Tag: कर

  • ४० लाखले लिए स्थायी लेखा नम्बर

    ४० लाखले लिए स्थायी लेखा नम्बर

    सरकारले करको दायरा बढाएसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

    विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७/७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।

    कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७/७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७/७८ मा रु ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

    आव २०७७/७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा रु दुई खर्ब ८७ अर्ब छ करोड असुली भएको छ । यस्तै सोही अवधिमा रु दुई खर्ब ७७ करोड आयकर र रु एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क सङ्कलन भएको छ ।

    आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु रु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकामा गत आवमा रु २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार फछ्र्योट भएको विभागले जनाएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ रु ३७ हजार ८६८ करदाता दर्ता भएको र हालसम्म दुई लाख ६८ हजार ४३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ ।

  • सामाजिक सञ्जालकाे आम्दानीमा सरकारले लगायो कर

    सामाजिक सञ्जालकाे आम्दानीमा सरकारले लगायो कर

    काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले विभिन्न सामाजिक सञ्जालमा कर लगाउने बताएको छ ।

    नेपालभित्र व्यवसाय सञ्चालनमा संलग्न नरहेका प्राकृतिक बासिन्दाले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा मार्फत प्राप्त भएको आम्दानीमा १ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।

    सामाजिक सञ्चालमा श्रव्य दृश्य सामाग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्तमा त्यसमा कर लाग्ने व्यवस्था गरिएको हो ।

    यस्तो आम्दानी बापत बिदेशी मुद्रा प्राप्त गर्दा सम्वन्धी बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण गर्ने संस्थाले एक प्रतिशतका दरले अग्रिम कर अुसले गर्ने व्यवस्था गरिएको छ ।

  • काठमाडौं महानगरले हटाउन थाल्यो कर नतिर्नेको विज्ञापन (तस्विरहरु)

    काठमाडौं महानगरले हटाउन थाल्यो कर नतिर्नेको विज्ञापन (तस्विरहरु)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाता कम्पनीको विज्ञापन हटाउन शुरु गरेको छ । कर बुझाउन पटकपटक आग्रह गरेपनि कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले सडकमाको पोलमा राखिएको करदाता कम्पनीको विज्ञापन महानगरले हटाउन  शुरु हो ।

    महानगर प्रहरीले आजदेखि विजुलीको पोलमा राखिएको विज्ञापन निकाल्न शुरु गरेको महानगर प्रहरीले जनाएको छ । महानगरले करदातालाई पटकपटक पत्राचार गर्दासमेत कर नतिरेपछि सूची निकालेको थियो ।

    काठमाडौं महानगरभित्र मात्रै ९०० वटा बिज्ञापन निकाल्न थालिएको काठमाडौं महानगरले बताएको छ । कर नतिरेको भएर बिज्ञापन निकाल्न थालिएको महानगर प्रहरीले बताएका छन् ।

    यसअघि काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिनको अल्टिमेटम दिएको थियो ।

    नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने चेतावनी दिएको थियो ।

     

  • सर्वसाधारणलाई करकर गर्ने सरकारी कम्पनी नै तिर्दैनन् कर

    सर्वसाधारणलाई करकर गर्ने सरकारी कम्पनी नै तिर्दैनन् कर

    काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले ठूला कर्पोरेट हाउससँगै कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गर्‍यो । ती ५२ कम्पनीमध्ये ६ वटा सरकारी स्वामित्वका हुन् ।

    घरजग्गा र सम्पत्ति कर समयमा बुझाउनु पर्छ भन्ने सरकारी कम्पनीलाई नै थाहा नहुने कुरा भएन । निजी क्षेत्रले कर नतिर्दा सरकारले जरिवाना गर्ने तथा नमाने कम्पनीको खाता रोक्कासमेत गर्ने गरेको छ । तर, सरकारी कम्पनीका हकमा त्यस्तो कारवाही गरिएको पाइँदैन ।

    काठमाडौं महानगरपालिकाले करदातालाई पटक-पटक पत्राचार गर्दासमेत कर नतिरेपछि सूची निकालेको विभागले बताएको छ । सार्वजनिक भएका ५२ वटा कम्पनीमध्ये नेपाल विद्युत्‌ प्राधिकरण, राष्ट्रिय नाचघर, साझा भण्डार, खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड र कर्मचारी सञ्चयकोष भवन सरकारी कम्पनी हुन् ।

    विद्युत् प्राधिकरणले विद्युतका उपभोक्ताहरूले समयमा नै विजुलीको पैसा तिरेन भने जरिवाना लगाउने गर्छ । आफ्ना उपभोक्तालाई समयमै महसुल तिनुपर्छ भनेर शिक्षा दिने प्राधिकरणले नै काठमाडौं महानगरपालिकालाई अहिलेसम्म घरजग्गा र सम्पत्ति कर तिरेको छैन । प्राधिकरणलाई घरजग्गा र सम्पत्ति कर तिर्न पैसाको अभाव भएको पक्कै होइन ।

