Tag: एनआरएनए

  • एनआरएनए जापानका संस्थापक अध्यक्षको आपत्तिजनक विज्ञप्ती

    एनआरएनए जापानका संस्थापक अध्यक्षको आपत्तिजनक विज्ञप्ती

    जापान । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग जापानमा कार्यरत पत्रकारलाई लक्षित गरी आपत्तिजनक विज्ञप्ती निकालेका छन्।

    एनआरएनए जापानको नयाँ निर्वाचन गराउनका लागि तदर्थ समिति गठन भएको र आफु त्यसको संयोजक रहेको भन्दै निकालिएको विज्ञप्तीमा पत्रकारहरुलाई लान्छाना लगाइएको हो । उनको विज्ञप्तीमा पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा आर्थिक प्रलोभानमा परेको भन्ने आशय व्यक्त गरिएको छ।

    एनआरएनए जापानको निर्वाचनका लागि तदर्थ समिति सक्रिय रहेको भन्दै उनले यस सम्बन्धमा समाचार लेख्दा आर्थिक प्रलोभनमा नपरी, फेसबुकमा मनगणन्ते आक्षेप लगाउने, समाजलाई भाड्ने लेख नलेख्न भनिएको छ । त्यस्तै अन्तिम बुँदामा ‘आफ्नो बिबेकलाई ‘कू’ बनाउने पत्रकार नहुन हार्दिक अनुरोध गर्दछु भनिएको छ।’

    उक्त विज्ञप्तीप्रति आपत्ति जनाउदै पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले अहिलेसम्म कसले पीत पत्रकारिता गर्र्यो? कसले आर्थिक प्रलोभनमा परेर समाचार लेख्यो ? भनेर प्रश्न प्रधानाङ्ग प्रश्न गरेका छन् ।

    ‘हामीलाई आचार संहिता सिकाउन भन्दा, तपाईका अभियान्ताहरु अनुशासन सिकाउनुहोस्’ नेपाल प्रेससँग कुरा गर्दै उनले भने,‘चोकमा सुनेका कुराको पछि हिडेर महासंघले आफ्नो धराणा बनाउन सक्दैन ।’ उनले प्रधानाङ्गको उक्त विज्ञप्तीले जापानमा क्रियाशील पत्रकारहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै तत्काल विज्ञप्ती सच्चाउन आग्रह गरेका छन् ।

    विज्ञप्तीका बिषयमा कुरा गर्न प्रधानाङ्गलाइ पटक पटक फोन गर्दा पनि फोन उठेन ।

  • एनआरएनएको संरक्षक परिषद्ले काम थाल्यो, केन्द्रीय सचिवालय परिषद् मातहतमा

    एनआरएनएको संरक्षक परिषद्ले काम थाल्यो, केन्द्रीय सचिवालय परिषद् मातहतमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ । परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुसार नै पूर्वअध्यक्ष डा. शेष घले नेतृत्वको संरक्षक परिषद्ले जिम्मेवारी सम्हालेको छ ।

    मन्त्रालयले मंसिर ३ गते कुमार पन्त नेतृत्वको संघको कार्य समितिलाई निष्कृय गर्दै दशौं महाधिवेशन तथा निर्वाचन २०२१ भित्रै सम्पन्न गर्ने जिम्मेवारी परिषद्लाई दिएको थियो ।

    तीन दिनअघि मन्त्रालय पुगेर पत्र बुझेका प्रमुख संरक्षक घलेले सरकारले दिएको जिम्मेवारी निर्धारित मिति भित्रै पूरा गर्ने बताएका छन् । संघको विधान अनुसार सरकारले जुन जिम्मेवारी दिएको छ, त्यसलाई संरक्षक परिषद्ले पूरा गर्ने छ, घलेले पत्र बुझेपछि भनेका थिए ।
    पत्र बुझे लगत्तै घलेकै अध्यक्षमा संरक्षक परिषदको बैठक बसेको छ । पाँच सदस्यीय संरक्षक परिषद्‌मा पूर्वअध्यक्षहरू जीबा लामिछाने, रामप्रताप थापा, देवमान हिराचन र भवन भट्ट सदस्य छन् ।

