीसँग पनि सम्पर्कमा छैनन् । महेशकी ‘कान्छी’ बनेर भित्रिएकी मायाको फोन लागे पनि उनले रिसिभ गरिनन् ।

    नेपाल प्रेसको कार्यालयमा आएर हामीमाझ पीडितले सुनाएको घटना विवरण उनीहरूकै शब्दमाः

    हिमालय राई

    यही २०७८ साल मंसिर १३ गते भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुख महेश राई र मेरो विवाह भयो । सबै कुराहरु ठीकठाक नै चलिरहेको थियो । काम छ भनेर उहाँ पुसको लास्टतिर गाउँ जानुभयो । माघको १ गतेतिरबाट चाहिँ सम्पर्कविहीन हुनुभयो ।

    फागुन १६ मा म नभएको बेला काठमाडौं घर (कपन) मा आउनुभएछ । म बिहान ११ बजेतिर खाना खाएर काममा निस्केको थिएँ । बेलुका फर्किँदा ढोका खोलिएन । घरमा सहयोगी बहिनी २ जना थिए । उनीहरूलाई फोन गर्दा ढोका नखोल्दिनू, भित्र नपसाउनू, फोनहरू नउठाउनू भन्नुभएको छ भने ती बहिनीहरूले ।

    मैले मेरो दाइदिदीलाई फोन गरेर जानकारी गराएँ । कपन चौकीबाट २ जना प्रहरी लिएर आउनुभयो । मलाई ढोका खोलिएन । महेश राईको मुख पनि देखिएन । एकजना छोरी मान्छे माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन् । छिर्न नदिएपछि हामी बौद्ध, कपन, महिला सेल, टेकु परिसर, महिला आयोग गयौं । कहिँबाट सहयोग पाइएन । प्रहरीले के छ त बहुविवाह गरेको भन्दै प्रमाण खोज्यो । अहिले त लिभिङ टूगेदरमा पनि बस्ने चलन छ भन्यो ।

    हामीले माया राईसँग बिहे दर्ता गराएको प्रमाण फेला पार्‍यौं । त्यो लिएर जाँदा प्रहरीले उनीहरूको नै बिहे दर्ता बलियो प्रमाण भएको बतायो । ललितपुरको सुनाकोटी घरमा मसँग बिहे भएको फोटो/भिडिओ प्रमाण छ । देख्ने समाज छ । मंसिर १३ मा हाम्रो बिहे भएको हो तर उनीहरूले मंसिर २ गतेकै मिति राखेर विवाह दर्ताको फाराम भरेको रैछ । उल्टै मलाई कान्छी बनाएर ल्याको भनेर कानूनमा तल पारे । जहाँ गए पनि साथ पाइराको छैन । अहिले फोन अफ गरेर बस्नुभाको छ ।

    प्रेम राई (जेठा दाजु)

    जुन दिन त्यो घटना भयो, (फागुन १६) म पनि गएको थिएँ । दुईजना प्रहरी पनि थिए । हामी न्याय माग्दै जानुपर्ने जति सबै ठाउँ गइसक्यौं । प्रहरीले पनि केही गर्न सकेन ।

    त्यो बेलुका निरीह भएर दुईवटा जति चौकी घुमेर १२ बजेतिर फर्कियौं । भोलिपल्ट (फागुन १७) बिहानै महिला सेल गयौं । बौद्ध चौकी पनि गयौं । महिला सेल, टेकु प्रहरीले पनि झुल्याउने काम भएको छ । जाहेरी लिएर जाँदा पनि त्यो बिहे दर्ता देखाउँदै उल्टै बहिनीलाई नै थुन्न सकिन्छ भनेर हामीलाई तर्साउने काम भइराको छ । हाम्रो कुरा सुन्दैन । अनुसन्धानका लागि थुन्छ भने थुनोस् भन्दा पनि प्रहरीले मानिरा’को छैन ।

    यी गतिविधिले राजनीतिक पावर प्रयोग गरेको झस्का हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्दैन । प्रहरीकै एक हाकिमले २ गते उसँग बिहे गरेको भए १३ गते चाहिँ के गर्दै थियो त भनेर सोधेको भन्नुभो । प्रहरी परिसरले किन कारबाही गर्न सक्दैन त ?

