Tag: इटाली

  • जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली रोकियो

    जर्जिन्हो पेनाल्टीमा चुक्दा इटाली रोकियो

    काठमाडौं । अन्तिम मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा युरोपियन च्याम्पियन इटाली फिफा विश्व कप २०२२ का लागि युरोपेली छनोटमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ ।

    शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९०औं मिनेटमा पाएको पेनाल्टीमा मिडफिल्डर जर्जिन्होले गरेको प्रहार बाहिरिँदा इटाली अग्रता बनाउन चुकेको थियो । यो नतिजासँगै इटालीले सिधै विश्व कपमा छनोट हुने मौका गुमाएको छ ।

    खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाए पनि इटली जित निकाल्न सफल भएन ।

    खेलपछि समूह ‘सी’मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमश: पहिलो र दोस्रो स्थानमा छन् ।

    समूह ‘सी’ को खेलमा उत्तरी आयरल्याण्ड र लिथुआनियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • जर्जिन्हो बने यूईएफए प्लेयर अफ दी इयर

    जर्जिन्हो बने यूईएफए प्लेयर अफ दी इयर

    काठमाडौं । चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरो २०२० च्याम्पियन बनेका जर्जिन्हो यूईएफए प्लेयर अफ दी इयर घोषित भएका छन् ।

    गत सिजन चेल्सीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका जर्जिन्होले इटालीले गत महिना युरो जित्दा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    उनीसँगै फ्रेन्च मिडफिल्डर एनगोलो कान्टे तथा बेल्जियन प्लेमेकर केभिन डी ब्रुयना पनि नोमिनेसनमा परेका थिए ।

    महिलातर्फ बार्सिलोनालाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेकी एलेक्सिया पुटेलसले हात पारेकी थिइन । उनीसँगै बार्सिलोनाकै लिके मार्टिन्स र जेनिफर हर्मुसो पनि नोमिनेसनमा परेका थिए ।

    वर्षको उत्कृष्ट गोलकिपरमा पुरुषतर्फ चेल्सीका एडुवार्डो मेन्डी र बार्सिलोनाकी सान्ड्रा पानोसले पाएका थिए । यस्तै वर्षको उत्कृष्ट डिफेन्डर पुरुषतर्फ म्यानचेस्टर सिटीका रुबेन डियाज र महिला तर्फ पेरिस सेन्ट जर्मन (पीएसी)की इरेन पेरेडेजले हातपारे ।

    मिडफिल्डरमा चेल्सीका एन्गोलो कान्टे र बार्सिलोनाकी एलेक्सिया पुटेलस उत्कृष्ट घोषित हुँदा फरवार्ड भने बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड तथा बार्सिलोनाकी जेनिफर हर्मोसो बनेका थिए ।

    त्यस्तै महिला टोलीको उत्कृष्ट प्रशिक्षक बार्सिलोनाका लुइस कोर्तेस घोषित हुँदा पुरुषतर्फ चेल्सी थोमस टुकेल वर्ष प्रशिक्षक चुनिएका थिए ।

  • युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन्

    युरो २०२०: टिम अफ दी टुर्नामेन्टमा इटालीको प्रभुत्व, रोनाल्डो र पोग्बा परेनन्

    काठमाडौं । इटाली ५३ वर्षपछि युरोपियन च्याम्पियन बनेसँगै मिनी विश्वकप- युरो २०२० को समापन भयो । २०१८ यता अपराजित यात्रा तय गरेको इटालीले ३४ खेलमा अपराजित रहँदै दोस्रो पटक युरोपियन च्याम्पियनसिप जित्यो ।

    प्रतियोगिताको समापनसँगै युइएफएले टिम अफ दी टुर्नामेन्ट सार्वजनिक गरेको छ । इटालीका खेलाडीको प्रभत्व रहेको ११ सदस्यीय टिम यस्तो छ ।

    गोलकिपर- यानलुइजी डोनरुम्मा (इटाली)

    आगामी सिजनका लागि फ्रेन्च हेभिवेट- पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित इटालियन गोलकिपर डोनरुम्मा प्लेयर अफ दी टुर्नामेन्टसमेत घोषित भए ।

    फाइनलमा दुई पेनाल्टी रोकेका डोनरुम्माका लागि यो प्रतियोगिता आफ्नो खेल करियरकै सम्झिनलायक मध्ये एक रह्यो ।

    राइट ब्याक- योहाकिम मेहेले (डेनमार्क)

    एट्लान्टाले ६ महिनाअघि १० मिलियन खर्चेर क्लबमा अनुबन्धित गरेका डेनिस भर्सटाइल राइट ब्याक मेहेले युरो २०२० चर्चित खेलाडी रहे । डेनिस टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका २४ वर्षीय मेहेलेले दुई गोल गरेर एक असिस्ट पनि दिएका थिए ।

    अचम्मकको कुरा त, राइट फुटेड भएर पनि लेफ्ट ब्याकबाट उनले अझ रिमार्केबल प्रदर्शन गरे ।

    उनले क्वार्टरफाइनलमा चेक रिपब्लिकविरुद्धको खेलमा कास्पर डोलबर्गलाई दिएको असिस्ट प्रतियोगिताकै हेर्नलायक क्रस थियो ।

    सेन्टर ब्याक- लियोनार्दो बोनुची (इटाली)

    इटालियन डिफेन्डर बोनुचीको सम्बन्धमा सबैभन्दा रिमार्केबल प्रदर्शन फाइनलमा इटालीविरुद्ध रह्यो । जुन खेलमा उनले म्यान अफ दी म्याच अवार्डसमेत जितेका थिए ।

    इटालीको डिफेन्सलाइनमा रक सोलिड बनेका बोनुचीले गोलस्कोरिङमा पनि उपस्थिति जनाइ रहे । फाइनलमा मार्को भेराटीको प्रहार गोलपोस्टमा लागेर फर्किएपछि पुन: प्रहार गर्दै इटालीका लागि बराबरी गोलसमेत बोनुची आफैँले फर्काएका थिए ।

    लामो समयदेखि डिफेन्डरभन्दा पनि मिडफिल्डर हुन् भन्ने बहसविपरीत युरो २०२० मा कम्प्लिट सेन्टर ब्याकको प्रमाण प्रस्तुत गरे ।

    सेन्टर ब्याक- जर्जियो केलिनी (इटाली)

    बोनुचीसँग सेन्टर ब्याकमा सोलिड बनेका केलिनी टिम अफ दी टुर्नामेन्टमा नपर्ने कुरै भएन । सम्भवत: इटालीबाट अन्तिम प्रतियोगिता खेलिरहेका ३६ वर्षीय केलिनीले अन्तर्राष्ट्रिय फुटबल करियरको क्षण बिताए । फाइनलमा इङ्लिस कप्तान ह्यारी केनले निरन्तर अट्याकिङ हाफमा प्रेसर गरे पनि केलिनीले उनलाई धिम्किन दिएनन् ।

    अज्जुरीका प्रेरणादायी कप्तान केलिनी सर्वकालिन फुटबलरमध्ये एक डिफेन्डरको उपमा अब सार्थक भएको छ ।

    लेफ्ट ब्याक- लियोनार्दो स्पिनाजोला (इटाली)

    इटालीका लागि सबैभन्दा महत्त्वपूर्णमध्ये एक सदस्य स्पिनाजोला रहे । तर, प्रतियोगिताकै दौरान क्वार्टरफाइनलमा घाइते भएका स्पिनाजोलाले सेमिफाइनल र फाइनल गुमाए ।

