Tag: शेरबहादुर देउवा

  • देउवाले मागे निर्वाचन कार्यतालिका

    देउवाले मागे निर्वाचन कार्यतालिका

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

    प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावको मिति तोकेपनि निर्वाचन आयोगले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै सभापति देउवाले निर्वाचन गर्ने हो भने तयारी तीब्र बनाउनुपर्ने बताए ।

    ‘प्रधानमन्त्रीले संसद विघटन गरेर बैशाखमा चुनाव गराउँछु भन्ने आयोगले तालिकासमेत नबनाउने । संसद विघटनको ६ महिनाभित्र चुनाव गराउनुपर्ने कुरा संविधानमै छ । आयोगलाई थाहा छ कि छैन ?’, देउवाले प्रश्न गरे ।

    निर्वाचन आयोगले नेकपाभित्रको झगडाबारे पनि छिटो निष्कर्ष दिनुपर्ने देउवाको भनाइ छ । ‘सूर्य चिन्ह एउटै छ । नेकपामा ओलीले पाउने कि प्रचण्डले निर्वाचन आयोगले छिटो फैसला दिनुपर्‍यो’, देउवाले भने ।

    आयोगप्रति आक्रोशित देखिएका देउवाले तयारी तीव्र बनाउनुको विकल्प नभएको बताए । ‘अदालतले पुनःस्थापना गरेपनि मञ्जुर छ चुनावमा जान भनेपनि मञ्जुर छ । तर आयोगले त आफ्नो काम गर्नुपर्‍यो नि’, देउवाले भने ।

    संसद विघटन गलत कदम भएपनि अदालतलाई सडकबाट आदेश दिने पक्षमा आफू नरहेको भन्दै सभापति देउवाले कांग्रेसले संविधान र न्यायालयको सम्मान गर्ने बताए ।

  • कार्यकाल थप्न देउवाले बोलाए केन्द्रीय समिति बैठक

    कार्यकाल थप्न देउवाले बोलाए केन्द्रीय समिति बैठक

    काठमाडौं । तोकिएको मितिमा महाधिवेशन हुन नसक्ने भएपछि केन्द्रीय समितिको म्याद थप्न सभापति शेरबहादुर देउवाले पार्टीको बैठक बोलाएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय समितिको बैठक यही फागुन ५ गते बुधबार दिउँसो दुई बजे सानेपामा बस्नेछ ।

    सभापति देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल यही फागुनसम्म छ । २०७२ फागुनमा निर्वाचित कार्यसमितिले विधान अनुसार ४ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधान बमोजिम नै एक वर्ष थप गरिएको थियो ।

    थप गरिएको अवधिमा पनि महाधिवेशन नहुने भएपछि कांग्रेसले अब संविधानको सहारा लिनेछ । संविधानमा राजनीतिक दलको अधिकतम पदावधि साढे ५ वर्ष हुने व्यवस्था छ । सो व्यवस्था अनुसार नै २०७८ भदौसम्म कांग्रेसको कार्य समितिकाे पदावधि लम्ब्याउन लागिएको हो ।

    पछिल्लोपटक माघ मसान्तसम्म क्रियाशील सदस्यता केन्द्रमा बुझाउने म्याद तोकिए पनि ७६ जिल्लाले सूची बुझाउन बाँकी नै छ । सभापति देउवा २०७८ भदौका लागि महाधिवेशनको मिति तोक्ने तयारीमा छन् । यसअघि फागुन ७ गतेदेखि काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन हुने तय भएको थियो ।

  • आन्दोलनमा सहभागी हुन देउवाको अपिल

    आन्दोलनमा सहभागी हुन देउवाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।

    विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटन संविधानमा भएको व्यवस्था प्रतिकूल र जनभावनाविपरीतको कार्य भएकोले कांग्रेस एकमत साथ आन्दोलनमा रहेको जनाएका हुन् ।

    कांग्रेस केन्द्रीय समितिको पूर्व निर्धारिता कार्यक्रम अनुसार सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन हुँदैछ । सभापति देउवाले विगतका आन्दोलन कार्यक्रममा झै घर-घरबाट प्रदर्शनमा सहभागि भई सरकारविरुद्ध ऐक्यवद्धता जनाउन आग्रह गरेका हुन् ।

    सोमबार हुने प्रदर्शनअन्तर्गत सभापति देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री डा.शशांक कोइरालाले दाङ, पूर्व महामन्त्री प्रकाशमान सिंहले कास्की, पूर्व महामन्त्री कृष्ण सिटौंलाले झापा, नेताहरु डा. रामशरण महतले काभ्रे, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्यूठान, गगन थापाले चितवन, प्रदीप पौडेलले दैले, गुरुराज घिमिरेले दोलखालगायतका जिल्लामा सम्बोधन गर्ने तय भएको छ ।

    कांग्रेसले यसअघि देशभरका प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, स्थानीय तह र वडा केन्द्रित प्रदर्शन र सभा गरिसकेको छ ।

  • जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन: सभापति देउवा

    जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन: सभापति देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन् ।

    पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’ सभापति देउवाले काँग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरे।

    आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’

    फरक प्रसङ्गमा उनले काँग्रेसले आफ्नो विधानमा महिला, आदिवासी/जनजाति, दलित, थारू, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदाय सबैलाई उचित आरक्षणको व्यवस्था गरी सबैभन्दा समावेशी पार्टी बनेको बताए।

    सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लोस्तरमा पुगी सो बारेमा प्रचार गर्न र काँग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

    कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्यविरुद्ध वडास्तरसम्म राष्ट्रव्यापी कार्यक्रम गरेको बताए।

    साथै उनले संविधानको व्यवस्थाविपरीत खोसिएको प्रतिनिधिसभा पुनःप्राप्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद् पुनःस्थापना र निर्वाचन दुई बाटो रहेको बताए ।

    आफूहरु स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन रहेको विषयलाई प्रभाव पर्ने गरी नबोल्ने स्पष्ट पार्दै उनले काँग्रेस संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने उल्लेख गरे ।

     

  • लाइन मिलेपछि रामचन्द्र-गगन फेरि एक ठाउँ, महाधिवेशनसम्म गठजोडको चर्चा

    लाइन मिलेपछि रामचन्द्र-गगन फेरि एक ठाउँ, महाधिवेशनसम्म गठजोडको चर्चा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद पुनस्र्थापनाको विषयलाई लिएर सुषुप्त खालको मानसिक विभाजन छ । यो विभाजनले पार्टीभित्रको गुटगत राजनीतिलाई पनि प्रभावित बनाएको छ, र केही नेता आफ्नो क्याम्पबाट यताउता लस्किन थालेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाबीच देखिएको निकटता कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।

    कांग्रेसको १३औं महाधिवेशनमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चुनावी मैदानमा थिए । दोस्रो चरणमा भिडेका थिए, देउवा र पौडेल ।

    महामन्त्रीमा देउवा पक्षबाट अर्जुननरसिंह केसी, पौडेल पक्षबाट डा.शशांक कोइराला र सिटौला पक्षबाट गगन थापाले प्रतिस्पर्धा गरेका थिए । महाधिवेशनका लागि केही दिन बाँकी रहँदासम्म पौडेल पक्षको रणनीति निर्माणमा खटिएका थिए युवा नेता गगन । अन्तिम समयमा ‘पदाधिकारी’ लड्ने निर्णयमा साथ नपाएपछि सिटौला समूहमा मिसिएर थापा महामन्त्रीको उम्मेदवार बने । सभापतिमा सिटौलाले ३२४ मत ल्याउँदा महामन्त्रीमा थापाले ५८४ मत ल्याए ।

    कांग्रेसका वरिष्ठ नेता पौडेल र युवा नेता थापाबीच पार्टीका आन्तरिक विषयमा लामो समय चलेको सहकार्य १३औं महाधिवेशनमा टुटेको थियो । यतिबेला संसद विघटनविरुद्धको आन्दोलनमा उभिएका दुवै नेताबीच पुनः तालमेल मिल्न थालेको छ । कतिपयले उनीहरू तत्कालका लागि मात्रै सँगै चर्चा गर्छन् भने कतिपयले महाधिवेशनसम्मै सहकार्यको सम्भावना देख्छन् ।

    कांग्रेसको चौधौं महाधिवेशन घोषित मिति फागुन ७ मा उद्घाटन नहुने निश्चित भए पनि संवैधानिक कारणले २०७८ भदौसम्म भइसक्नुपर्नेछ । सो महाधिवेशनको समीकरण अहिलेसम्म प्रष्ट भइसकेको छैन ।

    सहकार्यको पृष्ठभूमि

    वरिष्ठ नेता पौडेल र युवा नेता थापा पहिले पनि निकट थिए । २०६२ सालमा राजतन्त्रविरुद्धको आन्दोलन उत्कर्षमा छँदा राजद्रोहको मुद्दा खेपिरहेका थिए गगनले । पोखरामा नेविसंघको महाधिवेशन हुँदैथियो । अघिल्लो दिन थुनाबाट छुटेर पोखरा पुगेका उनलाई विद्यार्थीहरूले भव्य स्वागत गरे ।

