Tag: अभाव

  • कक्षाकोठा अभावमा खुला चौरमा पढ्न बाध्य जुम्लाका विद्यार्थी

    कक्षाकोठा अभावमा खुला चौरमा पढ्न बाध्य जुम्लाका विद्यार्थी

    जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् ।

    उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन रहेपनि भएका भवनसमेत निकै जीर्ण र बस्न लायक नभएका कारण बालबालीका खुला चौरमा बसेर पढ्न बाध्य हुन परेको छ ।

    विद्यार्थीहरूलाई बस्नको लागि पर्याप्त कक्षा कोठा नभएकाले शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको विद्यालयका प्राधानाध्यापक हरीबहादुर बुढाले बताए ।

    भवन नहुँदा विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा समेत प्रत्यक्ष असर परेको उनको भनाइ छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन् ।

    कक्षा कोठा नहुँदा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्न बाध्य हुन परेको कक्ष ५ मा अध्ययनरत निराजन बुढाले बताए ।

    उक्त विद्यालयमा ४० घरपरिवारका विद्यार्थीले अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए ।

    अधिकांस अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुँदै गएको हो ।

  • विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

    विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

    जेनेभा । विश्वका झण्डै एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।

    विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ ।

    सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरुले जोड दिएका छन् ।

    उनीहरुले कोरोनाभाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरुलाई बढी पर्ने चन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोनाभाइरसबाट बच्न गाह्रो हुने अधिकारीहरुले उल्लेख गरेका छन् ।

    एक तथ्यांक अनुसार विश्वका हरेक १० मध्ये ३ जनाले सावुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ । ‘कोरोनाभाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपूर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगहरुबाट जोगिन पनि सफा पानीले हात धुनु पर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयसले भने ।

    त्यसैगरी युनिसेफका कार्यकारी निर्देशक हेनरैत्ता फोरले पनि विश्वका लाखौँ बालबालिका सफा पानी उपभोग गर्न बन्चीत हुनु दुःखद कुरा भएको बताए । तर पहिलाको भन्दा अहिले सफा पानीको प्रयोग गर्न पाउनेहरुको संख्यामा भने बृद्धि भएको उनले जानकारी दिए । सन् २०१६ देखि सन् २०२० सम्ममा सफा पानीको प्रयोग गर्न पाउनेको संख्यामा चार प्रतिशतले बृद्धि भएको उल्लेख गरे ।

    उनका अनुसार सन् २०१६ मा विश्वका ७० प्रतिशतले मात्रै सफा पानी प्रयोग गर्न पाएको तथ्यांक सार्वजनिक भएको थियो ।

  • नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

    नभएको खोप खोसाखोसः शिक्षकदेखि पेट्रोल पम्पसम्मको लविङ

    काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालकले कोरानाविरुद्धको खोप नपाएको भन्दै आइतबार सेवा अवरुद्ध गरे । उनीहरुले तत्काल खोप नपाए थप आन्दोलन गर्ने चेतावनी दिएपछि सोमबार नेपाल आयल निगमले खोप उपलब्ध गराउने प्रतिवद्धता जनायो । मजदुर र निगमबीचको सहमतिपछि डुवानी सेवा सुरु भयो । र, बुधबार दुई सय चालक तथा सहचालकले खोप लगाए ।

    निगमले उद्योग मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी खोप उपलब्ध गराएको हो । गत ३१ गते यातायात, रेष्टुरेन्ट व्यवसायी र मजदुरले मन्त्रालयमै पुगेर निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । तामाङले प्राथमिकताका आधारमा सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    यसअघि गत जेठ २६ गते निवर्तमानमन्त्री तामाङले नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै फ्रन्टलाइनमा खट्ने खेल जगतका व्यक्तिलाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिने बताएका थिए ।