    कर नतिरेको विषयमा प्रश्न गर्दा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिना महानगरपालिकाले प्राधिकरणलाई करिब २ अर्ब रूपैयाँ महसुल बक्यौता राखेको बताउँछन् ।

    उनले भने, ‘काठमाडौं महानगरपालिकालाई प्राधिकरणले तिर्नुपर्ने भन्दा धेरै बक्यौता महानगरले हामीलाई तिर्न बाँकी छ । हामीले धेरैपटक ताकेता गरिसकेका छौं । तर, महानगरपालिकाले करिब २ अर्ब विद्युतको बक्यौता तिर्न कुनै चासो देखाएको छैन । महानगरपालिकाले हाम्रो बक्यौता तिरेपछि हामी पनि घरजग्गा र सम्पत्ति कर तिर्छौं।’

    काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले धेरैपटक कर तिर्न ताकेता गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले ५२ वटा कम्पनीका नाम सार्वजनिक गरेको बताए । ती कम्पनीबाट करिब ७५ करोड कर उठ्न बाँकी रहेको उनको भनाइ छ ।

    अधिकारीले भने, ‘विभागले लामो समयदेखि वडामार्फत गरेको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको हो । ३० दिनभित्र पनि करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ ।’

    विभागका अनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् भन केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको अधिकारीले बताए । तीमध्ये केही सम्पर्कमा आएका छैनन् ।’

    पूर्वअर्थसचिव रामेश्वर खनाल नाम सार्वजनिक गर्न महानगरले हतार गरेको बताउँछन् ।

    ‘कर तिर्न बाँकी रहेका कम्पनीहरूलाई पहिलेदेखि नै सम्पर्कमा ल्याएर करका बारेमा जानकारी गराउनुपर्थ्यो,’ उनले भने, ‘आन्तरिक राजस्व विभागले पनि कर बुझाउनेको विवरण संकलन गरेर ताकेता गर्नुपर्ने हो ।’

    अहिले ५२ वटा कम्पनीको मात्रै कुरा आएको भए पनि घरजग्गा र सम्पत्ति कर धेरैले नतिरेको खनालको भनाइ छ ।

    उनले थपे, ‘मैले कर कार्यालयलाई कर तिर्ने समयभन्दा १ महिना पहिले नै मोबाइलमा बिल पठाउन भन्ने गरेको छु । तर, त्यसरी बिल कहिलै पनि आएको छैन । कर कार्यालयसँग कर तिर्ने सबै व्यक्ति वा कम्पनीको नम्बर हुन्छ । त्यो नम्बरमा तिर्नुपर्ने करको बिल पठाउन सरकालाई ठूलो खर्च लाग्ने पनि हैन । त्यसरी मोबाइलमा नै बिल पठाउदा करदाताले थाहा भएन, विर्सिएछु भन्न पनि पाउदैनन ।’

    अर्थसचिव भएको बेला आफूले पनि कर तिर्ने समयभन्दा केहीअघि नै करदातालाई एसएमएस पठाउने सिस्टम बसाल्न खोजेको उनले बताए । तर, समय कम भएकाले त्यो काम पूरा गर्न नसकेको खनालको भनाइ छ ।

  • दुईपांग्रे सवारी साधनको कर बढ्यो, अब कुनको कति ?

    दुईपांग्रे सवारी साधनको कर बढ्यो, अब कुनको कति ?

    काठमाडौं । दुई पांग्रे सवारी साधनमा इन्जिन क्षमता अनुसार २ सयदेखि २ हजार रुपैयाँसम्म कर वृद्धि भएको छ । चालू अबको बजेट अनुसार बागमती प्रदेशमा दुई पांग्रे सवारी साधनको कर बढेको हो ।

    बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बढाएको हो ।

    बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङ्गेलले बाइक तथा स्कुटरमा कर वृद्धि भएको बताए ।
    मन्त्री ढुङ्गेलले भने, ‘स्रोत र साधन जुटाउन कै लागि कर वृद्धि गरिएको हो । आर्थिक अवस्था ठिकै भएकाले नै दुई पांगे सवारी साधन प्रयोग गर्ने हो । थोरै मात्र कर वृद्धि भएको हो ।’

    नयाँ कर अनुसार अब कुनमा कति ?

    नयाँ कर अनुसार अब १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्सी २ सय रुपैयाँ वृद्धि भएको छ । पहिले १२५ सीसीको दुईपांग्रे सवारी साधनको २ हजार ८ सय रुपैयाँ रहेको थियो । भने अब ३ हजार तिर्नु पर्ने छ ।

    १२५ सीसीदेखि १५० सीसीसम्मका दुई पांगे्र सवारी साधनले ५ हजार, १५० देखि २२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरले ६ हजार ५ सय, २२५ देखि ४ सय सीसीसम्मका दुई पांगे्र सवारीले ११ हजार तिर्नुपर्नेछ ।

    ४ सयदेखि ६५० सीसी र ६५० सीसदेखि माथिका पुरानै रहेको छ । ४ सयदेखि ६५० सीसीका दुुई पांगे सवारीले २० हजार तथा र ६५० सीसीदेखि माथि सवारी साधनले ३० हजार रुपैयाँ कर तिर्दै आइरहेका छन् ।

    विद्युतीय सवारीमा कति ?

