Tag: कृष्णप्रसाद भट्टराई

  • तीन संस्थापक नेता जसले उत्तरार्द्धमा कांग्रेससँग नाता तोडे

    तीन संस्थापक नेता जसले उत्तरार्द्धमा कांग्रेससँग नाता तोडे

    राणाकालमा भारतमा निर्वासित नेपाली युवाहरुले खोलेको नेपाली कांग्रेस पार्टीकै नेतृत्वमा २००७ सालको क्रान्ति सफल भयो । सो क्रान्तिले १०४ वर्ष लामो जहानियाँ राणा शासन अन्त्य गरेको थियो ।

    २००८ मंसिर १ गते गैरराणाको तर्फबाट सामान्य नागरिकको छोराको रुपमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनी कांग्रेस सभापतिकै हैसियतमा प्रधानमन्त्री भएका थिए ।

    नेपालमा २००७ सालको क्रान्ति, २०४६ सालको पहिलो जनआन्दोलनदेखि २०६२÷६३ को जनआन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गरेको थियो ।

    यस्तो नेपाली लोकतान्त्रिक इतिहासको एक नेतृत्वदायी शक्ति नेपाली कांग्रेसमा केही वरिष्ठ र त्यागी नेताहरु भने टिक्न सकेनन् । राजनीतिक जीवनको उत्तरार्द्धमा उनीहरुले नेपाली कांग्रेससँगको आवद्धता नै अन्त्य गरेका थिए । यहाँ नेपाली कांग्रेसको संस्थापक भएर पनि पछि नेपाली कांग्रेस त्याग गरेका तीन नेताको चर्चा गरिएको छ ।

    १. मात्रिकाप्रसाद कोइराला

    २००७ सालको क्रान्तिका नायक हुन् मात्रिकाप्रसाद कोइराला । उनको २००७ सालको क्रान्ति बारेमा ‘अ रोल इन द रिभोलुसन’ भन्ने आत्मवृत्तान्त नै छापिएको छ । वीपी कोइरालाको आत्मवृतान्त तयार गर्ने गणेशराज शर्माकै अगुवाइमा मात्रिकाप्रसाद कोइरालाको उक्त आत्मवृतान्त तयार भएको हो ।

    वीपीहरुको अगुवाईमा २००३ सालमा खोलिएको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशमशेरको अगुवाइमा खोलिएको नेपाली प्रजातान्त्रिक कांग्रेस एकीकरण भएर २००६ चैत २७ गते बनेको नेपाली कांग्रेसका प्रथम सभापति हुन् मात्रिकाप्रसाद कोइराला । नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्षको हैसियतले उनी भागबाण्डमा नेपाली कांग्रेसको प्रथम सभापति भएका थिए ।

    २००८ मंसिर १ गते बनेको कांग्रेसको पहिलो सरकारमा मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । वीपीसँगको गुटगत टकरावको कारण मात्रिकाप्रसाद कोइरालाको सरकार धेरै टिकेन । उनी प्रधानमन्त्री भएकै अवस्थामा २००९ साउन ११ गते नेपाली कांग्रेसको क्रियाशील सदस्यबाट तीन वर्षको लागी निष्कासन गरियो । त्यसको तीन दिनअगाडि नै सुवर्ण शमशेर, गणेशमान सिंहदेखि सूर्यप्रसाद उपाध्यायलगायतले राजीनामा दिएर मात्रिकालाई एक्लो पारिसकेका थिए ।

    साउन ११ को कारवाहीमा तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालासँगै योजना विकास, खानी, वन र विद्युतमन्त्री महावीर शमशेर, उद्योग, वाणिज्य र रसदमन्त्री महेन्द्रविक्रम शाह र स्थानीय स्वायत्त शासनमन्त्री नारदमुनी थुलुङ समेत थिए । २००९ साउन ११ मा पार्टीको क्रियाशील सदस्यसमेत नभएका मात्रिकाप्रसाद कोइराला दुई महिना अगाडि मात्रै नेपाली कांग्रेसको सभापतिबाट बाहिरिएका थिए । २००९ जेठ १० देखि १३ सम्म जनकपुरमा भएका पाँचौ महाधिवेशनबाट वीपी सभापति भइसकेका थिए । मात्रिकाप्रसाद कोइरालाले २००९ साउन २६ गते राजीनामा दिए । राजीनामाको समाचार न्यूयोर्क टाइम्सले समेत बनाएको थियो ।

    तीन वर्ष नेपाली कांग्रेस पार्टीको औसत सदस्यसमेत बन्न निषेध गरिएका मात्रिकाप्रसाद कोइरालाले २०१० वैशाख १९ गते नयाँ दल राष्ट्रिय प्रजा पार्टी खोले । त्यसको दुई महिना नपुग्दै २०१० असार २ गते उनी प्रधानमन्त्री नियुक्त भए । २०११ फागुन १९ गते उनलाई हटाएर महेन्द्रले शासन हातमा लिए ।

    २०१२ माघ ९ देखि सुरु भएको छैटौं महाधिवेशनबाट सुवर्णशमशेर नेपाली कांग्रेसको सभापति भएर आए । उनी आएपछि मात्रिकाप्रसाद कोइरालाको पार्टी राष्ट्रिय प्रजा पार्टीसँग पुनः एकीकरण भयो । एकिकरणपछि २०१५ को चुनावको तयारी गर्न भन्दै विशेष महाधिवेशन आयोजना भयो । २०१४ जेठ ११ र १२ मा विराटनगरमा भएको महाधिवेशनमा वीपी सर्वसम्मत अध्यक्ष भए ।

    २०१५ फागुन ७ मा चुनाव भयो । चुनावमा मात्रिकाप्रसाद कोइराला कतै उठेनन् । उनलाई वीपीले नै उठ्ने वातावरण नदिएको कतिपयको भनाइ छ । २०१६ जेठ १३ गते वीपी कोइरालाको नेतृत्वमा सरकार बन्यो । २०१७ पुस १ गते महेन्द्रले सत्ता आफ्नो हातमा लिए । संसद र सरकार भंग गरे । सबैजसो नेता-कार्यकर्तालाई पक्राउ गरे । महेन्द्रलाई समर्थन गर्ने शर्तमा मात्रिकाप्रसाद कोइराला छुटे ।

    छुटेपछि उनलाई संयुक्त राष्ट्रसंघको लागि नेपालको दोश्रो स्थायी प्रतिनिधि बनाइयो । सँगै उनले अमेरिकाको लागि नेपाली राजदूतको रुपमा समेत काम गरे । २०१८ वैशाख ५ गते उनलाई नियुक्ति गरिएको थियो । त्यसको समाचारसमेत न्यूयोर्क टाइम्सले छापेको थियो । पछि राष्ट्रिय पञ्चायत चुनावका मनोनित सदस्यदेखि निर्वाचित सदस्य समेत भए मात्रिकाप्रसाद कोइराला ।

