Tag: अख्तियार

  • संस्कृत विश्वविद्यालयका कुलसचिवविरुद्ध उपकुलपतिका पूर्वस्वकीय सचिवले दिए अख्तियारमा उजुरी (पूर्णपाठ)

    संस्कृत विश्वविद्यालयका कुलसचिवविरुद्ध उपकुलपतिका पूर्वस्वकीय सचिवले दिए अख्तियारमा उजुरी (पूर्णपाठ)

    सुर्खेत । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्रध्यापक माधव अधिकारीविरुद्ध अख्तियारमा उजुरी परेको छ । विश्वविद्यालयको उपकुलपति स्वकीय सचिवले नै अनियमितताका गम्भीर आरोपसहित उजुरी दर्ता गरेका हुन् ।

    उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेका स्वकीय सचिव दिलिप भट्टराईले दिएको उजुरीमा कुलसचिव अधिकारीले लाखौंका टेण्डरमा मनपरी गर्ने गरेकोदेखि कामदारलाई न्यूनतम पारिश्रमिक समेत नदिइएको आरोप लगाइएको छ ।

    विश्वविद्यालय सेवामा रहेका न्यून तहमा कार्यरत कर्मचारीलाई ६-७ वर्ष सेवाका बाबजुद नेपाल सरकारले तोकेको न्यूनतम तलब-भत्तासमेत उपलब्ध नगराएको उजुरीमा जनाइएको छ । उपकुलपतिले पटक-पटक निर्देश गर्दासमेत आलटाल गरिएको भट्टराईले आरोप लगाएका छन् ।

    ‘नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगबाट भने उनीहरूको टाउका गनेर पूरै तलब-भत्ता तथा सेवा-सुविधावापतको रकम लिने र अन्यत्र खर्च गर्ने गरिएको छ,’ उजुरीमा भनिएको छ ।

    यस्ता कर्मचारीलाई २,००० ६०००, ८०००, १०,००० रूपैयाँमा काम लगाउने गरेको दाबी भट्टराईले गरेका छन् । सेवा-सुविधाको माग गर्ने कर्मचारीलाई जागिरबाट हटाउने धम्की दिने, मानसिक प्रताडना दिने गरिएको उनको आरोप छ ।

    कुलसचिव अधिकारीले केन्द्रीय कार्यालय भएको जिल्लाबाट ५ किलोमिटर दूरीमा आफ्नो निजी निवास हुँदाहुँदै पनि कार्यालयबाट आवास सुविधा लिएर अख्तियारको दुरुपयोग गरेको उजुरीमा जनाइएको छ ।

    भट्टराईले उपकुलपतिको स्वकीय सचिव पदबाट आफूले राजीनामा दिइसकेको समेत बताएका छन् ।

    हेर्नुस्, अख्तियारमा उनले पठाएको पत्र जस्ताको तस्तै :

    माननीय प्रमुख आयुक्तज्यू

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    टंगाल, काठमाडौँ ।

    विषय : गम्भीर ध्यानाकर्षण सम्बन्धमा ।

    माननीय प्रमुख आयुक्तज्यू,

    १. नेपालमा संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न, परम्परागत धर्म र नैतिक मान्यता, सदाचार र सच्चरित्रताको परिपालना गर्दै नेपाललाई संस्कृत विद्याको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रका रूपमा विकास गर्न र नेपाल राज्यमा अति प्राचिन कालदेखि नै संस्कृत विद्याको गौरवमय परम्परा रहँदै आएको र त्यसलाई निरन्तरता दिनकोलागि नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको माननीयज्यूलाई सादर अनुरोध गर्दछु ।

    २. नेपाल संस्कृत विश्वविद्यालयको उद्देश्य पूर्तिका लागि नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा १८ बमोजिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछानेज्यूको सिफारिसमा २०७७ कार्तिक १४ गते विश्वविद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूले नियुक्ति गरेपश्चात २०७७ मङ्सिर १८ गते ३५ दिन पश्चात पदभार ग्रहण गरेर आफ्नो कार्यकालको शुरुवात गर्नुभएको थियो ।

    ३. नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सह.प्रा. माधव अधिकारीले नेपाल संस्कृत विश्वविद्यालय शैक्षिक तथा संगठन सम्बन्धी नियम २०६७ को नियम १२९ को उपनियम (४) मा कुलसचिवलाई उपयुक्त आवास, टेलिफोन र कार्यालयसम्बन्धी काममा प्रयोगका निमित्त उपयुक्त सवारी साधनको व्यवस्था विश्वविद्यालयले गर्नेछ र सोही नियम को उपनियम (५) मा उपकुलपतिको सिफारिसमा कार्यकारी-परिषद् बाट स्वीकृत भएमा थप अन्य सुविधा पनि कुलसचिवलाई उपलब्ध गराउन सकिनेछ भन्ने व्यवस्था भएतापनि सो बमोजिम केहि निर्णय नगराई आफूखुसी सेवा सुबिधा उपभोग गर्दै आई विश्वविद्यालयको सम्पत्ति, मानव संसाधनको दुरुपयोग पटक-पटक गर्ने गरेका छन् ।

