Tag: कोभिड अस्पताल

  • बुटवलमा ५० शैय्याको कोभिड अस्पताल संचालनमा

    बुटवलमा ५० शैय्याको कोभिड अस्पताल संचालनमा

    रुपन्देही । बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रबाट कोभिड नियन्त्रण र उपचारमा सघाउ पुर्याउने उद्देश्यले ५० शैय्याको कोभिड अस्पताल स्थापना गरिएको छ ।

    बुटवल- १३ बेलबासस्थित एडमण्ड सिटी अस्पतालले कोभिड महामारीलाई लक्षित गर्दै ५० बेडको अस्पताल संचालनमा ल्याएको हो ।
    कुल ३ करोड रुपैयाँको लागतमा स्वास्थ्य उपचार सामग्री र उपकरण व्यवस्थापन गरी तत्कालै कोभिड संक्रमितका विरामीको उपचार सुरु गरिएको छ ।

    यो अस्पतालले २०७७ सालमा नेपाल सरकारबाट ५० शैय्याको अस्पतालको सम्बन्धन स्वीकृति प्राप्त गरेको हो । करिब १ विगाहा क्षेत्रफलमा निर्मित भवनमा भेन्टिलेटरसहित ८ शैय्याको आइसीयू कक्ष, ७ शैयाको एचडीयू कक्ष तथा ३५ शैय्याको आइसोलेसन कक्षसहित ५० शैयाको कोभिड लक्षित अस्पताल संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष प्रकाश रानाले बताए ।

    यही १८ गते मंगलबारदेखि पूर्ण संचालनमा आउने सो अस्पतालमा विशेषज्ञ चिकित्सक ४ जना, मेडिकल अफिसर १०, नर्सिङ्ग स्टाफ ३८, प्यारामेडिक २२ र अन्य कर्मचारीसहित १ सय ४० जना कार्यरत रहने अध्यक्ष रानाले जानकारी दिए ।

    नेपालमा कोभिडको संक्रमण दर केही कम भए पनि जोखिम कायमै रहेकाले कोभिड नियन्त्रण, रोकथाम र उपचारमा राज्यलाई टेवा पुर्याउने उद्देश्यले अस्पताल संचालनमा ल्याइएको अध्यक्ष रानाले बताए ।

    कोभिड महामारी अन्त्य भएमा सोही अस्पतालमा अन्य उपकरण थप गरी ट्रमा सेन्टर, न्यूरो तथा क्यान्सर रोग उपचार लगायतका महत्वपूर्ण कार्यहरु गर्ने लक्षका साथ योजनाहरु बनाइएको अस्पतालले जनाएको छ ।

  • छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल संचालन

    छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल संचालन

    काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल संचालनमा आएको छ ।

    काठमाडौं महानगरको सहयोगमा बुधबार देखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।

    कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैया र मासिक सञ्चालन खर्चवापत करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    चिकित्सालयलाई विशेष कोभिड अस्पताल बनाउने बारेमा महानगर र चिकित्सालयबीच गत बैशाख ३१ गते सम्झौता भएको थियो । महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्ने छ ।

    अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो । उनले अस्पतालले निशुल्क उपचार सेवा प्रदान गर्ने पनि उनले जानकारी दिए ।

    महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको शुभारम्भ गर्दै अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताए । उनले महामारीमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने सबै खालका कामलाई महानगरले प्राथमिकतामा राखेको बताए ।

    महानगरले विभिन्न १२ वटा अस्पतालहरुसँग स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने सम्झौता गरे अनुसार यो सहयोग उपलब्ध गराईएको हो । महानगरको सहयोगमा राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पताल लगायत विभिन्न अस्पतालमा भौतिक सुधारको क्षेत्रमा काम भइरहेको छ ।

     

     

     

  • वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल संचालनमा

    वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल संचालनमा

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आजदेखि २५ शैयाको कोभिड अस्पताल (कटकुवा स्वास्थ्य चौकीमा) संचालनमा ल्याएको छ ।

    अस्पतलको नगर प्रमुख श्री देवकुमार सुवेदीले अस्पताल सन्चालनमा आएसङ्गै कोभिडका कारण उपचार नपाइने अबस्थाबाट थोरै भए पनि नगरवासीलाई राहत पुग्ने अपेक्षा गरेको बताए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, उप प्रमुख मोहनमाया ढकाल, प्रदेश अस्पतालका कन्सलटेन्ट चिकित्सकहरू डा. नवराज केसी, डा. प्रदिप न्यौपाने (स्वतःस्फूर्त सहयोग), प्रप्रअ टिकाराम ढकाल, डा अर्चना कार्की र नर्सिङ स्टाफहरू, जनस्वास्थ्य शाखा र कोभिड ब्यवस्थापन टिम लगायतको उपस्थिति रहेको थियो।

