Tag: उम्मेदवारी

  • करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै !

    करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै !

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् ।

    मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ ।

    ६ हजार सात सय ४३ वडा सदस्यसहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो । जसमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिकाको प्रमुखका लागि तीन हजार चार सय ६६, उपप्रमुखका लागि दुई हजार एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै चार सय ६० गाउँपालिकाका अध्यक्षमा तीन हजार तीन सय ७८ र उपाध्यक्षमा दुई हजार तीन सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    यसैगरी ६ हजार सात सय ४३ वडा अध्यक्षमा ३४ हजार नौ सय ४३, ६ हजार सात सय ४३ वटै महिला वडा सदस्यमा २६ हजार ६३ र दलित महिला वडा सदस्यमा २३ हजार चार सय ७० जनाको उम्मेदवारी परेको छ भने प्रत्येक वडामा दुईजना खुला वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगको गएराति नौ बजेसम्मको विवरणअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये प्रमुख पदमा नेकपा एमालेबाट दुई सय ८८ जनाको उम्मेदवारी परेको छ । यस्तै दुई सय ८३ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदमा चार सय ४६ र उपाध्यक्ष पदमा चार सय ४५ जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा दुई सय ६३, उपप्रमुखमा दुई सय १०, अध्यक्षमा तीन तीन सय ८२ र उपाध्यक्ष पदमा तीन सय ५९ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई सय ४८ र उपप्रमुखमा दुई सय २७, अध्यक्ष पदमा दुई सय ९१ जनाको उम्मेदवारी परेको छ ।

    स्वतन्त्रबाट झन् धेरै

    स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    उपप्रमुखमा राप्रपाले माओवादीलाई उछिन्यो

    उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)लाई उम्मेदवारी दर्तामा उछिनेको छ । विवरणअनुसार नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा तीन सय १४ जनाको उम्मेदवारी दर्ता भएको छ । विवरणअनुसार वडा अध्यक्षमा एमालेबाट ६ हजार ४ सय ६८, नेपाली कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार तीन सय ८५, स्वतन्त्रबाट पाँच हजार ८१ र अन्यबाट वडा अध्यक्षमा १२ हजार एक सय ८८ जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै महिला सदस्यका लागि एमालेबाट ६ हजार तीन सय १८, नेपाली कांग्रेसबाट पाँच हजार नौ सय ९६, माओवादी केन्द्रबाट चार हजार एक सय सात, राप्रपाबाट दुई हजार ८९ र महिला सदस्यमा अन्यबाट सात हजार पाँच सय ५७ को उम्मेदवारी दर्ता भएको छ ।

    त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार एक सय १२, कांग्रेसबाट पाँच हजार सात सय ३१, माओवादी केन्द्रबाट तीन हजार आठ सय ३५, राप्रपाबाट एक हजार ६ सय ३३ जना र दलित महिला सदस्यमा अन्यबाट ६ हजार एक सय ६० जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै, दुई पदको खुला सदस्यका लागि नेकपा एमालेबाट १२ हजार ६ सय ७०, कांग्रेसबाट ११ हजार नौ सय ३४, माओवादी केन्द्रबाट आठ हजार पाँच सय ३८, राप्रपाबाट चार हजार ६ सय ३० र दुई पदको खुला सदस्यकै लागि अन्यबाट १६ हजार आठ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

    केही स्थानबाट विवरण आउन बाँकी

    अधिकांश स्थानबाट उम्मेदवारी दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भए पनि केही स्थानबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार रातिसम्म मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही स्थानीय तहको विवरण आउन बाँकी रहेकोमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भइसकेको छ ।

    मंगलबार रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाइ गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्रविष्ट भइसक्ने जनाइएको थियो ।

  • सचिवमा ओलीले घोषणा गरेकोबाहेक भीम आचार्य र टंक कार्कीको उम्मेदवारी

    सचिवमा ओलीले घोषणा गरेकोबाहेक भीम आचार्य र टंक कार्कीको उम्मेदवारी

    काठमाडौं । आइतबार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीको सूचीमा नपरेका दुईजनाले सचिवमा उम्मेदवारी दिएका छन् । सूचीमा नपरेका भीम आचार्य र टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका हुन् ।

    एमालेको जारी महाधिवेशनमा बन्दसत्र हलबाट केन्द्रीय कमिटी घोषणा गर्ने अधिकार पाएका ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई चयन गरेका थिए ।

    आचार्य र कार्कीको उम्मेदवारी परेसँगै सचिवमा पनि चुनाव हुने भएको छ । त्यस्तै अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसालको उम्मेदवारी परेको छ ।

  • एनआरएनए जापानको अध्यक्ष पदमा पौडेलको उम्मेदवारी घोषणा

    एनआरएनए जापानको अध्यक्ष पदमा पौडेलको उम्मेदवारी घोषणा

    टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।

    एनआरएनए जापानको यही जुलाई २५ देखि २७ सम्म महाअधिवेशन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।

    आगामी दुई वर्षे कार्यकालका लागि पौडेल जस्तै आधा दर्जन व्यक्तिले अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाडि सारेका छन् । पौडेलले २५ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

  • एनआरएनए बेलायतको अध्यक्ष पदमा रोजिनाको उम्मेदवारी घोषणा

    एनआरएनए बेलायतको अध्यक्ष पदमा रोजिनाको उम्मेदवारी घोषणा

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतकोे अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् । भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले उम्मेदवारी घोषणा गर्दे ९ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेकी छन् ।

    घोषणापत्रमा बेलायतप्रति पारदर्शी, प्रविधिमैत्री र एकताका लागि प्रतिबद्धता लगायत उल्लेख छन् ।

    गोर्खा सैनिक आन्दोलनमा साथ, सानाठूला तथा सामूहिक लगानी प्रवर्धन, पर्यटन प्रवद्र्धन र व्यापार, आपतकालिन कोष स्थापना, नेपाली भाषा संस्कृति, भेषभूषाको प्रर्वधन, आर्थिक स्थायित्व, एनआरएनए यूके सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, स्मार्ट एनआरएनए, निःशुल्क सदस्यता– स्थायी सचिवालय स्थापना लगायत छन् ।