Tag: औषधी व्यवस्था विभाग

  • बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

    बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

    काठमाडौं । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीले ल्याएको कोरोनाविरुद्धको खोपलाई लिएर विवाद भएको छ । राजकुमारले उपहारस्वरुप दुइ लाख डोज खोप आफूसँगै ल्याएका थिए । बहराइनस्थित नेपाली दूतावासले राजकुमारले आफूसँग अस्ट्राजेनेकाको कोभिसिल्ड खोप ल्याएको चैत दुइ गते विज्ञप्तीमार्फत जनाएको थियो । तर, औषधी व्यवस्था विभागले गरेको परिक्षणमा चाहिँ उक्त खोप चीनको सिनोफार्म भएको खुलेको छ ।

    दूतावासले विज्ञप्तीमा तोकेबमोजिम खोप नपाइएपछि अहिले परराष्ट्र मन्त्रालयले राजदूत पदम सुन्दासमाथि छानविन सुरु गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले यसबारे बुझ्ने काम भैरहेको बताइन् । ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय हुनुपर्ने हो तर, एम्बेसीले त्यस्तो गरेको पाइएन । उहाँहरुले पनि सिफारिसको आधारमा उल्लेख गर्नुभयो होला । हामीले यसबारे बुझ्ने काम गरिरहेका छौं,’ लम्सालले भनिन् ।

    थाहै नभएको विषयमा हतार–हतार विज्ञप्ती निकालेको भन्दै राजदूत सुन्दासलाई परराष्ट्रले प्रश्न सोधेको हो । प्रवक्ता लम्सालले राजदूतावासले राजकुमारकै सिफारिसमा विज्ञप्तीमा अस्ट्राजेनेका खोप उल्लेख गरेको हुनसक्ने बताइन् । राजदूत सुन्दासको कार्यकाल सकिन जम्मा ४ महिना बाँकी छ र उनी कार्यकालको अन्त्यमा खोप विवादमा तानिएका हुन् ।

  • दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    काठमाडौं । औषधी व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत र सशस्त्र प्रहरी बल वेश क्याम्प, रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै विभागका विराटनगर शाखाका फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग २ लाख रकम घुस लिएको अभियोगमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

    यस्तै सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले ५० हजार रकम घुस लिने क्रममा आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    सुवेदी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुुसार दुइ लाख बिगोसहित र पौडेल तथा पासी विरुद्व ५० हजार विगोसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।