    प्रतियोगिताको पहिलो खेलमा टर्कीविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका २८ स्पिनाजोलाले अन्तिम-१६ मा अस्ट्रियाविरुद्ध पनि सोही प्रदर्शन दोहोर्‍याएका थिए । क्वार्टरफाइनलमा स्ट्रेचरमा मैदानबाट बाहिरिएका स्पिनाजोला फाइनलका लागि लन्डन उडेका थिए । र, फाइनलमा उनले जे कुराका लागि त्यो चोटको पीडा बेहोरेका थिए, त्यो मेडल र ट्रफी उनले हासिल गरे ।

    सेन्टर मिडफिल्डर- इमिल होइबर्ग (डेनमार्क)

    डेनमार्कको सेन्सेसनल सेमिफाइनल यात्राको आधारस्तम्ध रहे, होइबर्ग । टोटेनह्यामका मिडफिल्डरले आफ्नो देशलाई प्रतियोगितामा अगाडि बढाउन हरसम्भव कोसिस गरे । फिनल्यान्डविरुद्धको खेलमा क्रिस्टियन एरिकसनलाई कार्डिक एरेस्ट भएपछि विथोलिएको डेनिस मिडफिल्ड होइबर्गले सम्हालेका थिए ।

    होइबर्गले प्रतियोगितामा तीन असिस्ट र ११ मौका सिर्जना गरेका थिए  । १० ड्रिबल पासल गरेका होइबर्गले ५१ पटक बल जितेका थिए । त्यो प्रतियोगितामा अरू खेलाडीभन्दा धेरै हो ।

    सेन्टर मिडफिल्डर- जर्जिन्हो (इटाली)

    चेल्सीबाट युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेका जर्जिन्होले ६ सातापछि फेरि युरोपियन च्याम्पियनसिपको उपाधि उचाले । पछिल्लो समय आफ्नो क्षमतालाई लिएर आफ्नै क्लबका समर्थकबाट प्रश्न उठिरहेका बेला जर्जिन्होले सबैको मुखमा ताल्चा लगाउने प्रदर्शन गरे ।

    नेपोलीका पूर्व मिडफिल्डर जर्जिन्होले इटालियन टोलीको मिडफिल्डका सबैभन्दा महत्त्वपूर्ण खेलाडी रहे । प्रेसिङ र पासिङमा सोलिड प्रदर्शन गरेका जर्जिन्होले प्रतियोगितामा दोस्रो सर्वाधिक सफल पास खेले ।

    उनले प्रतियोगिताभर ४८५ सफल पास खेलेर ४८ पटक बल पोसेसन जिते । उनले युरोपियन च्याम्पियनसिपको इतिहासमै सर्वाधिक २५ इन्टरसेप्सन गरे । हालसम्म १४ भन्दा धेरै कसैले गर्न सकेको थिएन  ।

    सेन्टर मिडफिल्डर- पेड्री (स्पेन)

    युरो २०२० को प्रदर्शनसँगै नयाँ एन्द्रेस इनिएस्टा कहलिन थालेका पेड्रीको त्यो उपमाले थप सार्थकता पाएको छ । स्पेनले अन्तिम ४ सम्मको यात्रा तय गरेर बाहिरिँदा तत्कालका लागि केही हासिल नगरे पनि लामो समयका लागि एक महत्त्वपूर्ण खेलाडी पाएको छ, ती हुन् पेड्री ।

    प्रतियोगिता सुरु हुनुअघि बार्सिलोनाका वन्डरकिड पेड्रीले सुरुआती-११ मा मौका पाउनेमै आशंका थिए । तर, प्रतियोगिताको समाप्तिसम्म ११ मौका सृजना गरेका पेड्रीले विपक्षी टोलीको हाफमा सर्वाधिक ३१६ पास सफलतापूर्वक खेलेका थिए ।

    १८ वर्षीय टिनेजर पेड्रीको इटालीविरुद्धको प्रदर्शनसँगै प्रशिक्षक लुइस इनरिकेले मुक्त कन्ठले प्रशंसा गरेका थिए ।

    राइट विङ्गर- फेडेरिको किएसा (इटाली)

    रोबर्टो मान्चिनीको इटालीले २००६ पछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दाका नायक हुन्, किएसा । प्रतियोगिताको सुरुआतअघि डोमेनिको बेरार्डीले राइट फ्लान्क सम्हाल्ने अनुमान गरिएको थियो । तर, प्रतियोगिताको किक-अफसँगै युभेन्टसका युवा विङ्गरले आफूलाई स्थापित गरे ।

    अज्जुरीका लागि सुरुआती दुई खेल सब्स्टिच्युट खेलाडीको रूपमा सुरुआत गरेका किएसाले वेल्विरुद्धको खेलमा सुरुआती-११ बाट म्यान अफ दी म्याच प्रदर्शन गरे ।

    अस्ट्रियाविरुद्धको खेलमा सुरुआती-११ मा नपरेका किएसाले पुन: एकपटक बेन्चबाट आएर डेडलक तोडेका थिए ।

    क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध म्यान अफ दी म्याच प्रदर्शन गरेका किएसाले सेमिफाइनलको दोस्रो हाफमा स्पेनविरुद्ध शानदार गोल गरेका थिए ।

    फाइनलमा इङ्ल्यान्डविरुद्धको खेलमा चोटका कारण बाध्य भएर परिवर्तन हुनुअघिसम्म रिमार्केबल प्रदर्शन गरेका किएसाले युरो २०२० मा आफूलाई स्तरीय खेलाडीको रूपमा स्थापित गरे ।

    सेन्टर फरवार्ड – प्याट्रिक शिक (चेक रिपब्लिक)

    मार्को भान बास्टेनदेखि ज्लाटान इब्राहिमोभिचसँग सम्म शिकको तुलना भइरहेको छ । र, विश्व फुटबलका ती महान् स्ट्राइकरसँगको तुलनाको कारण हो, शिकले युरो २०२० मा गरेको प्रदर्शन ।

    बायर लेभरकुसेनका फरवार्ड शिकको नाम युरो २०२० अगाडि धेरैले सुनेका थिएनन् । तर, एक महिनाको प्रतियोगिता र युरो २०२० प्रदर्शनले सबै फुटबलप्रेमीले सम्झिने नाम बन्यो, प्याट्रिक शिक ।

    स्कटल्यान्डविरुद्ध प्रतियोगिताको उत्कृष्टमध्ये एक गोल गरेका शिकले मैदानको बीच भागबाट सोझै बललाई जाली चुमाएका थिए ।

    त्यो गोलमा मात्रै नरोकिएका शिकले क्रोएसिया र नेदरल्यान्ड्सविरुद्ध पनि गोल गरेका थिए । क्वार्टरफाइनलमा २५ वर्षीय शिकले गरेको गोलले डेनमार्कलाई सेमिफाइनलसम्म पुग्नबाट नरोके पनि उनलाई सर्वाधिक गोलकर्ताको सूचीमा क्रिस्टियानो रोनाल्डसँग ५ गोलको बराबरीमा गर्न मद्दत गर्‍यो ।

    पोर्चुगिज सुपर स्टारले एक असिस्ट धेरै भएको आधारमा गोल्डेन बुट जित्दा शिक दुर्भाग्यशाली सावित भए । तर, युरो २०२० मा उनको एकनासको प्रदर्शनले उनलाई समकालीन फुटबलरमध्ये उत्कृष्ट एकमा स्थापित गरेको छ ।

