Tag: ओलम्पिक

  • सकियो ओलम्पिकः अमेरिका शीर्ष स्थानमा

    सकियो ओलम्पिकः अमेरिका शीर्ष स्थानमा

    काठमाडौं । जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । ह्यान्डबल, साइक्लिङ, बास्केटबल, भलिबल लगायतको फाइनलसँगै सबै स्पर्धा सकिएका हुन् ।

    अहिले टोकियोमा ओलम्पिकको समापन समारोह चलिरहेको छ । यो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य पदकसहित अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो भयो ।

    चीनले ३८ स्वर्ण, ३२ रजत र १७ कास्य पदक जितेको थियो । आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित तेस्रो स्थान हासिल गर्दा नेपालको ओलाम्पिक यात्रा सहभागितामै सीमित भएको थियो ।

  • ओलम्पिक २०२० : तीन राष्ट्रिय कीर्तिमान नेपालको सान्त्वना

    ओलम्पिक २०२० : तीन राष्ट्रिय कीर्तिमान नेपालको सान्त्वना

    काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३२ औं संस्करणमा पनि नेपाल सहभागितामै सीमित भयो । यद्यपि, यो अपेक्षित नै थियो ।

    सन् १९६४ देखि ओलम्पिकमा सहभागिता जनाउन थालेको नेपालले अहिलेसम्म निराशामात्रै हात पारिरहेको छ । ५७ वर्षपछि अहिले पनि जापानमै जारी ओलम्पिकमा पनि नेपाल उही सहभागितामै सीमित भयो । नेपालको लागि सान्त्वनाको पक्ष भनेको तीन राष्ट्रिय कीर्तिमान तोडिनुमात्रै रह्यो ।

    यो वर्ष नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पौडीका गौरिका सिंह र एलेक्स साह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी ।

    प्रत्यक्ष छनोट नभएर पाँचै खेलाडीले वाइल्ड कार्डमा सहभागिताको अवसर पाएका थिए । तीमध्ये झिनो आशा गरिएको खेल थियो- पौडी । त्यसमा पनि १०० मिटर महिला फ्रि-स्टाइलमा सहभागिता जनाएकी गौरिकासँग अलिकति आशा गरिनु स्वभाविक थियो । किनभने, उनले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्णसहित कुल ९ पदक जितेकी गौरिकाले त्यसअघि पनि एक ओलम्पिकको अनुभव लिइसकेकी थिइन् । तर, उनी पनि दोस्रो राउन्डमा प्रवेश गर्न चुकिन् ।

    कस्तो रह्यो पाँच खेलाडीको ओलम्पिक नतिजा ?

    नेपालको ओलम्पिक यात्रा पूर्णरूपमा समाप्त भइसकेको छ । यस क्रममा नेपाली खेलाडीले व्यक्तिगत प्रदर्शन सुधार्ने र राष्ट्रिय कीर्तिमान भने प्रायले बनाए । तर, ऐतिहासिक उपलब्धी केही भएन ।

    सोनिया भट्ट- जुडो

    गत शनिबार जुडोको प्रतिस्पर्धासँगै नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो । तर, जुडोको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै टोकियो पुगेकी सोनिया भट्ट पहिलो खेलमै पराजित भएसँगै नेपालको एउटा यात्रा त्यही टुंगिएको थियो ।

    रुसकी प्रतिस्पर्धीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै सोनिया पराजित हुँदा पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।

    कल्पना परियार- सुटिङ

    सोही शनिबार भएको अर्को खेलमा नेपालले सुटिङमा प्रतिस्पर्धा गर्दै थियो । र, सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय व्यहोर्नुपर्‍यो । उक्त खेलको स्वर्णपदक चीनले हात पार्दा कल्पनाले राष्ट्रिय कीर्तिमान भने कायम गरिन् ।

    महिला १० मिटर एयर राइफल इभेन्टको छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै उनले आफ्नो नामको राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् । सागमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान राखेकी थिइन् ।

    एलेक्स साह- पौडी

    नेपालबाहिरै बसेर नेपालको प्रतिनिधित्व गरिरहेका एलेक्स साहले पुरुष १०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । उनले पनि आफ्नो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

    आफ्नो हिटमा शीर्ष स्थान हासिल गरेका एलेक्सले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारे । उनले ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गर्दै ५३.४१ को नयाँ कीर्तिमान बनाए ।