    नेविसंघ अध्यक्षको बलिया प्रत्यासी थिए गगन । तर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेविसंघ अध्यक्षमा केशव सिंहलाई नै दोहोर्‍याउने पक्षमा थिए । नेता पौडेलको समर्थन गगनलाई थियो । गगनलाई अध्यक्ष बनाउने पौडेलको प्रयास सफल भएन, तर त्यसले उनीहरूबीच विश्वासको वातावरण बन्यो ।

    २०६४ मा चितवनमा सम्पन्न नेविसंघ महाधिवेशनले गगन समर्थित उम्मेदवार प्रदीप पौडेललाई अध्यक्ष चयन गर्‍यो । काठमाडौं फर्किएर गगन पार्टी राजनीतिमा केन्द्रित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा युवालाई स्थान दिनुपर्ने आवाज कांग्रेसमा चर्को स्वरले उठ्यो । प्रत्यक्ष टिकट दिलाउन नसके पनि पौडेलकै प्रस्तावमा गगन समानुपातिक सभासद बन्न सफल भए । गगनको राजनीतिक जीवनमा निर्णायक यो उपलब्धिको श्रेय पनि पौडेलले पाए ।

    ‘गगनजीलाई सभासद बनाउन रामचन्द्र दाइले गिरिजाबाबुलाई समेत कन्भिन्स गर्नुभएको थियो । सभासद भएपछि नै गगनजीको राजनीति अझ उकालोतर्फ लाग्यो’, गगनका एक समकक्षी नेताले भने ।

    सभासद भइसकेपछि गुन तिर्ने पालो गगनको थियो । पौडेललाई संविधानसभामा दलको नेतामा निर्वाचित गराउन गगन कस्सिएर लागे । पौडेल कांग्रेस संसदीय दलको नेता बन्न सफल पनि भए । त्यसयता संविधान निर्माणदेखि पार्टीभित्र विचार निर्माण समेतमा पौडेल र गगनको गठजोड बन्यो । गगनको अगुवाइमा भएका वैचारिक लेखन र बहसहरूमा पौडेल समेतको विचार प्रवर्द्धन गरिए ।

    ‘पार्टीभित्र वैचारिक र व्यावहारिक दुवै कुरामा उहाँहरूबीच सहकार्य थियो । रामचन्द्र दाइको धारणालाई समर्थन हुने गरी गगनजीले धेरैपटक कार्यक्रमहरू सञ्चालन गराउनुभएको छ’, एक नेताले भने ।

    १२औं महाधिवेशनपछि पौडेल पार्टीको उपसभापति बन्दा गगन सर्वाधिक मतसहित केन्द्रीय सदस्य बनेका थिए । नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा पौडेलले थालेको देशव्यापी अभियानमा गगनले राम्रै साथ दिएका थिए ।

    १३औं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन सभापति सुशील कोइराला सभापतिमा दोहोरिन इच्छुक देखिए । तर गगनले स्पष्टरूपमा ‘सभापतिले खुला हृदयले रामचन्द्र पौडेललाई सभापतिका रूपमा अगाडि सार्नुपर्ने’ धारणा राखे । कांग्रेसको नेतृत्वका लागि पौडेल उपयुक्त छन् भन्नेमा गगन जति विश्वस्त थिए त्यति नै आफू पदाधिकारीमा चुनाव लड्नैपर्ने दबाबमा थिए । पौडेलकै टिमबाट पदाधिकारीमा निर्वाचन लड्न गगनले अन्तिमसम्म प्रयास गरेका हुन् । तर १३औं महाधिवेशनमा पौडेलले वचन दिए पनि गगनले पदाधिकारीमा लड्न ठाउँ पाएनन् ।

    गगनसहितका युवाहरूको टिमले पौडेलको चुनावी अभियान र घोषणापत्रसमेत लेखिसकेको थियो । तर पौडेल र गगन एकै टिममा चुनाव लड्ने स्थिति भएन । पौडेलले महामन्त्रीका रूपमा डा.शशांक कोइराला रोजे, गगनले सभापतिका रूपमा कृष्ण सिटौला । त्यसयता पौडेल र गगनबीच दूरी बढेको थियो ।

    अहिले संसद विघटनको मुद्दामा सभापति देउवा पक्ष नरम देखिंदा पौडेल र गगन कडा विरोधमा छन् । केपी ओलीले चालेको कदम एकप्रकारले पौडेल र गगनलाई फेरि जोड्ने सुपरग्लु बनेको छ । उनीहरू आन्दोलनका धेरै कार्यक्रममा एकसाथ देखिएका छन् ।

    हालै सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित सभामा गगन स्वयंले संसद पुनस्र्थापना विरुद्ध पौडेलले लिएको अडानमा आफ्नो साथ रहेको बताएका थिए ।

    ‘निर्वाचन हुँदा रामचन्द्र पौडेलले पनि तनहुँमा जित्नुहुन्छ । सांसद भएर आएपछि प्रधानमन्त्री पनि बन्नुहोला । तर उहाँले तत्कालको लाभ नहेरेर संविधान र लोकतन्त्र जोगाउने पक्षमा अडान लिनुभयो । त्यहीकारण हामी एकठाउँमा छौं’, सभामा गगनले पौडेलको प्रशंसा गर्दै भनेका थिए ।

    पौडल र सिटौला मिलाउने गगनको प्रयास

    गगनले ‘आवश्यक परे सभापति लड्न तयार रहेको’ समेत बताउने गरेका छन् । यद्यपि उनी आफैं चाहिं कांग्रेसको पुरानो संस्थापनलाई एकैठाउँमा ल्याउने प्रयासमा छन् ।

    सभापतिमा दाबी गरिरहेका अधिकांश नेताले गगनको साथ चाहेका छन् । गगन भने छुट्टाछुट्टै प्रतिस्पर्धा गरेर पार्टीमा परिवर्तन सम्भव नहुने भएकोले संस्थापनइतर पक्षबाट एकमात्रै उम्मेदवार बनाउन सक्रिय छन् ।

    ‘रामचन्द्र र कृष्ण सिटौलाबीचको असमझदारीका कारण नेतृत्व शेरबहादुरमा पुगेको हो । त्यो असमझदारी हटाउने र सबैलाई मिलाउने भूमिका खेल्न उहाँ सक्रिय हुनुहुन्छ’, गगन निकट नेताले भने । पौडेल र सिटौलाबीच सहकार्य सम्भव देखेका गगन हाल आफ्नो भूमिका त्यसतर्फ केन्द्रित गरिरहेका छन् ।

    अघिल्लो महाधिवेशनमा कमजोर गुटको उम्मेदवार बनेकाले गगन महामन्त्रीमा पराजित भएका थिए । आगामी महाधिवेशनमा फेरि त्यो गल्ती दोहोर्‍याउन गगन चाहँदैनन् । त्यसैले उनी पौडेल-सिटौलालाई मिलाएर देउवालाई चुनौती दिने बलियो गुट निर्माणको चक्करमा छन् । र, त्यो गुटबाट आफू महामन्त्रीको उम्मेदवार बन्ने ध्याउन्न छ ।

    सभापतिका आकांक्षी अन्य नेताले पनि गगनलाई आफूतिर तान्न चाहेका छन् । सभापतिमा दाबी गरिरहेका नेता डा.शेखर कोइरालाले त सार्वजनिक रूपमा गगनलाई महामन्त्री प्रस्ताव गरिसकेका छन् । गगनले भने सभापतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेका छैनन् । तर विगतको लामो सहकार्यको पृष्ठभूमि र संसद विघटनको विषयमा मिलेको लाइनले पौडेल र गगनलाई महाधिवेशनसम्म जोड्न सक्ने देखिन्छ । पौडेलले गत वर्ष सार्वजनिक रूपमै ‘गगन–प्रदीपलगायतका युवाहरू आफूसँगै रहने’ दाबी गरेका थिए ।

    ‘दुवैजना अबको महाधिवेशनमा लड्नैपर्ने भन्दा जित्नैपर्ने बाध्यतामा हुनुहुन्छ । यो बाध्यता र संसद पुनस्र्थापनाको पक्षमा उहाँहरूले लिएको अडानले नै महाधिवेशनमा दुवैलाई एकठाउँ ल्याउने सम्भावना छ’, दुवै नेताका निकटस्थहरूको समान बुझाइ छ ।

  • ओलीको लहैलहैमा मुख मिठ्याउँदै देउवा

    ओलीको लहैलहैमा मुख मिठ्याउँदै देउवा

    नेकपाभित्रको लामो आन्तरिक खिचलो मिलाउन नसकेर संसदमा आफूलाई अप्ठ्यारो पर्ने देखेका प्रम केपी शर्मा ओलीले पुस ५ गते एक्कासि संसद विघटनको सिफारिश राष्ट्रपतिसामु बुझाए । प्रमको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीबाट तुरुन्त सदर भयो ।

