Tag: काेराेना खाेप

  • दसैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्छौं: स्वास्थ्य राज्यमन्त्री

    दसैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्छौं: स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

    आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।

    यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने
    उनले जानकारी दिए । फागुनसम्ममा क्रमश ः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाइ छ ।

    उनले भने,‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । र क्रमिक रुपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहान्छु ।’

    राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

    सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाई छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए ।

    एक कार्यक्रमकाबीच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।

    फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ ।

     

  • कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ?

    कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ?

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपका लागि सरकारले निकै ठूलो धनराशी खर्च गरिरहेको छ । विभिन्न देशबाट खोप गरिद गरेर नागरिकलाई निशूल्क वितरण गरिरहेको सरकारले खाेपको प्रभावकारीताका सम्वन्धमा भने अहिलेसम्म कुनै अध्ययन गरेको छैन ।

    कोरोनाविरुद्धको खोपले संक्रमणको सम्भावनालाई शून्यमा झार्दैन । यद्यपि, खोप लगाएका व्यक्तिहरुमा गम्भीर लक्षण नदेखिने वा मृत्युदर कम हुने विश्वास गरिन्छ । नेपालका सन्दर्भमा अहिलेसम्म कोरोनाको दुवै खोप लगाएका र खोप नलगाएकाहरुको तुलनात्मक विश्लेषण कुनै निकायबाट भएको पाइँदैन ।

    भदौ ५ गते चर्चित हास्यकलाकार शम्भुराज थापा ‘बखते’को कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । उनले कोरोनाविरुद्धको कुनै खोप लगाएका थिएनन् । एक महिनाअघि कोरोना पोजिटिभ देखिएका थापाको उपचारका क्रममा निधन भएको थियो । कोरोनाविरुद्धको खोप लगाएको भए ज्यान बाँच्थ्यो कि भनेर परिवारजनमा थकथकी भयो ।

    बुटवल उपमहानगरपालिकाका बुटवल-१८ का ७२ वर्षीय वडा अध्यक्ष हुमनाथ आचार्यको मृत्यु भयो । उनीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनले पनि कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।

    चिकित्सकहरुले पनि भनिरहेका छन्– कोरोनाविरुद्धको खोप नलगाएकाहरुमा प्रतिरोधी क्षमता हुन्छ, कोरोना संक्रमणबाट हुने जोखिम बढी हुन्छ । यद्यपि, खोप लगाएकाहरुलाई जोखिमै नहुने भने होइन ।

    गत भदौ ३ गते राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यु भयो । थप उपचारका लागि भारत लैजानुअघि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको कुनै लक्षण नदेखिएका उनले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका थिए । उनी पहिल्यैदेखि उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

    यी तीन उदाहरणहरुले कोरोनाविरुद्धको खोप नलगाउने मात्र नभएर एक डोज वा दुई डोज खोप लगाउनेहरु पनि पूर्ण सुरक्षित नरहेको सन्देश दिन्छन् । चिकित्सकहरुले पनि भनिरहेका छन्– कोरोनाविरुद्धको खोप नलगाएकाहरुमा प्रतिरोधी क्षमता हुन्छ, कोरोना संक्रमणबाट हुने जोखिम बढी हुन्छ । यद्यपि, खोप लगाएकाहरुलाई जोखिमै नहुने भने होइन ।

    खोप नलगाउने बिरामीमा कडा लक्षण

    चिकित्सकका अनुसार पछिल्लो समय एक डोज पनि खोप नलगाएका संक्रमितको मृत्युदर बढी छ । आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेका अधिकांश संक्रमितले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको अस्पतालहरु जनाएका छन् ।

    सशस्त्र प्रहरी अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविन नेपालले अस्पतालमा कोरानाका बिरामी घटेको बताए । ‘भर्ना दर घटेको छ, अस्पतालको आईसीयू, भेन्टिलेटरमा भर्ना भएकामध्ये खोप नलगाएकाहरु धेरै छन् ।’ उनका अनुसार मृत्यु हुनेमा पनि खोप नलगाउनेहरु नै धेरै छन् ।

    वीर अस्पतालमा पनि कोभिडका बिरामीको चाप घटबढ भइरहेको छ । बीचमा केही समय जटिल खालका बिरामीको संख्या बढेको थियो । अहिले केही घटेको वीर अस्पतालका कोभिड फोकल पर्सन डा. उमेश बोगटीले बताए । उनले भने, ‘अहिले पनि आईसीयू चाहिने विरामीहरु आइराखेकै हुन्छन् । बिरामीको चाप कम चाहिँ भएको छ ।’ अहिले आईसीयू चाहिने बिरामीमध्ये धेरैले खोप नलगाएको पाइएको उनी बताउँछन् ।

    ‘खोप नलगाएकाहरुलाई बढी गाह्रो हुने, उपचार पनि जटिल हुने र बाँच्ने सम्भावना पनि न्यून हुन्छ’, उनले भने, ‘खोप लगाएकामध्ये मृत्यु हुनेमा दीर्घरोगी धेरै छन् ।’

    महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अहिले कोरोनाका बिरामी सय जनाभन्दा कम छन् । पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामी घटेको अस्पतालका कोभिड फोकलपर्सन रामविक्रम अधिकारीले बताए । ‘भर्ना भएकामा पनि खोप नलगाएका बिरामी अवस्था जटिल छ’, उनले भने, ‘दीर्घरोगी र वृद्धवृद्धाको अवस्था बढी जटिल हुने गरेको छ ।’ खोप लगाएकाहरु पनि ढुक्क भएर बस्न चाहिँ नहुने उनको भनाइ छ ।

    नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ देखिएसँगै गत जेठमा एकैदिन २४६ संक्रमितको मृत्यु भएको थियो भने एकैदिन करिब १० हजारमा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अस्पतालमा बेड र अक्सिजनसमेत पाउन मुस्किल थियो ।

    शिक्षण अस्तावलमा कुनैबेला भेटिन्लेटर पाउनै मुस्किल थियो । अहिले यहाँ भेन्टिलेटरमा ८ जना बिरामी छन् ।

    यीसँगै टेुक, नर्भिक, ग्राण्डी, पाटनलगायत अस्पतालमा पनि कोरोनाका बिरामीको चाप घटेको छ । अस्पतालमा भर्ना भएकाहरु अधिकांश खोप नलगाएका छन् ।

    घट्दै कोरोना संक्रमणदर

    पछिल्लो केहीदिन यता कोरोना संक्रमणदर घटेको छ । नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ देखिएसँगै गत जेठमा एकैदिन २४६ संक्रमितको मृत्यु भएको थियो भने एकैदिन करिब १० हजारमा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अस्पतालमा बेड र अक्सिजनसमेत पाउन मुस्किल थियो । गम्भीर खालका बिरामीले आइसीयू, भेन्टिलेटर र अक्सिजन नपाएर ज्यान गुमाउनु परेको थियो ।

    हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४८ लाख ९५ हजार १५२ छ । त्यस्तै ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो डोज खोप लगाएका छन् । अझै ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनाले खोप लगाएका छैनन् ।

    संक्रमणदर कम भएसँगै अस्पतालमा बिरामीको चाप घटेको छ । जनस्वास्थ्यविज्ञहरुका अनुसार खोपको प्रभावकारिताका कारण गम्भीर प्रकारका बिरामी घटेका हुन् । तर अझै जोखिम कम भने भइनसकेको उनीहरुले बताएका छन् ।

    छिटै कोभिडको तेस्रो वेभ आउनसक्ने विज्ञको बुझाइ छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले अर्को नयाँ भाइरस आएको र उक्त संक्रमण भए खोपले पनि काम नगर्ने चेतावनी दिइसकेको छ ।

    कतिले लगाए खोप ?

