Tag: कमला पुल

  • सिरहा- धनुषा जोड्ने कमला पुलको अर्को पिलर पनि भासियो

    सिरहा- धनुषा जोड्ने कमला पुलको अर्को पिलर पनि भासियो

    जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा- धनुषा जोड्ने कमला नदीमा निर्माणाधिन पुलको अर्को पिलर (स्पान) पनि भासिएको छ । नदीमा आएको बाढीका कारण बुधवार पुलको अर्को पिलर पनि भासेको हो ।

    धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले पुष्टि गरे । पिलर भासिएको सूचना आएपछि कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न पठाएको उनले जानकारी दिए ।

    पुल निर्माणको काम सकिनै लाग्दा गत असार १७ मा नदीमा आएको बाढीका कारण तीन वटा पिलर भासिएको थियो ।

    पप्पु-लुम्बिनी जेभीले पुल निर्माणका लागि २०६८ सालमै करिब २५ करोडमा ठेक्का लिएको थियो । तीन वर्षमै निर्माण गर्नुपर्ने सो पुल सात वर्षसम्म २५ प्रतिशत काम मात्र गरे । पछि घाटा लाग्ने अबस्था आएपछि पप्पुले हात झिक्यो ।

    पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गर्ने सम्झौता गरे । तर फिनिसिंगको काम गरी उद्घाटनको तरखरमा रहेको बेला परेको अविरल वर्षापछि आएको बाढीले पिलर भासिएको थियो ।

    सरकारले भासिएको पिलर पुनर्निर्माण गर्न निर्देशन दिएको बेला पुनस् अर्को पिलर भासिएको छ । सम्झौता अनुसार पिलर नगाडेका कारण भासिएकोले अब नयाँ तरिकाले पुन पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

  • डिजाइन नै गलत भएकाले कमला पुल भासियोः पूर्वमन्त्री झा

    डिजाइन नै गलत भएकाले कमला पुल भासियोः पूर्वमन्त्री झा

    जनकपुरधाम । पूर्वमन्त्री रामचन्द्र झाले गलत डिजाइनकै कारण सिरहा–धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुल भासिएको बताएका छन् ।

    पुल भासिएपछि अवलोकन गर्न पुगेका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने, ‘एक त डिजाइन नै गलत थियो ।

    डिजाइनअनुसार काम पनि भएन । त्यसैले पुल भासियो । मैले त शिलान्याशका बेला नै डिजाइन सच्याउन भनेको थिएँ ।

    पूर्वपश्चिम राजमार्गमा रहेको कमला पुल करिब ८ सय मिटरको छ । हुलाकी सडकसम्म आउँदा थप चार नदी मिलेपछि नदी फराकिलो बनेको छ । तर ७ सय मिटर मात्र पुल बनाउने डिजाइन भएको थियो । उनले भने– कम्तिमा एक हजार मिटरको पुल बन्नुपर्थ्यो ।

    उनका अनुसार पिलरको गहिराई ३७ मिटर हुनुपर्ने स्टमेटमा उल्लेख छ । तर मात्र १७ मिटर गहिराइमा पिलर खडा गरियो । यसमा ठूलो रकमको चलखेल भएको शंका गरिएको छ । मन्त्री, नेता र तत्कालीन डिई अर्जुन यादवको मिलोमतोमा पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको उनको आरोप छ ।

    ‘पुलको डिजाइन सच्याउन सोहीबेला जनकपुरस्थित मुजेलियामा रहेको यातायात कार्यालय घेराउसम्म भएको थियो’, उनले भने, ‘तर हाम्रो कुरा कसैले सुनेन । परिणामतः पुल भासियो ।’

    पुल भासिएको विषयमा छानविन गरी दोषीमाथि काराही गर्नुपर्ने सिरहा– धनुषाका सो क्षेत्रका बासिन्दाको पनि माग छ ।

    पुलका १२ पिलरमध्ये दुईवटा भासिएको छ । बिहीवार एउटा पिलर मात्र भासिएको थियो । तर शुक्रबार अर्को पिलर पनि भासिएको छ ।

    ४२ महिनामा निर्माण गर्नेगरी पप्पु–लुम्बिनी जेभीले पुलको ठेक्का लिएको थियो । तर ७ वर्षमा पप्पुले पिलर मात्रै ठड्यायो । पछि घाटा लाग्ने भन्दै काम नै छाड्यो । त्यसपछिको काम लुम्बिनी बिल्डर्सले गरेको हो ।

  • भासिएको कमला पुलबारे छानविनको माग गर्दै सिरहामा प्रदर्शन

    भासिएको कमला पुलबारे छानविनको माग गर्दै सिरहामा प्रदर्शन

    जनकपुरधाम । १० वर्ष लगाएर निर्माण गरिएको हुलाकी सडकअन्तर्गतको कमला पुल भासिएपछि सिरहामा आन्दोलन सुरू भएको छ ।

    पुल भासिएको विषयमा छानविन गर, अविलम्ब पुल निर्माण गर, दोषीलाई कारबाही गरलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका युवाहरूले सिरहा सदरमुकाममा प्रदर्शन गरेका हुन् । सरकारको उदासिनताले ठेकेदार गुणस्तरहीन काम गरेको र त्यही कारण पुल भासिएको उनीहरूको भनाइ छ ।

    यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भासिएको पुलको निरीक्षण गरेका छन् । उनले पुल पुन: निर्माण ठेकेदार कम्पनीलाई गर्नुपर्ने भन्दै समयमा पुल संचालन नहुनु राज्यलाई घाटा भएको उनले बताए ।

    सिरहा-धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का २०६८ मै पप्पु-लुम्बिनी जेभीले पौने २५ करोडमा ठेक्का लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गराएको छ ।