    अस्पतालबाट अक्सिजनसहित डाक्टर तथा नर्सको सेवा उपलब्ध रहने जानकारी नगरपालिकाले दिएको छ ।

  • तत्काल थप चार कोभिड अस्पताल चाहियो – डीसीसीएमसी धनुषा

    तत्काल थप चार कोभिड अस्पताल चाहियो – डीसीसीएमसी धनुषा

    जनकपुरधाम । कोरोना संक्रमितको संख्या तीब्र गतिले बढिरहेको भन्दै डीसीसीएमसी धनुषाले थप चार कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश २ सरकारसँग आग्रह गरेको छ ।

    जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जनकपुर नर्सिङ कलेजको भवनमा ६३ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । तर कोरोनाका विरामीको चाप बढ्दै गएकोले उक्त अस्पतालले मात्र धान्न नसक्ने निष्कर्ष निकाल्दै थप चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

    उनका अनुसार जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवन, सपहीस्थित सीटीइभीटीको भवन, रमदैयास्थित जानकी मेडिकल कलेज र गंगुलीस्थित आयूर्वेद कलेजमा कोभिड अस्पताल सञ्चालन गर्न उपयुक्त स्थान हो ।

    मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई संक्रामक रोक ऐन २०२० बमोजिम प्रदेश सरकारले कोभिड-१९ को प्रकोप अवधिभरका लागि स्वामित्वमा लिइ आवश्यक पूर्वाधार निर्माण गरी कोभिड अस्पताल सञ्चालनमा ल्याउन प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने निर्णय भएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

    त्यस्तै सपहीस्थित सीटीइभीटी र गंगुलीस्थित आयुर्वेद कलेजको प्रयोगविहिन भवनमा यसअघि प्रदेश सरकारले आइसोलेशन सेन्टर सञ्चालन गरेको थियो । दुवै ठाउँमा बेडसहितको अन्य स्वास्थ्य सामग्री र पूर्वाधारसमेत तयारी अवस्थामा रहेकोले तत्कालै कोभिड अस्पताल सञ्चालनमा ल्याउन उपयुक्त रहेको डीसीसीएमसीको भनाइ छ ।

    यस्तै कोरोनाका विरामी बढ्दै गइरहेकाले सरकारी, निजी तथा सामुदायिक अस्पतालहरुलाई अक्सिजनको स्टक बढाउन अनुरोध गर्ने निर्णय पनि डीसीसीएमसीको बैठकले गरेको छ । धनुषाका सबै स्थानीय तहले कम्तिमा २०/२० वटाका दरले अक्सिजनका सिलिण्डर तयारी हालतमा राख्न निर्देशन पनि दिइएको छ ।

    कोरोना त्रास बढेपछि निजी व्यक्तिले अक्सिजन सिलिण्डर खरिद गरी घर घरमा जम्मा गरेको जानकारी आएको डीसीसीएमसीले जनाएको छ । अब अक्सिजन आपूर्तिकर्ताले अस्पताल, स्वास्थ्य संस्था र स्थानीय तह आदि संस्थाहरुलाई र डाक्टरको प्रेस्क्रिशनबमोजिम मात्र सिलिण्डर दिन निर्देशन दिइएको छ । साथै अर्को निर्णय नभएसम्म अन्य फ्याक्ट्री तथा ग्यारेजलाई अक्सिजन बिक्री नगर्ने व्यवस्था मिलाउनसमेत उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले समन्वय गर्ने निर्णय भएको छ ।

    अक्सिजनको माग ह्वात्तै बढेको तर आपूर्तिकर्ता तथा स्वास्थ्य संस्थासँग सिलिण्डर अभाव देखिएको डीसीसीएमसीले जनाएको छ । त्यस्तै प्रदेश २ सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

    डीसीसीएमसी धनुषाले वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म १० दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गर्दै अटेरी गर्नेलाई कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

  • संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

    संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

    काठमाडौं- केही दिन यता नेपालका निजी तथा सरकारी अस्पतालमा कोभिड–१९का बिरामीका लागि छुट्याइएका बेड धमाधम खाली हुँदै गएका छन् । दुई सातायता बिरामीको संख्या पनि क्रमशः घट्दै गइरहेको अस्पतालहरूले जनाएका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघिसम्म कोभिडका बिरामीको चाप उत्तिकै थियो । एक महिनाअघि त कोभिडका बिरामीले बेडसमेत पाउन मुस्किल हुने अवस्था थियो । तर, केहीदिन यता अस्पतालमा कोभिडका बिरामी घट्न थालेपछि बेडहरू खाली हुन थालेका छन् ।

