Tag: शेरबहादुर देउवा

  • महाधिवेशनका लागि पौडेल पक्षको दवाव, देउवासंग वार्ता गर्ने जिम्मा कोइरालालाई

    महाधिवेशनका लागि पौडेल पक्षको दवाव, देउवासंग वार्ता गर्ने जिम्मा कोइरालालाई

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको मितिभन्दा सर्न नदिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दवाव बढाउने भएको छ । पौडेल पक्षका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको आज बसेको भर्चुअल बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

    ‘महाधिवेशन गर्नैपर्ने संवैधानिक संकट पार्टीसामु छ । प्रतिकुल परिस्थितिका बावजुद कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेबारे पार्टीभित्र छलफल हुनुपर्ने देखिएको छ । आज हामीले महामन्त्री मार्फत् केन्द्रीय समिति बैठक बोलाउन पहल गर्ने निर्णय गरेका छौं’, वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल प्रेससँगभने ।

    पौडेलका अनुसार पार्टीको वैधानिक अस्तित्व रक्षा गर्न सम्भावित विकल्पबारे पार्टीभित्र खुल्ला छलफल गर्न प्रस्ताव गरिएको छ ।

    ‘आपसमा बसेर महाधिवेशन गर्ने र संवैधानिक संकट टार्ने विषयमा खुला छलफल गर्न हामीले प्रस्ताव गरेका छौं’, पौडेलले भने । उनले संविधानले दिएको अन्तिम अवधी खेर फाल्न नहुनेमा अधिकांश केन्द्रीय नेताहरुले जोड दिएको जानकारी दिए ।

    निर्विवाद सदस्यताबाट महाधिवेशन

    पौडेल पक्षको बैठकमा अधिकांश नेताहरुले विवादित क्रियाशील सदस्यता थाँती राखेर भएपनि महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । बैठकले क्रियाशील सदस्यता छानबिन समितिबाट निर्विवाद रुपमा टुंगिएका सदस्यताको आधारमै महाधिवेशन गर्न सकिने विकल्पमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

    ‘विवादित सदस्यता अर्को महाधिवेशनलाई थाँती राख्ने प्रचलन पनि छ । क्रियाशीलमा सहमति गरेर पार्टीको वैधानिकता जोगाउनुपर्छ भन्ने निष्कर्ष रह्यो’, केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने ।

    घिमिरेका अनुसार बृहद सभा सम्मेलन सम्भव नभएकोले प्रविधिको उच्चतम प्रयोग गर्ने विकल्पबारे पनि छलफल भएको छ । त्यस्तै सदस्यता छानबिन समितिले तत्काल बाँकी काम सुचारु गर्ने, समायोजन रोकिएका जिल्लाबारे महामन्त्रीले सभापतिसंग छलफल गर्ने लगायतका निष्कर्ष बैठकले निकालेको छ ।

    देउवासंग कुरा गर्ने जिम्मा कोइरालालाई

    बैठकले पार्टीका आन्तरिक समस्या समाधानका विषयमा सभापति शेरबहादुर देउवासंग वार्ता गर्ने जिम्मा महामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।

    ‘महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता, समायोजन लगायत जतिपनि समस्या छन् त्यसबारे सभापतिसंग छलफल गर्ने जिम्मा महामन्त्रीलाई दिएका छौं’, वरिष्ठ नेता पौडेलले नेपाल प्रेससंग भने । भर्चुअल बैठकमा महामन्त्री कोइरालाले भदौमा पार्टीको महाधिवेशन जसरी पनि सम्पन्न गर्न आवश्यक कदम लिन आफू तयार रहेको बताएका थिए ।

    कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्मका लागि तोकिएको छ । यद्यपि कोरोनाका कारण उत्पन्न परिस्थिति र क्रियाशील सदस्यताको टुंगो नलागेका कारण महाधिवेशन अनिश्चित देखिदै आएको छ ।

    पौडेल पक्षको छलफलमा पूर्व महामन्त्री कृष्ण सिटौला नेतृत्वको समूहमा रहेका नेताहरु गगन थापा र प्रदीप पौडेल पनि सहभागि थिए ।

  • देउवाको चेतावनी- चुरे दोहन कार्यक्रम फिर्ता गर

    देउवाको चेतावनी- चुरे दोहन कार्यक्रम फिर्ता गर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमार्फत चुरे दोहनलाई प्रोत्साहन गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

    सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै खानीजन्य निर्माण सामाग्री दोहन गरी निकासी गर्ने कार्यक्रम तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका हुन् । ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

    सभापति देउवाले चुरे संरक्षणका लागि सुशील कोइराला नेतृत्वको तत्कालीन कांग्रेस सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको स्मरण समेत गराएका छन् ।
    यस्तो छ देउवाको विज्ञप्ति :

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरे दोहन कार्यक्रम तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्। उनले सरकारको यस्तो निर्णयलाई नीतिगत भ्रष्टाचार भन्दै आपत्ति जनाएका छन्।

