Tag: अस्ट्रेलिया

  • टी-२० विश्व कप सेमिफाइनल: पाकिस्तान र अस्ट्रेलिया भिड्दा पूर्व सहकर्मी आमनेसामने

    टी-२० विश्व कप सेमिफाइनल: पाकिस्तान र अस्ट्रेलिया भिड्दा पूर्व सहकर्मी आमनेसामने

    काठमाडौं । जारी आईसीसी टी-२० विश्वकपमा आज हुने दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । अपराजित पाकिस्तानको सामना गर्दा अस्ट्रेलियाले टी-२० विश्वकपको ट्रफी पहिलो पटक उचालने सपना कायमै राख्ने ।

    सुपर १२ अन्तर्गतका खेलहरूमा ४ खेल मा जित र एक खेलमा हार बेहोर्दै अस्ट्रेलियाले सेमिफाइनलको यात्रा तय गरेको हो । पाकिस्तानले आफ्नो कडा प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो र त्यसपछि झनै बलियो सावित हुदै सुपर १२ का सबै खेलहरूमा विजयी भएर सेमिफाइनलमा पुगेको हो ।

    ‘करिब १० दिन अगाडी हाम्रो टोली धेरै पुरानो थियो र, अहिले हामी सबैभन्दा अनुभवी टोली भयौँ,’ अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भने, ‘पछिल्ला केही श्रृंखलामा सबैले हामीलाई कम आँकेका थिए ।’

    विजेता टोलीले आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डसँग भिड्नेछ । अस्ट्रेलियाले ५० ओभरको विश्वकप ५ पटक र च्याम्पियन्स ट्रफी २ पटक जितेको छ । तर, टी–२० विश्वकपमा उनीहरूको उत्कृष्ट प्रदर्शन २०१० मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएर उपविजेता सीमित भएको थियो ।

    अस्ट्रेलियाले यो प्रतियोगितामा आउँदासम्म लगातार पाँच वटा टी–२० सिरिजमा लगातार पराजय भोगेको छ । जस्मा अस्ट्रेलियन क्रिकेट टोलीको सबैभन्दा कम टी–२० स्कोर ६२ रनमा अलआउट हुँदै बंगलादेशसँग पराजित भएको थियो ।

    समूह चरणमा अस्ट्रेलियाले एकमात्रै हार इङ्ल्यान्डसँग बेहोरेको थियो । र, वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै समूहचरणको समापन गरेको थियो ।

    ‘यो जित्नुको अर्थ धेरै हुनेछ, तर हामीले अझै पनि धेरै राम्रो र फर्ममा रहेको पाकिस्तानसँग सेमिफाइनल खेल्दैछौँ,’ फिन्चले भने, ‘उनीहरूले हामी संसारमा कहाँ छौं भनेर हेर्नका लागि हामीलाई जाँच गर्नेछन् ।’

    अस्ट्रेलियाका पूर्व टिममेट प्रशिक्षकको रूपमा आमनेसामने

    अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्जरले आफ्नो पूर्व ओपनिङ पार्टनर माथ्यु हाइडेनविरुद्ध टोलीको प्रतिनिधित्व गर्दैछन् । जो अहिले पाकिस्तानको ब्याटिङ प्रशिक्षक छन् ।
    सन् २००१ र २००७ को बीचमा उनीहरुले टप अडरमा रहेर खेलेका १ सय १३ खेलमा मिलेर ५ हजार ६ सय २५ रन बनाएका छन् ।

    ‘म २ दशकदेखी अस्ट्रेलियन क्रिकेटको योद्धा थिए । त्यसैले यसले मलाई यी खेलाडीहरू र देशको क्रिकेट संस्कृतिको बारेमा अद्भुत अन्तर्रदृष्टि भएको फाइदा दिन्छ,’ हाइडेनले भने, ‘यो मात्रै एउटा ट्रफी हो जुन अस्ट्रेलियाले आफ्नो ट्रफी क्याबिनेटमा पुर्‍याउन सकेको छैन ।’

    पाकिस्तान सेमिफाइनल पुग्ने सबैभन्दा प्रभावशाली टोली हो । कप्तान बाबर आजम २ सय ६४ रन बनाएर प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् भने शाहीन शाह अफ्रिदीले २२.३ को प्रतिफलमा ६ विकेट लिएका छन् ।

  • ट्वान्टी-२० विश्वकपः सेमिफाइनलमा पुगेका चार टिम, को कति शक्तिशाली ?

    ट्वान्टी-२० विश्वकपः सेमिफाइनलमा पुगेका चार टिम, को कति शक्तिशाली ?

    काठमाडौं । युएईमा जारी ट्वान्टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो समूहबाट पाकिस्तान र न्यूजिल्यान्ड तथा दोस्रो समूहबाट  इंग्ल्यान्ड र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

    प्रतियोगिता सुरु हुनुअघि भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । यसका धेरै कारण थिए । कागजमा भारतको टिम सबैभन्दा सन्तुलित देखिन्थ्यो । हाल विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यानको रुपमा हेरिएका बिराट कोहलीको कप्तानीमा रहेको भारतको ब्याटिङ, बलिङ फिल्डिङ तीनवटै पक्ष उत्कृष्ट मानिएको थियो । तर, प्रतियोगिताको सुरुवाती दुई खेलमा भारतको कमजोरी उदांगो भयो । बलरलाई सहयोग गर्ने बीचमा भारतको कुनै जोर चल्दैन भन्ने फेरि एकपटक प्रमाणित भएको छ ।

    सुरुवाती दुई म्याचको खराब प्रदर्शनले नै भारत प्रतियोगिताबाट बहिर्गमन निश्चित गरिदियो । पाकिस्तानले १० विकेटले भारतलाई हराउनु यो प्रतियोगिताकै एउटा आश्चर्यजनक नतिजा थियो । न्यूजिल्यान्डविरुद्ध भारतको ब्याटिङले घुँडा टेक्यो । पछिल्ला म्याचहरुमा अफगानिस्तान, नामिबिया र स्कटल्यान्डजस्ता कमजोर टिमहरुविरुद्ध देखाएको बहादुरी भारतलाई माथि उकाल्न सहयोगी भएन ।

    खैर, भारतीय टिमको चर्चा अब खासै औचित्यपूर्ण छैन । सेमिफाइनल पुगेका चार टिमकै बारेमा गरौं । सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया र न्यूजिल्यान्डले इंग्ल्यान्डसँग भिड्नेछन् । यी चार टिमहरु कति पानीमा छन् त ?

     इंग्ल्यान्ड: ब्याटिङ विष्फोटक, बलिङ सामान्य

    धेरैले यो विश्वकपमा इंग्ल्यान्डलाई सबैभन्दा बलियो टिमका रुपमा हेरेका छन् । समूह चरणको अन्तिम म्याचमा दक्षिण अफ्रिकासँग १० रनले हार व्यहोर्नुअघिसम्म इंग्ल्यान्ड हराउनै नसकिने टिम जस्तो प्रतीत भइरहेको थियो ।

    इंग्ल्यान्डको बलियो पक्ष हो ब्याटिङ । उसँग एकसे एक ‘हिटर’ हरुको जुलुस छ, जसमध्ये सबैभन्दा खतरनाक फर्ममा देखिएका छन् विकेटकिपर ब्याट्सम्यान जस बटलर । उनको ब्याट चल्न थालेपछि रोक्न कठिन हुन्छ । यस विश्वकपका एक मात्र सतकधारी बलर हालसम्म सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा छन् । अहिलेसम्म खेलेका पाँच खेलमा उनको औसत १२० छ, जसको छेउछाउ अरु ब्याट्सम्यान छैनन् ।

    इंग्ल्यान्डसँग इयाम मोर्गन, जेसन रोय, डेबिड मलन, जोनी बेयरस्टो जस्ता धुरन्धर ब्याट्सम्यानहरु छन्, जो विष्फोटक अन्दाजमा खेल्न सक्छन् । मोइन अलि टम कुराम, क्रिस वक्सजस्ता अलराउन्डरको उपस्थितिले टिमलाई थप बलियो बनाएको छ ।

    इंग्ल्यान्डको ब्याटिङजस्ता सशक्त बलिङ नभए पनि औसतभन्दा राम्रो छ । फास्ट बलिङमा क्रिस वक्स, क्रिस जोर्डन, मार्क उड लगायत छन् । इंग्ल्यान्डका फास्ट बलरहरु यस प्रतियोगितामा खासै चम्केका छैनन् । यूएइको पिचले फास्ट भन्दा स्पिन बलिङलाई सहयोग गर्छ । इंग्ल्यान्डसँग स्पिनरका रुपमा अदिल रसिद र मोइन अली छन् । उनीहरु दुवैको प्रदर्शन प्रभावशाली छ । रसिदले १३.३७ को औसत र ५.८३ को इकोनोमीमा बलिङ गर्दै ५ म्याचमा ८ विकेट लिएका छन् । यस्तै मोइन अलीले ११ को औसत र ५.५० को इकोनोमीमा बलिङ गर्दै ५ म्याचमा ७ विकेट लिएका छन् ।

    समूह चरणमा इंग्ल्यान्डले श्रीलंकालाई २६ रनले, वेस्ट इन्डिजलाई ६ विकेटले, अष्ट्रेलियालाई ८ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा साउथ अफ्रिकासँग १० रनले पराजित भएको थियो । ईंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध हासिल गरेको जित सबैभन्दा प्रभावशाली थियो । साउथ अफ्रिकाविरुद्धको खेलमा इंग्ल्यान्डको बलिङ फ्लप भयो । फास्ट बलरहरु विकेटविहीन रहे । सेमिफाइनलमा न्यूजिल्यान्डले इंग्ल्यान्डको यही कमजोरीलाई दोहन गर्नुपर्ने छ ।

    अष्ट्रेलिया: हट एन्ड कोल्ड

    परम्परागतरुपमा क्रिकेटको महाशक्ति अष्ट्रेलिया पछिल्लो कालखण्डमा भने त्यति धेरै मजबुत छैन । हाल आरोन फिन्चको नेतृत्वमा रहेको अष्ट्रेलिया रन रेटको सहयाेगमा साउथ अफ्रिकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

    अष्ट्रेलियाको टि-२० टिममा बलियो पक्ष भनेको फास्ट बलिङ हो । अष्ट्रेलियासँग मिचेल स्टार्क, जोस हेजलउड र मिचेल स्टार्कजस्ता विश्वस्तरीय फास्ट बलर छन् । तर, यूएइको पीचमा पेस र बाउन्स धेरै नभएकाले उनीहरु अपेक्षित सफल भइरहेका छैनन् ।

    अष्ट्रेलियासँग स्पिनरका रुपमा एडम जाम्पा र एस्टोन अगर छन् । हालसम्म जाम्पाको प्रदर्शन उत्कृष्ट छ । सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा रहेका जाम्पाले ९.९० को औसत र ५.७३ को इकोनोमीमा ११ विकेट लिइसकेका छन् । उनले बंगलादेशविरुद्धको एउटै म्याचमा ५ विकेट लिएका थिए । पाकिस्तानविरुद्ध सेमिफाइनलमा अष्ट्रेलियाका लागि उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

    अष्ट्रेलियाको ब्याटिङले भने खासै लय समात्न सकेको छैन । सर्वाधिक आशा गरिएका ग्लेन म्याक्सवेलको जादु यूएइमा फिक्का भएको छ । डेभिड वार्नरले रन त बनाइरहेका छन्, तर उनी पनि आफ्नो उच्च फर्ममा छैनन् ।

    समूहचरणमा अष्ट्रेलियाको प्रदर्शन ‘हट एन्ड कोल्ड’ रह्यो । बंगलादेशलाई ८ विकेटले, साउथ अफ्रिकालाई ५ विकेटले, वेस्ट इन्डिजलाई ८ विकेटले र श्रीलंकालाई पराजित गरेको अष्ट्रेलियाले ईंग्ल्यान्डसँग लज्जास्पद हार व्यहोरेको थियो । अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य ईंग्ल्यान्डले ११.४ ओभरमै २ विकेट गुमाएर भेट्टाएको थियो ।

    सेमिफाइनलमा अष्ट्रेलियाले ‘रेड हट’ पाकिस्तानसँग भिड्नुपर्ने छ । पाकिस्तानका स्पिनरहरुले अष्ट्रेलियाका ब्याट्सम्यानहरुको टाउको दुखाउन सक्छन् ।

    न्यूजिल्यान्डः आफ्नै लयमा

    विश्व क्रिकेटमा न्यूजिल्यान्डको आफ्नै छवि छ । न्यूजिल्यान्डको प्रदर्शन प्राय एकरफ्तारको हुने गर्छ । उसँग एकदमै कहलिएका ब्याट्सम्यान र बलरहरु त छैनन्, तर एउटा टिमका रुपमा न्यूजिल्यान्डले पटक-पटक आफ्नो उत्कृष्टता सावित गर्दै आएको छ ।

    न्यूजिल्यान्डका सबैभन्दा बलिया खम्बा हुन् कम्पान केन विलियम्सन । उनी टि-२० विशेषज्ञ ब्याट्सम्यान मानिँदैनन् । तर, उनको शान्त नेतृत्व र स्थिर ब्याटिङ न्यूजिल्यान्डका लागि निकै महत्वपूर्ण छ । यस प्रतियोगितामा पनि उनले आफूलाई यहीरुपमा प्रस्तुत गरेका छन् ।

    न्यूजिल्यान्डको फास्ट बलिङ राम्रो छ । ट्रेन्ट बोल्टले उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म ११ विकेट लिएका छन् । टिम साउथीले उनलाई राम्रो साथ दिएका छन् । यसैगरि, स्पिनर इन्दरविर सिंह सोदीको प्रदर्शन पनि सन्तोषजनक छ ।

    समूह चरणमा पाँचमध्ये ४ वटामा सहज जित हासिल गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । समूह २ मा भारत र पाकिस्तानबाहेक अन्य टिमहरु तुलनात्मकरुपमा कमजोर भएकाले न्यूजिल्यान्डको यात्रा सहज भयो । भारतलाई ८ विकेटले हराउनु नै न्यूजिल्यान्डले सेमिफाइनलको टिकट काटेसरह थियो ।

    पाकिस्तानसँग भने पाँच विकेटको पराजय भोगेपछि भारतसँगको म्याच न्यूजिल्यान्डका लागि निर्णायक थियो । उक्त म्याचमा न्यूजिल्यान्डका बलरहरुले शानदार प्रदर्शन गर्दै बलियो ठानिएको भारतलाई ११ रनमा प्याक गरिदिए । दुई मात्र विकेट गुमाएर न्यूजिल्यान्डले लक्ष्य भेट्टायो ।

    न्यूजिल्याडको दोस्रो खड्गो भनेको अफगानिस्तान थियो । आइतबार भएको म्याचमा अफगानिस्तानले जितेको भए भारत सेमिफाइनलमा जान सम्भावना प्रबल थियो । तर, दवावको खेलमा अफगानिस्तानलाई न्यूजिल्यान्डले कुनै मौका दिएन ।

    सेमिफाइनल भने न्यूजिल्यान्डका लागि फलामको च्यूरा बन्न सक्छ । उक्त म्याचमा इंग्ल्यान्डका ब्याट्सम्यान र न्यूजिल्यान्डका बलरहरुको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

    पाकिस्तानः शानदार फर्मममा

    चालु विश्वकपमा सर्वाधिक चर्चाको विषय बनेको टिम हो पाकिस्तान । प्रतियोगिता अघि सबैले कम आँकिरहेको पाकिस्तानले भारतविरुद्धको पहिलो म्याचबाटै आफूलाई उपाधिको दावेदारका रुपमा पेश गर्यो ।

    अहिलेसम्म कुनै पनि विश्वकपमा भारतमाथि जित हासिल गर्न नसकेको इतिहास मेट्दै पाकिस्तानले शानदार सुरुवात गरेको थियो । उपाधिमै आँखा गाडेको भारतलाई १० विकेटको हार चखाएपछि पाकिस्तानको हौसला बुलन्द भयो र त्यसपछि उसले पछाडि फर्केर हेरेको छैन ।

    पाकिस्तानको टिम अहिले सबै खाले हातहतियारबाट सुसज्जित देखिएको छ । उसँग बाबर आजमजस्ता हाल एक नम्बर वरियतामा रहेका ब्याट्सम्यान छन् । सइन शाह अफ्रिदीजस्ता सनसनी फास्ट बलर छन् । सोयब मल्लिक र मोहम्मदजस्ता अनुभवी ब्याट्सम्यानको मध्यक्रम छ । असिफ अलीजस्ता विष्फोटक फिनिसर छन् ।

