Tag: खिमलाल भट्टराई

  • राष्ट्रियसभामा एमालेको आपत्ति- सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा निम्त्यायो

    राष्ट्रियसभामा एमालेको आपत्ति- सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा निम्त्यायो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै राष्ट्रियसभामा आपत्ति जनाएको छ । प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाए ।

    ‘चारजना सुकुम्बासीको हत्या गर्ने काम भयो,’ भट्टराईले भने, ‘अरुका लागि दसैँ आएको छ तर सुकुम्बासीका लागि दशा बनेर आयो । म घटनाको सम्पूर्णरूपमा भर्त्सना गर्छु ।’

    घटनाको छानविनमा सरकारले तत्परता नदेखाएको भन्दै उनले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्ति दिन माग गरे । भट्टराईले गृहमन्त्रीमाथि नैतिकता प्रश्न उठेको समेत टिप्पणी गरे । उनले भने, ‘गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्यो । उहाँ आफ्नै जिल्लामा शान्ति कायम गर्न सक्षम हुनहुन्न भने देशभर के गर्नुहोला ?’

  • खिमलाललाई रमेशजंगको काउण्टर – ओली ‘भ्रष्टाचारीको राजनेता’

    खिमलाललाई रमेशजंगको काउण्टर – ओली ‘भ्रष्टाचारीको राजनेता’

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारीको राजनेता’ भएको अरोप लगाएका छन् ।

    मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै कांग्रेस सांसद रायमाझीले ‘भ्रष्टाचारी राजनेता’ भन्न आग्रह गरे । उनले भने, ‘अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता ? भ्रष्टाचारी राजनेता भन्नुहोस् । भ्रष्टाचारको नाइके भन्नुहोस् । राजनेता हुने चरित्र हुनुपर्‍यो ।’

    म्यान्डेड समेत नभएकाले सरकारमा जान कांग्रेसले पटक-पटक अस्वीकार गरे पनि ओलीकै कारण अहिले गठबन्धनको सरकार बन्ने स्थिति आएको उनको दावी छ । रायमाझीको भनाइ छ, ‘हाम्रा पार्टीका सभापतिले पटक-पटक भन्नु भएको थियो-सरकारमा जाने मेरो चाहाना होइन, म्यान्डेट पनि होइन । तर, संसदको बहुमतले अर्कैलाई नेता मान्न तयार भएपछि के गर्ने ?’

    उनले थपे, ‘संसद विघटन गरेर, संसदलाई विघटन गर्ने भ्रष्टाचारीका महानायक केपी शर्मा ओलीले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो, आफैंले हस्ताक्षर गरेर दिएका माननीयहरूले भन्नुपर्‍यो-तपाईं सत्ताबाट अलग्गिनुपर्छ । त्यो स्थिति कसले ल्यायो ? हामीले ल्याएका हौं ? सरकारलाई हामीले दुई वर्षसम्म यो सदनमा कुनै अब्जेक्सनबिना सर्मथन गर्‍यौं । हामीले नीति तथा कार्यक्रममा समेत सर्मथन जनायौं ।’

    ओली सरकार भ्रष्टाचार चुर्लुम्म डुबेको रायमाझीको दावी छ। ‘यो सरकार भ्रष्टचारमा चुर्लुम्म डुब्नथाल्यो । ‘कोभिड-१९ आएपछि अर्बौंको भ्रष्टाचारमा लागेपछि हामीले बाध्य भएर मुलुकको ज्युधनको सुरक्षा र यो मुलुकको संविधानलाई बचाउनु पर्ने र भ्रष्टाचारीहरूलाई तह लगाउनुपर्ने, भ्रष्टाचारका महानायक केपी शर्मा ओलीलाई तह लगाउनुपर्ने कारणले नेपाली कांग्रेसले पाँच दलको गठबन्धन सरकार बनाएको हो,’ उनले स्पष्ट पारे ।

  • सदनमा खिमलालले भने- ओली राजनेता हुन्, फेरि फर्केर आउँछन्

    सदनमा खिमलालले भने- ओली राजनेता हुन्, फेरि फर्केर आउँछन्

    काठमाडौं । सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनी पुनः सत्तामा फर्किने दावी गरेका छन् ।

    ‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन,’ मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै भट्टराईंले भने, ‘फेरि पनि राजनेता फर्केर आउँछ ।’

    कुनै पनि नेता राजनेता हुनलाई मुलुकको सडक, सदन र सरकार ऊबाट गाइडेड हुनुपर्ने र उसका विचारले प्रभावित हुनुपर्ने बताएका भट्टराईले ओलीको पनि सबैतिर प्रभाव फैलिएको दावी गरे ।

    ‘केपी ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ तर पनि राजनीति उहाँकै वरिपरि घुमेको जस्तो हामी देख्छौं,’ उनले भने, ‘सदनमा आउँदा उहाँकै चर्चा हुन्छ । आज सरकार बनिराखेको छैन । मलाई के लाग्छ भने यो सरकार नबन्नुमा केपी ओलीकै फोबिया छ ।’