    अहिलेको प्रमाणले उसलाई जेठी नै बनाएछ ल ठीक छ । तर, केटाले दुईवटा बिहे गर्न सक्छ ११ दिनमा ? त्यसमा प्रहरीले चासो नदिनूको कारण के हो ? यसले गर्दा हामीलाई झन् पीडा थपिरहेको छ । अहिले अनेक लोभ देखाएर थुमथुम्याउन खोज्दैछन् ।

    हिजो मात्र फोनमार्फत कुरा आएको थियो । मैले कानूनी तरिकाभन्दा अर्को कुनै विकल्प देख्दिनँ, जेठी देखाएको श्रीमतीलाई पन्छाउने र मिलाउने तिम्रो के योजना छ, डिटेल कुरा बताऊ भनेँ । तर उल्टै मेरो बहिनीलाई श्रीमती स्वीकार्न नसक्ने, पैसा दिने, जग्गा दिने भनेर हामीलाई भनेका छन् ।

    हामीले मान्छेलाई मात्र होइन भगवान्‌लाई साक्षी राखेर छोरीचेली देका छौं । मगनीदेखि हरेक रित पुर्‍याएर दिएका छौं । बिहेपछि दुल्हन फर्काएर सम्मान सत्कार गरेका छौं । उसको पैसा लिएर तुरुन्त छाड्ने हामी खान नपाको हो ? त्यही हो नेताको नैतिकता, नेतृको नैतिकता त्यही हो ?

    मालती राई, दिदी (सानीआमाकी छोरी)

    प्रमुख महेश राईले मागिदिनू भनेर हामीमार्फत नै मगनी भयो, बिहे भयो, हामी जन्त गयौं । बहिनी राम्रै तरिकाले भित्र्याएको हो उहाँले । ३ महिनाको बीचमै अर्को श्रीमती लिएर जानुभो ।

    नेपाली कांग्रेसको केन्द्रीय सदस्यजस्तो मान्छे भएर महिलामाथि नै अन्याय गर्नुभएको छ । पीडकहरू माया राई र महेश राईमाथि हदैसम्मको सजाय हुनुपर्छ ।

    न्याय माग्न जाँदा पनि के कारणले हो न्याय पाएका छैनौं । प्रहरीमा जाँदा जसले पनि त्यही बिहे दर्ताको कागजको कुरा ल्याउँछन् । जालसाजी गरेर बनाएको रहेछ । पार्टीदेखि नै भाको छ कि किन हो यहाँ झुलाइराको छ । पीडकहरू खुलेआम हिँडिरहनुभएको छ । गाउँगाउँमा गएर प्रचारप्रसारमा लागिराख्नुभाको छ ।

    नेताज्यूहरूले पनि नराम्रोलाई नराम्रो भन्न सक्नुपर्‍यो । कांग्रेस पार्टी होस् या जुनसुकै पार्टी होस् नराम्रोलाई नराम्रो भन्नुपर्छ । अपराधीलाई जोगाउने अपराधी नै हुन्छन् ।

    के छ कानूनी व्यवस्था ?

    एक पुरुषले एकैपटक एकभन्दा बढी श्रीमती राख्नु गैरकानूनी हो । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ ले बहुविवाहसम्बन्धी सजायको व्यवस्था गरेको छ । दफा १७५ को उपदफा १ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुष र उपदफा २ मा पुरुष विवाहित भएको भन्ने जानीजानी कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ ।

    सो कानूनअनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिबाना हुनेछ । साथै त्यस्तो विवाह स्वतः बदर हुनेछ ।

    गाउँपालिका अध्यक्ष महेश राईको घटनामा यदि उनको विवाह दर्तालाई नै मान्यता दिएर पहिलो विवाह माने पनि बहुविवाह स्पष्ट देखिन्छ । मंसिर १३ मा हिमालयसँग बिहे गरिसकेपछि फागुन १ गते विवाह दर्ताका लागि वार्ड कार्यालयमा स्थानीय पञ्जिकाधिकारी नविनकुमार यादवसमक्ष सूचना फाराम भर्नुले मिलेमतो र छलकपट त प्रष्टै देखिन्छ ।

    नेपाली कांग्रेस गाउँपालिका कमिटीले निकालेको विज्ञप्ति 

     

  • १६ वर्षकी बालिका बनिन् गाउँपालिका अध्यक्ष !

    १६ वर्षकी बालिका बनिन् गाउँपालिका अध्यक्ष !

    काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीया एक बालिका एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् ।  ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा सुस्मिता ऋषिदेव एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।

    उनले आज वित्तीय र प्रशासनिक बाहेक सबै काम गर्नेछन्। उक्त गाउँपालिकाले स्थानीय सरकारको कामकाजको बारेमा बालबालिकालाई सूचित गर्नको लागि यस्तो कार्यक्रम राखिएको हो ।

    बालअधिकारको वकालत र नीति निर्माण प्रक्रियामा बाल सहभागिताको सुनिश्चितताको लागि सांकेतिक रूपमा मोरङको बूढीगंगा गाउँपालिकामा एक बालिकालाई ‘एक दिने अध्यक्ष’ बनाएर अभ्यास गरिएको हो ।

    गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।

     