    लेफ्ट विङ्गर- राहिम स्टर्लिङ (इङ्ल्यान्ड)

    फाइनलअघि सम्म प्लेयर अफ दी टुर्नामेन्टका प्रत्यासी स्टर्लिङ बिना इङ्ल्यान्डको यात्रा अपुरै देखिन्थ्यो । म्यानचेस्टर सिटीका मिडफिल्डर स्टर्लिङले प्रतियोगितामा शानदार सुरुआत प्रदर्शन मात्रै गरेनन्, क्रोएसिया र चेक रिपब्लिकविरुद्ध निर्णायक गोलसमेत गरेका थिए ।

    जर्मनीविरुद्धको जितमा पनि उत्कृष्ट प्रदर्शन गरेका स्टर्लिङ सेमिफाइनलमा डेनमार्कविरुद्ध इङ्ल्यान्डले गरेका दुवै गोलमा प्रत्यक्ष रूपमा सहभागी थिए ।

    प्रतियोगिता सुरु हुनुअघि आलोचित भइरहेका २६ वर्षीय विङ्गरले सबै आलोचकलाई चुप लगाउने प्रदर्शन गरे ।

  • ३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

    ३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

    काठमाडौं । रोबर्टो मान्चिनीको इटालीले फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ को नतिजामा पराजित गर्दै युरो २०२० को उपाधि जित्यो । आइतबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा पेनाल्टी सुटआउटमा बाजी मारेसँगै इटालीले ३४ खेलमा अपराजित यात्रा तय गरेको हो ।

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको सेमिफाइनलमा स्पेनलाई ४-२ को नतिजामा पराजित गर्दै इटालीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको इटालीले २-१ गोलको नतिजामा जित हासिल गरेको थियो ।

    इटालीले आफ्नो उपाधि यात्रामा १३ गोल गरेर ४ गोल मात्र खाएको थियो । इटाली अन्तिम पटक नेसन्स लिगअन्तर्गत २०१८ को सेप्टेम्बर १० मा पोर्चुगलसँग पराजित भएको थियो ।

    प्रशिक्षक भिट्टोरियो पोज्जो नेतृत्वको ‘अज्जुरी’ले सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित यात्रा तय गरेको थियो । त्यो समयमा इटालीले दोस्रो विश्वकप (१९३८)को उपाधि र ओलम्पिक गोल्ड मेडल (१९३६) जितेको थियो ।

    अहिले मान्चिनी नेतृत्वको इटाली विश्व फुटबलको इतिहासकै सर्वाधिक लामो अपराजित यात्राको कीर्तिमान बनाउन नजिक पुगेको छ । अहिलेसम्म फुटबलको इतिहासमा ब्राजिल र स्पेनले समान ३५ खेलमा अपराजित यात्रा तय गरेर कीर्तिमान राखेका छन् ।

    अहिले इटाली मात्रै नभएर अल्जेरया पनि लामो अपराजित यात्रामा छ । अफ्रिक कप अफ नेसन्स विजेता अल्जेरिया २०१८ यताका २८ खेलमा अपराजित छ ।

    कुन राष्ट्रिय टोलीको छ सबैभन्दा लामो अपराजित यात्रा ?

    टिम खेलहरू समय
    ब्राजिल ३५ १९९३-१९९६
    स्पेन ३५ २००७-२००९
    इटाली ३४ २०१८-अहिलेसम्म
    अर्जेन्टिना ३१ १९९१-१९९३
    इटाली ३० १९३५-१९३९
    फ्रान्स ३० १९९४-१९९६
    अल्जेरिया २७ २०१८-अहिलेसम्म
    वेस्ट जर्मनी २३ १९७८-१९८१
    फ्रान्स २३ २०१०-२०१२
  • हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

    हामी इङ्ल्यान्डमाथि हाबी भयौं: मान्चिनी

    काठमाडौं । प्रशिक्षक रोबर्टो मान्चिनीले इटाली इङ्ल्यान्डमाथि हाबी भएको संकेत गर्दै आफ्ना ‘एक्सट्राअर्डिनरी’ खेलाडीको प्रसंशा गरेका छन् ।

    इटालीले वेम्ब्ली स्टेडियममा आइतबार राति भएको फाइनलमा पेनाल्टीमा ३-२ गोलको नतिजामा जित निकाल्दै ५३ वर्षपछि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

    निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा रोकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । इङ्ल्यान्डका तीन खेलाडी पेनाल्टीमा गोल गर्न नसक्दा उपाधि इटालीको पक्षमा परेको थियो ।

    इटालियन प्रशिक्षक मान्चिनीले १२० मिनेट इङ्ल्यान्डविरुद्ध खेलिसकेपछि ‘इटाली जितको हकदार भएको’ प्रतिक्रिया दिएका छन् ।

    ‘यो सोच्दा अपत्यारिलो लाग्थ्यो, तर हाम्रा खेलाडीहरू ‘एक्स्ट्राअर्डिनरी’ रहे,’ उनले भने, ‘उनीहरूलाई भन्न मसँग कुने शब्द छैन, यो एक अद्भूत समूह छ, यो सहज खेल थिएन, उनीहरू एकदमै कठिन प्रतिद्वन्दी थिए । तर, हामीले डोमिनेट गर्‍यौं ।’

  • २०१३ मै भएको थियो युरो २०२० को फाइनलमा इटालीसँग इङ्ल्यान्ड हार्ने भविष्यवाणी

    २०१३ मै भएको थियो युरो २०२० को फाइनलमा इटालीसँग इङ्ल्यान्ड हार्ने भविष्यवाणी

    काठमाडौं । आइतबार राति वेम्ब्ली स्टेडियममा भएको युरो २०२० को फाइनलमा इटालीले बाजी मार्‍यो । सन् २००६ विश्वकपपछि पहिलो पटक ठूलो प्रतियोगिता जितेको इटालीले युरो १९६८ पछि पहिलोपटक जितेको हो ।

    घरेलु टोलीविरुद्ध प्रतिस्पर्धात्मक खेलमा पुनरागमनसहित जित निकालेको इटालीले ३४ खेलमा अपराजित यात्रासमेत तय गरिसकेको छ । खेलको दोस्रो मिनेटमै १-० गोलको नतिजामा पराजित भएको इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

    बराबरी गोलसँगै अतिरिक्त समयमा धकेलिएको खेल पुन: बराबरीमा सीमित भएपछि नतिजाका लागि पेनाल्टी सुटआउटको विकल्प रहेन । सोही पेनाल्टी सुटआउटका लागि ११८औं मिनेटमा मैदान प्रवेश गरेका इङ्लिस दुई खेलाडी- जाडोन साञ्चो र मार्कस रासफोर्ड चुक्दा इटालीले बाजी मार्‍यो । पेनाल्टीमा ३-२ गोलको नतिजा निकालेको इटालीले दोस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि चुम्यो ।

    यी सबै त सामान्य वास्तविकता थिए । तर, इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई पराजित गरेसँगै एक समर्थकले २०१३ मा गरेको भविष्यवाणी मिलेको छ ।

    @lawseyitfc ले २०१३ को फेब्रुअरी २२ मा इङ्ल्यान्ड युरो २०२० को पेनाल्टी सुटआउटमा इटालीसँग पराजित हुने भविष्यवाणी गरेका थिए ।