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म नेपालमा एक करोड ९२ हजार १६४ ले कारोनाविरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये पहिलो डोज लगाउने १७ प्रतिशत छन् ।

    हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४८ लाख ९५ हजार १५२ छ । त्यस्तै ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो डोज खोप लगाएका छन् । अझै ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनाले खोप लगाएका छैनन् ।

    १३ लाख ६३ हजार ६१८ जनाले अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको पूर्ण खोप पाएका छन् ।

    यस्तै चीनबाट खरिद गरिएको र अनुदानमा प्राप्त भएको भेरोसेलको खोपमध्ये २० लाख ७० हजार ८५९ ले दोस्रो खोप लगाइसकेका छन् भने ३२ लाख ८९ हजार ९८८ ले खोपको दोस्रो मात्रा लगाउन बाँकी छन् ।

    यस्तै सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड, जापनिज अक्ट्राजेनेका र स्वीडिस अक्ट्राजेनेकाको दोस्रो डोज लगाउने १२ लाख ३२ हजार ८५१ छन् । २१ लाख ३४ हजार ८४८ जनाले पहिलो डोज मात्रै लगाएका छन् ।

    अस्पतालमा चाप कम

    मन्त्रालयका अनुसार अहिले ५२३ जना कोभिडका बिरामी आईसीयूमा छन् भने १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा आइसीयूमा ८० र भेन्टिलेटरमा ४२ बिरामी उपचाररत छन् । यस्तै प्रदेश २ का अस्पतालमा आईसीयूमा दुई जना उपचाररत छन् भने भेन्टिलेटर शून्य छ ।

    यस्तै बागमती प्रदेशमा आईसीयूमा २९१ र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९० जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

    लुम्बिनी प्रदेशमा ४५ जना आईसीयू र ९ जना भेन्टिलेटरमा छन् । यस्तै कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने ३ जना भेन्टिलेटरमा छन् । सुदुरपश्चिममा भने ८ जनाको आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौै उपत्यकाका अस्पतालमा कोभिडका जटिल बिरामी भर्ना हुने क्रम घट्दो छ । सरकारले तोकेको उपत्यकाका कोभिड अस्पतालका जनेरल बेडमा २५०, एचडीयूमा २५१, आईसीयूमा १५०, रु भेन्टिलेटरमा ७२ जना उपचाररत छन् ।

    कहाँबाट कति आयो खोप ?

    हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आपूर्ति भइसकेको छ । सुरुमा भारतले अनुदानमा दिएको कोभिसिल्डको १० डोज खोप आएको थियो । त्यसपछि नेपाललले खरिद गरेर कोभिसिल्डको १० लाख खोप ल्याएको थियो ।

    साथै नेपाली सेनालाई दिएको १ लाख डोज खोप गरी भारतबाट २१ लाख डोज खोप आपूर्ति भएको छ । भारतबाट खरिद गरेको १० लाख डोज खोप अझै आउन बाँकी छ ।

    त्यस्तै चीनबाट खरिद गरेर ४० लाख डोज भेरोसिल खोप ल्याइएको छ । त्यस्तै चीनले अनुदानमा दिएको ४० लाखमध्ये १८ लाख डोज खोप नेपाल आइसकेको छ । अनुदानको १६ लाख डोज खोप भने आउन बाँकी छ ।

    यसैगरी भुटानबाट ३ लाख ४८ हजार डोज खोप आएको छ । जापानबाट अनुदानको १५ लाख डोज अक्स्ट्राजेनका खोप नेपाल आएको छ । अमेरिकाबाट जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज आएको छ । र बेलायतबाट एक लाख डोज आएको मन्त्रालयले जनाएको छ ।

    चीनबाट खरिद गरेको ४४ लाख र अनुदानको १६ लाख खोप आउन बाँकी रहेको छ । मोर्डना फाइजर खोपको खरिद प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।

    खोपको प्रभावकारिताबारे स्पष्ट भइसकेको छैनः स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार नेपालमा कोरोनाविरुद्धको खोपको प्रभावकारिताबारे स्पष्ट भइसकेको छैन । उनले भने, ‘खोपको प्रभावकारिताबारे स्पष्ट विवरण आएको छैन ।’

    खोप लगाएका कोरोना संक्रमित पनि मृत्यु भएको तर मृत्युको जोखिम कम भएको उनको भनाइ छ ।

    अहिले कोरोना संक्रमणदर स्थिर रहेको मन्त्रालयले जनाएको छ । ‘संक्रमणको जोखिम चाहिँ छ । खोप लगाए पनि ढुक्क हुने स्थिति छैन’, पौडेल भन्छन्, ‘अहिले संक्रमणदर १५ प्रतिशतसम्म घटेको छ ।’

    उनले महामारी विभिन्न वेभमा आइराख्ने भन्दै सचेतता अपनाउन सुझाव दिएका छन् ।

  • जापानमा मोडेर्ना खोप लगाउन रोक, तोकिएभन्दा फरक तत्व मिसिएको दाबी

    जापानमा मोडेर्ना खोप लगाउन रोक, तोकिएभन्दा फरक तत्व मिसिएको दाबी

    टोकियो । जापानको केन्द्रीय सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको छ ।

    जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारलाई निर्देशन दिएको हो ।

    मोडेर्ना खोपको जापान वितरक ताकेदा फार्मेसिटिकल कम्पनीका अनुसार उक्त ५ वटा प्रान्तको विभिन्न ठाउँमा वितरण भएको १६ लाख ३० हजार डोज खोप तत्काललाई नलगाउन निर्देशन दिइएको छ ।

    जापानको आईची, गिफु,टोकियो, इबाराकी र साइतामा प्रान्तहरुमा वितरण भइरहेका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिसिएको जानकारी स्वास्थ्य मन्त्रालयले बिहीवार बिहान जानकारी गराएको थियो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै लटमा एउटै कम्पनी (स्पेन)मा उत्पादन गरिएको उत्पादन गरिएका १६ लाख ३० हजार डोज खोप ३ वटा लट नम्बर सहित जापान आइपुगेको थियो । ३००४६६७, ३००४७३४ र ३००४९५६ लट नम्बरका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिश्रण भएको बताइएको छ ।

    सबै खोपहरुमा मिसावट हो या केहि बोत्तलमा मात्र हो भन्नेबारी अनुसन्धान भइरहेको जनाइको छ । हालसम्म यो खोप लगाएका व्यक्तिहरुले स्वास्थ्य खरावी आएको घटना भने सार्वजनिक भएको छैन ।

  • १८ वर्षमाथिका विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर आजदेखि खोप लगाउन पाउने

    १८ वर्षमाथिका विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर आजदेखि खोप लगाउन पाउने

    काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर कोभिड(१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर पहिलो डोज लगाउन पाउनेछन् । ४० वर्षमाथिका नागरिकलाई पनि आजदेखि खोपको पहिलो मात्रा दिइने जनाइएको छ ।

    काठमाडौं महानगरपालिकाका ३२ वडा र पालिकाले तोकेको थप खोप केन्द्र तोकिएको छ । अन्य नगरपालिकाको हकमा पनि सोही पालिकाले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ।

    साथै, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लगाउन पाइनेछ ।

  • कर्णालीमा चार प्रतिशतले पाए पूर्ण खोप

    कर्णालीमा चार प्रतिशतले पाए पूर्ण खोप

    सुर्खेत । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ४ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको तथ्यांक सार्वजनिक गरेको छ ।

    प्रदेशका १० जिल्लामा गरी अहिलेसम्म ४५ हजार ३ सय ८६ जनालाई कोरोना खोपको पूर्ण मात्रा दिइएको निर्देशनालयले जनाएको छ ।
    कर्णालीमा १८ बर्षभन्दा माथीका १० लाख ९४ हजारलाई खोप लगाउनुपर्ने छ । अन्य प्रदेशको तुलनामा कोरोना संक्रमित र जोखिम कम रहेकाले पनि खोप कार्यक्रमलाई तीव्रता दिएको देखिँदैन ।

    निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीका अनुसार हालसम्म पूर्ण मात्राको खोप लगाउने ४ प्रतिशत र पहिलो मात्राको खोप लगाउने २५ प्रतिशत रहेको बताए । अहिलेसम्म २ लाख ७१ हजार ४ जनाले खोपको पहिलो मात्रा पाएका छन् ।

    पाँच महिना अघि कोभिसिल्डको पहिलो मात्रामा खोप लगाएका ८० हजारले अस्ट्रेजेनेका खोप लगाउन विहीबारदेखि सुरु गरेको उनको भनाइ थियो ।
    कर्णालीमा करीब १ लाख ८ हजार ४ सय ८६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकोमा तीमध्ये२५ हजार ८ सय १६ जनाले दोस्रो डोज पाएका छन्।

    यस्तै कर्णालीमा २६ हजारले भेरोसेलको दुबै मात्रा खोप लगाइसकेका छन भने अहिले ९२ हजारभन्दा धेरैले पहिलो मात्राको भेरोसेल खोप लगाइरहेको उनको दाबी छ ।

    जोन्सन एन्ड जोन्सनको खोप ३७ हजार भन्दा बढीले लगाएका छन्।

  • फेरि लकडाउनको हल्लाले उद्योगी चिन्तित, कोरोना खोप लगाएर व्यवसाय सन्चालन गर्न पाउनुपर्ने माग

    फेरि लकडाउनको हल्लाले उद्योगी चिन्तित, कोरोना खोप लगाएर व्यवसाय सन्चालन गर्न पाउनुपर्ने माग

    काठमाडौं । पहिलो र दोस्रो चरणको लकडाउनले थला परेको अर्थतन्त्रमा सकारात्मक सुधारको आश गरिरहेकै बेला कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएर फेरि लकडाउन हुने हल्ला चलेसँगै उद्यागी व्यवसायी चिन्तामा परेका छन् ।