    संसद विघटनको असंवैधानिक कदमले सत्तापक्ष नेकपा र विपक्षी नेपाली कांग्रेस पार्टीभित्र आन्तरिक ध्रुवीकरण देखापर्यो । असंवैधानिक कदमको चौतर्फी विरोध शुरू भयो, अदालतमा मुद्दा पर्यो, बहस अझै जारी छ ।

    असंवैधानिक कदमको सवालमा विपक्षी दलको नेता सभापति शेरबहादुर देउवा शुरूमा मौन रहे । कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले चाक्सीवारी निवासबाट सञ्चार मिडियामार्फत लोकतन्त्र र संविधान बचाउनको निम्ति प्रमले चालेको असंवैधानिक कदमको विरुद्धमा सडक आन्दोलनमा जाने उद्घोष गरे ।

    विघटनको लगत्तै नेता गगनकुमार थापाले बानेश्वर चोकमा भएको कोणसभालाई आमसभा जस्तै बनाइदिए । कांग्रेस नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, नवीन्द्रराज जोशीले खुलेरै नेता सिंहलाई साथ दिंदै विरोधमा निस्के ।

    नारायणस्थान नजिक बूढानीलकण्ठमा मस्त निद्रामा रहेका सभापति देउवाले लोकतान्त्रिक संविधानकै हत्या हुने गरी भएको यो निन्दनीय कार्यप्रति केही थाहै पाएनन् । संसद विघटनको केही दिनअघि संवैधानिक आयोगको नियुक्तिमा प्रमसँग भाग माग्न जाँदा देउवाकै सहमतिमा पो प्रम ओलीले यो आँट गरेका हुन् कि भन्ने कतिपयको बुझाइ छ । आफैंले आईजी बनाउन नमानेका देउवाका विश्वास पात्र जयबहादुर चन्दलाई प्रम ओलीले त्यतिकै त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति त गरेनन् होला नि !

    सभापति देउवा राति राति बालुवाटार किन जान्छन् ? महामन्त्री शशांकले धेरै अघिदेखि पटकपटक मिडियामा बोलेको कुरा हो । देउवालाई प्रम ओलीको राजनीतिक सहयोगी भन्नेहरू प्रशस्त भेटिन्छन् । संसदलाई प्रतिपक्षीविहीन बनाएर देउवा आफ्नी सासूलाई राजदूतमा थमौती गराउन र आफ्ना आसेपासेहरूलाई लाभका पद मिलाउनमै मक्ख छन् ।

    निडर कांग्रेस नेता, नागरिक समाज, संविधानविद्, पत्रकारहरूको चर्को आवाजले बल्ल ब्युँझिएका विपक्षी दलका नेता देउवाले केही बोल्नै पर्ने भयो । अन्ततः ‘प्रमको यो कदम असंवैधानिक हो तर अहिल्यै हामी सडकमा जाँदैनौं । अदालतलाई कुर्छाै‌ भनेर भने । उनी निकट पदाधिकारी र प्रवक्ताले उनलाई मिडियामा यही बोल्न सल्लाह दिए होलान् ।

    लामो संघर्षपछिको उपलब्धिलाई बचाउन र सर्वोच्चमा विचाराधीन मुद्दामा आमनागरिकको भावनालाई बुझेर नेपाली कांग्रेसले यसो भन्छ भनेर अदालतलाई सुनाउन किन डराए देउवा ?

    पार्टीको विधान नमान्ने सभापति देउवा र संविधान कुल्चिने प्रम ओलीबीचको सम्बन्ध प्रगाढ देखिन्छ । २५ वर्षे जवानीमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका देउवाले महाधिवेशन नगरिकन चार कार्यकाल (आठ वर्षसम्म) नेपाल विद्यार्थी संघको नेतृत्व कब्जा गरिरहे ।

    ४९ वर्षको युवा उमेरमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले मुलुकको संसदीय प्रणालीलाई नै विकृत बनाउन अतुलनीय योगदान गरे । सुरा–सुन्दरी, प्राडो–पजेरो, सांसद खरीद–बिक्री, जम्बो मन्त्रिमण्डल गठन जस्ता प्रकरणको शुरूआत यही बेला भयो । ५६–५८ वर्षमा रहँदा त प्रतिगमनको मार्ग सहज बनाइदिए । पार्टी फुटाए । पद प्राप्ति निम्ति आफैंले धमिलो बनाएको प्रजातन्त्रको बहावलाई दरबारतिर हुलिदिन पनि पछि परेनन् । दशक लामो माओवादी सशस्त्र द्वन्द्वका वेला सबैभन्दा बढी समय उनै प्रधानमन्त्री रहे ।

    पार्टी नेतृत्वमा युवा आउनुपर्छ भन्नेहरूले देउवाको विगतलाई हेरे पुग्छ । ६० वर्षको उमेर नपुग्दै भोगको राजनीतिमा लागेर थुप्रै काण्डै काण्ड रचाएका उनै देउवालाई कांग्रेसहरूले पाँच वर्षअघि पार्टी सभापतिको कुर्सीमा पुर्याइदिए । गिरिजाबाबु र सुशील दासँग पार्टी सभापतिमा पराजित देउवा रामचन्द्र पौडेललाई हराएर सभापतिको कुर्सीमा पुगेका हुन् ।

    सभापति भएलगत्तै प्रधानमन्त्री बन्न मुख मिठ्याएका देउवाले ओलीबाट छुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिए । भरतपुरको मेयर पद प्रचण्ड पुत्रीलाई बुझाउने शर्तपछि प्रचण्डले प्रधानमन्त्री पद देउवालाई छोडिदिए ।

    चौथो पटक प्रधानमन्त्री बनेका देउवाले नियम मिचेर जयबहादुर चन्दलाई आईजी बनाउन नपाएको झोकमा प्रधानन्यायाधीश कार्की माथि महाभियोग दर्ता गराए । कांग्रेस कार्यकर्तालाई नै चित्त नबुझेको देउवाको महाभियोगलाई नेकपा अध्यक्ष केपी ओलीले तुहाइदिए । यही मुद्दालाई लिएर हिरो बनेका केपी ओलीले देउवालाई खलनायक मात्र बनाएनन् उल्टै कांग्रेसमा आउने तरल जनमत पनि आफूतिर ताने ।

    कुर्सी मोहमा आशक्त देउवाको विरुद्धमा देशभर चर्किएको आक्रोशले २०७४ को आमचुनावमा कांग्रेसलाई थला पा¥यो । कांग्रेस नेतृत्वको अकर्मण्यताले गर्दा नेकपाका केपी ओली दुईतिहाइ नजिकको जनमतसहित प्रमको कुर्सीमा पुगे ।
    बहुदल आउनुअघि नै देउवाले लाभका पदमा मुख मिठ्याउन थालेको थाहा पाएपछि किसुनजीले छात्रवृत्तिमा लण्डन पढ्न पठाए । २०४६ सालको जनआन्दोलनताका लण्डनका गल्लीहरूमा भौंतारिएका देउवा प्रजातन्त्र आएपछि नेपाल फिरे ।

    २०४८ को आमचुनावपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा किसुनजीले देउवालाई आफ्नो कोटामा गृहमन्त्री बनाए । २०३४ सालमा बीपी कोइरालाले टुँडिखेलमा ‘शेरे सुदूरपश्चिम’ भनेपछि चर्चामा आएका देउवालाई किसुनजीले मेरो असल शिष्य भन्थे रे ! तिनै देउवाले २०५९ सालमा तेस्रोपल्ट प्रधानमन्त्री हुने लोभमा प्रजातन्त्र दरबारमा बुझाए । भोगको राजनीतिमा रमाएर देउवाले लोकतन्त्र माथि गरेको प्रहारबाट मन दुखाएका किसुनजीले त्यसपछि देउवासँग शायद कहिल्यै भेटेनन् क्यारे !

    २०५१ सालदेखि अहिलेसम्म सरकारमा होस् वा पार्टीमा; देउवा बलियो हुँदा लोकतन्त्र र नेपाली कांग्रेस जहिले पनि कमजोर बनेको इतिहास छ । आफ्नै पार्टीको नेतृत्वमा पाँच वर्षअघि जारी भएको लोकतान्त्रिक संविधानलाई कुल्चने काम हुँदा समेत सडकमा आएर बोल्न नसक्ने सभापति देउवालाई के भन्ने ? कोसँग किन डराए ? केमा लोभिए ? कमैलाई थाहा होला ।

    ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भनेर प्रधानमन्त्री बन्न मुख मिठ्याउँदै राजदरबार छिरेका देउवाको चरित्र बुझिनसक्नु छ । यो असंवैधानिक कदमको विरुद्धमा कांग्रेस देउवापक्ष र इतरपक्षमा सीमित रहेन । देउवा गुटका बलिया नेता संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँण पनि प्रमको यो असंवैधानिक कदमको विरोधमा खुलेरै निस्किए ।

    केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा कांग्रेस नेता रामचन्द्र पौडेलको राजनैतिक अडान ठीक देखियो । लोकतन्त्र, विधिविधानलाई जस्तोसुकै परिस्थितिमा सर्वोेपरि ठान्ने सर्वमान्य नेता गणेशमान पुत्र प्रकाशमान सिंहको राजनीतिक अडानले धेरैलाई आत्मविश्वास र नैतिकबल प्रदान ग¥यो । जहिले पनि लोकतान्त्रिक व्यवस्थामा संकट आइपर्दा राजनीतिकर्मी, दलहरूले स्मरण गर्ने र निकास दिने ऐतिहासिक थलो हो, चाक्सीवारी । २००७ सालदेखि अहिलेसम्मका हरेकजसो राजनीतिक घटनाक्रम र संकटका बेला गणेशमान सिंह निवास चाक्सीवारीको विशेष भूमिका रहेको छ ।

    यो असंवैधानिक कदमका विरुद्धमा कांग्रेस केन्द्रीय कमिटी मीटिङमा ठूलै चर्काचर्की भयो । असंवैधानिक कदम विरुद्धमा अडान लिन खोज्दा नेता रामचन्द्र पौडेलमाथि देउवा निकट नेताबाट हमला हुन खोजेको कुरा मिडियाबाट बाहिर आयो ।

    केन्द्रीय बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहको दमदार मन्तव्यले सभापति देउवाको जिद्दी र एकोहोरोपनलाई कमजोर बनाइदियो । बौद्धिक नेता पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले लिखित मन्तव्य बुझाएपछि सभापति देउवा प्रमको असंवैधानिक कदमको विरुद्धमा जानै पर्ने भो । मीटिङमा आफ्नो भनाइ राख्न नपाउने जुझारु नेताहरू मिडिया र सभामा रन्किन थालेपछि झन् गल्न थाले सभापति देउवा ।

    द्वन्द्वकालदेखिका राजनीतिक मित्र प्रचण्ड र आफू विपक्षी दल भए पनि मागेको भाग दिने, आफूलाई अप्ठ्यारो नपार्ने उनका अर्का मित्र हुन् प्रम केपी ओली । कसलाई साथ दिने यही कुराको दोधारमा छन् देउवा । जोसँग मिले पनि उनको ‘मुख मिठास’ चाहिं फेरि प्रधानमन्त्री हुन खोज्ने नै हो । देशमा लोकतन्त्र संरक्षण र सबल पार्टी संगठनतर्फ उनलाई केही मतलब छैन ।

    असहज परिस्थितिमा मुख मिठास गर्न खोज्ने, जिद्दी, एकोहोरो स्वभाव र विधिविधानलाई छल्न खोज्ने अधिनायकवाद शैलीका छन् सभापति देउवा । कांग्रेस नेतृत्व इतरपक्ष सबै जना एक भएर सधैं मुख मिठ्याउने देउवालाई रोक्न सकेनन् भने देशको लोकतान्त्रिक व्यवस्था र नेपाली कांग्रेस फेरि दुर्घटनामा पर्न सक्छ ।

    (लेखक, गणेशमान सिंह स्मृति पुस्तकालय, रूपन्देहीको अध्यक्ष हुन् ।)

  • सु चीलाई तत्काल रिहा गर्न म्यानमार सेनासँग देउवाको आग्रह

    सु चीलाई तत्काल रिहा गर्न म्यानमार सेनासँग देउवाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सु चीलाई रिहा गर्न अनुरोध गरेका छन् ।

    देउवाले सोमबार ट्वीट गर्दै सू चीलाई गिरफ्तार गरिएकोप्रति टिप्पणी गर्दै तत्काल रिहा गर्न माग गरेका हुन् । ‘नेपाली कांग्रेस म्यानमारको सैनिकलाई आङ सान सु चीलाई तुरुन्त रिहा गर्न र निर्वाचित सरकारको पुनःबहाली गर्न आग्रह गर्दछ’, देउवाले लेखेका छन् ।

    नेतृ आङ सान सु चीलगायत उच्च पदस्थलाई गिरफ्तार गर्दै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको छ ।

  • मतभेद बिर्सेर शहीदका सपना पूरा गर्ने संकल्प गरौंः देउवा

    मतभेद बिर्सेर शहीदका सपना पूरा गर्ने संकल्प गरौंः देउवा

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवले शहीद दिवसको अवसरमा शुभकामना सन्देशमार्फत शहीदको सपना पूरा गर्न सानातिना मतभेद बिर्सेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    आज विज्ञप्ति जारी गर्दै देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेबारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त, समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेबार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

    ‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको स्वतन्त्रता र अभिमानको रक्षा हुन्छ, यसबाट नै बिसंगतीको अन्त्य हुन्छ,’ वक्तव्यमा भनिएको छ, ‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’

  • देउवाका दु:ख- शरीर आन्दोलनमा, आत्मा चुनावमा

    देउवाका दु:ख- शरीर आन्दोलनमा, आत्मा चुनावमा

    काठमाडौं । हिजो बसेको कांग्रेस केन्द्रीय कार्य वैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिनको नयाँ आन्दोलन कार्यक्रम तय गर्‍याे। सभापति शेरबहादुर देउवाको भित्री इच्छाविपरित पार्टीले आन्दोलनलाई निरन्तरता दिने निर्णय लिएको बुझ्न कठिन छैन ।

    वैठकको अन्तिम दिन देउवा मौनप्राय थिए । वैठक अगाडि नै रामचन्द्र पौडेलसँग तेस्रो चरणको आन्दोलनका विषयमा सहमति गरिसकेका उनले वैठकमा केही बोलेनन् । यसले पनि उनको असन्तोष झल्किन्छ । वैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डामा कांग्रेसभित्र कुनै द्विविधा नरहेको स्पष्टीकरण दिन खोजे ।

    हुन त कांग्रसले घोषणा गरेका आन्दोलन कडा खालका छैनन् । जम्माजम्मी तीन दिनका लागि कार्यक्रम बनाइएको छ, ती पनि राजधानी केन्द्रित छैनन् । त्यसैले यो आन्दोलन एउटा औपचारिकता हो भन्ने बुझाई कांग्रेसभित्रै छ । र, पनि कांग्रेसको यो निर्णय देउवाका लागि राजनीतिक परिवन्द हो ।

    प्रधानमन्त्रीले हठात प्रतिनिधिसभा विघटन गरेलगत्तै त्यसको धेरैतिरबाट विरोध भयो । तर, देउवा भित्रभित्रै हौसिए । मुखले प्रष्ट भन्न नसके पनि प्रतिनिधिसभा विघटनमा उनी रमाएका छन् भन्ने बडी ल्याङ्वेजबाटै बुझ्न सकिन्थ्यो । मुद्दा अदालतमा गइसकेपछि उनलाई मुख खोल्न सहज भयो । उनले अदालतमा विचाराधिन मुद्दामा कांग्रेसले आन्दोलन गर्न नहुने मत राखे । तर, आफ्नो मतलाई पार्टीमा स्थापित गर्न सकेनन् ।

    कांग्रेसभित्रका ‘प्रतिपक्षी नेता’ रामचन्द्र पौडेल पछिल्ला दिनमा सरकार र प्रधानमन्त्रीप्रति आक्रामक थिए । तनहुँमा आफूलाई प्रहरीले कठालो समातेको रिस उनलाई अझै मरेको छैन । साथै, लोकतन्त्र र संविधानका पक्षपाति उनी प्रधानमन्त्रीको कदमको कडा विरोधमा उत्रिए । पार्टीभित्र गगन थापा पनि उनीजस्तै उग्र विरोधमा थिए । ओलीले चालेको कदम संविधान बमोजिम छैन भन्नेमा पार्टीको ठूलो हिस्सा स्पष्ट देखिएपछि देउवालाई सकस भयो । उनी आन्दोलनमा लतारिन वाध्य भए । मनले चुनाव–चुनाव भनिरहेको थियो, तनलाई उनले जबरजस्ती आन्दोलनमा हुत्याए ।

    मंगलबारको वैठकपछि कांग्रेसले आफ्नो कित्ता झन् क्लियर गरेको छ । देउवाले यदि चुनावको वकालत गरेका भए उनी अल्पमतमा पर्ने थिए । तसर्थ उनी मौन बसे । रामचन्द्रको लाइन पार्टीमा पारित भएको छ ।

    देउवाका अवसर

    देउवा आखिर किन चुनावमा जान उत्साहित छन् ? मुख्य कारण भनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजन नै हो । मुख्य प्रतिस्पर्धि पार्टी दुई फ्याक भएको अवस्थालाई देउवाले अभूतपूर्व अवसरका रुपमा लिएका छन् । कांग्रेसलाई चुनाव जित्नका लागि योभन्दा राम्रो मौका अर्को नहुने उनको विश्लेषण छ ।

    कांग्रेसले यदि बहुमत ल्याएमा प्रधानमन्त्रीका दावेदार देउवा नै हुन् । यही पदआकांक्षाले उनलाई शीरदेखि पैतलासम्म तरंगित तुल्याएको छ । यदि अहिले चुनाव नभएर दुई वर्षपछि भयो भने त्यतिबेलाको माहोल फरक भइसक्छ । कम्युनिष्ट पार्टी एक हुन पनि सक्छन् ।

