Tag: केवल टेलिभिजन व्यवसायी

  • केवल टिभी व्यवसायीको राष्ट्रिय भेला सुरू, घर-घरमा टेलिभिजन बन्द हुने अध्यक्ष शर्माको चेतावनी (भिडिओ)

    केवल टिभी व्यवसायीको राष्ट्रिय भेला सुरू, घर-घरमा टेलिभिजन बन्द हुने अध्यक्ष शर्माको चेतावनी (भिडिओ)

    काठमाडौं । देशभरका केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरू भएको छ । केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा भएको भेलामा ४ सय भन्दा बढी व्यवसायी सहभागी छन् ।

    ऊर्जामन्त्री पम्फा भुसालले उद्घाटन गरेको भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारको नीति र निर्णयले गर्दा केवल व्यवसाय समाप्त हुन लागेकाले गुहार माग्न भेला गरिएको बताए ।

    शर्माले विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर-घरमा टेलिभिजन नपुग्ने भन्दै प्राधिकरणले ३५० प्रतिशत पोल भाडा वृद्धि गरेर सूचनाको हक खोस्न लागेको बताए । शर्माले प्राधिकरणले तोकेको शुल्क व्यवसायीले तिर्न नसक्ने र तार काटिएमा घर-घरमा टेलिभिजन प्रसारण नहुने चेतावनी दिए ।

    अध्यक्ष शर्माले भने, ‘यो गम्भीर विषय हो । हामी २५/३० वर्षदेखि यो व्यवसायमा छौं र तीनदेखि ४ सय रूपैयाँमा घर-घरमा टिभी प्रसारण गरिरहेका छौं । अब बढाएको पोल भाडा हामी तिर्न सक्दैनौं र प्राधिकरणले तार काट्यो भने जनताको सूचनाको हक खोसिनेछ ।’

    शर्माले आईपीटीहरूबाट अवैधरूपमा डाउनलिंकहरूमार्फत प्रसारण गर्ने, ओटीटी एपहरूबाट निर्वाधरूपमा टेलिभिजन कन्टेन्टहरू प्रसारण हुँदा राज्यलाई राजस्वमा क्षति भएको बताए ।

  • केवल व्यवसायी महासंघले भन्योः क्लीनफिडसम्वन्धी अवैधानिक कार्यदल भंग गर

    केवल व्यवसायी महासंघले भन्योः क्लीनफिडसम्वन्धी अवैधानिक कार्यदल भंग गर

    काठमाडौं । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले प्रशारण क्षेत्रमा देखिएका समस्याको निराकरण गर्न बनाएको कार्यदललाई अवैधानिक ठहर्‍याउँदै भंग गर्न माग गरेको छ । कुनै कानूनी धरातलविना नै बनाइएको सो कार्यदलले अहिलेसम्म पनि तोकिएको जिम्मेवारी पूरा नगरी समय मात्र खपत गरेको महासंघको दावी छ ।

    महासंघका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज एक पत्र पठाउँदै कार्यदल भंग गर्न माग गरिएको हो । महासंघका महासचिव मनोज गुरुङले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘हामीले विगतदेखि नै उठान गर्दै आएका गैरकानुनी कार्यहरु तत्काल बन्द नगरी थप प्रोत्साहन पुर्‍याउने काम भइरहेकोले कथित कार्यदल गठन गरिनुको औचित्य समेत समाप्त भइसकेको छ ।’

    मन्त्रालयले विज्ञापनरहित (क्लीनफिड) प्रसारण कार्यान्वयनको अवस्था अध्ययन गर्न, केवल टेलिभिजन व्यवसायीको मागलाई सम्बोधन गर्न र प्रसारण क्षेत्रमा देखिएका समस्याको निराकरण गर्न २ महिनाको समयावधी तोकी कार्यदल गठन गरेको थियो । अहिले कार्यदल गठनको औचित्यमाथि नै गम्भिर आशंका उत्पन्न हुनुको साथै यसको कानुनी मान्यता, उपादेयता माथिसमेत प्रश्न चिन्ह खडा भएको महासंघको पत्रमा उल्लेख छ ।

    महासंघले गत असोज ८ गते क्लीन फिडको विषयमा १७ बुँदे सुझाब तथा कात्तिक ३ गते पुनः ‘क्लीन फिड लागु गर्नुपुर्व आवश्यक कारवाही गरिपाँउ’ भन्ने निवेदन मन्त्रालयमा पेश गरेको थियो । सो निवेदनमा उठाइएका विषयको हालसम्म पनि सम्बोधन हुन नसकेको महासंघका गुनासो छ ।

    केवल टेलिभिजन व्यवसायीको मागलाई सम्बोधन गर्न कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको थियो । यसबाट महासंघले उठाएका प्रश्न तथा दिएको उजुरी जायज भएको स्पष्ट हुने पत्रमा उल्लेख गरिएको छ ।

    ‘सो उजुरीमा उल्लेख गरेअनुसारको ओटीटी-एप्लिकेसनबाट इन्टरनेटमा भएको प्रसारण तथा सामाजिक सञ्जालमार्फत भएका प्रसारण गैरकानुनी हुन भन्ने प्रमाणित भई सकेको छ,’ पत्रमा भनिएको छ, ‘तर यस महासंघले उठान गरेका गैरकानुनी कार्य हालसम्म पनि निर्वाध रुपमा सञ्चालन गर्ने संस्थालाई समेत उक्त कार्यदलको सदस्य बनाइएको छ ।’

    पत्रमा थप भनिएको छ, ‘सरकारलाई उजुरीमा उल्लेख भएबमोजिम गैरकानुनी कार्य भइरहेको थाहा हुँदाहुँदै पनि ती कार्यहरु हालसम्म बन्द नगरी इन्टरनेटका नाममा राष्ट्रिय प्रसारण ऐन, २०४९ ले निषेध गरेको कार्य गर्दै आएका संस्थालाई समेत कार्यदलको सदस्य बनाएकोमा महासंघ घोर आपत्ती व्यक्त गर्दछ ।’

    महासंघले विभिन्न समयमा उठान गरेका विषयमा विद्यमान कानुनी व्यवस्थाभित्र रही उचित सम्बोधन गर्न, गैरकानुनी प्रसारण कार्य तत्काल बन्द गर्न, गैरकानुनी प्रसारण गर्ने संस्थाहरुलाई कारवाही गरी नियमसंगत रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने संस्थालाई उत्प्रेरित गर्न अनुरोध गरेको छ ।