Tag: उमेश श्रेष्ठ

  • उद्योगमा उमेशकै चर्चा, फेरि विवाद बल्झने डर

    उद्योगमा उमेशकै चर्चा, फेरि विवाद बल्झने डर

    काठमाडौं । मन्त्री बनेको ७२ घण्टा नबित्दै गजेन्द्र हमालले राजीनामा दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फेरी नेतृत्वविहीन भएको छ । तत्काललाई सो मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा मातहत नै रहेपनि नयाँ मन्त्री को बन्ला ? भन्ने चर्चा कांग्रेस वृत्तमा सुरू भएको छ ।

    प्रधानमन्त्री देउवाले यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय मातहत जिम्मेवारी दिएका छन् । स्वास्थ्यबाट जिम्मेवारी खोसिएका श्रेष्ठलाई अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने सम्भावना उच्च छ । राज्यमन्त्री श्रेष्ठपनि आफ्नो क्षेत्र सुुहाँउदो हुने भन्दै उद्योगमा जान तयार छन् ।

    ‘स्वास्थ्यमा उहाँले राम्रै काम गर्नुभएको हो । गठबन्धनका कारण त्यो जिम्मेवारी नभएपनि अब खाली रहेको मन्त्रालय पाउँदापनि उहाँका लागि उपयुक्त हुन्छ’, श्रेष्ठनिकट कांग्रेस नेताले भने ।

    यद्यपि कांग्रेसकै केही नेताहरूले विगतमा झै विवाद दोहोरिन सक्ने भएकोले नयाँ व्यक्ति खोज्न प्रधानमन्त्रीलाई सुझाएका छन् । व्यापारिक पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा नै तीव्र विवाद भएको थियो । डा.गोविन्द केसी लगायतले स्वार्थ बाँझिने व्यक्तिलाई राज्यमन्त्री बनाएको भन्दै आन्दोलनको चेतावनी दिएका थिए ।

    श्रेष्ठलाई उद्योगमा लैजाँदा पनि सोही विवाद दोहोरिने आँकलन कांग्रेस नेताहरूको छ । ‘उहाँलाई स्वास्थ्यमा राख्दा नै विवाद बढ्यो । प्रधानमन्त्रीजीले अब विवाद बढाउन हुन्न, निर्विवाद व्यक्तिलाई उद्योगको जिम्मेवारी दिनुपर्छ’, देउवानिकट नेताको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले पूष्पा भूसाल, किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, डिला संग्रौला, मानबहादुर विश्वकर्मा लगायत आफूनिकट नेताहरुलाई मन्त्रिपरिषद्‍मा समेट्न सकेका छैनन् ।

  • दैनिक पाँचलाख डोज खोप लगाइने, पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

    दैनिक पाँचलाख डोज खोप लगाइने, पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ’, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए ।

    ‘हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको संख्या ३० प्रतिशत छ ।’ वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उनले जानकारी दिए ।

    सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उनले बताए । ‘थोरै जनसंख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ’, उनले भने । जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।

    प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताए । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उनले उल्लेख गरे ।

    विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । ‘भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्’, उनले भने । अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उनले बताए । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उनको भनाइ थियो । ‘होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ’, उनले भने ।

    हाल काठमाडौं उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उनले बताए । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराए । न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो । प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने उनले बताए। ‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ’, उनले भने ।

    समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विशङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले राज्यमन्त्री श्रेष्ठसँग कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै आ–आफ्नो सुझावसमेत दिएका थिए । सभापति घर्तीले विद्यार्थीको जाँच समयमै गर्न तथा उनीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

  • अस्पतालहरूमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्यमन्त्री

    अस्पतालहरूमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

    गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली–गल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । उनले भने, ‘समस्या के हो जानकारी दिनुहोस् पाँच/दश करोड बजेटको समस्या हुँदैन ।’

    उनले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उनले भने, ‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ ।’ सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टीजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए ।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा सो हुन नहुने धारणा व्यक्त गरे ।

    भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्रा.डा. कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटौंडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पुर्‍याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए ।

    भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरे । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

  • स्वास्थ्य राज्यमन्त्रीको निजी अस्पतालहरुमा लगानी, व्यापारिक स्वार्थ जोडिने चिन्ता

    स्वास्थ्य राज्यमन्त्रीको निजी अस्पतालहरुमा लगानी, व्यापारिक स्वार्थ जोडिने चिन्ता

