Tag: उद्योगी व्यवसायी

  • उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको आग्रह

    उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको आग्रह

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्यागी व्यवसायीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । चेम्बरले आज एक विज्ञप्ति निकालेर उद्योगी र व्यवसायीलाई कोरोना विरुद्धको खोप व्यवस्थापन गाराउन माग गरेको हो ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियण्टको कोरोना भाइरस (कोभिड १९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ ।

    मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने चेम्बरले बताएको छ ।

    चेम्बरले भनेको छ, ‘कोरोना विरुद्धको खोप नपाएर अग्रपंक्तीमा कार्यरत व्यवसायिक क्षेत्रको आत्मवलमा हस आएको छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ ।’

    चेम्बर अन्तरर्गतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाई दुवै चरणको खोपको व्यवस्थाको लागि नेपाल चेम्बर अफ कमर्स सम्वधित निकाय समक्ष आग्रह गरेको छ ।

  • स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले उद्योगी व्यवसायी चिन्तित

    स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले उद्योगी व्यवसायी चिन्तित

    काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले लगाएको अत्यन्तै कडा लकडाउनको ठूलो मारमा पर्यो निजी क्षेत्र । धेरै उद्योगधन्दाहरु लकडाउनको प्रहारबाट उठ्नै नसक्ने गरी थलिएका छन् ।

    सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो, जुन विभिन्न रुपमा करिब ९ महिनासम्म लम्बियो । लकडाउन, सटडाउन र निषेधाज्ञाका नाममा दैनिक जनजीवन ठप्प हुँदा अत्यावश्यक वस्तुहरुबाहेक सबैको आपूर्ति रोकिएको थियो । अधिकांश कलकारखाना बन्द भएका थिए ।

    अति भएपछि व्यापारीहरुले गत जेठ २१ गते लकडाउन अवज्ञा गर्दै व्यवसाय खोल्ने निर्णय गरेका थिए । दरबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीले हातमुख जोर्नै समस्या परेको भन्दै २१ जेठ, बिहीबारदेखि पसल खोल्ने निर्णय गरेका थिए । तर, पसल खोलेको ६ दिनपछि न्यूरोडमा नेपाल प्रहरीले पसल बन्द गराएको थियो ।

    लकडाउनबीचमै करको करकर

    लकडाउनका गरी सबै क्षेत्र ठप्प बनाएपछि सरकारको राजश्व संकलन पनि ठप्प भयो । त्यसपछि सरकारले लकडाउनकै बीचमा कर तिर्न ताकेता गरेपछि व्यापारीदेखि सर्वसाधारणसम्म आक्रोशित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले विज्ञप्ती नै निकालेर यसको विरोध गरे । त्यसपछि सरकार करका विषयमा लचिलो बन्न वाध्य भएका थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ गते देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनमा नै विभिन्न आयोजनाहरुको काम सूचारु गरिने बताएका थिए । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बीचमा ल्याएको बजेटले उद्योग संचालनका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले उद्योग धेरै समय बन्द रहँदा आर्थिक क्रियाकलाप बन्द हुने भएकाले सरकारले उद्योग सञ्चालनका लागि सहयोग गर्ने जानकारी दिए ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोनासँग डराएरभन्दा पनि सावधानीका उपाए अपनाएर उद्योग कलाकारखाना चलाउने निर्णय गराए । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा गत वैशाख २६ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख २६ गतेदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान सञ्चालन भएका थिए ।

    निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अर्फ कमर्श, नेपाल उद्योग परिसंघ र समुद्रपार निकासी पैठारी संघले बजेटका लागि संयुक्तरुपमा सुझाब दिएका थिए । सुझावमा कोरोनाले थला परेको उद्योगलाई राहत प्याकेज, ब्याजदरमा हुने उतारचढाबलाई निश्चित सीमाभित्र राख्ने ब्यवस्था, कर छुटसम्मको माग राखिएको थियो ।

    त्यस्तै, कर्पोरेट आयकरको दर ५ प्रतिशतले झार्नसमेत सुझाब दिइएको थियो । आयकरको सिमा बढाउन, ब्यक्तिगतलाई ५ लाख र दम्पतिलाई ७ लाखसम्मको कर छुट, सुर्ती तथा मदिराजन्य बस्तुबाहेक अन्य सबै बस्तुहरुमा लाग्ने अन्तशुल्क खारेज गर्नसमेत निजी क्षेत्रले माग गरेको थियो ।

