Tag: अयोध्यापुरी

  • अयोध्यापुरीमा राखिने राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई (तस्बिरहरू)

    अयोध्यापुरीमा राखिने राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई (तस्बिरहरू)

    काठमाडौं । अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरी पठाइएको छ ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका छन् । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरु चितवन पठाइएको हो ।

    प्रधानमन्त्री निवासमा रथयात्रालाई बिदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । अलग-अलग रथमा राखेर राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा चितवन पठाइएको छ ।

    प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोह बीच प्रतिमासहितको रथयात्रालाई बिदाई गरिन् ।

    मूर्तिहरू लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मूर्तिहरू राख्ने कार्यक्रम छ ।

  • चितवन पुगेर प्रचण्डले भने- रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ

    चितवन पुगेर प्रचण्डले भने- रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरी क्षेत्रमा अनुसन्धान गरी रामको जन्मभूमि भनेर प्रमाणित गर्नुपर्ने बताएका छन् ।

    मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँमा पुगेका प्रचण्डले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’

    यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने प्रचण्डले टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म यहीँ भएकोले यसको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउँदै आएका छन् ।

    अयोध्यापुरीले धार्मिक प्रवर्द्धनमा मात्रै नभएर धार्मिक पर्यटन प्रवर्द्धनको साथै यहाँका जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने दाहालको भनाइ छ ।

    यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको भन्दै दाहालले अयोध्यापुरीमा रामको जन्मभूमि भएको प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

    कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने भन्दै दाहालले थपे, ‘कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने प्रचण्डको जिकिर थियो ।

    माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्छ । सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राख्ने तयारी छ ।