    पछिल्लो समय पाकिस्तानको सबैभन्दा बलियो पक्षका रुपमा देखिएको छ, ओपनिङ जोडी । बाबर आजम र मोहम्मद रिजवानले टि-२० क्रिकेटमा विश्वकै सबैभन्दा सफल जोडीको पहिचान बनाइसकेका छन् । यस विश्वकपमा पनि उनीहरु दुवैको प्रदर्शन शानदार छ । खासगरि बाबर आजमको जति प्रशंसा गर्दा पनि कम हुन्छ । टिमको नेतृत्व समेत गरिरहेका आजम यो प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले खेलेका पाँच म्याचमध्ये चार म्याचमा अर्धसतक बनाएका छन् । उनी न्यूजिल्यान्डविरुद्धको एउटा खेलमा मात्रै असफल भए ।

    पाकिस्तानको बलिङ पनि राम्रो फर्ममा छ । सइन शाह अफ्रिदीलाई ह्यारिस राउफले राम्रो साथ दिइरहेका छन् । दुई स्पिनरका रुपमा सदाब खान र इमाद वसिम छन् र उनीहरु दुवैको प्रदर्शन सन्तोषजनक छ ।

    यो विश्वकपमा अपराजित रहेको एक मात्र टिम हो पाकिस्तान । समूहचरणमा पाकिस्तानले भारतलाई १० विकेटले, न्यूजिल्यान्डलाई पाँच विकेटले, अफगानिस्तानलाई पाँच विकेटले, स्कटल्यान्डलाई ७२ रनले र नामिबियालाई ४५ रनले पराजित गरेको थियो । समूहचरणमा पाकिस्तानलाई अफगानिस्तानले मात्रै कडा टक्कर दिएको थियो ।

    सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध पाकिस्तानका ओपनर र स्पिन बलिङको महत्वपूर्ण भूमिका हुन सक्छ । यदि ओपनिङ जोडीले राम्रो प्लेटफर्म खडा गरिदिए भने पछिल्ला ओभरहरुमा रन वर्षा गर्न सक्ने क्षमता पाकिस्तानको ब्याटिङ लाइनअपमा छ । यस्तै पाकिस्तानका स्पिनरहरुले अष्ट्रेलियाका ब्याट्सम्यानहरुलाई धेरै दु:ख दिन सक्छन् ।

    दुवै टिमलाई दाँजेर हेर्दा अष्ट्रेलियाभन्दा पाकिस्तान बढी सन्तुलित देखिन्छ । पाकिस्तानको टिम यतिसम्म लयमा छ कि अहिलेसम्म ५ खेलमा उसले आफ्नो प्लेइङ ११ मा एउटा पनि परिवर्तन गरेको छैन । सम्भवतः सेमिफाइनलमा पनि यही सेट उतार्नेछ । अष्ट्रेलियालाई हराएर फाइनलमा पुग्दा मात्रै होइन, उपाधि नै जित्यो भने पनि अब त्यसलाई आश्चर्यका रुपमा हेरिने छैन ।

  • ट्वान्टी-२० विश्वकप: लगातार जितपछि इंग्ल्याण्ड सेमिफाइनल नजिक

    ट्वान्टी-२० विश्वकप: लगातार जितपछि इंग्ल्याण्ड सेमिफाइनल नजिक

    एजेन्सी । आईसीसी ट्वान्टी-२० विश्वकपमा इंगल्याण्डले गएराति अस्ट्रेलियामाथि ८ विकेटको जित हासिल गरेको छ । लगातार तेस्रो जितपछि ६ अंक बनाएको इंग्ल्याण्ड समूह १ बाट सेमिफाइनल नजिक पुगेको छ ।

    १२६ रनको लक्ष्य इंग्ल्यान्डले ११.४ ओभरमा भेट्टायो । ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए ।

    यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले इनिङको अन्तिम बलमा अलआउट हुनुअघि १२५ रनको योगफल खडा गरेको थियो । ओपनर तथा कप्तान आरोन फिन्चले ४४ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक थिएन ।