    देउवाले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ।’
    देउवाले अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद् विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई कांग्रेसले गम्भीर रूपमा लिएको जनाएका छन्। देउवाले भनेका छन्, ‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोत सुक्न थालेको, भू-क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन्।’

    उनले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु अक्षम्य गल्ती भएको औंल्याएका छन्। देउवाले भनेका छन्, ‘यो प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो।’

    सभापति देउवाले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समितिमार्फत विभिन्न मापदण्ड निर्धारण गरेको स्मरण गराएका छन्। त्यति बेला ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाइएको थियो।

    विज्ञप्तिमा उल्लेख छ, ‘नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाएजस्तो’ मात्रै हो।’ देउवाले देशले वर्षौंदेखि व्यहोरिरहेको घाटा न्यून गर्न या सन्तुलनमा ल्याउन तराई-मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य र उचित विकल्प नभएको स्पष्ट पारेका छन्।

  • दूरगामी महत्वका निर्णय नलिन सरकारलाई देउवाको ध्यानाकर्षण

    दूरगामी महत्वका निर्णय नलिन सरकारलाई देउवाको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी महत्त्वका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै संसदीय प्रक्रिया छलेर दूरगामी महत्त्वका निर्णय नलिन खबरदारी गरेका हुन् ।

    कोरोना नियन्त्रणका लागि कांग्रेसले दिएका १५ बुँदे सुझाव कार्यान्वयनमा सरकार उदासीन देखिएको उनले आरोप समेत लगाएका छन् । कोरोना नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगको पार्टीकरण नगर्न र खोपलगायतका स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानबिन गर्न समेत देउवाको माग छ ।

  • शशांकको दावी- देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ

    शशांकको दावी- देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्ना सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

    धारा ७६ को उपधारा (५) को बमोजिम देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी दलका निवर्तमान सांसद अदालत जाने तयारी गरिरहेका छन् ।

    अहिले सिंहदरबारस्थित विपक्षी दलका संसदीय दलका कार्यलर्यमा हस्ताक्षर संकलन चलिरहेका छैनन् । ‘हामीसँग अहिले पनि बहुमत सांसदको हस्ताक्षर छ, त्यो लिएर गएपछि अदालतले देउवाकै नेतृत्वमा सरकार गठन गर्न आदेश दिने छ भन्ने मलाई विश्वास छ,’ उनले सिंहदरबारस्थित संसद दलको कार्यालय बाहिर संवाददाताहरूसँग कुरा गर्दै भने ।

    यसअघि विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति कार्यायलमा दावी पेस गरेको थियो । त्यो संख्या अहिले पनि कसरी कायम हुन्छ भन्ने प्रश्नमा कोइरालाले भने, ‘दुई-चार संख्या तल होला तर सरकार बनाउन पुग्ने म्याजिकल नम्बर पुग्छ ।’

  • देउवाले भने : राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो

    देउवाले भने : राष्ट्रपतिले तत्काल मलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्थ्यो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । त्यसअनुरुप राष्ट्रपतिलाई आफूलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

    आज एक प्रेस विज्ञप्ति जारी गरी देउवाले राष्ट्रपतिबाट आह्वान भए बमोजिम आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरेको बताएका हुन् ।

    देउवाले भनेका छन्, ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो ।

    बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’

    यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको देउवाको आरोप छ ।

    उनले भनेका छन्, ‘नेपालको संविधानको अक्षर र भावनाअनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’

    राष्ट्रपति र प्रधानमन्त्रीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको देउवाले बताएका छन् ।

    ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ देउवाको विज्ञप्तिमा भनिएको छ ।

    संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने देउवाले बताएका छन् ।

  • एमाले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी

    एमाले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएकोबारे राष्ट्रपतिलाई लिखित जानकारी

    काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर बुझाइएका एमालेका कतिपय सांसदका हस्ताक्षर किर्ते गरिएको भन्दै नेकपा एमालेले राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

    प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

    एमाले निर्वाचन विभागका प्रमुख तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको बताए ।

    राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको उनले बताए ।

    एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।

  • भ्रष्टाचार भयो : देउवा, भ्रष्टाचारी छेउमा पर्नै दिन्न : ओली

    भ्रष्टाचार भयो : देउवा, भ्रष्टाचारी छेउमा पर्नै दिन्न : ओली

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

    पार्टीका पदाधिकारीसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल भने गएका थिएनन् । कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।

    ‘खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अति भयो नि’, देउवालाई उद्धृत गर्दै कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले भने । जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ‘भ्रष्टाचारीलाई छेउ पर्न दिन्न । दिनरात नभनी सरकारले काम गरेको छ’, ओलीको जवाफ थियो ।

    भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाएका थिए ।

    ‘बालबालिकालाई धेरै असर गर्नसक्ने कुरा छ । बेलैमा सरकारले विशेष व्यवस्था गरोस्’, देउवाले भने । कोरोनाका विषयमा कुरा गर्न आफू आएको भन्दै छलफल सुरु गरेका सभापति देउवाले सरकारको आलोचना गरेका विषयमा प्रधानमन्त्रीले खण्डन गरेका थिए ।

    ‘कोरोना नियन्त्रणका लागि तपाईंहरूले दिएको सुझाव ग्रहण गर्छु तर सरकारले केही नगरेको होइन’, ओलीको भनाइ थियो ।

  • कोरोनाको तेस्रो लहर आउनसक्छ, बालबालिकामा ध्यान दिऔं : देउवा

    कोरोनाको तेस्रो लहर आउनसक्छ, बालबालिकामा ध्यान दिऔं : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको सम्भावना विज्ञहरुले औल्याएकोले बेलैमा पूर्ण तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् ।

    सभापति देउवाले अस्पतालरुहमा बालबालिकाका लागि विशेष वार्ड र आइसीयुको प्रबन्ध बेलैमा गर्नसमेत सरकारसंग माग गरेका छन् ।

  • सबै नागरिकले कोभिड खोप पाउनुपर्छ : देउवा

    सबै नागरिकले कोभिड खोप पाउनुपर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् ।

    कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले खबरदारी गर्ने बताए ।

    महामारी नियन्त्रणमा सरकार असफल भइसकेको भन्दै सभापति देउवाले अझै पनि सरकार गम्भीर भए अवस्था सुध्रन सक्ने बताए । ‘यो सरकार गम्भीर छैन । सबै जनतालाई खोप लगाउनुपर्छ । सबैले खोप नपाउँदासम्म ओली सरकारलाई खबरदारी गर्नुपर्छ’, देउवाले भने ।

    खोप खरिद गर्न र बिरामीको उपचार गर्नसक्ने सरकारले नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै देउवाले जनताको ज्यानभन्दा सरकार जोगाउने काममा बढी सक्रिय भएको आरोप लगाए । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई प्रतिपक्षको सहयोग भएपनि सरकार आफैं उदासीन भएको देउवाको भनाइ छ ।

  • जनताको जीवनमाथि खेलबाड नगर्न देउवाको चेतावनी

    जनताको जीवनमाथि खेलबाड नगर्न देउवाको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गैर जिम्मेवारीकै कारण कोभिडको महामारीबाट जनताले दुःख पाएको आरोप लगाएका छन् ।

    कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आइतबार कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका लागि गरेको भर्चुअल अन्तरक्रियामा बोल्दै सभापति देउवाले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न सरकारलाई चेतावनी समेत दिएका हुन् । ‘अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर जनताको मृत्यु भइरहेको छ । सरकार नचाहिने काममा व्यस्त भएको छ । जनताको जीवनमाथि खेलबाड गर्न पाइदैन’, देउवाले भने ।

    उनले कोरोना कहरका बीच बिरामीहरुको उपचारका लागि खटिने स्वास्थ्यकर्मी लगायत सबै फ्रन्टलाइनरहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । सभापति देउवाले समस्यामा परेका जनतालाई कांग्रेसका नेता कार्यकर्ताले सकेको सहयोग गर्नुपर्ने बताए । ‘कांग्रेस जिम्मेवार पार्टी हो । जनताको सुखदुखमा हामी उभिनुपर्छ । कोभिडबाट सतर्क रहँदै जनतालाई सेवा गर्न सबैजना खटिनुपर्छ’, देउवाले भने ।

  • सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि अपिल

    सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि अपिल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड-१९ को संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गरेका छन्।

    साथै उनले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग गरेका छन् ।

    सभापति देउवाले आज वक्तव्यमार्फत कोभिड-१९ को संक्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव भएको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

    उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै देशभरिका कांग्रेस सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न अपिलसमेत गरेका छन् ।

  • कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन्

    कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन्

    काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व गर्न अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत नपुग्ने निष्कर्ष सुनाएका छन् ।

    पदाधिकारी बैठकमा देउवाले महन्थ ठाकुरले समर्थन नगर्ने भनेको र माधव नेपाल पक्षले पनि राजीनामा नदिएको भन्दै बहुमत दावी गर्ने अवस्थाा नरहेको बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले भने, ‘महन्थजीले समर्थन दिन सक्दिन भनेको देउवाजीले जानकारी दिनुभयो । बहुमत पुर्‍याउन गार्‍हो पर्ने देखिएको छ । अब ओलीजीले नै सपथ लिने भन्ने सुन्दैछु । हेरौं कुन धारा अनुसार सपथ लिन्छन् । बाँकी कुरा त्यसपछि थाहा होला ।’

  • समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

    समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

    वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

    स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ । संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् ।

    विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत देखिएको छैन ।

  • महन्थले देउवालाई भने- जसपाको भर नपर्नू, मैले राष्ट्रपतिलाई पत्र बुझाइसकेको छु

    महन्थले देउवालाई भने- जसपाको भर नपर्नू, मैले राष्ट्रपतिलाई पत्र बुझाइसकेको छु

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरेका छन् ।

    देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको जसपा स्रोतले जनाएको छ । ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

    ठाकुरनिकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गरेका थिए । तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिएका छन् ।

    जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको बताइएको छ ।

    यता उपेन्द्र यादव पक्षले भने पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षका बहुमत जुटिसकेकाले अब माधव नेपाल पक्षले राजीनामा गरेमा परिस्थति निर्माण हुने बताएको छ ।

  • महन्थसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

    महन्थसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

    आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुनेछ ।

    जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् ।

  • सत्तारोहणबारे कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गाह्रो छ, गाह्रो छ !

    सत्तारोहणबारे कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गाह्रो छ, गाह्रो छ !

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्री बन्ने कसरतमा छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव असफल गराउन सक्रिय भएका देउवा माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्री बन्न चाहन्छन् ।

    माओवादीले समर्थन दिएपनि जसपाको महन्थ ठाकुर पक्षले समर्थन दिइसकेको छैन । सिंगो जसपाले समर्थन नगरेको अवस्थामा बहुमत जुटाउन देउवालाई सहज हुनेछैन ।

    नेपाली कांग्रेसले गत चैत २० गतेकै केन्द्रीय समितिको बैठकबाट आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको थियो । यद्यपि पार्टीको त्यस निर्णय कार्यान्वयन गराउन देउवाले ठोस पहल गरेनन् ।

    लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नै मुख्यमन्त्रीमा नियुक्त भएपछि भने देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तात्तिएका थिए । अहिले प्रधानमन्त्री बन्न देउवाको प्रयत्न बढेपनि परिस्थिति उनको पक्षमा देखिएको छैन ।

    बारम्बार ‘स्योरसट’ नभएसम्म अगाडि नबढ्ने बताएका देउवा अहिले एमाले फुटाएर भएपनि प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका एमालेको माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा आफ्नो बहुमत पुग्ने देउवाको बुझाई छ ।

    एमालेभित्र सामुहिक राजीनामा नभएमा जसपासंग राजनीतिक सम्झौता गर्नपनि देउवा तयार छन् । तर ठाकुर पक्षले वैकल्पिक सरकार गठनको प्रक्रियामा नलाग्ने औपचारीक घोषणा गरिसकेको छ । यस्तो अवस्थामा सभापति देउवाको सम्भावित सत्तारोहण असहज बन्दै गइरहेको छ ।

    कांग्रेस बैठकमा के भयो ?

    देउवा निवास बुढानिलकण्ठमा मंगलबार दिउँसो कांग्रेसका पदाधिकारीसहित प्रभावशाली नेताहरुको बैठक बस्यो । बैठकमा देउवाले आफ्ना नेतृत्वमा सरकार बन्ने अवस्था बनाउन सहयोग गर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।

    जसपाभित्रको विवादका कारण आफूलाई गार्हो परेको बताएका देउवाले कोसिस भने जारी राख्ने बताएका थिए । ‘जसपाले अप्ठ्यारो पार्यो । गाह्रो भो, गाह्रो भो । सबैजना लाग्दिनुपर्यो’, देउवालाई उधृत गर्दै एक नेताले भने । बैठकमा सहभागि सबैजसो नेताले महन्थ ठाकुर र राजेन्द्र महतोसंग संवाद गर्न देउवालाई सुझाएका थिए ।

    जसपाको पूर्ण समर्थन नभए माधव पक्षका एमाले सांसदहरुको राजीनामा गराउने विकल्पबारे पनि देउवाले छलफल गरिरहेका छन् । बैठकपछि कांग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतले जसपाको सबै पक्षलाई मनाउनेदेखि एमालेमा माधव पक्षको समर्थन लिनेसम्मको विकल्पमा छलफल भइरहेको बताए ।

    देउवा कन्फिडेन्ट देखिएनन्

    आफ्नै पार्टीका नेताहरुसंगको छलफलमा सभापति देउवा कन्फिडेन्ट रुपमा प्रस्तुत हुन सकेनन् । नयाँ सरकारबारे माओवादी र जसपा नेतृत्वसंग भएको संवादका भित्री कुरा पनि देउवाले खोल्न चाहेनन् । बैठकमा सहभागि एक नेताले प्रधानमन्त्री बन्न तीव्र ईच्छा भएपनि देउवामा अनौठो भय देखिएको बताए ।