    अझ रोमाञ्चक कुरा त केछ भने उनले आफ्नो ट्वीटमा युरो २०२० भनेरै मेन्सन गरेका छन् । र, कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको युरोपियन च्याम्पियनसिपको नाम भने ‘युरो २०२०’ नै राखिएको थियो ।

    यसले उनको भविष्यवाणी अझै मिलेको दर्शाएको छ । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद सञ्चारमाध्यमहरूमा उनको ट्वीट भाइरल बनेपछि उनले फेरि ट्वीट गरेका छन् ।

    उनले आफ्नै पुरानो भविष्यवाणीको ट्वीटमा रिप्लाई गर्दै ‘लोल…. कसैले यो किन भेट्टायो फेरि.. ‘ भनेर प्रतिक्रिया दिएका छन् ।

  • इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    इंग्ल्याण्डलाई हराएर ५३ वर्षपछि इटाली बन्यो युरोपियन च्याम्पियन

    काठमाडौं । पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ ।

    निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।

    इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए ।

    बोनुचीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टीकै लागि ११८औं मिनेट सब्स्टिच्युट गरेका खेलाडीद्वय- मार्कोस रासफोर्ड र जाडोन साञ्चो नै पेनाल्टीमा असफल भएका थिए ।

    सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

    पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए ।

  • युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

    युरो २०२० फाइनल: इटालीविरुद्ध १९६६ विश्वकपको इतिहास दोहोर्‍याउला इङ्ल्यान्डले ?

    काठमाडौं । पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको इङ्ल्यान्ड आइतबार राति वेम्ब्लीमा इटालीलाई पराजित गर्दै इतिहास रच्ने दाउमा छ । सन् १९६६ मा घरेलु मैदानमा विश्वकप उपाधि उचालेको इङ्ल्यान्ड युरो २०२० मा पनि त्यही सफलता दोहोर्‍याउन चाहन्छ ।

    यस्तै, २००० र २०१२ को फाइनलमा पुगेर पनि उपविजेतामा मात्रै सीमित भएको इटाली लगातार तेस्रो पटक फाइनलमा पराजित हुन चाहँदैन ।

    समूह चरणमा सतप्रतिशत नतिजा निकालेको इटालीले अन्तिम-१६ मा अस्ट्रियालाई पराजित गरेको थियो । त्यस्तै, क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई पन्छाएको इटालीले सेमिफाइनलमा २०१२ मा ४-० ले पराजित हुँदाको प्रतिद्वन्दी स्पेनलाई हरायो ।

    लगातार ३३ खेलमा अपराजित रहेको इटाली प्रतियोगिताको ‘डोमिनेन्ट’ टोली हो । अनुभवी र युवा खेलाडीको उत्कृष्ट तालमेल देखिएको इटाली टीम गेम खेल्दै फाइनलसम्म आइपुगेको हो । त्यस्तै, समूह चरणमा दुई जित र एक बराबरीसहित अन्तिम १६ मा आइपुगेको इङ्ल्यान्डले अन्तिम-१६ मा जर्मनीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा युक्रेनलाई हराएको इङ्ल्यान्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध पुनरागमन जित निकालेको थियो ।

    जारी प्रतियोगिताका ६ खेलमा १ गोल मात्रै खाएको इङ्लिस टोली फाइनलमा पनि क्लिनसिट राख्न चाहन्छ । अर्कातिर, समान ६ खेलमा १२ गोल ठोकिसकेको इटाली पनि घरेलु मैदानमा इङ्ल्यान्डलाई पराजित गर्दै १९६८ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिप जित्ने दाउमा छ ।

    विश्व फुटबलमा प्रसिद्ध वेम्ब्ली स्टेडियममा यी टोली नेपाली समयअनुसार आइतबार राति १२:४५ बजे आमनेसामने हुनेछन् ।

    केही रोचक तथ्यहरू:

    – यो इटालीको १०औं ठूलो प्रतियोगिता हो । युरोपेली मुलुकमा जर्मनीले मात्र इटालीभन्दा धेरै (१४) पटक ठूला प्रतियोगिता खेलेको छ । १९६८ मा च्याम्पियन बनेको इटालीले त्यसयता खेलेका दुई फाइनल २००० र २०१२ मा पराजय भोगेको छ ।

    – १९६६ विश्वकपको च्याम्पियन इङ्ल्यान्डको त्यस यताकै पहिलो फाइनल यात्रा हो । अझै युरोपियन च्याम्पियनसिपमा भने इङ्ल्यान्डका लागि यो पहिलो अनुभव हुनेछ । यो कुनै पनि देशका लागि विश्वकप र युरोको फाइनलबीचको सबैभन्दा ठूलो (५५ वर्षको) ग्याप हो ।

    – इङ्ल्यान्ड युरोपियन च्याम्पियनसिपको फाइनल खेल्ने १३औं टोली हो । यसअघिका १२ मध्ये तीन टोलीले मात्रै पहिलो फाइनल हारेका छन् । सन् १९६० मा युगोस्लाभिया, १९८० मा बेल्जियम र २००४ मा पोर्चुगल पहिलो पटक फाइनल पुगेर हारेका थिए ।

    – इटाली युरोपियन च्याम्पियनसिमा दुई पटक उपविजेतामा सीमित भएको छ । २००० युरोको फाइनलमा फ्रान्स र २०१२ फाइनलमा स्पनेसँग इटाली पराजित भएको थियो । जर्मनी र युएसएसआर मात्रै ३ पटक फाइनल हारेका छन् ।

    – इङ्ल्यान्डले १९६६ मा विश्कप जित्दा वेम्ब्लीमै फाइनल खेलेको थियो । र जर्मनीलाई ४-२ गोलको नतिजामा पराजित गरेको थियो ।

    – पछिल्ला दुई आयोजक देशले आफ्नै देशमा भएका फाइनल हारेका छन् । सन् २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनलमा पुगेर पराजित भएका थिए ।

  • युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक !

    युरो २०२०: इटालीको फाइनल यात्राको एक झलक !

    काठमाडौं । युरो २०१२ पछि इटाली युरोपियन च्याम्पियनमा पहिलो पटक बलियो बनेर फर्किएको छ । २०१२ युरोको फाइनलसम्म पुगेर त्यसयताका ठूला प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्न नसकेको इटाली २०१८ विश्वकपमा त छनोट नै हुन सकेन ।

    रोबर्टो मान्सिनी इटाली उर्फ ‘अज्जुरी’को प्रशिक्षकमा नियुक्त भएसँगै विजयी यात्रा सुरु गरेको इटाली ३३ खेलमा अपराजित छ । उत्कृष्ट लयको इटाली जारी युरो २०२० को सबैभन्दा ‘डोमिनेन्ट’ टोली हो र सशक्त प्रदर्शनको प्रतिफल फाइनल यात्राले इटालीलाई दिइसकेको छ । तर, यति फाइनलमा मात्रै पुग्नु इटालीले चाहेको प्रतिफल पक्कै होइन ।

    विश्वकप २००६ जितेयता ठूला उपाधिविहीन इटाली आइतबार राति वेम्ब्ली स्टेडियममा इङ्ल्यान्डलाई पराजित गर्दै युरो जित्ने लक्ष्यमा छ ।

    इटाली जारी युरोको सर्वाधिक गोलकर्ता टोली हो । त्यस्तै, प्रतियोगितामा इटालीको रक्षापंक्ति पनि ‘रक सोलिड’ देखिएको छ ।