    गौरिका सिंह- पौडी

    नेपालको सबैभन्दा धेरै अपेक्षा बोकेकी गौरिकाको प्रदर्शन भने यसपाली औसत मात्रै रह्यो । रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा बटुलेकी गौरिकाले आफ्नो हिटसमेत जितेकी थिइन् ।

    तर, यो वर्ष भने आफ्नै नामको कीर्तिमान सुधार गरिन् । त्यसबाहेक खासै उपलब्धी हात परेन । उनले २०१९ मा दक्षिण कोरियामा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसीपमा महिला १०० मिटर फ्रि-स्टाइलमा १:००:६२ समयको कीर्तिमान राखेकी थिइन् ।

    सोही कीर्तिमानलाई १:००:११ मा छोट्याउँदै कीर्तिमान बनाउनुबाहेक उनले हिट पनि जित्न सकिनन् । हिट-१ मै रहेकी गौरिका नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका गरी चार खेलाडीमध्ये तेस्रो भएकी थिइन् ।

    सरस्वती चौधरी- एथ्लेटिक्स

    लामो समयदेखि ओलम्पिकका लागि भन्दै तयारी गरिरहेका गोपीचन्द्र पार्कीले ओलम्पिक गुमाएसँगै सरस्वतीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् । तर, उनको ओलम्पिक अनुभव पनि सहभागितामै सीमित भयो ।

    शुक्रबार बिहान भएको १०० मिटर दौडको पहिलो चरणबाटै बाहिरिएकी सरस्वतीले निर्धारित दूरी पार गर्न १२.९१ सेकेन्ड समय खर्चिएकी थिइन् । ९ खेलाडीले प्रतिस्पर्धा गरेको त्यो इभेन्टमा सरस्वती आठौं स्थानमा सीमित भइन् ।

    दुई साताको मात्रै तयारी गरेर ओलम्पिक खेल्न जापान पुगेकी सरस्वतीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकी थिइन् । तर, त्यो सम्भव भएन ।

  • गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

    गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

    काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

    बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।

    गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

    २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।

  • ओलम्पिक यात्राको ५७ वर्ष : सहभागितामा मात्र सीमित

    ओलम्पिक यात्राको ५७ वर्ष : सहभागितामा मात्र सीमित

    काठमाडौं । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन ।

    खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका लागि राज्यको लगानी आवश्यक छ । नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका हुन् । हालसम्म नेपाली खेलाडीले पदक प्राप्त गर्न भने सकेका छैनन् । ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ ।

    सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी कञ्चनपुरका बक्सर विष्णुुबहादुर सिंहले भने एउटा बाउट जितेका थिए । सो ओलम्पिकमा उनीसँगै डम्बरदत्त भट्ट पनि सहभागी भएका थिए । हाल सुदूरपश्चिम खेलकुद प्रशिक्षण विभागको नेतृत्वमा रहेका ओलम्पियन सिंहले सिउल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए ।

    सोही संस्करणमा सहभागी तेक्वान्दोका खेलाडी विधान लामाले कास्य पदक जितेका भए पनि त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलका रुपमा मात्र समावेश भएकाले त्यसले पदकको मान्यता पाउन सकेन् । बक्सिङका वरिष्ठ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले सिउल ओलम्पिकमा पहिलो खेल पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए । ‘दोस्रो खेल अमेरिकासित परेको थियो’, उनले भने, ‘खेल्दै गर्दा दोस्रो राउण्डमा रेफ्रीले खेल नै रोके ।’ उनले दोस्रो खेलमा रेफ्री अलमलमा पर्दा आफ्नो खेल अधुरैमा रोकिएको बताए । ‘रिङको कर्नरमा लगेर प्रहार गरिरहेको थिए ।’ उनले भने, ‘रेफ्रीले मलाई खेल्न नसक्ने भन्दै खेल नै रोके ।’

    उनले ओलम्पिकमा सहभागी हुनुपुर्व दुई महिना थाइल्याण्डमा बन्द प्रशिक्षणमा बसेको बताए । ‘नेपालबाट बन्द प्रशिक्षणका लागि बक्सिङ खेलका सात जना गएका थियौँ’, सिंहले भने, ‘दुई जना खेलाडीको स्तर नपुगेको भन्दै नेपाल फर्कादिएको थियो ।’ उनले नेपाली खेलाडीले पदक जित्ने आशा लिए पनि स्तर भने नपुगेको बताए ।

    ‘अरुहरुको चार वर्षे, आठ वर्षे तालिम योजनासहित खेलाडी प्रशिक्षणमा हुन्छन्’, उनले भने, ‘हाम्रो तालिमको स्तर नै पुग्दैन ।’ उनले खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा अन्तरर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराइराख्नुपर्नेमा जोड दिए ।