    गत माघदेखि नै राष्ट्रिय शिक्षक संघले शिक्षक तथा विद्यालय कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो । शिक्षक संघले कोरोनाविरुद्धको खोपका लागि आफूहरु प्राथमिकता सूचीमा पर्नुपर्ने माग राखेको थियो ।

    संघले अग्रपंक्तिमा रहेर विद्यार्थीसँग प्रत्यक्ष जोडिएर अध्यापन गराउनुपर्ने भएकाले पटक-पटक खोप उपलब्ध गराइदिन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीहरुलाई खोप उपलब्ध गराउन थप पहल गर्ने विषयमा छलफल भइरहेको बताएको छ । तर, माग गरेको पाँच महिना भइसक्दा पनि शिक्षकहरुले खोप पाउन सकेका छैनन् ।

    कोरोना महामारीकै बीच स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङलाई खोपका लागि आएका ज्ञापनपत्र बुझन भ्याइनभ्याइ थियो । दिनहुँजसो विभिन्न सगंठनमा आवद्ध व्यक्तिहरु आफ्ना कर्मचारीहरुलाई खोप उपलब्ध गराइदिन ताकेता गर्दै मन्त्रालय पुग्ने गर्थे ।

    निर्वमान स्वास्थ्यमन्त्री तामाङले पनि ज्ञापनपत्र बुझदै खोपको प्राथमिकतामा राखिने बताउँदै आइरहेका थिए । अहिले स्वास्थ्य मन्त्रालयले लक्षित समूहहरुलाई खोप वितरण गर्दै आइरहेको छ ।

    मंगलबार पदमुक्त हुनुअघिसम्म दिनमा ३, ४ वटा संगठन खोपको माग गर्दै आइरहेको निवर्तमान स्वस्थ्यमन्त्री तामाङले बताए । केही दिनयता खोप माग गर्दै कतिले अत्यावश्यक सेवा ठप्प पारेका छन् भने कतिले सेवा ठप्प गर्ने चेतावनी दिइरहेका छन् ।

    चारैतिरबाट खोपको माग बढेसँगै स्वास्थ मन्त्रालय दबाबमा परेको छ । चीन सरकारले सहयोगस्वरुप दिएको खोप ६० देखि ६५ वर्ष समूहका नागरिकलाई लगाइएको थियो । अब बाँकी खोप कसलाई दिने वा लगाउने भन्नेमा मन्त्रालय नै अन्योलग्रस्त छ ।

    चौतर्फी प्रेसर छ, आन्दोलन गर्दैमा खोप पाइँदैनः स्वास्थ्य मन्त्रालय

    खोप माग गर्दै विभिन्न सघंसंस्था मन्त्रालय धाउन थालेपछि मन्त्रालयका कर्मचारीहरु आजित भएका छन् । अहिले खोपको माग एकदमै बढेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘खोपको माग ज्यादै बढेको छ । खोप आउने ग्यारेण्टी छैन । अहिले मन्त्रालय एकदमै दबाबमा छ’, मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल भन्छन्, ‘थप खोप ल्याउने प्रयास जारी छ । खोप आएपछि प्राथमिकताका आधारमा वितरण हुन्छ ।’

    आन्दोलन गर्दैमा खोप नपाइने पनि मन्त्रालयले प्रष्ट पारेको छ । अत्यावश्यक सेवा नै बन्द गरेर खोप माग गर्न थालेपछि मन्त्रालयले आन्दोलन गर्दैमा खोप नपाइने बताएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी उल्टै प्रश्न गर्छन्, ‘सबै मान्छे आन्दोलनमा उत्रिए भने खोप चाहिँ कहाँबाट ल्याउने ?’

    आन्दोलन गर्ने–नगर्ने सबैलाई खोप चाहिने भन्दै उनले खोप ल्याउनका लागि प्रयास भइरहेको र आएपछि प्राथमिकताका आधारमा वितरण हुने बताए ।

    अबको प्राथमिकतामा को ?

