Tag: अर्थ मन्त्रालय

  • विपन्न परिवारलाई वितरण गर्न स्थानीय तहमा अर्थ मन्त्रालयले पठायो ५ अर्ब

    विपन्न परिवारलाई वितरण गर्न स्थानीय तहमा अर्थ मन्त्रालयले पठायो ५ अर्ब

    काठमाडौं । अतिविपन्न नागरिकका लागि वितरण गर्ने भनिएको १० हजार नगद हस्तान्तरणका लागि अर्थमन्त्रालयले बजेट स्वीकृति दिएको छ । ५ लाख परिवारलाई १० हजारका दरले हस्तान्तरण गर्ने गरी ५ अर्ब रुपैयाँ स्थानीय तहमा पठाउन स्वीकृति प्रदान गरिएको अर्थ सचिव मधुकुमार मरासिनीले नेपाल प्रेसलाई बताए ।

    ‘विपन्न नागरिकलाई नगद हस्तान्तरण गर्नका लागि अर्थमन्त्रालले ५ अर्ब रुपैयाँ स्वीकृती दिएको छ । अब स्थानीय तहले कार्यविधिमा उल्लेख भएनुसारका विपन्न नागरिकलाई रकम वितरण गर्ने बाटो खुलेको छ,’ मरासिनीले बताए ।

    चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले कोभिड- १९ का कारण रोजगारी गुमाएका, अनौपचारिक क्षेत्रमा काम श्रमिक एवं अतिविपन्न नागरिकका ५ लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले वितरण कार्यक्रम ल्याएको थियो ।

    सोही कार्यक्रमलाई निरन्तरता दिनका लागि मन्त्रिपरिषद्र्ले ‘कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८’ निर्माण गरिसकेको छ ।

    यस योजनामा सहभागिता हुनका लागि रोजगारी पूर्णरूपमा गुमाएको र अर्को रोजगारी प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित मजदुर वा कामदार हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

    यसैगरी खुला सडक, फुटपाथमा वा चौरमा खर्पन, नाङ्गलो, डोको आदिमा समान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेतला, ज्यालदारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मजदुर, पर्यटन, भरियाले सो रकम प्राप्त गर्न सक्ने व्यवस्था कार्यविधि मार्फत गरेको छ ।

  • महामारीले असन्तुलित अर्थतन्त्र सुधारका लागि विकल्प खोज्दै मन्त्रालय

    महामारीले असन्तुलित अर्थतन्त्र सुधारका लागि विकल्प खोज्दै मन्त्रालय

    काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै गत साउनदेखि आयात उच्च वृद्धि भएको थियो । जसको प्रभाव शोधान्तरस्थितिमा परेको छ । भदौमा शोधान्तरस्थिति ८३ अर्बले घटामा गएपछि विदेशी मुद्राको सञ्चितिमा दबाब परेको थियो ।
    भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आयात करिब ६४ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्ष उक्त अविधमा २ खर्ब ९२ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ब्यापारघाटा ४ खर्ब १३ अर्ब पुगेको छ । गत आर्थिक वर्ष व्यापारघाटा २ खर्ब ६१ अर्ब रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटा करिब ५८ प्रतिशतले बढेको छ ।

    कात्तिकमा भने आयात केही कम हुने नेपाल राष्ट्र बैंकको अनुमान छ । यसले गर्दा शोधान्तरघाटा १ खर्ब नपुग्ने राष्ट्र बैंकको उच्च स्रोतले बतायो ।

    यसैगरी अर्थमन्त्रालयले वस्तुको कुल आयातमध्ये ४० प्रतिशतभन्दा बढी आयात उत्पादनशील क्षेत्रमा नै गएको अनुमान गरेको छ । केही वस्तुको आयातमा कटौती गर्न सकिन्छ कि भनेर अर्थमन्त्रालयले ध्यानपूर्वक आर्थिक तथ्यांक विश्लेषण गरेको बताएको छ ।

    सरकारले यसअघि चाँदी आयातमा केही कडाइ गरेको थियो । सुन, सवारीसाधान तथा अनुत्पादनशील क्षेत्रमा जाने कर्जालाई अर्थमन्त्रालयले ध्यानपूर्वक अध्ययन गरिरहेको जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ आपूर्ति तथा ऊर्जामा भएको मूल्यको प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ । पेट्रोलिय पदार्थको मूल्य बढिरहेको छ भने कोइलामा भएको मूल्यवृद्धिले सिमेन्ट तथा छडलगायतका वस्तुको मूल्य बढाएको छ ।

    पेट्रोलिय पदार्थको आयात कटौतीका लागि सरकारले विद्युतको उपयोगमा जोड दिनपर्ने र विद्युत आपूर्ति बढाउन गर्न सकिने संभावित विकल्पका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । महामारीपश्चात माग भइरहेको लगानीले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसको फाइदा लिन सम्भावित सबै विकल्पको खोजी भइरहेको एक अधिकारीले बताए ।

  • नयाँ उद्योगीलाई एक प्रतिशत ब्याजमा ऋण दिने परियोजना अन्तिम चरणमा, एक अर्बको कोष बन्दै

    नयाँ उद्योगीलाई एक प्रतिशत ब्याजमा ऋण दिने परियोजना अन्तिम चरणमा, एक अर्बको कोष बन्दै

    काठमाडौं । नयाँ उद्योग सञ्चालनका लागि एक प्रतिशत ब्याजदरमा ऋण दिने परियोजना अन्तिम चरणमा पुगेको छ । सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई सस्तो ब्याजमा ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

    अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले अहिले कोष स्थापनाको काम भइरहेको र छिटै ऋण दिने कार्यविधि बन्ने बताए । उनले भने- यहाँ सम्पत्तिभन्दा पनि बिजनेश आइडिया धितो राखेर ऋण पाइन्छ, त्यो पनि सस्तो ब्याजदरमा । यसले व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नेछ ।

    उनका अनुसार कोषबाट ऋण पाउन फरक प्रकारको व्यवसायको अवधारणा हुनुपर्नेछ । कोष निर्माणको काम सकिएपछि ‘स्टार्ट अप’ बिजनेशका लागि आवेदन दिन सकिने छ ।

    यसअघि पनि स्टार्ट अप बिजनेस गर्नेहरुका लागि सरकारले ५० लाख रुपैयाँ सहुलियतमा ऋण दिने भनिएको थियो । जसमा १२ सयले आवेदन पनि दिएका थिए । पछि अर्थ मन्त्रालयले रकम निकासा नगर्दा परियोजना प्रभावित भएको थियो । अर्थ मन्त्रालयका प्रवक्ता अर्यालले यसपटक भने पहिलाको जस्तो नहुने दावी गरेका छन् ।

    नेपालमा ‘स्टार्ट अप’ कोषका लागि ७ वर्षदेखि प्रयास भइरहेको छ । २०७१ सालान तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ‘च्यालेन्ज फण्ड’ स्थापना गरी स्टार्ट अपको सुरुवात गरेका  थिए ।

    २०७४ सालमा डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि पनि स्टार्ट अपको कुरा अगाडि बढेको थियो । खतिवडाको पालामा १० देखि ५० लाखसम्म स्टार्ट अपका लागि ऋण दिने भनेर आवेदन खुला गरिएको थियो । तर त्यो विफल भयो ।

    गत वर्ष पनि परियोजना हेरेर स्टार्ट अपलाई १० देखि ५० लाख रुपैयाँसम्म अनुदान दिने भनी आवेदनका लागि सार्वजनिक सूचना जारी भएको थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघले पनि निजी क्षेत्रबाट नै लगानी जुटाएर स्टार्ट अप बिजनेसका लागि परियोजना छनोट गर्ने भनेको थियो । प्रदेश सरकारले समेत स्टार्टअप बिजनेका लागि बजेट छुट्यार काम गरिरहेको छ ।

    महासंघले स्टार्टअपहरूको प्रवर्द्धनमार्फत देशभित्र उद्यमशीलता वृद्धि गर्न र रोजगारी सिर्जना गर्न स्टार्ट अप एण्ड इनोभेसन समिति समेत गठन गरेको थियो ।

    महासंघले नवउद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्न स्टार्ट अप अध्ययन गर्ने, मुलुकभित्र नवीनतम् सोचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न उद्योग मन्त्रालयअन्तर्गत लगानी प्रवर्द्धन महाशाखासँगको सहकार्यमा स्टार्ट अप नीति निर्माणका लागि पहल गरिरहेको छ ।

    महासंघले सुरु गरेको स्टार्ट अप एण्ड इनोभेसनमा स्टार्ट अपमा आइडिया ल्याउनेहरुलाई निजी क्षेत्रले नै लगानी गर्ने घोषणा गरेको थियो । महासंघले ५० वटा स्टार्ट अप बिजनेशमा लगानी गर्ने जनाएको छ ।

    यसरी सरकारसँगै निजी क्षेत्र पनि स्टार्ट अप बिजनेसका लागि परेको छ ।

  • अर्थले बाटो खोलिदिए यसै साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

    अर्थले बाटो खोलिदिए यसै साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । सरकार परिवर्तनसँगै मौद्रिक नीति आउन ढिला भएको छ । सरकारले बजेटमा परिवर्तन गर्ने संकेत गरेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ गरेको हो ।

    अर्थमन्त्रालयले सरकारको निर्णय कुर्न भनेपछि नेपाल राष्ट्र बैंकले तयारी अवस्थामा रहेको मौद्रिक नीति प्रस्तुत गरेन । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइ तथा सदनमा अंकगणितका कारण पुरानै बजेटले निरन्तरता पाउने अवस्था भएपछि मौद्रिक नीति प्रस्तुत गर्ने तयारी भएको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्तामा हस्तक्षेप नगरेको बताएपछि नेपाल राष्ट्र बैंक मौद्रिक नीति ल्याउनका लागि कसिएको छ । मौद्रिक नीतिको सन्दर्भमा पूर्वगभर्नरहरुसँग अन्तर्क्रियामा उनीहरुले सरकारको बजेटलाई पर्खेर बस्न हुन्न भन्दै चाँडो मौद्रिक नीति प्रस्तुत गर्न सुझाव दिएका थिए ।