    पाँच सदस्यीय संरक्षक परिषदका चार जनाले एक मतले सरकारले दिएको जिम्मेवारी यथाशक्य छिटो पूरा गरेर संघलाई पुनः लयमा फर्काउने धारण व्यक्त गरेका थिए । परिषद्कै एक सदस्य तथा पूर्वअध्यक्ष लामिछानेले भने पन्त नेतृत्वको समितिले नै चुनाव गराउनु पर्ने धारणा राखेको परिषदका एक सदस्यले बताएका छन् ।

    महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद सुल्झाउन नसकेपछि अक्टोबर २० का लागि तोकिएको संघको निर्वाचन रोकिएको थियो भने पन्त नेतृत्वको आइसीसीले आफ्नो कार्यकाल आफैं छ महिना थप गरेको थियो ।

    संघको विधानमा कार्यकाल थप्ने प्रावधान नरहेको र विवाद समाधान गरी महाधिवेशन गर्ने तत्परता पनि नदेखाएको भन्दै मन्त्रालयले पन्त नेतृत्वको समितिलाई निष्कृय भएको घोषणा गरेको थियो ।

    प्रमुख संरक्षक घले हाल काठमाडौंमा छन् । काठमाडौंमा रहेका घलेले विभिन्न पक्षसँग निकासका बारेमा छलफल पनि सुरु गरेका छन् । घलेले कार्यकाल समाप्त भएका अध्यक्ष कुमार पन्त र पन्त नेतृत्वका पदाधिकारीहरुसँग बेग्ला बेग्लै छलफल गरेका छन् । छलफलका क्रममा घलेले सरकारसँगको समन्वयमा संघको विधान अनुसार विवाद समाधान गरी दशौं महाधिवेशन तथा निर्वाचन गराउन र त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

    संरक्षक परिषदका सदस्य तथा पूर्वअध्यक्ष देवमान हिराचनले संघका विधान, नेपालको कानून र मन्त्रालयको पत्र अनुसार परिषद्ले काम गर्ने बताए । हामीले संघको विधान अनुसार काम गर्ने हो, विधानअनुसार नै सरकारले दिएको जिम्मेवारी जतिसक्दो चाँडो पूरा गर्ने गरी हामीले तयारी अगाडि बढाएका छौं, हिराचनले भने ।

    परिषद्मा अहिले विवाद समाधानका उपायका बारेमा छलफल सुरु भएको उनले जानकारी दिए । विवाद के के हुन र ती विवाद कसरी समाधान गर्ने विषयमा छलफल गरेका छौं, उनले जानकारी दिए ।

    अर्का पूर्व ध्यक्ष तथा संरक्षक परिषदकै सदस्य रामप्रताप थापाले पनि सरकारसँग संघर्ष नभई मिलेर अगाडि बढ्ने बताए । सरकार हाम्रो अभिभावक हो, संघ हाम्रो परिवार हो, थापाले भने, सरकारविरुद्ध नगई समस्या समाधान गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
    अर्का पूर्व अध्यक्ष तथा परिषद सदस्य भवन भट्टले पनि संघको विवाद सुल्झाउन समस्या नरहेको बताए । संस्थालाई जोगाउन परिषद्ले आवश्यक काम गर्ने उनले बताए ।

    केन्द्रीय सचिवालयलाई घलेको पत्र

    प्रमुख संरक्षक डा. घलेले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय सचिवालयलाई पनि आफू मातहत ल्याएका छन् ।
    परराष्ट्र मन्त्रालयको पत्र बुझेलगत्तै घलेले संघको केन्द्रीय सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणालाई पत्र लेखी सचिवालयमा रहेका कुनै कागजात तथा सूचना आफ्नो सहमतिबिना कसैलाई पनि उपलब्ध नगराउन र जुन जे अवस्थामा छ, त्यही अवस्थामा सुरक्षित राख्न निर्देशन दिएका छन् ।