    काठमाडौं । शिक्षा क्षेत्रका चर्चित व्यवसायी उमेश श्रेष्ठले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । स्वास्थ्य क्षेत्रमै ठूलो लगानी गर्ने तयारीमा रहेका श्रेष्ठको नियुक्तीले ‘स्वार्थको टकराव’ हुनसक्ने देखिएको छ ।

    प्रधानमन्त्री शेरबाहादुर देउवा तथा आरजु देउवासँग नजिकको सम्वन्ध राख्ने श्रेष्ठलाई आकस्मिक ढंगले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि कांग्रेस नेता गगन थापाको नाम भावि स्वास्थ्यमन्त्रीका रुपमा चर्चामा थियो । तर, देउवाले व्यवसायीलाई रोजेका छन् ।

    कोभिड- १९ को रोकथाम तथा नियन्त्रणका लागि जुट्नुपर्ने समयमा स्वास्थ्यमन्त्री मुलुकले चाँडो पाउनुपर्ने माग हुँदै आएको थियो । गठवन्धन मिलाउनुपर्ने बाध्यताका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुन सक्ने अवस्थामा देउवाले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेका हुन् । स्वास्थ्य मन्त्री नियुक्त गर्न उनले देखाएको हतारोलाई सकारात्मकरुपमा लिइएको भए पनि नियुक्त भएका व्यक्तिलाई लिएर प्रश्नहरु उठेका छन् ।

    राज्यमन्त्री श्रेष्ठ शिक्षासेवीका रुपमा चिनिए पनि अहिले उनको लागि धेरै क्षेत्रमा छरिएको छ । उनले शिक्षासहित जलविद्युत, पर्यटन, बैकिङ लगायतका क्षेत्रमा लगानी विविधिकरण गरेका छन् । उनले लगानी गरेका ९ वटा जलविद्युत आयोजनाहरु निर्माणका क्रममा छन् । उनको चितवनमा सिराइचुली होटल, सेन्ट्रलपार्क होटल र धुलिखेलमा हिमालय दृश्य रिसोर्टमा लगानी रहेको छ । त्यस्तै तनहुँमा घासी हेल्थ रिसोर्ट एण्ड वेलनेस सेन्टरमा लगानी गरेका छन् भने पोखरामा उनकै लगानीमा होटल निर्माणको चरणमा रहेको छ ।

    राज्यमन्त्री श्रेष्ठ अब स्वास्थ्य क्षेत्रमा समेत ठूलो लगानीको तयारीमा छन् । उनले सुरुवातमै ५० करोड रुपैयाँ लगानी गरी अस्पतालको चेन निर्माण गर्न लागेको बताइएको छ । अस्पतालको चेन निर्माण गर्ने भन्ने कुरा नेपालका लागि नौलो अभ्यास हो ।

    स्वार्थ बाझिने खतरा

    स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्रि नियुक्त गर्दा ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ उत्पन्न हुने देखिएको छ । त्यसैले सामाजिक सञ्जालमा देउवाको छनोटलाई लिएर आलोचना स्वर सुनिएका छन् ।

    पूर्व स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी व्यवसायिक व्यक्तिलाई मन्त्री बनाउँदा स्वतः स्वार्थ बाझिने बताउँछन् ।

    ‘उहाँ एक व्यवसायिक व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिहरु मन्त्रिजस्तो सार्वजनिक पदमा आउँदा स्वार्थ बाझिने खतरा रहन्छ,’ उनले भने, ‘विश्वको अभ्यास हेर्नुभयो भने स्वार्थ बाझिने वा व्यवसायिक व्यक्तिहरु पदमा बस्दैनन् ।’

    स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय दिइनु उचित नभएको उनको भनाइ छ ।

    पछिल्लो समय लगानीका नयाँ क्षेत्र खोजी गरिरहेका श्रेष्ठको स्वास्थ्य क्षेत्रमा खासै रुची थिएन । तर, कोभिड- १९ का कारण आफैं अस्पतालमा थलिएपछि उनी अस्पताल निर्माण गर्न तम्सिएका हुन् । शिक्षा क्षेत्रमा जस्तै सरकारले स्वास्थ्य क्षेत्रमा पनि ठुलो लगानी गर्ने जानकारी पाएका श्रेष्ठले आगामी वर्षभित्रै कम्तिमा ५ वटा अस्पतालको चेन निर्माण गर्ने सोच बनाएका छन् ।

    उनले पछिल्लो समयमा ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटिक अस्पताल खोलेका छन् भने जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि अस्पताल ट्रष्टको अध्यक्षता गरिरहेका छन् । उनले काठमाडौं सहित चितवन नुवाकोट लगायतका स्थानमा समेत अस्पताल निर्माण गर्ने योजना बनाएका छन् । निर्माणाधीन हेलोइस अस्पताल धनाढ्य वर्गलाई लक्षित गरी निर्माण गर्न लागिएको हो ।

    हलोइसमा उच्च दक्ष जनशक्ति चिकित्सक तथा नर्स राख्ने र तिनै जनशक्तिले जनमैत्री तथा महेन्द्र नारायण निधि अस्पतालमा समेत सेवा दिने योजना बनाइएको छ ।

    शिक्षामा ४ दशक

    श्रेष्ठले करिब ४२ वर्ष शिक्षा क्षेत्रमा विताएका छन् । लिटल एञ्जेल विद्यालयलाई उनले एक नम्बरको विद्यालयको स्तरमा पुर्‍याएका थिए । उनी निजी विद्यालयको छाता संगठन प्याप्सनका अध्यक्ष समेत भएका थिए ।

    श्रेष्ठ भोजपुर जिल्लाको एक सामान्य परिवारमा जन्मिएर सरकारी विद्यालयबाट शिक्षा लिएका थिए । सरकारी शिक्षामा गुणस्तरको अभाव देखेका श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी गर्ने सोच बनाएका थिए । भोजपुरबाट आउँदा २ हजार बोकेर काठमाडौं आएका श्रेष्ठ अहिले करिब २० अर्ब सम्पत्तिको मालिक भइसकेको बताइन्छ ।

    विषम परिस्थितिमा जिम्मेवारी

    कोभिड- १९ का कारण स्वास्थ्य प्रणाली नै संकटमा रहेको समयमा श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दै गर्दा प्रतिनिधिसभामा उभिएर सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप भएको बताएका थिए । सरकारले चैत्र महिनासम्म ३ करोड नेपालीलाई खोप लगाउने घोषणा गरिसकेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले पहिलो निर्णय गर्दै ५ अर्ब रुपैयाँ खोप खरिदका लागि सहमति दिएका थिए । केपी ओली सरकारले ल्याएको बजेटमा समेत स्वास्थ्यलाई प्राथमिकतामा राखी करिब १ खर्ब २२ अर्ब रुपैयाँ बजेट बिनियोजन भएको छ ।

    सरकारले ४७० भन्दा बढी स्थानीय तहमा अस्पताल तथा विद्यालय निर्माण गर्ने काम पनि अगाडि बढाएको छ । आईसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट लगायत स्वास्थ्य पूर्वाधार अबको सरकारका पनि प्राथमिकता हुन् । त्यस्तै खोप खरिद, स्वास्थ्य सामग्री खरिदमा पनि सरकारले यथेष्ट रकम खर्च गर्नुपर्ने छ ।

    श्रेष्ठ फुलमन्त्री होइनन् । तर, फुलमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले आफैंसँग राखेको अवस्थामा राज्यमन्त्रीले नै मन्त्रालयको व्यवहारिक नेतृत्व गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा राज्यमन्त्रीसामु चुनौतिहरु धेरै छन् ।

  • स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको सपथ प्रधानमन्त्री कार्यालयमा

    स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको सपथ प्रधानमन्त्री कार्यालयमा

    काठमाडौं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठको सपथ साँझ ५ बजे हुने भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराउने छन् ।

    संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा हुन लागेको हो ।

    कोरोना महामारीको असहज परिस्थितिको कारण गत वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ शीतल निवासमा हुन छाडेका छन् ।

  • उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

    उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । श्रेष्ठको सपथ कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ५ बजे तय गरिएको छ ।

    हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।

    भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।

    शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन् । यो वर्षमात्र उमेशले विभिन्न अस्पतालहरूको चेन बनाउने भन्दै ५० करोड लगानी गर्ने सार्वजनिक घोषणा गरेका थिए ।

    श्रेष्ठले होटल, कृषि र निजी वनमा समेत लगानी गरेका छन् । जनमैत्री, महेन्द्रनारायण निधी अस्पताललगायतमा उनको लगानी छ ।