    ‘सत्ताको कुरा आउँदा देउवाजीको यति कमजोर प्रस्तुति मैले कहिल्यै देखेको थिइँन । सबैले सहयोग गर्नुपर्यो भन्नुहुन्छ तर सबै कुरा खुलस्त गर्नुहुन्न’, ती नेताले नेपाल प्रेससंग भने । उनका अनुसार आफ्नो नेतृत्वको सरकार बन्ने सम्भावना कमजोर भएको महसुस गरेपनि देउवाले स्वीकार्न सकेका छैनन् । ‘प्रधानमन्त्री बन्न गाह्रो परेको उहाँले थाहा पाइसक्नुभयो । तैपनि तलमाथि कसैसंग कुरा गरेर मिल्छ की भन्नेमा उहाँ हुनुहुन्छ’, उनले भने ।

    संविधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुकी नौ बजेसम्मको समय दिएकी छिन् । जसपा अध्यक्ष उपेन्द्र यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको भेटमा ठाकुर पक्षलाई पनि सहमत गराउने वचन दिएका छन् । यादवले वचन पूरा गरे पाँचौ पटक मुलुकको कार्यकारी प्रमुख बन्न सकिने आँकलनसहित देउवाले राजनीतिक संवादलाई तीव्रता दिएकै छन् ।

  • जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

    जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

    मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

    बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’

    बहुमत जुटाउने अरु पनि तरिका छन्

    बैठकमा देउवाले यसबीचमा प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए ।

    माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाइसकेको र उपेन्द्र यादव पनि त्यसमा सहमत रहेको महतले बताए ।

    सकेसम्म जसपा सिँगै साथमा लिने प्रयास हुने भन्दै उनले भने–हामीलाई पर्सिसम्मको समय छ । एमालेमा पनि माधवजीहरुले केही निर्णयमा पुग्नुहुन्छ । जसपमा सिंगै हाम्रो पक्षमा आउने प्रशस्त सम्भावना छ । यो प्रयत्नलाई जारी राख्छौं । बहुमत जुटाउन बाहिर अरु तरिका पनि छन् ।

  • विपक्षी गठबन्धनको बैठक स्थगित, देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

    विपक्षी गठबन्धनको बैठक स्थगित, देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

    काठमाडौं । राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकार दावी गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको विपक्षी गठबन्धनको बैठक अचानक स्थगित भएको हो ।

    दलहरूबीच आन्तरिक छलफलपछि बैठक बस्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । देउवाले आजै दिउँसो ३ बजे कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । अरु दलले पनि आन्तरिक छलफल गर्ने र त्यसपछि आजै वा भोलि गठबन्धनको बैठक बस्ने लेखकले नेपाल प्रेसलाई बताए ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा पार्टी संलग्न नहुने वक्तव्य दिइसकेको र राष्ट्रपतिलाई लिखित जानकारी गराउने कुरा आएपछि देउवाले आन्तरिक छलफल गर्न लागेको बताइन्छ ।

    कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षबीच अनौपचारिक छलफलहरू चलिरहे पनि औपचारिक बैठक त्यसपछि मात्र बस्ने भएको छ ।

  • ओलीलाई देउवाको प्रश्न- आफू कार्यकारी प्रधानमन्त्री, दोष अरुलाई दिने ? (भिडियो)

    ओलीलाई देउवाको प्रश्न- आफू कार्यकारी प्रधानमन्त्री, दोष अरुलाई दिने ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताए ।

    ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?’, देउवाको प्रश्न थियो ।

    ‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने । आफ्नो असफलताको दोष अरुलाई थोपर्ने गरेको भन्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको बताए ।

    सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए । ‘मानिस दुनियाँबाट भाग्न सक्छ , आफैबाट भाग्छ सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैले आफैले सोध्नुस् । यो अवस्था तपाईको व्यक्तिगत दम्भ, राजनीतिक र प्रशासनिक कुशासनका कारण आएको होइन रु’ देउवाले सोधे ।

    देउवाले कोभिड महामारी समेत कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपराधको जनताले जवाफ दिने बताए । प्रधानमन्त्री ओलीको वक्तव्य आत्मरति र आत्मप्रशंसामा केन्द्रीत रहेको भन्दै देउवाले सरकारका असफलताको इतिहासले मूल्यांकन गर्ने बताए ।

  • मत पाउँदिन भन्ने थाहा पाएरै प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो : देउवा

    मत पाउँदिन भन्ने थाहा पाएरै प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत मागेको बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले भने, ‘आज प्रधानमन्त्री केपी ओलीजीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत माग्नुभएको छ ।’

  • देउवालाई भेटेर ठाकुरले भने- जसपाले कुनै निर्णय गरेको छैन, उपेन्द्रको निर्णय व्यक्तिगत हो

    देउवालाई भेटेर ठाकुरले भने- जसपाले कुनै निर्णय गरेको छैन, उपेन्द्रको निर्णय व्यक्तिगत हो

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका छन् ।

    वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको ठाकुरनिकट स्रोतले जनाएको छ । उनले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताएका छन् ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय उहाँको व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’

