Tag: उदय जिएम

  • मसाल विवादको साइड इफेक्ट- पत्रकारका अध्यक्ष उदय जिएमले त्यागे ३२ वर्षको आबद्धता

    मसाल विवादको साइड इफेक्ट- पत्रकारका अध्यक्ष उदय जिएमले त्यागे ३२ वर्षको आबद्धता

    काठमाडौं । नेकपा (मसाल) भित्र उत्पन्न विवाद शत्रुतापूर्ण बन्दै गएपछि सो पार्टी आबद्ध प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष उदय जिएमले राजीनामा दिएका छन् ।

    नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जिएमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षदेखिको नेकपा मसालसँगको आबद्धता पनि त्यागेको घोषणा गरेका छन् ।

    उनले आफूले सबै जिम्मेवारीबाट बिदा लिएर स्वतन्त्र भएको घोषणा गरेका हुन् । नेकपा मसाल पछिल्लो समय विग्रह र पुनःविभाजनको चरणमा छ ।

    महामन्त्री मोहनविक्रम सिंह पक्षले फरक मत राख्नेमाथि कारबाहीको सिलसिला चलाएको छ । जिएमले आफ्नो लामो पृष्ठभूमि खुलाउँदै अब मसाल आबद्ध संगठनमा नरहेको बताएका छन् ।

    जिएमको प्रेस विज्ञप्ति जस्ताको तस्तै

    प्रेस विज्ञप्ति 

    मैले २०४६ सालदेखि अविचलितरुपमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चानिकट रहेर उसको विचार, राजनीति, सिद्धान्तलाई सर्वोपरि ठान्दै आएको सबैमा अवगत नै छ । वैचारिक आस्थाका हिसावले नेकपा (मसाल)मा दृढ रहँदै पछिल्ला करीव २५ वर्ष नेपाली मूलधारको पत्रकारितामा सक्रिय रहेको पनि सबैलाई अवगत नै छ । यस अवधिमा शुरुका केही वर्ष पूर्णकालीन कार्यकर्ताका रुपमा अखिल भारत नेपाली एकता समाजका विभिन्नस्तरका समितिहरुमा क्रियाशील रहनुका साथै एकता समाजको केन्द्रीय कार्यालय सञ्चालन र मुखपत्र “नेपाली एकता”को प्रकाशनको जिम्मेवारी निर्वाह गरें । अखिल नेपाल जनजाति सम्मेलन (भारत शाखा)को जिम्मेवारीमा रहँदै मुखपत्र “जनजाति लहर”को प्रकाशनमा संलग्न रहें भने त्यसकै केन्द्रीय समितिको प्रकाशन विभाग र मुखपत्र “जनजाति आवाज”को प्रकाशनमा पनि संलग्न रहें । २०५४ सालयता मूलधारको नेपाली पत्रकारितामा क्रियाशील रहेतापनि प्रगतिशील पत्रकार संघको संस्थापक केन्द्रीय सदस्य, दुईपटक महासचिव हुँदै हाल संघको अध्यक्षको रुपमा क्रियाशील छु । यही निरन्तरता र क्रियाशीलताका कारण अघिल्लो कार्यकालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेको अवगतै छ । नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट, विभाजन, एकता अनि ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको इतिहास छ । विचार र सिद्धान्तमा मतैक्यता नभएपछि दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति छ । विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरु भइरहेका छन् । केही आरोपहरु र कथित आरोपहरु, केही विमतिहरु र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन् । यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु । यसक्रममा हाइस्कूल पढ्दा नै मनमस्तिष्कमा राजनीतिक चेतको बिजारोपण गरिदिने आदरणीय गुरु कृष्णबहादुर महरा, भारतमा रहँदा संगठित गर्नेदेखि मेरा हरेक कदमहरुमा साथ, सहयोग र समर्थन गर्नुहुने आदरणीय महेश जीसी, मित्रलाल शर्मा, गिरधारीलाल न्यौपाने, डिलाराम आचार्य लगायतका नेतागणहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु । मलाई संगठनको उच्च जिम्मेवारी प्रदान गर्नुहुने श्रद्धेय नेताहरु नेकपा (मसाल)का महामन्त्री क. मोहनविक्रम सिंह, वरिष्ठ नेता आदरणीय चित्रबहादुर केसी, दुर्गा पौडेल, कृष्ण अधिकारी, सुरेश थापालगायतका नेतृत्वगणप्रति उच्च सम्मान व्यक्त गर्दछु । संघका निवर्तमान अध्यक्ष नारायण शर्मा तथा रामसिंह श्रीस र परि थापालगायतका नेताहरुलाई पनि यो अवसरमा सम्झन चाहन्छु । प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र देशैभरका सम्पूर्ण सदस्य साथीहरुले मप्रति देखाउनुभएको सदाशयता, सद्भाव र सहयोगको उच्च प्रशंसा र सम्मान व्यक्त गर्दछु । र, नेपाल पत्रकार महासंघको उपाध्यक्षको भूमिकामा उत्तिकै हार्दिकता, उत्तिकै सद्भावका साथ यहाँहरुका हरेक सुखदुःख, खुशी, पीडा र हर्षमा यहाँहरुकै माझमा रहने विश्वास दिलाउन चाहन्छु । अन्तमा, मेरो यो कदमपछि हरेक कोणबाट आउने आलोचना, गाली, ताली, सुझाव, सल्लाह र उत्प्रेरणाहरुलाई सहर्ष शिरोपर गर्नेछु ।

    धन्यवाद !

    उदय जीएम

    ७ पुस २०७८