    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि, साना, मझौला, होटल, पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन १ खर्बसम्मको पुनर्कर्जा उपलब्ध गराएका थिए । घरेलु, साना तथा मझौला उद्योगको उत्थानका लागि ५ प्रतशित ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष स्थापना गर्ने घोषण बजेटमा भएको थियो ।

    लकडाउन अवधिभर उद्योगहरुलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने अर्थमन्त्रीले घोषणा गरेका छन् । माग कम भएको अवस्थामा खपत हुने बिजुलीको महसुलमा ५० प्रतिशत छुट दिइनेसमेत घोषणा गरिएको थियो ।

    बजेटमा मजदुर तथा कर्मचारीलाई तलब वितरणका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा पाउने र निजी क्षेत्रले व्यवसाय पुनःसञ्चालनका लागि सोही ब्याजदरमा पुनर्कर्जा सुविधाको समेत व्यवस्था गरेको थियो ।

    लकडाउनको समयमा घर–घरमा सामान डेलिभरी गर्ने अभ्याससमेत गरेको थियो । लकडाउनको समयमा घरबाहिर आवतजावत गर्न रोक लगाइरहेको बेला सरकारी कम्पनीले अनलाइन डेलिभरीका गरेको हो ।

    उद्योगी व्यवसायी भन्छन्ः फेरि त्राश फैलाइयो

    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा कोरोना नियन्त्रणका लागि लकडाउनले ९ महिनासम्म अन्योलग्रस्त अवस्थामा रहेको नीजि क्षेत्र अहिले लयमा फर्केको बताए ।

    उनले भने, ‘धैरै क्षेत्रहरु रिकभर भइसकेको छ । उद्योगधन्दा, कलकारखाना र गुमेको रोजगारी पुनः सुनिश्चित हुने अवस्थामा पुगेको छ । तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ठिक समयमा ठिक निर्णय गरेकाले पनि निजी क्षेत्र माथि उठ्न सहयोग पुगेको हो । तर पर्यटन क्षेत्र भने पुरानो अवस्थामा फर्किन समय लाग्छ ।’

    नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर स्वास्थ्य मन्त्रालयले सभा–सम्मेलन नगर्नुु भनेर हालै निकालेको पत्रले निजीक्षेत्र चिन्तामा परेको बताए ।

    उनले भने ‘कोरोनाले थलिएको अर्थतन्त्र माथि उठिरहेको समयमा स्वास्थ्य मन्त्रालयले पुनः सभा र सम्मेलन गर्न भनेर विज्ञप्ती निकालेपछि निजी क्षेत्र फेरी उद्योग सञ्चालनमा समस्या आउने हो की भनेर डराउन पर्ने अवस्था आएको छ ।’

    नेपाल चेम्बर अर्फ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना कालमा व्यापारीले सामान उपलब्धतामा राम्रो भुमिका खेलेको बताउँछन् । लकडाउनले मानिस बाहिर हिँड्नसमेत डराइरहेको समयमा व्यापारीले दैनिक उपभोग्य बस्तुका आपूर्ति सहज गराएको उनको भनाइ छ ।

    शाक्यले भने ‘व्यापारीहरुले फ्रन्टलाइनमा बसेर काम गरे पनि सरकारले व्यापारीले गरेको योगदान देखेन । बन्दाबन्दीपछि व्यवसाय खुले पनि पुरानो अवस्थामा फर्केको छैन ।

    नेपाल राष्ट्र व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सबैभन्दा धेरै साना व्यवसायी समस्यामा परेको बताए । उनले भने, ‘हामीले नै सबैभन्दा पहिले बन्दाबन्दी खुलाउनु पर्छ भनेर कुरा उठाएका थियौं । काठमाडौंको महंगो घरभाडा र सरकारले पनि कर बुझाउन तोकता गरेकोले उद्योगी समस्यामा थिए । करिव ९ महिना लामो बन्दाबन्दीपछि व्यापार–व्यवसाय पहिलेको अवस्थामा फर्केको छ । स्वास्थ्य मन्त्रालयले सभा–सम्मेलन नगर्न निकालेको पत्रले व्यवसायी भने त्रासमा परेको छन् ।’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाले थला परेका उद्योगधन्दा माथि उठाउनका लागि उद्योग मन्त्रालयले सहजिकरण गरेको बताए ।

