Tag: काठमाडाैं महानगरपालिका

  • पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थापना

    पाख्रीबास र अमरगढी नगरपालिकासँग काठमाडौं महानगरको भगिनी सम्बन्ध स्थापना

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।

    काठमाडौं महानगरपालिकाले प्रदेश नम्बर–१ को धनकुटास्थित पाख्रीबास नगरपालिका र सुदुरपश्चिम प्रदेशको डडेल्धुरास्थित अमरगढी नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको हो ।

    ती नगरबीच गरेको समझदारी पत्रमा काठमाडौं महानगरपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे । अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौं महानगरपालिकाले कर्णालीको जुम्लास्थित चन्दननाथ, बागमतीको सिन्धुपाल्चोकस्थित मेलम्ची र लुम्बिनीको रुपन्देहीस्थित रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

    हितैषी तथा मैत्रीपूर्ण सम्वन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरहरुकाबिच भगिनी सम्वन्ध स्थापनाको अभियान अघि बढाएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

    ‘मुलुक भित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापनाले पर्या-पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुगोस् भन्ने हेतूले यस्ता सम्वन्ध स्थापना गरेका हौँ,’ कार्यक्रमपछि सम्वोधन गर्दै प्रमुख शाक्यले भने, ‘आज हामीले पाख्रीवास र अमरगढी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेका छौँ । यी दुई नगर र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’

    एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्ने भन्दै पहिलो चरणमा सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेको र त्यहि अनुरुप थप दुई नगरसँग सम्बन्ध स्थापना गरेको उनले जानकारी दिए । ‘संयोग नै भन्नुपर्छ धनकुटा स्वर्गीय पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाको र डडेलधुरा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हुन्,’ प्रमुख शाक्यले भने, ‘आज यी दुबै जिल्लाका नगरसँग भगिनी सम्वन्ध स्थापना गर्न पाउँदा खुशी लागेको छ ।’

    समझदारी पत्रमा हस्ताक्षसँगै काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ पार्क निर्माण गर्न १ करोड ५० लाख सहयोग सम्झौता गरेको छ ।

    त्यसैगरी अमरगढी नगरपालिकाको वडा नम्बर–२ र ५ मा अवस्थित अमरगढी पार्क निर्माणका लागि पनि १ करोड ५० लाख सहयोग गरेको छ । ४ सय ५० रोपनी क्षेत्रफल रहेको सो पार्क निर्माणका लागि सहयोग गरेको महानगरपालिकाले जानकारी दिएको छ ।

  • काठमाडौं महानगरले ‘कलाको हत्या’ गरेको भन्दै चित्रकारले गरे प्रदर्शन

    काठमाडौं महानगरले ‘कलाको हत्या’ गरेको भन्दै चित्रकारले गरे प्रदर्शन

    कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकाको सम्मानमा कोरिएका चित्र काठमाडौं महानगरपालिकाले मेटाएको विरोधमा चित्रकारहरूले प्रदर्शन गरेका छन् । आज महानगरपालिका अगाडि उनीहरूले प्रदर्शन गरे । सम्बन्धित वडा कार्यालयसँग अनुमति लिएरै चित्र बनाएको भएपनि सो चित्र मेटाइदिएर फ्रन्टलाइनर र कलाको अवमुल्यन गरिएको भन्दै पुन: चित्र बनाउन दिन ज्ञापन पत्रसमेत बुझाइएको छ ।

    दुजाङ शेर्पाको परिकल्पनामा रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना संक्रमण, उपचार तथा रोकथामविरुद्धका फ्रन्टलाइनरको सम्मानमा चित्र कोरिएको थियो । प्रदर्शनकारीले ‘कलाको शहरमा कलाकै हत्या’ गरिएको भन्दै महानगरको कदमको टिप्पणीसहितका ब्यानर बोकेका थिए ।

  • काठमाडौं महानगरभित्र २ दिनमा १८ हजार बढीले लगाए खोप

    काठमाडौं महानगरभित्र २ दिनमा १८ हजार बढीले लगाए खोप

    काठमाडौं । काठमाडौं महानगर क्षेत्र भित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका छन् ।

    पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । खोप अभियानको पहिलो दिन ८ हजार ७ सय ४७ सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

    पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८ सय ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको पनि विभागले जानकारी दिएको छ । ‘दोस्रो दिन दोस्रो डोज लिन छुटेका थप ४ सय ७५ सहित ९ हजार ८ सय ४१ जना खोप कार्यक्रममा सहभागी भएका छन्,’ कुँवरले भने, ‘महानगरपालिकाका प्रमुखज्यूको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भइरहको छ ।’

    कुँबरले पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको भन्दै सो समूहका सबै महानगर क्षेत्र भित्र बसोवास गर्ने सबै नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गरेका छन् । ‘सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी हुन आग्रह गर्छु,’ उनले भने, ‘खोप लगाइ सकेका नागरिक र हामी सबैले छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन एकजुट भएर लाग्नुपर्छ ।’