    क) निजी कुलसचिव माधव अधिकारीको निजी निवास विश्वविद्यालय रहेको जिल्ला दाङमा नै रहेको र केन्द्रीय कार्यालयबाट २० किमीको परिधिमा रहेता पनि विश्वविद्यालयको आवासलाई नियन्त्रणमा लिई अन्य पदाधिकारी जसको दाङभन्दा बाहिर घर रहेको छ, उनीहरुलाई आवास सुविधा नदिई मानवीयता र सुशासनको सामान्य सिद्धान्त समेत ख्याल नगरी सेवा आयोग सदस्यलाई आवास नदिए पश्चात श्रीमान् उपकुलपतिज्यूले शिक्षाध्यक्षज्यूलाई दिएको आवासीय सुबिधामा कठिनताका साथ् दुवै जना एकै ठाउँमा बस्ने व्यवस्था गर्नुभएको छ ।

    अख्तियार दुरुपयोग : केन्द्रीय कार्यालय भएको जिल्लामा आफ्नो घर ५ किमीको दुरीमा हुँदाहुँदै पनि आवास सुबिधा लिएको ।

    ख) मिति २०७८ असार १४ गतेको कार्यकारी परिषद्को निर्णय नं २३ बमोजिम निज माधव अधिकारीको आवासमा (कार्यालयीय आवासमा) कामकाज गर्ने गरी २०७७ पौष १ देखि लागु हुने गरी सेवा करार सर्तमा मासिक रु. १३५००, लुगा भत्ता रु. २५०० र दशैं पेश्की समेत उपलब्ध गराउने निर्णय भएकोमा हालसम्म निजले केन्द्रीय कार्यालयमा हाजिर नगरेको, खटाईएको ठाउँमा काम नगराएर निज माधव अधिकारीले आफ्नो आमाको घरमा काम गर्न राखेको, तलब समेत निर्णयअनुसार उपलब्ध नगराई निजका सवारीचालकको हस्तेमार्फत विश्वविद्यालयबाट तलब भत्ता बुझीलिई निज कामदारलाई रु.६००० मात्र उपलब्ध गराउने गरेको र बाँकी तलब-भत्ता आफ्नो घरमा काम गर्ने अर्को व्यक्तिलाई दिने गरेको स्रोत मार्फत पत्ता लागेको छ ।

    अख्तियार दुरुपयोग : कार्यालयमा काम गर्ने कर्मचारीलाई आफ्नो घर, आफन्तका घरमा काममा लगाएको, निर्णय गरेअनुसारको तलब भत्ता समेत नदिई नेपाल सरकारले तोकेको न्युनतम तलब, विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको तलबभत्ता सेवा सुबिधा समेत उपलब्ध नगराउने कुटिल मनसाय राखी मानसिक प्रताडना दिने गरेको ।

    ग) विश्वविद्यालय सेवामा रहेका न्यून तहमा कार्यरत कर्मचारीलाई ६-७ बर्ष सेवा गरेको हुँदा पनि नेपाल सरकारले तोकेको न्युनतम तलब भत्तासमेत उपलब्ध नगराउने, उपकुलपतिज्यूले पटक पटक निर्देश गर्दा समेत मैले पैसा दिन सक्दिन भन्ने गरेको, तर नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगबाट भने उनीहरुको टाउका गनेर पुरै तलब भत्ता सेवा-सुविधा वापतको रकम लिने र अन्यत्र खर्च गर्ने, सेवा-सुविधा पाउँ भन्ने कर्मचारीलाई जागीरबाट हटाउने धम्की दिने, मानसिक प्रताडना दिने कार्यले मानवअधिकारका सामान्य सिद्धान्तको समेत ख्याल नगरी रु. २०००, रु. ६०००, रु. ८०००, रु. १०,००० मा काम लगाउने गरेको ।

    घ) कर्मचारीले पाउने पोसाक भत्ता, महंगी भत्ता, दशैं खर्च, युटिलिटी वापतको सेवा सुबिधा कर्मचारीको अनुहार हेरेर दिने गरेको साथै कतिपयले विगत ६-७ बर्ष देखि समेत नपाएको ।