    घलेले राणालाई लेखेको पत्रमा ‘संघको सचिवालयमा रहेका सबै सामग्री तथा कागजात जुन जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू’ भन्ने उल्लेख छ । घलेले भनेका छन् ‘कुनै पनि कागजात मेरो स्वीकृति बिना कसैलाई उपलब्ध नगराउनू, सुरक्षित गरेर राख्नु’ ।
    घलेको पत्रसँगै कुमार पन्त र उनी नेतृत्वको कार्य समितिका कुनै पनि पदाधिकारीले सचिवालयमा रहेका कागजात चलाउन तथा प्रयोग गर्न नपाउने भएका छन् ।

    पुरानै निर्वाचन समितिलाई जिम्मेवारी दिने तयारी

    पन्त नेतृत्वको कार्य समितिले नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । पन्त नेतृत्वको आइसीसीले विवाद समाधान गरी निर्वाचन गराउन नसकेपछि काम बिहीन भएको पौडेल नेतृत्वको निर्वाचन समितिलाई निर्वाचनको जिम्मेवारी दिने प्रमुख संरक्षक घलेको तयारी छ ।

    प्रमुख संरक्षक घलेले बुधबार र बिहीबार गरी निर्वाचन समितिका संयोजक तथा सदस्यहरुसँग अनौपचारिक छलफल गरेका छन् । पौडेल नेतृत्वको निर्वाचन समितिले निर्वाचनको तयारी गरिसकेकाले सोही समितिलाई नै निर्वाचन गराउने जिम्मेवारी दिँदा छिटो चुनाव गर्न सकिने घलेको बुझाइ छ ।

    महाधिवेशन गराउने जिम्मेवारी संरक्षक परिषद्ले पाएपछि निर्वाचन समिति पनि परिवर्तन हुने हो कि भन्ने आशंका रहेको थियो । बार महासचिव पौडेल नेतृत्वको निर्वाचन समितिमा संघकै पूर्वअध्यक्ष तथा संरक्षक रामप्रताप थापा, डा. गणेश गुरुङ, डा. देवकाजी डंगोल, चिरन्जीवी ढकाल, डा. विष्णुमाया परियार सदस्य रहेका छन् भने भूषण घिमिरे समितिका सदस्य सचिव छन् । यो समितिले अनलाइन मतदान गराउनका लागि भेण्डरको खोजीसमेत गरिसकेको छ ।

    विवाद समाधानको मोडालिटी तयार पारेर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने परिषदको योजना छ । सरकारले तोके अनुसार नै आगामी डिसेम्बरभित्रै निर्वाचन गराउने गरी तयारी थालिएको छ ।

  • एनआरएनएको कार्यकाल ६ महिना थपियो

    एनआरएनएको कार्यकाल ६ महिना थपियो

    काठमाडौं । गैरआवासीय नेपाली सङघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।

    एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए। विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ ।

    बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष पन्तलाई जिम्मा दिइएको प्रवक्ता क्षेत्रीले बताए ।

    एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्रबमोजिम २३ देखि २५ अक्टोवरका लागि तय गरिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

    बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । एनआरएनएको अध्यक्ष पदको लागि कूल आचार्य, रविना थापा र डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

  • एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

    एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

    राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले उम्मेदवारी घोषणा गरेका हुन् ।

    व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड, गैरआवासीय नेपालीको हक अधिकारलाई मुख्य एजेन्डा बनाएका छन् ।

    ‘गैराआवासीय नेपाली संघलाई अगाडि बढाउन अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु’ पत्रकार सम्मेलनमा उनले भने ।

  • एनआरएन चुनावमा घोषित रूपमै दलीय हस्तक्षेप, कांग्रेसले खटायो आफ्नो प्यानल जिताउन ८ नेता (सर्कुलरसहित)

