Tag: खानेपानी

  • चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

    चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

    सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको समस्या भएको हो ।

    उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको ईश्वरपुर नगरपालिका–१२ का रामबाबु थिङले बताए । ‘धारामा पानी आउन छाडेको धेरै भयो, कुवा सुक्न थालेपछि खानेपानीको समस्या भएको छ’, उनले भने ।

    ईश्वरपुर नगरपालिका–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालीन्जोर, लालबन्दी नगरपालिका–१५ को धुसेनी, देउराली, तिनघरे, लालबन्दी नगरपालिका– १२, १३ र १४ का अधिकांश बस्ती तथा हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ । सुक्खा मौसम सुरु भएसँगै खानेपानीको समस्या देखिएको ईश्वरपुर नगरपालिका–१२ की जानुकी माया विकले बताए ।

    चुरे क्षेत्रका बस्तीमा फागुनबाटै खानेपानीको समस्या हुने गर्छ । बढ्दो वन विनाश र उत्खनन्का कारण पछिल्ला वर्षमा खानेपानीका स्रोत सुक्न थालेका प्राविधिकले बताएका छन् । स्थानीय सरकारले यस्ता कार्य रोक्न कुनै पहल नगरेको स्थानीय तेज तामाङले बताए । ‘एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ हिँडेर छिमेकी गाउँ पुग्नुपर्छ’, उनले भने, ‘गाउँमा एउटा मात्रै कुवा छ, पानीका लागि रातभर जाग्राम बस्नुपर्छ ।’

    लालबन्दी नगरपालिका–१४, नारायणखोलाका जितबहादुर राना निर्वाचनका बेला यसो गर्दिन्छु उसो गर्दिन्छु भन्नेहरु त्यसपछि फर्किएर नआएको गुनासो गरे । ‘पशुचौपाया र मानिसले एउटै खोला, खोल्सी र कुवाको पानी खानुपरेको छ । दुषित पानी पिउँदा झाडापखालालगायत रोगबाट पीडित हुनुपरेको छ’, उनले भने ।

    फागुनदेखि जेठसम्म चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको छ । लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर राना भन्छन्, ‘मुहान सुक्न थालेपछि धारामा पानी आउन छाडेको छ, एक गाग्री पानी भर्न घण्टाैँ कुर्नुपर्ने बाध्यता छ ।’ खानेपानीको अभाव टार्न बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी पु¥याउने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन ।रासस

  • सुन्दरीजलबाट उपत्यका भित्रिने खानेपानीका पाइप जीर्ण हुँदा ठाउँ-ठाउँमा चुहावट

    सुन्दरीजलबाट उपत्यका भित्रिने खानेपानीका पाइप जीर्ण हुँदा ठाउँ-ठाउँमा चुहावट

    काठमाडौं । सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँ-ठाउँमा पानी खेर गएको छ ।

    जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान गएको छैन । दर्जनौँ स्थानमा पानीको फोहरा छुटेर खेर जाने गरे पनि मर्मतसम्भार छिटो नहुने गरेको गोकर्णेश्वरका स्थानीयवासी रामबहादुर श्रेष्ठले भने ।

    खानेपानीका लागि लगिएको पानी पाइप जीर्ण भएर खेर जान्छ तर हामी मुहानस्थलमै बसे पनि हप्तादिनसम्म धारामा पानी नआउने गरेको उनले बताए । मेलम्चीबाट ल्याएको पानीको ठूला पाइप घरमुनिबाट गए पनि मुहानस्थलकै स्थानीयवासीले खानेपानी पाएका छैनन् ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाँकाल चौर शाखाका कार्यालयप्रमुख उमेश मरहट्ठा पाइप पुरानो भएकाले ठाउँ- ठाउँबाट चुहावट हुने गरेको बताउँछन् । चुहावटलाई तत्काल मर्मतसम्भार गर्ने गरेको उनको दाबी छ ।

    मेलम्चीको पानी राजधानीमा वितरण शुरु गरेपछि महाँकाल चौरसम्म पुरानै पाइपलाइनबाट पानी दिने गरी व्यवस्थित गरिएको लिमिटेडले जनाएको छ । बस्ती कम हुँदा सानो पाइपबाट काठ क्षेत्रमा पानी वितरण गरिएको थियो । बस्ती बढेपछि सानो पाइपबाट धेरै जनसंख्यालाई पानी वितरण गरिँदा कतै आउने कतै नआउने हुने गरेको छ ।

    ठूलो पाइपबाट पानी वितरण गर्न जाँच भइसकेको शाखाप्रमुख मरहट्ठाले जानकारी दिए । पहिले पाइप खेतबारीबाट लगिएको थियो सडक बनेको थिएन । सानो गोरेटोबाटोमात्र थियो । अब धेरै स्थानमा सडक बनिसकेकाले सडकबाट पाइप राख्न लागिएको लिमिटेडले जनाएको छ ।

    सुन्दरीजल पानी प्रशोधन केन्द्र जीर्ण भएकाले महाँकाल चौरभन्दा माथिका धारामा धमिलो पानी आउने गरेको छ । यस क्षेत्रको धारामा पिउन त परै जाओस् घरायसी प्रयोजनमा समेत उपयोग गर्न नसकिने पानी आउने गरेको छ ।

    कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला धारामा पानी नपाएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढाको ढुङ्गेधारामा जान बाध्य छन् । पानी खोज्न जाँदा कोरोना फैलने डर बढेको स्थानीयवासी रञ्जु पुडासैनीको गुनासो छ ।

    लिमिटेडले तालिका बनाएर खानेपानीको व्यवस्था गरिदिए कोरोनाबाट बच्न सहज हुने भए पनि यसतर्फ स्थानीय सरकारका जनप्रतिनिधि लगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।
    –रासस

  • ९० प्रतिशत भन्दा बढी नेपालीले पाउनेछन् अब निःशुल्क खानेपानी

    ९० प्रतिशत भन्दा बढी नेपालीले पाउनेछन् अब निःशुल्क खानेपानी

    काठमाडौं । सामान्यतया एउटा परिवारले महिनामा कति लिटर पानी खपत गर्छ ? ५ जनासम्मको परिवारले महिनामा १५ हजार लिटर पानी खपत गर्ने गरेको खानेपानी संस्थानको तथ्यांकलाई आधार मान्ने हो भने अब ९० प्रतिशत भन्दा बढी जनताले निःशुल्क पानी पाउने छन् । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत मासिक २० हजार लिटर शुद्ध पिउने पानी निशुल्क बितरणको व्यवस्था गरेको छ ।

    यो व्यवस्थाले नेपालका ९० प्रतिशत जनसंख्याले शुद्ध पिउने पानी निःशुल्क प्राप्त गर्ने अपेक्षा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको छ ।

    औषत रुपमा ५ जनाको परिवारलाई १५ हजार लिटर पानी पर्याप्त भएपनि बजेट मार्फत २० हजार लिटर शुद्ध पिउने पानीको निःशुल्क व्यवस्था गरिएको छ, यो भनेको जनताको सबै पंक्तिलाई राहत पुग्ने ऐतिहासिक कार्यक्रम हो ।

    हाल खानेपानीको ग्राहक रहेका र भविष्यमा बन्ने सबैले यो सुविधा पाउने छन् । २० हजार भन्दा बढी पानी खपत भएमा त्यो भन्दा माथिको पानीको मात्र शुल्क तिरे पुग्नेछ ।

    काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीमा सुधार गरिने बजेटमा उल्लेख गरिएको छ । पहिलो चरणमा निर्माणाधिन चार थोक वितरण प्रणालीबाट १ सय १३ किलोमिटर नयाँ वितरण लाइन थप गरी १ लाख १० हजार घरधुरीमा मेलम्चीको पानी वितरण बताइएको छ ।

    दोस्रो चरणमा चक्रपथ बाहिरका कीर्तिपुर, पेप्सीकोला, जोरपाटी, भक्तपुर लगायतका क्षेत्रमा पाइपलाइन विस्तार भएको छ । वितरण प्रणाली सुधारको लागि ४ अर्ब ७९ करोड रकम विनियोजन गरेको छ।

    मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी प्रणालीमा थप गर्न आगामी आर्थिक वर्षमा सुरुङ्ग लगायत अन्य पूर्वाधार निर्माण कार्य आरम्भ गरिने वजेटमा व्यवस्था गरिएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी मेलम्ची खानेपानी आयोजनाका लागि थप ३ अर्ब ५१ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