    तर, यदि सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गर्यो भने पनि देउवाका लागि अवसरको ढोका बन्द चाहिँ हुँदैन । प्रतिनिधिसभा पुनर्स्थापना भएमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने निश्चित नै छ । कांग्रेसले काँध नथामे सरकार ढल्ने पनि पक्का नै छ । त्यो अवस्थामा नेकपाका दुवै समुहले देउवालाई बोक्न प्रतिस्पर्धा गर्नेछन् ।

    अहिले नै पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छौं भनिसकेका छन् । यता, ओली समूहले पनि प्रचण्डलाई सत्ताबाट पर धकेल्नका निम्ति देउवासँग गठवन्धनको प्रस्ताव राख्न सक्छ । एकप्रकारले भन्दा देउवाका दुवै हातमा लड्डु छ । खान कति ढंग पुर्‍याउँछन् भन्ने मात्र हो ।

  • देउवाले भने- जसले मुख्यमन्त्री दिन्छ उसैसँग मिल्ने, इन्द्र बानियाँलाई काठमाडौं बोलाइयो

    देउवाले भने- जसले मुख्यमन्त्री दिन्छ उसैसँग मिल्ने, इन्द्र बानियाँलाई काठमाडौं बोलाइयो

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले वागमती प्रदेशमा जसले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई सहयोग गर्ने बताएका छन् ।

    आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुँदैछ ।

    नेकपाको प्रचण्ड माधव पक्षले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसको धारणा तय गर्न आफ्नै निवास बूढानीलकण्ठमा बसेको अनौपचारिक बैठकमा देउवाले जुन पक्षले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई साथ दिने बताएका हुन् ।

    बैठकमा सहभागी एक नेताले नेपालप्रेससँग भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल सहित वागमतीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको परामर्श बैठक हो । शुरुमै सभापतिले जसले मुख्यमन्त्री हामीलाई दिन्छ उसैलाई सघाउने हो भन्नुभयो तर यो निर्णय नै चाहिँ होइन ।’

    उनका अनुसार पहिले अविश्वास प्रस्ताव टेबुल होस त्यसपछि थप छलफल गर्ने सहमति भएको छ । प्रदेशभित्रको अवस्था बुझ्न प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको छ ।

    बैठकमा रामचन्द्र पौडेल,रामशरण महत,गगन थापा,नविन्द्रराज जोशी लगायतका नेता सहभागी थिए ।

  • संसद विघटनविरुद्ध स्थानीय तहमा भोलि हुने प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

    संसद विघटनविरुद्ध स्थानीय तहमा भोलि हुने प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध शनिबार देशभरका स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

    सभापति देउवाले ७ सय ५३ वटै स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रममा सक्रिय सहभागिता जनाई विरोध प्रदर्शन सफल बनाउन शुक्रबार एक अपिलमार्फत् आग्रह गरेका हुन् ।

    कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध जनाइसकेको छ ।

  • देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टरलाई गोरखामा आकस्मिक अवतरण गरिएको छ । गाेरखाको पालुङटार नगरपालिका -२   स्थित  रीप गाउँमा  हेलिकप्टरलाई फोर्स ल्यान्ड गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपाल प्रेसलाई बताए ।

    कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए । देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए ।

    गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।

  • देउवालाई लाग्यो चुनाव, भन्छन्– ओली प्रचारमा हिंडिसके

    देउवालाई लाग्यो चुनाव, भन्छन्– ओली प्रचारमा हिंडिसके

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार देशैभरि प्रदर्शन गर्‍यो । पूर्व निर्धारित कार्यतालिका अनुसार देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन र सभाहरु गरेको हो ।

    सरकारविरुद्ध आन्दोलनको संज्ञा दिइए पनि कांग्रेसका प्रदर्शनहरु भने निर्वाचनको तयारीजस्तो देखिएका छन् । किनकि कांग्रेस सभापति शेरबहादुर देउवाले नै काठमाडौंमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा ‘संसद पुनःस्थापना नभए अहिलेको आन्दोलन नै चुनावको तयारी हुने’ बताएका छन् ।

    सभापति देउवा सडक आन्दोलनप्रति सुरुदेखि नै सकारात्मक थिएनन् । यद्यपि पार्टीको केन्द्रीय समितिको बैठकमा आन्दोलनमा जान दबाब बढेपछि देउवाले ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने’ रणनीति अपनाए ।

    आन्दोलन गर्ने तर शक्ति प्रदर्शन केन्द्रीकृत नगर्ने देउवाको रणनीति थियो । आन्दोलनमै जान बल गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सहमत गराएपछि कांग्रेसले पुस १९ गतेको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

    ‘हामी त चुनावबाटै शासन हुनुपर्छ भन्ने विचार राख्छौं । त्यसैले सधैं चुनावकै तयारीमा छौं । अदालतले चुनावमै जाने भन्यो भने यही आन्दोलनले चुनावको तयारी हुन्छ’, देउवाले भने ।

    ‘सरकारविरुद्ध प्रदर्शन गरेझैं पनि देखिन र चुनावको तयारी पनि हुने’ मोडलको कार्यक्रमअन्तर्गत शनिबार सबै प्रदेशसभा क्षेत्रमा प्रदर्शन गरियो । माघ ३ गते शनिबार कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ भने माघ ८ गते ६ हजार ७४३ वडामा प्रदर्शन हुँदैछ । यस्तो प्रदर्शन सरकारलाई राजनीतिक रुपमा दबाब दिने भन्दा कार्यकर्ता अल्मलाउने र चुनावको पूर्व तयारीको रुपमा लाभदायक हुने देखिन्छ ।

    कांग्रेस सभापति देउवाले शनिबार बूढानीलकण्ठमा सम्बोधन गर्ने क्रममा कार्यकर्ताहरुलाई चुनावको तयारी गर्न निर्देशन दिए । ‘हामी त चुनावबाटै शासन हुनुपर्छ भन्ने विचार राख्छौं । त्यसैले सधैं चुनावकै तयारीमा छौं । अदालतले चुनावमै जाने भन्यो भने यही आन्दोलनले चुनावको तयारी हुन्छ’, देउवाले भने । उनले संसद विघटनबारे उल्लेख्य विरोध जनाएनन् ।

    पार्टीबाट आन्दोलनको निर्णय गराए पनि देउवा चुनावकै मूडमा रहेको तथ्य उनकै अभिव्यक्तिबाट पुष्टि हुन्छ । ‘जुलुस गरेर अदालतलाई प्रभावित नगरौं । आन्दोलनबाट यसो गर उसो गर भन्न मिल्दैन । अदालतले जे भन्छ त्यो मान्नुपर्छ’, देउवाको भनाइ थियो ।

    विगतमा झैं शनिबारको प्रदर्शनमा पनि कतै संसद पुनःस्थापनाको पक्षमा नेताहरुले भाषण गरे भने कतै अदालतको फैसला पर्खनुपर्ने बताए । जता जसले जे भने पनि कांग्रेस नेतृत्वको मूड भने आन्दोलनभन्दा निर्वाचनतर्फ सोझिएको प्रष्ट हुन्छ । ‘प्रधानमन्त्री ओली आफैं भोट माग्न देशभर हिंड्न थालिसके हामी चै यत्तिकै बसेर हुँदैन’, सभापति देउवाको यही भनाइले देउवालाई चुनाव लागेको प्रष्ट हुन्छ ।

  • देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन् (भिडियोसहित)

    देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन् (भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । विघटनविरुद्ध देशभर प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई यो गर, त्यो गर भन्न नमिल्ने बताए ।

    देउवाले भने– अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर गर्‍यो भने कांग्रेस चुनावमा जान्छ,अरु पनि जान्छन् । सर्वोच्च अदालतमा ठूलो अदालत जनता हुन्,जनतामा जाँदा के बिग्रिन्छ ।

    तर ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ । ओलीले सुदूरपश्चिमको धनगढी पुृगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम गरेमा प्रचण्डहरु पनि चुनावमा आउने देउवाले बताए । प्रधानमन्त्री ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने देउवाले बताए ।

  • अमेरिकी संसदमा भएको घटनाबाट स्तब्ध : देउवा

    अमेरिकी संसदमा भएको घटनाबाट स्तब्ध : देउवा

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी संसदमा भएको आक्रमणको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । बुधबार ट्वीट गर्दै उनले शान्तिपूर्वक सत्ता हस्तान्तरण नै एकमात्र बाटो भएको उल्लेख गरेका छन् ।

    उनी लेख्छन् –अमेरिकी कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर म स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’ बुधबार राती ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा तोडफोड गर्दा भएको घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं पक्राउ परेका थिए ।

  • संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा

    संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने स्पष्ट पारेका छन् ।

    केन्द्रीय समितिको शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेण्डा संसद पुनःस्थापना हुनुपर्ने बताएका थिए ।

    पौडेललाई जवाफ दिने क्रममा देउवाले संसद पुनःस्थापना एजेण्डा बन्न नसक्ने बताएका हुन् । ‘संसदको विषय अदालतमा छ । अहिले त्यसबारेमा कुरै हुँदैन’, देउवाले भने ।

