Tag: इद

  • आज इद उल फित्र, मुस्लिम समुदायले विशेषरुपमा मनाउँदै

    आज इद उल फित्र, मुस्लिम समुदायले विशेषरुपमा मनाउँदै

    काठमाण्डौं । इस्लाम समुदायले आव विशेषरुपमा इद उल फित्र पर्व मनाउँदैछन् । देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँछन् ।

    आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुनेछ ।

    आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ ।

    यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ।

    इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले शुभकामना सन्देश दिएका छन् । उनीहरुले धार्मिक सहिष्णुता कामय राख्दै पर्व मनाउन सबैसँग आग्रह पनि गरेका छन् ।

  • आज चन्द्रमा देखिएन, इदकाे विदा पर्सी

    आज चन्द्रमा देखिएन, इदकाे विदा पर्सी

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको पवित्र चाड इदको अवसरमा पर्सी मंगलबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम आयोगले पर्सी विदा दिन सरकारलाई सिफारिस गर्ने भएकाे हाे । आज इदकाे विदा दिइने चर्चा भए पनि सरकारले निर्णय लिएकाे थिएन ।
    आइतबार साँझ चन्द्रमा नदेखिएको हुनाले भोलि बिदा दिन गृह मन्त्रालयलाई पत्राचार नगरिएकाे आयाेगले जनाएकाे छ । आयोगका अध्यक्ष समिम अन्सारीले नेपाल प्रेससँग भने, ‘आज आइतबार चन्द्रमा नदेखिएकाले भोलि बिदाका लागि सिफारिश गर्न सकिएन । अब भोलि गृह मन्त्रालयलाई पर्सी बिदा दिनका लागि सिफारिस गर्छौं ।’
    गृह मन्त्रालयका अधिकारी अबेरसम्म आयाेगकाे पत्र पर्खिरहेका थिए । अध्यक्ष अन्सारीका अनुसार आयोगले पर्सि बिदा दिनका लागि पत्र तयार गरिसकेको छ । साे पत्र भोलि मात्र गृह मन्त्रालयलाई पठाइने छ ।
    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले नेपाल प्रेससँग भने, ‘अहिलेसम्म पत्र आएको छैन । सम्भवत पर्सी बिदा गर्ने गरी राष्ट्रिय मुस्लिम आयोगले भोलि पत्र पठाउला । मन्त्रालयले पत्र पाउनेवित्तिकै बिदा दिनेबारे निर्णय गर्छ ।’ इस्लाम धर्मावलम्बिले मनाउने इदका अवसरमा सार्वजनिक बिदा दिने भनेर राजपत्रमा नै प्रकाशित भइसकेको छ । त्यसैले यो निर्णय मन्त्रिपरिषद्बाट गरिरहनुपर्दैन ।
    मुस्लिम आयोगले गर्ने सिफारिसका आधारमा गृह मन्त्रालयले निर्णय लिन सक्छ । चैत महिनामा बसेको मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक पर्व एव सट्टा बिदा कार्यालय समय राजपत्रमा प्रकाशित गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल अजहा) का दिन र इद (इद उल फित्र) का दिन बिदा दिने उल्लेख गरिएको छ ।
  • कुर्वान दिने पर्व बकर इद आज, घरमै नमाज पढेर मनाइँदै

    कुर्वान दिने पर्व बकर इद आज, घरमै नमाज पढेर मनाइँदै

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । बकर इदका अवसरमा आज सरकारले देशभर सार्वजिनक विदा दिएकाे छ ।

    इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

    यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

    हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए।

    ‘अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान)दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो,’ पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने ।

    मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।

    ‘जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने ।

    यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत सहज छैन । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घरघरमै बकर इद मनाउने छन् ।

    कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैंले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

    रासस