  • वडाध्यक्ष र सदस्यबीच कुरा नमिल्दा  करोडौंको खानेपानी योजना फिर्ता

    वडाध्यक्ष र सदस्यबीच कुरा नमिल्दा करोडौंको खानेपानी योजना फिर्ता

    काठमाडौं । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका वडा सदस्य जयकुमार तामाङसहित स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध शुरु गरेपछि अन्ततः खानेपानी योजना फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

    बिस्कामखोला मुहान भएको खानेपानी योजना सञ्चालन तथा बादेल–बिस्काम सडक उपभोक्ता समिति गठनको विषयमा चुलिएको विवाद हल गर्न सोमबार गाउँपालिकाको कार्यालयमा भएको द्विपक्षीय बैठकले बिस्कामखोला मुहान भएको ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको पत्रकार भीम राईले जानकारी दिए ।

    पत्रकार राईका अनुसार गाउँपालिका प्रमुख विश्वनाथ निरौला, उपप्रमुख पुष्पकला भुजेल, वडाध्यक्ष तामाङ तथा निवेदकका तर्फबाट वडा सदस्य तामाङ, स्थानीय नन्दकुमार तामाङ, दीपक राईलगायतसँग भएको छलफलले ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने र उक्त आयोजना रद्द गर्न कार्यपालिकाको बैठकबाटै निर्णय गरेर सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र अन्य सरोकारवाला पक्षलाई जानकारी दिने लिखित सहमति गरेको छ ।

    वडाध्यक्ष तामाङले मनोमानी ढङ्गले बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरेको भन्दै असन्तुष्ट स्थानीय उपभोक्ताले यही चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

    वडाध्यक्ष सन्तवीर र वडासदस्य जयकुमार दुवै नेपाली कांग्रेसबाट निर्वाचित भए पनि उनीहरुबीचको आन्तरिक द्वन्द्वको असर वडाको योजनामा देखिएको हो ।

    वडाध्यक्ष र वडासदस्यको आपसी विवादकै कारण करोडौँको खानेपानी योजना गुमाउनुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन् । तामाङद्धय समन्वय र सहमतिको बाटो खोज्नुको सट्टा एकअर्काविरुद्ध शक्ति प्रदर्शनमा समेत उत्रिएका थिए ।

    शनिबार बाकाचोलमा बोलाइएको भेलामा दुवै पक्षबीचमा ढुङ्गा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो । दोहोरो भीडन्त हुने अवस्था सिर्जना भएपछि नियन्त्रण गर्न सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐँसेलुखर्क पुगेको थियो ।

    वडाध्यक्ष तामाङले भने बिस्कामखोलाको खानेपानी अन्यत्र लैजान स्वीकृति नदिएको बताएका छन् ।

    बैठकमा संसदीय विकास कोषको  १० लाख बजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौतासमेत रद्द गरी वडासदस्य तामाङ र डम्बरकुमारी राईको रोहबरमा अर्को उपभोक्ता समिति गठन गर्ने र सम्झौता गरेर सडक निर्माणको काम अघि बढाउने, गत चैत ४ गते वडा कार्यालयमा लगाइएको ताला सोमबारकै मितिबाट खोल्ने र आगामी दिनमा कुनै पक्षबाट कमीकमजोरी नदोहोर्याउने सहमति भएको छ ।

  • ट्याङ्करले बेच्थे दैनिक ५ करोड लिटरसम्म पानी, मेलम्ची आएपछि विकल्प खोज्दै व्यवसायी

    ट्याङ्करले बेच्थे दैनिक ५ करोड लिटरसम्म पानी, मेलम्ची आएपछि विकल्प खोज्दै व्यवसायी

    काठमाडौं । हरेक विकास आयोजनाको सम्पन्नतासँगै त्यसका विभिन्न ‘साइड इफेक्ट’हरु हुन्छन् । ठूलो समुदाय विकासबाट लाभान्वित हुँदा सानो समूहलाई त्यसले बेफाइदा पुग्छ । हिजोबाट काठमाडौंवासीको घरघरमा भित्रिएको मेलम्चीको पानीले पनि व्यवसायीको एउटा सानो समूहमा छटपटी पैदा गरेको छ ।

    काठमाडौंमा पानीको चरम अभाव हुँदा उपत्यकावासीहरुले ट्याङ्र वा जारको पानी किनेर प्रयोग गर्ने गरेका छन् । काठमाडौंमा कमै घरहरु होलान् जहाँ जारको पानी पुग्दैन । पानी नआउने ठाउँहरुमा नियमित ट्याङ्कर नै मगाइन्छ । तर, अब मेलम्ची आएपछि यसरी पानी किनेर खानुपर्ने अवस्था रहेन । यसले जार तथा ट्याङ्रमा पानी बेच्नेहरुको व्यवसाय भने संकटमा परेको छ ।

    एक न एक दिन मेलम्चीको पानी काठमाडौं आइपुग्छ भन्ने जानकार नै थिए व्यवसायीहरु । मेलम्चीको पानी आउने समय जति लम्बिदै गयो, त्यति नै उनीहरुको व्यवसाय फस्टाउँदै थियो । मेलम्चीको पानी आउने पक्कापक्की भएपछि नयाँ व्यवसायी आएका छैनन् ।

    उपत्यकामा अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको आपूर्ति गर्दै आइरहेको छ । उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग छ । तर केयुकेएलले वर्खामा दैनिक १० देखि १२ करोड लिटर र हिउँदमा ८ करोड लिटरसम्म पानी वितरण उपलब्ध गराउँदै आएको छ । हिउँद सुरु भएपछि ट्याङ्करले मात्रै दैनिक ३ देखि ५ करोड लिटर पानीको माग धान्दै आइरहेको थियो ।

    अहिले उपत्यकाका ७ स्थानमा सञ्चालन भइराखेको बोरिङको पानी ट्याङ्करले घरघरमा पुर्‍याउने गरेको छ । आइतबारबाट उपत्यकाको धारामा मेलम्चीको पानी खसेपछि ट्यांकरको पानीको माग ८० प्रतिशत घट्ने व्यवसायीहरुले अनुमान गरेका छन् ।

    आइतबारदेखि काठमाडाैंमा मेलम्चीकाे पानी वितरण शुरु गरिएकाे छ । फाइल तस्बिर- नेपालप्रेस ।

    उपत्यकामा दैनिक पानी आउन थालेपछि ट्याङ्करको माग हवात्तै घट्ने खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष उज्वल शाक्यले बताए । उनले नेपाल प्रेससँग भने, ‘यसले हाम्रो व्यवसायमा असर त गर्छ । करिब ८० प्रतिशत असर गर्छ कि भन्ने लागेको छ । तर पानी नआइकन हामीले पनि भन्न सकेका छैनौं ।’

    व्यवसाय ठप्पै त नहोला भन्ने अनुमान गरिएको उनी बताउँछन् । मेलम्चीको पानी दिनँहु झर्दा पनि अझै १५ करोड लिटर पानी अभाव देखिने अनुमान उनले सुनाए ।

    अहिले ललितपुर क्षेत्रका लागि गोदावरी, सानोगाउँबाट ट्याङ्करले पानी वितरण गर्दै आएको छ । जोरपाटी, स्वयम्भु, बालाजु, मातातीर्थ, चोभारबाट काठमाडौंमा पानी आपूर्ति हुन्छ । एउटा वितरकले ७ किलोमिटरको क्षेत्रलाई ‘कभर’ गर्छन् ।

    व्यवसायमा लगानी र रोजगारी

    यस व्यवसाय सञ्चालन गर्न मात्रै झण्डै २ करोड रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । यो ट्याङ्कर बाहेकको लगानी हो । एउटा ट्यांकर खरिद गर्दा ३० लाख रुपैयाँ पर्छ । बोरिङ पनि विभिन्न किसिमका छन् । उपत्यकाको भुगोल अनुसारको बोरिङ खन्नुपर्ने हुन्छ । डीप बोरिङ खन्न २५ लाख रुपैयाँभन्दा बढी लाग्छ ।

    अध्यक्ष शाक्य भन्छन्, ‘कुनै ठाउँमा डीप बोरिङबाट पानी प्रयोग गरेर सप्लाइ भइराखेको छ । कुनै ठाउँमा जहाँ जस्तो स्रोतहरु छन्, त्यहीअुनसार काम गरेर व्यवसाय गर्नुभएको छ ।’

    हाल उपत्यकामा १ हजारभन्दा बढी ट्याङ्कर सञ्चालनमा छन् । यसक्षेत्रमा २० हजार जना प्रत्यक्ष संलग्न छन् । हाल २५ हजारभन्दा बढीले रोजगारी पाइराखेको व्यवसायी बताउँछन् । मेलम्चीको पानी वितरण सुरु हुने वित्तिकै २५ हजार कामदारको रोजगारी गुम्न सक्ने संघले जनाएको छ ।

    यो क्षेत्रमा नयाँ व्यवसायी भने थपिएका छैनन् । एउटा कारण कोरोना पनि हो । शाक्य भन्छन्, ‘मेलम्चीको पानी आउने भएकाले नयाँ व्यवसायीले हात हाल्न चाहेका छैनन् । कोराेनाको असर पनि परेकै छ ।’

    कतिपय व्यवसाय यस व्यवसायबाट पलायन भइसकेको उनले बताए ।

    विकल्पको खोजी

    पानीको आपूर्ति गर्दै आएका ट्याङ्कर व्यवसायीहरु बैकल्पिक व्यवसायको खोजीमा छन् । पानी बोक्न प्रयोग भएको ट्याङ्करको ट्याङकी निकालेर अरु काममा प्रयोग गर्ने कतिपयको सोच छ ।

    ट्याङ्कर व्यवसायी सन्तराम तामाङ आफूहरुसँग कामका विभिन्न विकल्प भएको बताउँछन् । उनी भन्छन्, ‘सबैले आ-आफ्नै ढंगले सोचेका होलान् । ट्याङ्कीलाई निकालेर अर्को नयाँ सामान जोडेर नयाँ क्षेत्रमा लाग्न सकिन्छ । अरु यातायातसँग सम्वन्धित कामहरु पनि गर्न सकिन्छ ।’

    अर्को व्यवसायमा लाग्नको लागि संघबाट पनि प्रयास भइरहेको खानेपानी संघका अध्यक्ष शाक्य बताउँछन् । ‘मेलम्चीको पानी एकदिन आउछ भनेर हामीलाई थाहा नै भएको हो । अब घाटा भए पनि के गर्न सकिन्छ र । व्यवसायहरुलाई अन्यत्र कसरी डाईभट गराउन सकिन्छ भनेर सोचिरहेका छौं,’ उनले थपे, ‘मेलम्चीको पानीले विशेषगरी घरायशी प्रयोजनमा धेरै राहत देला । तर व्यस्त ठाउँ तथा फ्याक्ट्रीहरुमा पानीको माग पुर्‍याउन त गाह्रै हुन्छ । यो पाटोमा हाम्रो व्यवसाय हुनसक्छ ।’

    देशमा पानीको अभाव भएका अन्य शहरहरुमा जाने विषयमा पनि सोचिरहेको उनले बताए । अहिले रिङरोडभित्र मात्रै मेलम्चीको पानी वितरण गर्ने भनिएको छ । रिङरोड भन्दा बाहिर पनि कति ठाउँमा पाइपलाइन विस्तार भएको छैन । शाक्य भन्छन्, ‘जुन ठाउँमा अहिले नयाँ बस्ती विकास भएको छ, त्यो ठाउँमा हामीले फोकस गर्नुपर्छ । त्यहाँ सम्भावना हुन सक्छ ।’

  • सुनकोशीकाे पानीले जोगिँदैछ ५५ हजारको जीवन, नयाँ वर्षदेखि शुरु हुँदैछन् सुखका दिन

    सुनकोशीकाे पानीले जोगिँदैछ ५५ हजारको जीवन, नयाँ वर्षदेखि शुरु हुँदैछन् सुखका दिन

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब केही महिना मात्रै बाँकी छ ।

    वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः नयाँ वर्षका अवसरमा घरघरमै खानेपानी पाउनेछन् ।

    तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि अर्थात् भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् ।

    ‘आउँदो नयाँ वर्षमा खानेपानी अयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, यसपछि तेमालको एउटा ठूलो सपना साकार हुनेछ’, तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भने ।

    उनका अनुसार गत मङ्सिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम कोरोना सङ्क्रमणका कारण छ महिना रोकिँदा अब छ महिना सरेको हो ।

    २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो ।

    लामाले भने, ‘लकडाउनपछि छ महिना काम रोकियो, अहिले द्रुत गतिमा काम भइरहेको छ, सकेसम्म थपिएको समयमा सक्ने योजनामा छौँ ।’ तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको हो ।

    तेमाल बृहत् खानेपानी आयोजना स्थानीयवासीको सुखद जीवनसँग जोडिएको आधाबाटका इन्द्रबहादुर तामाङले बताए । उनले भने, ‘सुनकोशीको पानी भनेको तेमालवासीको जिन्दगानी नै हो ।’

    उनका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो ।

    नेपाल सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए ।

    उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९०, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदान गर्नुपर्ने सम्झौता भएको थियो ।

    आयोजनाको नदीमा फिल्टर गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटामध्ये १६ वितरण ट्याङ्की भइसकेका छन् ।

    ‘पाइपलाइनको काम सकिएको छ भने घरघरमा धारा जोड्न बाँकी रहेको छ’, लामाले भने। सुनकोशी नदीबाट प्रतिसेकेन्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिनेछ । आयोजनाको लिफ्टिङ लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् ।

    लामाका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने अधिकांश काम सकिएको छ ।

    आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका हुन् । उक्त खानेपानी आयोजनाबाट तेमालको नौवटा वडा, छिमेकी रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही वडाका बासिन्दा लाभान्वित हुने भएका हुन् ।

    हाल पनि तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदल दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताए ।

    उनका अनुसार ठूला बस्तीको बीचमा रहेका केही कुवामा दिनहुँ दुईदेखि ३०० वटासम्म गाग्रीका लाइन लाग्ने गरेको थियो । ‘अब खानेपानीका लागि सुखका दिन आए’, तामाङले भने ।

    पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा हाल काभ्रे भ्याली एकीकृत, तेमाल र पाँचखालमा ठूला तीन खानेपानीका आयोजना सञ्चालित रहेकामा खुशी व्यक्त गर्दै केही समयभित्रै नमोबुद्ध नगरमा पनि बृहत् खानेपानी आयोजनाको काम शुरु हुने बताए।

    ‘अबको दुई वर्षभित्र सबै काभ्रेलीले स्वच्छ खानेपानी पाउने उद्देश्यका साथ हामी योजना ल्याइरहेका छौँ’, उनले भने । उनका अनुसार कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा सञ्चालित खानेपानीलगायत राष्ट्रिय गौरवका दर्जन आयोजना केही महिना धकेलिए पनि हाल तीव्र गतिमा भइरहेका छन् ।  रासस

  • लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने मन्त्रालयको निर्णय

    लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने मन्त्रालयको निर्णय

    काठमाडौं । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।

    बिहीबार मन्त्रालयमा निर्णय हुनुअघि स्वर्गद्वारीमा रहेको खानेपानी समस्या समाधान सम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखसहितको टोलीले स्वर्गद्वारीमा पुगेर छलफल गरेका थिए ।

    स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधि, स्वर्गद्वारी आश्रमका प्रतिनिधिहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पु¥याउने निर्णय गरेका हुन् ।

    मन्त्रालयले स्वर्गद्वारीको खानेपानी समस्या समाधानका लागि यही वर्ष डीपीआर सक्नेसमेत निर्णय गरेको छ । मन्त्री थापाले आगामी आर्थिक वर्ष नै बजेटको व्यवस्था गरी खानेपानी समस्यालाई सधैंको लागि समाधान गर्ने प्रतिवद्धता जनाए ।

    स्वर्गद्वारीमा दैनिक तीन सयको हाराहारीमा धार्मिक पर्यटक पुग्नेगर्छन् । आश्रममा करिब चार सय परिवारको बसोबास छ । आश्रमले त्यहाँ ४ सय ६० वटा भन्दा बढी गाई पाल्दै आएको छ ।

    पानीको अभावले मन्दिरको सरसफाईमासमेत समस्या पर्दै आएको थियो । यस्तै भत्तजनलाई खानेपानीको समस्या, त्यहाँ पालिएका गाईलाई समेत खानेपानीको अभाव हुँदै आएको थियो ।

  • बुटवलवासीको २५ वर्ष पुरानो सपना साकार हुँदै, खानेपानीको हाहाकार छिटै अन्त्य हुने

    बुटवलवासीको २५ वर्ष पुरानो सपना साकार हुँदै, खानेपानीको हाहाकार छिटै अन्त्य हुने

    रुपन्देही । बुटवल उपमहानगरपालिकामा धेरै पहिलेदेखि नै खानेपानीको समस्या छ । तीव्र जनघनत्व बढ्दै गएको सहरमा खानेपानी व्यवस्थापन गर्ने चुनावी नारा धेरै पटक बनेको छ ।

    अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग छ । तर आपूर्ति भने दुईदेखि साढे दुई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थानको भनाइ छ । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्रै खानेपानी आपूर्ती  भइरहेको छ ।