    अख्तियार दुरुपयोग : कार्यरत कर्मचारीहरुको विवरण र स्थलगत अन्तर्वार्ता लिने हो भने सबै कुरा पुष्टि हुन जान्छ ।

    ङ) विश्वविद्यालयमा सुरक्षाकर्मीका रुपमा काम गरिरहेका कम्पनीबाट सम्झौतामा काम गर्ने कर्मचारीले न्युनतम सेवा सुबिधा नपाएको थाहा हुँदाहुँदै सोही कम्पनीलाई पटक-पटक सम्झौता गर्दै प्रतिकर्मचारी उच्च मूल्यमा सम्झौता गर्ने गरेको साथै नियुक्त कर्मचारीले विश्वविद्यालयले तोकेका कुनै पनि मापदण्ड पूर्ण नगरेको, हाल भएको कम्पनीले समेत श्रम ऐनअनुसार कुनै शर्त पालना नगरेको, उपकुलपतिज्यूले शर्त पालना गराउन खोज्दा उल्टै असहयोग हुने गरेकोले निज श्रमिकहरुको मानवअधिकार संरक्षण गर्दै नेपाल सरकारले तोकेको न्युनतम सेवा-सुविधा उपलब्ध गराउन निर्देशन दिनुका साथै त्यसमा संलग्न सबैलाई कारबाहीका लागि आवश्यक पहल गर्नुपर्ने ।

    ४. २०७८ असार २२ गते बसेको कार्यकारी परिषद्को वैठकको निर्णय नं. १२० बमोजिम नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान केन्द्रीय आयुर्वेद विद्यापिठको भवनमा कोरोना विशेष अस्पताल सञ्चालन भएको परिप्रेक्ष्यमा त्यस विद्यापिठमा अध्ययनरत छात्रछात्रालाई तत्काल पठनपाठन सञ्चालनका लागि प्रदेश सरकारसमक्ष रु. ८२ लाखको नक्शा र स्टिमेट पेश गरेकोमा रु. पचास लाख मात्र प्रदेश सरकारबाट कोलेनीका दाङमा निकासासमेत भइसकेकोले प्रीफ्याब भवन निर्माणका लागि आवश्यक नक्शाअनुसार टेन्डर प्रक्रिया अगाडि बढाउने स्वीकृतीसम्बन्धी प्रस्तावमा विस्तृत छलफल भई प्रदेश सरकारबाट बजेट निकासा भई सकेकाले उक्त तोकिएका कार्य गर्न स्वीकृति दिने निर्णय भएता पनि २०७८ साउन ७ गते कुनै पनि प्रक्रिया पूरा नगरी सीधै रु. ९३,७७,४५५.८२ को टेन्डर आह्वान गरेको ।

    अख्तियार दुरुपयोग : ड्रविङ, डिजाइन र लागत अनुमान कुनै पनि स्वीकृत नगराएको, आ.व. ०७८÷०७९ को वार्षिक बजेट कार्यकारी परिषद्ले स्वीकृत गरेर मात्र खर्च गर्न मिल्ने नियम रहेता पनि सो बजेट हालसम्म पेश समेत नभएको, अगाडी आ.व. को हालसम्म क्लोजिंग समेत नगरेको, प्राप्त बजेटभन्दा ४३,७७,४५५.८२ बढी लागत अनुमान कायम गरेको तर बनाउनु पर्ने भवनको क्षेत्रफल घटाएको, लागत अनुमान कायम गर्दा हचुवाको भरमा लमसम काम, विमा भनेर हचुवाका भरमा कार्य गरेको, जुन पछि विनाप्रक्रिया परिवर्तन गरिएको मुल्यमा, टेन्डर आह्वान गर्दा उपकुलपतिको स्वीकृति लिनुपर्नेमा त्यसो नगरी काठमाडौं काजमा गएको बेला टेन्डर आह्वान गरेको ।

    ५. परीक्षा नियन्त्रण कार्यालयको भवनमा तला थप गर्ने कार्यमा लागत अनुमान बजार मूल्य र तोकिएको दररेट भन्दा निकै उच्च रहेको साथै द्यइत्त मा तला थप्ने कार्यमा समेत ग्राउण्ड वर्क्स भनेर लागत अनुमान कायम गरेको, टेन्डर आह्वान गर्नुपुर्व गर्नुपर्ने कुनै पनि कार्य नगरेको ।

    ६. बोटानिकल गार्डेन, सेक्युरिटी गार्ड माग गरेको टेन्डरका साथै अन्य टेन्डरका कार्यमा कुनै पनि सार्वजनिक नियमावली, ऐन, विश्वविद्यालयको आर्थिक नियमलाई पालना नगरेको ।