    सडकमा केपी ओली एउटा आशलाग्दो नेता, एउटा आशलाग्दो सरकार थियो र जसलाई घेरबन्दीबाट हटाइयो भन्ने चर्चा हुने गरेको उनले दावी गरे ।

    ‘तर, जसबाट आसा गरिएको थियो, उसलाई घेराबन्दी गरियो,’ भट्टराईले भने, ‘गुटबन्दीबाट उसलाई हटाउने काम भयो । मुद्दामामिलाबाट हटाउने काम भयो । सीधा बाटोबाट पनि होइन । ढोकाबाट होइन झ्यालबाट हटाइयो ।’

  • माधव नेपालले विपक्षीसँग मिलेर राजतन्त्र फर्काउन लागे : खिमलाल भट्टराई

    माधव नेपालले विपक्षीसँग मिलेर राजतन्त्र फर्काउन लागे : खिमलाल भट्टराई

    रूपन्देही । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता माधव नेपाललाई विपक्षीसँग मिलेर देशमा राजतन्त्र फर्काउन थालेकाे आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमा उनले माधवकुमार नेपाल मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका हुन् ।

    विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको उनकाे आराेप छ ।

    ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं,’ उनले लेखेका छन् ।

    बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने बताउँदै नेता भट्टराईले भनेका छन्,’संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’

    नेता भट्टराईले यसअघि पार्टी एकताका लागि दुवै समूहलाई दवाव दिँदै आएका थिए ।

  • कुनै पनि तानाशाह चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैनः खिमलाल भट्टराई

    कुनै पनि तानाशाह चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैनः खिमलाल भट्टराई

    काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले कुनै पनि तानाशाह चुनावको तिथिमिति तोकेर जनताको माझमा नजाने बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भन्नु आग्रहपूर्ण दृष्टिकोण भएको बताए।

    ‘कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीको यस कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहीतर्फको यात्राको रुपमा अर्थ्याउने र जनतालाई भ्रमित गर्ने कोसिस गरेको देखेको छु,’ ओली पक्षीय नेता समेत रहेका उनले भने, ‘यो आग्रहपूर्ण दृष्टिकोण हो । कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन ।’
    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको विशेष अधिकार रहेको समेत उनले जिकिर गरे ।

    भट्टराईको सम्बोधनको सम्पादित अंशः
    प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन र चुनावको घोषणलाई लिएर समाजमा विभिन्न किसिमले बहस र विश्लेषण गर्ने गरिएको छ । बहस हुनु स्वभाविक हो । विश्लेषण हुनु स्वभाविक हो ।

    कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीको यस कदमलाई निरंकुश, अधिनायकवाद र तानाशाहीतर्फको यात्राको रुपमा अर्थ्याउने र जनतालाई भ्रमित गर्ने कोसिस गरेको देखेको छु । यो आग्रहपूर्ण दृष्टिकोण हो । कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन ।

    एउटा शक्तिशाली सरकारका विरुद्ध बन्चरो चलाउन काम आफ्नै पार्टीभित्रबाट भयो । आज केपी ओलीले व्यर्होनुपरकोे पीडा इतिहासमा विपी कोइरालाले पनि व्यर्होनु परेको थियो । इतिहासमा लोकतन्त्रको घाँटी जसरी रेटिएको थियो त्यो अवस्था अहिले होइन । सत्यनाश भएको भनिएको छ, त्यस्तो अवस्था अहिले होइन ।

    प्रतिनिधिसभा विघटन रहर र लहडले गरिएको होइन । प्रधानमन्त्रीले भन्नुभएको छ–आफूले भारी मन लिएर गरेको काम हो यो । खुसीले गरेको काम होइन । परिस्थितिको बाध्यात्मक काम हो ।

    नेतृत्व पंक्तिबाटै आफ्नै सरकारको सदन र सडकमा विरोध गरेर आनान्द लिने प्रवृत्ति देखियो । दिनरात किचकिच र अवरोध बाहेक केही गरिएन । जसको परिणाम सरकारले कामै गर्न नसक्ने परिस्थिति निर्माण हुँदै गयो । प्रतिनिधिसभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न, दाउपेचको अखडा बनाउन थालियो ।

    संसदको विघटन र चुनावको घोषणा सम्बन्धमा संविधानमा व्यवस्था नै छैन भन्नेकुरा गलत हो । संविधानको धारा ७६ र ८५ मा यस सम्बन्धमा व्यस्था छ । त्यो भन्दा बढी संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीले जब आफ्नो सरकारले काम गर्न नसक्ने ठान्दछ ।

    र, संसदमा अर्को बैकल्पिक शक्ति पनि देख्दैन त्यस अवस्थामा संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने विशेष अधिकार कुनै पनि लोकतान्त्रिक व्यवस्थाभित्र प्रधानमन्त्रीमा सुरक्षित रहन्छ ।