    उद्योगी, व्यवसायी र मजदुरले कोरोनाविरुद्धको खोपसमेत नपाइरहेका बेला तेस्रो चरणको लकडाउन हुने हल्लाले व्यवसायीहरु चिन्तित भएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संगठनहरुले कोरोनाको खोप माग गरिरहेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निजी क्षेत्रले कोरोनाविरुद्धको खोप मागेका थिए । ओलीले प्रधानमन्त्रीबाट हट्नुभन्दा एक दिनअगाडि राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले केही खोप ल्याएको र देशका लागि आवश्यक थप खोप पनि नेपालले ल्याउने प्रक्रियामा रहेको बताएका थिए ।

    विश्वासको मत लिने बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथामिकतामा कोरोनाविरुद्धको खोप भएको बताएका थिए । तर उद्योगी, व्यवसायी र मजदुरले अझैसम्म खोप लगाउन पाएका छैनन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनसँगको १६ लाख डोज खोप नयाँ सरकार आएपछि चीनले दिने प्रतिवद्धता गरेको बताए । उनले भने, ‘पहिलेको सरकारले नै पहल गरेको कोरोनाविरुद्धको खोप ल्याउने कामले निरन्तरता पाइरहेको छ । पहिले नै सरकारले चीनसँग किनेको ६० लाख, जापानबाट १६ लाख र भुटान तथा भारतबाट पनि कोरोनको खोप ल्याउन पहल भइरहेको छ । विभिन्न देशले दिने भनेको खोप नेपालले प्राप्त गर्दा चैतसम्ममा सबैलाई खोप लगाइ सकिने छ ।’

    कोरोनाको कारणले विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, रात्रिकालीन व्यवासाय र पर्यटन क्षेत्र बन्द छन् । उद्योगधन्दा कलकारखाना, उत्पादनमूलक क्षेत्र र व्यापार समय तोकेर सञ्चालनमा आएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैलाई कोरोनाविरुद्धको खोप लगाएर अर्थतन्त्रलाई चलायमान राख्नुपर्ने बताए ।

    गोल्छाले भने, ‘अहिले नेपाल मात्रै होइन विश्व नै कोरोनाले क्रसित छ । नेपालमा कोरोनाविरुद्ध खोप सबैलाई लागाएर देशको अर्थतन्त्र चलायमान बनाउनु पर्छ । कोरोना सुरु भएपछि बन्द भएका उद्योगहरु अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पर्यटनलगायतका केही क्षेत्र उठ्नै गाह्रो भइरहेको छ । सरकारले निजी क्षेत्रलाई प्राथामितामा राखेर खोप दिनु पर्छ ।’

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाविरुद्धको खोपलाई व्यापक बनाएर लैजानुपर्ने बताए । मल्ले भने, ‘जहाँबाट सजिलै कोरोनाविरुद्धको खोप ल्याउन सकिन्छ, त्यहाँबाट खोप ल्याएर सबैलाई खोप लगाइदिउँ । विश्वमा ठूला अर्थतन्त्र भएका देशले समेत आफ्नो आर्थिक क्रियाकलापलाई चलायमान नै राखेका छन् । हामीले कोरोना संक्रमण वृद्धि हुँदै जाँदा स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।’

    स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना नगरेका कारण अहिले कोरोना संक्रमण वृद्धि भएको उनको बुझाइ छ ।

  • कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

    कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको खोप लगाउने देशका प्रत्येक नागरिकलाई प्रोत्साहन स्वरुप १०० डलर प्रदान गर्न निर्देशन दिएका छन् ।

    खोप अभियानलाई प्रभावकारी बनाउँदै कोरोना विरुद्ध जित हासिल गर्ने रणनीतिस्वरुप उनले राज्य तथा स्थानीय सरकारहरुलाई यस्तो निर्देशन दिएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

    ‘राष्ट्रपतिले राज्य, क्षेत्रीय तथा स्थानीय सरकारहरुलाई प्रत्येक नयाँ भ्याक्सिन लगाउने अमेरिकीहरुलाई अतिरिक्त प्रोत्साहनस्वरुप १०० डलर भुक्तानी गर्न आह्वान गर्नुभएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘यसका लागि आवश्यक प्राविधिक सहायताका लागि मन्त्रालय तयार छ ।’

    देशका केही भागहरुमा कोरोना संक्रमणका कारण मानिसहरु अस्पताल भर्ना हुने क्रम बढेको अवस्थामा पनि खोप अभियान सुस्त भएपछि बाइडेनले सो निर्देशन दिएका हुन् । अहिलेसम्म ५७.१ प्रतिशत अमेरिकीहरुले कोरोनाविरुद्धको पूरा डोज खोप लगाइसकेका छन् ।

    यस वर्षको सुरुवातदेखि अमेरिकामा कोभिडका कारण मृत्यु भएका मध्ये ९९.२ प्रतिशत खोप नलगाएकाहरु रहेको तथ्यांकले देखाएको छ ।

  • आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेप केन्द्र

    आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेप केन्द्र

    काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । जोन्सनको खोप एक मात्रा पर्याप्त हुनेछ ।

    स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो ।

    यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ । यो सँगै पूर्ण र अति अशक्त अर्थात क र ख वर्षका अपांग नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघिको अभियानमा छुटेका फ्रन्टलाइनर कर्मचारीहरुलाई यो खोप उपलब्ध हुनेछ ।

    काठमाडौंका २८ वटा अस्पताल र स्थानीय तहका खोप केन्द्रहरु गरी ५३ स्थानबाट खोप दिइनेछ । नेपालमा यसअघि भारतीय कम्पनी एक्ट्राजेनेकाकाे काेभिशिल्ड र चिनियाँ कम्पनी सिनाेफार्मकाे भेराेसेल खाेप दिइएकाे थियाे । यी दुवै खाेप दुई मात्रा लगाउनुपर्ने भए पनि जाेन्सन भने एक मात्रा पर्याप्त हुनेछ ।

  • अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियो)

    अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियो)

    काठमाडौं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ ।

    खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

    विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

  • चीनबाट पहिलो खेपमा आयो ८ लाख डोज भेरोसेल

    चीनबाट पहिलो खेपमा आयो ८ लाख डोज भेरोसेल

    काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा अवतरण भएको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

    नन डिस्क्लोलर एग्रिमेन्ट अन्तरगत नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । यसको मुल्य खुलाइएको छैन ।

    स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ ।

    अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताएका थिए ।

  • नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

    नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

    काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालकले कोरानाविरुद्धको खोप नपाएको भन्दै आइतबार सेवा अवरुद्ध गरे । उनीहरुले तत्काल खोप नपाए थप आन्दोलन गर्ने चेतावनी दिएपछि सोमबार नेपाल आयल निगमले खोप उपलब्ध गराउने प्रतिवद्धता जनायो । मजदुर र निगमबीचको सहमतिपछि डुवानी सेवा सुरु भयो । र, बुधबार दुई सय चालक तथा सहचालकले खोप लगाए ।

    निगमले उद्योग मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी खोप उपलब्ध गराएको हो । गत ३१ गते यातायात, रेष्टुरेन्ट व्यवसायी र मजदुरले मन्त्रालयमै पुगेर निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । तामाङले प्राथमिकताका आधारमा सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    यसअघि गत जेठ २६ गते निवर्तमानमन्त्री तामाङले नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै फ्रन्टलाइनमा खट्ने खेल जगतका व्यक्तिलाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिने बताएका थिए ।

    गत माघदेखि नै राष्ट्रिय शिक्षक संघले शिक्षक तथा विद्यालय कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो । शिक्षक संघले कोरोनाविरुद्धको खोपका लागि आफूहरु प्राथमिकता सूचीमा पर्नुपर्ने माग राखेको थियो ।

    संघले अग्रपंक्तिमा रहेर विद्यार्थीसँग प्रत्यक्ष जोडिएर अध्यापन गराउनुपर्ने भएकाले पटक-पटक खोप उपलब्ध गराइदिन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीहरुलाई खोप उपलब्ध गराउन थप पहल गर्ने विषयमा छलफल भइरहेको बताएको छ । तर, माग गरेको पाँच महिना भइसक्दा पनि शिक्षकहरुले खोप पाउन सकेका छैनन् ।

    कोरोना महामारीकै बीच स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङलाई खोपका लागि आएका ज्ञापनपत्र बुझन भ्याइनभ्याइ थियो । दिनहुँजसो विभिन्न सगंठनमा आवद्ध व्यक्तिहरु आफ्ना कर्मचारीहरुलाई खोप उपलब्ध गराइदिन ताकेता गर्दै मन्त्रालय पुग्ने गर्थे ।