    कांग्रेसले पुस १३ गते सरकारको कदमको विरुद्धमा देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले पुस १९ गतेसम्म केन्द्रीय समितिको बैठक स्थगित समेत गरेको छ ।

    बैठक सकिनुअघि केही बोल्नुछ भन्दै पौडेलले समय मागेका थिए । सभापतिले समय उपलब्ध गराएपछि पौडेलले आन्दोलनको एजेण्डाबारे पार्टी प्रष्ट हुनुपर्ने बताए ।

    ‘आन्दोलनमा जाँदा पार्टीको बटमलाइन पनि त भन्नुपर्‍यो । संसद विघटन अवैधानिक हो भने पुनःस्थापना गर् भन्नु त पर्‍यो । झारा टार्ने गरी आन्दोलन तुहाउन खोजियो’, पौडेलले भनेका थिए । पौडेलको भनाइलाई कटाक्ष गर्ने क्रममा देउवाले अदालतमा विचाराधीन विषयमा सडकमा जान नसकिने बताएका हुन् ।

    लेखकले बोल्दा पौडेलको आपत्ति
    बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले संसद पुनःस्थापनाको विषय अदालतमा विचाराधीन रहेकोले त्यसबारे धेरै छलफल र आन्दोलन गर्न नहुने बताएका थिए । लेखकले त्यसो भन्नासाथ वरिष्ठ नेता पौडेलले ‘नियमापत्ति’ गरे ।

    पौडेलले संविधान मिचिएको र लोकतन्त्र मासिएको विषयमा बोल्न मिल्दैन भन्नु गलत भएको बताए । नेता पौडेलले लेखकलाई ‘सभापतिको फ्रेण्ड भएर त्यस्तो कुरा नगर्नुस्’ भनेका थिए ।

    केन्द्रीय समितिको बैठकमा पौडेल अन्य दिनभन्दा आक्रोशित देखिन्थे । बैठकबाट बाहिरिने क्रममा पनि पौडेल र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच ‘चर्को स्वरमै’ कुरा भएको थियो । सो क्रममा महतले ‘लोकतन्त्र कसैले मास्दैन चिन्ता नगर्नुस्’ भनेका थिए ।

    यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठकले सञ्चारमाध्यममा आएजस्तो पार्टीभित्रको छलफल अमर्यादित नभएको स्पष्टीकरण दिएको छ । बिहीबारको बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह तथा बुधबारको बैठकमा शंकर भण्डारी र गुरुराज घिमिरेबीच चर्काचर्की परेको थियो । तर सञ्चारमाध्यममा आएजस्तो ‘समस्या’ पार्टीभित्र नभएको दाबी गरिएको छ ।

  • देउवामाथि दबाब –ओलीलाई ‘सफ्ट सपोर्ट’ कि विरोधी मोर्चाको नेतृत्व ?

    देउवामाथि दबाब –ओलीलाई ‘सफ्ट सपोर्ट’ कि विरोधी मोर्चाको नेतृत्व ?

    काठमाडौं । ठीक तीन वर्षअघि यतिबेला नेपाली कांग्रेस पराजयको पीडा र कम्युनिष्टहरुको २५ वर्ष शासन चलाउने दम्भको चेपुवामा थियो ।  तीन वर्षपछि आज कांग्रेस अवसर, चुनौती र आफ्नै जिम्मेवारीको तेहरो चेपुवामा छ । शेरबहादुर देउवाले सोमबार सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री केपी ओली विरोधी मोर्चाको नेतृत्व सम्हाल्न खोजेको सन्देश दिएका हुन् ?

    अहिले नै देउवाले ओली विरोधी मोर्चाको नेतृत्व लिएको निष्कर्षमा पुग्नु हतारो हुनसक्छ । तर पनि कांग्रेस प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन, ओलीले घोषणा गरेको चुनाव र आफ्नै महाधिवेशनको तेहरो बाध्यतामा देखिन्छ । देउवाको भूमिकालाई लिएर उनकै पार्टी र प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाले आशंका गरिरहेको बेला उनले अब आफ्नो पोजिशन प्रष्ट पार्नुपर्ने दबाब पनि बढ्नेछ ।

    २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दियो । मुलुकको राजनीति सीधा रेखामा हिंडेको भए अझै दुई वर्ष कांग्रेस प्रतिपक्षी भूमिका रहने थियो । सके फागुनमा नसके भदौभित्र पार्टीको महाधिवेशन गर्नैपर्ने दबाबमा थियो ।

    सरकारलाई ‘सर्वसत्तावादको अभ्यास गरेको’ आरोप लगाएर कांग्रेस सडकमा उत्रिसकेको थियो । तर सरकारविरुद्ध व्यवस्थित आन्दोलनभन्दा महाधिवेशन कांग्रेसको प्राथमिकता थियो । प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णयले मुलुकको मात्रै होइन कांग्रेसको पनि प्राथमिकता बदलिएको छ । महाधिवेशन, आम निर्वाचन र आन्दोलनमध्ये कुन बाटो लिने ? कांग्रेसले तय गर्नुपर्ने भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रतिवादका लागि कांग्रेसले उपयुक्त निर्णय लिने जनाइसकेका छन् । प्रतिनिधिसभा विघटन प्रकरणको विपक्षमा रहेका दलहरुसँग कांग्रेस नेतृत्वले परामर्श थालेको छ ।

    सोमबार साँझको सर्वदलीय बैठकले संयुक्त प्रतिवाद गर्ने निर्णय गरेपछि कांग्रेस आन्दोलनमा होमिने निश्चित भएको छ । सर्वदलीय बैठकमार्फत ओली विरोधी मोर्चाको अगुवाई गर्दै कांग्रेसले प्रतिनिधिसभा विघटन फिर्ता गराउन अग्रसरता लिएको छ । तर कांग्रेसभित्रै निर्वाचनको तयारी पार्टीको प्राथमिकतामा पर्नुपर्ने आवाज यथावत् छ ।

    ओलीलाई देउवाको ‘सफ्ट सपोर्ट’ ?

    संवैधानिक नियुक्तिमा सभापति देउवासमेतले भाग पाएका कारण कांग्रेसवृत्तमा ओलीको ‘स्टेप’ मा देउवाको ‘सफ्ट सपोर्ट’ रहेको चर्चा छ । आन्तरिक विषय जे भए पनि कांग्रेस नेतृत्व तत्कालका लागि ओली कदमको विरुद्धमा उभिएको छ । कांग्रेसको यो अग्रसरता सर्वोच्च अदालतबाट न्यायिक निरुपण नहुँदासम्मका लागि मात्रै हुनसक्ने आकलन गरिएको छ ।

    किनकि आफ्नो कमजोर उपस्थिति रहेको संसद ब्युँताउने भन्दा मध्यावधि निर्वाचनबाट पार्टीलाई पहिलो बनाउने ‘अवसर’ कांग्रेसलाई छ ।

    फागुन ७ गतेका लागि तय भएको कांग्रेस महाधिवेशनको कार्यतालिका यही साता हेरफेर गर्ने तयारी हुँदै थियो । फागुनमा महाधिवेशन हुननसक्ने अवस्था बनेकोले जेठ वा भदौमा महाधिवेशन गर्ने विषय आन्तरिक छलफलमै थियो ।

    पछिल्लो राजनीतिक घटनाक्रमले कांग्रेस महाधिवेशनलाई ओझेलमा पार्ने देखिन्छ । संसद विघटनलाई न्यायालयले सदर गरेको अवस्थामा मध्यावधि निर्वाचनअघि कांग्रेस महाधिवेशन नहुन सक्छ ।

    संवैधानिक दृष्टिले भदौसम्म महाधिवेशन गर्नैपर्ने दबाबमा कांग्रेस रहेको छ । मंसिर मसान्तसम्म सकिनुपर्ने क्रियाशील सदस्यता वितरणको काम अझै सकिएको छैन । महाधिवेशनका लागि कम्तीमा चार महिना तयारी अवधि लाग्ने तथा राष्ट्रिय राजनीतिको बदलिंदो परिस्थितिका कारण कांग्रेस महाधिवेशन अन्याेलमा परेको हो ।

    संसद विघटन हुनुअगावै कांग्रेसले मंसिर २९ मा देशैभरि सरकारविरुद्ध प्रदर्शन गरेको थियो । कांग्रेसले सडक र सदनबाट ‘सर्वसत्तावाद’ विरुद्ध संघर्ष गरेको केहीदिनमै संसद विघटन भएको छ ।

    अब कांग्रेसका सामु सडकको विकल्प बाँकी नै छ । तर मध्यावधि निर्वाचन हुने अवस्था बनेमा आन्दोलन कांग्रेसका लागि उपयुक्त विकल्प नरहन सक्छ । कांग्रेस केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी निर्वाचन पार्टीका लागि उपयुक्त विकल्प रहेको बताउँछन् ।

    ‘अहिले आन्दोलन कांग्रेसको विकल्प होइन । संविधान जोगाउन ताजा जनादेशबाट बहुमत हासिल गर्नुपर्छ । पार्टी जोगाउन विधानअनुसार महाधिवेशन गरिहाल्नुपर्छ’, भण्डारीले नेपाल प्रेससँग भने ।