    ७. विश्वविद्यालयका दिनानुदिन हुने कार्यमा आर्थिक नियम पालना हुने नगरेको, विश्वविद्यालयको लेखा प्रणाली हचुवाका भरमा चलेको, विश्वविद्यालयको आर्थिक प्रशासन सम्बन्धी नियम सार्वजनिक खरिद नियमानुसार कतै तालमेल नमिलेको, पटकपटक विश्वविद्यालयका उपकुलपतिज्यूले सार्वजनिक खरिदनियम पालना गरौं भन्दा ठाडै इन्कार गर्ने गरेको ।

    ८. दिनानुदिन गर्ने गरेका आर्थिक गतिविधिमा समेत कुनै नियम पालना नगर्ने, सकेसम्म टुक्रे काम गर्ने, विश्वविद्यालयलाई निजि सम्पत्ति जसरी उपभोग गर्ने ।

    ९. अन्य पदाधिकारी, शिक्षक, कर्मचारीले प्राप्त गर्ने नियमानुसार सेवा सुविधालाई अपव्याख्या गरी व्यक्ति व्यक्ति अनुसार फरक-फरक नियम लगाउने ।

    अन्त्यमा, नेपाल संस्कृत विश्वविद्यालयको गरिमा कायम गरी पूर्वीय दर्शनमा आधारित उत्कृष्टताको केन्द्र बनाउने अभिभारा तपाई हामि सबैको रहेकोले माथि व्यक्त कुराहरुमा माननीय प्रमुख आयुक्तज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

  • कोरोना खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मी पक्राउ

    कोरोना खोप बिक्री गर्ने दुई स्वास्थ्यकर्मी पक्राउ

    जनकपुरधाम । कोरोना भाइरसविरूद्धको भ्याक्सिन बिक्री गर्ने दुईजनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्णकुमार यादव छन् ।

    अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनको ३ भायल भ्याक्सिन २१ हजार रूपैयामा बेचेलगत्तै उनीहरू दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरूलाई वडाध्यक्ष जानकीराम साहको उपस्थितिमा अख्तियारका अधिकारीले मुचुल्का तयार पारेका छन् । थप अनुसन्धान र कारवाहीका लागि उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ ।

  • अख्तियारको प्रतिवेदन : लकडाउनको बेला गण्डकीमा झन् बढी भ्रष्टाचार

    अख्तियारको प्रतिवेदन : लकडाउनको बेला गण्डकीमा झन् बढी भ्रष्टाचार

    पोखरा । चैत २०७६ देखि देशभर लकडाउन जारी भयो । लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यलय पनि बन्द जस्तै थिए । अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले ।

    तर, यो अवधिमा भ्रष्टाचारका घटना भने झन् बढेको प्रतिवेदन सार्जनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भ्रष्टाचारसम्बन्धी ९ सय ३२ उजुरी परेका छन् । यो उजुरी अघिल्लो वर्षभन्दा ९० ले बढी हो ।

    कास्की गण्डकी प्रदेशको राजधानी हो । भ्रष्टाचारका सबैभन्दा धेरै मुद्दा पनि यहीँबाट परेको छ । अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा एकै वर्ष यहाँ चार सय ११ वटा भ्रष्टाचारका उजुरी परेका छन् । मनाङ र मुस्ताङका उजुरी तुलनात्मक रुपमा निकै कम छन् । मुस्ताङका ६ वटा र मनाङबाट सात वटा उजुरी परेको अख्तियारले जनाएको छ । यस्तै, तनहुँमा एक सय सात, स्याङ्जामा एक सय दुई, पर्वतमा ७२, बागलुङमा ६८, लमजुङमा ५७, गोरखामा ५३, म्याग्दीमा ४९ र नवलपुरमा ४६ वटा उजुरी परेका छन् । सबैभन्दा बढी उजुरी स्थानीय सरकार अन्तर्गत छन् । ४६ प्रतिशत स्थानीय तहका उजुरी छन् भने संघ मातहतका ३३ र प्रदेश मातहका २१ प्रतिशत छ ।

    दर्ता भएका उजुरीमध्ये करिब ५४ प्रतिशत मात्रै फर्च्छ्यौ भएका छन् । देशव्यापीरूपमा यो उजुरी भने अन्य प्रदेशको भन्दा कम हो । सात प्रदेशमध्ये गण्डकीको ७.१६ प्रतिशत छ । प्रदेश २ मा सबैभन्दा धेरै २४.५६ प्रतिशत छ भने वागमतीमा २२.५९ प्रतिशत उजुरी छन् । यसैबीच, अख्तियार पोखराले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई अघिल्लो आर्थिक वर्षको प्रतिवेदन बुझाएको छ । अख्तियार प्रमुख कोषहरि निरौलाले गुरुङलाई प्रतिवेदन बुझाएका हुन् ।