    २. गणेशमान सिंह

    नेपाली कांग्रेस तथा वीपी कोइरालाको भन्दा जेठो राजनीति हो गणेशमान सिंहको । १९९७ मा प्रजापरिषदको सदस्यता धर्मभक्त माथेमाबाट लिएका उनी पक्राउ परेका थिए । राणा सत्ताको जेल नाघेर उनी २००१ मा भागेर भारत पुगे । भारतका व्यापारी देवशंकर लालले उनको वीपीसँग भेट गराएका थिए । त्यही भेटपछि गणेशमान सिंह वीपी कोइरालाहरुसँग मिलेर नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक नेता भए ।

    २०४६ सालको संयुक्त जनआन्दोलनका सर्वमान्य नेता तथा सर्वोच्च कमाण्डर थिए गणेशमान । नेपाली कांग्रेसको सभापति नरहेका उनलाई ‘सर्वोच्च नेता’ को मानार्थ पदवी दिइएको थियो । २०४६ फागुन ७ देखि चैत २६ सम्म ५० दिन चलेको आन्दोलनले तीन दशक लामो पञ्चायत ढालेको थियो । कांग्रेस-कम्युनिस्ट सहकार्यमा भएको प्रथम जनआन्दोलन त्यही थियो, जसको नेतृत्व गणेशमान सिंहले गरे ।

    जनआन्दोलनको सफलताले गणेशमान सिंहलाई सन् १९९१ को संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्त शान्ति अवार्डदेखि सन् १९९३ को संयुक्त राष्ट्रसंघको मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो ।

    जनआन्दोलनका सर्वोच्च कमान्डर भएको नाताले २०४७ बैशाख ३ गतेको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजा वीरेन्द्रले गणेशमान सिंहलाई आग्रह गरे । सिंहले अस्वीकार गरेर तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरे । भट्टराईले प्रधानमन्त्री भएपछि नयाँ संविधानदेखि आम निर्वाचनसमेत गर्न सफल भए ।

    २०४८ सालको आम निर्वाचनमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मदन भण्डारीसँग चुनाव हारे । त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । तर, प्रधामन्त्री भएपछि गणेशमानलाई उनले वेवास्ता गर्न थाले । भारतसँग गरेको टनकपुर सन्धीलाई सहमति भन्दै लुकाउने प्रयास गरे । सर्वोच्च अदालतले सन्धी नै ठहर गर्दा पनि उनले गणेशमान सिंहको सल्लाह बमोजिम राजीनामा दिएनन् ।

    निर्वाचनको घोषणापत्रदेखि सरकारका लोककल्याणकारी कार्यक्रमहरुमा गणेशमान सिंहको सल्लाह मानेनन् गिरिजाप्रसादले । कृष्णप्रसाद भराईलाई अन्तरघात गराएर हराइएकोमा गणेशमानको झनै ठूलो गनासो थियो । केही भन्दा पनि नमानेपछि गिरिजाप्रसादलाई गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराई समर्थक संसदहरुले समेत असहयोग गरे । गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए । संसद भंग गरे र मध्यावधी चुनाव घोषणा गरे । त्यही समयताका गणेशमानले नेपाली कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गरे ।

    २०५१ कात्तिक १४ गते उनले सार्वजनिक जानकारी दिएका थिए । ‘मेरो आह्वान’ भनेर निकालेको लामो विज्ञप्तिमा गणेशमान सिंहले लेखेका थिए, ‘.. विवेशकशून्य भावकुतामा बगेर नेपाली कांग्रेसको प्राणहीन साइनबोर्डको पछि लाग्नुभन्दा देश, जनता, प्रजातन्त्र र शहीदहरुप्रतिको आफ्नो कर्तव्य पूरा गर्न उचित ठानेर आफ्नो अन्तरआत्माको आवाज बमोजिम मैले नेपाली कांग्रेसबाट अलग हुने निर्णय गरेको छु ।’

    गणेशमान सिंह जस्तो विश्वमा चिनिएको नेताले नेपाली कांग्रेसबाट अलग भएको हेडलाइन विश्वभर फैलिएको थियो । २०५४ असोज २ गते ८४ वर्षको उमेरमा सिंहको निधन भयो ।

    ३. कृष्णप्रसाद भट्टराई

    सन १९४२ को महात्मा गान्धीको भारत छोडो आन्दोलनबाट पक्राउ परेका कृष्णप्रसाद भट्टराई नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक नेता हुन् । नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस मिलेर बनेको नेपाली कांग्रेसको १० सदस्यीय केन्द्रीय समितिमा उनी सहमहामन्त्री थिए ।

    भट्टराईको आत्मकथा ‘मेरो म’ मा उनले यसको जानकारी दिएका छन् । नेपाली उनी २०४८ माघमा भएको कांग्रेसको आठौं महाधिवेशनबाट सभापति भएका थिए । नवौं महाधिवेशनबाट नेतृत्वमा गिरिजाप्रसाद कोइराला आएपछि सक्रिय राजनीति त्यागेका भट्टराईले नेपाली कांग्रेसले दोश्रो जनआन्दोलनपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को पक्ष लिएपछि नेपाली कांग्रेससँगको सम्पूर्ण सम्बन्ध टुटाए ।

    भट्टराईले भैंसेपाटी निवासबाट २०६४ असोज ९ गते उनले नेपाली कांग्रेसका सभापति तथा सम्पूर्ण महासमिति सदस्यहरुको नाममा पत्र लेख्दै भनेका थिए, ‘.. संघीय लोकतान्त्रिक गणतन्त्रको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सर्वकालीक स्वर्गीय नेता श्री वीपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिएझैं छ । त्यसो हुनाले यस पार्टीसँग अब उप्रान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहने छैन । तपाई सबै सहयोगी साथीहरुसँग अब म भारी मन लिएर सदैवका लागि बिदा लिँदैछु ।’

  • मेलम्चीको मैझारो : ती केपीको भाषण यी केपीको पालामा साकार

    मेलम्चीको मैझारो : ती केपीको भाषण यी केपीको पालामा साकार

    काठमाडौं । २०५१ सालमा चुनावी भाषण गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए- म काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिन्छु । उनले यस्तो भाषण गरेको २७ वर्षपछि बल्ल काठमाडौंमा मेलम्चीको पानी भित्रिएको छ । भट्टराई आजभन्दा ११ वर्षअगाडि नै बितिसकेका छन् ।

    नेपालका विकास आयोजनामा हुने ढिलासुस्तीको एउटा बिम्बको रुपमा मेलम्चीलाई लिने गरिएको छ । २०५८/५९ मा निर्माण सुरु भएर २०६४/६५ भित्र पुरा गर्ने प्रारम्भिक लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न भएको हो । झण्डै ३ दशकअघि केपी भट्टराइले गरेको भाषण आज केपी ओलीको पालामा साकार भएको छ ।