    बुटवलले झेलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थानसंगको सहकार्यमा खानेपानीको गुरुयोजना नै बनाइरहेको छ ।

    पूर्वाधार विकास र अन्यत्रबाट बसाइँ सरी आउने प्रमुख थलोका रुपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोचेर खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत् कार्यान्वयन गर्ने गरी तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको उनको भनाइ छ ।

    अर्थमन्त्री पौडेलको विशेष चासो

    बुटवल संघीय सरकारका अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र हो । अर्थमन्त्री पौडेलको संकल्पअनुरुप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

    केही दिन पहिले बुटवल आएका अर्थमन्त्री पौडेलले खानेपानी संस्थानका प्रबन्धक, यहाँका जनप्रतिनिधिलाई राखेर बुटवल र आसपासको क्षेत्रमा खानेपानीको दीर्घकालीन समाधान गर्न प्रतिवद्धता गराएका थिए ।

    बुटवलमा ल्याउने खानेपानीका लागि संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले महत्वपूर्ण आयोजनाको शिलान्यास गरिसकेकाले यहाँका स्थानीयमा केही आशा पलाएको छ ।

    झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो ।

    नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी योजना बनिरहेको छ ।

    उनले झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान ड्याम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।

    यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ ।

    बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।

    २५ वर्ष पुरानो योजना पूरा गर्ने संकल्प

    २०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन ।

    त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा पर्यो । हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउन योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो । यहीँ घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटिएको प्रमुख सुवेदीले बताए ।

    यो योजनाका लागि अर्थमन्त्री पौडेलले रकमको व्यवस्थापन आफूले गर्ने र काम पूरा गर्ने जिम्मेवारी यहाँको स्थानीय सरकारले गर्नुपर्ने निर्देशन दिएका थिए ।

    मुहानको संरक्षण

    बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना यहाँको पानीको प्राकृत्तिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ ।

    यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक एक वन बहुपोखरी कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरुमा बुटवलले पोखरी निर्माण गर्यो ।

    जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृत्तिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरुको भनाइ छ ।

    बुटवललगायका क्षेत्रको वातावरण, पानीका प्राकृत्तिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इन्जिनियर डाक्टर खेटराज दाहालले बुटवलबाट सुरु भएको एक वन बहुपोखरी कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमुना रहेको बताए । बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिने छ ।

    बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिन मुनीको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृत्तिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोही अनुरुपका काम अगाडि बढाइएको उपमहानगरको भनाइ छ ।

    अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृत्तिक हिसाबले माथिल्लो तटको प्राकृत्तिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धीकरण) गरेर वितरण गरिने छ ।

    बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ ।

    तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनशंख्याको चाँपको अनुमान गर्दै विज्ञहरुले काम गरिरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

    मागभन्दा एक करोड लिटर कम आपूर्ति

    अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ ।
    बुटवलमा अहिले तिनाउ सम्पेवलबाट दैनिक १ करोड लिटर चिडियाखोला डिपट्युबबेलबाट १ करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत १ करोड ८० लाख लिटर गरी दैनिक २ करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ ।

    हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपूग छ । तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ्ग) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ ।

    बुटवलको जनसंख्या दुई लाखभन्दा बढी छ । बसाइसराइ र आर्थिक केन्द्र बुटवलमा दिन प्रतिदिन मानिसहरु थपिने क्रम जारी छ ।

    बुटवलमा जनसंख्या वृद्धिसँगै वर्सेनि ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने गरेका छन् । बुटवलमा अहिले खानेपानी २० वटा ट्युबेलहरु सञ्चालनमा ल्याइएका छन् ।

    ट्युबेलबाट करिब एक करोड ८० लाख लिटर पानी उत्पादन हुने हुँदै आएको छ । हाल बुटवलमा नगरमा दैनिक पानीको माग तीन करोड ४० लाम लिटर छ । झुम्साखोला पानी आएपछि बुटवलमा आगामी २० वर्षसम्म पानीको माग पूरा गर्नेछ ।

    यसका साथै अरु स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनशंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ ।