    फाइनल यात्रा

    इटालीले जारी प्रतियोगिताका ६ खेलमा १२ गोल गरिसकेको छ भने तीन गोल मात्रै खाएको छ । टर्कीविरुद्ध ३–० को जितसँगै प्रतियोगिताको सुरुआत गरेको इटालीले युरो २०२० मा फाइनल यात्रा तय गरिसकेको छ । टकीविरुद्धको खेलमा सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले एक÷एक गोल गर्दा एक आत्मघाति गोल भएको थियो ।

    प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुगेको स्वीट्जरल्यान्डसँग समूह चरणमा भिडेको इटालीले सोही ३–० को नजिता दोहोर्‍याएको थियो । इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० को नजितामा पराजित गरेसँगै समूह एबाट सतप्रतिशत नतिजा र क्लिनसिटसहित अन्तिम १६ मा स्थान बनाएको थियो ।

    समूह चरणमा इटालीले गरेको सात गोल पनि युरो २०२० मा कुने एक टोलीले नकआउटअघि गरेको सर्वाधिक गोल संख्या हो । यद्यपि, इटालीको वास्तविक उत्साह त नकआउटपछि सुरु भएको थियो । अन्तिम–१६ अन्तर्गत अस्ट्रियाविरुद्धको खेलको निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएको थियो । तर, अतिरिक्त समयमा थप एक निर्णायक गोल गर्दै इटालीले क्वार्टरफाइनल यात्रा तय गर्‍यो । मान्सिनीले निर्धारित ९० मिनेटको अन्त्यमा गरेका सब्स्टिच्युसनले अस्ट्रियाविरुद्धको खेलमा राम्रो ‘पे–अफ’ गरे ।

    फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयमा माटेओ पेसिनाले अग्रता दोब्बर पारेँसँगै इटालीको जित सुनिश्चित भएको थियो । अस्ट्रियाले अज्जुरीविरुद्ध प्रतियोगिताको पहिलो गोलसमेत गरेको थियो ।

    सुरुआती चार खेलमा एक गोल मात्र खाएको इटालीले क्वार्टरफाइनलमा विश्व बरियताको शीर्ष स्थानको बेल्जियमविरुद्ध पहिलो हाफमा दुई गोल ठोकेको थियो । दोस्रो हाफको सुरुआती क्षणमै बेल्जियमले एक गोल फर्काएपछि इटाली समय कटाउनका लागि पछाडि बसेर खेल्न बाध्य बनेको थियो । बेल्जियमविरुद्धको जितसँगै सेमिफाइनलमा पुगेको इटालीसामु २०१२ युरोको फाइनल खेलेको स्पेनको चुनौती थियो ।

    लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भेट भएको स्पेन इटालीविरुद्ध बल पोसेसन र अट्याकमा हाबी देखिए पनि सुरुआती अग्रता इटालीले काउन्टर अट्याकमा गोल गर्दै लिएको थियो । तर, निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी रहँदा स्पेनले गरेको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

    गोलकिपर यानलुइजी डोनुरुम्माले गरेको दुई महत्त्वपूर्ण बचाउसँगै पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजामा जित निकाल्दै इटाली ९ वर्षपछि युरोको फाइनलमा पुग्यो ।

    कसरी राम्रो टोली बन्यो ?

    इटालीको प्रदर्शनको आधार बलियो रक्षापंक्ति देखिन्छ । र, त्यसैमा आधारित भएर आवश्यक पर्दा रक्षात्मक शैलीलाई अट्याकिङमा ढाल्न सक्नु इटालीको सशक्त पक्ष देखिन्छ । इटालीको रक्षापंक्तिमा अनुभवी डिफेन्डरहरू– लियोनार्दो बोनुची र जर्जियो केलेनी रक्षापंक्तिमा ‘रक सोलिड’ देखिएका छन् ।

    अज्जुरीको मिडफिल्ड स्पेनविरुद्ध निरिह देखिएको थियो । तर, अझै सुधार्ने स्थान भने पर्याप्त देखिन्थ्यो । अगाडि सिरो इम्मोबिलेले बनाएका मुभसँगै इटालीले सशक्त आक्रामक मुभ बनाइरहेको छ ।

    यद्यपि, इटालियन टोली कुनै एक खेलाडीमा मात्र निर्भर रहेर खेल्दैन । चाहे रक्षात्मक होस् वा आक्रामक: दुवै पक्षमाा सबै खेलाडी एकजुट भएर लागेको देखिन्छ । टोलीमा कोही पनि ठूला स्टार खेलाडी नहुनुले इटालीलाई थप संगठित टोली बन्न मद्दत गरेको छ ।

    यद्यपि, जारी प्रतियोगितामै केही खेलाडीले आफूलाई युरोपेली फुटबलमा प्रभावशाली सावित गरेका छन् । किएसा, बरेला, स्पिनाजोला र लोकाटेली कुनै स्टार खेलाडीभन्दा कम छैनन् । उनीहरूको तुलनामा स्थापित नामहरू– भेराटी, जर्जिन्हो र इन्सिग्ने बराबरको प्रदर्शन दिइरहेका छन् ।

    प्रतियोगिताको सुरु हुनुअघि अलेसान्ड्रो फ्लोरेन्जीलाई गुमाएको इटालीका सेमिफाइनलअघि स्पिनाजोला पनि चोटका कारण बाहिरिए । त्यसो त इटालियन टोली एक खेलाडीमा निर्भर नरहेकाले एक खेलाडीको अनुपस्थिति त्यति घातक हुन सकेको छैन । त्यसको कारण मान्सिनीले टोलीमा विकास गरेको एक सांगठिक टोलीको अवधारणा र विजयी भावना हो ।

    थप एक पटक

    इटालीका लागि फाइनल पुग्नु एकदमै सहज र एकदमै कठिन दुवै मान्न सकिन्छ । तर, अज्जुरीले युरो २०२० मा खेलेका ६ खेलबाट यो टोली जुनसुकै परिस्थितिबाट गुज्रिए पनि जित निकाल्न अब्बल रहेको पुष्टि गरिसकेको छ । प्रतियोगिताका ६ खेलमध्ये कुनैमा पनि पेनाल्टीसम्म नपुगेको इङ्ल्यान्डको चुनौती इटालीका लागि सहज पक्कै नहुने निश्चित छ । त्यसमाथि हालसम्म डिफेन्समा रक सोलिड इङ्ल्यान्डले प्रतियोगितामा एक गोल मात्रै आएको छ ।

    अब इटालीसामु विश्व फुटबलमा अज्जुरीको पुनरागमन भयो भन्ने सन्देश दिन एक खेल बाँकी छ । पछिल्ला समयहरूमा खराब समयबाट गुजिएको इटाली २०१४ विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । युरो २०१६ को क्वार्टरफाइनलमा जर्मनीसँगग पराजित भएको इटाली २०१८ विश्वकपमा छनोट नै हुन सकेन ।

    तर, २०१२ पछि इटाली फेरि युरोपेली फुटबललाई माध्यम बनाएर विश्व फुटबलको एक पावरहाउस बनेर फर्किएको छ । र, युरो फाइनलमा आइतबार राति १२: ४५ बजे हुने खेलमा इटालीले बाजी मारे कसैले पनि उनीहरू हकदार थिएनन् भन्न सक्दैनन् ।

  • युरो २०२०: स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

    युरो २०२०: स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

    काठमाडौं । स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४-२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।

    खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केही आक्रमक शैली अपनाएको इटालीले ६०औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै अज्जुरीलाई अग्रता दिलाएका थिए ।