    अध्यक्ष ठाकुरनिकट जसपा नेता डा. सुरेन्द्र झाले जसपाले आधिकारिक निर्णय नगरिसकेकोले केही नेताहरूको धारणालाई मात्रै विश्वास नगर्न देउवालाई आग्रह गरिएको बताए । एमाले विभाजित भएको अवस्थामा जसपाको मत निर्णायक नहुने भएकोले तटस्थ बस्ने सम्भावना रहेको झाले बताए ।

    ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र-बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताएका छन् । ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएका स्रोतले जनाएको छ ।

  • राजेन्द्र महतोलाई लिएर देउवा निवास पुगे महन्थ ठाकुर

    राजेन्द्र महतोलाई लिएर देउवा निवास पुगे महन्थ ठाकुर

    काठमाडौं । सत्ता समीकरणको खेल तीव्र विकास भइरहेका बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आज विहानै कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।

    आफू पक्षका अर्का नेता राजेन्द्र महतोसहित देउवा निवास पुगेका ठाकुर अविश्वासको प्रस्तावको तयारीका बारेमा बुझ्न खोजिरहेका छन् । जसपाको उपेन्द्र बाबुराम पक्ष देउवासँगको गठबन्धनमै छ ।

    ठाकुर पक्ष नमिलेसम्म संसदमा विपक्षीको बहुमत नपुग्ने भएकाले देउवाले ठाकुर र महतोसँग छलफल गर्न चाहेका हुन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमा थिए ।

  • कांग्रेस सांसदलाई देउवाको ब्रिफिङ : गठबन्धन सरकार बन्छ, ओलीले चुनाव गराउन पाउँदैनन्

    कांग्रेस सांसदलाई देउवाको ब्रिफिङ : गठबन्धन सरकार बन्छ, ओलीले चुनाव गराउन पाउँदैनन्

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताएका छन् ।

    कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताए । लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताए ।

    ‘ओलीको विकल्प खोज्ने है हो । पार्टीको निर्णय पनि त्यै छ । विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने हो’, बैठकमा देउवाले भने ।

    कांग्रेस सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसFग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताए ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको बताए । ‘२७ गते विश्वासको मत नपाएपछि ओलीले चुनाव गराउन पाउँदैनन् । संविधानले पनि ओलीलाई चुनाव गर्न दिदैंन । सरकार गठनको सबै कोर्स पूरा नभई चुनाव पनि हुँदैन’, देउवाले भने ।

    प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरु सक्रिय हुने भन्दै देउवाले ७६ (२)बमोजिमको गठबन्धन सरकारका लागि प्रयास भइरहेको बताए ।

  • कांग्रेस बैठक जारी, किन निस्किए देउवा ?

    कांग्रेस बैठक जारी, किन निस्किए देउवा ?

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ । बैठक जारी रहँदा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा बाहिरिएका छन् ।

    बैठकमा राजनीतिक परिस्थिति गम्भीर बनेकाले जुनसुकै निर्णय लिनुपर्ने हुनसक्ने बताएका देउवा बाहिरिए पनि बैठक जारी छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने लगायत विषयमा अन्य दलका नेतासँग छलफल गर्न देउवा बाहिरिएको बताइएको छ ।

  • संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, अरुलाई पनि नजान आह्वान

    संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, अरुलाई पनि नजान आह्वान

    काठमाडौं । संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।

    देउवाले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरि बस्न लागेको बैठकमा आफू नजाने बताएका हुन् ।

    ‘नेपाली काँग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ देउवाको भनाइ छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

    देउवाले बैठकमा भाग नलिन परिषद्का सदस्यहरुलाई समेत आव्हान गरेका छन् । उनको आग्रह छ ‘सवैधानिक परिषद् सम्बन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछ।’

    अध्यादेश मार्फत सविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएको देउवाको आरोप छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटा समेत नजाने भएका छन् ।

  • खोप खरीदमा सरकारले भ्रष्टाचार गर्यो : देउवा

    खोप खरीदमा सरकारले भ्रष्टाचार गर्यो : देउवा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोप खरीदमा भ्रष्टाचार भएको आरोप लगाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको भयावह अवस्था हुँदापनि सरकार गम्भीर नबनी अनियमितता गर्न उद्यत रहेको आरोप लगाएका हुन् ।

    विज्ञप्ती मार्फत् सभापति देउवाले खोप खरीपमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

    ‘यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भएपनि कडा कारवाही गर्न सम्बन्धित निकायसंग माग गर्दछु’, देउवाले भनेका छन् ।

    देउवाको विज्ञप्ती यस्तो छ :

  • माधव नेपाल देउवा निवासमा, ओलीको कदम असफल बनाउनेबारे छलफल

    माधव नेपाल देउवा निवासमा, ओलीको कदम असफल बनाउनेबारे छलफल

    काठमाडौं । राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच देउवा निवासमा छलफल भइरहेको छ ।