    चीन सरकारले दिएको खोप लक्षित समूहलाई लगाइसकेपछि अबको प्राथमिकता कसलाई दिने भन्ने निश्चित छैन । मन्त्रालयका सहप्रवक्त अधिकारीका अनुसार खोप आउनेवित्तिकै सबै समूहलाई लगाउने कार्यविधि बनाइएको छ । तर, खोप नआइ कसैलाई दिने, कसैलाई नदिने भन्ने हुँदैन ।

    चीन सरकारले दिएको १० लाख डोज खोप ६० वर्ष भन्दा माथिकालाई लगाइसके पनि बाँकी रहेका खोप भने दोस्रो डोजका लागि राखिएको छ ।

    दोस्रो डोज पनि लगाउन पुग्ने गरी पहिलो डोज खोप लगाइएको अधिकारीले बताए । ‘खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्रै पहिलो डोज लगाउने हो’, उनले भने, ‘पहिलो डोज पनि बढी जोखिममा परेकालाई पहिला लगाउनै पर्छ ।’

    मन्त्रालयले खोप लगाउन चाहनेका लागि आधिकारिक रुपमा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको थियो । मन्त्रालयका अनुसार अहिले ९० प्रतिशत नागरिक खोप लगाउन चाहन्छन् ।

  • अमेरिकी अर्थतन्त्र : तीव्र वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदार वा आपूर्तिको अभाव

    अमेरिकी अर्थतन्त्र : तीव्र वृद्धितर्फ अग्रसर, तर पर्याप्त कामदार वा आपूर्तिको अभाव

    वासिङ्टन । कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीव्र गतिमा अघि बढेको छ ।

    कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न मुश्किल परेको छ ।

    फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भने, ‘अहिले परिस्थिति बिस्फोटक छ – अर्थात् बत्ती बाल्नु जत्तिकै छ ।’ यस कम्पनीले रेस्टुराँ र अन्य ग्राहकका लागि भान्साघरका सामानको मर्मतसम्भार सम्बन्धी सेवा दिन्छ ।

    उनले भने, ‘श्रम बजार नियन्त्रण बाहिर छ । हामीले प्राविधिक भेट्टाउन सकेका छैनौं । हामीले यति चाँडै बजार खोल्यौं कि हामी सायद तयार नै थिएनौं ।’

    आर्थिक क्षेत्रका विज्ञहरुले पनि अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान गरेकै थिएनन् । ‘के यो अर्थतन्त्र सबल भएकै कारण उत्पन्न भएको हो वा संघीय सरकारले उपलब्ध गराएको राहतका कारण भएको हो ?’ अर्थ विदहरुको प्रश्न यही छ ।

    धेरै पक्षबाट विचार गर्दा खुशी हुनुपर्ने कारणहरु छन् : अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झण्डै दोब्बर अंकले वृद्धि हुँदैछ ।

    रोजगारीका क्षेत्रमा गत मे महिना पाँच लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो ।

    अर्कोतर्फ, घरमै महिनौ बस्न विवश लाखौं उपभोक्ता बजारमा खुला रुपमा निस्किएका छन् र उनीहरु केही न केही सामान किन्न आतुर देखिएका छन् । उनीहरुलाई संघीय सरकारले यसै वर्ष उपलब्ध गराएको एक हजार ४०० अमेरिकी डलरको राहतले पनि खर्च गर्न उक्साएको छ ।

    त्यस्तै अमेरिकी कारखानाहरु पनि आपूर्ति र कामदारको कमीकै बाबजूद पनि उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्यूटको सूचक पनि गत महिना ६१.२ विन्दुमा पुगेको थियो । यो सूचकले ५० विन्दुभन्दा माथि भएमा वृद्धि जनाउँछ । अमेरिकामा प्रमुख १८ मध्ये १६ वटा कम्पनीले पर्याप्त आपूर्ति गर्न नसकेको जनाएको पनि इन्स्टिच्यूटको भनाई छ ।