    निर्वमान स्वास्थ्यमन्त्री तामाङले पनि ज्ञापनपत्र बुझदै खोपको प्राथमिकतामा राखिने बताउँदै आइरहेका थिए । अहिले स्वास्थ्य मन्त्रालयले लक्षित समूहहरुलाई खोप वितरण गर्दै आइरहेको छ ।

    मंगलबार पदमुक्त हुनुअघिसम्म दिनमा ३, ४ वटा संगठन खोपको माग गर्दै आइरहेको निवर्तमान स्वस्थ्यमन्त्री तामाङले बताए । केही दिनयता खोप माग गर्दै कतिले अत्यावश्यक सेवा ठप्प पारेका छन् भने कतिले सेवा ठप्प गर्ने चेतावनी दिइरहेका छन् ।

    चारैतिरबाट खोपको माग बढेसँगै स्वास्थ मन्त्रालय दबाबमा परेको छ । चीन सरकारले सहयोगस्वरुप दिएको खोप ६० देखि ६५ वर्ष समूहका नागरिकलाई लगाइएको थियो । अब बाँकी खोप कसलाई दिने वा लगाउने भन्नेमा मन्त्रालय नै अन्योलग्रस्त छ ।

    चौतर्फी प्रेसर छ, आन्दोलन गर्दैमा खोप पाइँदैनः स्वास्थ्य मन्त्रालय

    खोप माग गर्दै विभिन्न सघंसंस्था मन्त्रालय धाउन थालेपछि मन्त्रालयका कर्मचारीहरु आजित भएका छन् । अहिले खोपको माग एकदमै बढेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘खोपको माग ज्यादै बढेको छ । खोप आउने ग्यारेण्टी छैन । अहिले मन्त्रालय एकदमै दबाबमा छ’, मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल भन्छन्, ‘थप खोप ल्याउने प्रयास जारी छ । खोप आएपछि प्राथमिकताका आधारमा वितरण हुन्छ ।’

    आन्दोलन गर्दैमा खोप नपाइने पनि मन्त्रालयले प्रष्ट पारेको छ । अत्यावश्यक सेवा नै बन्द गरेर खोप माग गर्न थालेपछि मन्त्रालयले आन्दोलन गर्दैमा खोप नपाइने बताएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी उल्टै प्रश्न गर्छन्, ‘सबै मान्छे आन्दोलनमा उत्रिए भने खोप चाहिँ कहाँबाट ल्याउने ?’

    आन्दोलन गर्ने–नगर्ने सबैलाई खोप चाहिने भन्दै उनले खोप ल्याउनका लागि प्रयास भइरहेको र आएपछि प्राथमिकताका आधारमा वितरण हुने बताए ।

    अबको प्राथमिकतामा को ?

    चीन सरकारले दिएको खोप लक्षित समूहलाई लगाइसकेपछि अबको प्राथमिकता कसलाई दिने भन्ने निश्चित छैन । मन्त्रालयका सहप्रवक्त अधिकारीका अनुसार खोप आउनेवित्तिकै सबै समूहलाई लगाउने कार्यविधि बनाइएको छ । तर, खोप नआइ कसैलाई दिने, कसैलाई नदिने भन्ने हुँदैन ।

    चीन सरकारले दिएको १० लाख डोज खोप ६० वर्ष भन्दा माथिकालाई लगाइसके पनि बाँकी रहेका खोप भने दोस्रो डोजका लागि राखिएको छ ।

    दोस्रो डोज पनि लगाउन पुग्ने गरी पहिलो डोज खोप लगाइएको अधिकारीले बताए । ‘खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्रै पहिलो डोज लगाउने हो’, उनले भने, ‘पहिलो डोज पनि बढी जोखिममा परेकालाई पहिला लगाउनै पर्छ ।’

    मन्त्रालयले खोप लगाउन चाहनेका लागि आधिकारिक रुपमा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको थियो । मन्त्रालयका अनुसार अहिले ९० प्रतिशत नागरिक खोप लगाउन चाहन्छन् ।

  • ‘फ्रन्टलाइनर हौं’ भन्दै पेट्रोल पम्प सञ्चालकहरु खोपको लविङमा, आन्दोलन गर्ने चेतावनी

    ‘फ्रन्टलाइनर हौं’ भन्दै पेट्रोल पम्प सञ्चालकहरु खोपको लविङमा, आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । पेट्रोलियम पदार्थ बिक्री गर्ने पेट्रोल पम्पका सञ्चालकले कोरोनाविरुद्धको खोप माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् ।

    पेट्रोलियम पदार्थ बिक्रेताहरुको संगठन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पम्प सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन धेरैपटक माग गर्दा पनि नपाएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

    केही दिन अगाडि पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीले आपूर्ति नै रोकेर आन्दोलित भएका थिए । उनीहरुले बागमती प्रदेशमा ३ दिन आपूर्ति बन्द गरेपछि नेपाल आयल निगमले कोरोनाविरुद्धको खोप व्यवस्था गरेको थियो । ढुवानी व्यवसायीले खोप पाएपछि उनीहरुको सिको गर्दै पम्प व्यवसायी आन्दोलन गर्न तम्सेका हुन् ।

    नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पनि सरकारसँग धेरैपटक कोरोनाविरुद्धको खोप माग्दा पनि नपाएको बताएको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले नेपाल आयल निगमसँग धेरैपटक पहल गर्दा पनि सुनुवाइ नभएको बताए ।

    उनले भने, ‘पेट्रोल पम्पमा काम गर्ने व्यवसायी र कर्मचारी पनि अग्रपंतिमा नै पर्ने हुन् । तर सरकार र नेपाल आयल निगमले हाम्रो मर्का बुझेको छैन ।’

    बन्दको बेला थोरै मान्छे तेल भर्न आउने गरेपछि बजार खुलेसँगै पम्पमा भिडभाड बढ्ने भएकाले जोखिम हुने उनको भनाइ छ ।

    उनले भने, ‘अब बजार खुलेको छ । जस्ता मान्छे पनि तेल हाल्न आउँछन् । हामी अब झन् असुरक्षित भएका छौं ।’

    अहिलेसम्म १ हजार जना पम्पका सञ्चालक तथा कर्मचारीलाई कोरोना संक्रमण भइसकेको प्रधानले बताए । उनका अनुसार १० जनाको कोरोनाको कारण मूत्यु समेत भएको छ ।

    ‘हाम्रो कुरा सरकारले सुनवाइ नगरे अन्दोलनमा उत्रिने तयारी गरेका छौं,’ उनले भने ।

    हाल देशभर १ हजार ४ सय पेट्रोल पम्प रहेका छन् । प्रत्यक पम्पमा सञ्चालकसमेत औसत ६ जनाले काम गर्ने भएकाले करिब ८ हजार ४ सय जनालाई खोप उपलब्ध गराउनुपर्ने हुन्छ । उनीहरुमध्ये ३० प्रतिशतले भने खोप लगाइसकेको प्रधानले बताए ।

    बागमती प्रदेशको पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्का सरकारले पेट्रोल पम्पलाई पनि ‘फ्रन्टलाइनर’ का रुपमा बुझ्नुपर्ने बताउँछन् ।

    उनले भने, ‘हामी कोरोनाको जोखिममा छौं । यो कुरो नेपाल आयल निगम, उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयले बुझनु पर्ने कुरा हो । खोप नपाए आन्दोलन गर्छौं भनेर नेपाल आयल निगमलाई पनि भनेका छौं ।’

    नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्याय भने देशमा खोपको अभाव रहेको एसोसिएसनले बुझ्नुपर्ने बताउँछन् ।

    उनले भने, ‘कसैले सरकारसँग माग त राख्न पाउँछन् । माग राख्दैमा बन्द गर्छु भन्ने पनि हुँदैन । एसोसिएसनका पदाधिकारीहरुले पनि अति आवश्यक सेवा बन्द गर्न हुँदैन भन्ने बुझनु भएको छ ।’

    खोपका लागि उद्योग मन्त्रालयसँग आफूहरुले कुरा गरेको भन्दै चाँडै व्यवस्था हुन सक्ने आशा उनले व्यक्त गरे ।

    त्यसो त उद्योगी-व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष चन्द ढकालले अब खोप लगाएर व्यवसाय सञ्चालन गर्नुपर्ने भएकाले सरकारसँग यसका लागि आग्रह गरिएको बताए ।

    सरकारसँग निजी क्षत्रले ढुवानी सेवाका लागि ४ हजार ६ सय, यातायात व्यवसायीको लागि १ लाख ४० हजार र ग्यास विक्रेताको लागि ४ हजार ६ सय डोज खोप मागेका छन् ।