    नेपाली कांग्रेसकाे आह्वानमा सोमबार पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठक । तस्बिर: निशान्त सिंह गुरुङ/नेपालप्रेस

    चुनाव कि आन्दोलन

    अघिल्लो निर्वाचनमा देशभरका १६५ मध्ये २३ प्रतिनिधिसभा क्षेत्रमा मात्रै कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए । नेकपाको ‘विभाजन’ बाट प्रचुर लाभ लिन सम्भव हुने देखेका कांग्रेसका अधिकांश नेताहरु सरकारलाई निर्वाचन तोकिएकै मितिमा गराउन दबाब दिनुपर्ने पक्षमा छन् ।

    ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक हो । सकभर न्यायालयले संसद विघटनलाई अस्वीकृत गर्ला । गरेन भने पनि कांग्रेसले निर्वाचनको तयारी थाल्नुपर्छ’, कांग्रेसका एक पदाधिकारीले भने ।

    कांग्रेस नेताहरुको आइतबार बूढानीलकण्ठमा बसेको बैठकमा पनि निर्वाचनमा होमिन तयार हुनुपर्ने आवाज उठेको थियो ।

    जनमतमा कमजोर भए पनि दुई तिहाइको सरकार आन्तरिक कारणले ‘असफल’ सावित हुँदा त्यसको राजनीतिक लाभ कांग्रेसलाई हुने देखिन्छ । कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेकै बेला सुरु भएको नयाँ राजनीतिक अध्यायले भने कांग्रेसजनलाई झन् अलमलमा पारेको छ ।

    ‘महाधिवेशन गर्नैपर्ने, आन्दोलनमा देखिनैपर्ने र चुनावमा लड्नैपर्ने बाध्यता कांग्रेससँग छ । यी तीनवटै प्राथमिकतालाई व्यवस्थित गरेर जानुको विकल्प छैन’, केन्द्रीय सदस्य भण्डारीको भनाइ छ ।

    सोमबारको सर्वदलीय बैठकमा नेकपा नेताहरुले देउवाको पोजिशन स्पष्ट होस् भन्ने आशय व्यक्त गरेका छन् । उनीहरुले कांग्रेस ओलीको कदमको ‘सफ्ट सपोर्ट’ गर्दै चुनावको तयारीमा जुट्छ कि असंवैधानिक भनिएको कदम विरुद्ध प्रचण्डलाई साथमा लिएर राजनीतिक र कानूनी लडाईंमा जान्छ ? शायद आजको केन्द्रीय कार्य समिति बैठकले कांग्रेसको दिशा तय गर्नेछ ।

  • कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    काठमाडौं । ‘रूख’ नेपाली कांग्रेसको चुनाव चिन्ह । कांग्रेसजनको आस्थाले प्रेम गर्ने ‘रूख’मा पार्टीको विचार, सिद्धान्त र संगठन फक्रन छाडेका छन् । कांग्रेस गुटहरूको महासंघ झैं देखिंदा रूखका भन्दा गुटका हाँगा झाङ्गिदै छन् ।

    नेपाली कांग्रेसमा झट्ट हेर्दा दुई गुट देखिन्छन् । अलिक चासो दियो भने तीन वटा गुट त प्रष्टै देखिन्छन् । कांग्रेसको आन्तरिक राजनीतिको सबै पाटो केलाएर हेर्ने हो भने चैं कांग्रेसभित्र दर्जन गुट छन् । ती गुटहरू आफू अनुकूल पार्टी हाँक्न वा पार्टीबाट प्राप्त हुने स्वार्थ हासिल गर्न वर्षौंदेखि सक्रिय छन् ।

    कांग्रेस वृत्तमा कांग्रेस भन्नु नै ‘गुटहरूको महासंघ’ हो भन्ने उक्ति चर्चामा छ । आजको सग्लो कांग्रेसको स्थापना नै दुई अलग पार्टीको एकताबाट भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय नै थिए । वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकराव होस् वा वीपी र सुवर्ण शमशेरबीचको आन्तरिक संघर्ष, ती सबै कांग्रेसको तत्कालीन गुटहरूको प्रभाव थिए । पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति भट्टराई पराजित भएपछि प्रधानमन्त्री बन्ने अवसर कोइरालालाई प्राप्त भयो । प्रधानमन्त्री बने पनि पार्टीभित्र आफ्नो प्रभाव भट्टराईको भन्दा कम रहेको बुझेपछि सत्ताकै सहयोगमा कोइरालाले गुट विस्तार गरे । ७५ मध्येका ६६ जिल्ला सभापति भट्टराईको पक्षमा रहेकाले पार्टीभित्र समेत पकड बनाउने उद्देश्य राखेर कोइरालाले २०४९ सालमै स्थानीय निर्वाचन गराए । काठमाडौं महानगरपालिका बाहेक देशका अधिकांश प्रभावशाली नगर र गाउँमा कोइरालाले आफूनिकटलाई टिकट दिन सफल भए । यही कारण कोइराला गुट कांग्रेसमा बलियो बन्दै गयो ।

    नेपाली कांग्रेसको १३औं महाधिवेशनमा भएको प्रतिस्पर्धालाई आधार मान्ने हो भने कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका मुख्य तीन वटा गुट क्रियाशील छन् । सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    निरन्तरको आन्तरिक प्रतिस्पर्धाबाट कांग्रेसको मूल नेतृत्वमा स्थापित पनि भए । पार्टी सभापति भए पनि देउवा नेतृत्वको गुट कांग्रेसमा अहिले सबैभन्दा ठूलो र प्रभावकारी छ । १३औं महाधिवेशनयता देउवाको गुटमा नेताहरूको संख्या बढ्दै पनि गएको छ तर आसन्न महाधिवेशनमा देउवाको गुट ‘एकढिक्का’ रहने सम्भावना ज्यादै न्यून छ । देउवा नेतृत्वको गुटभित्र उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारको आ–आफ्नै उपगुट रहेका छन् । त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पनि छुट्टै उपगुट रहेको छ । खड्काको गुटमा स्वर्गीय खुमबहादुर खड्काको ‘लिगेसी’ जोडिएका नेताहरू सक्रिय छन् । सह–महामन्त्री डा. प्रकाशशरण महत र नेता बालकृष्ण खाँडको नेतृत्वमा पनि उपगुट सक्रिय रहेका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता एनपी साउद पनि देउवा गुटभित्रका प्रभावशाली नेता हुन् । देउवा समूहभित्र पनि उनको आफ्नै शक्ति छ ।

    १३औं महाधिवेशनमा देउवाको निकटतम प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गुटको नेतृत्व गरेको लामो अनुभव छैन । २०४६ सालयता गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेतृत्वको गुटमा रहेका पौडेल अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि मात्रै गुटको हर्ताकर्ता बनेका हुन् । पौडेलको गुटमा पार्टी पदाधिकारी भइसकेका भेट्रान नेताहरूको उपस्थिति त छ तर ती सबैका आ–आफ्नै उपगुट छन् । यसर्थमा पौडेल नेतृत्वको गुट पनि आफैंमा उपगुटहरूको मोर्चा जस्तो देखिन्छ । जसभित्र महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाको नेतृत्वमा उपगुटहरू सक्रिय छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनबाट कांग्रेसमा बनेको नयाँ गुटको नेतृत्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्छन् । पार्टीको आन्तरिक राजनीतिमा लामो समय कोइराला परिवारको निकट रहेर काम गरेका सिटौला आफूलाई ‘गिरिजाबाबु र सुशील दा’ को उत्तराधिकारी भन्न रुचाउँछन् । संसदीय दलको निर्वाचन र पार्टीका अन्य निर्णयहरूमा अभिव्यक्त मत र रुझानको विश्लेषण गर्ने हो भने सिटौलाको नेतृत्वमा गुट त छ तर गुटभित्रका नेताहरूको रुचि अन्य गुटमा बढी छ । जस्तो कि संसदीय दलको निर्वाचनमा सिटौला पक्षका सांसद गगन थापाले प्रकाशमान सिंहलाई मत दिए तर सोही गुटका उमाकान्त चौधरी र भीमसेनदास प्रधानले शेरबहादुर देउवालाई मत दिए । केन्द्रीय सदस्यहरू कोही सभापति देउवासँग अति निकट छन् भने कोही वरिष्ठ नेता पौडेलसँग । यसर्थ सिटौला नेतृत्वको गुटभित्र पनि उपगुटहरूको प्रभाव छ । त्यहाँ गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीका आ–आफ्नै उपगुट रहेका छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनमा सभापति देउवाको प्रस्तावक बनेका पूर्व महामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा पनि कांग्रेसमा गुट सक्रिय छ । गोविन्दराज जोशी (निष्कासित), विनयध्वज चन्द, लक्ष्मण घिमिरेलगायतका नेताहरू गुरुङको गुटमा छन् ।