    एनआरएन चुनावमा घोषित रूपमै दलीय हस्तक्षेप, कांग्रेसले खटायो आफ्नो प्यानल जिताउन ८ नेता (सर्कुलरसहित)

    काठमाडौं । गैरआवासीय नेपाली संघको चुनावमा अप्रत्यक्षरूपमा आफ्नो उम्मेदवारलाई समर्थन जनाउने गरेका राजनीतिक दल यसपटककाे चुनावबाट घोषितरूपमै मैदानमा उत्रिन थालेका छन् ।

    सत्तारुढ नेपाली कांग्रेसले एनआरएनएको दशौं महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन भन्दै पार्टीका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमै नेताहरू खटाएको छ ।

    यसरी राजनीतिक दलले घोषितरूपमै आफ्ना उम्मेदवार एनआरएनए चुनावमा खडा गरेको यो पहिलोपटक हो । कांग्रेसले विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूलाई सर्कुलर पठाउँदै आसन्न निर्वाचनमा कांग्रेसले कुल आचार्यको नेतृत्वमा प्यानल खडा गरेको जनाएको छ ।

    जनसम्पर्क समिति कांग्रेसको प्रवास शाखा हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज १५ गते सबै शाखाहरूलाई सर्कुलर पठाउँदै कांग्रेसका उम्मेदवार जिताउन आ-आफ्नो ठाउँबाट समन्वय गर्न निर्देशन दिएका छन् ।

    कांग्रेसले केन्द्रका प्रभावशाली नेताहरूलाई समन्वयको जिम्मा दिएको छ । जसअनुसार यूरोप क्षेत्रमा प्रकाशशरण महत र गगनकुमार थापा, एशिया क्षेत्रमा डा. मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व हेर्न गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई खटाएको छ ।

    त्यस्तै ओसियाना क्षेत्रमा समन्वय गर्ने जिम्मेवारी सुरेन्द्रराज पाण्डेले पाएको कांग्रेसले जनाएको छ । यसैबीच एनआरएन अभियन्ताहरूले भने राजनीतिक दलले घोषितरूपमै प्यानल खडा गरेर चुनाव जिताउन नेता तोक्ने प्रवृत्तिले एनआरएनको औचित्यमाथि प्रश्न खडा गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

  • एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा (भिडिओ)

    एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा (भिडिओ)

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    केही बेरअघि पत्रकार सम्मेलन गरेर आचार्यले असोज २८-३० मा काठमाडौंमा हुने महाधिवेशनका लागि आफूलाई अध्यक्षका रूपमा अघि सारेका हुन् ।

    यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए । अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    पर्वतको जलजला गाउँपालिका-७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् । सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

    त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७-१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

    प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्वीकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामूलक बनाउने मुद्दालाई अघि सारेको आचार्यको भनाइ छ ।

    ‘कोभिड-१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ’, यसअघि आफ्नो एजेण्डा सार्वजनिक गर्दै आचार्यले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको बताएका थिए ।

  • राजनीतिक हस्तक्षेपको विरोध गर्दै सिम्खडाले भने- एनआरएनएलाई साझा बनाऔं

    राजनीतिक हस्तक्षेपको विरोध गर्दै सिम्खडाले भने- एनआरएनएलाई साझा बनाऔं

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् ।

    एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार साँझ गरेको बहस कार्यक्रममा सिम्खडाले पार्टीगत राजनीति गर्नेहरूका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्नेमा उनको जोड थियो ।

    एनआरएनएमा पार्टीनिकट उम्मेदवारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु दुखःद भएको बताए । ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने ।

    पछिल्लो समय एनआरएनएमा चुनाव जित्नकै लागि जस्तोसुकै कदम चाल्ने प्रवृत्ति बढेको भन्दै सिम्खडाले भने,‘केन्द्रीय नेतृत्वमा धनी र सम्भ्रान्तहरूको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हुँ । ’ सिम्खडा अध्यक्षका उम्मेदवार बद्री केसीसँगनिकट हुन् ।

    ‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारसँग सहकार्य गर्न तयार भएको हु्,’ उनले भने ।

    पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरे पनि अझै धेरै गर्न बाँकी रहेको भन्दै उनले आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याए । सिम्खडा हाल एनआरएनएका केन्द्रीय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक छन् ।

  • मध्यपूर्व संयोजक प्रवीण गुरुङद्वारा एनआरएनए सचिवमा उम्मेद्‍वारी घोषणा

    मध्यपूर्व संयोजक प्रवीण गुरुङद्वारा एनआरएनए सचिवमा उम्मेद्‍वारी घोषणा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेण्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरूको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको उनको भनाइ छ ।

    गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक गुरुङले भूकम्प, बाढीपहिरो, कोभिड-१९ लगायत विभिन्न प्रकोपमा गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी/स्थायी बासस्थान, खाध्यान्नलगायत उद्धार तथा राहतमा खटिएका थिए ।

    त्यसैगरी एनआरएनएको इतिहासमा पहिलोपटक नेपालको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता हुने अवसर पाएको थियो ।

    विभिन्न खेल, कला साहित्य तथा नेपाली संस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रवर्द्धनमा प्रत्यक्ष सहभागी भएका थिए ।

  • एनआरएनए बेलायतको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी, शनिबार चुनाव हुँदै

    एनआरएनए बेलायतको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी, शनिबार चुनाव हुँदै

    लण्डन । एनआरएनए बेलायतको अध्यक्ष पदमा हुने चुनावमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । ३१ जुलाईमा हुने चुनावले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

    दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचन चुनावमा उठेका छन् भने वेल्सबाट चयन हुने उपाध्यक्षका लागि रामचन्द्र पोखरेल निर्विरोध भएका छन् ।

    स्कटल्याण्डबाट उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवरबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासचिवमा खुसी लिम्बु, जीत रानाभाट र मुकुन्द बाँस्तोलाले उम्मेदवारी दिएका छन् ।

    कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र धनसरी राई तथा सह-कोषाध्यक्षमा हेम गुरुङ र सशांक शर्मा र युथ कोअर्डिनेटरमा तीर्थबहादुर मल्ल (अनिल) र चन्दन गुरुङ, महिला संयोजकमा मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी रहेको छ । २७ सदस्यीय कार्य समितिमा १३ सदस्य निर्वाचित हुने छन् । त्यसका लागि २० जनाको उम्मेदवारी परेको छ ।

  • एनआरएनए अमेरिकाको सपथ ग्रहणमा हात हालाहाल, पुरानै नक्सा राखिएकोमा विरोध (भिडियो)

    एनआरएनए अमेरिकाको सपथ ग्रहणमा हात हालाहाल, पुरानै नक्सा राखिएकोमा विरोध (भिडियो)

    काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको १० औं साधारणसभामा विवाद उत्पन्न भएको छ । जसका कारण नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम केही समय स्थगित गरिएको थियो ।

    कार्यक्रममा विवादलाई शान्त पार्न मञ्चमा सेक्युरिटी परिचालन गरिएको थियो । १० औं साधारणसभाका संयोजक बीआर लामाले समय अभावको कारण देखाउँदै निर्वाचन आयुक्तलाई मञ्चमा बोलाएपछि लफडा शुरू भएको थियो ।

    मञ्चमा लफडाकै बीच सेक्युरिटी परिचालन गरी नवनिर्वाचित अध्यक्ष वुद्धि सुवेदीले सपथ लिए । सफत पछि सुवेदीले पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरूलाई पनि सपथ खुवाए ।

    कार्यक्रममा नेपालको पुरानो नक्साको प्रयोग :