  • ६४ वर्ष उमेरका व्यक्तिलाई आज भेरोसेलको पहिलो मात्रा

    ६४ वर्ष उमेरका व्यक्तिलाई आज भेरोसेलको पहिलो मात्रा

    काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर ६४ वर्ष उमेरका व्यक्तिलाई काेराेना विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ ।

    यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो ।

    सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।

    काठमाडाैं उपत्यका बाहिरकाे हकमा भने ६२ देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिले खाेप लगाउन पाउनेछन् । जसअनुसार आज जेठ २५ गते ६४ वर्ष उमेरका व्यक्तिले आआफ्नाे वडाले निर्धारण गरेकाे खाेप केन्द्रबाट खाेप लगाउनेछन् ।

    यसअघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

    खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानुपर्ने सूचनामा उल्लेख छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरो सेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग वार्ता गरेपछि चीन सरकारले १० लाख मात्र भेराेसेल खाेप अनुदान दिएकाे थियाे । त्यही खाेप अहिले लगाउन लागिएकाे हाे ।

    सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्र पङ्तिमा खटिने पेशाकर्मी, दीर्घ रोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।

    यसरी दिइने खोप २ प्रकारका छन् । एउटा भारतको सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरोसेल हो ।

    खोप कार्यक्रमअन्तर्गत फागुन २३ गतेदेखि चैत १० गतेभित्र कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिले त्यसको दोस्रो मात्रा लगाउन पाएका छैनन् । कोभिशिल्ड प्राप्तिका लागि भारतको सिरम इन्टिच्युटसँग सम्झौता गरेर अग्रिम भुक्तानी भएपछि इन्टिच्युटले खोप दिन नसक्ने पत्र पठाएको छ ।

    अवस्था उल्लेख गर्दै स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यसको विकल्पमा एउटै प्रकृतिको एक्स्ट्राजेनिका खोप दिइने जनाएको छ । यो खोप नेपाललाई प्राप्त भएपछि १२ हप्तापछि भए पनि अर्को मात्रा दिइनेछ ।

    यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब १ लाख व्यक्तिले लगाएका थिए ।

  • नेपाल एयरलाइन्सको वाइडबडी बेइजिङमा, ८ लाख डोज खोज खोप ल्याउँदै

    नेपाल एयरलाइन्सको वाइडबडी बेइजिङमा, ८ लाख डोज खोज खोप ल्याउँदै

    काठमाडौं । चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज काठमाडाैं ल्याउँदै छ ।

    खोप लिन सोमवार राति एयरबस ३३० बेइजिङ गएको थियो । बेइजिङमा अहिले खोप र त्यससँग सम्बन्धित मेडिकल सामाग्रहीरु लोड भइरहेको छ । केही बेरमा ८ लाख डोज भेरोसिल खोप लिएर विमान काठमाडौंतर्फ उड्ने नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।

    खोप आजै अपराह्न काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्या भण्डारीले चीनिया राष्ट्रपतिसँग टेलिफोन संवाद गरे लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

    बाँकी दुई लाख डोज खोप कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने भएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।

  • भेरोसेल खोप लिन आज बेइजिङ जाँदै नेपाल एयरलाइन्सको जहाज

    भेरोसेल खोप लिन आज बेइजिङ जाँदै नेपाल एयरलाइन्सको जहाज

    काठमाडौं । चीन सरकारले अनुदान दिने घोषणा गरेको १० लाख डोज भेरोसेल कोरोना खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जाँदैछ ।

    जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गरेको केहि घण्टामै चीन सरकारले १० लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

    चीनले यसअघि पनि अनुदानमै ८ लाख डोज भेरोसेल कोराना खोप दिइसकेको छ । नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे बेइजिङ प्रस्थान गर्नेछ भने भोलि दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

  • कोरोना खोपको दोस्रो मात्रा आजदेखि दिइने, यी ठाउँमा लगाउन पाइन्छ खोप

    कोरोना खोपको दोस्रो मात्रा आजदेखि दिइने, यी ठाउँमा लगाउन पाइन्छ खोप

    काठमाडौं । सरकारले माघ र फागुन महिनामा कोरोना खोपको पहिलो मात्र लिएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिने अभियान सुरु गरेको छ ।

    पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र जेष्ठ नागरिकले आजदेखि खोपको दोस्रो मात्रा लिनेछन् ।

    भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप नेपाल ल्याएपछि सरकारले गएको माघ र फागुन महिनामा पटक पटक गरी तीन चरणमा खोप अभियान सन्चालन गरेको थियो । त्यसअनुसार तीनै चरणमा खोप लगाएकाहरुले एकैपल्ट दोस्रो मात्रा दिइनेछ ।

    सुरुमा काठमाडौंको निजामती कर्मचारी अस्पतालबाट मात्रै पहिलो चरणको खोप दिइएकोमा अहिले उपत्यकाका १९ स्थानबाट खोप लिन मिल्ने व्यवस्था गरिएको छ ।

    दोस्रो मात्रा खोप लगाउन पाइने स्थानहरु

    १. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क

    २. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

    ३. शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी

    ४. परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली

    ५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

    ६. निजामती कर्मचारी अस्पताल, मिनभवन

    ७. ओम अस्पताल, चावहिल

    ८. नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु

    ९. नेपाल आयुर्बेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर

    १०. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी

    ११. वीरेन्द्र अस्पताल, छाउनी

    १२. नेपाल प्रहरी अस्पताल, पानीपोखरी

    १३. नेपाल मेडिकल कलेज, अत्तरखेल

    १४. काठमाडौं मेडिकल कलेज, सिनामंगल

    १५. जनमैत्री अस्पताल, बालाजु

    १६. मदरल्याण्ड अस्पताल, जडिबुटी

    १७. हिमाल अस्पताल, ज्ञानेश्वर

    १८. स्तुपा अस्पताल, बौद्ध

    १९. ह्याम्प अस्पताल, धुम्बाराही

  • भारतबाट थप १० लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै

    भारतबाट थप १० लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै

    काठमाडौं । कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं ल्याइँदै छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो साढे १ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ ल्याउन लागिएको जानकारी दिए ।

    उनका अनुसार फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप आउन लागेको हो ।

    यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप अनुदानमा उपलब्ध गराएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए ।

    उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

    उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

  • नेपालसँग ‘खोप कूटनीति’ मा भारत र चीन, कसकाे ‘भेस्टेड इन्ट्रेस्ट’ कति ?

    नेपालसँग ‘खोप कूटनीति’ मा भारत र चीन, कसकाे ‘भेस्टेड इन्ट्रेस्ट’ कति ?

    काठमाडौं । दक्षिणी मित्रराष्ट्र भारतले केही दिनअघि नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ अनुदानमा उपलब्ध गरायो । अहिले उत्तरी छिमेकी चीनले पनि नेपाललाई पाँच लाख खोप निःशुल्क दिने प्रस्ताव गरेको छ । यसरी नेपाललाई कोभिडविरुद्धको लडाईंमा सहयोग गर्न दुई छिमेकीले देखाएको तत्परतालाई कतिपयले ‘खोप कूटनीति’ का रूपमा अर्थ्याउन थालेका छन् ।

    कोभिडविरुद्धको खोप लगाउन शुरू गर्ने दक्षिणएशियामा भारतपछिको दोस्रो मुलुक बनेको छ, नेपाल । त्यसो त भारतले पाकिस्तानबाहेक अरू दक्षिण एशियाली मुलुकलाई पनि अनुदानमा खोप दिइरहेको छ । अर्कोतर्फ चीनले पनि विभिन्न देशहरूलाई अनुदानमा खोप वितरण गरिरहेको छ । त्यसैले नेपाललाई छिमेकीका हिसाबले दुई देशले गरेको सहयोगमा कुनै संशय राख्नु नपर्ने सरकारी अधिकारीहरू बताउँछन् । यद्यपि, भारत र चीनले यसरी सहयोगको होड गर्नु नेपाललाई आफ्नो प्रभावमा राख्ने चाहनाकै उपज हुनसक्ने एकथरीको आशंका छ ।

    परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई ‘खोप कूटनीति’ अहिले संसारभर ट्रेन्डिङमा रहेको बताउँछन् । अप्ठ्यारो समयमा शक्तिराष्ट्रहरूले कमजोर राष्ट्रलाई सहयोग गर्नु स्वाभाविक भए पनि त्यसमा अन्य स्वार्थ मिसिन नहुने उनको भनाइ छ ।