    कांग्रेसमा रहेका यी गुटहरूको मुख्य भूमिका पार्टीभित्र आफ्नो ‘दुनो सोझ्याउनु’ हो । कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको बुझाइमा कांग्रेसमा विचारको नभई ‘बार्गेनिङ’ को गुट छ । ‘कुनै खास विचार र योजनाका लागि मन मिल्नेहरूबीच सहकार्य भएको भए गुट राम्रो हुन्थ्यो । आफ्नो स्वार्थ पूरा गर्न र बार्गेनिङ गर्नका लागि कांग्रेसका गुटहरू सक्रिय देखिन्छन्’, आङदेम्बेले भने ।

    केन्द्रीय सदस्य प्रदीप पौडेल कांग्रेसका परम्परागत गुटहरू भत्काउनुको विकल्प नरहेको बताउँछन् । ‘जीवन्त पार्टीमा समूहहरू हुने कुरा स्वाभाविक हो तर कांग्रेसमा जुन परम्परागत गुटबन्दी छ यसले पार्टीको हित गरिरहेको छैन । त्यसैले पुराना गुटहरू भत्काउन प्रयास गर्नुपर्छ’, पौडेलले भने ।

    गुटको आलोचना गर्ने नेताहरू स्वयं भने कुनै न कुनै गुटमा लागेकै देखिन्छन् । केन्द्रीय सदस्य आङदेम्बे पार्टीभित्र गुटमा नहुनेले बाँच्नै नसक्ने स्थिति बनाइएकोले यस्तो अवस्था आएको दाबी गर्छन् ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा कांग्रेसमा गुटहरूको प्रभाव स्थापनाकालदेखि नै छ । कांग्रेसका गुटले समग्र पार्टीभन्दा पार्टीभित्रको निश्चित समूहलाई लाभ हुने गरेको छ । ‘गुटका कारण धेरै नेताले अवसर पाएका छन् । गुटप्रतिको प्रतिबद्धता नै कांग्रेसीको योग्यता भइसक्यो’, आचार्यले भने । कांग्रेसमा गुट उपगुटहरूको प्रभाव फैलँदो क्रममा रहेको छ । जसले आसन्न महाधिवेशनलाई बढी प्रभावित पार्ने देखिन्छ ।

    निर्विरोध रहेनन् देउवा

    सभापति शेरबहादुर देउवा इतर समूहबाट जति आलोचित भए पनि आफ्नो गुटभित्र निर्विरोध रहँदै आएका थिए । तर यसपटक भने आफ्नै गुटभित्र देउवा निर्विरोध छैनन् । राजनीतिको लामो यात्रामा देउवाको सारथि रहेका उपसभापति विमलेन्द्र निधि आफैं सभापति लड्ने तयारीमा छन् । सभापतिमा दोहोरिने देउवाको इच्छा हुँदाहुँदै निधिले पनि दाबी गर्नुले देउवालाई समस्यामा पारेको छ । सभापतिको उम्मेदवारीसँगै कार्यकर्ता भेटघाट र छलफललाई तीव्रता दिएका निधिले आफ्नो छुट्टै गुट मात्रै निर्माण गरेका छैनन् त्यसलाई एकताबद्ध राख्न प्रयास पनि गरिरहेका छन् ।

    आफ्नैको पेलानमा पौडेल

    वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता हुन् । तर आफ्नै गुटभित्रका नेताहरू मिलाउन पौडेललाई हम्मे–हम्मे परेको छ । प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा.शेखर कोइराला आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा सबैले पौडेललाई सघाएका भए पनि यतिबेला पौडेल आफ्नैको पेलानमा परेका छन् । सभापति देउवा आलोचित हुँदा आफूले राजनीतिक लाभ लिउँला भन्ने सोचेका पौडेल आफ्नै गुट सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

    सिटौला कसको सारथि ?

    कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आफूलाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको राजनीतिक सारथि भन्न रुचाउँछन् । अघिल्लो महाधिवेशनमा कसैको सारथि नबनी आफैं सभापतिको दावेदार बनेका सिटौलाले यसपटक के गर्लान् ? कांग्रेसवृत्तमा चासो बढेको छ । सिटौला गुटभित्र रहेका नेताहरू गगन थापा र प्रदीप पौडेल देउवासँग मिल्न नहुने पक्षमा छन् भने उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई र भीमसेनदास प्रधान देउवासँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा सिटौलालाई आफ्नो गुट एकढिक्का राख्न चुनौती थपिएको छ ।

    गच्छदार र थापाले के गर्लान् ?

    कांग्रेस उपसभापति विजयकुमार गच्छदारको राजनीतिक सक्रियता पछिल्लो समय घटेको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘डामे’ पछि गच्छदार तनावमा छन् । तर तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकता गराएबापत प्राप्त शक्ति गच्छदारसँग छ । केन्द्रीय समितिमा गच्छदारबाहेक उनीनिकट ११ जना सदस्य र ६ जना आमन्त्रित सदस्य रहेका छन् । गच्छदारबाहेक हालै राप्रपाबाट आएका सहमहामन्त्री सुनीलबहादुर थापाको समूह पनि अहिले सभापति देउवा निकट नै छ । आसन्न महाधिवेशनमा कता लाग्ने भन्नेबारे थापा नेतृत्वको समूहले तय गरिसकेको छैन ।

    ‘कांग्रेसमा गुट होइन बार्गेनिङ समूह धेरै भए’
    भीष्मराज आङदेम्बे , संयोजक, केन्द्रीय अनुशासन समिति, नेपाली कांग्रेस

    नेपाली कांग्रेस त गुटहरूको महासंघ भइसक्यो भन्छन् नि ?

    जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् त्यसमा आश्चर्य मान्नुपर्दैन । गुट भएपछि उपगुटहरू हुन्छन् त्यो पनि नौलो भएन । तर गुटहरू संस्थागत रूपमै मौलाउन थालेकाले यसले पार्टीलाई सिध्याउँदैछ । कांग्रेसको आकार खुम्चनुको पहिलो कारण नै गुट–उपगुट हो । निश्चित कामका लागि विचार मिल्नेहरूबीच गुट बनेको भए धेरै राम्रो हुन्थ्यो । तर कांग्रेसमा नेताको बुइँ चढेर अवसर हत्याउनकै लागि गुट बनाउने र गुटमा लाग्ने काम भयो । यसले गर्दा कांग्रेसभित्र विचार र संगठनभन्दा गुट निर्णायक हुन थाल्यो । त्यसले कांग्रेस गुटहरूको महासंघ बन्यो भन्नुभन्दा पनि गुटका कारण कांग्रेस अधोगतितर्फ लाग्यो भन्ने लाग्छ ।

    महाधिवेशन नजिकिंदै जाँदा त गुट बन्ने, भत्कने, फेरबदल हुने भइरहेको छ नि, यसले पार्टीलाई कत्तिको असर गर्ला ?

    गुट भनेको जहिले पनि स्वार्थहरूको समूह हो । यो कहिल्यै पनि दीर्घजीवी हुँदैन । विचारका लागि बनेका एकथरी गुट हुन्छन् । कांग्रेसमा त्यस्ता गुटहरू बनेका छैनन् । आफ्नो अस्तित्व जोगाउन र आफ्ना मान्छेलाई अवसर दिन कांग्रेसका गुटहरू बनेका हुन् । महाधिवेशन आइरहेकोले अवसरको खोजीमा नेता कार्यकर्ताहरूले उपयुक्त गुट छान्न यताउता हुने कुरा स्वाभाविक छ । महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले गुट चलाउने प्रयास गर्नुभएको छ । महाधिवेशनमा कम्तीमा दोस्रो पुस्ताले गुटभन्दा माथि उठेर भूमिका खेल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरूले चाहेमा गुट रोकिन सक्छ । गुटले मात्रै पार्टीलाई फाइदा गर्दैन, प्रतिस्पर्धाका लागि समूह बन्ने कुराले पार्टीलाई हानि गर्दैन । मुख्य कुरा लोकतान्त्रिक संस्कार र हार्दिक प्रतिस्पर्धा हुनुपर्छ । बार्गेनिङका लागि मात्रै गुट चलाउनेहरूलाई महाधिवेशनले पाठ सिकाउनुपर्छ ।

    गुटले अनुशासनमा चैं कत्तिको असर पारेको छ त ?

    कांग्रेसका तल्लो तहका कार्यकर्तामा गुटभन्दा पार्टी बलियो भए हुन्थ्यो भन्ने छ । तर कांग्रेसमा जति ठूला नेता छन् उत्ति धेरै गुटलाई प्राथमिकता दिएका छन् । नेताले नै गुटबन्दीलाई वडासम्म लैजान चाहेका छन् । अनुशासन समितिमा रहेर काम गरेको अनुभवमा गुटकै कारण अनुशासनको घेरा तोड्ने काम भएको छ । एउटा गुटकोले टिकट पाए अर्को गुटले नसघाउने प्रवृत्ति छ । गुटको असर नेतालाई भन्दा कार्यकर्तालाई नै बढी परेको छ । जुन दिन आम कार्यकर्ताले यो यथार्थ बुझ्छन् त्यही दिन गुटको झण्डा बोक्नेलाई कार्यकर्ताले लखेट्नेछन् ।