    खेलमा प्रभुत्व जमाएर पनि १-० ले पछि परेको स्पेनका लागि सब्स्टिच्युट खेलाडी अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । फेरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान प्रवेश गरेका मोराटाले ड्यानी ओल्मोको पासमा सेन्टर लाइनबाट पेनाल्टी एरियमा प्रवेश गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

    इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २००० र  २०१२ मा फाइनलसम्म पुगेको इटालीले उपाधि भने जित्न सकेको छैन ।

    तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग पराजित हुँदै क्‍वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ ।

  • नाक भाँचिदिने इटालीविरुद्ध २७ वर्षपछि इनरिके

    नाक भाँचिदिने इटालीविरुद्ध २७ वर्षपछि इनरिके

    काठमाडौं । त्यो बेला लुइस इनिरकेको सेतो स्पेनिस जर्सीमा जताततै रगतै रगत थियो । सन् १९९४ विश्वकपको क्‍वार्टरफाइनलमा इटालीविरुद्ध स्पेनको खेल चलिरहँदा त्यो द‍ृश्य देखिएको थियो । उक्त खेलमा स्पेनलाई २-१ ले पराजित गर्दै इटालीले सेमिफाइनल यात्रा तय गरेको थियो ।

    त्यो खेलमा देखिएको द‍ृश्य कुनै पनि स्पेनिस समर्थकले कहिले पनि बिर्सिँदैनन् ।

    मंगलबार राति स्पेनले युरो २०२० को सेमिफाइनलमा इटालीसँग खेल्दै छ । र, आज राति फेरि यी दुई टोली वेम्ब्ली स्टेडियममा भेट हुँदा स्पेनिस प्रशिक्षक लुइस इनरिकेले २७ वर्षपछि आफ्नो नाक भाँचिएको नराम्रो अनुभव पुनर्ताजगी गर्नेछन् । बल जित्ने क्रममा इटालीका डिफेन्डर माउरो टासोट्टीको कुहिनाले लागेर इनरिकेको नाक रक्ताम्मे भएको थियो ।

    त्यो चर्चित घटना १९९४ जुलाई ९ मा फक्सबोरो स्टेडियममा भएको थियो । त्यसपछि इनरिकेले आफ्नो करियरमा खेलाडी वा प्रशिक्षकको रूपमा कहिल्यै पनि इटालीको सामना गरेका छैनन् ।

    इनरिके र टासोट्टी शान्त भए

    त्यो घटना भएको क्षण एकदमै तनावग्रस्त थियो । इनरिकले त्यो फाउलबापत् पेनाल्टीका लागि अपील गरेका थिए । तर, रेफ्रीले पेनाल्टी दिएनन् । प्रशिक्षक क्लेमेन्टेका अनुसार रेफ्री धेरै संख्यामा भएका इटालियन समर्थकका अगाडि पेनाल्टी दिन डराएका थिए ।

    ‘इनरिके रेफ्री र टासोट्टीलाई मार्न चाहन्थे,’ स्पेनिस फिजियोथेरापिस्ट सेनेन कोर्टेगोसोले केही समयपछि इनरिकेको रिसको व्याख्या गर्दै भनेका थिए ।

    केही वर्षपछि इनरिके रोमाको प्रशिक्षक हुँदा टासोट्टी एसी मिलानका सहायक प्रशिक्षक थिए । र, उनीहरूको भेट सम्भव भएको थियो । त्यो भेटमा दुवैले हात मिलाएका थिए र टासोट्टीले माफीसमेत मागेका थिए ।

    स्पेनविरुद्ध इटाली: क्लासिक राइभरी

    यद्यपि, १९९४ विश्वकपपछि इनरिकेले इटालीको सामना गरेका छैनन् । पछिल्लो २७ वर्षमा यी दुई टोली भने १४ पटक मैदानमा लडेका छन् । तीमध्ये पाँच खेल स्पेनले जितेको छ भने दुई इटालीले जितेको छ । बाँकी सात खेल बराबरीमा टुङ्गिएका छन् । तर, आज रातिको खेल बराबरीमा टुङ्गिन असम्भव छ । त्यसैले आजको खेलपछि स्पेनको ६ वा इटालीको तीन हुने निश्चित छ ।

    यी दुईबीचको अन्तिम भेट २०१८ विश्वकपको छनोटमा भएको थियो । उक्त खेलमा स्पेनले सान्टियागो बेर्नाबेउमा इटालीलाई ३-० को नतिजामा पराजित गर्दा इस्कोले दुई र अहिले टोलीमा रहेका फरवार्ड अल्भारो मोराटाले एक गोल गरेका थिए ।

    तर, ठूला प्रतियोगितामा भने यी दुई टोलीको भेट युरो २०१६ मा भएको थियो । त्यो खेलमा भिसेन्टे डेल बोस्क नेतृत्वको स्पेन २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    इटालीविरुद्धको त्यो खेल खेलेका सर्जियो बुस्केट, जोर्डी अल्बा र अल्भारो मोराटाले त्यो दिन असफल भएका थिए । त्यो असफलतालाई सफलतामा परिणत गर्ने मौका आज उनीहरूसँग हुनेछ ।

  • युरोपियन च्याम्पियनसिपमा फेरि भिड्दै स्पेन र इटाली

    युरोपियन च्याम्पियनसिपमा फेरि भिड्दै स्पेन र इटाली

    काठमाडौं । स्पेन र इटाली लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भिड्ने निश्चित भएको छ । जारी युरो २०२० को नकआउटदेखि एउटै पोलमा रहेका दुई टोलीले सेमिफाइनलमा भेट निश्चित गरेका हुन् ।

    शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डमाथि पेनाल्टी सुट आउटमा ३-१ गोलको नतिजामा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सोही रात भएको अर्को क्वार्टरफाइनलमा बेल्जियममाथि २-१ गोलको जित निकाल्दै इटालीले पनि फाइनल प्रवेशका लागि स्पेनसँगको भेट निश्चित गरेको हो ।

    यी दुई टोली फाइनल प्रवेशका लागि मंगलबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भिड्ने छन् ।

    लय

    शुक्रबारका खेलसँगै युरो २०२० को पहिलो सेमिफाइनल तय भएको छ । शुक्रबार राति म्युनिखमा इटालीले विश्व नम्बर एक बरियताको बेल्जियम र स्पेनले स्वीट्जरल्यान्डलाई हराएसँगै मंगलबार रातिको भिडन्त निश्चित भएको हो ।

    पछिल्लो समय युरोपको सबैभन्दा उत्कृष्ट फर्ममा भएको इटालीले कीर्तिमानी ३२ खेलमा अपराजित यात्रा तय गरिसकेको छ । त्यस्तै, पछिल्ला १३ खेलमा इटालीले सत प्रतिशत नतिजा निकालेको छ । अर्कातिर पछिल्ला १२ खेलमा अपराजित स्पेनले समूह चरणको दुई खेल बराबरी खेलेको थियो ।

    गोलको खतरा

    अवस्था यस्तै रह्यो भने यी दुई टोलीको खेल प्रतियोगिताका सर्वाधिक गोलकर्ताबीचको भिडन्त हुनेछ । पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले त्यसपछिका खेलमा १२ गोल गरिसकेको छ भने इटालीले ११ गोल गरेको छ ।