    ‘हरेक खेलाडीले ओलम्पिक खेल्ने चाहना राख्नसक्छन्’, सिंहले भने, ‘तर बक्सिङमा हामीपछि अहिलेसम्म नेपाली बक्सर पुग्न सकेका छैनन् ।’ यसैगरी डडेल्लधुराकी सरस्वती भट्टराई रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी भएकी थिइन् । हाल उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । त्यसैगरी सोल ओलम्पिकमा सहभागी अर्का बक्सर डम्बरदत्त भट्ट नेपाली खेलाडीहरुको स्तर पदक जित्ने अझै भइनसकेको बर्ताए । ‘अहिले सहभागिता मात्रै होला जस्तो छ’, उनले भने, ‘योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन ।’ उनले खेलाडीलाई सधैँ बन्द प्रशिक्षण आवश्यक रहने बताए ।

    ‘उदायमान खेलाडीलाई छुट्टै राखेर अध्ययापनलगायतका प्रबन्ध मिलाउनुपर्छ’, उनले भने, ‘राष्ट्रियस्तरको प्रदर्शनले मात्रै बाहिरका प्रतियोगितामा पदकको आश गर्नु बेकार कुरो हो ।’ खेलकूदको उर्वरभूमि सुदूरपश्चिम प्रदेशबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडीमा दिपक विष्ट पनि छन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दो खेलमा सहभागिता जनाएका थिए । हाल टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहको पुर्खौली घर सुदूरपश्चिमको बझाङ हो ।

    स्वदेशको प्रशिक्षणको मात्र भरपर्नु परिरहेको ओलम्पियन दिपक विष्ट बताउँछन् । स्वदेशको प्रशिक्षणले मात्र पदक प्राप्त सहज नहुने हुँदा सरकारले खेलाडीलाई विदेशमा प्रशिक्षणाको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । ओलम्पिक यात्राको ५७ वर्षपछि नेपालका पाँच खेलाडी हाल टोकियोमा जारी ३२औँ गीष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपटक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला शुरु भएको हो । कोरोनाका कारण खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसका लागि ११ हजार ९१ खेलाडी खेल मैदानमा छन् । नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले सहभागिता जनाएका छन् । रासस

  • चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

    चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

    टोकियो । टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।

    सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक हात पारे । स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको २५१‍.८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राखेकी छन् ।

  • गौरिक सिंह भन्छिन् : ओलम्पिकका लागि सक्दो तयारी गरेकी छु

    गौरिक सिंह भन्छिन् : ओलम्पिकका लागि सक्दो तयारी गरेकी छु

    काठमाडौं । टोकियोमा आयोजित ओलम्पिक प्रतियोगितामा भाग लिइरहेकी नेपालकी पौडीबाज गौरिका सिंहले आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको बताएकी छन् । प्रतियोगिताका लागि सक्दो तयारी गरेको उनको भनाइ छ ।

    प्रतियोगिताको उद्घाटन समारोह सुरु हुनुअघि गौरिकाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सबैलाई मायाँ र समर्थनका लागि धन्यवादसमेत दिएकी छन् ।

    उनले लेखेकी छन्, ‘मैले यो क्षणका लागि आफूले सक्दो प्रयास र तालीम गरेकी छु । टोकियो ओलम्पिक्स आशा, एकता र अठोटको बिम्ब हो । अघिल्लो वर्ष निकै चुनौतिपूर्ण थियो, तर यहाँसम्म आइपुग्दा धेरै गौरवान्वित छु ।’

    उद्घाटन समारोहमा भएको मार्चपासमा गौरिकाले नेपाली टिमको नेतृत्व गरेकी थिइन् । उनले अर्का पौडी खेलाडी एलेक्स शाहसँग मिलेर अग्रपंतिमा रही नेपालको झण्डा बोकेका थिए ।

  • टोकियो ओलम्पिक : ओलम्पिक भिलेजभित्रै खेलाडीहरुमा कोरोना पुष्टि

    टोकियो ओलम्पिक : ओलम्पिक भिलेजभित्रै खेलाडीहरुमा कोरोना पुष्टि

    काठमाडौं । टोकियो ओलम्पिकका खेलहरु सुरु हुनुभन्दा ५ दिनअगाडि ओलम्पिक भिलेजभित्रै २ खेलाडीहरु कोरोना संक्रमित भेटिएका छन् । आयोजकका अनुसार दुबै खेलाडी एकै टोलीका र एउटै खेलका हुन् ।

