Tag: आइपीओ

  • मध्यभोटेकोशी आईपीओ: आयोजना प्रभावितले नै भर्न पाएनन्

    मध्यभोटेकोशी आईपीओ: आयोजना प्रभावितले नै भर्न पाएनन्

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुबासी र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निस्काशन गरेको शेयर आयोजनाका बास्तविक प्रभावितहरु भने शेयर भर्नबाट वञ्चित भएका छन् ।

    मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयर भर्नबाट कोही पनि बञ्चित हुन नपरोस भनेर बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाले आयोजनाका अधिकारीहरुसँग बैठक गर्न खोजेपनि आयोजनाले चासो नदिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए।

    ‘पैसा हुनेहरुले मात्रै शेयर भरेका छन्, पैसा नहुनेहरुका लागि वैकल्पिक व्यवस्थाका लागि हामी छलफल गर्न आयो्जनासँग खोजेका थियौ तर आयोजनाले वास्ता गरेन’ मेयर शेर्पाले भने ।

    आर्थिक अभाव हुनेहरुका लागि लालपुर्जा लगायत अन्य धितोबन्धक राखेर आयोजनाबाट प्रभावितहरुका लागि शेयर भर्ने व्यवस्थाका लागि आयोजनालाई आग्रह गरे समेत गरेको थियो । तर आयोजनाले सुनुवाई नै नगरेको गाउँपालिकाले जनाएको छ ।

    मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट भोटेकोशी गाउँपालिकाको १ र ५ तथा बाह्रविसे नगरपालिकाको ५,६,७ र ८ वडा प्रत्यक्ष प्रभावित हुन । गाउँपालिका र नगरपालिकाका दुर्गम बस्तीहरुमा अहिले पनि शेयरको बारेमा कुनै जानकारी नभएको र आफुहरुले वडा तहमा जानकारी गराउनु भन्दा पनि आयोजनाले वास्ता नगरेको मेयर शेर्पाकाे भनाई छ  ।

    ‘आयोजनाको शेयर टाठाबाठाहरुले मात्रै भरेका छन् तर दुर्गम बस्तीकाले आर्थिक अभावमा भर्न पाएका छैन’ मेयर शेर्पाले भने ।आर्थिक रुपमा शेयर भर्नबाट बञ्चितहरुका लागि नगरपालिकाले केही वैकल्पिक व्यवस्था गर्न र त्यसको लागि आयोजनासँग छलफल गर्न खोजेपनि आयोजनाले नगरपालिकाको कुरा सुनुवाई नगरेको मेयर शेर्पाले आरोप लगाए ।

    ‘हाम्रो क्षेत्रमा आयोजना छ, हामी आयोजनासँग बसेर छलफल गर्न चाहान्छौ तर आयोजनाले वास्ता नै गर्दैन’ मेयर शेर्पाले गुनासो गर्दै भने,‘आयोजना स्थानीय सरकार र प्रभावितप्रति उत्तरदायी नै भएन ।’ आफ्नो क्षेत्रको प्राकृतिक स्रोतको उपयोग गरेबापत स्थानीयले त्यसको हिस्सा पाउँनु पर्ने हो तर आयोजनाले चलखेल गरेर आयोजनाका वास्तवीक पीडितहरुले शेयर नै भर्न पाउने अवस्था भएन मेयर शेर्पाले भने,‘हुनेखानेले मात्रै आयोजनाको शेयर भरेका छन् ।’

    आयोजना प्रभावितहरुका लागि बैंकमा रातो र सेतो फारमको व्यवस्था भएपनि बैंकहरुमा भिडभाडका कारण प्रभावित वडाका स्थानीयले समेत सेतो फारम नै भरिरहेको बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिनले जानकारी दिइन ।

    आयोजनाको चरम लापरवाहीका कारण मध्यभोटेकोशी आयोजनाको काम अहिले निकै सुस्त भएको गाउँपालिकाको दाबी छ । अहिलेसम्म ५० प्रतिशत पनि काम नभएको मेयर शेर्पाले बताए ।

    चिनियाँ ठेकेदारसँग मिलेर आयोजनाका कर्मचारीहरु कमाउधन्दामा मात्रै लागेको मेयर शेर्पाले गम्भीर आरोप समेत लगाए । मध्यभोटेकोशी जलविद्युत आयोजनाले बैशाखमा आयोजना प्रभावित र सिन्धुबासीका लागि भन्दै ६० लाख कित्ता साधारण शेयर जारी गरेको थियो ।

    लकडाउनको बेलामा शेयर जारी गरेपछि त्यसको चौतर्फी आलोचना भएपछि तत्कालको लागि शेयर भर्न स्थगित गरिएको थियो । केही दिन अघि बाट शेयर भर्न पुन सुरु भएको थियो । साउन १७ गतेसम्म शेयर भर्ने अन्तिम समय रहेको छ । आयोजनाले कूल जारी पुँजीको १० प्रतिशत स्थानीय जिल्लाबासीका लागि सेयर निष्कासन गर्नुपर्ने ‘धितोपत्र सम्वन्धी ऐन २०६३’ मा व्यवस्था बमोजिम सिन्धुपाल्चोकबासीका लागि आईपीओ जारी गरेको थियो ।

    मध्यभोटेकोशी आयोजना प्रभावित सिन्धुपाल्चोक बासिन्दाका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक बासिन्दाका लागि निष्कासन गरिएको थियो । १०० रूपैयाँप्रति कित्ताका दरले कम्तीमा ५० कित्ता र बढीमा ४०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

    हामी केही गर्न सक्दैनौ -आयोजना
    आयोजना प्रभावित वडाका स्थानीयका लागि अन्य व्यवस्था का लागि बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरुले आयोजनालई आग्रह गरेपनि त्यसमा आफुहरुले केही गर्न नसक्ने मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले जानकारी दिए ।

    ‘यो धितोपत्र ऐन अनुसार शेयर जारी गरिएको हो,पैसा नहुनेहरुका लागि हामीले केही गर्न सक्ने अवस्था छैन’सिवाकोटीले भने,‘उहाँ(गाउँपालिका/नगरपालिका)हरुले धितो लिएर पैसा दिए भर्न सकिन्छ नत्र सकिदैन । हामीले धितोपत्र नियमावली मान्ने हो,स्थानीय सरकारको नियम मान्नुपर्दैन,आफ्ना जनतालाई शेयर भर्न लगाउने हो भने उहाँले नै पैसाको व्यवस्था गर्नुपर्छ ।’ कार्यकारी अधिकृत सिवाकोटीले भने ।

    ‘समुदायको धितो हामीले लिने व्यवस्था हुदैन’ उनले भने,‘अब अन्तिम समय हुन लाग्यो हामी केही गर्न सक्दैनौ । आयोजना सम्बन्धी केही समस्या हो भने आयोजना स्थलका प्रमुखसँग र आफुहरु सँग केही सल्लाह भए केन्द्रीय कार्यालयमा जनप्रतिनिधिहरु आउनु पर्ने सिवाकोटीले बताए ।

    सिवाकोटी भन्छन्,‘मलाई बिहान भोटेकोशी गाउँपालिकाको उपाध्यक्षले फोन गर्नु भएको थियो,आयोजना सम्बन्धी कुरा भए त्यही गर्नुहोस, केन्द्रीय कार्यालयसँग सम्बन्धीत भए यही आउनुहोस भनेर भनेको छु ।’

    आयोजनालाई स्थानीय सरकारहरुले असहयोग गरिरहेको सिवाकोटीले आरोप पनि लगाए । ‘उहाँहरुले भनेको सबै मानेका छौ,तर विभिन्न वहानामा हामीलाई दुःख दिनु भएन नि प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले गुनासो पोखे ।

    २९ करोडको कारोबार
    मध्यभोटेकोशी जलविद्युत आयोजनाले शेयर बिक्री एकदमै उत्साहप्रद रुपमा अघि बढिरहेको बताएको छ । आइतबार बेलुकी सम्म २९ करोड बढीको कारोबार भएको आयोजनाले जानकारी दिएको छ ।

  • युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै

    युनियन लाइफले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दै

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गते सर्वसाधारणका लागि आईपीओ  जारी गर्ने भएको छ ।

    कम्पनीको जारी पुँजी २ अर्ब १५ करोडको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

    जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता अर्थात ५ प्रतिशत सेयर कर्मचारी र त्यति नै बराबरको सेयर सामूहिक लगानी कोष र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने कम्पनीले जनाएको छ ।

    यस कम्पनीलाई क्रेडिट रेडिङ कम्पनी इक्रा नेपालले ‘ट्रिपल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औषत रहेको जनाउँछ ।

  • चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् आइपीओ ?

    चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् आइपीओ ?

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार (भोलि) बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान साढे १० बजे कम्पनीको आईपीओ बाँडफाँड हुने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

    चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पुस २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको कम्पनीको आईपीओको बाँडफाँड शुक्रबार हुने भएको छ ।
    कम्पनीको शेयरमा उच्च आवेदन परेकोले यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनक मध्ये नै ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने भएको छ ।

    कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९ सय ३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो ।

    ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

    कम्तीमा १० कित्ता प्रतिव्यक्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।