    दुवै टोलीका कुनै पनि खेलाडीले दुई भन्दा धेरै गोलगरेका छैनन् । इटालीका सिरो इम्मोबिले, माटेओ पेस्सिना, म्यानुएल लोकाटेली र लोरेन्जो इन्सिग्नेले दुई/दुई गोल गरेका छन् । यस्तै, स्पेनिस पाब्लो साराबिया, फेरान टोरेस र अल्भारो मोराटाले समान दुई गोल गरेका छन् ।

    इतिहास

    यी दुईबीचको अन्तिम भेट विश्वकप २०१८ को छनोटमा भएको थियो । स्पेनसँग एक खेलमा पराजय र अर्कोमा बराबरी नतिजा निकालेको इटाली विश्वकपमा छनोट हुन असफल भएको थियो ।

    दुवै टोली अन्तिम पटक ठूला प्रतियोगिताको फाइनल पुगेको भनेको युरो २०१२ मा हो । त्यो फाइनलमा इटालीमाथि ४-० को फराकिलो जित निकाल्दै स्पेन लगातार दोस्रो पटक युरोपियन च्याम्पियन बनेको थियो ।

    त्यस बेला टोलीमा रहेका तीन खेलाडी युरो २०२० को पनि स्क्वाडमा छन् । स्पेनका कप्तान सर्जियो बुस्केट तथा इटालीका डिफेन्डर्स जर्जियो केलिनी र लियोनार्डो बोनुसी अहिले पनि टोलीमा छन् ।

    इटालीले लगातार तेस्रो पटक युरो जित्ने अभियानमा रहेको स्पेनलाई युरो २०१६ को अन्तिम १६ मा २-० गोलको नतिजामा पराजित गर्दै यात्रामा पूर्णविराम लगाइदिएको थियो । स्पेनले २००८ युरोको क्वार्टरफाइनलमा पेनाल्टीमा पुगेर इटालीलाई पराजित गरेको थियो । सोही प्रतियोगितामा स्पेनले ४४ वर्ष लामो उपाधि खडेरी टारेको थियो । र, त्यसपछिको ६ वर्ष स्पेनले विश्व फुटबलमा राज गरेको थियो ।

    प्रशिक्षकहरू

    स्पेनका मुख्य प्रशिक्षक लुइस इनरिकेको १९९४ विश्वकपमा इटालीविरुद्धको खेलमा नाक भाँचिएको थियो । क्वार्टरफाइनलमा भएको त्यो भिडन्तमा इटालियन डिफेन्डर माउरो टासोट्टीले इनरिकेको नाक भाँचिदिएका थिए ।

    त्यो विश्वकपमा इटाली फाइनलसम्म पुगेर ब्राजिलसँग पेनाल्टीमा हारेको थियो ।

    इटालीका प्रशिक्षक रोबर्टो मान्सिनी पनि १९९४ विश्वकपको टोलीमा थिएनन् । खेल्ने समय नपाएका टोलीमा चासो नदिएका मान्सिनी २०१८ मा मुख्य प्रशिक्षक बनेर इटालियन राष्ट्रिय फुटबल टोलीमा फर्किएका थिए ।

  • बेल्जियमलाई हराउँदै इटाली युरो २०२० को सेमिफाइनलमा

    बेल्जियमलाई हराउँदै इटाली युरो २०२० को सेमिफाइनलमा

    काठमाडौं । विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई २-१ गोलको नतिजामा पराजित गर्दै इटाली युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।

    निकोलो बेरेलाले ३१औं मिनेटमा गरेको गोलसँगै इटालीले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।

    पहिलो हाफको निर्धारित ४५ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका जेरेमी डोकुमाथि भएको फाउलमा पेनाल्टी पाएको थियो । इटालियन डिफेन्डर जियोभानी डी लोरेन्जोले १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमका रोमेलु लुकाकुले स्कोर लाइन २-१ मा छोट्याएका थिए ।

    जितसँगै सेमिफाइनलमा पुगेको इटालीले बुधबार वेम्ब्ली स्टेडियममा स्पेनसँग खेल्ने छ ।

  • लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

    लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

    काठमाडौं । अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    निर्धारित समयको पहिलो हाफमा अस्ट्रियामाथि निकै दबाब बनाएको इटालीले दोस्रो हाफमा दबाब सहनु परेको थियो ।

    तर, सब्स्टिच्युट खेलाडीको निर्णायक प्रदर्शन प्रेरित इटालीले अतिरिक्त समयको पहिलो हाफमै दुई गोल थप्यो ।

    इटालीका लागि ८४औं मिनेटमा डोमेनिको बेरार्डको स्थानमा मैदान प्रवेश गरेका फेडेरिको किएसाले अतिरिक्त समयको पाँचौं अर्थात् ९५औं मिनेटमा अज्जुरीको डेडलक तोडेका थिए ।

    उनले लियोनार्दो सपिनाज्जोलाको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

    नियमित समयको ६७औं मिनेटमा निकोलो बेरेलाको स्थानमा मैदान प्रवेश गरेका पेस्सिनाले फ्रान्सेस्को अक्रेबीको पासको सदुपयोग गर्दै अतरिक्त समयको इन्जुरी समयमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारेका थिए ।

    अतिरिक्त समयको पहिलो हाफमा २-० ले पछि परेको अस्ट्रियाका लागि पनि सब्स्टिच्युट खेलाडी सासा कलाड्जिकले ११४औं मिनेटमा एक गोल फर्काए ।  खेलको ९७औं मिनेटमा मार्को अर्नाउटोभिचको स्थानमा मैदान प्रवेश गरेका कलाड्जिकले लुइस साकबले प्रहार गरेको कर्नरलाई हेडरमार्फत् जाली चुमाएका थिए ।

    तर, ६१औं मिनेटमा अर्नाउटोभिचले गरेको गोल अफसाइडका कारण भिडिओ असिस्टेन्ट रेफ्रीले रद्द गरिदिँदा अस्ट्रिया दुर्भाग्यशाली सावित भयो ।

    जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ । र, सेमिफाइनलका लागि इटालीले पोर्चुगल र बेल्जियमसँग खेल्ने छ ।

  • ३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा

    ३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा

    काठमाडौं । लगातार ३० खेलमा अपराजित इटालीसँग युरो २०२० को समूह एको अन्तिम खेलमा १-० ले पराजित भए पनि वेल्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

    आइतबार रोममा भएको खेलको ३९औं मिनेटमा माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको वेल्स ५६औं मिनेटमा १० जना खेलाडीमा सीमित भएको थियो ।

    इटालीका फेडेरिको बर्नार्देस्चीमाथि खराब फाउल गरेका वेल्स डिफेन्डर रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली १० जनामा सीमित भएको थियो ।

    बाँकी समयमा १० जना खेलेर पनि गोल खानबाट बचेको वेल्सले बराबरी गोल फर्काउन सकेन । जितसँगै ३० खेलमा अपराजित रहेको इटाली समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

    यस्तै एक जित, एक हार र एक बराबरी खेलेको वेल्स ४ अंकसहित उपविजेता बन्दै नकआउटमा पुगेको छ । ४ अंकसहित चौथो स्थानमा रहेको स्वीटजरल्यान्डको पनि नकआउटमा पुग्ने सम्भावना बाँकी छ ।

  • स्वीटजरल्यान्डविरुद्ध उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने इटालीको लक्ष्य

    स्वीटजरल्यान्डविरुद्ध उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने इटालीको लक्ष्य

    काठमाडौं । युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार राति हुने खेलमा इटालीले स्वीटजरल्यान्डको सामना गर्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई ३-० गोलको नतिजाले पराजित गरेको इटाली उत्कृष्ट सुरुआतलाई निरन्तरता दिन चाहन्छ ।

    पहिलो खेलमा सर्वाधिक तीन अंक बटुल्न असफल रहेको स्वीटजरल्यान्ड वेल्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । वेल्सविरुद्ध १-० को अग्रता बनाए पनि किफर मुरीको गोलसँगै स्वीटजरल्यान्ड अंक बाँड्न बाध्य बनेको थियो ।

    इटालीको रोमस्थित स्टाडियो ओलिम्पिकोमा यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

    आजको खेलमा जित हासिल गरे इटाली एक खेल अगावै अन्तिम १६ मा पुग्ने निश्चित हुन्छ भने स्वीटरल्यान्डको पनि तीन अंक हासिल गर्न सके सम्भावना बलियो बन्ने छ ।

    यद्यपि, इटालीलाई उसकै मैदानमा पराजित गर्नु स्वीटजरल्यान्डका लागि सहज पक्कै हुने छैन ।

  • युरो २०२० मा इटालीको शानदार सुरुआत

    युरो २०२० मा इटालीको शानदार सुरुआत

    काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको युइएफए युरो २०२० को पहिलो खेलमा टर्कीलाई ३-० ले पराजित गरेसँगै इटालीले प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

    इटालीको रोमस्थित स्टाडियो ओलिम्पिकोमा भएको उद्घाटन खेलमा इटालीलाई जित दिलाउन सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले १/१ तथा टर्कीका डिफेन्डर मेरी डेमिरलले एक आत्मघाती गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५२औं मिनेटमा इटालीका डोमेनिको बेराडीले प्रहार गरेको बलमा डेमिरलले आत्मघाती गोल गरेका थिए ।

    आत्मघाती गोलसँगै खेलमा अग्रता लिएको इटालीका लागि ६६औं मिनेटमा इम्मोबिलेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसको १३ मिनेट नबित्दै इन्सिग्नेले इटालीका लागि गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।

    जितसँगै समूह ‘ए’मा शानदार सुरुआत गरेको इटालीले दोस्रो खेलमा बिहीबार स्वीटजरल्यान्डको सामना गर्नेछ भने टर्कीले बुधबार वेल्ससँग खेल्ने छ ।

  • युरो २०२० को पहिलो गोल नै आत्मघाती

    युरो २०२० को पहिलो गोल नै आत्मघाती

    काठमाडौं । आजदेखि सुरु भएको युइएफए युरोपियन च्याम्पियनसिप (युरो २०२०) को पहिलो गोल नै आत्मघाती गोल भएको छ । रोममा जारी उद्घाटन खेलमा टर्कीका डिफेन्डर मेरी डेमिरलले आत्मघाती गोल गरेका हुन् ।

    पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५२औं मिनेटमा इटालीका डोमेनिको बेराडीले प्रहार गरेको बलमा डेमिरलले आत्मघाती गोल गरेका हुन् ।

    प्रतियोगिताको पहिलो खेलमा अहिले इटाली र टर्की भिडिरहेका छन् । निर्धारित समयको खेल सकिनै लाग्दा इटालीले ३-० को अग्रता लिइरहेको छ ।

  • युरोपियन च्याम्पियनसिपका सर्वकालीन १० चर्चित ‘हेयर स्टाइल्स’

    युरोपियन च्याम्पियनसिपका सर्वकालीन १० चर्चित ‘हेयर स्टाइल्स’

    एजेन्सी । शुक्रबार (आज) राति १२:४५ बजे इटाली र टर्कीले रोममा खेल्दै युइएफए च्याम्पियनसिपको ६०औं संस्करणको सुरुआत गर्दैछन् । कोरोना भाइरसको कारण एक वर्षपछि धकेलिए पनि प्रतियोगिताको नाम भने युरो २०२० नै कायम छ ।
    वर्षौंदेखि व्यावसायिक फुटबलमा मेहेनत गरिरहेका पनि उत्कृष्ट लयमा रहँदा मात्रै आफ्नो देशको प्रतिनिधित्व गर्दै यस्ता ठूला प्रतियोगिता खेल्ने अवसर पाउँछन् । यसै क्रममा खेल कौशलबाहेक आफ्नो आचरण र गेटअपसँगै ‘हेयर स्टाइल’ले पनि आफूलाई पृथक साविक गर्न खेलाडीले कुनै कसर बाँकी राख्दैनन् । यसै क्रममा हालसम्म युरोपियन च्याम्पियनसिपमा देखिएका १० चर्चित हेयर स्टाइल्सलाई यसरी सूचीकृत गरिएको छ ।

    १०. एन्ड्रिए पिर्लो – युरो २०१२

    ९. मारियो गोमेज- युरो २०१२

    ८. फ्रान्सेस्को टोटी- युरो २००

    ७. मारेक हाम्सिक- २०१६

    ६. एड्गर ड्भिड्स- युरो २०००

    ५. इभान पेरिसिच- युरो २०१६

    ४. पौल पोग्बा – युरो २०१६

    ३. अबेल जाभियर- युरो २०००

    २. रूड गलिट- युरो १९८८

    १. फर्नान्डो टोरेस- २०१२

    90min.com बाट

  • इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

    इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

    रोम- इटाली सरकारले कोरोनाभाइरसविरुद्धको खोपलाई अस्ट्रेलिया पठाउन रोकि दिएको छ। एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोप आपूर्तिमा रोक लगाइएपछि व्यापक आलोचना भएको छ ।

    उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ। युरोपेली सङ्घ (ईयू)को नयाँ नियम लागु गर्ने इटाली पहिलो युरोपेली देश बनेको छ।

    सो नियममा कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।

    इटालीको कदममा युरोपेली आयोगको साथ रहेको छ । अस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रलाई उपलब्ध गराउने चरणमा छ।

    उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ। जनवरी महिनामा इटालीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

    खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको पक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।

    अस्ट्रेलियाले गत सातादेखि फाइजर र बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ। अस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो।

    अस्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ। स्वास्थ्यमन्त्रीले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताएका छन्।

  • इटालीका राजदूतसहित तीनको हत्या, राष्ट्रसंघद्वारा दुःख व्यक्त

    इटालीका राजदूतसहित तीनको हत्या, राष्ट्रसंघद्वारा दुःख व्यक्त

    गोमा– अफ्रिकी राष्ट्र कंगोमा विद्रोहीले थापेको एम्बुसमा परेर इटालीका राजदूत र उनका अंगरक्षकको मृत्यु भएको छ । ४३ वर्षे राजदूत लुका एटान्सियो र उनका अंगरक्षकको मृत्यु भएको हो ।

    संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम अन्तर्गत एउटा स्थानीय विद्यालयलाई खाना खुवाउने कार्यक्रममा जाने क्रममा उनीहरु एम्बुसमा परेका थिए । साथै, उक्त कार्यक्रमको गाडी चलाउने ड्राइभर पनि मारिएका छन् ।

    मारिएकाको शवलाई सेनाको विमानबाट इटालीको राजधानी रोम ल्याइएको छ । अन्त्येष्टी समारोहमा इटालेली प्रधानमन्त्री मारियो ड्रागी पनि सहभागि थिए । घटनाप्रति राष्ट्रसंघले दुःख व्यक्त गरेको छ ।

    कंगोको गृह मन्त्रालयले रुवान्डाको जातिय अतिवादी समूह हुतु विद्रोही घटनामा जिम्मेवार रहेको जनाएको छ ।