    प्रतिवेदन लिएपछि प्रदेश प्रमुख गुरुङले ठूला ओहदामा बसेकालाई निगरानी गर्न आग्रह गरेका छन् । ‘ठूल्ठूला माछा जति सबै फुस्कनी, सानातिना तहकालाई मात्र कारबाही गर्ने सिस्टमले विश्वास टुट्छ,’ उनले भने, ‘अब ठूला माछा पनि समात्नुस् । भ्रष्टाचारीहरूलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्न सक्नुपर्छ ।’

  • मुख्यमन्त्री राउतको प्रश्न- हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार किन पस्यो ? (भिडिओ)

    मुख्यमन्त्री राउतको प्रश्न- हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार किन पस्यो ? (भिडिओ)

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धानप्रति आक्रोश व्यक्त गरेका छन् । उनले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।

    प्रदेशसभाको वैठकमा बोल्दै मुख्यमन्त्री राउतले यस विषयमा स्पष्टीकरण दिन लामै समय खर्चिएका थिए । मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै उनले आफूलाई नसोधी अख्तियारले कारवाही गर्न नसक्ने दावी गरे ।

    ‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिएँ । प्रमुख सचिवलाई पनि जानकारी गराइएको छैन । प्रदेश सरकारलाई बदनाम गराउन षडयन्त्रपूर्वक हामीमाथि अट्याक गरिएको छ,’ उनले भने ।

    आफूले अख्तियारका प्रमुखसँग पनि आफूले कुरा गरेको उनले बताए ।

    उनले थपे, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

    ‘अहिले पनि म उहाँहरूलाई सम्मान नै गर्छु । तर, संघीयतालाई समाप्त गर्ने खेल भइरहेको छ । मानिसलाई गलत सन्देश दिने काम भइरहेको छ । यो संस्थामाथिको आक्रमण हो,’ राउतले भने ।

     

  • मुख्यमन्त्री राउतको बचाउमा जसपाको आन्दोलन- अख्तियारलाई मधेस र संघीयताविरोधीको आरोप

    मुख्यमन्त्री राउतको बचाउमा जसपाको आन्दोलन- अख्तियारलाई मधेस र संघीयताविरोधीको आरोप

    जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।

    जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो ।

    प्रदर्शनकारीले ‘मधेसविरोधी अख्तियार मुर्दावाद, संघीयताविरोधी अख्तियार मुर्दावाद, अख्तियारका प्रमुख प्रेमकुमार राई राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

    जसपाले प्रदेश २ को सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा पनि अख्तियारविरुद्ध प्रदर्शन गरेको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत जसपा जिल्ला समितिले प्रदेशका आठै जिल्लाका सदरमुकाममा हिजो साँझ मसाल जुलुस निकालेको थियो ।

    बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    तर, जसपाले छापामार शैलीमा संघीयता समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै सडकमा विरोध जनाएको हो । अख्तियारले छापा मारेलगत्तै मुख्यमन्त्री राउतले संघीयताविरोधीको षड्यन्त्र भएको बताएका थिए ।

    संयुक्तरूपमा आन्दोलन गर्न सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग छलफल गरेपनि जसपाको सो प्रयास असफल भएको छ ।

    कांग्रेसका एक साँसदले भने, ‘भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियारले छापा मार्नु आश्चर्यको कुरा होइन् । अख्तियारले छानविन गर्छ । यदि भ्रष्टाचार भएको छैन भने किन आत्तिनुपर्ने ? छानविनमा सघाउनुको साटो आन्दोलन गर्नु गलत हो ।’

  • लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

    लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।

    ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

    पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

    आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले बताए ।

  • मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा दायर

    मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा दायर

    काठमाडौं । फर्जी नामावली र बील भरपाई खडा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा उदयपुरका तत्कालीन पाँच गाविससचिवहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    उदयपुरको साविक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेकाहरूको लगत कट्टा नगरी पाँच वर्षसम्म नक्कली बीलभरपाइ बनाएर १६ लाख  ४० हजार ५ सय हिनामिना गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारका अनुसार तत्कालीन सचिव रही हाल मालपोत कार्यालय उदयपुरका नासु केशवप्रसाद आचार्य, हाल रौतामाई गाउँपालिका- ७ का वडासचिव लोकेन्द्र कार्की, हाल तथ्यांक कार्यालय, उदयपुरमा कार्यरत खरिदार विशाल सुन्दास, हाल रौतामाई गाउँपालिकाका अधिकृत माधवप्रसाद खतिवडा र हाल अवकासप्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलविरुद्ध छुट्छुट्टै बिगो दावीसहित मुद्दा दायर गरिएको हो ।