    कोभिड संक्रमित खेलाडीको परिचय गोप्य राखिएको छ भने सो टोलीका अन्य सदस्यलाई सेल्फ आइसोलेसनमा राखिएको छ । ओलम्पिक भिलेजमा पहिलोपटक उनीहरुमा कोभिड पुष्टि भएपछि आइतबार अरु खेलाडीहरुमा पनि कोरोना पुष्टि भएको छ ।

    टोकियोको आम जनसंख्यामा संक्रमणदर लगातार बढ्दो अवस्थामा छ । जापानी नागरिकहरुले अन्य देशका आगन्तुकहरु भित्र्याएर खेल सञ्चालन गर्ने कार्यको विरोध गरेका छन् ।

    टोकियो ओलम्पिक २०२० का प्रवक्ता मासा ताकाया ले भने, ‘उनीहरु एकै देश र एकै खेलका थिए । उनीहरु आफ्नै कोठामा आइसोलेटेड छन् । कोरोना संक्रमित खेलाडीलाई खानपिनको व्यवस्था आयोजक टोलीले गरिरहेको छन् ।’

    खेल प्रमुख सेइको हाशिमोटोले भने, ‘ओलम्पिक भिलेजमा कोरोना संक्रमण देखिएपछि जापान आउँदै गरेका खेलाडीहरु धेरै त्रसित छन् भन्ने मैले बुझेको छु । हामीले कोभिडबाट जोगिनका लागि हरसम्भव कोसिस गरिरहेका छौं, यदि यसबाट बच्न सकेनौ भने कसरी त्यसलाई ट्याकल गर्न तयार हुनुपर्छ ।

  • बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

    बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

    जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

    अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।

    कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ ।

    बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् । विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दाबी गरेका छन् ।

    उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।

    चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दबाबमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् ।

    बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ ।

  • टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता

    टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता

    काठमाडौं । टोक्यो ओलम्पिक खेल सुरु हुन तीन महिना बाँकी रहँदा जापानले राजधानी टोक्योसहित ओसाका र ह्योगो सहरमा स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।

    कोरोनाभाइरसको नयाँ प्रजाति फैलिएर स्वास्थ्य संरचनामा चुनौति सिर्जिएपछि जापानले यी तीन ठूला सहरमा नयाँ प्रतिबन्धहरु लागु गर्न लागेको हो । ती तीन सहरमा सार्वजनिक स्थानमा कडा प्रतिबन्ध लगाउन लागिएको हो ।

    ओसाकामा महामारी सुरु भएयताकै सर्वाधिक संक्रमण दर देखिएको र तेस्रो स्वास्थ्य आपतकाल लागु गर्न केन्द्रिय सरकारालाई निर्देशन दिइएको त्यहाँका मेयर हिरोफुमी युसिमोराले जानकारी दिए ।

    स्थानीय संचारमाध्यमका अनुसार टोक्यो गभर्नर युरिको कोइकोले पनि राजधानीमा आपतकाल लागु गर्न निर्देशन दिएका छन् । खोप अभियान चलिरहँदा पनि जापानमा नयाँ प्रजातिको भाइरस फैलिएपछि यसले कोरोना रोकथाममा चुनौति खडा गरेको छ ।

    मंगलबारसम्म जापानमा ५ लाख ४२ हजार कूल संक्रमित पुगेका छन् । सोही अवधीसम्म ९ हजार ७०० जनाको कोरोनाले मृत्यु भएको छ । चौंथो लहर आएपछि विज्ञहरुले जापानमा अवस्था भयावह हुन सक्ने चेतावनी दिएका छन् । जसले गर्दा २३ जुलाईबाट सुरु हुने भनिएको टोक्यो ओलम्पिक प्रभावित हुने हो कि भन्ने चिन्ता बढेको छ ।

  • ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

    ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

    टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् ।

    तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

    एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताए । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।

    जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उनले भने । के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भने, ‘यो सम्भव छ ।’

    उनले अगाडि भने, ‘जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।’

    टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन् । उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन् ।

    जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तिब्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार १०० भन्दा बढी नयाँ रोगी भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो ।

    जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । जापानमा खोप अभियानको नेतृत्व गरिरहेका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गरे । उनले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताए।

    गत वर्ष पनि कोभिडको सङ्क्रमण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ । दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।

    आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो । ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ ।