Tag: अविरल वर्षा

  • बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, ७१ घाइते, २९ बेपत्ता

    बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, ७१ घाइते, २९ बेपत्ता

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ जना पुरुष, १५ जना महिला, पाँच बालक र पाँच बालिका रहेका नेपाल प्रहरीले जनाएको छ।

    सिन्धुपाल्चोकमा पाँच, डोटीमा पाँच, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन–तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा तीन–तीन, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रेपलाञ्चोक, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक-एक जना रहेका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

    बाढी, पहिरो र डुबानमा परी यसै अवधिमा ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र पाँच जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा सात, धादिङमा ६, सिन्धुपाल्चोक र रोल्पामा पाँच–पाँच, धनुषा र सर्लाहीमा पाँच–पाँच, खोटाङ, कास्की, म्याग्दी र डोटीमा पाँच-पाँच जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा पाँच-पाँच, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा पाँच-पाँच जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, छ जना महिला, तीन बालक र एक बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, पर्वत र तनहुँमा दुई तथा बाजुरा र बाग्लुङमा एक-एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको छ ।

    बाढीपहिरोमा परेका एक हजार दुई सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६, चितवनमा चार सय दुइ, सिन्धुपाल्चोकमा एक सय २३, दोलखामा ३५, नवलपरासी (पूर्व) का १८, लमजुङ र सल्यानबाट आठ-आठ, जाजरकोटमा सात, गोरखा र दाङमा चार-चार र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपछि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको थियो ।

    बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको छ ।

    बाढीको कारण एक हजार पाँच सय १६ वटा घर डुबानमा परेका छन् । पाँच सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा पाँच सय ३९ वटा विपद्‍का घटनाबाट एक हजार एक सय ५८ वटा घर परिवारका पाँच हजार चार सय २३ जना मानिस विस्थापित भएका छन् ।

    बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको प्रहरी प्रवक्ता कुँवरले बताए ।

    पछिल्लो २४ घण्टामा मात्र दार्चुलामा तीन जना, पाल्पामा दुइ जना तथा तनहुँ र दाङमा एक-एक जना गरी जम्मा सात जनाको मृत्यु भइसकेको जनाइएको छ ।

  • तीन दिनदेखिको अविरल वर्षा – पहाडमा पहिरोको पीर, तराईमा डुबानको जोखिम

    तीन दिनदेखिको अविरल वर्षा – पहाडमा पहिरोको पीर, तराईमा डुबानको जोखिम

    काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भेगमा भू-क्षय, पहिराको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जीवन/यतायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकामा बिहानैदैखि निरन्तर वर्षा भइरहेको छ ।

    महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

    आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कतिपय स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २३ दशमलव ४ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्रि सेल्सियस रहेको छ ।

    काठमाडौँ उपत्यकामा गएराति देखिनै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा ४६ मिलिमिटर वर्षा भएको छ । शुक्रबार ४० मिलिमिटर वर्षा मापन गरिएको थियो । सबैभन्दा धेरै विराटनगरमा ८५, सिमरामा ५१, भैरहवामा ५७, तप्लेजुङ ४५ र ओखलढुङ्गामा ४० मिलिमिटर वर्षा भएको छ । रासस