    बारम्बार धारामा पानी आउने मिति तोक्ने र विभिन्न बहानामा सार्ने सिलसिलाले मेलम्ची देशवासीहरुका लागि एउटा गम्भिर ठट्टामा परिणत भइसकेको थियो । मेलम्चीको पानी सुन्दरीजलमा खसाउने अघिल्लो दिनसम्म पनि धेरैले पत्याएका थिएनन् । आज धारामा पानी आउँदैछ भन्दा हिजोसम्म पनि कतिलाई विश्वास थिएन् ।

    पछिल्लो समयमा सरकारले यो आयोजनालाई उच्च महत्व दिएर काममा तदारुकता देखाएकै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनालाई प्रतिष्ठाकै विषय झैं बनाएका थिए । सुन्दरीजलमा मेलम्चीको पानीलाई स्वागत गर्न आफैं पुग्नुले पनि यो आयोजनामा उनको अभिरुची प्रष्ट हुन्छ । मेलम्चीको पानीको औपचारिक उद्घाटन केही दिनपछि राष्ट्रपतिबाटै गराउने उनको योजना छ ।

    मेलम्ची आयोजनाको सम्पन्नतासँगै यसको जस लिने होडवाजीहरु चल्न थालिसकेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो दलका पूर्वप्रधानमन्त्री भट्टराईले मेलम्चीको सपना देखेको भन्दै उनलाई जस नदिएकोमा सरकारसँग असन्तोष व्यक्त गरेका छन् । यद्यपि, मेलम्चीले सडक पखाल्ने भाषणबाहेक आयोजनामा भट्टराईको ठोस योगदान चाहिँ भेटिँदैन । भट्टराइले त्यो भाषण गर्नुअगावै मेलम्चीको सम्भाव्यता अध्ययन भइसकेको थियो । काकाकुल काठमाडौंवासीको भोट तान्न उनले त्यो भाषण गर्दा केपी ओलीले हावाबाट बिजुली निकाल्ने भाषण गरेजस्तै उपहास गरिएको थियो ।

    जस लिने होडमा माओवादी पनि छ । माओवादीकी पूर्वमन्त्री बीना मगर दुई दिनअघि आफ्नो दलबलसहित सुन्दरीजल पुगिन् । त्यहाँ प्रशोधन केन्द्रको अवलोकन गर्दै उनले ‘आफ्नो योगदानले मेलम्चीको पानी काठमाडौं आउन सम्भव भएको’ सन्देश दिन खोजिन् ।

    तर, यस्तो प्रकारले जस लिन खोज्नुको भने कुनै तुक छैन । कसको पालामा कति काम भएको थियो र कसको पालामा काम रोकिएको वा ढिलासुस्ती भएको थियो भनेर जनताले हिसाब गरेरै राखेका छन् । काम गर्नेलाई स्वतः जनताले जस दिन्छन्, मैले गरेको हो भनिरहनै पर्दैन ।

    लामो समयदेखि चर्चा भए पनि मेलम्ची आयोजनाको सुरुवात २०५८/५९ सालमा आएर भएको थियो । त्यसबेला ६ वर्षको लक्ष्य राखिएकोमा विभिन्न कारणले लक्ष्य टाढिँदै गयो । निर्माण अवधि लम्बिएसँगै लागत पनि चुलिँदै गयो । निर्माण अन्तिम चरणमा पुग्दै गर्दा दुई वर्षअघि यसमा अर्को संकट उत्पन्न भएको थियो, जब ठेकेदार आयोजना छोडेर भाग्यो । तत्कालीन खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी उद्घाटन गर्ने तयारी भइरहेको बताउँदै गर्दा ठेकेदार भागेपछि आयोजना फेरि लथांलिग बनेको थियो । त्यसपछि फेरि नयाँ ठेक्का प्रक्रियामा गएर आयोजनाले पूर्णता पाएको हो ।

    राजनीतिक नेतृत्वको अकर्मण्यताले मेलम्चीमा चाहिनेभन्दा बढि समय मात्रै खर्च भएन, लागत पनि उत्तिकै बढ्यो । लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न हुँदा पनि खुशी हुनुपर्ने अवस्था छ । आयाजनामा बढेको लागतको हिसाब गरेर कोही बसिरहेको छैन ।

    कृष्णप्रसाद भट्टराईले भाषण गरेजस्तो मेलम्चीको पानी सडकै पखाल्ने गरी वालछ्याल त नहोला, तर काकाकुल काठमाडौंको तिर्खा भने मेटाउन पक्कै पनि सहयोगी बन्ने छ । तर, त्योभन्दा महत्वपूर्ण भनेको सरकार र देशको शासन–व्यवस्थाप्रति गुम्दो जनविश्वासको पुनस्र्थापनमा यसले थोरै भए पनि मद्दत गर्न सक्छ । यही प्रकारले रुग्ण अवस्थामा रहेका अन्य आयोजनाहरुले पनि तीव्रता पाउने र देश विकासले गति लिने आशा बढेको छ ।

    मेलम्चीकै जस्तो अवस्थाबाट गुज्रिरहेका अन्य रुग्ण आयोजनाहरुमा पनि यस्तै आक्रामकताको खाँचो छ । तब मात्रै ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफले मूर्तता पाउन सक्छ ।

  • किसुनजीमाथिको अन्तर्घातः कोइरालाको डिजाइनमा यसरी हराइयो चुनाव

    किसुनजीमाथिको अन्तर्घातः कोइरालाको डिजाइनमा यसरी हराइयो चुनाव

    नेपालमा प्रजातन्त्रका निम्ति लामो लडाईं लडेका सन्त नेता कृष्णप्रसाद भट्टराई उर्फ किसुनजी दुईपटक देशको प्रधानमन्त्री बने । तर, जनताबाट निर्वाचित भएर संसदमा पुग्न भने उनले लामो समय कुर्नुपर्यो ।

    २०१५ सालको संसदीय चुनाव हारेका भट्टराई ४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि अन्तरिम सरकारको प्रधानमन्त्री भए । तर, २०४८ सालको संसदीय चुनावमा उनलाई तत्कालीन एमालेका महासचिव मदन भण्डारीले थोरै मत अन्तरमा हराए ।

    मदनको आकस्मिक निधनपछि २०५० सालमा भएको उपनिर्वाचनमा उनी पुनः उम्मेदवार भए । तर, मदनपत्नी विद्या भण्डारीले त्यसमा पनि उनलाई हराइन् । २०५६ सालमा आएर पहिलोपटक उनले चुनाव जितेका थिए ।

    २०५० सालमा काठमाडौं क्षेत्र नं. १ मा भएको उपनिर्वाचनले कांग्रेस राजनीतिमा ठूलो अर्थ राख्छ । पार्टीभित्रका मुख्य प्रतिस्पर्धी गिरिजाप्रसाद कोइरालाको अन्तर्घातले गर्दा किसुनजीले चुनाव हारेको विश्वास पुराना कांग्रेसजन गर्छन् । भट्टराईले चुनाव हारेपछि गिरिजाप्रसाद नेपाली राजनीतिमा एकछत्र शक्तिशाली बनेका थिए । त्यो चुनावमा पनि हारजितको अन्तर ठूलो थिएन । भट्टराईको स्मृति दिवसका अवसरमा आज हामी त्यो ‘अन्तर्घात’को कथा खोतल्दैछौं ।

    उपनिर्वाचन लड्ने निधो

    २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको शंकास्पद दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । भण्डारीको निधनपछि रिक्त रहेको सांसद पदका लागि २०५० साल माघ २५ गते उप–निर्वाचनको घोषणा भयो ।

    प्रारम्भमा किसुनजीले सार्वजनिक रूपमै आफू उपनिर्वाचन नलड्ने बताउँदै आएका थिए । यद्यपि उपनिर्वाचनमा उनी उम्मेदवार बन्नुपर्ने दबाब कांग्रेसभित्र बढ्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति पार्टी सभापति किसुनजी र सर्वमान्य नेता गणेशमान सिंह रुष्ट रहँदै आएका थिए । दुवै नेतासँग कोइरालाको आन्तरिक विवाद चुलिंदो थियो । यहीक्रममा आइपरेको उपनिर्वाचनको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइयो ।

    कांग्रेस केन्द्रीय समितिको बैठकबाट किसुनजी सर्वसम्मत उम्मेदवार त बने तर को–को आफैंलाई हराउन लागिपरेका छन् भनेर चिन्नै सकेनन् । सक्दो सहयोगको वाचा गरेका प्रधानमन्त्री कोइरालाले किसुनजीलाई मत मागेनन् । निर्वाचनको १५ दिनअघि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै उनले किसुनजीलाई पार्टीले उम्मेदवार बनाए पनि सरकारविरुद्ध आक्रमण गर्ने अधिकार नदिएको बताए ।

    बानेश्वरस्थित कांग्रेस कार्यालयमा भएको बैठकअघि किसुनजीले सिंह र कोइरालासँग छुट्टै वार्ता गरेका थिए । सोही वार्तापछि केन्द्रीय समितिको बैठकमा उनले आफू उपनिर्वाचन लड्ने घोषणा गरे । किसुनजीलाई सिंहले प्रस्ताव गरेका थिए भने कोइरालाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    अन्तर्घातको कारण

    २०४८ सालको निर्वाचनमा पराजित डा.रामशरण महतलाई प्रधानमन्त्री कोइरालाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । जब कि नेता सिंहले डा. दुर्गेशमान सिंहलाई योजना आयोगको उपाध्यक्षमा पुर्याउन चाहन्थे । तर, कोइरालाले आफ्नो चाहना पूरा नगरिदिएपछि सिंह उनीसँग असन्तुष्ट थिए । यसैबीच, कोइरालाले पार्टीमा सल्लाह नगरी भट्टराई निकट मानिने ६ जना मन्त्रीलाई बर्खास्त गरे । अनि किसुनजी पनि कोइरालासँग बिच्किए ।

    यसअघि सिंह र कोइरालाबीच विवाद बढ्दा पार्टीका कार्यवाहक सभापतिका नाताले किसुनजीले मध्यस्थता गर्दै आएका थिए । उपनिर्वाचन हुने भएपछि किसुनजीलाई सांसद बनाएर प्रधानमन्त्रीमा कोइरालालाई प्रतिस्थापित गर्ने योजना सिंहको थियो । कोइरालालाई पनि किसुनजीलाई सांसद बनाएर आफ्नो प्रधानमन्त्री पद असुरक्षित नबनाउन निकटस्थहरूले सुझाव दिए । सरकार सञ्चालनमा असहयोग महसूस गरेका कोइरालामा किसुनजीले निर्वाचन जिते प्रधानमन्त्रीको दावेदार हुनसक्ने त्रास पैदा भयो । यहीकारण बालुवाटारमा ‘किसुनजी जिताएर कांग्रेस हराउने कि कांग्रेस जिताएर किसुनजी हराउने ?’ भन्ने प्रश्न जन्मियो ।

    यसरी भयो अन्तर्घात

    कांग्रेस केन्द्रीय समितिको बैठकबाट किसुनजी सर्वसम्मत उम्मेदवार त बने तर को–को आफैंलाई हराउन लागिपरेका छन् भनेर चिन्नै सकेनन् । सक्दो सहयोगको वाचा गरेका प्रधानमन्त्री कोइरालाले किसुनजीलाई मत मागेनन् । निर्वाचनको १५ दिनअघि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै उनले किसुनजीलाई पार्टीले उम्मेदवार बनाए पनि सरकारविरुद्ध आक्रमण गर्ने अधिकार नदिएको बताए ।

    १७ मिनेट लामो सो वक्तव्यमा कोइरालाले ‘जबसम्म पार्टी सभापतिले आफू पनि सरकारको जस–अपजसको समान भागीदार हुने प्रतिबद्धता जाहेर गर्नुहुन्न तबसम्म सरकार प्रमुखको हैसियतले मैले कसरी उहाँको चुनाव प्रचारप्रसारमा भाग लिन मिल्छ ?’ भन्ने प्रश्न गरेका थिए । यति मात्र नभएर भट्टराईलाई चुनाव हराउन कोइरालाले गुप्त खेलसमेत खेले ।

    बालुवाटारको डिजाइनमा नेकपा एमालेका नेता प्रदीप नेपाल, नेपाली कांग्रेसका नेता मार्सलजुलुम शाक्य र पत्रकार देवप्रकाश त्रिपाठी सम्मिलित तीन सदस्यीय रणनीतिक समिति बन्यो । यो समितिको काम किसुनजीको निर्वाचन प्रचारप्रसारका सबै गतिविधिमाथि निगरानी गर्ने, प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने र आवश्यक कदम चाल्न सिफारिश गर्ने थियो । किसुनजी हराउन २२ बुँदे रणनीतिपत्र नै तयार भएको थियो ।

    किसुनजी र कोइरालाबीचको विवादमा निरपेक्ष रहने प्रयास तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले गरेका थिए । तर किसुनजी जिताउनसमेत देउवा खुलेर लागेनन् । गृहमन्त्रीप्रति विश्वस्त नभएपछि निर्वाचन अवधिभर प्रधानमन्त्री कोइरालाले प्रहरी प्रमुखसँग सोझो रिपोर्टिङ लिएका थिए । ‘उपनिर्वाचनको अवधिभर तत्कालीन प्रहरी प्रमुख मोतीलाल बोहराले गृहमन्त्री देउवालाई होइन सोझै प्रधानमन्त्री कोइरालालाई रिपोर्टिङ गर्थे’, जानकार बताउँछन् ।
    किसुनजी हराउन प्रहरी, प्रशासन, राजनीतिक संयन्त्र मात्रै होइन युवा परिचालनका नाममा पैसा चालन समेत भएको बताइन्छ ।

    ‘अनामनगरको घट्टेकुलोमा रहेको केदार गिरीको घरबाट उमेश गिरीमार्फत युवाहरूलाई पैसा बाँडिन्थ्यो’, एक प्रत्यक्षदर्शीले स्मरण गरे । त्यस्तो पैसा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले बढी प्राप्त गरेका थिए ।

    किसुनजीमाथि अन्तर्घात भएकै दिनदेखि कांग्रेसमा विभाजनको बीउ रोपियो । पार्टी विभाजन नहोस् भनेर निरन्तर सचेत रहेका किसुनजीले २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा सभापतिमा कोइरालालाई नै सहयोग गरे ।

    किसुनजीलाई उपनिर्वाचन हराउने खेल सामान्य थिएन । किसुनजीका हरेक गतिविधिको निगरानी भइरहेको थियो । जानकारहरूका अनुसार एमाले उम्मेदवार विद्या भण्डारीले मतदातासँग गर्ने प्रतिबद्धता तत्काल पूरा गर्न सरकारी संयन्त्र नै परिचालन गरिन्थे । तर किसुनजीले गरेका प्रतिबद्धता पूरा गर्न भने सरकारी संयन्त्र आलटाल गर्थे ।

    निर्वाचनकै दिन पनि कांग्रेसको गढ भनिएका बुथमा सुरक्षा परिचालन कडा पारिएको र कम्युनिष्टको गढ भएका बुथमा सुरक्षा व्यवस्था खुकुलो राखिएको बताइन्छ । यी सबै रणनीतिक काम तीन सदस्यीय रणनीतिक समितिले गथ्र्याे । मार्सलजुलुमले बालुवाटारलाई नियमित रिपोर्टिङ गर्थे । प्रधानमन्त्रीका तर्फबाट सुशील कोइराला पनि यो अभियानमा निकै सक्रिय रहे ।

    अन्ततः किसुनजी चुनावमा सानो अन्तरले हारे । त्यसो त उनको पराजयमा कोइरालाको अन्तर्घात मात्र नभएर एमाले उम्मेदवार भण्डारीप्रति जबर्जस्त रूपमा उर्लिएको सहानुभूतिले पनि काम गरेको थियो ।

    पत्थरको जवाफ गुलाफले

    अन्तर्घातका कारण आफूले निर्वाचन हारेको बारे किसुनजी जत्तिको प्रष्ट कोही थिएनन् । काठमाडौं कांग्रेसका अधिकांश नेता–कार्यकर्ताहरू अन्तर्घातीलाई कारबाही गर्नुपर्ने पक्षमा थिए । निर्वाचनको परिणाम आएकै दिन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ का तत्कालीन सभापति एवं उपनिर्वाचन प्रचार समितिका क्षेत्रीय संयोजक लोकेश ढकालको नेतृत्वमा अन्तर्घातीविरुद्ध जुलुस प्रदर्शन भयो । देशका विभिन्न ठाउँमा कोइरालाविरुद्ध नाराबाजी गरिए । एक समूहले पार्टी अफिसमा घुसेर कोइरालाको कार्यकक्षमा तोडफोड गरी पुत्लासमेत दहन गर्यो ।

    प्रारम्भमा किसुनजी अनुशासनको कारबाही नगरे पार्टीमा मनपरीतन्त्र हावी हुने भन्दै थिए । तर कारबाहीको डण्डा चलाउँदा पार्टीमा दीर्घकालसम्म विवाद बढ्ने र विभाजन बढ्नसक्ने निष्कर्षमा उनी पुगे । लोकेश ढकाल नेतृत्वको कांग्रेस क्षेत्रीय कार्यसमितिले प्रधानमन्त्री कोइरालासहित ३१ जनालाई अनुशासनको कारबाही गर्न माग गरेको थियो । कांग्रेस बैठकको बाहिर सयौं कार्यकर्ताले अन्तर्घातीलाई कारबाही गर्न धर्ना दिएका थिए । यद्यपि किसुनजीले अन्तर्घातको अपराध गर्नेहरूलाई विस्मृतिमा राखेर माफी दिएको घोषणा गरे । राजनीतिक जीवनमा आफूलाई हराउन पत्थर फ्याँक्नेलाई किसुनजीले गुलाफ दिए ।

    किसुनजीमाथि अन्तर्घात भएकै दिनदेखि कांग्रेसमा विभाजनको बीउ रोपियो । पार्टी विभाजन नहोस् भनेर निरन्तर सचेत रहेका किसुनजीले २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा सभापतिमा कोइरालालाई नै सहयोग गरे । आफूलाई अन्तर्घात गर्ने कोइरालालाई पार्टीको नेतृत्व नै सुम्पन सक्ने किसुनजीको आदर्श नै उनको वास्तविक पहिचान थियो ।

    अन्तर्घातले अझै बिझाउँछः ढकाल

    नेपाली कांग्रेसका नेता लोकेश ढकाल २०५० को उपनिर्वाचनमा कांग्रेसभित्र भएको अन्तर्घात अझै इमानदार कांग्रेसका लागि बिझाउने गरेको बताउँछन् ।

    ‘किसुनजी पार्टीको सभापति हुनुहुन्थ्यो । निर्वाचन हार्ने अर्को कुनै कारण थिएन । अन्तर्घातको यस्तो कुरुप खेल भयो कि कांग्रेसको अधोगति त्यही दिनबाट शुरू भयो’, ढकालको भनाइ छ ।

    सो उपनिर्वाचनमा किसुनजी उम्मेदवार नबनेको भए ढकाल स्वयं दावेदार थिए । पार्टी सभापति नै लड्ने भएपछि काठमाडौं १ को कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका ढकालले किसुनजीलाई जिताउन सकेको मिहिनेत गरे । यद्यपि पार्टीले सर्वसम्मत निर्णय गरे पनि किसुनजीलाई पर्याप्त सहयोग भएन ।

    ‘किसुनजी संसदमा आउने भएपछि पक्कै प्रधानमन्त्री ताक्छन् भन्ने गिरिजाबाबुलाई पर्यो । देशवासीको नाममा गिरिजाबाबुले दिएको १७ मिनेटको मन्तव्य नै अन्तर्घातको प्रमाण थियो’, ढकाल भन्छन् । तत्कालीन समयमा किसुनजीले निर्वाचन जिते कांग्रेस विभाजन हुने चर्चा सर्वत्र चलाइएको थियो । ‘औंलामा क्यान्सर लाग्यो भने औंला काट्न डराउनुहुन्न । किसुनजीले चुनाव जितेमा कांग्रेस फुट्छ भनेर हल्ला फैलाइएको थियो’, ढकाल सम्झन्छन् ।

    ढकालको बुझाइमा किसुनजीमाथिको अन्तर्घात नै कांग्रेस विभाजनको बीजारोपण थियो । ‘उपनिर्वाचनमा भएको अन्तर्घातले नै पार्टीभित्र छत्तिसे र चौहत्तरे भन्ने विभाजन कोर्‍यो । आन्तरिक विवादको यही क्रम बढेर प्रकारान्तरले कांग्रेस नै विभाजित हुनपुग्यो’, ढकालको भनाइ छ ।

    दोस्रोपटक संसदभित्र अन्तर्घात

    उपनिर्वाचनको प्रसंग पुरानो भइसकेको थियो । किसुनजी समेतको सहयोगमा गिरिजाप्रसाद कांग्रेसको सभापति बनिसकेका थिए । २०५६ सालको आम निर्वाचनमा कांग्रेसले पार्टीका बहुमत आए किसुनजीलाई प्रधानमन्त्री बनाउने घोषणा गर्यो ।

    किसुनजीको नाममा मत मागेको कांग्रेसले बहुमत पनि ल्यायो । २०५६ जेठमा किसुनजी दोस्रो पटक मुलुकको प्रधानमन्त्री भए । माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै थियो । समाधानका लागि सरकारको पहल जारी थियो । किसुनजीलाई अगाडि सारेर बहुमत ल्याए पनि कांग्रेसभित्रबाटै किसुनजीलाई निरन्तर असहयोग रह्यो ।

    सत्ता संचालनमा निरन्तर बाधा व्यहोरेका किसुनजी विरुद्ध कांग्रेसकै ६९ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए । प्रधानमन्त्रीबाट राजीनामा नदिई संसद भंग गरेर निर्वाचन घोषणा गर्नसक्ने विकल्प किसुनजीका सामु नभएको होइन । तर पार्टी विभाजन हुने र मुलुकले निकास पनि नपाउने खतरा औंल्याउँदै २०५६ साल चैत ३ गते संसदमा भावुक मन्तव्य दिएर किसुनजीले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

    समयक्रममा कांग्रेस विभाजित भयो । संसद पुनःस्थापनापछि संविधानसभा निर्वाचनअघि कांग्रेस एक पनि भयो । कांग्रेसको एकतासभामा पुगेर आफू जीवनकै सबैभन्दा खुशी भएको बताएका किसुनजीले भोलिपल्टै पत्र लेखेर कांग्रेस त्यागेको घोषणा गरे । खासगरी संवैधानिक राजतन्त्रको एजेण्डा छोड्ने कांग्रेसको नीतिमा बाँचुञ्जेल किसुनजी सहमत रहेनन् ।

  • प्रधानमन्त्रीका रुपमा किसुनजीको त्यो अन्तिम भाषण

    प्रधानमन्त्रीका रुपमा किसुनजीको त्यो अन्तिम भाषण

    नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा किसुनजीको उपनामले प्रसिद्ध छन् । निष्ठावान्, त्यागी र इमानदार राजनीतिज्ञको छवि बनाएका भट्टराईले आफ्नो राजनीतिक जीवनकालमा अनेकौं उतारचढाव व्यहोरे । २०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गर्दै भट्टराईले मुलुकलाई प्रजातान्त्रिक संविधान दिए । संक्रमणकालबाट मुलुकलाई मुक्त गर्दै १३ महिनामै संसदीय निर्वाचन गराएर सत्ता हस्तान्तरण गरे ।

    २०४८ मा आफ्नै नेतृत्वमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट भट्टराई नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग पराजित रहे । भण्डारीको निधनपछि २०५० साल माघमा सम्पन्न उपनिर्वाचनमा मदनपत्नी विद्यादेवी भण्डारी (हाल राष्ट्रपति) सँग पनि भट्टराई पराजित रहे ।

    २०५६ सालको आम निर्वाचनमा कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा किसुनजीलाई अगाडि सारेर बहुमत त ल्यायो तर १० महिनामै किसुनजी राजीनामा दिन बाध्य पारिए । आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदको रोष्टममा उभिएर प्रधानमन्त्रीका रुपमा २०५६ साल चैत ३ गते किसुनजीले दिएको मन्तव्य नेपाली राजनीतिमा निकै चर्चित छ । प्रस्तुत छ किसुनजीले राजीनामा घोषणा गर्दै दिएको मन्तव्य जस्ताको तस्तै –

    सभामुख महोदय,
    यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक तन्त्रले समग्र नेपाललाई प्रभाव पारेको छ । मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीं बाहिर छैन- हामीभित्र नै छ । यसमा पद्धतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ । प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन । तर, हाम्रो राजनीतिका केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुन जान्छ र आजको हाम्रो संकट पनि त्यही नै हो ।

    हाम्रो प्रजातन्त्रका सञ्चालकहरू भनेका हामी नै हौं । त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकांक्षा छ भने यस संकटका कारक पनि हामी नै हुन्छौं । पद्धति राम्रो छ तर त्यस अनरूप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ । अहिले प्रधानमन्त्रीका रूपमा मेरो नेतृत्वमाथि संकट आइपरेकाले त्यसबाट बच्न म यी कुराहरू गरिरहेको छैन । किनभने, मेरो राजनीतिको ध्येय प्रधानमन्त्रीको कुर्सीमा बस्नु थिएन । मेरो ध्येय प्रजातन्त्रको निम्ति र समृद्ध समुन्नत नेपालको निर्माण थियो ।

    संयोग, परिस्थिति र नेपाली जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ । त्यसमा अन्तरिमकालको प्रधानमन्त्री बन्नुमा सर्वोच्च नेता गणेशमानजीको सदिच्छा पनि समावेश थियो र त्यसपटक मैले आफूमाथि आएको जिम्मेवारी पूरा निष्ठासाथ सम्पन्न गरेको थिएँ ।

    यसपटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वयंले आमनिर्वाचन २०५६ पूर्व नै भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेको कुरा सर्वविदित छ । सम्भवतः यही कारणले पनि हाम्रो पार्टी नेपाली कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्न सम्भव भएको हो । यद्यपि, म यस कुरामा विशेष बल गर्न चाहन्नँ । तापनि मेरो प्रधानमन्त्रित्वमा जनताको प्रत्यक्ष अभिमतसमेत अभिव्यक्त भएको छ । यसर्थ मेरो प्रधानमन्त्रित्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको हुँदा, म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु ।

    चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्नो ठाउँमा महत्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरासामु उपस्थित भएकोले म आज निर्णायक उत्तर खोजिरहेको छु ।