    विद्युतीय सवारी साधनमा ३५० देखि १ हजार वाटसम्मकालाई २ हजार, १ हजारदेखि १ हजार ५ सय वाटलाई २ हजार ५ सय रुपैयाँ र १ हजार ५ सयवाटभन्दा माथिका विद्युतीय सवारीलाई ३ हजार रुपैयाँ कर तोकिएको छ ।

  • निषेधाज्ञासँगै कर तिर्न नसक्ने सरकारसमक्ष निजी क्षेत्रको एकपछि अर्को पत्र

    निषेधाज्ञासँगै कर तिर्न नसक्ने सरकारसमक्ष निजी क्षेत्रको एकपछि अर्को पत्र

    काठमाडौं । निजि क्षेत्रका छाता संगठनहरु उद्योग वाणिज्य महासंघ , नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले निषेधाज्ञा शुरू भएको एक हप्ता नहुँदै सरकारलाई कर तिर्न नसक्ने भन्दै पत्र थमाएका छन् ।

    सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्युटर एशोसियसन नेपाल महासंघ ‘क्यान’ ले पनि सरकारलाई पठाएको छ ।

    निषेधाज्ञालाई कारण देखाउँदै क्यानले काठमाण्डौं उपत्यका लगायतका कतिपय जिल्लामा अत्यावश्यकबाहेक सबै प्रकारका सेवाहरू ठप्प भएको, घरबाहिर निस्किन नपाएको , सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा पनि रोकका कारण कार्यालयसम्म पुग्न र विवरणहरु लिन नसकिने अवस्था भएको भन्दै कर तिर्ने म्याद थपका लागि आग्रह गरेको छ ।

    मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन संघको माग छ ।

    साथै, कर्मचारी आफ्नै संक्रमित भएकाले कार्यालय आउन जान नसक्ने अवस्था रहकेको भन्दै २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेको संघको भनाइ छ ।

  • कोरोनाका बीच २३ करोडभन्दा बढी राजस्व सङ्कलन

    कोरोनाका बीच २३ करोडभन्दा बढी राजस्व सङ्कलन

    बिराटनगर । कोरोनाको प्रभावमा पनि आन्तरिक राजस्व कार्यालय विराटनगरले करिव २३ करोड बढी राजस्व संकलन गरको छ ।

    कार्यालयले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको हो ।

    २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा एक अर्ब ३३ करोड १० लाख ९ हजार बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ ।

    अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सङ्कलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको कार्यालय प्रमुख सापकोटाले बताए । अन्तःशुल्क चालु आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक सङ्केत हो ।

    कार्यालयले सो अवधिमा आयकरतर्फ दुई अर्ब ४३ करोड छ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ एक अर्ब ९१ करोड २७ लाख ३६ हजार सङ्कलन गरेको छ ।

    सङ्कलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।

    गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १०४ प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो ।

    विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक सङ्केत देखिएको प्रमुख सापकोटाको भनाइ छ ।

  • पुल तर्न २० रुपैयाँ कर

    पुल तर्न २० रुपैयाँ कर

    बाग्लुङ । बाग्लुङ–पर्वत जोड्ने झोलुङ्गे पुल प्रयोग गरेवापत बाग्लुङ नगरपालिकाले स्थानीयसँग कर असुली गर्न थालेको छ ।

    नगरपालिकाले बाग्लुङ नगरपालिकाको बाङ्गेचौर र कुस्मा नगरपालिकाको अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तरेवापत रु २० पूर्वाधार कर असुल गर्न थालेको हो । स‌ंघीय सरकारले निर्माण गरेको उक्त पुल नेपालकै लामो दावी गरिँदै आएको छ ।

    नगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई प्रतिव्यक्ति रु १० र अन्य व्यक्तिलाई रु २० कर लिने निर्णय भएको बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।

    बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । पुलमार्फत ओहरदोहर गर्ने कर तिर्नु पर्ने भएपछि सामाजिक सञ्जालमा नगरपालिकाको आलोचना भएको छ ।

  • कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन महानगरपालिकाको निर्देशन

    कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन महानगरपालिकाको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो ।

    व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई सात दिनको समय दिएर विभाग बोलाइएको हो ।

    विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार अहिले विभागले नयाँ सडक, लाजिम्पाट, पानीपोखरी महाराजगञ्जसम्म मूल सडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमूलकरूपमा अनुगमन गरेको छ ।

    व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको संख्या कम रहेको पनि अनुगमनका क्रममा देखिएको छ । विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमूलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गरिने विभागका प्रमुख डा अधिकारीले जानकारी दिए ।

    जागरणमूलक र शिक्षामूलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिने र कानूनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने कामपाको अबको योजना रहेको छ । करदाताको सहजताका लागि कामपाले गत असोज १ गतेदेखि १० वडाबाट र १३ गतेदेखि ३२ वटै वडाबाट अनलाइन राजस्व निर्धारण तथा संकलन कार्य थालेको छ ।

    रासस