    ‘नेपाल सरकारले कूटनीतिक माध्यमबाट प्राप्त गर्ने खोप मानवीय स्वास्थ्यका लागि मात्रै हो र यो राष्ट्रिय हित विपरीत नहुनेमा विश्वास दिलाउनुपर्छ’ भट्टराईले नेपाल प्रेससँग भने, ‘खोप दिनेको पनि आन्तरिक वा बाह्य धेरै स्वार्थ हुनसक्छ । हामीले खोप लिए पनि त्यस्ता स्वार्थको साझेदार बन्नुहुँदैन ।’

    अनुदानमा पाउँदैमा जुनसुकै खोप वा सहयोग लिनुभन्दा मुलुकको आवश्यकता र हित हेरेर लिनुपर्ने उनले सुझाए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई विश्वभर मानवीय स्वास्थ्य संकटमा परेको बेला मित्र राष्ट्रहरूले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् ।

    ‘हामीलाई खोपको खाँचो छ । विश्वका धेरै देशले नपाइसकेको अवस्थामा हामीलाई खोप दिने घोषणा मित्र राष्ट्रहरूले गरेका छन् । यसबाट हामी उत्साहित छौं’, भट्टराईले भने । खोपलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्न नहुने भट्टराईको भनाइ छ ।

    ‘यो मानवीय कुरा हो । सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएका कारण आवश्यक र उपयुक्त खोप नेपालले प्राप्त गर्न हिच्किचाउनुपर्ने कारण छैन’, भट्टराईले भने ।

    भारतका दुई रणनीति

    केपी ओली शक्तिमा आएदेखि भारतसँग उनको सम्बन्ध आमरूपमा सुमधुर छैन । प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल बिताउँदा उनले भारतीय नाकाबन्दीको सामना गरेका थिए । दोस्रो कार्यकालमा सम्बन्ध बाहिरबाट हेर्दा सहज देखिए पनि भित्र अझै पेचिलो छ ।

    खासगरी नेपालले कालापानी–लिम्पियाधुराको भूभागलाई समेटेर नक्शा जारी गरेको विषयलाई लिएर भारत ओलीसँग रुष्ट छ । ओली उक्त भूभाग भारतबाट फिर्ता ल्याउने अडानमा छन् भने भारत यो विषयमा छलफलसम्म गर्न चाहँदैन ।

    केही साताअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्दा द्विपक्षीय छलफलमा नेपालले यो विषय उठाए पनि भारतले चासो दिएन । यतिसम्म कि नेपालका परराष्ट्र मन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न समेत समय दिएनन् । दुई देशबीच सम्बन्ध सहज छैन भन्ने प्रष्ट संकेत थियो, त्यो । तर त्यसलगत्तै भारतले नेपाललाई कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउन तत्परता देखायो । तत्परता देखाएको मात्रै होइन कि नेपाललाई प्राथमिकतामा राखेर १० लाख भ्याक्सिन दियो पनि । भारतले नेपाललाई निस्वार्थ सहयोग गर्दैन भन्ने एकखालको मान्यताले गर्दा भारतले गरेको सहयोगमा विभिन्न तर्क गर्न थालिएको छ ।

    एक कूटनीतिक विश्लेषकको भनाइमा भारतले गरेको सहयोगका दुई प्रष्ट कारण छन् । पहिलो राजनीतिक र दोस्रो व्यापारिक ।

    राजनीतिक कारणबारे उनको विश्लेषण छ, ‘राजनीतिक कारण भनेको नेपाललाई आफ्नो प्रभावमा राखिराख्ने सोच हो । नेपालमा बढ्दो भारतविरोधी भावनालाई मत्थर बनाउने रणनीतिले पनि काम गरेको हुनसक्छ । त्योभन्दा बढी चाहिं नेपालमा चीनको बढ्दो प्रभावलाई काउन्टर दिएर नेपाल आफ्नो छत्रछायाँमा छ भन्ने सन्देश दिन खोजेको हो ।’

    व्यापारिक कारणबारे उनी भन्छन्, ‘नेपाललाई केही लाख खोप अनुदानमा दिएर भारतले आफ्नो खोपको ब्रान्डिङ गर्न पनि खोजेको हो । साथै, भविष्यमा आफूलाई आवश्यक थप खोप भारतबाटै किन्न यसले नेपाललाई नैतिक दबाब पनि परेको छ । कुनै उद्योगले नयाँ माल ल्याउँदा प्रवद्र्धनका लागि शुरूमा केही थान निःशुल्क बाँडेको जस्तै हो ।’

    नेपालले भारतबाट अनुदानको खोप ल्याएर बाँड्न थालिसके पनि अब आवश्यक पर्ने थप खोप कहाँबाट ल्याउने भन्ने निर्णयमा पुगिसकेको छैन । तथापि, भारतसँग थप खोपका लागि कुराकानी भइरहेको प्रधानमन्त्री ओलीले नेपालमा खोप उद्घाटन गर्दा बताएका थिए ।

    चीनको आफ्नै शैली

    भारतले उपलब्ध गराएको खोप नसकिंदै चीनले पनि नेपाललाई पाँच लाख डोज खोप आपतकालीन प्रयोगका लागि उपलब्ध गराउने प्रस्ताव गरेको छ । चीनले उपलब्ध गराउने ‘सिनोफार्म’ खोप लिन नेपाल सकारात्मक छ । यद्यपि औषधि व्यवस्था विभागबाट सो खोपलाई अनुमति प्रदान गरिसकेको छैन ।

    चीन विगत लामो समयदेखि नेपालको हितैषी मुलुक हो । भारतले नेपालमा गर्ने सहायता स्वार्थप्रेरित हुने गरेको आशंका गरिए पनि चीनको हकमा यस्तो आशंका कम गरिन्छ । तथापि पछिल्लो समयमा चीनले पनि नेपालमा हस्तक्षेपकारी भूमिका खेल्न थालेको चर्चा शुरू भइरहेको छ । यस्तो चर्चालाई बल पु¥याउने गरी पछिल्लो समयमा चिनियाँहरूका केही गतिविधि देखिएका पनि छन् । नेपाललाई भारतको प्रभावबाट मुक्त गरेर आफू निकट ल्याउन चीनले गरेका प्रयासहरू छिपेका छैनन् ।

    त्यसो त भारतले नेपाललाई १० लाख खोप उपलब्ध नगराएको भए पनि चीनले दिन सक्थ्यो ।

    ‘यदि सहयोगको होड नै गरेको भए चीनले भारतको भन्दा बढी खोप दिने प्रस्ताव गर्न सक्थ्यो’ ती विश्लेषक भन्छन्, ‘उसले भारतको भन्दा आधा परिमाणमा मात्रै दिनुले प्रतिस्पर्धाको भावना नरहेको भनेर बुझ्नुपर्छ ।’

    छिमेकीहरूबीच प्रतिस्पर्धाको भावना भए पनि नभए पनि नेपालसँग खोप स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

    उनी भन्छन्, ‘नेपाललाई बढीभन्दा बढी संख्यामा खोप चाहिएकै छ । त्यसैले जसले दिए पनि मापदण्ड पुगेको र गुणस्तरीय छ भने लिने नै हो । यसमा सम्बन्धित देशहरूको स्वार्थको खोजीनिती गरेर विषयलाई जटिल बनाइराख्नु आवश्यक छैन ।’

    त्यसो त चीनले नेपाललाई खोप उपलब्ध गराउने विषयमा पठाएको पत्रमा पनि ‘घुक्र्याउने भाषा’ प्रयोग गरेको छ । तत्काल नेपालले खोप स्वीकार नगरेको खण्डमा अरूलाई नै दिन सकिने र भविष्यमा खोप प्राप्त गर्न नेपालले लामो समय कुर्नुपर्ने हुनसक्ने पत्रमा उल्लेख छ ।

    २०७२ सालको भूकम्पपछि भारत र चीनले नेपाललाई सहयोग घोषणा गर्ने विषयमा खुलेर प्रतिस्पर्धा गरेका थिए । अहिले पनि ‘खोप कूटनीति’ मार्फत दुई देशले नेपाललाई विश्वासमा लिनका लागि प्रयास गरेको देखिन्छ ।

    त्यसो त नेपाललाई खोप उपलब्ध गराउन भारत र चीन मात्रै नभई अन्य राष्ट्रहरू समेत इच्छुक छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायतको सहयोगमा विश्व स्वास्थ्य संगठनमार्फत नेपाललाई २० लाख डोज ‘कोभ्याक्स’ खोप उपलब्ध गराउने घोषणा गरेकी छिन् । विश्वभर जारी ‘भ्याक्सिन डिप्लोमेसी’ को असर नेपालमा कस्तो पर्ने हो ? त्यो भने आगामी दिनमा देखिनेछ ।

  • देशभर एकैसाथ कोरोना खोप अभियान आजदेखि

    देशभर एकैसाथ कोरोना खोप अभियान आजदेखि

    काठमाडाैं । आज देशभर कोरोना विरुद्धको खोप अभियान आरम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअल रुपमा कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्दैछन् ।