    अस्पतालका निर्देशक डा. सागर राज भण्डारीका अनुसार दुई हप्ताअघि ५५ जना संक्रमित उपचाररत थिए । अहिले २९ जना मात्र अस्पतालमा उपचाररत छन् । तर आइसियसुमा राख्नुपर्ने केसहरू भने पहिलेकै तुलनामा छन् । अस्पतालका निर्देशक डा. भण्डारीका अनुसार गम्भीर प्रकृतिका १८ जना बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरू छन् ।

    वीर अस्पतालमा कोभिडका बिरामीका लागि १ सय ४० बेड छुट्याएको छ । पहिले बिरामीको चाप बढेर बेडले धान्न नसक्ने स्थिति थियो । तर, केही हप्तायता कोभिडका बिरामीहरू ३० देखि ३५ जनाको हाराहारीमा उपचाररत छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार आइसियुमा राख्नुपर्ने केस भने घटेको छैन ।

    सरकारी अस्पतालमा मात्र हैन निजी अस्पतालमा पनि कोभिडका बिरामी घटिरहेका छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार अहिले अस्पतालमा कोरोनाका बिरामी ५० प्रतिशतले घटेका छन् ।

    ‘कोभिडका लागि हामीले ६० बेड छुट्याएका थियौं । पहिले त बेड नै नपाएर बिरामी राख्न नसकिने अवस्था थियो । दुई हप्तायता करिब २५ जना बिरामी छन्,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

    ह्याम्सले पहिले कोभिडको लागि बिरामीको चाप बढ्दा दुई वटा वार्ड छुट्याएको थियो । अहिले संख्या घट्दै गएपछि एउटै वार्डमा कोभिडका बिरामीको उपचार गर्ने गरिएको छ । अस्पतालको आइसियुमा १९ जना कोभिडमा बिरामी छन् । अध्यक्ष भण्डारीका अनुसार पहिलेको तथ्यांकको तुलनामा अहिले आइसियु केस ३० प्रतिशतले घटेको हो ।

    ‘पहिले आइसियु बेड चाहियो भनेर निकै फोन आउँथ्यो । केही दिन यता आइसियु चाहिने बिरामीहरूको कल समेत ९० प्रतिशत घटेको छ,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

    ‘संक्रमित घटेसँगै खाली भए बेड’

    नेपालमा कोरोना संक्रमितहरूको संख्या घटेसँगै अस्पतालमा बिरामीको संख्या घटेको विज्ञ तथा चिकित्सकहरूको दाबी छ । बितेको २४ घण्टामा ९ सय ३६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । जबकि कुनै समय ८ हजार भन्दा बढी नयाँ संक्रमित एकै दिनमा भेटिएका थिए ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिले परीक्षण गरिएको मध्ये २५ प्रतिशत भन्दा बढी नयाँ संक्रमित भेटिन्थे । तर, अहिले १५ प्रतिशत मात्र नयाँ संक्रमित भेटिने गरेका छन् । यो अनुपातलाई आधार मान्दा संक्रमण घटेको डा. गौतमको दाबी छ ।

    ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पहिले परीक्षण गरिएका मध्ये ४२ प्रतिशतलाई कोरोना पोजेटिभ देखिन्थ्यो । अहिले करिब ३० प्रतिशत भन्दा कमलाई पोजेटिभ देखिने निर्देशक डा सागर राज भण्डारी बताउँछन् ।

    वीर अस्पतालमा कोभिडको आशंकामा परीक्षण गर्न आउनेको दैनिक संख्या नै ५ सयको हाराहारीमा हुन्थ्यो । अहिले परीक्षण गर्नेको दैनिक ८० देखि ९० सम्म मात्र हुने निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।

    दसैं तिहारपछि संक्रमण झन् बढ्न भन्ने विज्ञहरूको आँकलन थियो । तर, संक्रमतिहरू घट्दै जाँदा आँकलनहरू गलत भएको जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् ।

    उनी भन्छन्, ‘जाडोमा झनै बढ्छ भन्ने आँकलन थियो तर बढेन । मृत्युदर पनि कम भयो । वर्षौं पुरानाको रोग त हामी बल्ल बुझ्दैछौं । यो भर्खर एक वर्ष भयो । त्यसैले धेरै आँकलन गलत भएका छन् ।’