  • काठमाडौंका मेयरले नीति तथा कार्यक्रम र बजेट निर्माणबारे वडा-वडामै पुगेर सुझाव लिने

    काठमाडौंका मेयरले नीति तथा कार्यक्रम र बजेट निर्माणबारे वडा-वडामै पुगेर सुझाव लिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताएका छन्।

    राष्ट्रिय सभागृहमा बसेको ६१ औं कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले भने, ‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हो,’ ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा म धेरै पटक वडा-वडामा पुगेको छु । यो पटक बजेट निर्माणका सन्दर्भमा पनि सबै वडाका जनप्रतिनिधिको राय-सुझावसहितको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको छु ।’

    प्रमुख शाक्यले सबै वडाध्यक्षलाई वडा समितिका बैठकमा आफूलाई समय मिलाएर बोलाउन आग्रह समेत गरे । ‘असार २ गतेबाट काठमाडौं महानगरको नवौं अधिवेसन सुरु हुन्छ । त्यस अघि नै आ-आफ्ना वडाको विकास निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटमा के-के समावेश गर्नुपर्ने हो त्यो विषय वडावासीसँग व्यापक छलफल गरी योजना बनाएर ल्याउनुहोस । सबै वडामा एकै पटक पुग्न सम्भव हुँदैन । त्यसैले वडाका बैठकमा समय मिलाएर मलाई निम्ता दिनुहोला म सबै जनप्रतिनिधि र वडावासीसँग गहन छलफल गरेर सकेसम्म सबैको चित्त बुझ्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन तयार छु ।’

    शाक्यले अहिले योजना नल्याउने अनि पछि मेरो वडामा योजना परेन भनेर गुनासो गर्ने अवस्था नहोस भनेर यस्तो योजना बनाएको पनि बताए । शाक्यले वडाका अन्य महत्वपूर्ण बैठकमा पनि आवश्यकताका आधारमा उपस्थित भएर छलफल गर्न तयार रहेको जानकारी दिए ।

    प्रमुख शाक्यको अध्यक्षतामा बसेको ६१औं कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा पनि समीक्षा गरेको थियो । बैठकमा कोभिडको महामारी व्यवस्थापनका लागि गरिएका कामका विषयमा कार्यपालिका सदस्यहरुबाट उठेका जिज्ञासाको उत्तरमा प्रमुख शाक्यले भने, ‘मानवीयता र मानव जीवन रक्षाका सवाल गरिने कुनै पनि काम सशर्त हुँदैनन् । हामीले यो पटक सरकारी र सामुदायिक अस्पतालको क्षमता विकासमा सहयोग ग¥यौँ । यो निशर्त सहयोग हो ।’

    बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि-२०७८ तर्जुमा गर्न सहमति दिएको छ । यी कार्यविधिहरु विधायन समिति मार्फत कार्यपालिका बैठक हुँदै नगर सभामा पेश हुनेछन् ।

    बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट्याण्डको ५ वर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ ।

    यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका कामसम्बन्धी भेरियसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकमसम्बन्धी भेरियसन स्वीकृत गरेको छ ।

  • कमलपोखरी पुनर्निर्माणको काम ३० प्रतिशत बाँकी

    कमलपोखरी पुनर्निर्माणको काम ३० प्रतिशत बाँकी

    रासस । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

    सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राखिन्छ । पुनःनिर्माणपछिको शुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ ।

    सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरिएको छ । एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।

    पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ ।

    त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ । कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ रहेको स्थानलाई खुला गरिसकेको छ ।

    कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे । कामनपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

    कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताए । उनले भने, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमलपोखरी पुनःनिर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका लागि विरोध मात्र हो ।’

    पोखरी पुनःनिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै शाक्यले भने, ‘कामनपाले कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन । पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिसकिएको छ । क्लबको भवन हटाउने काम भएको छ । राजनीतिक अभिष्ट भएका मानिस अहिले सम्पदा अभियानकर्मीको खोल ओढेर विरोधमा आएको महसुस भएको छ । यसमा सबै सतर्क हुन आवश्यक छ ।’

    कमलापोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलिन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारले धारणा राखे । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा कामपालाई पटक–पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाइ नगरेकाले थप कानूनी प्रक्रिया अघि बढाउने तुलाधरको भनाइ छ ।

  • काठमाडौं महानगरका १५ सय कर्मचारी समायोजनमा

    काठमाडौं महानगरका १५ सय कर्मचारी समायोजनमा

    रासस । काठमाडौँ महानगरपालिकामा कार्यरत १ हजार ५ सय ५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ ।

    यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन- २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।

    समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ ।

    समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन-जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो ।

    समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए ।

    ‘समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ’, प्रमुख शाक्यले भने ।

    आगामी दिनमा कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएको भन्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको धारणा राखिन् । यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक ३० लाख ५० हजार रुपैयाँ आर्थिक दायित्व थपिने छ ।