Tag: एसएसबी

  • एसएसबीले तुइन काटेकोमा अनेरास्ववियूको विरोध, दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग

    एसएसबीले तुइन काटेकोमा अनेरास्ववियूको विरोध, दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले दार्चुलाको महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनाको निन्दा एवं भत्र्सना गरेको छ ।

    शुक्रबार भारतीय एसएसबीले दार्चुलाको व्यास गाउँपालिका -२ मालघाटमा महाकाली तर्ने क्रममा तुइन काटिदिँदा ३५ वर्षीय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका थिए ।

    अनेरास्ववियुले उक्त घटना संलग्नलाई तत्काल कारबाही गरी पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनेरास्ववियूले माग गरेको छ ।घटनाको विषयमा सरकार नबोलेको भन्दै अनेरास्ववियुका संयोजक ऐन महरले आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट बिमुख हुने छुट यो सरकारलाई नभएको बताए ।

    अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै भारतीयले नेपालीमाथि ज्यादती गरेको बताउँदै भारतको दादागिरी कहिलेसम्म सहने भन्दै प्रश्न गरेको छ ।
    जारी विज्ञप्तिमा भनिएको छ,‘के नेपाली जनताले सधै नै उस्को ज्यादती र दादागिरी सहेर बस्नुपर्ने हो ? उस्को अगाडि निरीहता र लघुताभास बोध गर्नुपर्ने हो ? खोइ हाम्रो स्वाधीनता, सार्वभौमक्ता, स्वतन्त्रता र स्वाभिमान को रक्षा गरेको ? भारतको लागि बनेको कम्फर्टेबल सरकार किन मुखदर्शक बनेर बसेको छ ? आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारी बाट बिमुख हुने छुट यो सरकार लाई छ ? अनेरास्ववियु यो सरकारलाई गम्भीर प्रश्न गर्दछ ।’
    धामीसदरमुकाम खलङ्गा आउने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएका थिए ।

    धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

     

  • चेकजाँचका नाममा नेपाली महिलामाथि भारतीय एसएसबीको दुर्व्यवहार

    चेकजाँचका नाममा नेपाली महिलामाथि भारतीय एसएसबीको दुर्व्यवहार

    रूपन्देही । चेकजाँचका नाममा नेपाली महिलाले लगाएको कपडा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले च्यातिदिएपछि बेलहियावासी आन्दोलित भएका छन् । उनीहरुले नाका संचालन गर्न नदिने गरी आन्दोलनमा उत्रने बताएका छन् ।

    यस विषयमा आज दुवै पक्षका सुरक्षा निकायका अधिकारीहरु बसेर छलफल गरिने प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिए ।

    बुधबार साँझ महिलामाथि दुर्व्यवहार भएपछि नेपाली पक्षले बेलहिया सीमा नाका घेराउ गरेका थिए। सीमा नाका वेलहिया बुधबार साँझ तनावग्रस्त बनेकाे थियाे । सयौंको सङ्ख्यामा स्थानीय सीमा नाका बेलहियामा जम्मा भएर नाका पूर्ण रुपमा बन्द गरेका थिए ।

    बजार गर्न भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा बेलहियाकी एक महिला माथि भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेका कारण सीमा नाकामा स्वतस्फूर्त जम्मा भएर नाका बन्द गरेको स्थानीय उज्वल पोखरेलले जानकारी दिए।

    भारतीय सुरक्षाकर्मीले ती महिलामाथि साँझ अभद्र व्यवहार गरेको आरोप स्थानीयकाे छ । स्थानीयको सङ्ख्या बढेपछि सीमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको तैनाथी बढाइएको छ भने भारतीय सुरक्षाकर्मी पनि थपिएका छन् ।

    ‘चेकजाँच गर्ने क्रममा कपडा च्यातिएको रहेछ, त्यो जाने बुझेर च्यातियो कि कसरी च्यातियो त्यो खुलेको छैन, छलफल चलिरहेको छ’ रुपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलले भने, ‘यसको छलफल तथा छानबिन हुँदैछ।’

  • सुनौलीमा एसएसबीको ज्यादतीविरुद्ध स्थानीयको प्रदर्शन

    सुनौलीमा एसएसबीको ज्यादतीविरुद्ध स्थानीयको प्रदर्शन

    रुपन्देही । भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै रुपन्देहीको नेपाल–भारत सीमानाका सुनौलीमा नेपालीहरुले नाका अवरुद्ध गरेर विरोध जनाएका छन् ।

    भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिबार सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएको स्थानीय व्यापारी विष्णु जीसीले बताए ।

    भारततर्फबाट नेपाल आउनका लागि नाका खुल्ला गरिए पनि नेपालीहरुलाई भारत जान रोक लगाएपछि स्थानीयले केही दिनदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

    नाका अवरुद्ध भएपछि सीमा सुरक्षाका अधिकारीहरुसँग छलफल गरी खुुलाउने पहल भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । दुई देशका सुरक्षा निकायहरु बीच छलफल गरी समस्या समाधान गर्ने पहल भइरहेको उनले बताए ।

    विरोध प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पार्ने गरी नाका उत्रिएपछि सीमामा नेपाल र भारतका सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । भारतीय पक्षले नेपालीहरुलाई किनमेलका लागि भारत जान रोक लगाएपछि विरोध प्रदर्शन भएको हो ।