    परीक्षण घटे र संक्रमित घरमै बस्न थाले

    कोरोनाका बिरामी अस्पतालनै जान छाडेपछि बेडहरू खाली हुँदै गएको कतिपय विज्ञको बुझाइ छ । यससँगै परीक्षण गराउन जानेहरूको संख्यामा पनि कमी आएको विज्ञहरू बताउँछन् ।

    जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अहिले मानिसहरू परीक्षण गर्न जानै छाडेको बताउँछन् । ‘मानिसहरूले परीक्षण गर्न जान छाडे । अस्पतालहरूले कोभिडका बिरामीलाई धरौटी नलिई भर्ना नगर्ने भएपछि सामान्य नागरिकहरूले कि त परीक्षण नगर्ने कि त घरमै बसेर आराम गर्न थाले,’ डा. पाण्डे भन्छन् ।

    सरकारले गर्ने कोरोना परीक्षणको दर निकै कम भएर पनि संक्रमित कम भएका उनको दाबी छ । ‘अहिले सीमित मान्छेले मात्र परीक्षण गरिरहेका छन् । विदेशबाट आएका वा जानुपर्ने अवस्थाका मानिसले मात्र परीक्षण गर्ने गरेका छन्,’ डा. पाण्डे भन्छन् ।

    मन्त्रालयका प्रवक्ता डा. गौतम आवश्यकताअनुसार परीक्षण घटाएको स्वीकार गर्छन् । ‘अहिले अनावश्यक परीक्षण घटाएको हो । बिरामीको संख्या घटेपछि परीक्षण पनि घटाइएको हो,’ डा गौतम भन्छन् । उनका अनुसार अहिले दैनिक ५ हजारको हाराहारीमा परीक्षण गर्ने गरिएको छ ।

    गम्भीर बिरामी घरमै बस्दा संकट

    गम्भीर प्रकृतिकाख बिरामी पनि अक्सिजन लिएर घरमै बस्दा झन् संकट थपिएको ह्याम्सका अध्यक्ष रामशरण भन्डारी बताउँछन् । ‘घरमै अक्सिजन लिएर बस्ने ट्रेनका कारण अहिले अन्तिम अवस्थामा मात्र बिरामी आउने गरेका छन् । अहिले अक्सिजन लेभल घट्दै गर्दा पनि घरमै बस्ने गरेका रहेछन्,’ उनी भन्छन्, ‘अक्सिजन लिएर घरमै बसेकाहरू अन्तिम चरणमा अस्पतालमा मृत्युवरण गर्नुपरेको छ।’

    अहिले यस्तो किसिमको केस दैनिक बढ्दै गएको उनी सुनाउँछन् । उनका अनुसार अक्सिजन घटिसकेपछि घरमै बस्नु एकदमै खतरा हो । ९२ भन्दा तल अक्सिजन आयो भने तुरुन्तै अस्पताल नगइ घरमै लिएर बस्यो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने भण्डारीको दाबी छ ।

    परीक्षण नबढाए खतरा बढ्न सक्छ

    जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित अस्पताल आउने मान्छे कम भयो भनेर ढुक्क भएर बस्नु गलत भएको बताउँछन् । यो बेलामा संक्रमण घटे भनेर परीक्षण पनि घटाउनाले झनै खतरा निम्तने उनको दाबी छ ।

    ‘अस्पताल र ल्याबमा मान्छे नआए पनि समुदायमा जानुपर्ने हो । राज्य समुदायमा खोज्दै जानुपर्छ । हामीसँग विकल्प भनेकै परीक्षण छ । ५ हजार परीक्षण गरेर यथार्थ पाउँदैनौ । हामी संक्रमणमुक्त भएका भने छैनौं,’ डा. दीक्षित भन्छन्, ‘एउटै मात्र व्यक्ति संक्रमित हुनु भनेको उसले ३ देखि १२ जनालाई समाजमा सार्न सक्छ ।’

    पछिल्लो समय विवाह भोज र पार्टीहरूको आन्दोलनले संक्रमण बढाउन सक्नेउनको चिन्ता छ । जनस्वास्थ्यविद् डा. पाण्डे पनि संक्रमण घट्यो भनेर खुसी हुनुपर्ने अवस्था नभएको बताउँछन् । ‘अहिले घटिरहेको छ भनेर हामीले ध्यान दिन छाडिरहेका छौं । झन् सजग हुने बेला आएको छ । यो बेला हामीले ख्याल राखेनौं भने दोस्रो लहर आउन सक्छ,’ उनी भन्छन् ।