काठमाडौं । नेकपा एमालेलाई एकतावद्ध राख्न ‘निर्णायक’ वार्तामा जुटेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सकिएको छ ।
नागपोखरीस्थित होटल मेरियटमा आज झण्डै डेढ घण्टा दुई नेताबीच वार्ता भएको छ । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन । मेरियटबाट केपी ओली बाहिरिसकेका छन् । माधवकुमार नेपाल भने होटलमै छन् ।
बुधबार र आज भएको ओली-नेपालबीचको भेटले लामो संवादहिनता तोडेको छ ।
काठमाडौं । पार्टी विभाजनको डिलमा पुगेका बेला आज अकस्मात एमाले समर्थकहरुले खुशीको खबर सुने । पार्टीका शिर्ष नेताद्वय केपी शर्मा ओली र माधव नेपाल वान अन वान वार्तामा बस्दैछन् ।
होटल मेरियटमा नेताद्वयको भेटवार्ता अचानक तय भएको थियो । करिब दुई घन्टा उनीहरुले मन माझामाझ गरे । कुराकानी के-कस्तो भयो भन्ने बाहिर आइसकेको छैन । तर, होटलबाट निस्किँदा माधव नेपालको बडील्याङ्वेज सकारात्मक नै थियो । यद्यपि, दुवै नेताले मास्क लगाएकाले अनुहारको भाव देख्न सकिएन ।
नेताद्वय म्यारियट होटल पस्दा मिडियाकर्मीले सूईंको नै पाएका थिएनन् । तर, उनीहरु दुई घन्टा वार्ता गरेर निस्कँदा होटल परिसरमा पत्रकारको घुँइचो लागिसकेको थियो । एकछिन हुलमुलकै अवस्था आएका थियो । पत्रकारले नेपाललाई रोकेर प्रतिक्रिया माग्न खोज्दा नेपाल पन्छिए । ‘साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्छु’ भन्दै उनी गाडीभित्र छिरे ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पत्रकारको नजिक नै परेनन् । अनौपचारिक पोशाकमा रहेका उनी सुरक्षा घेरामा फटाफट बाहिरिए ।
नेताहरुबीच वार्ता सुरु भएको समाचार सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा तरंग उब्जिएको थियो । एमालेका समर्थक र शुभचिन्तकले यो पहललाई सकारात्मक रुपमा लिएका छन् । पार्टी एक हुनुपर्छ भन्ने उनीहरुको चाहना प्रकट भएको छ ।
आमजनताले पनि सत्तारुढ दल नफुटोस भन्ने नै चाहेका छन् । यो जनचाहनालाई बुझेर दुवै नेताहरुले अब आफूलाई कति लचक बनाउँछन् भन्ने हेर्न बाँकी छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएपछि ओली र नेपालबीच यो सम्भवत दोस्रो प्रत्यक्ष भेट थियो । यसअघि उनीहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा सामूहिक वार्तामा बसेका थिए । एक्लाएक्लै भेट चाहिँ यो पहिलो हो । माधव नेपालले आफूँ बालुवाटार नजाने अडान लिँदै आएका छन् ।
काठमाडौं । राजधानीको नागपोखरीस्थित पाँच तारे होटल मेरियट लकडाउनमा पनि बन्द नभएको र तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई बाबुराम भट्टराई निकट नेता कार्यकर्ताले भगाएपछि चर्चामा आएको थियो ।
बुधवार साँझ करीव विभाजनको डिलमा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तास्थल समेत यही होटल बनेपछि मेरियट फेरि चर्चित बनेको छ ।
साँझ ६ बजेदेखि ओली र नेपालबीच वार्ता भएको मेरियटको स्वीट रुम भने दिउँसो नै मोतिलाल दुगडको नाममा बुक भइसकेको होटल स्रोतले जनाएको छ । कोठा नम्बर ९०१ प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार समेत रहेका एमाले सांसद दुगडको नाममा बुक गरिएको थियो ।
मेरियटमै अर्थमन्त्री बिष्णु पौडेल दिउँसैदेखि बजेट सम्बन्धी आन्तरिक छलफलमा थिए । दुई नेताबीच वार्ता शुरु भएपछि पौडेल भने निस्किएका थिए । वान टु वान कुरा गरुन् भनेर पौडेल निस्किए । दुगड भने वार्ताको व्यवस्थापक भएकाले होटलमै रहे । उनले दुई नेताबीच वार्ताको व्यवस्थापन गरेको बताइएको छ ।
प्रधानमन्त्रीकै रुची अनुसार वार्तास्थल मेरियट छानिएको बताइएको छ ।