    कार्यक्रमा नेपालको आधिकारिक नक्सा नभई पुरानो नक्सा प्रयोग गरिएको थियो । नेपालको नक्साको गलत प्रयोग गरिएको कारण नेपालीहरुको अपमान भएको भन्दै मञ्चबाटै विरोध आएको थियो । मञ्चमा प्रस्तुत गरिएको कार्यक्रममा नेपालको नक्सा स्क्रीनमामा देखाउँदा पटक-पटक नेपालको पुरानो नक्सा देखाइएको थियो ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि वाचन नगरिएपछि सहभागीले विरोध जनाएका थिए ।

  • एनआरएनएको पहलमा सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

    एनआरएनएको पहलमा सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

    यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

    हवाई उडान सहजीकरण गर्न आग्रह

    पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरर्राैष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायतका विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ ।

    नागरिकतासम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण

    लामो समयदेखि नै गैरआवासीय नेपाली सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

    ४१ को निधन

    विश्वव्यापीरुपमा फैलिएको कारोनाभाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा ८, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ र प्रोर्चुगलमा १ जना नेपालीको कोरोनाभाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा एक लाख सात हजार ८६ नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना कोरोनामुक्त भएका छन् ।

    समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोनाभाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा. सापकोटाको संयोजकत्वमा डा. सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० चिकित्सक परिचालन गरेको छ ।

    यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात् तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण सोमबार साँझसम्म ६ हजार ५३१ जनाको निधन भएको छ ।

  • नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

    नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

    काठमाडौं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् ।

    एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र संक्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् ।

    अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउन खर्च गर्नुपर्नेमा जोड दिइएको क्यालिफोर्नियामा रहेका नेपाली युवा महेन्द्र सुवेदीले जानकारी दिए।

    नेपालमा महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामामात्र नभई संसारका जुनसुकै कुनामा रहेका नेपाली र तिनका संस्था सहयोग जुटाएर नेपालीलाई बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिइएको उनले बताए। एनआरएनए राजनीतिक नभई सामाजिक संस्था भएकाले अहिलेको विषम परिस्थितिमा अधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको विज्ञप्तिमा उल्लेख छ । मानवीय संवेदनशीलतालाई ध्यान दिँदै यतिबेला सबैले सहयोग जुटाउन सक्दो लाग्नुपर्नेमा विश्वभर फैलिएका नेपालीसमक्ष आह्वान गरिएको छ ।

    हाललाई अधिवेशन स्थगित गरी पछि उपयुक्त समयमा गर्न एनआरएनए अमेरिकाका १० जना साधारण सदस्यले जोडदार माग गरेका हुन्। विज्ञप्ति प्रकाशित गर्नेमा सुवेदी, अशोक खड्का, विजय खड्का, रविन्द्रबहादुर सिंह, अर्जुन लामा, दिनेश लामा, दिपेन्द्र तिमल्सिना, राजेश शर्मा, आदित्य खड्का र सन्देश खड्का छन् ।
    –रासस

  • नेपालमा अक्सिजन सहयोगका लागि एनआरएनएको अभियान

    नेपालमा अक्सिजन सहयोगका लागि एनआरएनएको अभियान

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् ।

    नेपाली दूतावास लण्डनको समेत सहभागितामा तथा अध्यक्ष पुनम गुरुङको संयोजनमा शनिबार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँ स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो ।

    विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मेशिन तत्कालै किनेर नेपाल पठाउने घोषणा गरेका छन्।

    पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मशिनको प्रतिबद्धता आएको छ । करिब ११५ भन्दा बढी प्रतिनिधीहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए ।

    उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

    उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टड समेत गर्न सकिने जानकारी दिए ।

    कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ्गले महाभूकम्पको वेलामा वेलायतवासी नेपाली समुदायतले ऐक्यवद्ध भएर देशमा सहयोग गरेको स्मरण गर्दै अहिलेको स्वास्थ्य संकटमा समेत एक भएर सहयोग संकलन गर्न आव्हान गरे ।