    प्रधानमन्त्री ओलीले राजधानी काठमाडौं उपत्यकाका ११ अस्पतालमा सुरु हुने खोप अभियानको अनलाइनमार्फत प्रत्यक्ष अवलोकन गर्नेछन् । स्वास्थ्य मन्त्रालयको कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार उपत्यकाका ११ अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाएपछि बिहान ११ बजेदेखि देशैभरका अस्पतालबाट खोप कार्यक्रम सुरु गरिनेछ ।

    कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिमा कुनै प्रकारको असर देखिएमा सरकारले निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर अधिकारीले बाताए । ‘साइड इफेक्ट’ देखिए निःशुल्क उपचार गर्ने भने पनि कोराेना विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै भवितव्य परिआए आफैं जिम्मेवार रहेको भनी मञ्जुरीनामामा हस्ताक्षर भने गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    खोपका कारण मानिसको मृत्यु भएमा त्यसको क्षतिपूर्ति सरकारले दिँदैन । कोरोनाको खोप महामारी नियन्त्रणका लागि आपतकालीन प्रयोग गर्नुपर्ने नयाँ खोप भएकाले खोप उत्पादक कम्पनीहरूले ‘साइड इफेक्ट’ देखिएमा त्यसको क्षतिपूर्ति नतिर्ने जनाएको छन्। तर नेपालमा भारत सरकारले दिएको एस्ट्राजेन्का अक्स्फोर्डको खोप सुरक्षित रहेको वश्विास चिकित्सकहरुको छ ।

    ‘खोपले ०.१ प्रतिशत ‘साइड इफेक्ट’ गर्न सक्ने सम्भावना सबै अवस्थामा रहन्छ । अहिलेको लागि कोरोना महामारीबाट बच्ने सबैभन्दा ठूलो हतियार नै खोप हो । त्यसैले हामी उत्साही छौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले भने ।

    कोभिशिल्ड खोपले कोरोनाबाट कसरी बचाउँछ ?

    नेपालमा लगाउन लागिएको कोभिशिल्ड खोप कमजोर पारिएको भाइरस हो यसले सङ्क्रमण गर्दैन । खोपको माध्यमबाट यो भाइरस हाम्रो शरीरमा गएपछि रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ। जसले एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्न सक्षम हुन्छन् ।

    एक मानिसलाई यो खोपको दुई मात्रा दिनुपर्ने कम्पनीले जनाएको छ । पहिलो डोज लगाएको चारदेखि १२ साताको फरकमा दोस्रो डोज दिनुपर्छ ।

    नेपालमा १ महिनापछि दोस्रो दोज दिने तयारी गरिसकेर खोप अभियान आरम्भ गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

  • भ्याक्सिन शुरुमा ‘फ्रन्टलाइनर’लाई होइन, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई दिउँ

    भ्याक्सिन शुरुमा ‘फ्रन्टलाइनर’लाई होइन, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई दिउँ

    काठमाडाैं । भारतबाट नेपालमा कोरोनाविरुद्धको खोप कोभिसिल्ड बिहीबार भित्रियो । कोरोनाविरुद्धको लडाईमा यो एउटा महत्वपूर्ण चरण हो । तथापि यस खोपको प्रभावकारिता बारे अहिले नै भन्न सकिने अवस्था छैन ।

    समग्रमा कोभिसिल्डले ७० प्रतिशत काम गर्ने भनिएको छ । खोप ‘हाफ डोज’ वा ‘लो डोज’ दिँदा ९० प्रतिशत र दुवै डोज लगाउँदा ६२ प्रतिशत काम गर्ने पनि भनिएको छ । बेलायत, साउथ एसिया, अफ्रिका ब्राजिल लगायतका देशहरूले प्रयोग गरेको आधारमा यसको प्रभावकारिता विश्लेषण गरिएको हो ।

    भारतले यसको प्रभावकारिताबारे कुनै तथ्यांक सार्वजनिक गरेको छैन । तर, उनीहरूसँग तथ्यांक छ । हामीले यसको यसको प्रभावकारिताबारे अहिले प्रारम्भिक तथ्यांकलाई नै आधार मान्नुपर्छ । यद्यपि, खोपले काम गर्छ कि गर्दैन भनिहाल्न त्यति सहज छैन । खोपको प्रभावकारिता खस्कने हो कि भन्ने आशंका पनि छ । त्यसैले यसको लागि अनुसन्धान जारी हुनुपर्छ ।

    एसजिन भाइरसको वरिपरि गुच्चाजस्तो चुच्चो निस्किएको हुन्छ, त्यसलाई स्पाइक भनिन्छ । फाइजर अक्सफोर्ड लगायतका कम्पनीले स्पाइक जिनलाई नै लक्षित गरेर भ्याक्सिनहरू बनाएका हुन्छन् । जुन भ्याक्सिन एस जीन अथवा स्पाइक जिनलाई टार्गेट बनाएर विकास गरिएका छन् त्यो स्पाइक जिनमा अत्यधिक मात्रामा परिवर्तन हुँदै गयो भने एउटा चुनौती रहन्छ ।

    भाइरसमा पछि गएर निरन्तर देखिने स्वरुप परिवर्तन नै हाम्रो लागि चुनौती हो । यसकारण प्रभावकारिताको अंक खस्कन सक्ने सम्भावना हुन्छ । स्पाइक जीनलाई लक्षित गरेर बनाइएका भ्याक्सिनहरू भाइरस म्युटेसन भयो भने भने आगामी दिनमा चुनौती हुन्छ ।

    यतिबेला भ्याक्सिनबारे नकारात्मक टिप्पणीहरू पनि भइरहेका छन् । यो स्वभाविक हो । कसैलाई केही भइहाल्छ कि भन्ने त्रास त छ नै । लाखौंमा तथा हजारौंमा एक जनालाई यस्तो हुनसक्छ । हालसम्म त्यस्तो नकारात्मक प्रभाव भ्याक्सिनको परेको छैन । तर, नपर्ला भन्न सकिन्न ।

    अहिलेलाई खुसी हुनुपर्ने कुरा चाहिँ भ्याक्सिन आएको छ । त्यो नै राम्रो कुरा हो । भ्याक्सिन नआएमा भाइरसले अझै कडा समस्या निम्त्याउन सक्थ्यो । त्यसकारण लक्षित समूहलाई बचाउने उपाय भ्याक्सिन नै हो ।

    ट्रायल नै नभएका कारण सुत्केरी महिला, नियमित औषधि लिइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका लगायत बिरामीलाई खोप नदिने भन्ने कुरा छ । यसमा धेरै कुरा स्पष्ट हुँदै जान्छ ।

    भ्याक्सिन वितरणबारे सुरुमा फ्रन्टलानरलाई दिनुपर्छ भन्ने कुरा छ । तर, तथ्यांक हेर्ने हो भने कोरोनाबाट सबैभन्दा बढी जेष्ठ नागरिक र दीर्घरोगी मरेका छन् । प्राथमिकतामा राखिएको फ्रन्टलाइनर बरु सजग नै छन् । मेरो चाहना जेष्ठ नागरिक र दीर्घ रोगीलाई पहिलो चरणमा खोप दिऊँ भन्ने हो ।

    (कुराकानीमा आधारित)

  • भारतको खोप आज आउँदै, जाँचपासमा भन्सार विभागको फास्ट ट्रयाक

    भारतको खोप आज आउँदै, जाँचपासमा भन्सार विभागको फास्ट ट्रयाक

    काठमाडौं । भन्सार विभागले कोभिडविरुद्धका खोप र त्यससँग सम्बन्धित समाग्री नेपाल भित्र्याउँदा कुनै झन्झट र ढिलाइ हुन नदिन छरितो प्रक्रिया निर्धारण गरेको छ ।

    खोप सामाग्रीहरु सार्वजनिक विदाको दिन समेत भन्सार जाँचपास गरिने भएको छ । भन्सार विभागले कोभिड१९ विरुद्धको खोप सामाग्रहिरुको जाँचपास सम्बन्धी जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा र विशेषतः त्रिविस्थल भन्सार कार्यालयमा अलग्गै इकाइ खडा गरेर कर्मचारी खटाउने भएको छ ।

    आवश्यक प्रक्रियामा सहजीकरणका लागि भन्सार विभागमा तत्काल समस्या समाधान कार्यादल र्‍यापिड एक्सन टिम रहने भन्सार विभागले जनाएको छ । भारतले अनुदानमा दिएको खोप आजैबाट नेपाल भित्रिने तयारी छ ।