    अर्थमन्त्रालयमा सचिव हेरफेरले पनि मौद्रिक नीति यही साताभित्र आउने आँकलन बढेको छ ।  अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पदेन सदस्य रहने भएकाले उनले मंगलबार सपथ लिँदैछन् ।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्र मौद्रिक नीति ल्याउने गरी तयारी अगाडि बढिरहेको बताएका छन् । ‘हामीले यही साता ल्याउने भन्ने सोचका साथ तयारी गरिरहेका छौं ’,उनले भने ।

    अर्थमन्त्रालयले हस्तक्षेप नगरेमा बिहीबार र शुक्रबार सम्ममा मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको स्रोतले बताएको छ ।

  • सरकारको प्रष्टोक्ति- चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध

    सरकारको प्रष्टोक्ति- चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध

    काठमाडौं । अर्थ मन्त्रालले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको बताएको छ ।

    सरकारले शनिबार ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख भएकोमा टिप्पणी बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत प्रष्ट्याएको हो ।

    ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छु’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

    प्रेस विज्ञप्तिमा बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरेर भावर, शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

    मन्त्रालयले चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको दाबी गरेको छ ।

    मन्त्रालयले भनेको छ, ‘सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको व्यहोरा समेत सबैलाई अनुरोध गर्न चाहन्छ’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  • आर्थिक सर्भेक्षणले देखाएको परिदृष्य : अर्थतन्त्र कति पानीमा ?

    आर्थिक सर्भेक्षणले देखाएको परिदृष्य : अर्थतन्त्र कति पानीमा ?

    काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको तस्बिर देखाएको छ । सर्भेक्षण अनुसार कोरोना महामारीका कारण लक्ष्यित आर्थिक वृद्धिदर हासिल गर्न कठिन भए पनि अन्य प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक छन् ।

    सरकारले संसद बिघटन गरी निर्वाचन घोषणा गरेकाले संसदमा प्रस्तुत हुनुपर्ने आर्थिक सर्वेक्षण अर्थमन्त्रालयमा प्रस्तुत गरिएको थियो । सर्भेक्षण प्रतिवेदनको सारांश वाचन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारद्वारा अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न चुनौतिपूर्ण रहेको स्वीकार गरे । कोभिड-१९ का कारण नेपालमा दुई दशकमा पहिलोपटक आर्थिक बृद्धि २.१२ प्रतिशतले ऋणात्मक भएको उल्लेख गर्दै उनले भूकम्पले भन्दा कोरोनाले वृद्धिदरमा ठूलो धक्का दिएको बताए ।

    ‘कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ, जुन आर्थिक वर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा उच्च हो,’ उनले भने ।

    केन्द्रीय तथ्याङ्क बिभागले राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक बृद्धिदर ४.०१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कोभिडको दोस्रो लहरका कारण स्वास्थ्य संकट गहिरिदै गएकाले उक्त लक्ष्य हासिल हुन नसक्ने संकेत गरे ।

    ‘चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण छ,’ उनले भने ।

    गत आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा भने सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान गरिएको थियो । बागमती प्रदेशमा सबैभन्दा धेरै ४.६५ प्रतिशत र प्रदेश नम्बर २ मा सबैभन्दा कम ३.५२ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको भए पनि कोभिड-१९ को दोस्रो लहरका कारण उक्त बृद्धिदर हासिल गर्न कठिन रहेको अर्थमन्त्रालयको भनाई छ ।

    यद्यपी गत बर्षभन्दा राम्रै आर्थिक बृद्धिदर हासिल गर्नसक्ने सम्भावनाको भने अन्त्य नभएको अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बताए ।

    ‘हामीले अर्धबार्षिक समिक्षामार्फत ५ प्रतिशतसम्मको आर्थिक बृद्धि हासिल होला भन्ने अनुमान गरेका थियौं । कोभिडको दोस्रो लहर गर्दा उक्त अपेक्षा पुरा नभए पनि गत बर्षभन्दा राम्रै बृद्धिदर हासिल गर्छौ भन्ने लागेको छ,’ उनले भने ।

    जीडीपी ४३ खर्ब नजिक, प्रतिव्यक्ती आय ११९६ डलर

    चालु आर्थिक वर्ष अनुमानित कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ७६ अर्ब ३२ करोड पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ । जसमा कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धि दर २.६ प्रतिशत, उद्योगको ५ प्रतिशत र सेवा क्षेत्रको ४.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

    यस्तै कुल गार्हस्थ्य उत्पादनको मूल्य अभिवृद्धिमा कृषिको योगदान २५.८ प्रतिशत, उद्योगको योगदान १३.१ प्रतिशत र सेवा क्षेत्रको ६१.१ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

    कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४ प्रतिशत रहेको उल्लेख गरिएको छ । चालु आर्थिक बर्ष प्रतिव्यक्ती कुल गार्हस्थ्य आम्दानी ५.८ प्रतिशतले बढेर ११९१ पुग्ने र प्रतिव्यक्ती राष्ट्रिय आय ५ प्रतिशतले बढेर ११९६ पुग्ने अनुमान गरिएको छ । यसैगरी कुल खर्चयोग्य आम्दानी गत आर्थिक बर्षको तुलनामा ४.५ प्रतिशतले बढेर ११८६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

    चालु आर्थिक वर्ष फागुनसम्म मुद्रास्फीति ३.५ प्रतिशतको सिमाभित्र रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले चालू आर्थिक बर्षको बजेटमार्फत मुद्रास्फिति ७ प्रतिशतको सिमाभित्र राख्ने बताएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो ।

    राष्ट्रिय लगानी १८.१ प्रतिशतले बढ्यो

    चालू आर्थिक बर्ष कुल लगानी १८.१ प्रतिशतले बढ्दै १३ खर्ब १२ अर्ब पुग्ने अनुमान गरिएको छ । गत आर्थिक बर्ष यस्तो लगानी ३०.४ प्रतिशतले घटेको थियो ।

    चालू आर्थिक बर्षको फागुन मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत हो । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको जनाएको छ । चालु आर्थिक बर्ष बजेटको ऋणले थप नेपालीको टाउकोमा ऋणको भार थप हुँदै जाने देखिन्छ ।

    खानेपानी, शिक्षा र पुनः निर्माणमा प्रगति

    चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षणले खानेपानी शिक्षा तथा पुनः निर्माणको क्षेत्रमा उल्लेखिय प्रगति भएको देखाएको छ ।

    आधारभूत खानेपानी सुविधा पुगेको जनसंख्या ९१.५ प्रतिशत पुगेको छ । चालु आर्थिक बर्ष मात्रै थप १ लाख ५५ हजार जनसंख्याले आधारभूत खानेपानीको सुविधा पाएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिएकाले पनि काठमाडौं उपत्यकामा खानेपानीको पहुँच पुर्‍याउन थप सहज भएको अर्थमन्त्रालयको भनाई छ ।

    त्यस्तै भूकम्पबाट क्षति भएका निजी आवास निर्माण करिव ७३ प्रतिशत, सार्वजनिक विद्यालय ८२.७ प्रतिशत, पुरातात्विक सम्पदा ५३.३ प्रतिशत, स्वास्थ्य संस्था ५८.३ प्रतिशत, सरकारी भवन ८५.३ प्रतिशत र सुरक्षा निकायका भवन ९५.८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

    यसैगरी शैक्षिक वर्ष २०७७ मा प्राथमिक तहको खुद भर्नादर ९७.४ प्रतिशत, आधारभूत तहको ९४.७ प्रतिशत र माध्यमिक तहको ५१.२ रहेको जनाइएको छ ।

    बिद्युत, सडक र इन्टरनेटको पहुँचमा बृद्धि

    चालु आर्थिक बर्षको फागुन महिनासम्ममा ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । गत बर्षको तुलनामा ४.१ प्रतिशतले विद्युत उत्पादन बढेर १४५८ मेगावट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

    चालू आर्थिक बर्षको फागुन मसान्तसम्ममा मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी ५ हजार ९ सय ७४ किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै खण्डाश्मित ८ हजार ८ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर सडक निर्माण भएको बताइएको छ ।

    प्रदेश तथा स्थानीयस्तरबाट कच्ची, ग्राभेल र कालोपत्रे सहित जम्मा ६३ हजार ५ सय ७७ किलोमीटर सडक निर्माण गरिएको आर्थिक सर्वेक्षणमा प्रस्तुत गरिएको छ ।

    चालु आर्थिक बर्षको फागुनसम्म टेलिफोनको पहँच १३०.३ प्रतिशत जनसंख्यामा पुगेको छ । यसैगरी नेपालमा ८२.८ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा पुगेको अर्थमन्त्रालयले जनाएको छ । गत बर्षको सोही अवधिमा नेपालमा इन्टरनेटको पहुचमा ७३ प्रतिशत जनसंख्यामा रहेको थियो ।

  • आईसीयू र भेन्टिलेटरको लागि ४१ अस्पताललाई डेढ अर्ब बजेट

    आईसीयू र भेन्टिलेटरको लागि ४१ अस्पताललाई डेढ अर्ब बजेट

    काठमाडौं । कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।

    जसमा पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन तीन करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

    यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई तीन तीन करोड रुपैयाँ छ ।

    पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन तीन करोड रुपैयाँको सहमति दिइएको छ ।

    सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

  • १२ अस्पतालका लागि थप ८ करोड १० लाख स्वीकृत

    १२ अस्पतालका लागि थप ८ करोड १० लाख स्वीकृत

    काठमाडौं । अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रूपैयाँको सहमति दिएको छ ।

    बजेट दिइएका अस्पतालमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रूपैयाँ रहेको छ ।

    यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमका लागि ७५ लाख, टीकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ लाख छ ।

    स्वास्थ्य मन्त्रालयको माग अनुसार अर्थले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न यसअघि पनि बजेट सहमति दिँदै आएको अर्थ मन्त्रालयले जनाएको छ ।

  • बजेट निर्माणको सकसः कोभिडको प्रहारमाथि चुनावको भार

    बजेट निर्माणको सकसः कोभिडको प्रहारमाथि चुनावको भार

    काठमाडौं । देशमा जारी राजनीतिक टकराव र संवैधानिक जटिलताको चेपुवामा परेको आगामी आर्थिक वर्षको नीति-कार्यक्रम तथा बजेट नियमित प्रक्रियाबाट नआउने निश्चित भएको छ । साथै, कोभिडको महामारीले बजेट निर्माणमा दवाव खेपिरहेका अर्थ मन्त्रालयका अधिकारीहरु हालै मध्यावधि चुनावको घोषणा भएपछि थप तिल्मिलाएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा संसद वैठकमार्फत अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो । तर, अब संसद नै नरहेपछि अध्यादेशबाट बजेट ल्याउनुपर्ने वाध्यता भएको हो ।

    संघीय संसदको दुबै संसदमा नीति तथा कार्यक्रम, बिनियोजन बिधेयक, प्री-बजेट छलफल, मध्यकालीन खर्च संरचना, आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि मात्रै जेठ १५ गते बजेट ल्याउने नियमित संवैधानिक प्रावधान रहेको छ । वरिष्ठ अर्थबिद् चन्द्रमणि अधिकारी बजेट अगाडीको तालिका नै अवरुद्ध भएको र संसद विघटन भएकाले सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता नरहेको बताउँछन् ।

    ‘सरकारले बजेट अगाडिका प्रकृयाहरु नै पूरा नगरेकाले अब बजेट जेठ १५ गते नै आउनुपर्छ भन्ने बाध्यता छैन,’ उनले भने, ‘अध्यादेशमार्फत बजेट प्रस्तुत गर्ने तिथिका विषयमा संविधान बोलेको छैन ।’

    यद्यपि, अर्थ मन्त्रालयले भने नियमित तालिका अनुसार १५ जेठमा नै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल सरकारले बजेट नभई खर्च बिधेयक मात्र ल्याउन सक्ने बताउँछन् ।

    ‘विश्वासको मत गुमाइसकेको सरकारले अब ल्याउने बनेको खर्च बिधेयक हो,’ उनले भने ‘बजेट प्रस्तुत गर्ने आधार त सरकारले गुमाइसक्यो । बजेट ल्याउन निश्चित संवैधानिक प्रकृया पूरा गर्नुपर्नेमा केपी ओली नेतृत्वको सरकारले त्यसो गर्न चाहेन ।’

    कोभिड र चुनाव प्राथमिकतामा

    आगामी आर्थिक वर्षको बजेटमा कोभिड १९ ले स्रोत व्यवस्थापनको संकट पैदा गरेकै थियो, त्यसमाथि हालै सरकारले मध्यावधि चुनावको घोषणा गरेपछि अर्थमन्त्रालय चरम दवावमा परेको छ । चुनावका लागि सरकारले अर्बौं रकमको जोहो गर्नुपर्ने हुन्छ ।

    कोभिड रोकथाम तथा नियन्त्रण, अर्थतन्त्रको पुनरुत्थान तथा राहत र चुनावलाई प्राथमिकतामा राख्ने मन्त्रालयको तयारी छ । आगामी आर्थिक बर्षको बजेटका करिब ९० प्रतिशत कार्यक्रम कोभिड केन्द्रित हुने अर्थमन्त्रालय स्रोत बताउँछ । कामचलाउ भइसकेको सरकारले नयाँ कार्यक्रम घोषणा गर्न नमिल्ने विपक्षी दलहरुले बताएका छन् ।

    निर्वाचनका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित गर्नैपर्ने मन्त्रालयका प्रवक्ता महेश आचार्य बताउँछन् ।

    ‘आगामी आर्थिक वर्षको बजेट कोभिड-१९ रोकथाम तथा नियन्त्रण, आर्थिक पुनरुत्थान तथा रोजगारी र निर्वाचन केन्द्रित हुन्छ,’ आचार्यले भने ।

    सरकारले घोषणा गरेको निर्वाचनका लागि बजेट व्यवस्था गर्न अप्ठ्यारो नभएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बताए ।

    ‘निर्वाचन आयोगले माग गरे बमोजिमको बजेट खर्च तथा स्रोत सुनिश्चिता गर्ने काम अगाडी बढाइएको छ’, उनले भने ‘यसका लागि टेन्डर आव्हान गर्नुपर्ने होइन, बजेटमा केही अंक र कार्यक्रम थप गर्ने मात्रै हो ।’

    राष्ट्रिय योजना आयोगले कोभिड-१९ को महामारी तथा यसको दोस्रो लहरलाई ध्यानमा राखी बजेटको सिलिङ कम दिएको थियो । चालू आर्थिक वर्षमा पनि बजेट खर्च कम हुने तथा राजस्वको स्रोत संकुचित बन्ने सक्ने भएकाले बजेटको आकार बढाउने पक्षमा योजना आयोग सुरुदेखि नै थिएन ।

    अर्थमन्त्रालयले चालू आर्थिक वर्ष कोभिड-१९ का कारण स्रोतमा दवाव रहेको भन्दै नयाँ कार्यक्रम तथा आयोजना भन्दा पनि पुरानै परियोजना सम्पन्न गर्नतर्फ ध्यान केन्द्रित गर्न बिषयगत मन्त्रालयलाई भनेको थियो । आयोजना सुरु गर्नका लागि सम्पुर्ण काम पुरा भएका र नयाँ परियोजनाको सर्वेक्षणका लागि मात्रै बजेट माग गर्न अर्थमन्त्रालयले बिषयगत मन्त्रालयलाई अनुरोध गर्दै आएको थियो ।

    कतिपय बिषयगत मन्त्रालयले चालू खर्च समेत धान्न नपुग्ने गरी अर्थमन्त्रालयले बजेट बिनियोजन गरिरहेको भन्दै संसदीय समितिहरुमा गुनासो गरेका थिए ।

    कोरोना रोकथाममा विज्ञको जोड

    अहिलेको सरकारको मुख्य प्राथमकिता कोभिड-१९ बाट जनताको जीवन रक्षा र उद्योग व्यवसायको निरन्तरता हुनुपर्नेमा बिज्ञले जोड दिएका छन् । कोभिड-१९ को दोस्रो लहरका कारण बन्दाबन्दीको अवस्थामा रहेको उद्योग व्यवसायलाई राहत तथा पर्नस्थापना गर्दै रोजगारी संरक्षणमा सरकारको ध्यान हुनुपर्ने उनीहरु बताउँछन् ।

    चुनावभन्दा पनि अहिलेको आवश्यकता जनताको जीवनरक्षा र व्यवसायको संरक्षण भएको राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा. पोखरेल बताउँछन् ।

    ‘कोभिड १९ बाट जनताको जीवनरक्षा गर्ने खालका कार्यक्रमहरु सरकारले ल्याउनुपर्छ,’ उनले भने ।

    वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारी राज्यको अहिलेको आवश्यकता जनताको जीवन रक्षा भए पनि निर्वाचनमा स्रोत बढी केन्द्रित हुने खतरा बढेको बताउँछन् ।

    ‘सरकारले केन्द्र र स्थानीय तहको चुनाबका लागि करिब १ खर्ब बजेटको सुनिश्चिता गर्नुपर्छ । त्यसैले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको स्रोत सुनिश्चतातर्फ जाने भएकाले जनताको जीवन रक्षा र अर्थतन्त्रको पुर्नउत्थान ओझेलमा पर्ने खतरा छ,’ उनले भने ।

    पपुलिष्ट कार्यक्रम

    स्रोतको दवाव भए पनि सरकारले वृद्धभत्ता बढाउने लगायत केही लोकप्रियतामुखी कार्यक्रम बजेटमा समावेश गर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत वृद्धभत्ता बढाउने भनेर सार्वजनिक कार्यक्रममा नै घोषणा गरेका थिए । त्यसैले सांकेतिकरुपमा थोरै परिमाणमा भए पनि वृद्धभत्ता बढाउनुपर्ने वाध्यता मन्त्रालयलाई छ ।

    अर्कोतर्फ गत बर्ष सरकारी कर्मचारीको तलब नबढेको भन्दै यो बर्ष बढ्न सक्ने समेत स्रोतको दावी छ । तर, महामारीले अर्थतन्त्र थिलथिलो भएका बेला सरकारी कर्मचारीको तलव बढाउँदा तीव्र विवाद सिर्जना हुन सक्ने चिन्तामा अधिकारीहरु छन् ।

    संसद विघटन भइसकेकाले आगामी आर्थिक बर्षको बजेटमा सांसद बिकास कोषमा बजेट बिनियोजन गर्नु नपर्ने भएको छ । त्यसको बजेट निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा समावेश हुनसक्ने देखिन्छ ।

    अर्थमन्त्री बिष्णुप्रसाद पौडल राजनीतिक व्यक्ति भएकाले बजेटमा फरकपन महसुस गर्न सकिने अर्थमन्त्रालय स्रोत बताउँछन् । उनले बजेटमा केही नारामुखी कार्यक्रम समावेश गर्न चाहेका छन् ।

    पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पपुलिष्ट कार्यक्रमभन्दा पनि अर्थतन्त्रको जग बसाउनेमा बढी ध्यान केन्द्रीत गरेका थिए । तर अर्थमन्त्री पौडेललाई भने पार्टी कार्यकर्ता र मतदातालाई रिझाउनुपर्ने वाध्यता छ । त्यसैले बजेट बितरणमुखी हुन सक्ने अर्थमन्त्रालय स्रोतको दाबी छ ।

    स्रोतको संकट

    नेपालले प्रत्येक आर्थिक वर्ष घाटा बजेट प्रस्तुत गर्ने गर्छ । राजस्व संकलनभन्दा बढी बजेट बिनियोजन अत्यधिक गर्ने गरिएको हुँदा त्यसलाई पूर्ति गर्न सरकारले आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने हुन्छ ।

    आगामी आर्थिक वर्ष सरकारले बजेटमा राजस्वको दायरा र दर दुबै बढाउने अवस्था छैन । यो वैश्विक महामारीको असर संसारभर रहेकाले बैदेशिक अनुदान पनि कमै आउने देखिन्छ । चालू आर्थिक वर्ष अनुदानका लागि करिव ६० अर्बको प्रतिवद्धता आएपनि करिब १० अर्ब मात्रै प्राप्त भएको छ । त्यसैले चालू आर्थिक वर्ष बजेटको स्रोत व्यवस्थापन पनि आन्तरिक तथा बाह्य ऋणको हिस्सा महत्वपूर्ण बन्ने निश्चित छ ।

    कोभिड १९ को दोस्रो लहरका कारण बैशाख १६ गतेदेखी मुलुक निषेधाज्ञामा गइसकेको छ । यसले गर्दा बैशाखसम्ममा ८२ प्रतिशतको हाराहारीमा खुलेका उद्योग व्यवसायहरु पुन बन्द भएका छन् । अतिआवाश्यक बस्तु तथा सेवा, निर्माण तथा सेयर बजारबाहेक अन्य क्षेत्रहरु पुर्णरुपमा बन्द गरिएका छन् । उद्योग व्यवसाय बन्द रहेकाले आगामी आर्थिक बर्षको बजेटमा राजस्व संकुचित हुने देखिन्छ ।

    कोभिडको असर कम भएर रोजगारी तथा जनताको आम्दानी बढ्ने अवस्था नबनेसम्म आयातमा समेत कटौति भइ सरकारको भन्सार राजस्व, मूल्य अभिवृद्धि कर र प्रत्यक्ष कर प्रभावित हुने निश्चित छ । कोभिड १९ को तेस्रो लहर आएमा अवस्था थप भयावह बन्न सक्ने विश्लेषण भइरहेको छ ।

  • १० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना

    १० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना

    काठमाडौं । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुने जानकारी गराएका हुन् ।

    २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी अनुसार गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी हुने भएको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

    ‘सरकार कानूनी र नीतिगत रुपमा विदेश पूँजी भित्राउन प्रतिबद्ध छ । छरिएर रहेको पूँजीमात्र होइन, विदेशी पूँजी पनि ल्याउन चाहन्छ । लगानी वैध स्रोतको र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ ।’ अर्थमन्त्री पौडेलले भने । अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे । थपिएको बताए ।

    नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रुपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले होल्डिङ कम्पनीका रुपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे । राजस्व सचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने बताए । गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फण्डका अध्यक्ष डा.उपेन्द्र महतोले पूँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकार सहित सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।

    नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी सहित गैर आवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

  • अर्थ मन्त्रालयका १० जना सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

    अर्थ मन्त्रालयका १० जना सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको तयारी भइरहेका बेला अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ ।

    मन्त्रीस्तरीय निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ ।

    त्यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा कामकाजका लागि ल्याइएको छ भने विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा भएका छन् ।

    अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासकमा पदस्थापन भएका छन् भने उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन् ।

    त्यस्तै ईश्वरीप्रसाद अर्यालय अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशकमा पदस्थापन भएका छन् भने महेश भट्टराई केदार पनेरु अवकास भएपछि रिक्त हुने पदमा पदस्थापन हुने गवरि अर्थ मन्त्रालयमै राखिएका छन् ।

    अर्थका सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा काज सरुवा भएका छन् ।

    सहसचिवहरूको पदस्थापन यस्तो छ :-

    १. थानप्रसाद पंज्ञानी – सह महालेखा नियन्त्रक
    २. अच्युतप्रसाद शिवाकोटी – प्रमुख जाँचपास प्रशासक
    ३. उमाकान्त आचार्य – सह महालेखा नियन्त्रक
    ४. ईश्वरप्रसाद अर्याल – उप महानिर्देशक,भन्सार विभाग
    ५. बाबुराम सुवेदी – कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
    ६. विश्वप्रसाद अर्याल – वीरगन्ज भन्सार प्रमुख
    ७. महेश भट्टराई – अर्थ मन्त्रालय
    ८. महेश आचार्य – अर्थ मन्त्रालय
    ९. बाबुराम भण्डारी – सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
    १०. भूमिराम शर्मा – सदस्य सचिव,नेपाल राजश्व परामर्श विकास समिति

  • वैदेशिक सहायता परिचालन २१ प्रतिशतले वृद्धि, आइएनजीओको अनुदान घट्यो

    वैदेशिक सहायता परिचालन २१ प्रतिशतले वृद्धि, आइएनजीओको अनुदान घट्यो

    काठमाडौं । अर्थ मन्त्रालयद्वारा प्रकाशित विकास सहयोग प्रतिवेदन २०२० अनुसार २०१९ र २० मा नेपालले प्राप्त गरेको आधिकारिक विकास सहायता (ओडीए) २ हजार ३ मिलियन अमेरिकी डलर रहेको छ ।

    २०१८ र १९ मा १५ सय ७८ मिलियन डलर ओडीएको रूपमा प्राप्त भएको थियो । यसको तुलनामा यस वर्षको ओडीए २१.२५ ले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    विकास सहयोग प्रतिवेदनले २०१९ र २०२० मा नेपालले विभिन्न द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूबाट प्राप्त गरेको ओडीए तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू मार्फत प्राप्त गरेको सहयोगको विस्तृत विवरण उपलव्ध गराउने गर्दछ ।

    दातृ निकायहरुबाट प्राप्त हुने आर्थिक सहायता ओडीए अन्तर्गतको रकम ६९.९५ ऋणको रूपमा, १८.७५ अनुदानको रूपमा र ११.३५ प्राविधिक सहयोगका रूपमा प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    यद्यपि अन्तर्राष्ट्रिय गैर -सरकारी संस्था मार्फतको योगदान २०१८ र १९ को रकम २१५.३ मिलियन अमेरिकी डलरबाट घटेर २०१९ र २० मा १३१.८ मिलियन अमेरिकी डलर पुगेको छ ।

  • बजेट खर्चमा सुधार, तर लक्ष्यभन्दा तलै

    बजेट खर्चमा सुधार, तर लक्ष्यभन्दा तलै

    काठमाडौं । चालू आर्थिक वर्षमा पहिलेझैं सुस्त रहेको बजेट खर्चले चैत महिनामा केही गति लिएको छ । यद्यपि अझै पनि बजेटको लक्ष्यअनुसार खर्च हुन सकेको छैन ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैतमा औसत दैनिक साढे तीन अर्ब रुपैयाँ बजेट खर्च भइरहेको छ । शुक्रवार एकैदिन सरकारले ११ अर्ब ९५ करोड रुपैयाँ खर्च गर्यो । बजेटको संशोधित लक्ष्य भेट्न अब बाँकी १०० दिनमा ७ खर्ब ३ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ । यस हिसाबले दैनिक ७ अर्ब ३ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने छ ।

    चैतमा भएको बजेट खर्चमध्ये ४० अर्ब २६ करोड रुपैयाँ चालू खर्च हो । यस्तै, पुँजीगत खर्च १३ अर्ब ५७ करोड रुपैयाँ भएको छ भने वित्तीय व्यवस्थातर्फ १६ अर्ब १७ करोड मात्रै खर्च भएको छ ।

    फागुन मसान्तसम्मका आठ महिनामा सरकारको कुल ५ खर्ब ७१ अर्ब खर्च गरेको थियो । चैतको २० गतेसम्म त्यसमा ७० अर्ब थपिएर ६ खर्ब ४१ अर्ब रुपैयाँ खर्च भएको छ । यो घोषित बजेट (१४ खर्ब ७४ अर्ब) को ४३.४९ प्रतिशत हो ।

    अर्थ मन्त्रालयले माघ २७ गते बजेटको अर्धवार्षिक पुनरावलोकनमार्फत बजेटका आकार संशोधन गर्दै १३ खर्ब ४४ अर्ब रुपैयाँमा झारेको थियो । उक्त संसोधनलाई आधार मान्दा अहिलेसम्मको खर्च करिब ४८ प्रतिशत हुन आउँछ ।

    वार्षिक बजेटमा चालूतर्फ ९ खर्ब ४९ अर्ब बजेट बिनियोजन भएकोमा अद्र्धबार्षिक समिक्षामार्फत ९६ प्रतिशत अर्थात ९ खर्ब १४ अर्बमा झारिएको थियो । अहिलेसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ चालू खर्च भएको छ, जुन संसोधित अनुमानको करिब ५४ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५३ अर्ब रुपैयाँ बजेट बिनियोजन भएकोमा अर्धवार्षिक समीक्षामार्फत २ खर्ब ८३ अर्बमा झारिएको थियो । हालसम्म ९३ अर्ब २६ करोड रुपैयाँ अर्थात संशोधित अनुमानको करिब ३३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ ।

    त्यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ बजेट बिनियोजन भएकोमा १ खर्ब ४७ अर्ब अर्थात ८५ प्रतिशत खर्च गर्ने संसोधित अनुमान गरिएको थियो । हालसम्म ५१ अर्ब ६७ करोड रुपैयाँ अर्थात संसोधित अनुमानको करिब ३५ प्रतिशत मात्रै खर्च भएको छ ।

    बिनियोजित बजेटको आधारमा भने कुल बजेट खर्च ४३.१९ प्रतिशत, चालू खर्च ५२.३१ प्रतिशत, पुँजीगत २६.४३ प्रतिशत र वित्तीय ब्यवस्थातर्फ २९.९ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    राजश्व संकलन सन्तोषजनक

    सरकारले कुल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म ६१.४५ प्रतिशत अर्थात ६ खर्ब २१ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । करतर्फ ५ खर्ब ७६ अर्ब र गैह्रकरतर्फ ४४ अर्ब ९९ करोड रुपैयाँ संकललन भएको हो ।

    अनुदान र अन्यप्राप्ति सहित कुल हालसम्म ६ खर्ब ६६ अर्ब अर्थात ६२.१९ प्रतिशत संकलन भइसेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ । सरकारले अर्धवार्षिक समीक्षा सरकारले आन्तरिक ऋणसहित राजस्व संकलनको लक्ष्य १० खर्ब ७४ अर्ब रुपैयाँ, बैदेशिक ऋण २ खर्ब ३५ अर्ब र अनुदान ३५ अर्ब संकलन गर्ने संशोधित लक्ष्य लिएको थियो ।

    चैतमा दैनिक २.५ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । फागुन ३१ गतेसम्म ५ खर्ब ७१ अर्ब संकलन भएको थियो ।

    संशोधित लक्ष्य भेट्छौः अर्थ मन्त्रालय

    अर्थमन्त्रालयका प्रवक्ता सुमन दाहाल यो वर्ष खर्च संरचनामा सुधार भएकाले चैतदेखि खर्च बढ्न सुरु भएको बताउँछन् । चालू खर्च साउन १ गतेदेखि नै हुने भए पनि विकास–निर्माणको भुक्तानी दोस्रो र तेस्रो चौमासिकबाट हुने भएकाले समग्र पुँजीगत खर्च कम देखिएको उनको भनाइ छ ।

    ‘सरकाले चालू खर्च साउन १ देखि नै गरे पनि विकास खर्चको भुक्तानी ढिला हुँदा अन्तराल देखिनु स्वभाविक नै हो,’ उनले भने ।

    पहिलो चौमासिकमा निर्माणका कामहरुको टेन्डरहरु लाग्ने, दोस्रो र तेस्रो चौमासिकबाट बजेट खर्च सुरु हने उनी बताउँछन् । अबको १०० दिनमा तीब्ररुपमा बजेट खर्च हुने र संशोधित लक्ष्य हासिल हुने दाहालको भनाई छ ।

    ‘यो बर्ष खर्च गर्ने प्रणालीमा गरिएको सुधार, १५ करोडभन्दा माथिका आयोजनाको अनलाइन अनुगमन र राष्ट्रिय गौरबको आयोजनामा सीसी क्यामरा जडान गरी कामलाई तिब्रता दिइकाले संशोधित लक्ष्यनुसार काम भइरहेको छ । भन्सार बिभागको तथ्यांकले पनि कोभिडपछि विकास निर्माणको काम तिव्ररुपमा अगाडी बढेको देखिन्छ । बिगतमा मासिकरुपमा ५ अर्ब हाराहारीमा बस्तु आयात हुने गरेकोमा अहिले दैनिक साढे ८ अर्बको हाराहारीमा आयात भइरहेको छ,’, उनले भने ।

    चैतमा बैंकिङ प्रणालीमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह भएकोमा राष्ट्र बैंकले २६ अर्ब ३ करोड रुपैयाँ ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाएको छ । त्यस्तै ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको वस्तु आयात भएको छ ।

    खर्च नबढे तरलतामा दवाव

    अपेक्षित विकास खर्च हुन नसक्दा त्यसको प्रभाव बैंकको तरलतामा पर्ने गर्छ । तरलतामा दवाव परे व्यादजर बढ्न सक्ने बैंकर्स बताउँछन् ।

    सरकारले राजस्व संकलन गरेर ढुकुटीमा थुपार्ने तर आवश्यक खर्च नगर्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाब हुन जान्छ । त्यसपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न मुद्दती तथा साधारण बचतको ब्याजदर बढाउनुपर्ने भएकाले कर्जाको पनि ब्याजदर बढ्ने सक्ने बैंकर्सको भनाइ छ । सरकारले चैत महिनामा अपेक्षित खर्च नगरे ब्याजदर ०.५ प्रतिशतदेखि १ प्रतिशतको बीचमा बढ्न सक्ने उनीहरु बताउँछन् ।

    बैंकहरुले पछिल्लो समय आक्रमकरुपमा कर्जा बिस्तार गरिरहँदा निक्षेप संकलनको अवस्था भने कमजोर देखिन्छ । फागुन महिनामा ८८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकनुसार बाणिज्य बैंकहरुले ३८ खर्ब ७४ अर्ब निक्षेप संकलन गरेकोमा ३४ खर्ब ८५ करोड रुपैयाँ कर्जा बिस्तार गरेका छन् । यसअनुसार सीसीडी अनुपात ७७.७६ प्रतिशत रहेको छ ।

    बिकास बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६ अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कोभिडका कारण नेपाल राष्ट्र बैंकले सीसीडी अनुपात ८० बाट बढाएर ८५ प्रतिशत पुर्‍याएकाले अहिलेको अवस्थामा पनि बैंकहरुले करिब १.५ खर्बको हाराहारीमा कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेको बैंकर्सका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

    अहिलेको अवस्थामा पनि बैंकहरुले नेट निक्षेप कर्जाको अनुपात करिव २४ प्रतिशत कायम राखेकाले १५० अर्ब कर्जा प्रवाह गर्न सकिने उनको भनाइ छ ।

    ‘तर अहिले मासिकरुपमा कर्जा प्रवाह ८० अर्ब जति भइरहेको छ, यता सरकारले थप ४० अर्ब जति कर उठायो भने तरलतामा दवाव पर्न सक्छ’, सरकारले चैतको अन्तिम साताबाटै खर्च बढाएमा पनि तरलतामा खासै ठूलो असर नपर्ने बताउँदै दाहालले थपे, ‘यदि सरकारले खर्च नै गरेन भने ब्याजदर आधा प्रतिशत वा १ प्रतिशतसम्म बढ्न सक्छ, तर पुरानो अवस्थामा जस्तो १२/१३ प्रतिशत पुग्दैन ।’

  • नयाँ बजेट पेश गर्न मन्त्रालयलाई चैत १५ सम्मको म्याद, यस्ता छन् बजेट माग गर्ने आधार

    नयाँ बजेट पेश गर्न मन्त्रालयलाई चैत १५ सम्मको म्याद, यस्ता छन् बजेट माग गर्ने आधार

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

    मुख्य सचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित बजेटपूर्वको छलफल कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरूत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दीगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रूपमा प्रस्तुत गरेको हो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बजेट निकासामा अर्थ मन्त्रालय थप सरलिकृत गर्न जरुरी रहेको बताए ।

    मुख्य सचिव शंकरदास बैरागीले बजेटमा रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट आउने बताए । उनले बजेट कार्यान्वयन म्याट्रिक्स बनाउन पनि जरुरी रहेको सुझाएका छन् ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यक्रमहरुको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गर्दै सिलिङलाई प्रभावकारी बनाउन आग्रह गरे ।

    राजस्व सचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनुपर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

    अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्कीतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभाष हटाउने गरी काम गर्नुपर्ने बताए ।

    बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालु आर्थिक वर्षको कार्य सम्पादनलाई पनि आधार बनाउनुपर्नेमा जोड दिँदै मितव्ययिता सम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको जानकारी दिए ।

    कार्यक्रममा सचिवहरुले संघ, प्रदेश र स्थानीय तहको बजेटमा समन्वय हुनुपर्ने, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, दोहोरी पन हटाउनु पर्ने, प्राथमिकता निर्धारण गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

    अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार मन्त्रालयहरुले यही चैत १५ गतेभित्रमा अर्थमन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका रहेको छ ।

    बजेट निर्माण सम्बन्धी मुख्य मार्गदर्शनहरू

    • अनिवार्य दायित्व र स्रोत सहमति दिइएका विषयहरु सिलिङ समावेश गरेपछिमात्र अन्य आयोजना र कार्यक्रममा बजेट प्रस्ताव गर्ने ।

    • मध्यकालीन खर्च संरचना तयार गरी बजेट पेश गर्नुपर्ने । उपलब्धि सूचकहरू स्पष्टरूपमा उल्लेख हुनुपर्ने ।

    • आयोजना वर्गिकरण सम्बन्धी मापदण्डमा आधारित भएर मात्र आयोजना प्रस्ताव गर्ने ।

    • बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षीय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने ।

    • खर्च सम्बन्धी क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने ।

    • बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षीय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने ।

    • खर्च सम्बन्धि क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने ।

    • नयाँ कार्यक्रम प्रस्ताव गर्दा मोडालिटीमा स्पष्टता भएर मात्र बजेट प्रस्ताव गर्ने ।

    • ठूला र रणनीतिक महत्वका आयोजनालाई उच्च प्राथमिकतामा राख्ने ।

    • वित्तीय हस्तान्तरणमार्फत सञ्चालन हुने कार्यक्रममा प्रदेश र स्थानीय तहलाई शुरू बिनियोजनबाटै हस्तान्तरण प्रस्ताव गर्ने ।

    • तयारी सम्पन्न नभएका आयोजनामा बजेट प्रस्ताव नगर्ने। नयाँ आयोजनाको अध्ययनका लागि बजेट प्रस्ताव गर्ने ।

    • दीगो विकास, लैंगिक र जलवायू परिवर्तनका सूचकहरुमा क्रियकलापमा नै कोडिङ गर्ने ।

    •सशर्त अनुदानतर्फका प्रदेशबाट कार्यान्वयन गरिने आयोजना र कार्यक्रममा सम्बन्धित क्षेत्रगत मन्त्रालयसँग छलफल गरिने ।

    • ५० करोड भन्दा बढी लागतका आयोजना परियोजना बैंकमा समावेश भएको हुनुपर्ने ।

    • चालु आर्थिक वर्षको कार्यसम्पादनलाई बजेट छलफलको आधार बनाइने ।

    • चालु वर्षमा सिर्जित दायित्व सकेसम्म अर्को वर्ष नसार्ने ।

    • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीका विषयमा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी लिनुपर्ने ।

    • सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धि मापदण्डको पालना गर्ने ।

    • कार्य सञ्चालन खर्चमा सकभर बजेट वृद्धि प्रस्ताव नगर्ने ।

    • भौतिक प्रगतिको अनुमान गरेर मात्र बजेट छलफलमा पठाउने ।

    • बजेट बक्तव्यमा समावेश गर्ने विषयको मस्यौदा तयार गरी पठाउने। आर्थिक सर्भेक्षण र वार्षिक प्रतिवेदनका लागि आवश्यक तथ्यांकहरु समयमानै पठाउने ।

     

     

     

  • आगामी बजेटको सिलिङ १८ खर्ब नजिक, यसरी हुँदैछ तयारी

    आगामी बजेटको सिलिङ १८ खर्ब नजिक, यसरी हुँदैछ तयारी

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक बर्ष २०७८/७९ को बजेट निर्माणलाई तीव्रता दिएको छ । राष्ट्रिय योजना आयोगले सिलिङ पढाउन ढिलाई गर्दा बजेटको गृहकार्यमा पनि ढिलाइ भएको थियो ।

    मध्यकालिन खर्च संरचनानुसार चालु आर्थिक वर्षका लागि १६ खर्ब ९७ अर्ब ५७ करोड रूपैयाँ सम्मको बजेट बन्न सक्ने अवस्था छ । तर, अर्थमन्त्रालय यति ठूलो आकारमा बजेट ल्याउने पक्षमा देखिदैन । आब २०७६/७७ मा १६ खर्ब ६६ अर्ब रूपैयाँको सिलिङ आयोगले दिएकोमा सरकारले प्रस्तुत गरेको १५ खर्ब ३२ अर्ब रूपैयाँको थियो । यसपाली पनि सरकारले आयोगको सिलिङभन्दा केही सानो आकारको बजेट ल्याउने अर्थमन्त्रालयका अधिकारीहरू बताउँछन् ।

    आर्थिक बर्ष २०७५/७६ मा सरकारले प्रस्तुत गरेको १३ खर्ब १५ अर्बको बजेटभन्दा आव २०७६/७७ को बजेट १६.५ प्रतिशतले ठुलो थियो । २०७७/७८ मा भने कोभिडका कारण अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले २०७६/७७ को भन्दा ५८ अर्ब रूपैयाँ घटाएर बजेट ल्याएको थियो । आगामी आवको बजेट भने साविकको भन्दा थोरै बढ्ने अर्थमन्त्रालयका अधिकारीहरुको संकेत छ ।

    नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, कुल गार्हस्थ्य उत्पादन, राजस्व संकलन, बैदेशिक ऋण तथा अनुदानमा आउने प्रतिबद्धता सबैलाई हेरेर करिब ५ देखि १० प्रतिशतले ठूलो आउन सक्ने अधिकारीहरू बताउँछन् ।

    १४ खर्ब ७४ अर्ब रूपैयाँको १० प्रतिशतले बजेटको आकार बढ्ने हो भने पनि करिब १६ खर्ब २० अर्ब रूपैयाँको बजेट बन्ने देखिन्छ । बजेटका लागि राष्ट्रिय योजना आयोगले ‍१० प्रतिशतले बढाएर करिब १८ खर्ब रूपैयाँको बजेटको सिलिङ पठाएको मन्त्रालय स्रोतको भनाइ छ ।

    अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा चालू आर्थिक बर्षको बजेट मध्यकालीन खर्च संरचनाले अनुमान गरेबराबर आउन सक्ने अवस्था नरहेको बताउँछन् ।

    ‘कोभिडले नेपालको अर्थतन्त्र प्रभावित छ । कुल गार्हस्थ्य उत्पादन, वैदेशिक सहायताका लागि प्राप्त हुन सक्ने प्रतिवद्धता, राजश्वको स्रोतको अवस्थालाई हेर्दा १६ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको बजेट आउने सम्भावना देखिदैन,’ उनले भने ।

    अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा चालू आर्थिक बर्षको बजेट मध्यकालीन खर्च संरचनाले अनुमान गरेबराबर आउन सक्ने अवस्था नरहेको बताउँछन् ।

    चालु आर्थिक बर्षको भन्दा करिब १० प्रतिशतले बजेट बढ्न सक्ने अनुमान उनले व्यक्त गरे । योजना आयोगले पठाएको सिलिङका आधारमा विषयगत मन्त्रालयले बजेट प्रस्तुत गरेपनि मोटामोटी आकार निस्किने उनको भनाइ छ ।

    योजना आयोगले पठाएको बजेटको सिलिङका आधारमा प्रत्येक बिषयगत मन्त्रालयलाई सम्भावित बजेट खर्चको माग र मन्त्रालयहरुले आफ्ना विभाग तथा कार्यालयहरूसँग बजेट प्रस्ताव गर्ने काम अगाडि बढेको मन्त्रालयको भनाई छ । यसका लागि अर्थमन्त्रालयको एकीकृत वित्तीय व्यवस्थापन प्रणाली अन्तर्गतको ‘एलएमबीआइएस’ मा समावेश गरेर बजेट प्रस्ताव गर्न अर्थमन्त्रालयले आग्रह गर्न थालिसकेको छ ।

    विभिन्न मन्त्रालयले आफूलाई आवश्यक चालु तथा पुँजीगत बजेट खर्च माग गर्नेछन् । जसमा मन्त्रालयले आफ्नो अनिवार्य दायित्व, पुराना तथा नयाँ परियोजनामा गर्ने खर्च समावेश गरी बजेटको माग गर्ने गर्छन् ।

    त्यस्तै आगामी आर्थिक बर्षको राजस्वका स्रोतहरू सुनिश्चित गर्न महेश दाहालको संयोजकत्वमा रहेको राजस्व परामर्श बिकास समिति रहेको छ । समितिको नेतृत्वमा भन्सार विभाग र आन्तरिक राजस्व बिभागले राजस्वका संभावित क्षेत्रहरुको पहिचान, चलनचल्तिमा रहेको कर दर, दायरामा गर्न सकिने परिवर्तनलगायत विषयमा सम्वन्धित सरोकारवालहरुसँग छलफल गरिरहेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

    ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६’ को दफा ७ मा योजना आयोगले बजेटको सिलिङ १५ माघभित्र पठाउनुपर्ने व्यवस्था छ । तर, सो समयसिमाभन्दा ढिला गरेर आयोगले सिलिङ पठाएको थियो । त्यसैले बजेट निर्माणको पूर्वतयारी छलफल फागुनको पहिलो साताबाट मात्रै शुरू भएको थियो ।

    अर्थमन्त्रालयले फागुन ५ गते पूर्वअर्थसचिवहरुलाई अर्थमन्त्रालयमा निमन्त्रणा गरी आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव माग गरेको थियो । फागुन १९ गते बसेको मन्त्रिपरिषद बैंठकको निर्णयबाट फागुन २३ गते अर्थमन्त्रालयका ‘आर्थिक नीति बिश्लेषण महाशाखाका’ प्रमुख डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन टोलीको नाम सार्वजनिक भएको छ । जसअन्तर्गत राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल , अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा र अर्थमन्त्रायका प्रवक्तासमेत रहेका योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सुमन दाहाल रहेका छन् ।

    अर्थमन्त्रालयको उक्त टोलीले आवश्यक छलफल शुरू गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । उक्त टोली बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको प्रारम्भिक मस्यौदा तयार पार्ने काममा समेत जुटिसकेको छ ।

    जेठ १५ गते संसदका दुबै सदनमा बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । अर्थमन्त्रालयले बजेट निर्माण गर्ने क्रममा आर्थिक सर्वेक्षण, नीति तथा कार्यक्रम, बजेट बक्तव्य, रातो पुस्तिका अर्थात् आयव्ययको बिवरण, पहिलो पुस्तिका अर्थात सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, सेतो पुस्तिका वैदेशिक सहायता सम्वन्धी आयोजनाहरुको स्रोतपुस्तिका लगायत एक दर्जनभन्दा बढी पुस्तिकाहरु प्रकाशन गर्ने गर्छ ।

  • अर्थ मन्त्रालयलाई राहत- संसद पुनःस्थापनाले ५० अर्बको बोझ हट्यो

    अर्थ मन्त्रालयलाई राहत- संसद पुनःस्थापनाले ५० अर्बको बोझ हट्यो

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई बदर गरिदिएपछि राज्यलाई चुनावी खर्चको भार घटेको छ । चुनावका लागि निर्वाचन आयोगले ४० देखि ५० अर्ब रुपैयाँ खर्च हुने बताउँदै आएको थियो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत निर्वाचन आयोगले प्रारम्भिक रूपमा ७ अर्ब बजेट माग गरेकोमा स्रोतको सुनिश्चितता भइसकेको बताएका थिए । १७ र २७ वैशाख २०७८ मा हुने भनिएको निर्वाचन रद्द भएपछि यो रकम निर्वाचन आयोगमा पठाउनुपर्ने छैन । साथै, अरू ठूलो रकमको जोहो गर्नुपर्ने बोझबाट अर्थ मन्त्रालय मुक्त भएको छ ।

    यस वर्ष चुनावको नियमित तालिका नभएकाले चालु आर्थिक वर्षको बजेटमा यसका लागि कुनै रकम छुट्याइएको थिएन । तर, प्रधानमन्त्रीले हठात् संसद भंग गरेपछि राष्ट्रिय ढुकुटीमा दबाब परेको थियो ।

    बजेट खर्चकै जोहोका लागि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत चालु खर्च ९६.४ प्रतिशतमा सीमित गर्ने रणनीति लियो । त्यसबाट बचेको रकम तथा चैत १५ गतेसम्म ‘सरेन्डर’ भएका परियोजनाको रकम निर्वाचनका लागि दिने योजना बनाइएको थियो ।

    चुनाव नहुने भएपछि निर्वाचन आयोगले सृजना गरेको दायित्व बाहेक अन्य रकम निकासा दिनु नपर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । हालसम्म आयोगले निर्वाचनको तयारीका लागि करीब ३२ देखि ३५ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

    अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा निर्वाचन आयोगको निर्देशिकामा मात्रै सहमति जनाएको तर बजेट निकासा नदिएको बताउँछन् ।

    ‘७ अर्बमध्ये आयोगले तत्काल करीब ३२ करोड रुपैयाँ माग भएको थियो । आयोगले सिर्जना गरेका खर्चको दायित्वको भुक्तानी अर्थ मन्त्रालयले दिन्छ । त्योबाहेक दिनुपर्दैन’, शर्माले भने ।

    सरकारले यो आर्थिक वर्ष कुल बजेटको ९१.१९ प्रतिशत अर्थात् १३ खर्ब ४४ अर्ब मात्रै खर्च हुने बताइसकेको छ । त्यसैले सरकारले चुनावका लागि स्रोत व्यवस्थापन गरेको खर्च अब नियमित बजेट खर्चमा रूपान्तरण हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

    चुनाव भएको भए ?

    राजनीतिक क्षेत्र र जनमानसमा तीव्र विरोध भएपछि चुनावलाई लिएर निजी क्षेत्रको एउटा पंक्ति चाहिं उत्साहित थियो । आमचुनावले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योग–व्यवसाय मौलाउने आशा उनीहरूले गरेका थिए ।

    राज्यको ढुकुटीबाट चुनावका लागि हुने खर्चको ठूलो हिस्सा देशभित्रै रहन्छ । करीब ५० अर्बको हाराहारी रकम यसरी बजारमा प्रवाहित हुँदा कोरोनाले सुस्ताएको अर्थतन्त्र गतिमान बन्न सक्ने विश्लेषण कतिपय अर्थशास्त्रीले पनि गरेका थिए । तर, त्योभन्दा राज्यको ५० अर्ब जोगिनु सुखद कुरा भएको बताउँछन् अर्थविद् केशव आचार्य ।

    ‘सरकारले ५० अर्ब खर्च गर्दा त्यही अनुसारका आर्थिक गतिविधि हुनेथिए । निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दलहरूले मुलुकभर चुनावी कार्यक्रम गर्ने भएकाले शहरदेखि ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान हुनसक्थ्यो ।

    चुनावले वस्तु तथा सेवाको माग बढाउने भएकाले आयात पनि बढ्न सक्थ्यो । सँगै सरकारलाई भन्सारबाट प्राप्त हुने राजस्व पनि बढ्न सक्थ्यो । तर अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व भने बढाउने थिएन ।

    बरु चुनाव भएको भए अर्थतन्त्रमा चर्को मूल्यवृद्धिको सम्भावना थियो । अनौपचारिक तथा अवैध रकमहरू अर्थतन्त्रमा आउँदा त्यसले अस्थिरता बढाउने संभावना थियो । राज्यको ढुकुटीको रकम जोगिएको छ । यसलाई निर्वाचन नहुँदाको फाइदाको रूपमा लिन सकिन्छ, उनले भने ।

    अर्का अर्थविद् चन्द्रमणि अधिकारी भने चुनाव हुनु र नहुनुले नेपालको अर्थतन्त्रमा खासै तात्विक फरक नपार्ने बताउँछन् ।

    ‘अहिले कोभिडको कारण विश्व अर्थतन्त्र नै ऋणात्मक अर्थात् मन्दीको गहिरो चपेटामा छ । नेपालको अर्थतन्त्रमा पनि कोभिडले ठूलो क्षति पुर्‍याएको छ । त्यसैले ५० अर्ब रुपैयाँ खर्च हुनु हात्तीको मुखमा जीरा जस्तै हो,’

    उनले थपे, ‘म गणितीय रूपमा अर्थतन्त्रमा यही हुन्छ भन्न सक्दिनँ तर पछिल्लो राजनीतिक अस्थिरतासँग निर्वाचन जोडिएको थियो । त्यसले उद्योगी/व्यवसायी तथा लगानीकर्तामा उत्साहको अवस्था थिएन । फेरि नेपालको प्रशासन संयन्त्र पनि ठीक छैन र यसले स्थायी सरकारको रूपमा काम गर्न सकेको छैन । निर्वाचन भएको भए कर्मचारीतन्त्रमा विचलन आउने हुँदा त्यसले अर्थतन्त्रमा नराम्रो असर गर्न सक्थ्यो ।’

  • पूर्वअर्थसचिवहरूको सुझाव- महामारीले थलिएको क्षेत्र पहिचान गरी बजेट बनाऔं

    पूर्वअर्थसचिवहरूको सुझाव- महामारीले थलिएको क्षेत्र पहिचान गरी बजेट बनाऔं

    काठमाडौं । कोरोना महामारीबाट थला परेको अर्थतन्त्र पुनरुत्थानको सुझावको लागि अर्थ मन्त्रालयले पूर्वअर्थसचिवहरूसँग छलफल गरेको छ ।

    बुधबार आयोजित छलफल कार्यक्रममा पूर्वअर्थ सचिवहरूले अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको बजेटको मोडालिटीबारे सुझाव दिएका छन् । उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि जोड दिए ।

    पूर्वमुख्यसचिव तथा अर्थसचिव डा. विमल कोइरालाले महामारी र निर्वाचनको घोषणाले आगामी आर्थिक बजेट निर्माणमा चुनौती थपिएको बताए ।

    पूर्वमन्त्री एवम् पूर्वअर्थसचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सीमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने आवश्यकता रहेको वताए ।

    अर्का पूर्वअर्थसचिव रामेश्वर खनालले व्यवसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिए । उनले सबै क्षेत्रमा सुधारसहितको बजेट जरुरी रहेको औल्याउँदै खर्च प्रणालीलाई बढाउन आवश्यक भएको बताए ।

    पूर्व अर्थ सचिव डा. शान्ताराज सुवेदीले कोभिड-१९ लाई अवसरका रूपमा लिएर कोभिड-१९ जे असर गरेको क्षेत्र पहिचान गरी सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको सुझाए ।

  • कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्दै

    कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्दै

    काठमाडौं । सरकारले भारतबाट २० लाख डोज खोप किन्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

    कोरोना खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई अर्थबाट १ अर्ब रुपैयाँ बजेट उपलब्ध भएको हो । मंगलबार बसेको मन्त्रीपरिषद्को वैठकले उत्पादकलाई अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय लिएको थियो ।

    अर्थले पैसा निकासा गरेपछि २० लाख डोज खोप आउने निश्चित भएको छ । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार सो रकम अर्थले स्वास्थ्य मन्त्रालयलाई दुई किस्तामा दिने छ ।

    केही दिनअघि नै स्वास्थ्यलाई ५० करोड रुपैयाँ दिने निर्णय अर्थले गरिसकेको थियो । मंगलबार थप ५० करोड रुपैयाँ स्वीकृत गरेको हो । कोरोना खोप खरीद प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पहिल्यै रकम माग गरेको थियो ।

    यो रकम स्वीकृत भएसँगै नेपालले भारतबाट २० लाख खोप खरीद गर्ने छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो खोप पहिला ‘फ्रन्ट लाइन’ मा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार लगायतलाई दिइएको छ ।

    चीनले पनि नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने बताएको छ । मंगलबारसम्ममा २ लाख ८३ हजारभन्दा बढीले कोरोनाको खोप लगाइसकेका छन् ।सरकारले फागुन २३ गतेदेखि ६० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

  • कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्ने

    कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्ने

    काठमाडौं । सरकारले भारतबाट २० लाख डोज खोप किन्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । कोरोना खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई अर्थबाट १ अर्ब रुपैयाँ बजेट उपलब्ध भएको हो ।

    मंगलबार बसेको मन्त्रीपरिषद्का बैठकले उत्पादकलाई अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय लिएको थियो । अर्थले पैसा निकासा गरेपछि २० लाख डोज खोप आउने निश्चित भएको छ ।

    अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार सो रकम अर्थले स्वास्थ्य मन्त्रालयलाई दुई किस्तामा दिने छ । केही दिनअघि नै स्वास्थ्यलाई ५० करोड रुपैयाँ दिने निर्णय अर्थले गरिसकेको थियो । मंगलबार थप ५० करोड रुपैयाँ स्वीकृत गरेको हो ।

    कोरोना खोप खरीद प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पहिल्यै रकम माग गरेको थियो । यो रकम स्वीकृत भएसँगै नेपालले भारतबाट २० लाख खोप खरीद गर्ने छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो खोप पहिला ‘फ्रन्ट लाइन’ मा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार लगायतलाई दिइएको छ । चीनले पनि नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने बताएको छ ।

    मंगलबारसम्ममा २ लाख ८३ हजारभन्दा बढीले कोरोनाको खोप लगाइसकेका छन् ।सरकारले फागुन २३ गतेदेखि ६० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

  • ६ महिनाको बजेट खर्चः कुन मन्त्रालयको कति ?

    ६ महिनाको बजेट खर्चः कुन मन्त्रालयको कति ?

    काठमाडौं । सरकार आफैंले एक वर्षका लागि छुट्याएको विकास बजेट खर्च गर्न नसक्ने दीर्घरोगको अझै उपचार हुनसकेको छैन । यसपालि त झन् कोरोनाको बहाना मिलेको छ ।

    आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले १४ खर्ब ४६ अर्बको बजेट सार्वजनिक गरेको थियो । त्यसमा चालु खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । महत्वाकांक्षी बजेट ल्याए पनि सो अनुरूप खर्च गर्न नसक्दा सरकारले बजेटको आकार नै घटाएको छ ।

    आर्थिक वर्षको पहिलो ६ महिनाको आँकडा हेर्ने हो भने पूँजीगत खर्चको अवस्था नाजुक देखिन्छ । अर्थ मन्त्रालयका अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा केवल १४ प्रतिशतको हाराहारीमा खर्च भएको छ । बजेटको लक्ष्य हासिल गर्न अब बाँकी ६ महिनामा ८६ प्रतिशत खर्च गर्नुपर्ने हुन्छ ।

    मन्त्रालयगत आधारमा हेर्दा अधिकांश मन्त्रालयको खर्च अवस्था सन्तोषजनक छैन । ६ महिनामा सबैभन्दा धेरै बजेट रक्षा मन्त्रालयले खर्च गरेको छ । सबैभन्दा थोरै खानेपानी मन्त्रालयले खर्च गरेको छ ।

    कुन मन्त्रालयको खर्च कति ?

    अर्थ मन्त्रालय
    अर्थ मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ५५ करोड ७० लाख बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा ५ अर्ब २४ करोड १६ लाख अर्थात् १५.१७ प्रतिशत मात्रै खर्च भएको छ ।

    मन्त्रालयका अनुसार मिलेनियम च्यालेन्ज कर्पाेरेशनको सम्झौता संघीय संसदबाट अनुमोदन नभएको र सहुलियतपूर्ण कर्जाको व्याज अनुदान शोधभर्ना समयमै माग नभएको कारण मन्त्रालयको खर्च न्यून रहेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १० अर्ब १८ करोड ६४ लाख बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा १ अर्ब ७९ करोड ८२ लाख अर्थात् १७.६५ प्रतिशत खर्च भएको छ ।

    औद्योगिक ग्रामको रकम खर्च नभएको र बीउ पूँजी कोषको कार्यक्रम सञ्चालनमा ढिलाइ हुनुलगायतका कारणले विनियोजित रकमको खर्च कम भएको सरकारको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    कृषि तथा पशुपन्छी विकास
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि २९ अर्ब ३२ करोड ७६ लाख विनियोजन भएको थियो । यसमध्ये पहिलो ६ महिनासम्ममा ८ अर्ब २१ करोड ९७ लाख अर्थात् २८.०३ प्रतिशत खर्च भएको छ ।

    प्रतिवेदनका अनुसार अनुदान निर्देशिका निर्माणमा ढिलाइ, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयनमा भएको विलम्ब, स्थानीय तहमा निर्माण हुने खाद्य भण्डार सम्बन्धी कार्यमा ढिलाइ हुँदा खर्च कम भएको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ८ अर्ब २२ करोड ६९ लाख विनियोजन भएको थियो । यसमध्ये आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ९७ करोड ७५ लाख अर्थात् २४.०३ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रतिवेदन अनुसार स्थलगत नापी कार्यक्रम कार्यान्वयनमा भएको ढिलाइ तथा भूमि बैंक सम्बन्धी कानून र कार्यविधि निर्माणमा ढिलाइ तथा गरिब पहिचान र परिचयपत्र वितरणको कार्य समयमा नै सञ्चालन नभएको कारण खर्च कम भएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ८ अर्ब ३९ करोड ४० लाख विनियोजन भएको थियो । विनियोजन भएको बजेट मध्ये १ अर्ब २ करोड ७२ लाख अर्थात् १२.२४ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट स्थानीय तहमा हस्तान्तरण हुन ढिलाइ भएकाले सो मन्त्रालयको खर्च कम भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    वन तथा वातावरण
    वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १२ अर्ब ५७ करोड १८ लाख विनियोजन भएकोमा ३ अर्ब ५९ करोड ५९ लाख अर्थात् २३.९१ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ५ अर्ब ६६ करोड २८ लाख विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट १ अर्ब ६५ करोड ४२ लाख अर्थात् २९.२१ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    प्रतिवेदन अनुसार बजेट बाँडफाँट समयमा नै हुन नसक्नु, पर्यटन पूर्वाधार विकास र स्थानीय लागत कम साझेदारी पर्यटन पूर्वाधार निर्माणमा विनियोजित रकम खर्च नहुँदा खर्च कम भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि २९ अर्ब ९ करोड २६ लाख विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनासम्ममा २ अर्ब ७८ करोड ८७ लाख अर्थात् १३.९४ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार विकासका कार्यक्रम र स्थानीय तहको प्रशासकीय भवन निर्माणमाा ढिलाइ भएको कारणले खर्च कम भएको समीक्षा प्रतिवेदनमा जनाइएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ
    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ४१ अर्ब ५१ करोड २९ लाख विनियोजन भएको थियो । पहिलो ६ महिनामा ५ अर्ब ७८ करोड ८७ लाख अर्थात् १३.९४ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रतिवेदन अनुसार वैकल्पिक ऊर्जाको कार्यविधि समयमा संशोधन नहुनु र नदी जन्य सामग्रीको उपलब्धतामाा कठिनाई तथा विद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने मेसिनरी तथा उपकरण समयमा नै नआएको कारण सो मन्त्रालयको खर्च कम भएको हो ।

    सञ्चार तथा सूचनाप्रविधि
    सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ७ अर्ब १३ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनासम्ममा २ अर्ब ६ करोड ३ लाख अर्थात् २८.८८ प्रतिशत मात्रै खर्च भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि १ खर्ब ३४ अर्ब २९ करोड ४४ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेट पहिलो ६ महिनासम्ममा २५ अर्ब २७ करोड २२ लाख अर्थात् १८.८२ प्रतिशत मात्रै खर्च भएको छ ।

    वैदेशिक स्रोतको उपयोग प्रभावकारी नहुनु, सरकारी वनको समस्या तथा पोल र खानेपानीको पाइप स्थानान्तरणमा समस्या रहेको कारणले सो मन्त्रालयको खर्च कम भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    शहरी विकास
    शहरी विकास मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि २३ अर्ब २० करोड ६१ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट ७ अर्ब ६० करोड १७ लाख अर्थात् २३.६० प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    प्रतिवेदन अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम र विशेष भवन निर्माणमा ढिलाइ भएको तथा सघन शहरी विकास कार्यक्रम कार्यान्वयन समयमा नै हुन नसकेको कारणले सो मन्त्रालयको खर्च कम भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ६० अर्ब ६७ करोड ८८ लाख बजेट विनियोजन भएको थियो । सो आवको पहिलो ६ महिनासम्ममा ११ अर्ब २२ करोड ५० लाख अर्थात् १८.५ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम र परिवार कल्याण कार्यान्वयनमा ढिलाइ भएको छ । अधिकांश रकम सशर्त अनुदान वापत वित्तीय हस्तान्तरण भएको तर रकम खर्च नभइसकेकोले अपेक्षित खर्च हुन नसकेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि ५५ अर्ब ८६ करोड ८९ लाख बजेट विनियोजन भएकोमा पहिलो ६ महिनामा १९ अर्ब ३१ करोड १९ लाख अर्थात् ३४.५७ प्रतिशत मात्रै खर्च भएको छ ।

    खानेपानी
    खानेपानी मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब ८ करोड १० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटमध्ये पहिलो ६ महिनामा २ अर्ब ५४ करोड १६ लाख अर्थात् ९.०५ प्रतिशत मात्रै खर्च भएको छ ।

    खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले कोरोनाको कारणले पहिलो ६ महिनामा ९.०५ प्रतिशत मात्रै बजेट खर्च भएको बताए ।

    उनले भने, ‘कोरोनाको कारणले जनशक्तिको अभाव भएपछि काम हुन सकेन । त्यसैले बजेट कम खर्च भएको हो ।’ मन्त्रालयको दोस्रो चौमासदेखि मात्रै बजेट खर्च धेरै हुने गरेकोले पनि अब बजेट खर्च हुने समय आएको उनले बताए ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि ८५ करोड ८९ लाख बजेट विनियोजन भएकोमा पहिलो ६ महिनामा १३ करोड ९७ लाख अर्थात् १३.२७ प्रतिशत मात्रै खर्च भएको छ ।

    पूर्व तयारीविना प्रस्ताव भएका कार्यक्रमहरू कार्यान्वयन नहुँदा खर्च कम भएको हो ।

    युवा तथा खेलकुद
    युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८३ करोड ९५ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट ६ महिनामा ३६ करोड ४५ लाख अर्थात् १९.८२ प्रतिशत मात्रै खर्च भएको छ ।

    रक्षा
    रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ५० अर्ब २५ करोड ८६ लाख बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा सबैभन्दा धेरै खर्च सो मन्त्रालयको भएको छ । पहिलो ६ महिनामा २२ अर्ब ७३ करोड ९८ लाख अर्थात् ४५.८५ प्रतिशत खर्च भएको छ ।

    गृह 
    गृह मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १ खर्ब ३५ अर्ब ९८ करोड ८३ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनामा ५२ अर्ब ७९ करोड ३४ लाख अर्थात् २२.९९ प्रतिशत मात्रै खर्च भएको छ ।

    कानून, न्याय तथा संसदीय व्यवस्था
    कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ४७ करोड ८७ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनामा ११ करोड अर्थात् २२.९९ प्रतिशत मात्रै खर्च भएको छ ।

    परराष्ट्र 
    परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ६ अर्ब २८ करोड ९८ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको पहिलो ६ महिनामा २ अर्ब ७० करोड ८१ लाख अर्थात् ४३.०६ प्रतिशत खर्च भएको छ ।