    उनले भने, ‘लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र कालोबजारी रोक्न मन्त्रालयले महत्वपूर्ण काम गरेको थियो । निजी क्षेत्रका समस्या सुनेर त्यसको समाधानका लागि उद्योग मन्त्रालयले काम गरेको छ ।’

  • ओलीपक्षीय उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी साँवा चयन

    ओलीपक्षीय उद्योग व्यवसायी महासंघको संयोजकमा एलपी साँवा चयन

    काठमाडौं । केपी ओली नेतृत्वको नेकपा सम्बद्ध उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने जिम्मेवारी विघटित प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बुले पाएका छन् । व्यवसायीसमेत रहेका लिम्बुलाई सोमवार काठमाडौंमा सम्पन्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनको भेलाले संयोजक चयन गरेको हो ।

    यसअघिका संयोजक लक्ष्मीदास मानन्धर ९० वर्ष कटिसकेकाले स्वास्थ्यका कारण जिम्मेवारी लिन नसकेपछि साँवालाई संयोजक चयन गरिएको आयोजकले जनाएका छन् । त्यस्तै सहसंयोजक श्याम थापा प्रचण्ड-माधव पक्षमा लागेकाले उनलाई पनि हटाइएको छ ।

    सहसंयोजकमा भीमलाल पौडेल र परशुराम अधिकारी चयन भएका छन् । भेलाले ९ सदस्यीय सचिवालय पनि चयन गरेको छ । सचिवालयमा डेगनाथ गौतम, बालकृष्ण शिवाकोटी, खोपनिधी लोहनी, डिबी बस्नेत, दिपक जैसी र निरज राई रहेका छन् ।

    भेलाले साबिक राष्ट्रिय उद्योगी व्यवसायी महासंघको कमिटि बिस्तार गरि ८५१ सदस्यीय बनाएको छ । संगठनको इन्चार्जको रुपमा परराष्ट्रमन्त्री तथा नेकपा ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।

    महासंघको माग बमोजिम उद्योगी व्यवसायीका समस्या समाधान गर्न अर्थमन्त्रालयले टास्कफोर्स गठन गरेको र उद्योग मन्त्रालयले पनि समस्याहरुको बारेमा छलफल गर्न टास्कफोर्स बनाउने साँवाले बताए ।

    सोमवारको भेलालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसमेतले सम्बोधन गरेका थिए ।

    भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान गरेका थिए ।

    प्रधानमन्त्रीले भने, ‘सकेसम्म हाम्रा जमिन, जंगल, जडिबुटी आदिको कसरी अघिकतम् सदुपयोग गर्न सकिन्छ । त्यतापट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौं भन्ने सरकार हो ।’

    प्रधानमन्त्रीले बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने बताए ।

    कोभिड १९ले पारेको प्रतिकुल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत बताए ।

  • आम हड्तालबारे उद्योगी व्यवसायी भन्छन्: काल पल्किने चिन्ता भो

    आम हड्तालबारे उद्योगी व्यवसायी भन्छन्: काल पल्किने चिन्ता भो

    काठमाडौं । कोरोनाले थला परेको नेपालको अर्थतन्त्रलाई आजको आमहड्तालले थप चोट दिएको उद्योगी व्यवसायी तथा अर्थशास्त्रीले बताएका छन् । उनीहरुका अनुसार एक दिनको बन्दले देशमा अर्बौको आर्थिक क्षति हुने गर्छ ।

    अहिले अर्थतन्त्रलाई कसरी माथि उकास्ने भन्नेमा सरकार तथा राजनीतिक दल लाग्नु पर्ने बेला उल्टै आमहड्ताल गर्नु शुभ संकेत नभएको बताउँछन् अर्थविद् बिमल कोइराला । उनका अनुसार यसले देशको अर्थतन्त्रलाई दूरगामी असर पुर्‍याउनेछ ।

    ‘बन्द, हड्ताल, राजनैतिक अस्थिरताले देशमा दूरगामी असर ल्याउँछ,’ उनले भने, ‘खासगरि पर्यटन क्षेत्रमा यसले सबैभन्दा ठूलो असर गर्छ ।’

    नेपालमा भइरहेका घटनाक्रमको सूचना क्षणभरमै विश्वसामु पुग्ने भएकाले विदेशी पर्यटकमा नेपाल सुरक्षित छैन भन्ने सन्देश प्रवाह हुने उनको भनाइ छ ।