    मेरो आफ्नै पार्टीका सांसदहरूसित मेरो नाममा मागिएको मत पनि छ । उहाँहरूलाई चुन्ने जनताको मतमा मेरो पनि अंश छ । नेपाली कांग्रेसले, नेपाली कांग्रेसका सभापतिले, नेता र कांग्रेसका तमाम सदस्यहरूले जनतासमक्ष र देशका समक्ष गरेका वाचाहरूको स्मरण गर्ने आग्रह गरेको हुँ । किनभने, भोलि म हट्नासाथ त्यसको जवाफ नेपाली कांग्रेसले दिनैपर्ने हुन्छ ।

    मेरो ठाउँमा प्रधानमन्त्री हुने व्यक्ति पनि यस प्रहारबाट बच्न सक्नेछैन र म स्वयं पनि त्यो प्रश्नको परिधिभित्रै हुनेछु । यसर्थ, म यी विचारहरू सम्मानित सदनसमक्ष राखिरहेको छु । नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सदनको चर्चाको विषय बनाउने मेरो ध्येय किमार्थ होइन । तर, मेरो आग्रह के हो भने प्रधानमन्त्री बन्न म जस्तो पूर्वघोषित व्यक्तिले नेपाली जनताका प्रतिनिधिहरूबाट बनेको संसद्समक्ष आफ्ना विचार राख्न पाउनुपर्छ । अहिले यस विषयमा यहाँबाट निर्णय हुँदैन, त्यो मलाई थाहा छ- तर, मेरो जिज्ञासा राष्ट्रसमक्ष यथानुरूप पुगोस् र यसले राष्ट्रको चेतनालाई सम्बोधन गरोस्, यस्तो मेरो इच्छा छ ।

    यावत् प्रतिकूल परिस्थिति बाबजुद हाम्रो सरकारले देशका प्राथमिकताका रूपमा रहेका कार्यहरूलाई गति दिने प्रयत्न गरिरहेको छ । मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि भ्रष्टाचार निवारण गर्ने दिशामा सरकार गम्भीर हुनाका साथै विधि व्यवस्थाका काम गर्ने उपायहरू अवलम्बन गरिंदैछन् । मैले भ्रष्टाचार निर्मूल गर्ने संकल्प गरेको हुँ । पार्टी संस्थापन पक्षले यसका पक्षमा जनमत बनाउने काम गर्नु स्वाभाविक हुन्थ्यो किनभने मैले त ढिलो-चाँडो अवकाश लिनैपर्थ्याे । त्यसले मेरा उत्तराधिकारीलाई स्वच्छ शासन दिन सजिलो हुन्थ्यो ।

    झण्डै १० महिना अगाडि म प्रधानमन्त्रीको पदमा नियुक्त हुँदा यो मुलुक अस्थिर शासन र सत्ताको फोहोरी खेलबाट उत्पन्न विकृति र विसंगतिहरूको पीडाले छटपटिइरहेको थियो । त्यसबखत नेपाली कांग्रेसलाई बहुमत दिलाएर नेपाली जनताले मुलुकलाई स्थिरता र सुशासन प्रदान गर्ने अभिमत प्रकट गरेको थियो । नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा प्राप्त गरेको त्यो जनादेशको पालना हामीले कति उत्तरदायित्वपूर्ण ढंगले गर्दै आयौं, आफूले आफैंसँग प्रश्न गर्नुपर्ने भएको छ ।

    म प्रधानमन्त्री बनेको दुई–तीन हप्ता नबित्दैदेखि मेरो खिलाफमा सुरु भएको कचमच आज साँच्ची नै यो मुलुकको राजनीतिक स्थिरता उपर प्रश्नचिह्नका रूपमा र सुशासनको दिशामा एउटा अड्चनका रूपमा तेर्सिएको मैले अनुभव गरेको छु । किनभने जब-जब सरकारले यो देशको प्रगतिको बाधक भ्रष्टाचार र कमिसनतन्त्रमाथि प्रहार गर्न सुरु गरेको हुन्छ, जब एयरपोर्टदेखिका तस्करहरू कमाउन नपाएर अत्तालिएका हुन्छन्, जब सरकार निमुखा जनतालाई न्याय दिने कार्यक्रमसाथ सुशासनको दिशामा अगाडि बढेको हुन्छ, जब प्रतिपक्षका साथ सौहार्दपूर्ण छलफल गरेर ‘यो देश सबैको साझा हो, त्यसैले सबै मिलेर बेथिति हटाऊँ, पारदर्शिता ल्याऊँ अनि हिंसा र आतंक रोकौंं’ भनेर नयाँ–नयाँ पहल सुरु भएका हुन्छन्, तब-तब यहाँ अस्थिरताका ज्वारभाटा किन उठ्ने गर्छन् ? मैले बुझ्न सकेको छैन ।

    देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन हैन ? वास्तविक प्रजातन्त्र कायम नभएसम्म, हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन ।

    यो मुलुकमा २०५२ सालदेखि सबैको चिन्ताको विषय बनेको कथित माओवादी जनयुद्ध र हिंसाको खेल खेल्नेहरू वार्ताको टेबुलमा आएर समस्याको टुंगो लगाउन तयार भई जुन बेला प्रतिनिधि खटाइरहेका हुन्छन्, त्यही मौका पारेर अविश्वासको तानाबाना किन बुनिइरहेको हुन्छ ? आर्थिक वृद्धिदर, निर्यात व्यापार, मूल्य स्थिति, विदेशी मुद्राको सञ्चितिजस्ता आर्थिक परिसूचकहरूमा उत्साहजनक उपलब्धि विगत १० महिनामा हासिल भएका छन् । मानवअधिकार आयोगको स्थापनाको तयारीमा छौं । यसबीच वर्षौंदेखि नेपालका लागि टाउको दुखाई बनिरहेको भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल–भूटान वार्तामा धेरै प्रगति भएको छ ।

    संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगको अध्यक्षमा नेपाल निर्वाचित हुन लागेको बेला, नर्वेजियन दूतावासको स्थापना तथा प्रजातान्त्रिक नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक फ्रान्स भ्रमणको आमन्त्रण, विगत दश महिनाकै अवधिमा नेपालको प्रधानमन्त्रीको उपलब्धिपूर्ण बेलायत भ्रमण, खासगरी गोर्खा सैनिकहरूको पेन्सनमा भएको वृद्धि तथा निकट भविष्यमा हुन गइरहेको बेलायतका विदेशमन्त्रीको नेपाल भ्रमण, काठमाडौंमा साफ गेमको अभूतपूर्व सफलता, वातावरणमा आएको सुधार, मूल्यवृद्धिमा भएको नियन्त्रण आदि प्रसंगहरूले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्धनमा उपलब्धि भइरहेका बेला सत्ता परिवर्तनको हतार देखापर्नुले के कुरातर्फ संकेत गर्छ ?

    देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विर्सजन र पारदर्शिताको प्रदर्शन हैन ? हामी नेपालीहरूले पचासौं वर्षदेखि राजनीतिलाई एउटा मर्यादाको सीमामा उभ्याउन र मूल्य एवं मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौं । वास्तविक प्रजातन्त्र कायम नभएसम्म, हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन । यो मेरो अटल विश्वास हो । यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु ।

    एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक पटक अनेक किसिमका घात–प्रतिघात र अन्तर्घात बेहोर्नुपरेको छ । तर पनि म विचलित छैन । भविष्यका सन्ततिहरूलाई सन्मार्गतर्फ उन्मुख गराउने आफ्नो कर्तव्यको पालन म निरन्तर गरिरहन चाहन्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो । यदि आस्था र निष्ठाको राजनीति, सिद्धान्त र आदर्शमा आधारित राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नुपर्छ, यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी नेपाली कांग्रेस लगायत सबै राजनीतिक दलका साथीहरूलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ कि हाम्रो मिसन कतै हराउने त हैन ? हाम्रो पहिचान नै विलुप्त हुने त हैन ?

    मैले अब यो राष्ट्रको नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भनेर प्रस्तावित गरेको छु । त्यो यस निमित्त कि मुलुकले अब साँच्चिकै नयाँ मोड लिन सकोस् । यो राष्ट्रका दीन जनताले राहतको सास फेर्न पाऊन् । सौभाग्यले हामीसँग केही त्यस्ता मानिसहरूको एउटा पुस्ता खडा छ, जसले प्रजातन्त्रको मूल्यमा कहिल्यै कुनै सम्झौता गर्न जानेन, जसले कहिल्यै प्रजातन्त्रको विकल्प खोजेर भौतारिंदै हिंडेन । त्यो पुस्ताले आफ्नो सारा जवानीलाई जेल, नेल र प्रवासका अँध्यारा कुनाहरूमा सहज समर्पण गरेको मात्र हैन, उत्तरदायित्व पाएका बखत जस्तै जटिल र कठिन खुड्किलाहरूलाई पनि कुशलतापूर्वक पार गरेर आफ्नो इमानदारी, निष्ठा र क्षमताको प्रदर्शन गरिसकेको छ ।

    यदि यो प्रजातान्त्रिक आन्दोलनको कुनै भविष्य छ भने त्यही पुस्ताको हातमा त्यो भविष्य सुरक्षित छ । हामी यहाँ कैयौं व्यक्तिलाई किटेर देखाउन सक्छौं जसलाई कसैले पनि औंला ठड्याउन सकेका छैनन् । इतिहासको परीक्षाबाट खरो उत्रिसकेको त्यो पंक्तिलाई पनि हल्का ढंगले प्रस्तुत गर्ने र अवमूल्यन गर्ने जुन खेल र प्रचारबाजी यहाँ चलिरहेको छ, त्यो अरु केही नभएर नेपाली कांग्रेसलाई नेतृत्वको संकटमा पुर्याएर प्रजातन्त्रलाई नै कमजोर तुल्याउने एउटा षड्यन्त्र हो भनेर म स्पष्ट पार्न चाहन्छु ।

    मेरो ध्येय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होइन, परिकल्पना पद्धतिको दिशा बदल्ने हो । त्यसका लागि म जुन र जति मूल्य चुकाउनुपरे पनि चुकाउँछु । त्यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक अभ्यासमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकालाई निर्बाध र अविच्छिन्न राख्न म अझै पनि जति त्यागको आवश्यकता छ, त्यति त्याग गर्न तयार र सक्रिय रहनेछु । पार्टी एकताका लागि विगतमा मैले धेरैपटक प्रशस्तै अपमान र तिक्तता सहेको छु । तर, मेरो निवेदन छ- मेरो निष्ठाका विरुद्ध प्रयोग भइरहेको दुष्प्रचारसँग असहमति जनाउनु मेरो कर्तव्य हो भन्ने ठानेर आफ्ना कुरा राख्न म आज सदनमा उभिएको छु । यसोभन्दा मेरो कसैकाप्रति दुर्भावना छैन । यसर्थ मेरो यस सम्बोधनलाई अन्यथा नलिइदिन म विनम्रतापूर्वक आग्रह गर्छु ।

    मेरो आन्तरिक र हार्दिक इच्छा के छ भने हामी हाम्रो राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासाथ कर्तव्यनिष्ठ भई काम गरौं । त्यसका लागि यदि सरकारको नेतृत्व परिवर्तनको आवश्यकता छ भने म हरहमेशा तयार छु । मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य पद्धतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ म त्यति गर्न अझै तयार छु । नेपालको गौरव र प्रजातन्त्रको संवर्धन मेरो ध्येय हो, उद्देश्य हो र एकनिष्ठ विचार हो । मलाई विश्वास छ– नयाँ समयको चुनौती थेग्न सक्ने पुस्ता तयार भइसकेको छ र त्यो पुस्ताको हातमा देशको नेतृत्व सुम्पने मेरो हार्दिक इच्छा पूरा हुनेछ । मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैनन् । तर, पनि मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ । यसका साथै प्रजातन्त्र प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ । त्यो सपना नयाँ पुस्ताले पूरा गर्न सक्छ भन्ने मलाई पूरा विश्वास छ ।

    सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ । यस अवधिमा संसद्का सभामुख-अध्यक्ष र विपक्षी दलका नेताहरू र मेरा आ-आफ्ना दलका सबै साथीहरू र समस्त नेपाली जनता लगायत सबै माननीय सदस्यहरूले मप्रति प्रकट गर्नुभएको सहृदय र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु र म आफ्नो पदबाट राजीनामा दिन अहिले नै श्री ५ महाराजाधिराजसमक्ष प्रस्तुत हुन गइरहेको कुरा माननीय सदस्यहरूलाई यही रोस्ट्रमबाट जानकारी गराउँछु ।

     

  • कृष्णप्रसाद भट्टराईको दशौं स्मृति दिवस आज

    कृष्णप्रसाद भट्टराईको दशौं स्मृति दिवस आज

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको दशौं स्मृति दिवस आज विविध कार्यक्रम गरि मनाइँदैछ । सन्त नेता भट्टराईको विसं २०६७ साल फागुन २० गते निधन भएको थियो ।

    विसं १९८१ मा जन्मिएका भट्टराईले राणाशाही र पञ्चायत विरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । करिव २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत भएका थिए ।

    विसं २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिएका थिए । ०५६ सालको आम निर्वाचनपछि पनि उनी प्रधानमन्त्री भएका थिए ।

    २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुन् । सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किएका थिए । जसकै कारण आज पनि उनलाई सन्त र आदर्श नेताको रुपमा लिने गरिएको छ । भट्टराई नेपाली कांग्रेसभित्र किसुनजी नामबाट पनि परिचित थिए ।