Tag: सीमा

  • संक्रमण नियन्त्रण गर्न चीन र भारतका सीमामा कडाइ, तेस्रो लहरविरुद्ध तयारी गर्न सरकारलाई निर्देशन

    संक्रमण नियन्त्रण गर्न चीन र भारतका सीमामा कडाइ, तेस्रो लहरविरुद्ध तयारी गर्न सरकारलाई निर्देशन

    काठमाडौं । संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

    दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘खोपमा अनियमितता भएको कुरा विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको अवस्थामा सोको छानवीन गरी दोषी प्रमाणित भएमा कानूनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ ।’

    समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्वतयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । सभापति जैैरुले संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो लहर आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको बताइन् ।

    बैठकमा समिति सदस्यहरुले नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए । समिति सदस्य एवम् काँग्रेस सांसद राधेश्याम अधिकारीले सबै नागरिकलाई खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘कोभिड खोप लगाउने जनशक्तिको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्दछु । ’

    बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले भारत र चीन दुवै मुलुकको सीमामा कडाई गरिरहेको जानकारी गराए । कोभिडको तेस्रो लहर आउन नदिन पनि सरकारले विभिन्न उपायको खोजी गरिरहेको उनले समितिलाई जानकारी गराए । सरकारले आगामी चैत महीनाभित्र भित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने योजना सार्वजनिक गरेको छ । तर त्यस अनुसारको कामलाई भने अघि बढाउन नसकेको समितिको निष्कर्ष छ ।

  • पश्चिमनवलपरासीको भारतीय सीमा क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप, गोली लागेर एकको मृत्यु

    पश्चिमनवलपरासीको भारतीय सीमा क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप, गोली लागेर एकको मृत्यु

    रुपन्देही । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरको उपचारका लागि बुटवल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

    भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका-५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भीड नियन्त्रण गर्न गोली चलाइएको प्रहरीको दावी छ । घाइते भएपछि गोलीबाट घाइते भएपछि ती युवालाई शहीद स्मृति अस्पताल चौपातामा उपचारका लागि भर्ना गरिएको थियो ।

    शुरूमा ५/७ जनाको समूहमा आएकालाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले अरु साथी ल्याएका थिए । स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।

    ठूलो समूहमा आएका गाउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भीड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले नेपाल प्रेसलाई बताए ।

    भीडलाई नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरिए पनि नियनत्रणमा लिन नसकेपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दावी गरे ।

    स्थानीयको आक्रमणबाट नाकाको सुरक्षार्थ खटिएका सशस्त्र नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग

    सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग

    काठमाडौं । कञ्‍चनपुरका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले भारतसँगको सीमा नक्सा (स्ट्रीप म्याप) तयार गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेकोले सच्याउँन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष माग गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्रीसँग भेटघाटको क्रममा कञ्चनपुरका नेताहरूले भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राखिएको छ ।

    त्यस्तै पुनर्वास नगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने र शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुन:र्स्थापना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ ।

    प्रधानमन्त्रीसँगको भेटमा नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट तथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामीलगायतका नेताहरू सहभागी थिए ।