    घना बस्तीमा नयाँ आयोजना

    बुटवलको सबैभन्दा बढी खानेपानीको समस्या वडा नम्बर ७ र ८ मा छ । यी दुईवटा वडाको समस्यालाई पहिले समाधान गर्ने लक्ष्य अनुरुप अहिले नयाँ काम सुरु भएको छ । धागो कारखाना अगाडिपट्टीको धर्मकाँटा नजिकै गाडिएको बोरिङदेखि दिपनगरसम्म डीआइ पाइप लाइन मार्फत खानेपानी ल्याइने छ ।

    नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरको सहकार्यमा दुई करोड २१ लाख ५२ हजार ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको हालै एक समारोहका बीच बुवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् ।

    दुई वडालाई लक्षित गरी सञ्चालन हुन लागेको यो आयोजना आगामी वैशाख दोस्रो सातासम्मका सक्ने लक्ष्य रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए । श्रीजीएमआरएम कन्स्ट्रक्सन बुटवल–७, रुपन्देहीले उक्त आयोजनाको काम गर्ने जिम्मेवारी पाएको छ ।

    आयोजना शिलान्यास समारोहमा बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, वडा नं. ७ का अध्यक्ष कमलप्रताप थापा, वडा नं.८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ, खानेपानी संस्थानका मोहन भट्टराईलगायतले आयोजनालाई तोकिएको समयमै सक्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • खानेपानीको मुहान नजिकै पानी प्रशोधन केन्द्र बनाइने

    खानेपानीको मुहान नजिकै पानी प्रशोधन केन्द्र बनाइने

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

    कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी रहेको र त्यसबीचमा बस्ती रहेको थियो । बीचका बस्तीमा पानी प्रशोधन नभइ पठाइएकाले सबैतिर प्रशोधन भएको पानी दिनका लागि स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन लागिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

    उनका अनुसार काठमाडौँ उपत्यकाका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउनका लागि अध्ययन अघि बढाइएको छ । उनले भने, “पहिले अध्ययन भएपछि नै योजना बनाएर निर्माणमा जान सकिन्छ ।”लिमिटेडले उपत्यकामा रहेका ३५ स्रोतको पानी वितरण केन्द्रमार्फत वितरण गर्दै आएको छ । प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

    अहिलेसम्म टोखा र बूढानीलकण्ठ नगरपालिकाले केन्द्रका लागि जग्गा दिने सहमति भएका छन् । अन्य नगरपालिकासँग पनि यसका लागि समन्वय भइरहेको उनले बताए । उनले भने, “नयाँ स्रोत पहिचान गर्न र भएका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन दुबैका लागि स्थानीय तहसँग नै सहकार्य भइरहेको छ ।”

    काठमाडौँ उपत्यकामा वितरण गर्नका लागि मेलम्ची खोलाको पानी ल्याउने तयारी भइरहँदा लिमिटेडले भइरहेका स्रोतको पनि व्यवस्थापनको काम अघि बढाइरहेको छ । लिमिटेडले उपत्यकामा नै विभिन्न स्थानमा रहेका स्रोतको पानी समेत ल्याउनका लागि समन्वय अघि बढाएको छ । लिमिटेडले मेलम्चीको पानी आउनासाथ वितरणका लागि पनि आवश्यक तयारी गरिरहेको छ ।  रासस

  • पहाड खाेपेर निकालियो खानेपानी, बसाइँ सरेका गाउँले फर्कन थाले

    इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको संख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १ सय २३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।

    लामो बाटो हिँडेर पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो ।

    जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने÷नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन् । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछिन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पर्थ्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई जीवनले काँचुली फेरेझैं भएको छ ।

    एक वर्षअघि दुई करोड ४७ लाख ८० हजार रुपैयाँको लागतमा बोरिङको काम शुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो । गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउँछन् । आचार्य पनि पानीको समस्याले विस्थापित थिए । उनी यही समस्याले गाउँ छाडेर बेसीमा बस्दै थिए । तर पछिल्लो समय वस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ । यहाँ अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए ।

    झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् । पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी संकलन गर्ने कामसमेत गरियो तर कुनै काम सफल भएको थिएन । नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउनुहुन्छ । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन् । खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भएका छन् ।

    वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा-एउटा, भल्व बक्स चेम्बर सात वटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट रहेका छन् । बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले जानकारी दिए । उनका अनुसार मेधश नजिक वेसी क्षेत्र भएकाले कम गहिराइमै पानी निकाल्न नगर सफल भएको हो । अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ ।रासस