    उनीहरूले गाविसमा ८/१० वर्ष अगाडिदेखि मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्तावापत रकम निकासा गरी दुरुपयोग गरेको उजुरीको आधारमा छानविन गर्दा दोषी देखिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

    ‘उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आ.व. ०६३/०६४ देखि आ.व. ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरूको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६,४०,५०० हिनामिना गरेको देखिन आएको’ अख्तियारले विज्ञप्ति निकालेर जनाएको छ ।

    हेर्नुस्- अख्तियारले मुद्दा दायर गरेकाहरूको नाम, हालको कार्यालय, बिगो रकम र सजाय मागदावीको सूची :-

  • शिक्षक परीक्षामा अख्तियारले डामेका व्यक्ति नै सेवा आयोगको सदस्य नियुक्त

    शिक्षक परीक्षामा अख्तियारले डामेका व्यक्ति नै सेवा आयोगको सदस्य नियुक्त

    काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको खुलेको छ ।

    शिक्षक सेवा आयोगमा नवनियुक्त सदस्य डिल्लीराम रिमाललाई अख्तियारले २०६३ सालमा आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो ।

    माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन,उत्तरपुस्तिका परीक्षणलगायतका काममा संलग्न भइ आफन्तलाई पास गराएको लाई माध्यमिक तहका शिक्षक पदको परीक्षामा आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारवाहीको निर्देशन दिएको थियो ।

    शिक्षा मन्त्रालयको उपसचिव रहँदा रिमाललाई प्रश्नपत्र निर्माणको कार्यमा विशेषज्ञका रूपमा पठाएको र सोही विषयको उत्तर पुस्तिका परीक्षण पनि उनैले गरेर भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानविनले पुष्टी गरेको थियो ।

    तत्कालीन अवस्थामा रिमाल सिरहाको जिल्ला शिक्षा अधिकारी रहे पनि कार्यालयबाट बिदा लिई काठमाडौं आएको र लेखा विषयका उत्तरपुस्तिका परीक्षण गरेको अख्तियारको निर्णयमा उल्लेख छ ।

    अख्तियारले थप कारवाहीका लागि शिक्षक सेवा आयोगमा लेखेर पठाएको थियो । तर, यसबीचमा रिमाल शिक्षा मन्त्रालयको सहसचिवबाट अवकाश भइसकेर शिक्षक सेवा आयोगकै सदस्यमा नियुक्त भएका छन् ।

    शिक्षकको परीक्षामा भ्रष्टाचारजन्य कार्य गरेको भनेर अख्तियारले किटान गरेका व्यक्तिलाई नै शिक्षक सेवा आयोगको सदस्य बनाइएपछि आयोगको निष्पक्षमा प्रश्न उठ्ने भन्दै नियुक्ति बदर गर्न उच्च अधिकारीहरूले सुझाव दिएका छन् ।

    यो विषय पुनः अख्तियारमा लैजाने तयारी समेत शिक्षा मन्त्रालयका कर्मचारी संगठनहरूले गरेका छन् ।

    गत असोजबाट नेतृत्वविहीन बनेको आयोगमा नयाँ सरकार आएपछि अध्यक्षमा मधुप्रसाद रेग्मीसहित पदाधिकारी नियुक्त भएका हुन् । नियुक्तिमा भएको ढिलाइका कारण नयाँ शिक्षक छनौट र शिक्षकहरुको वृत्ति विकास ठप्प भएको थियो ।

     

  • छोरीको नाममा सेयर किनेको विषयमा धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात

    छोरीको नाममा सेयर किनेको विषयमा धितोपत्र बोर्डका अध्यक्षसँग अख्तियारले माग्यो कागजात

    काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा चलखेल गरी लाभ लिएको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरू गरेको छ ।

    बुक बिल्डिङबाट निष्कासन हुन लागेको सेयर छोरीका नाममा खरिद गरेकोप्रति अनुसन्धान गरी कारवाही गर्न माग गर्दै ढुंगानाविरुद्ध उजुरी परेपछि अख्तियारले सो सम्बन्धी कागजात झिकाएको छ ।

    अध्यक्ष भीष्मराज ढुंगनाले बुक बिल्डिङको अनुमति दिएसँगै पाएको ‘गोल्डेन सेयर’ छोरीको नाममा लिएको केही दिनअघि खुलेको थियो । अध्यक्षकी छोरी रेविका ढुंगानाको नाममा १२ हजार कित्ता सेयर किनेको सार्वजनिक भएको थियो ।