  • गाउँपालिका अध्यक्ष र उपमेयरसहित डोटीका तीन जनाले रोजे नेकपा एस, अरु थपिने आलेको दावी

    गाउँपालिका अध्यक्ष र उपमेयरसहित डोटीका तीन जनाले रोजे नेकपा एस, अरु थपिने आलेको दावी

    डोटी । डोटी जिल्लाका तीन जना एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । संघीय सांसद तथा तत्काली नेकपा एमालेका जिल्ला इन्चार्ज प्रेम आलेको गृहजिल्लामा विगतमा अ‍ोली पक्षमा रहेकाहरुले नेकपा एस रोजेका हुन् ।

    दल रोज्न पाउने समय सकिनु एक दिनअघि पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी,दिपायल सिलगढी नगरपालिकाका उपमेयर शिवराज खड्का र सायल गाउँपायिलका-३ का अध्यक्ष गोरखवहादुर सार्कीले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

    आलेका अनुसार मंगलबारसम्म अरु स्थानीय तहका जनप्रतिनिधिले पनि नेकपा एसको पक्षमा सनाखत गर्नेछन् । डोटीका ५ स्थानीय तहमा एमालेले जितेको थियो ।

    आलेले एमाले छाडेसँगै नेकपा एसको पक्षमा जिल्लाका नेता कार्यकर्ता र जनप्रतिनिधि खुल्ने क्रम बढेको छ ।आलेले प्रदेशसभामा समेत नेकपा एसको पक्षमा चार जना सांसद जुटाएका छन् ।

  • घुस काण्डमा मुछिएका अध्यक्ष गाउँपालिका फर्केपछि कर्मचारीले गरे स्वागत

    घुस काण्डमा मुछिएका अध्यक्ष गाउँपालिका फर्केपछि कर्मचारीले गरे स्वागत

    जनकपुरधाम । घुस काण्डमा मुछिएपछि फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि कार्यालयमा उपस्थित भएका छन् ।

    आइतबार कार्यालयमा उपस्थित भएपछि अध्यक्ष राउतलाई समर्थक र कर्मचारीहरुले फुलमालाले भव्य स्वागत गरे । तर कार्यालय बाहिर भने उनको विरोध भयो । केही यूवाहरुले ‘भ्रष्टाचारी अध्यक्ष मुर्दावाद’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    फागुन १७ मा ठेकेदारबाट ८ लाख घुस लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले अध्यक्ष राउतलाई पछ्याएको थियो । तर उनी आफूले लिएको घुस फालेर भागे । चालक वीरबहादुर मगर भने पक्राउ परे ।

    अख्तियारको टोलीले अध्यक्ष राउतले फालेको ८ लाख रुपैयाँ बरामद गरेको थियो । घटनाको तीन महिना नबित्दै अध्यक्ष राउत उम्किन सफल भएका छन् । राउत भने आफलाई फसाउने विरोधिको योजना सफल नभएको बताउँछन् ।

    उनले भने, ‘मैले गरेको विकासबाट विरोधीहरुलाई समस्या भएको छ, त्यसैले मलाई फसाउन खोज्यो । तर उनीहरुको योजना असफल भयो र गाउँपालिका फर्केपछि समर्थकले स्वागत गरेका हुन् ।’ केही व्यक्तिले विरोध गरेको कुरा फेसबुकमा फोटो राख्दा थाहा पाएको उनको भनाई छ ।

    राउतले भने, ‘सर्वोच्च अदालतले गत वैशाख ८ मा ममाथि अख्तियारले गरेको स्टिङ अपरेसनका आधारमा मुद्दा नचल्ने फैसला गरेको छ । म अतिख्यारमा हाजिर भएँ । सोधपुछपछि मलाई ‘जानुस् काम गर्नुस्’ भनेर छोडियो ।’

    तीन महिनापछि आर्थिक वर्ष सकिन लाग्दा अध्यक्ष राउत कार्यालयमा उपस्थित भएपछि विकास निर्माणको काम भने प्रभावित भएको छ ।

  • गाउँपालिका अध्यक्षले लिएको ८ लाख घुस बरामद, गाडी चालक पक्राउ

    गाउँपालिका अध्यक्षले लिएको ८ लाख घुस बरामद, गाडी चालक पक्राउ

    धनुषा । धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख घुस रकम बरामद गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले धनुषाकै छिरेश्वर नगरपालिका ५ मा बाटो छेउमा फ्याँकिएको सो नगद बरामद गर्नुका साथै सवारी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिइएको हो ।

    मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा ८ लाख लिएर भाग्ने क्रममा उक्त रकम बाटो छेउमा फालेर अध्यक्ष फरार भएको अख्तियारले जनाएको छ ।

    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्नपश्चात भुक्तानी दिने क्रममा सो रकम कमिसन मागेका थिए ।