    कोइरालाका अनुसार उद्योगधन्दा, कलकारखाना, विद्यालय, साना व्यापारी र दैनिक गुजारा गर्ने मजदूरलाई बन्द, हड्तालले ठूलो असर गर्ने छ ।

    ‘यो दूरगामी असर हो । यसको शुरुवात गर्नै हुँदैनथ्यो । हामी लामो समय बन्द, हड्ताल जस्ता क्रियाकलापबाट गुज्रिएका थियौं । अव त देशले केही पाउने बेलामा फेरी पूरानै शैली दोहोरिएको छ । यो ठीक होइन,’ उनले भने ।

    कोरोनाले सबैभन्दा बढी क्षति गरेको पर्यटन क्षेत्रलाई आजको आमहड्तालले ठूलो नकारात्मक सन्देश फैलाउने बताउँछन् पर्यटन विभागका सिइओ डा. धनन्जय रेग्मी । उनका अनुसार पहिला पनि देशमा भएको जनयुद्ध, जन आन्दोलन, त्यसपछि भएका बन्द, हड्तालजस्ता कुराले विश्व सामु नेपाल असुरक्षित रहेको सन्देश गएको थियो ।

    ‘विश्वसामु नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन हामीले लामो समय खर्चियौं । नेपालका राजनीतिक दलले पनि अब बन्द, हड्तालजस्ता कार्यक्रम नगर्ने भनेर बाचा पनि गरेका थिए । तर, फेरी यसको शुरुवात भएको छ । यो पक्कै राम्रो होइन । यसले पर्यटन व्यवसायलाई मात्र होइन पूरै अर्थतन्नत्रलाई नै ठूलो क्षति पुग्ने छ ।’ उनले भने ।

    नेपाल एक दिन बन्द हुँदा २ अर्ब रुपैयाँभन्दा बढिको आर्थिक संकुचन हुने गरेको अर्थशास्त्री तथा उद्योगी बताउँछन् । आज भएको आमहड्तालको विरोध गर्दै नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघले संयुक्त रुपमा बुधबार नै विज्ञप्ती नै जारी गरेका थिए । उनीहरुले यस्ता क्रियाकलापको भर्सना गर्दै नेपालमा बन्द, हड्ताल जस्ता काम तुरुन्त बन्द गर्न आग्रह समेत गरेका छन् ।

    नाम नखुलाउने शर्तमा एक उद्योगीले भने ‘वास्तवमा यो हड्ताल जो सुकैले गरेको भए पनि ठूलो गल्ती हो । अहिलेको समयमा कसरी उद्योग, कलकारखाना बचाउने भन्ने समयमा बन्द, हड्ताल गर्नु भनेको देशलाई अधोगतितर्फ लैजानु हो ।’

    नेकपाले गरेको बन्दले भविष्यमा बन्द–हड्तालको पुरानै श्रृंखलाको पुनरावृत्ति हुन सक्ने उनको चिन्ता छ ।

    ‘…मरी भन्दा पनि काल पल्कने चिन्ता भयो, अब अरुले पनि भटाभट बन्द–हड्तालको कार्यक्रम ल्याए भने अर्थतन्त्र तहसनहस हुन्छ,’ उनले भने ।

    यातायात व्यवायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यका अनुसार नेपाल बन्द भन्नासाथ पहिलो प्रहार यायातयलाई नै हुन्छ । सार्वजानिक यातायात मध्यवर्गीय र निमुखा जनताले प्रयोग गर्ने भएकाले बन्द, हड्तालजस्ता कुराले यिनै बर्गलाई सबैभन्दा बढी असर गर्ने उनको भनाइ छ ।

    ‘यातायात व्यवसायमा मजदूर तथा कर्मचारीले दैनिकको रोजीरोटी गुमाउनुका साथै लाखौको नोक्सानी व्यहोर्नु पर्छ । व्यवसायीलाई पनि दैनिक करोडौंको क्षति हुन्छ ।’ उनले भने ।

    कोरोनाको समयमा ६ महिना यातायात बन्द हुँदा अर्बौको क्षति भएको उनले स्मरण गरे ।

    कर्मचार्यका अनुसार यातायात व्यवसायले बन्द, हड्तालमा आर्थिक क्षति मात्र नभएर होइन मानसिक रुपमा पनि ठूलो प्रभाव पर्ने गरेको छ ।

    ‘बन्द हड्तालमा गाडी चलाउँदा ज्यानैको जोखिम हुन्छ । नचलाउँदा रोजिरोटी गुम्छ,’ उनले भने ।