Tag: अलिबाबा

  • अलिबाबामाथि चीनद्वारा २ अर्ब ७८ करोड डलर जरिवाना, एकाधिकार नियम उल्लङ्घन आरोप

    अलिबाबामाथि चीनद्वारा २ अर्ब ७८ करोड डलर जरिवाना, एकाधिकार नियम उल्लङ्घन आरोप

    शाङ्घाई । चिनियाँ नियामक निकायले ई–कमर्शको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ । एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो ।

    चीनको नियामक निकाय “बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)ले गत डिसेम्बरमा अलिबाबामाथि शुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ ।

    अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ ।

    एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।

    कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको छ एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ ।

    ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो ।

    अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो ।

    अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ । साथै कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनँएको छ ।

    अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन शुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।

    आजभोलि चीनका करोडौं नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् ।

    तर अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तिब्र बनाइएको थियो ।

    अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित हुनु भएको थियो ।

    ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबा समेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् ।

    चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण सङ्ग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गूगल माथि पनि देश भित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् ।

  • अलिबाबालाई सबैभन्दा ठूलो जरिमाना गर्दै चीन सरकार

    अलिबाबालाई सबैभन्दा ठूलो जरिमाना गर्दै चीन सरकार

    काठमाडौं । चीनलेको शक्तिशाली कम्पनी अलिबाबालाई एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ ।

    अलिबाबा चीनको ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी हो । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

    अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छापिएको थियो । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।

    यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो ।

    चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् ।

    अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनका व्यवसाय सरकारी निकायले निगरानी बढाएको थियो ।

    चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए ।