Tag: अर्थमन्त्री जनार्दन शर्मा

  • ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ?

    ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ?

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहानदेखि रातिसमम खटिने ट्राफिक प्रहरीले कोभिड महामारीका कारण काटिएको प्रोत्साहन भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले सडकमा खटिने ट्राफिक प्रहरीको अतिरिक्त भत्ता दिने प्रस्तावमा आफूले तोक लगाएर निर्णय प्रक्रियामा पठाएको नेपाल प्रेसलाई बताए ।

    शर्माले भने, ‘ट्राफिक प्रहरीको दुःख हामीले देखेका छौं । धुलो धुँवा, घामपानी नभनी खटिएका जवानहरूको भत्ता काट्ने कुरा राम्रो थिएन । मैले पुनः भत्ता पाउनेगरी निर्णय अघि बढाइदिएको छु ।’

    उपत्यका ट्राफिक प्रहरी महाशाखाको प्रस्ताव प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालयबाट अर्थमन्त्रालयम पुगेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । अर्थमन्त्रीले प्रस्तावमा तोक लगाएर निर्णय प्रक्रियामा पठाएको जानकारी आफूले पाएको कुँवरले नेपाल प्रेसलाई बताए ।

    अर्थमन्त्रालयबाट स्वीकृत भएपछि ट्राफिक प्रहरीले मासिक तलबसँगै अतिरिक्त भत्ता पाउनेछन् । अर्थले बजेट स्वीकृत गरेपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मको दर्जाका कर्मचारीले तलबको ४० प्रतिशत भत्ता पाउने छन् ।

    त्यस्तै असई र सईले २० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् भने ट्राफिक प्रहरीमा कार्यरत इन्सपेक्टर र डिएसपीले तलबको १० प्रतिशत भत्ता पाउनेछन् ।

    भत्ता काटिएपछि ट्राफिकबाट सरुवा मागेर अन्यत्र जानेहरुको चाप बढेको छ । भत्ता नियमित भएपछि ट्राफिक प्रहरीलाई काममा खटाउन पनि सहज हुने बग्गीखानाका एक अधिकारीले बताए ।

    उनले भने, ‘भत्ता पाउने भएपछि काम लगाउन र सडकमा कुदाउन पनि सजिलो हुनेभयो । भत्ताकै आकर्षणले गर्दा पनि ट्राफिक प्रहरी छाडेर अन्यत्र सरुवा माग्नेहरु यतै बस्छन् । यो निर्णय भयो भने न्याय पनि हुन्छ ।’

  • अस्तव्यस्त अर्थतन्त्र, अनभिज्ञ अर्थमन्त्री

    अस्तव्यस्त अर्थतन्त्र, अनभिज्ञ अर्थमन्त्री

    काठमाडौं । भनिरहनु नपर्ला, देशको अर्थतन्त्र दुरावस्थाबाट गुज्रिरहेको छ । कोभिडको प्रहारले अर्थव्यवस्थाका यावत सुचकहरू निराशाजनक छन् । तर, योभन्दा निराशाजनक छ देशको अर्थमन्त्रालय हाँकिरहेका मन्त्रीको कार्यशैली ।

    सरकार परिवर्तन भएसँगै अर्थमन्त्रालयमा आए माआवादीका पूर्व सैन्यकमाण्डर जनार्दन शर्मा । यो यस्तो मन्त्रालय हो, जसलाई अगुवाइ गर्नका लागि उच्चस्तरको विज्ञता आवश्यक पर्छ । तर, विगतको ओली सरकारले जस्तै देउवा सरकारले पनि विज्ञता नहेरी अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्‍यो ।

    अर्थमन्त्री शर्मा जिज्ञासु छन् । छिटो सिक्ने क्षमता पनि राख्छन् । जोसित कुराकानी गर्दा पनि ज्ञानी विद्यार्थीले जसरी डायरीमा भटाभट नोट गरिरहेका देखिन्छन् । तर, उनीसँग अध्ययनको सीमा छ । तपाईं जतिसुकै जिज्ञासु भए पनि शून्यबाट उठेर रातारात विज्ञ बन्न सक्नुहुन्न । र, विज्ञताबिना अर्थमन्त्रालयलाई प्रभावकारी नेतृत्व दिन सम्भव छैन ।

    शर्माले शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जेज्वाइँ भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंकको सल्लाहकारमा पठाउने निर्णय गरे । मासिक १८ लाख तलव सुविधा पाउने एडीबीमा उनले आफन्तलाई पठाएका हुन् जबकि उक्त पदका लागि सामान्यतया उपसचिव तहको कर्मचारी पठाउने गरिएको थियो ।

    अर्थमन्त्री नियुक्त भएयता शर्माका अभिव्यक्ति र क्रियाकलापलाई नियाल्ने हो भने उनको अनभिज्ञता सर्वत्र छरपष्ट देखिन्छ । उनी अर्थव्यवस्थालाई कसरी सही दिशा दिने भन्दा पनि कर्मचारीको सरुवा-बढुवामा बढी फोकस्ड छन् । नेपाल राष्ट्र बैंकको माइक्रोम्यानेजमेन्टमा उनको रुची देखिएको छ । विभिन्न आकर्षक पदमा आफ्ना मान्छे भर्ती गर्न पनि अर्थमन्त्रीले आँखा डुलाइरहेको पाइन्छ ।

    अर्थमन्त्री भएयता शर्माले गरेको एउटा महत्वपूर्ण काम हो, अघिल्लो सरकारले ल्याएको बजेट संशोधन । ओली सरकारका पालमा विष्णु पौडेलले ल्याएको बजेट लोकप्रियतामुखी भएको भनेर विज्ञहरूले आलोचना गरिरहेकै थिए । त्यसमा अझै बढी पपुलिस्ट कार्यक्रमहरू शर्माले थपिदिए । सिद्धान्तहीन ढंगले नगद अनुदान बाँड्ने कार्यक्रमहरूले कार्यकर्ता पोस्नेबाहेक अरु उपलब्धी हुन सक्दैन भन्ने उनलाई बुझाइदिने कोही भएन ।

    बजेटमाथि प्रतिस्थापन विधेयक ल्याउने क्रममा पनि उनले प्राविधिक कमजोरी गरे । उनले संसदीय पद्दतिलाई सही ढंगले पछ्याउन नसक्दा देश ११ दिनसम्म बेखर्ची हुनुपर्‍यो ।

    खर्च बढाउने भन्दा उनको ध्यान राजस्व संकलनमा बढी गएको देखिन्छ । राजस्व बढाउँदा आयात पनि बढ्दै गएर भुक्तानी सन्तुलन तथा विदेशी मुद्राको सञ्चितिमा चाप परेकोमा उनी अनभिज्ञ छन् ।

    यसैगरी अर्थमन्त्री शर्माले वित्तीय नीति र अर्थनीति बीच सन्तुलन कायम गर्ने भन्दै मौद्रक नीतिलाई धेरै दिनसम्म अड्काइदिए । तर, नेपाल राष्ट्र बैंकले चलाखीपुर्ण ढंगबाट मौद्रिक नीति प्रस्तुत गर्दै सीसीडी अनुपातको सट्टा सीडी अनुपात कार्यान्वयनमा ल्याएको पत्तै पाएनन् । यसैगरी सेयर कर्जामा गरिएको कडाइबारे पनि उनी अनभिज्ञ नै रहे ।

    सरकारी खर्च बढाउनतर्फ अर्थमन्त्रीले कुनै उल्लेखनीय भूमिका खेल्न सकेका छैनन् । बढ्दो आयातलाई निरुत्साहित गरी शोधान्तरघाटा घटाउने र विदेशी मुद्रा सञ्चिति बढाउनेतर्फ उनको भूमिका देखिँदैन ।

    हचुवा अभिव्यक्ति र कमजोर व्यवस्थापकीय क्षमता

    अर्थतन्त्र धरासायी बनिरहँदा अर्थमन्त्री शर्मा बारम्बार गैह्रजिम्मेवारपूर्ण तथा विवादस्पद अभिव्यक्ति दिँदै आएका छन् । नेपाल राष्ट्र बैंकको कार्यक्रममा बोल्दै उनले बजेट खर्च हुन नसके प्रणाली नै बदल्नुपर्ने बताए । उत्तरीनाकामा पुगेर नेपालको राजश्व २ सय गुणाले बढाउने हावादारी गफ ठोके । यसैगरी प्राविधिक पक्षको जानकारीबिना उनले प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गरेर देखाउने अठोट सुनाए ।

    खर्च बढाउने भन्दा उनको ध्यान राजस्व संकलनमा बढी गएको देखिन्छ । राजस्व बढाउँदा आयात पनि बढ्दै गएर भुक्तानी सन्तुलन तथा विदेशी मुद्राको सञ्चितिमा चाप परेकोमा उनी अनभिज्ञ छन् । महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्याङ्कनुसार अहिलेसम्म ३ खर्ब ८१ रूपैयाँ अर्थात लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन भएको छ । तर, १६ खर्ब ३२ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको सरकारले ३ खर्ब ९ अर्ब रूपैयाँ अर्थात १८.९७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा पदार्थको मूल्यवृद्धि तथा निर्यातमा गन्तव्य मुलूकका सरकारले लगाएको केही प्रतिवन्धले गर्दा वर्षको अन्त्यसम्ममा पुग्दा निर्यात २ खर्ब पनि पुग्ने अवस्था देखिँदैन । हाल खेर गइरहेको विद्युत भारतलाई सस्तो मूल्यमा नै विक्री गर्न सकेको खण्डमा निर्यातमा केही सुधार आउने सम्भावना रहेको छ । तर, पनि व्यापारघाटा भने निकै उच्च रहने छ ।

    सरकारले गरेको खर्चमध्ये पनि अधिकांश हिस्सा चालु खर्चले ओगटेको छ । हालसम्म भएका खर्चमध्ये २ खर्ब ५१ अर्ब, पुँजीगत खर्च २२ अर्ब १४ करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ८४ करोड रूपैयाँ मात्रै खर्च भएको छ । यसैगरी सरकारले विकास खर्च बढाउन नसक्दा आन्तरिक ऋण र वैदेशिक अनुदानको परिचालन हुन सकेको छैन । ६० अर्ब रूपैयाँ सरकारले वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेकोमा हालसम्म शून्य प्राप्ति भएको छ ।

    अर्थतन्त्रका समस्या

    अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा पदार्थ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उर्जा संकटको असर नेपाली अर्थतन्त्रमा निकै गहिरो ढंगबाट परेको छ । मागअनुरूपको आपुर्ति गर्न नसक्दा वस्तु तथा सेवाको मूल्य बढेको छ ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कनुसार विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आएको छ । कोभिड १९ का कारण वेदेशिक रोजगारीका गन्तव्यहरू प्रभावित हुँदा नयाँ श्रम स्वीकृति लिने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या घटेका कारण विप्रेषणमा कमी आएको हो ।

    यसैगरी, बढ्दो व्यापारघाटाको असर भुक्तानी सन्तुलन अर्थात शोधान्तर स्थितिमा परेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा शोधान्तरस्थिति ७६ अर्ब १३ करोड रूपैयाँले घाटामा रहेको छ । यसैगरी चालु खाता १ खर्ब ५१ अर्ब ७० करोडले घाटामा रहेको छ ।

    भन्सार विभागको तथ्याङ्कनुसार पहिलो चार महिनामा आयात गत वर्षको तुलनामा ६१.५७ प्रतिशतले बढेर ६ खर्ब ५० अर्ब रूपैयाँ पुगेको छ । यस अवधिमा नेपालले ८२ अर्ब १२ करोड रूपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । निर्यातको तुलनामा आयात करिब ८ गुणाले बढी हो । व्यापारघाटा ५६.८३ प्रतिशतले बढेर ५ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ । यही अनुपातमा आयात बढ्दै जाने हो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा २५ खर्ब पुग्ने देखिन्छ ।

    अर्थमन्त्री शर्माले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप बढाइरहेका छन् । गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालय बोलाएर उनले ब्याजदरमा हात हाल्न गर्न दबाब दिए । ब्याजदर सस्तो हुँदा यसले आयात झन् बढाएको छ भने भारतीय बजारमाभन्दा नेपालमा ब्याजदर कम भएका कारण पुँजीको पलायन हुने खतरा बढेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा पदार्थको मूल्यवृद्धि तथा निर्यातमा गन्तव्य मुलूकका सरकारले लगाएको केही प्रतिवन्धले गर्दा वर्षको अन्त्यसम्ममा पुग्दा निर्यात २ खर्ब पनि पुग्ने अवस्था देखिँदैन । हाल खेर गइरहेको विद्युत भारतलाई सस्तो मूल्यमा नै विक्री गर्न सकेको खण्डमा निर्यातमा केही सुधार आउने सम्भावना रहेको छ । तर, पनि व्यापारघाटा भने निकै उच्च रहने छ ।

    बढ्दो आयातका कारण विदेशी विनियम सञ्चितमा दबाब परेको छ । नेपाल राष्ट्र बैंकसँग ७.८ महिनाको वस्तु तथा सेवा र ८ महिनाको वस्तु मात्रै आयात धान्ने गरी १० अर्व ९८ करोड अमेरिकी डलर बराबरको विदेशी विनियमको सञ्चिति रहेको छ ।

    ब्याजदरमा हस्तक्षेपले आयात बढ्यो

    अर्थमन्त्री शर्माले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप बढाइरहेका छन् । गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालय बोलाएर उनले ब्याजदरमा हात हाल्न गर्न दबाब दिए । ब्याजदर सस्तो हुँदा यसले आयात झन् बढाएको छ भने भारतीय बजारमाभन्दा नेपालमा ब्याजदर कम भएका कारण पुँजीको पलायन हुने खतरा बढेको छ ।

    करछली गर्नका लागि आयातकर्ताले न्यूनविजकीकरण गरी हुण्डीमार्फत रकम भुक्तानी गर्ने क्रम बढिरहेको छ । यसैगरी सुनको अवैध आयात बढ्न थालेको विश्लेषण भइरहेको छ ।

    अर्थमन्त्रीको दबाबमा परेको राष्ट्र बैंकले तरलता अभावले बढेको व्याजदरमा अनावश्यक हस्तक्षेप गर्‍यो । ब्याजदर बढ्दा वस्तुको लागत बढ्न गई मूल्यवृद्धिका कारण उपभोग कम हुने र आयात कटौति हुने अर्थशास्त्री बताउँछन् । तर, राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गरेसँगै आयात उच्चरूपमा बढिरहेको छ ।

    आयात र तरलता अभावका कारण पछिल्लो समस्या उत्पन्न भएको भए पनि नीति निर्माताले गलत तरिकाले बुझेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल विकास व्यवस्थापन र अर्थ व्यवस्थापनमा अर्थमन्त्री पूर्णरूपमा चुकिरहेको बताउँछन् । अर्थमन्त्रीले बेलाबेलामा निर्देशन दिए पनि त्यसको उल्टो असर अर्थतन्त्रमा देखिएको उनको भनाइ छ ।

    ‘बजारमा तरलता अभाव गराउने मुख्य कारण भनेको आयात हो,’ उनले भने, ‘राष्ट्र बैंकले नेपाली मुद्रा किनेर विदेशी मुद्रा विक्री गरेका कारण तरलता अभाव समस्या देखिएको भए पनि नीति निर्माताहरू सीडी अनुपातलाई खुकुलो बनाएर समस्या सामाधान गर्न खोज्नु मुर्खतापुर्ण हो ।’

    राष्ट्र बैंकले विदेशी मुद्रा खरिद गर्दा तरलता सहज हुने र विक्री गर्दा तरलता अभाव हुने खनालको भनाई छ । आयातलाई निरुत्साहित गर्न ब्याजदर बढ्न दिनु नै अहिलेको समाधान भएको उनले बताए ।

    ‘यसका दुईवटा सामाधानहरू छन् । पहिलो आयात घटाउने र दोस्रो सरकारी खर्च बढाउने । आयात घटाउने प्रयोस गरिरहेको देखिए पनि त्यो भन्दा राम्रो उपाय भनेको ब्याजदर बढ्न दिनु नै हो । ब्याजदर बढ्दा लागत बढ्न गई आयात आफैं निरुत्साहित हुन्छ,’ खनालले भने ।

    अर्थमन्त्रीको व्यवस्थापकीय क्षमता कमजोरः डा. महत

    पुर्वअर्थमन्त्री डा.रामशरण महत अर्थमन्त्रीको कमजोर व्यवस्थापकीय क्षमताले अर्थतन्त्रमा समस्या देखिन थालेको बताउँछन् । न्यून सरकारी खर्च र भएको खर्चको पनि दक्षतापूर्ण तरिकाले सही व्यवस्थापन नहुँदा उत्पादकत्व तथा प्रतिफल अर्थतन्त्रमा नदेखिएको उनको भनाइ छ ।

    ‘मैले अर्थमन्त्रीमा व्यवस्थापन क्षमता र सुशासन कायम गर्ने सवालमा कमी-कमजोरी महसुस गरेको छु,’ उनले भने, ‘सरकारले खर्च गर्न सकेको छैन र भएको खर्च पनि अत्यन्तै कम र दक्षतापूर्ण तरिकाले भएको छैन ।’

    अर्थमन्त्रीले ठीक व्यक्ति ठीक ठाउँमा राख्न नसक्दाको असरले अर्थतन्त्रमा समस्या आउन थालेको पनि महतले टिप्पणी गरे ।

    अर्थविद् प्रा. डा. डल्लीराज खनाल गठवन्धनभित्रका पार्टी तथा पार्टीभित्रका गुटगत समूहको स्वार्थका कारण नेपालको वित्तीय क्षेत्रसँगै अर्थतन्त्रको वास्तविक क्षेत्रमा समस्या आएको बताउँछन् । निकै उत्तेजक प्रकारका भाषणहरू गर्ने, तर कार्यान्वनको तहमा कुनै पनि काम नहुने प्रवृत्ति हावी भएको खनालको भनाइ छ ।

    ‘थुनिएको खोला फुट्दा बाढी पस्नु स्वभाविक नै हो । अर्थतन्त्र एकैचोटी चलायमान हुँदा यस्तो भयो । तर, हामीले अनियन्त्रित आयात रोक्न थुप्रै काम गरेका छौं,’ – अर्थसचिव मधुकुमार मरासिनी

    ‘हिजोसम्म वास्तविक क्षेत्रमा समस्या भए पनि वित्तीय तथा मौद्रिक क्षेत्रले अर्थतन्त्रको रेस्क्यू गरेको गरेको थियो । तर, अहिले आएर वित्तीय क्षेत्रमा तरलता अभाव, ब्याजदरसम्वन्धी समस्या भएको छ भने सरकारले राजस्व उठाउने तर खर्च गर्न नसक्दा अर्थतन्त्रको सन्तुलन बिग्रेको छ’, खनालले भने ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल विकास व्यवस्थापन र अर्थ व्यवस्थापनमा अर्थमन्त्री पूर्णरूपमा चुकिरहेको बताउँछन् । अर्थमन्त्रीले बेलाबेलामा निर्देशन दिए पनि त्यसको उल्टो असर अर्थतन्त्रमा देखिएको उनको भनाइ छ ।

    ‘पछिल्ला आर्थिक गतिविधिबाट अर्थतन्त्र र विकास व्यवस्थापनमा तालमेल मिलेको देखिँदैन । अर्थमन्त्रीले बेलाबेलामा निर्देशन दिए पनि ती आफैंमा विरोधाभाषपूर्ण छन्,’ उनले भने ।

    अर्थतन्त्रलाई सही दिशातिर लिएर जाने नीति तथा लक्ष्य अर्थमन्त्रीसँग नभएको कँडेलले उल्लेख गरे ।

    ‘समग्रमा अर्थतन्त्रलाई सही दिशामा लिएर जाने सोच अर्थमन्त्रीमा देखिदैन । करिब डेढ वर्ष कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुँदा उच्च आर्थिक वृद्धिको सम्भावना भए पनि क्षेत्रगतरूपमा सन्तुलन मिलाउन नसक्दा त्यो गुम्ने खतरा बढेर गएको छ,’ उनले भने ।

    अर्थतन्त्र ट्र्याकमा ल्याउने प्रयास भइरहेको छः अर्थसचिव

    अर्थसचिव मधुकुमार मरासिनीले डेढ वर्षसम्म रोकिएको आर्थिक गतिविधि चलायमान हुँदा आयात बढेकाले पछिल्लो समस्या आएको भन्दै यसको समाधानको प्रयास भइरहेको बताए ।

    ‘थुनिएको खोला फुट्दा बाढी पस्नु स्वभाविक नै हो । अर्थतन्त्र एकैचोटी चलायमान हुँदा यस्तो भयो । तर, हामीले अनियन्त्रित आयात रोक्न थुप्रै काम गरेका छौं,’ मरासिनीले भने ।

    चाँदीको कर बढाउने, सुपारी, मरिच, केराउ, छोगडा लगायतको कोटा हटाउने, झिटीगुन्टाबाट आउने सूनलाई नियन्त्रण गर्ने लगायतका कामहरू भएको उनको भनाइ छ ।

    पुँजीगत खर्च हुन नसकेको विषयमा मरासनीले भने, ‘पूँजिगत खर्च अर्थमन्त्रालयले नभइ ठूला विकासे मन्त्रालयले गर्ने हुन् । हामीले विषयगत मन्त्रालयलाई बोलाएर छलफल गरिरहेका छौं ।’

    एउटा बजेटबाट अर्को बजेट ल्याउनुपर्ने परिस्थिति, राजनीतिक अस्थिरता, चाडपर्व लगायतका कारणले बजेट खर्चले गति पक्रन नसकेपनि अब खर्च बढाउने गरी गृहकार्य भइरहेको उनले बताए ।

    ‘ठूला विषयगत मन्त्रालयलाई बोलाएर के गर्दा खर्च बढाउन सकिन्छ भनेर छलफल गरेका गरिरहेका छौं । विषयगत मन्त्रालयलाई खर्च के कारणले रोकिएको छ, त्यसका लागि सहजीकरण गरिदिन्छौं भनेका छौं ।’

    विवादास्पद काम

    शर्माले शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जेज्वाइँ भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंकको सल्लाहकारमा पठाउने निर्णय गरे । मासिक १८ लाख तलव सुविधा पाउने एडीबीमा उनले आफन्तलाई पठाएका हुन् जबकि उक्त पदका लागि सामान्यतया उपसचिव तहको कर्मचारी पठाउने गरिएको थियो ।

    तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले हाल सहसचिव रहेका रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय गरेकमा उक्त निर्णयलाई मन्त्री शर्माले उल्टाएका थिए । यसअघि मुख्यसचिव डा. सोमलाल सुवेदीदेखि सचिव रामशरण पुडासैनीले एडीबीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

    अर्थमन्त्रीले आफ्ना आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतिको नेतृत्वमा अर्थमन्त्रालयका सिनियर कर्मचारीहरूलाई सामेल नगराई श्वेतपत्र तयार आरोप अर्थमन्त्रालयका अधिकारीहरूले लगाएका थिए । विष्णु पौडेलको टीममा रहेर काम गरेका तत्कालीन सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको थियो । यसैगरी अर्थमन्त्रालयका सिनियर सहसचिवहरू धनीराम शर्मा, सुमन दाहाललगायतका ६ जना सहसचिवहरू जानकारी नै नदिई प्रतिस्थापन विधेयकमा सम्पत्ति शुद्धीकरण, विपन्न नागरिकलाई भत्ता वितरण, १२५ सीसीका बाइकहरूमा कर बढाउने लगायतका विवादस्पद कार्यक्रम थप गरिएको थियो ।

  • तोकिएको भन्दा २ सय गुणा बढी राजस्व संकलन गरेर देखाउने अर्थमन्त्री शर्माको दावी

    तोकिएको भन्दा २ सय गुणा बढी राजस्व संकलन गरेर देखाउने अर्थमन्त्री शर्माको दावी

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले भने , ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’

    यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने अर्थमन्त्री विश्वास व्यक्त गरे । राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

    मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिएका छन् । चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्नेमा शर्माले जोड दिएका छन् ।

    ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’

    तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए ।नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका छन् ।

    कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।

    सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्नीप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुगेका थिए ।

  • सञ्चय कोषको लगानी ४ खर्ब नाघ्यो

    सञ्चय कोषको लगानी ४ खर्ब नाघ्यो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

    कोषको ६० औं वार्षिकोत्सव समारोह भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले सञ्चयकर्ताहरूको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगाए राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने बताए ।

    मन्त्री शर्माले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।

    आर्थिक वर्ष २०७७/७८ सम्म कोषको कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको बताइएको छ ।

  • मलाई प्रलोभन दिएर फकाउन खोजेका छन्, तर निर्णय फिर्ता गर्दिनः अर्थमन्त्री

    मलाई प्रलोभन दिएर फकाउन खोजेका छन्, तर निर्णय फिर्ता गर्दिनः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन र रोजगारीसँग जोडेर आफूले गरेका निर्णय फिर्ता गर्न प्रलोभन देखाइएको बताएका छन् । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री शर्माले व्यक्तिगत स्वार्थमा लागेर देशलाई घाटा हुने काम नगर्ने जिकिर गरे ।

    अर्थमन्त्री शर्माले भने, ‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु । स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन ।’

    आयातमा आधारित राजश्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजश्व बढाउनुपर्नेमा उनको जोड छ । करका दरसम्बन्धी थप सुधारका कामहरू कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने जानकारी दिए ।

    यसअघि आफूले आन्तरिक राजश्व दोब्बर बनाउने गरी योजना माग गरेको विषयलाई कतिपयले खिसिट्यूरी गरेकोमा चित्त दुखाउँदै मन्त्री शर्माले भने ‘यो मैले जानी जानी भनेको हो, भाषण गर्नलाई भनेको हैन । मैले योजना माग गरेको हुँ, त्यो योजना अहिलेसम्म पनि आएन ।’

    विभागमा योग्य कर्मचारीहरुको टिम रहेको उल्लेख गर्दै उनले राजनैतिक नेतृत्व परिवर्तनको क्रम कर्मचारीहरुको इच्छाभन्दा बाहिर रहेकोले जो नेतृत्वमा आएपनि आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न निर्देशन दिए ।

    कर प्रशासनलाई अझै सरल बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले तीन महिनाभित्र करदाताले अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले करदाताले भ्याट बिल जारी गर्नासाथ सिधै आन्तरिक राजश्व विभागको प्रणालीमा विवरण दाखिला हुनेगरी प्रविधिमा सुधार गर्न निर्देशन दिएका छन् ।

    राजश्वसचिव कृष्णहरि पुस्करले परम्परागत कर प्रशासनलाई सुधार गरी ‘ट्याक्सोलोजिष्ट’ को आधुनिक सिद्धान्तमा आधारित कर प्रशासन बनाउनुपर्ने धारणा व्यक्त गरे ।

    भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सरकारको मार्गदर्शन, मन्त्री र सचिवको निर्देशनहरुको अक्षरसः पालना गर्नुका साथै निजी क्षेत्रका सुझावहरुलाई मध्यनजर गर्दै विभागलाई ‘सेन्टर अफ एक्सलेन्स’ को रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे

    राजश्व संकलन लक्ष्यको ९५.३५ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब , ७ लाख ६९ हजार नयाँ प्यान जारी भइ करको दायरा विस्तार गरिएको, कर विवरण बुझाउनेको संख्या आयकरतर्फ ५७.८ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ७७.१८ प्रतिशत रहेको छ । आन्तरिक राजश्वमा १०० जना करदाताको ५० प्रतिशत योगदान रहेको र अघिल्लो आ.व.को तुलनामा राजश्व संकलन १२ प्रतिशतले बढेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

  • अर्थमन्त्रीको दावी- बजेट खर्च बढाउन प्रत्येक महिना १० प्रतिशत खर्च गर्छौं

    अर्थमन्त्रीको दावी- बजेट खर्च बढाउन प्रत्येक महिना १० प्रतिशत खर्च गर्छौं

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च बढाउनका लागि प्रत्येक महिना १० प्रतिशत खर्च गर्ने संयन्त्रको विकास गरेर अगाडि बढ्ने बताएका छन् । यसका लागि प्रत्येक महिना बजेट खर्चको प्रभावकारीतासम्बन्धी छलफल गरिने उनको भनाइ छ ।

    भदौ २५ मा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकका सन्दर्भमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले छोटो समयमा प्रतिस्थापन विधेयक तयार पारेर बजेटमा सामान्य संशोधन गरिएको जिकिर गरे ।

    वित्तीय अनुशान कायम गर्नका लागि बजेट आकार घटाइएको तथा राजस्व लक्ष्य बढाइएको उनको दावी छ । स्रोत सुनिश्चित नभएका कार्यक्रम, प्रतिबद्धता नआएका वैदेशिक ऋण तथा अनुदान बजेटमा हटाइएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा शर्माले भने, ‘बजेट मार्फत चालु खर्च घटाएरै भएपनि पुँजीगत खर्च बढाउने प्रयास गरिएको छ।’

    यसैगरी बढ्दो व्यापारघाटा कम गर्ने, गरिवी निवारण गर्ने, कृषि उत्पादन वृद्धि गर्ने बजेटको मुख्य लक्ष्य भन्दै उनले प्रत्यक्ष लाभ मिल्ने गरी ५ लाख गरिव जनतालाई १० हजारका दरले नगद हस्तान्तरणको व्यवस्था गरिएको बताए ।

  • थप वितरणमुखी बन्यो बजेट, यस्ता छन् ‘कनिका छर्ने’ कार्यक्रम

    थप वितरणमुखी बन्यो बजेट, यस्ता छन् ‘कनिका छर्ने’ कार्यक्रम

    काठमाडौं । अघिल्लो एमाले सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई अर्थशास्त्रीले वितरणमुखी भन्दै आलोचना गरेका थिए । उक्त बजेटमा संसोधन गर्दै शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेक ल्याए, जसले बजेटलाई थप वितरणमुखी बनाएको छ ।

    अर्थमन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही नीति तथा कार्यक्रमहरुमा संसोधन र थपघट गरेका छन् । विधेयकमार्फत बजेटको आकार १४ अर्ब १४ करोड रुपैयाँले र वैदेशिक ऋणको प्रक्षेपण करिब ३७ अर्बले घटाइएको छ । विधेयकमार्फत कनिका छर्ने खालका थुप्रै विवितरणमुखी योजना अघि सारिएको छ ।

    अर्थमन्त्रीले चालु खर्च घटाएर कोभिडका लागि खर्च गर्ने व्यवस्था गरिएको बताए पनि अन्य विभिन्न भत्ता थप गरेका छन् । स्रोत सुनिश्चित नभएका कार्यक्रमलाई बजेटबाट हटाइएको प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ । सकारात्मक पक्ष भनेको चालु खर्च घटाउने उद्देश्यले कर्मचारीको भत्ता कटौति गरिएको छ ।

    अर्थमन्त्रीले निजी क्षेत्रका लागि पनि थप छुट तथा सहुलियत प्रदान गरेका छन् । बिद्युत उत्पादनका लागि करमा प्रशस्त छुटको व्यवस्था गरिएको छ । राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र क्रमागत आयोजना, सामाजिक सुरक्षा तथा संरक्षणका कार्यक्रम, कोभिड-१९ को राहत तथा पुर्नरुत्थानका कार्यक्रम र राजस्व प्रशासनसम्वन्धी मुलभुत कार्यक्रम परिवर्तन नगरिएको प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ । केपी ओली सरकारले उद्घाटन गरेका राष्ट्रिय रणनीतिक सडकसहित करिब १४ सय सडक आयोजना खारेज गरिएको छ ।

    वितरणमा जोड

    चालु खर्चतर्फको बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम र सिप विकास सम्वन्धी गोष्ठी तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्युनतम १० प्रतिशतका दरले कटौति गरिएको छ । यसबाट ५ अर्ब रुपैयाँ वचत हुने र त्यो रकम खोप खरिदका लागि खर्च गर्ने भनिएको छ ।

    यसैगरी मृगौला प्रत्यारोपण, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीलाई मासिक ५ हजार भत्ता वितरण गरिने भएको छ । राजनीतिक आन्दोलनमा बलिदान गरेका परिवारलाई मासिक ३ हजार भत्ता दिने अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत घोषणा गरेका छन् ।

    कोभिड १९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर १० हजारका दरले नगद अनुदान व्यवस्था प्रतिस्थापन विधेयक मार्फत गरिएको छ । यसैगगरी कृषि तथा पशु बीमाको दायरा ५० प्रतिशतबाट ८० प्रतिशत विस्तार गरिएको छ ।

    करमा थप छुटको व्यवस्था

    सामाजिक सञ्जालमार्फत प्राप्त हुने आम्दानीमा १ प्रतिशत अग्रिम कर लाग्ने नयाँ व्यवस्था विधेयक मार्फत गरिएपनि थप करमा छुटको व्यवस्था गरिएको छ । २०७८ साल फागुन मसान्तसम्म स्थायी लेखा नम्बर लिएमा विभिन्न पेशाकर्मीलाई लाग्ने शुल्क तथा ब्याजमा छुट दिने व्यवस्था गरिएको छ ।

    २०० मेगावट भन्दा माथिका जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनामा छुट दिने भनिएको छ । २०८२ सम्म वित्तीय व्यवस्थापन हुने गरी २०० मेगावट माथिका जलविद्युत आयोजनालाई कारोबार सुरु गरेको १५ बर्षसम्म शतप्रतिशत र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट व्यवस्था गरिएको छ ।

    पर्यटन क्षेत्र वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई आयकरमा छुटको दिने व्यवस्था मिलाइएको छ । स्वास्थ्य क्षेत्रमा अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादकलाई ३ वर्षसम्म शतप्रतिशत र बाँकी २ वर्षसम्म ५० प्रतिशत छुट बजेटमा गरिएको छ ।

    बजेटको आकार तथा लक्ष्यमा संसोधन

    प्रतिस्थापन विधेयकमार्फत सरकारले बजेटको आकार घटाएको छ । निवर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

    कुल विनियोजनमध्ये चालुतर्फ ६ खर्ब ७१ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब अर्थात २२.७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब रुपैयाँ अर्थात २३.५ प्रतिशत छुट्याइएको थियो ।

    खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ९० अर्ब २४ करोड र बैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ उल्लेख गरिएको थियो । राजस्व र अनुदानबाट अपुग हुने ५ खर्ब ५९ अर्ब मध्ये वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब व्यहोरिने बताइएको थियो ।

    अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको आकार १४ अर्ब ७४ करोड रूपैयाँले घटाइएको छ । कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

    वित्तीय हस्तान्तरणमध्ये चालु खर्चमा समानिकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४.११ प्रतिशत र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड अर्थात १५.८९ प्रतिशत विनियोजन गरिएको छ । खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने उल्लेख गरिएको छ ।

    चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा न्यून हुन जाने ५ खर्ब २२ अर्ब ९ करोड रूपैयाँमध्ये आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड व्यहोरिने अर्थमन्त्रालयले जनाएको छ ।

    आर्थिक बृद्धि झन् महत्वाकांक्षी
    अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत प्रस्तुत आर्थिक बृद्धिदरको लक्ष्य झन् महत्वाकांक्षी बनाएका छन् । अघिल्लो सरकारले ६.५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेकोमा प्रतिस्थापन विधेयक मार्फत ०.५ प्रतिशतले लक्ष्य बढाइउदै ७ प्रतिशत को प्रक्षेपण गरिएको छ । तर, मुद्रास्फितीदरमा भने पुरानै ६.५ प्रतिशतलाई निरन्तरता प्रदान गरिएको छ ।