    बलिङमा इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १-१ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । यो समूहको शीर्ष स्थानमा रहेको उसले दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्न बाँकी छ ।

    अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो । अस्ट्रेलियाले बंगलादेश र वेष्ट इण्डिजसँग खेल्न बाँकी छ ।

  • अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खायो

    अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खायो

    काठमाडौं । विश्वकप तथा एसियन कपको छनोटअन्तर्गत कुवेतमा जारी अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २ गोल खाएको छ ।

    कुवेतको जाबेर अल-अहमद रंगशालामा जारी खेलको छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका छन् ।

    आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले बाँकी ४५ मिनेट १० जनामा सीमित भएर खेल्नु पर्नेछ ।

  • विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । विश्वकप तथा एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दैछ ।

    पाँचपल्ट विश्वकप खेलिरहेको अस्ट्रेलियाका लागि आजको खेल जितेसँगै समूहको शीर्ष स्थानमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित हुनेछ ।

    फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

    कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयअनुसार राती पौने १० बजेदेखि सुरु हुनेछ ।

    दुई सातादेखि मध्यपूर्वमा रहेको नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गत नै चाइनिज ताइपेईसँग र जोर्डनसँग खेलिसकेको छ । सबैकुरा सामान्य भइदिएको भए यी तीनै खेल नेपालले आफ्नै मैदानमा खेल्न पाउने थियो ।

    खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले आफ्नो खेल्ने शैली परिवर्तन गरेको र यसले समर्थकलाई खुसी दिएको बताएका थिए । ‘म अस्ट्रेलियासँग नेपाल टिमको अर्को एउटा सकारात्मक प्रदर्शनको आशा गर्छु । हाम्रो खेल्ने शैली सुधारिएको छ र यसले हाम्रा समर्थकलाई खुसी दिएको छ,’ उनले भने।

    कुवेतका प्रो लाइसेन्सधारी प्रशिक्षक अल्मुताइरीले आफ्नो टिममा रहेका डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेतसमेत गरेका छन् । ‘मलाई थाहा छ अस्ट्रेलियासँगको खेल कठिन हुनेछ तर उनीहरुले खेल्न पाउनु पनि त्यत्तिकै महत्वपूर्ण रहनेछ,’ अल्मुताइरीले भने । नेपाली टोलीमा परेर कुवेत उडेका गोलरक्षकबाहेक सुरज ज्यू ठकुरी, आयुश घलान र कमल थापाले डेब्यू गर्न बाँकी छ ।

    अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘उनीहरु फरक शैलीमा खेल्छन् । उनीहरुका प्रशिक्षकले राम्रो काम गरिरहेका छन् । हामी नेपाली टिमको सम्मान गर्छौं, उनीहरु मिहिनेती छन्,’ आर्नोल्डले पत्रकार सम्मेलनमा भने ।

  • एक सिजन पूरा खेल्न नपाइ प्रिमियर लिगबाट घटुवा भयो फुलह्याम

    एक सिजन पूरा खेल्न नपाइ प्रिमियर लिगबाट घटुवा भयो फुलह्याम

    एजेन्सी । बर्नलीसँग पराजित भएपछि फुलह्याम प्रिमियर लिगबाट यस सिजन रेलिगेसनमा पर्ने तेस्रो तथा अन्तिम टोली बनेको छ । वेष्टव्रुम र शेफिल्ड युनाइटेड यसअघि नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको छ ।

    जितपछि बर्नलीले भने कम्तिमा अर्को सिजनसम्म प्रिमियर लिगमै रहन निश्चित गरेको छ । प्रिमियर लिगको आधुनिक युग सुरु भएपछि पहिलोपल्ट सिजनको तीन खेल अगावै रेलिगेसनमा पर्ने तीनवटै टोलीको टुंगो लागेको हो । रेलिगेसनमा पर्नेहरुले इंग्लयाण्डको दोस्रो डिभिजनको लिग– च्याम्पियनसिप खेल्नेछन् ।

    पहिलो हाफको अन्तिम १० मिनेटभित्र २–० ले पछि परेपछि नै फुलह्यामको रेलिसेगनको सम्भावना प्रवल बनिसकेको थियो । बर्नलीका लागि एस्ले वेष्टउड र क्रिस उडले गोल गरेका हुन् ।

    तीन खेल बाँकी रहँदा फुटलह्याम १७ औं स्थानको साउथह्याम्प्टनभन्दा १० अंकले पछाडि छ । फुलह्याम यसै सिजन प्रिमियर लिगमा बढुवा भएको थियो ।

  • अस्ट्रेलियाले जुलाईदेखि हवाई उडान खोल्न तयारी गर्दै

    अस्ट्रेलियाले जुलाईदेखि हवाई उडान खोल्न तयारी गर्दै

    सिड्नी- अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिंगापुरसँग हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ । कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तर्राष्ट्रिय उडान र यात्रामाथि कडाई गरेको छ ।

    अस्ट्रेलियाली अधिकारीहरुले पर्यटन र यात्रामा सहजीकरण गर्न सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताएका छन् ।अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर-अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ ।

    अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल भइरहेको जानकारी दिए ।

    उनले एबिसी टेलिभिजनसँग कुरा गर्दै कोरोनाभाइरसको खोप लगाउन शुरु भएको अवस्थामा अस्ट्रेलियाले अन्य मुलुकसँगको यात्रा पनि खुला हुँदै जाने बताए ।

    अस्ट्रेलियाली अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार यो सम्झौता बमोजिम खोप लगाएका सिंगापुरे र अस्ट्रेलियाली नागरिकलाई एकअर्का देशमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गर्न लागिएको छ ।

    उक्त अखबारले तेस्रो मुलुकका व्यक्तिहरु जस्तै अन्तर्राष्ट्रिय विद्यार्थी, व्यावसायिक यात्रु र स्वदेश फर्कन चाहने नागरिकले अस्ट्रेलियाका लागि उड्नु अघि सिंगापुरमा दुई साताको क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान समेटिएको जनाएको छ ।

    तर अस्ट्रेलिया समेतका कतिपय मुलुकका लागि सीमा खोलिसकेको सिंगापुरले आफूले क्वारेन्टिन केन्द्र वा खोप केन्द्रको अवधारणाका विषयमा छलफल नगरेको स्पष्ट गरेको छ ।

    सिंगापुरको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सिंगापुरले खोप प्रमाणपत्रलाई दुबै देशले मान्यता दिने बारेमा जोड दिएको जनाएको छ । विज्ञप्तिमा विद्यार्थी र व्यावसायिक यात्रुलाई उच्च प्राथमिकता दिन पनि अस्ट्रेलिया समक्ष सिंगापुरले आग्रह गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “हामीले बिना क्वारेन्टिन सिंगापुर र अस्ट्रेलियाका नागरिकलाई एकअर्का मुलुकको भ्रमण खुला गर्ने बारेमा छलफल गरेका छौं ।”

    अस्ट्रेलियामा १४ दिने अनिवार्य क्वारेन्टिनका कारण दशौं हजार अस्ट्रेलियाली नागरिक विदेशमै अलपत्र परेका छन् । पर्यटन क्षेत्रबाट अस्ट्रेलियाले वार्षिक करिब ३५ अर्ब डलर आर्जन गर्ने गरेको छ, तर एक वर्षदेखि हवाई उडान रोकिएपछि यो क्षेत्र ठूलो सङ्कटमा छ ।

    अस्ट्रेलियाले न्यूजील्यान्डसँग एकतर्फी हवाई उडान शुरु गरेको छ जहाँ न्यूजील्यान्डका नागरिकले बिना क्वारेन्टिन अस्ट्रेलियाको भ्रमण गर्न पाउँछन् । तर भाइरस देखिनासाथ यो व्यवस्था पटकपटक स्थगित हुँदै खुल्दै गर्ने गरेको छ ।

  • अस्ट्रेलियामा खोप अभियान शुरु, प्रधानमन्त्री मरिसनले लगाए खोप

    अस्ट्रेलियामा खोप अभियान शुरु, प्रधानमन्त्री मरिसनले लगाए खोप

    क्यान्बेरा- कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ ।

    अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

    अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए ।

    गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।

    त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए ।

    दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।