    अख्तियारले बोर्डका अध्यक्ष ढुंगानासँग बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजात मागेको छ । धितोपत्र बार्डले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले सेयर किनेपछि अहिले यो विषय विवादित बनेको छ । सर्वोत्तमले बुक बिल्डिङङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने बताइएको छ ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्से सीईओ साउदले आचारसंहिता बाहिर गएर सेयर खरिद गरेको भनेर लगानीकर्ताले उजुरी आएको अख्तियार स्रोतले जनाएको छ । स्रोतले नेपाल प्रेससँग भन्यो, ‘कारोबार र प्रक्रियासम्बन्धी सबै कागजपत्र मगाएका छौं अख्तियारको नियमित प्रक्रियाअनुसार अब अनुसन्धान अघि बढ्छ ।’

  • हिमालयनलाई लाइसेन्स दिँदा चलखेल गरेको भन्दै पाँच विद्यार्थी संगठनद्वारा अख्तियारमा उजुरी

    हिमालयनलाई लाइसेन्स दिँदा चलखेल गरेको भन्दै पाँच विद्यार्थी संगठनद्वारा अख्तियारमा उजुरी

    काठमाडौं । हिमालयन रि पुनर्बीमा कम्पनीलाई सेटिङमा लाइसेन्स दिएको भन्दै बीमा समितिविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

    विपक्षी गठबन्धन निकटका पाँच विद्यार्थी संगठनले बिहीबार अख्तियार अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् । एक महिनाअघि बीमा समितिले हिमालय रि पुर्नबीलाई लाइसेन्स दिएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रभावमा परेर लाइसेन्स दिएको जिकिर उजुरीमा छ ।

    अध्यक्ष सिलवालले तीन अर्ब रूपैयाँभन्दा बढी घोटला गरेर लाइसेन्स दिएको भन्दै उक्त लाइसेन्स रोक्न माग गरिएको छ । बीमा समितिका अध्यक्ष सिलवालसँग सम्पर्क गर्दा प्रवक्तालाई सोध्नुस् भनेर पन्छिएका छन् ।

    नेपाली विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव समूह), समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंका नेतृत्वले उजुरीमा हस्ताक्षर गरेका छन् ।

  • चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी

    चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी

    काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

    उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

    ‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि’ हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • अख्तियारको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस

    अख्तियारको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस भएका छन् ।

    संवैधानिक परिषदको आइतबार बसेको बैठकले अख्तियारमा यी दुई पिएचडी होल्डरको नाम सिफारिस गरेको हो ।

    आयुक्तमा सिफारिस भएका पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् भने डा. अमात्य प्राध्यापक तथा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य हुन् । अमात्य काठमाडौं महानगरपालिकाको फोहोर मैला व्यवस्थापन विभागको प्रमुख समेत थिइन् ।

    पौडेलले सार्वजनिक प्रशासनमा विद्यावारिधी गरेका छन् । उनी निजामति प्रशासनमा कहिल्यै पनि विवादमा नआएका र आफ्नो विषयमा विज्ञ कर्मचारीका रुपमा परिचित छन् ।

    अमात्य नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव तुलसीलाल अमात्यकी बुहारी हुन् । तुलसीलाल मृत्युपर्यन्त नेकपा एमालेको मानार्थ स्थायी कमिटी सदस्य थिए ।

    अख्तियारका तत्कालीन आयुक्त डा. गणेशराज जोशीको राजीनामा र सावित्री गुरुङको कार्यकाल सकिएपछि रिक्त रहेका दुई पदमा पौडेल र अमात्यको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।

  • अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

    अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

    उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले शुक्रबार आदेश दिएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

     

     

  • बालुवाटार प्रकरणमा थुनामा रहेका दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

    बालुवाटार प्रकरणमा थुनामा रहेका दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै थुनामुक्त गरि पाउन बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

    तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

    लकडाउनका बेला बन्दी प्रत्यक्षीकरणा र कोभिड संकटबाहेकका अरु मुद्दा अदालतले नहेर्ने भएकाले सोही सुविधा प्रयोग गर्दै बस्न्यात पुनः थुनामुक्तिको माग गर्दै अदालत गएका हुन् ।

    बस्न्यातको पक्षबाट प्रज्ज्वल अधिकारीले शुक्रवार दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै उनलाई कोभिड पोजेटिभ भएको प्रमाणसमेत पेस गरिएको छ ।

  • घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

    घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

    काठमाडौं । योजना सम्पन्न भई फरफारक गर्ने क्रममा घुस लिएको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    ९५ हजार घुससहित पक्राउ परेकी पुजा कार्की र सेवाग्राहीसँग घुस लिन निर्देशन दिने लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय दाबी गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

    ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा घुस रकम माग गरिएको अख्तियारले जनाएको छ ।

  • गाउँपालिका अध्यक्षले लिएको ८ लाख घुस बरामद, गाडी चालक पक्राउ

    गाउँपालिका अध्यक्षले लिएको ८ लाख घुस बरामद, गाडी चालक पक्राउ

    धनुषा । धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख घुस रकम बरामद गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले धनुषाकै छिरेश्वर नगरपालिका ५ मा बाटो छेउमा फ्याँकिएको सो नगद बरामद गर्नुका साथै सवारी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिइएको हो ।

    मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा ८ लाख लिएर भाग्ने क्रममा उक्त रकम बाटो छेउमा फालेर अध्यक्ष फरार भएको अख्तियारले जनाएको छ ।

    अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार अध्यक्ष क्षेत्रीले भवन निर्माण सम्पन्नपश्चात भुक्तानी दिने क्रममा सो रकम कमिसन मागेका थिए ।

  • दुई सशस्त्र प्रहरी अधिकृत घुस लिंदालिंदै अख्तियारको फन्दामा

    दुई सशस्त्र प्रहरी अधिकृत घुस लिंदालिंदै अख्तियारको फन्दामा

    रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सेवाग्राहीसँग घुस लिएको अवस्थामा दुई जना सशस्त्र प्रहरीका अधिकृतलाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेसक्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी घुससहित पक्राउ परेका हुन् ।

    बिहीबार १० बजे उनीहरुलाई सेवाग्राहीबाट ५० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

    सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा रूपन्देही गैडहवा गाउँपालिका–३ बाट उनीहरुलाई नियन्त्रणमा लिएको घटनाबारे थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए ।

  • सभामुखमाथि धरानको ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप (भिडियो)

    सभामुखमाथि धरानको ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप (भिडियो)

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणसहित सरकारमार्फत छानबिन गराएका अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकरणमा सभामुख अग्नि सापकोटामाथि मुद्दा चलाउन अख्तियारले खुट्टा कमाएको आरोप लगाएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको दावी गरेका हुन् ।

    कोइरालाले भने, ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भनेर तोक लगाए । आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचलन गरिरहेका छन् । उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ ।’

    सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिन आयोजित हस्ताक्षर कार्यक्रममा कोइरालाले मन्त्रिपरिषदले निर्णय गरेरै उच्चस्तरीय समितिको सिफारिस अनुसार मुद्दा चलाउन पठाए पनि अख्तियारले फाइल नखोलेको आरोप लगाए ।

    ललिता निवास, बालुवाटारलगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाइएको थियो । हस्ताक्षर अभियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी समापन गरिएको हो ।

    समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्नेउपर कारबाहीको माग गरेको छ ।

    त्यस्तै धोबीखोला बगेको साबिक नगर २५ (क) कित्ता नम्बर ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्‍बाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीउपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न माग गरेको छ ।

    मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारबाहीको लागि दबाब दिन अभियान चलाइएको संघर्ष समितिका महासचिव समेत रहेका कोइरालाले बताए ।

  • अख्तियारले भ्रष्टाचारी चिनोस्, सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

    अख्तियारले भ्रष्टाचारी चिनोस्, सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

    आयोगको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने बताए ।

    कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्रीले अख्तियारलाई सरकारको लाचार छायाँ बन्न नदिने प्रष्ट्याए । ‘संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्नुहोस् । भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले अवरोध गर्नेछैन । अख्तियार स्वतन्त्र छ, हामी यसो गर उसो गर भन्दैनौं’, ओलीले भने ।

    नेपाललाई भ्रष्टाचारीको देशकारूपमा स्थापित गराउन केही संस्था र सञ्चारमाध्यम सक्रिय रहेको भन्दै ओलीले त्यस्तो प्रयास विफल पारिने बताए । ‘भ्रष्टाचार नगर्नेलाई पनि हिलो छ्याप्नैपर्ने प्रवृत्ति नेपालका सञ्चारमाध्यमहरुमा देखिएको छ । केही संस्थाहरू नेपालमा भ्रष्टाचारीबाहेक कोही जन्मदैन भन्ने पुष्टि गर्न लागेका छन् । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ’, ओलीले भने ।

    प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको बताए । प्रधानमन्त्री ओली सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको र त्यस्तो प्रतिबद्धता ‘ओठे’ नभएको बताए । ‘सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशील छ । यो कुनै लिप सर्भिस होइन, व्यवहारबाटै त्यसको पुष्टि गर्दैछौं’, उनले भने ।