    प्रतिस्थापन विधेयकमार्फत अघिल्लो सरकारले शिलान्यास गरेको करिब १४ सय  किलोमिटर सडक आयोजना खारेज गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडालिटी प्रतिस्थाप विधेयकमार्फत संसोधन गरिएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पुर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालयको निर्माणसम्मका कार्यक्रमलाई प्रतिस्थापन विधेकमा प्रस्तुत गरिएको छ ।

    त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुर्ननिर्माण गर्ने बताइको छ । यसैगरी अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था, भन्सार बिन्दुमा भुक्तानी गर्नुपर्ने कर तथा महसुल विद्युतीय प्रणाली मार्फत गरिने ब्यवस्था बजेटमार्फत गरिएको छ ।

  • अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

    अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।

    अध्यादेशमार्फत ल्याएको बजेट लेखनको कोर टीममा संलग्न सहसचिवहरूलाई सरुवा गरिएको हो । अबको ३ दिन भित्रमा ४ सहसचिवहरू प्रदेश जाने तयारीमा रहेका छन् ।

    आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बराल, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र आन्तरिक राजस्व विभागका पूर्वप्रमुख झक्कप्रसाद आचार्य सरुवा हुने भएका छन् ।

    विचार नमिलेको भन्दै आफूसहितको पुरानो टिमलाई सरुवा गर्न लागिएको एक सहसचिवले बताए । प्रतिस्थापन विधेयक तयारीमा समेत आफूहरूसँग परामर्श नगरिएको ती अधिकारीले बताए ।

    प्रतिस्थापन विधेयक आफू अनुकूल परिवर्तन गर्नका लागि अर्थमन्त्री शर्माले अर्थमन्त्रालयभन्दा बाहिरका सहसचिवहरू अर्थमन्त्रालय तानेका छन् । उनले कृष्णहरी पुष्करलाई राजस्व सचिवको जिम्मेवारी सुम्पिएका छन् ।

    केन्द्रीय तथ्यांक विभागमा लामो समयसम्म काम गरेर सचिव बनेका सुमन अर्याललाई महालेखा नियन्त्रक बनाएका छन् । विधि र पद्धतिलाई भत्काएर अर्थमन्त्रालयभन्दा बाहिरका क्याडरमार्फत बजेटमा आफू अनुकूल संशोधनको प्रयास भएको अर्थमन्त्रालयले स्रोतले बतायो ।

    अर्थमन्त्रालका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीको तजबिजमा कर्मचारी व्यवस्थापन गर्ने र बजेट संशोधनको काम भएको एक सहसचिवले बताए । बजेट प्रतिस्थापन विधेयकको तयारीमा बजेट महाशाखाभन्दा बाहिरबाटै काम भएपछि महाशाखा प्रमुख भुपाल बरालले आफूलाई हटाउन माग गरेका थिए ।

  • देश विकासमा लाग्न युवा पुस्तालाई अर्थमन्त्रीको आग्रह (भिडियो)

    देश विकासमा लाग्न युवा पुस्तालाई अर्थमन्त्रीको आग्रह (भिडियो)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश विकासका लागि युवा पुस्ता जाग्नुपर्ने बताएका छन् ।

    बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि. भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरुको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ ।’

    अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरू निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए ।

    अर्थमन्त्री शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको बताए । देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ता रहेको भन्दै आफूसँग भएका स्रोत साधनलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिनेमा उनको जोड थियो ।

     

  • अर्थमन्त्रीको श्वेतपत्र- अर्थतन्त्रको आधार कमजोर, लक्षित वृद्धिदर हाँसिल हुँदैन

    अर्थमन्त्रीको श्वेतपत्र- अर्थतन्त्रको आधार कमजोर, लक्षित वृद्धिदर हाँसिल हुँदैन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण अर्थतन्त्रको आधार कमजोर भएको बताएका छन् । जारी संसद बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।

    सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशत ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको उनको भनाइ थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा राखिएको ७ प्रतिशतको लक्ष्य समेत हासिल नहुने शर्माले उल्लेख गरेका छन् ।

    नेपालमा मुद्रास्फिति भने नियन्त्रित सीमाभित्र रहेको अर्थमन्त्रीको भनाइ छ । गत वर्ष ५ प्रतिशत रहेको मुद्रास्फिति चालु आर्थिक वर्ष ३.६ प्रतिशतको सीमाभित्र रहेको बताएका छन् । उपभोग, वचत तथा पुँजी निर्माणले अपेक्षित गति लिन नसकेको शर्माले बताए । केपी ओलीको सरकारले पनि पुँजीगत खर्च गर्ने सवालमा कमजोर देखिएको उनले बताए ।

  • अर्थमन्त्रीको प्रष्टोक्ति- मौद्रिक नीति रोकेको छैन, कसैलाई असर नपरोस् मात्र भनेको हुँ

    अर्थमन्त्रीको प्रष्टोक्ति- मौद्रिक नीति रोकेको छैन, कसैलाई असर नपरोस् मात्र भनेको हुँ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने  खबरमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

    आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए ।

    राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले जानकारी दिए ।

    श्वेतपत्रको सम्बन्धमा राखिएको ज्ञिजासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको स्पष्ट पारे ।

    ‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई, म त्यस्तो अभियानमा छैन । आफूले देखेको कुरा भन्ने हो । जे छ त्यही प्रष्ट राख्ने हो ।’

    आफूलाई अहिले जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै मन्त्री शर्माले थपे, ‘मसँग काम गर्ने धेरै समय छैन । धेरै गर्न सकिने अवस्था पनि छैन । तर विषय विज्ञ एवं तपाइहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु ।’

    मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसावले पहलकदमी अघि बढाइने सोंच रहेको बताए ।

     

  • अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग, रुकुम हत्याकाण्डमा जातीय विभेद गरेको आरोप

    अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग, रुकुम हत्याकाण्डमा जातीय विभेद गरेको आरोप

    काठमाडौं । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।

    बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकाले सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ ।

    नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाए ।
    पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । उनले भने,‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन् ।’

    डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए । अन्तरजातिय विवाहको आरोपमा नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप लगाए ।

    उनले भने,‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ ।’ अन्तर्राष्ट्रिय नजरपनि यस घट्नामा परेको उनको भनाई थियो ।

    कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे । उनले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभुति गराउनुपर्छ ।’

    ‘जनार्दन शर्मा जस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ उनले भने । विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताए । उनले नवराज बिक लगायतको जातिय हिंसाले अन्तराष्ट्रिय बेइज्जती भएको बताए । उनले सर्वोच्चमा विचाराधिन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे ।

    पत्रकार सम्मेलनमा अलायन्सका अर्का संयोजक चन्देश्वर दासले माओवादीले आफ्ना सरकार आएपछि जातिय विभेद हट्ने भनेर जनतालाई झुक्याएको समेत आरोप लगाए ।

    उनले भने,‘जे जति सामाजिक घट्ना भएका छन्, ती सबै धार्मिक कारणले भएका छन् ।माओवादीले विभेद हटाउँछौ भनेर पछि आँफंैले दमन गर्दै आएको छ ।’देशमा हत्यारालाई पुरस्कृत गरिएको आरोप लगाउदै अहिले हत्याराको एउटा संरक्षक जनार्दन शर्मा अर्थमन्त्री भएको उल्लेख गरे ।

    उनले थपे,‘अब अर्का संरक्षक मातृका यादवपनि मन्त्री बन्दैछन् रे ।’ अब दलित र उत्पीडन वर्गले खुकुरी र बन्दुक पड्काउने साहस गर्नुपर्ने बताए ।

    कार्यक्रममा अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताईन् । उनले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरुले अलायन्सको गठन गरेको पनि स्पष्ट पारिन् ।
    दलित–दलितबीच भएको खाडल मेटेमात्र आन्दोलन सफल हुने उनको भनाई थियो ।

     

  • अर्थमन्त्रीले भने- श्वेतपत्र कसैलाई आरोप लाउन होइन, नआत्तिनुस्

    अर्थमन्त्रीले भने- श्वेतपत्र कसैलाई आरोप लाउन होइन, नआत्तिनुस्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सृजना भएको बताएका छन् ।

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको बताएका छन्।

    ‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ ’, शर्माले भने ‘यसैलाई लिएर बजारमा आतंक सृजना भएको देखियो । आतंकित नहुन अनुरोध गर्छु ।’

    मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविद्हरुको सुझावबमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको जानकारी दिए। मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्राव्धानहरु बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकुल बनाउन प्रयत्न गर्ने बताएका छन् ।

    उनले विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता समेत औंल्याए। जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भने,‘जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।’

    अन्तर्क्रियामा डा. विश्वम्भर प्याकुरेलले विकासका आयोजनामा वित्तीय लागत घटाउने गरी काम गर्न सुझाव दिए । उनले पुँजीगत खर्च नहुनु र विकासले गति लिन नसक्नुमा संरचनागत समस्या जिम्मेवार रहेको बताए ।

    नवनियुक्त अर्थमन्त्रीहरुले श्वेतपत्र सार्वजनिक गर्ने चलन पुरानै रहेको भन्दै यसमा आपत्ति जनाउनु बेइमानी हुने बताए । उनले निजी क्षेत्रलाई राज्यले निरन्तर रुपमा सुविधा र सहुलियत दिएपनि रोजगारी सृजना र आर्थिक वृद्धिमा अपेक्षित योगदान गर्न नसकेको बताए ।

    डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयनमा संघीय सरकारको चासो कम रहेको आरोप लगाउदै व्यूरोक्रेसीको संरचना परिवर्तन गरी प्रदेश र स्थानीय तहमा शक्ति विन्यास पर्नेमा जोड दिएका थिए ।

    डा. हरि रोकाले कोभिडबाट प्रताडित जनताको लागि तत्काल राहत प्याकेज घोषणा गर्न सुझाव दिए। कार्यक्रममा डा जनक शाह, चन्द्रमणि अधिकारी, गोविन्द नेपाल, केशव आचार्य, रामकुमार फुँयाल, चन्द्रकान्त पौडे, कुसुम शाक्य, मीन बहादुर श्रेष्ठ लगायतले आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

  • बजेट अध्यादेश सदनमा पेस गर्ने देउवा सरकारको तयारी (भिडियो)

    बजेट अध्यादेश सदनमा पेस गर्ने देउवा सरकारको तयारी (भिडियो)

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट संसद बैठकमा पेस गर्ने भएको छ । साउन ३ देखि आव्हान भएको संसद बैठकमा बजेट टेबुल गर्ने जानकारी दिँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित हुने/नहुने त्यसपछि नै निर्क्योल हुने बताए ।

    केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो । सर्वोच्चको परमादेशपछि नियुक्त देउवा नेतृत्वको गठबन्धन सरकारका केही मन्त्रीले सो बजेटलाई के गर्ने भनेर विज्ञसँग छलफल गर्ने बताइसकेका छन् ।

    अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले भने, ‘अहिले बजेटलगायतका अध्यादेशका विषयहरू छ । सदन ३ गते बोलाइसकिएको छ । त्यहाँ नै यसलाई टेबुल गरिदैँछ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा त्यहाँ गइसकेपछि तपाईंहरूलाई जानकारी हुने नै छ ।’

    अर्थमन्त्री शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र पनि जारी गर्ने बताए । पुँजी बजारको समस्या समाधान गर्न सर्वसाधारणको हित हुने गरी नीति निर्माण गर्ने भन्दै उनले भने, ‘पूँजीबजारलगायतका समस्याहरू छन् । त्यसलाई पनि सर्वसाधारण जनतालाई कसरी उनको हितमा हुन्छ भन्ने बारेमा पनि हामी नीति, निर्माण गर्नेछौँ ।’