    अर्थमन्त्री विष्णु पौडेलले खोप सामाग्री आयात र भन्सार जाँचपासका सन्दर्भमा कुनै ढिला नहुन निर्देशन दिएका छन् । खोप पैठारीका कागजातहरुमा खोपको परिणाम तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि जाँचपास हुने विभागले जनाएको छ ।

    भारतले बुधवार उपलब्ध गराएको खोप सामाग्री आज एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

  • परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र काेराेना खाेप नेपालको प्राथमिकतामा

    परराष्ट्रमन्त्री दिल्ली जाँदै, सीमा विवाद र काेराेना खाेप नेपालको प्राथमिकतामा

    काठमाडौं । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज दिल्ली जादैछन् । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए ।

    उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणमा यी विषयमा कुरा हुने बताएका छन् । मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् । यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ । तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ ।

    शुक्रवार हुने संयुक्त आयोगको बैठकको अध्यक्ष परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्नेछन् । बैठकमा नेपालले यसपटक सीमा विवादलाईनै प्रमुख रुपमा उठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सीमा विवादलाई समाधान गर्न सचिवस्तरीय संयन्त्र छ । त्यसलाईनै मन्त्रीस्तरीय बैठक समयसीमा तोकेर जिम्मेवारी दिनसक्ने सम्भावना रहेको छ ।

    कालापानी र सुस्ता क्षेत्र बाहेक अन्यत्र सीमा समस्या जटिल नरहेकोले यही विषयमा बढी छलफल गर्ने नेपालको चाहना छ । प्रधानमन्त्रीले कालापानी,लिपुलेक र लिम्यिाधुरा नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता ल्याइने र सन् २०२१ नेपाल र भारतबीचको समस्या समाधान भएको वर्षका रुपमा रहन सक्ने कुरा हालै भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा बताएका छन् ।

  • कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

    कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

    काठमाडाैं । भारतले कोरोनाविरुद्धको खोप तयार गरिरहेको दुई वटा कम्पनीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै नेपालमा पनि कोरोना खोप आउने सम्भावना बढेको छ ।

    भारत सरकारले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ नामक खोप र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्ले विकास गरेको ‘कोभ्याक्सिन’ नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

    भारतमा जनवरी दोस्रो सातादेखि यी खोपको प्रयोग शुरु हुनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रभागमा रहेर काम गरिरहेका कर्मचारीलाई प्रदान गरिनेछ भने तीन करोड नागरिकलाई खोप अभियानमा निःशुल्क समावेश गराइनेछ ।

    भारतले कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्दा नेपालले पनि खोप उपलब्ध गराइदिन भारतलाई अनुरोधसहितको पत्राचार गरेको छ । नेपालका लागि भारतीय राजदूतसँग स्वास्थ्यमन्त्रीले भेटघाट गरेका छन् भने भारताका लागि नेपाली राजदूतले नेपाललाई खोप उपलब्ध गराउन भारत सरकारका अधिकारी र खोप उत्पादक कम्पनीका अधिकारीसँग भेटवार्ता गरेका छन् ।

    नेपालमा अग्रभागका कर्मचारी र स्वास्थ्यकर्मीका लागि १ करोड २० लाख डोज खोपको मागसहित भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले खोप उत्पादक कम्पनी सेरमका अधिकारीहरुसँग भेट गरेको जानकारी नेपाल प्रेसलाई दिएका छन् ।

    राजदूत आचार्यले भने– ‘संसारको सबैभन्दा ठूलो खोप कम्पनी सिरम इन्स्टिच्युट भारतमै छ । उसले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको कोभिसिल्ड नामक खोप उत्पादन गरिरहेको छ । हामीले पनि खोप उपलब्ध गराउन भारत सरकार र कम्पनीलाई समेत अनुरोध गरेका छौं’ राजदूत आचार्यले भने, ‘सेरमका अधिकारीले नेपाललाई खोप उपलब्ध गराउने बारे सरकारबाटै कुरा आएकोले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । भारतले नेपाललाई पनि छिट्टै खोप उपलब्ध गराउने छ भन्नेमा हामी आशावादी छौं ।’

    भारतले उत्पादक कम्पनीसँग खोप खरीद गर्दा नेपालका लागि पनि २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खरीद गर्ने र सोको भुक्तानी नेपालले भारत सरकारलाई गर्ने गरी सरकारले भारतसँग छलफल भइरहेको बताइएको छ ।

    खोपले अनुमति पाउनुअघि नै भारत सरकारले आफ्ना जनतालाई विशेष खोप अभियानको तयारी पूरा गरेको छ । खोप अभियानका लागि खोप उत्पादनस्थलदेखि खोप लगाइने स्थान सम्म पुर्‍याउन कार्गो जहाज र भ्यान तयारी अवस्थामा राखिएको छ ।

    खोप कार्यक्रमको तयारीको परीक्षण स्वरुप शनिबार भारतभरि खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो ।

    नेपालमा हालसम्म खोप कहिले ल्याउने भन्ने समेत टुंगो छैन । बेलायतमा पहिलोपल्ट खोपको प्रयोगभए यता नै नेपालले पनि खोप ल्याउने प्रयास गरिरहेको बताएको छ । खोपको भण्डारण र व्यवस्थापनका लागि सबै प्रदेशमा गरी ८ करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । पूर्वाधार निर्माण भने सुरु भएको छैन ।

    खोप ल्याएपछि पहिलो चरणमा को लाभान्वित हुने भन्ने स्पष्ट कार्ययोजना अझै बनेको छैन । कतिपय देशले उत्पादन कम्पनीलाई अग्रिम भुक्तानी गरी आफूलाई आवश्यक खोप उपलब्ध गराउन पहल गरिरहेका छन् । नेपाल भने उत्पादक देशसँग अनुदान माग्ने रणनीतिमा छ ।

    भारतले प्रयोग अनुमति दिएको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको सेरम कम्पनीले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोप नेपालको लागि उपयुक्त हुने खोप विज्ञ डा. श्याम उप्रेती बताउँछन् ।

    उनका अनुसार उक्त खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने हुँदा नेपालमा अहिले भएकै खोप भण्डारण पूर्वाधार प्रयोगमा ल्याउन सकिन्छ र मूल्यको हिसाबमा पनि सुलभ छ ।

    कोभिसिल्ड खोप दुई डोजको नेपाली मूल्य ४०० देखि ६०० मा कम्पनीले सरकारलाई उपलब्ध गराउन सक्नेछ । नेपालसँग खोप एक ठाउँबाट अर्को ठाउँमा लैजाने दुईवटा मात्रै खोप रेफ्रिजेरेटर भ्यान छ । रेफ्रिजेरेटर भ्यान थप्नेतर्फ पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ध्यान दिएको छैन ।

  • टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी बाइडेनले लगाए कोरोना खोप

    टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी बाइडेनले लगाए कोरोना खोप

    एजेन्सी । हालै अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका जोय बाइडेनले टेलिभिजन प्रत्यक्ष प्रसारणमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका छन् ।

    टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्नुपर्नाको कारणबारे प्रष्ट पार्दै उनले भनेका छन्, ‘यो खोपको प्रयोग सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वस्त पार्न सकुँ ।’

    बाइडेनले जस्तै वर्तमान उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसीलगायतले यो खोपको पहिलो मात्रा लिइसकेका छन् । आइतबार खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । अमेरिकामा पहिलो खोप लगाउने न्युयोर्ककी नर्स मोडर्नालाई नै दोस्रो मात्रा पनि दिइएको छ ।

    समाचारहरुमा बताइएअनुसार ५ लाख भन्दा बढी अमेरिकीलाई कोरोना खोपको आवश्यकता छ । ‘म यो सन्देश दिन खोजिरहेको छु कि मानिसहरुले उपलब्ध खोपका लागि तयार हुन सकुन्,’ डेमोक्रेटिक नेता बाइडेनले न्युयोर्क डेलावेरमा भने, ‘कुनै चिन्ता लिनु पर्दैन ।’

    उनले यो पनि भनेका छन् कि ट्रम्प प्रशासन खोप कार्यक्रम सुरु गर्नका लागि केही श्रेयको हकदार बनेको छ । बाइडेनकी श्रीमती जिल बाइडेनले खोपको पहिलो डोज अघिल्लो दिन नै लिएकी थिइन् ।

    उपराष्ट्रपति पदको चुनाव जितेकी कमला ह्यारिस र उनका पति डग एमहोफले अर्को साता खोपको पहिलो डोज लिनेछन् ।

    बाइडेनको टिमले ह्वाइटहाउसको जिम्मेवारी सम्हालेको १०० दिनभित्र १०० मिलियन कोरोना खोपको बन्दोबस्त गर्ने लक्ष्य राखेको छ ।

    कोरोना महामारीको क्रममा अमेरिकामा विश्वमै सबैभन्दा धेरै १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ लाख १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।