    संघका महासचिव डा हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए । गैरआवासीय नेपाली संघ का केन्द्रीय सदस्य रामशरण सिमखडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेको बताए ।

    उनले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । अत्याबश्यक स्थानहरु प्राथमिकताको आधारमा प्रादेशिक अस्पताल बुटवल, भेरी तथा कर्णालीमा आजको दिनमा अक्सिजनको अभाव भएकोले सरकारी एकद्धार प्रणाली भएता पनि मन्त्रालयसँगको परामर्शमा सहयोग गर्ने संस्थाको अनुरोध समेत सुनिने हुंदा ति स्थानहरुमा सहयोग गर्न र अध्यक्ष पुनम गुरुङकै प्रस्ताब अनुसार १(२ दिनमा काम अघि बढाउन सुझाए।

    गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे ।

    गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताए ।

    गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले तत्काल नेपालमा खोप लैजान पहल गर्नु पर्ने साथै तत्काल सहयोगको लागि सक्रिय हुनुपर्ने सुझाव दिएका थिए ।

    ३ घण्टा चलेको सो कार्यक्रमबाटै ७५ लाखको प्रतिबद्धता आई सकेको र धेरै संघसंस्थाले तत्कालै छलफल पश्चात सहयोग गर्ने जानकारी समेत दिईएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो ।

  • एनआरएन डेभलपमेन्ट फन्डको रकम पुर्वाधार कै क्षेत्रमा लगानी हुन्छ : अध्यक्ष पन्त

    एनआरएन डेभलपमेन्ट फन्डको रकम पुर्वाधार कै क्षेत्रमा लगानी हुन्छ : अध्यक्ष पन्त

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एनआरएन डेभलपमेन्ट फन्डको रकमको कृषि, पर्यटन र पूर्वाधारमा लगानी गर्ने बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभइ पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन् ।

    पूर्वाधार तथा उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ ।

    एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । गैरआवासीय नेपालीलाई लक्षित गरी ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने जानकारी दिइयो ।

    संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गरिने अध्यक्ष पन्तले बताए ।

    आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने छन् । यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ ।

    अबको ५-७ सातामै परियोजना सुरु हुन्छ, उनले भने-संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ ।

    संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्‌याउने लक्ष्य राखेको छ ।

    २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिसत रकम लगानी गर्ने भएको हो । कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्‌याउने संघको योजना छ ।

    गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने, ‘संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।’

  • जीवा लामिछानेको नेतृत्वमा एनआरएनए फाउन्डेसनको गठन

    जीवा लामिछानेको नेतृत्वमा एनआरएनए फाउन्डेसनको गठन

    काठमाडौं । विकास आयोजना संचालन गर्न १० अर्वको एनआरएन डेभलपमेन्ट फण्ड स्थापना गरेको गैरआवासीय नेपाली संघले परोपकारी गतिविधि सञ्चालन गर्न छुट्टै एनआरएनए फाउन्डेसन स्थापना गरेको छ ।

    समाजमा विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु संलग्न फाउन्डेसनको प्रस्तावित अध्यक्ष एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने रहेका छन ।

    फाउन्डेसनमा पुर्वमुख्य सचिव लीलामणि पौड्याल, कुलचन्द्र गौतम, मनीषा कोइरालालगायत ख्यातिप्राप्त व्यक्तित्वहरु पनि यस फाउनडेनसमा आवद्ध भएको गैह्रआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जनाएका छन् ।

    ‘विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले छुट्टै फाउन्डेसन स्थापना गरेको हो’ पन्तले बताए ।

    फाउन्डेसनमार्फत् संघले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारक जीर्णोद्धार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम बताइएको छ ।

  • एनआरएनएले लगानी गर्ने १० अर्ब कोषका लागि संस्थापकले गरे हस्ताक्षर

    एनआरएनएले लगानी गर्ने १० अर्ब कोषका लागि संस्थापकले गरे हस्ताक्षर

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्नका स्थापना हुन लागेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’को  कम्पनी दर्ता कागजातमा बिहीबार संस्थापकहरुले हस्ताक्षर गरेका छन् ।

    गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आज हस्ताक्षर भएको जानकारी दिएका छन् । उनका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको शेयर हुनेछ ।

    दर्ता प्रक्रिया सकिनसाथ कम्पनीले गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आइपिओ जारी गर्ने छ । यस फन्डमा नेपाल सरकारले ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ । देशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गत यो योजना ल्याइएको एनआरएनएले बताएको छ । अरू संस्थापकहरूले १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको अध्यक्ष पन्तले बताएका छन् ।

  • एनआरएनएले सुरु गर्‍यो निःशुल्क टेलि–हेल्थ सेवा, विश्वभरबाट अनलाइन उपचार गर्न पाइने

    एनआरएनएले सुरु गर्‍यो निःशुल्क टेलि–हेल्थ सेवा, विश्वभरबाट अनलाइन उपचार गर्न पाइने

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले टेलि–हेल्थ (दूर चिकित्सा) सेवा सुरु गरेको छ । यो सेवाबाट जुनसुकै मुलुकमा बसोबास गर्ने नेपालीले सेवा लिन सक्ने संघले जनाएको छ ।

    सेवाग्राहीले चाहेको समयमा अनलाइनमार्फत चिकित्सकसँग परामर्श लिन सक्नेछन् । यो कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विज्ञ सहभागि रहेको जनाइएको छ ।

    मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसियन, फिजियोथेरापिस्ट, दन्त चिकित्सकले सेवा दिन सक्ने जनाइएको छ । मनोचिकित्सक, मनोपरामर्शदाता, स्नायु रोग र छारे रोग पनि हेल्थ कार्यक्रममा रहेका छन् ।

    भाइबर, ह्वाट्सएप र मोबाइलमार्फत जिज्ञासा राख्न सकिनेछ । सेवा निःशुल्क हुने जनाइएको छ । सेवा अन्तर्गत आपतकालिन स्वास्थ्य सेवा चाहिँ प्रदान नगरिने जनाइएको छ ।

  • दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार

    दश हजार श्रमिकलाई राहत,  दुई लाखको उद्धार

    गैरआवासीय नेपाली सङ्घ  (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा कोभिड– १९ को विश्वव्यापी प्रभावपछि एक लाख ८६ हजार ६६ नेपालीको उद्धार गरिएको छ ।

    गैरआवासीय नेपाली सङ्घको सक्रियतामा  विदेशमा समस्यामा परेका नेपाली कामदारलाई उद्धार गरिएको हो ।  गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसीका अनुसार विदेशका विभिन्न देशमा नौ हजार ६५० भन्दाबढी श्रमिकलाई सेल्टरमै राखेर कानूनी सहायता, परामर्श, पिसिआर टेष्ट, तालीम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको छ ।

    सङ्घले साउदी, मलेसिया, कतार, (युएई), बहराइन, ओमान, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ । विभिन्न दातृ संस्थाद्वारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएकालगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

    हालसम्म गैरआवासीय नेपाली सङ्घले ८६२ जनालाई काठमाडौँबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडास्वरुप आर्थिक सहयोगसमेत गरेको छ । सङ्घले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    अझै सतर्कता अपनाऔँ नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए । अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनले स्पष्ट पारे ।

    जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उनले जोखिम घट्यो भन्ने बेला नभएको बताए । बेलायतलगायतका युरोपेली मुलुकमा फैलिएको सङ्क्रमणका कारण नेपाली पनि अछुतो नरहेको भन्दै उनले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । ।
    कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा दुई जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० देशमा ३१७ पुगेको छ ।

    सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८४६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५१ हजार ११६ जना कोरोनामुक्त भएका छन् ।

    यो कूल सङ्क्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, बेलायत भारत र संयुक्त अरब इमिरेट्समा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।