    एमाले नेता नेपाल देउवासँग छलफल गर्न बिहीबार साँझ बुढानिलकण्ठ पुगेका हुन् । यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार र बुधवार छलफल भएको थियो ।

    प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन नेपाल र देउवाबीच छलफल भइरहेको स्रोतले जनाएको छ । देउवासँगै बुधबार ओलीसहित एमाले नेताहरुले छलफल गरेका थिए ।

    यो पनि पढ्नुस् :

    राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित)

    राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

  • एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

    उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

    जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।

    प्रधानमन्त्री भएपछि ओली आफैं देउवा निवास पुगेको सम्भवतः पहिलो पटक हो ।

  • देउवाको टिप्पणी- संसद छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो

    देउवाको टिप्पणी- संसद छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् ।

    मंगलबार साँझ एक वक्तव्य जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको भत्सर्ना गर्ने जनाएका छन् । देउवाको विज्ञप्ति जम्मा दुई वाक्यको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ ।’

  • लुम्बिनी प्रकरणप्रति देउवाको टिप्पणी- विधि र पद्दतिमाथि बलमिच्याईं

    लुम्बिनी प्रकरणप्रति देउवाको टिप्पणी- विधि र पद्दतिमाथि बलमिच्याईं

    काठमाडौं । लुम्बिनी प्रदेशमा जारी राजनीतिक उथलपुथलप्रति नेपाली कांग्रेसले प्रतिक्रिया जनाएको छ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्- संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु ।’

    बहुमत गुमाएको तथ्य बुझेर नै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव छलेको अरोप देउवाले लगाएका छन्। ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन, देउवाको भनाइ छ।

  • सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

    सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

    उनले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिवार शुभकामना सन्देश दिँदै कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।

    पूर्वप्रधानमन्त्री देउवाले लकडाउनका कारण आर्थिक–सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

    उनले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आइसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् ।

    नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको थियो ।

    नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही आन्दोलन थियो । उनले कांग्रेस र मजदूर सधैँ एकार्कामा आबद्ध भएर एकार्काका अनन्य सहयोगी भएर रहिआएको जनाउँदै अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन् ।

  • तीन दर्जन पत्रकार भेला पारेर देउवाको आरोप : सरकारले भिडभाड गरेर कोरोना बढायो

    तीन दर्जन पत्रकार भेला पारेर देउवाको आरोप : सरकारले भिडभाड गरेर कोरोना बढायो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागेको खबर शुक्रबार बिहानै समाचार कक्षहरुमा सम्प्रेशन भयो । राजधानीमा निषेधाज्ञा जारी भएसँगै केन्द्रको राजनीतिक चलखेल सुस्ताएका बेला देउवाले गतिलै खुराक दिने आशाले पत्रकारका मुख रसाए ।

    कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौंमा बिहीबारदेखि लागू गरिएको निषेधाज्ञाका कारण अहिले धेरै पत्रकार सकेसम्म समाचारकक्षमै खुम्चिएका छन् । राजनीतिक रिपोर्टिङ गर्न पत्रकारलाई केही दिनअघिसम्म भ्याइनभ्याइ थियो । अहिले फुर्सदिला भएका छन् । यस्तोमा ‘वेटिङ प्राइममिनिस्टर’ ले निवासमै डाकेपछि नजाने प्रश्नै आएन ।

    देउवा मिडिया फ्रेन्डली नेता होइनन् । उनलाई धेरै सवालजवाफ गर्न पनि मन पर्दैन । तर, बेलाबखत कुनै महत्वपूर्ण कुरा भन्नुपर्यो भने निवासमै पत्रकार डाक्छन् । त्यसैले आज पनि देउवाले के भन्ने हुन् भन्ने कौतुहल ब्यापक थियो । खासगरि नयाँ सरकार निर्माणका विषयमा नयाँ कुरा केही आउला कि भन्ने आशामा थिए पत्रकार ।

    तर, देउवाको आजको पत्रकार सम्मेलनको उद्देश्य गैरराजनीतिक थियो । उनले कोरोनाको विषयमा कांग्रेसको धारणा सुनाउन पत्रकारलाई डाकेका रहेछन् । आफ्नो निवासको प्रांगणमा पत्रकारलाई वरिपरी राखेर उनले लिखित मन्तव्य पढे । कोरोनाका विरुद्ध सरकारले लिएका रणनीतिहरुको आलोचना गरे र कांग्रेसले जनतामा सचेतना अभियान सञ्चालन गर्न लागेको सुनाए ।

    यता पत्रकारलाई भने देउवाको राजनीतिक सन्देश चाहिएको थियो । कोरोनाको मात्रै कुरा गरेर देउवाले लिखित मन्तव्य टुंग्याएपछि पत्रकारले राजनीतिक प्रश्न सोध्न थालिहाले । आफ्नो स्वभावअनुसार देउवाले पनि हरेक प्रश्न-प्रश्नमा झोक्किँदै जवाफ दिए ।

    नयाँ सरकार गठन र अविश्वास प्रस्तावको विषयमा उनले आफ्नो पक्षमा बहुमत नपुगेको जवाफ दोहोर्याए । एमसीसीबारेको प्रश्नमा उनी उत्तेजित देखिए । सित्तैमा पैसा आउने भन्दै यसलाई अनुमोदन गनुपर्ने अडान देउवाले दोहोर्याए ।

    ‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो,’ देउवाको भनाइ थियो, ‘मेरो पालामा त सिग्नेचर गरेर पठाएको मात्रै हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

    उनले थपे, ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ ? कसैले दिन्छ ? यस्ता झुट्टा प्रचार भइराख्या छ ।’

    पत्रकारको अर्को प्रश्न थियो, ‘एमसीसी पारित भएन भने मलाई अप्ठेरो पर्छ भन्ने तपाईंले भन्नुभएको कुरा आयो नि ?’

    देउवाले रुखो स्वरमा प्रतिप्रश्न गरे, ‘कहाँ भन्या छु मैले ?’

    पत्रकारले जवाफ दिए, ‘बाहिर आएको कुरा हो ।’

    देउवाले झोक्किँदै भने, ‘होइन भनिसकेँ त मैले । फेरि भन्छु सुन्नु, होइन, होइन, होइन ।’

    संवाददाताले फेरि सोधे- एमसीसीको विषयमा प्रचण्डसँग सहमति भएको भन्ने कुरा चाहिँ के हो ?

    देउवाले भने, ‘होइन । प्रचण्डले सहयोग गर्छु भनेको छैन ।’

    प्रश्नको एक-दुई लाइनमा जवाफ दिनु, प्रश्न सोध्ने पत्रकारमाथि खनिनु र चिडचिडापन देखाउनु देउवाको सदावहार शैली हो । आज पनि उनी त्यही शैलीमा पेश भए ।

    उल्लेखनीय कुरा चाहिँ के रह्यो भने ‘सरकारले भिडभाड गरेर कोरोना फैलाएको’ आरोप लगाएका देउवाले आफूले तीन दर्जनजति पत्रकारलाई भेला गराएको चाहिँ बिर्सिए । सरकारले निषेधाज्ञा जारी गरेर २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ, त्यसलाई उनले उल्लंघन गरेका थिए ।

    सरकारी निर्णयको किन अवेज्ञा गरेको भन्ने प्रश्नमा देउवासँगै रहेका सहमहामन्त्री डा. प्रकाशशरण महत संवाददाताहरुसँग झोक्किए- तपाईंहरु किन आएको त ? नआएको भए हुन्थ्यो नि ।

  • देउवाले भने- डाक्टर भइसक्या शशांकले भनेपछि बैठक रोक्नु परेन ? (भिडियो)

    देउवाले भने- डाक्टर भइसक्या शशांकले भनेपछि बैठक रोक्नु परेन ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालाको सुझाव अनुसार आफूले केन्द्रीय कार्यसमितिको बैठक रोकेको बताएका छन्।

    शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा केन्द्रीय कार्यसमिति बैठक रोक्नुका कारणबारे पत्रकारहरूले प्रश्न गरेपछि यसबारे देउवाले प्रष्ट्याएका हुन् ।

    कोइराला आफैं पनि कोरोना संक्रमित भइसकेको र चिकित्सकसमेत भएकाले उनको सुझाव मानेर बैठक स्थगन गरेको देउवाको भनाइ छ ।

    ‘शशांक कोइराला डाक्टर हो नि उहाँ त,’ देउवाले भने, ‘उहाँ आफैं पनि कोभिड भएको मान्छे हो अस्ति । यसबारे उहाँलाई बढी थाहा छ । उहाँले नै शेरबहादुर जी रोक्नुपर्‍यो, केन्द्रीय समिति नबोलाउँ भनेर मलाई भनेकै हो । उहाँले भनेपछि, डाक्टर भइसक्या मान्छे, पार्टीको महामन्त्री छ । स्वयं कोभिडबाट संक्रमित भएर बसेको मान्छे, उसको सल्लाह नलिने कुरा हुन्छ ?’

    ‘किन रोकेको हो भनेर उहाँलाई नै सोधे भइहाल्यो नि’, देउवाले भने ।

     

  • एमसीसीबारे देउवाः सित्तैमा यत्रो पैसा आउँदैछ, भ्रम फैलाएर हुन्छ ? (भिडियो)

    एमसीसीबारे देउवाः सित्तैमा यत्रो पैसा आउँदैछ, भ्रम फैलाएर हुन्छ ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने अडान राखेका छन् । नेपालमा आउन लागेको यति ठूलो विदेशी अनुदानबारे अनावश्यक भ्रम फैलाइएको उनको टिप्पणी छ ।

    आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो । मेरो पालामा त सिग्नेचर गरेर पठाएको मा हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

    उनले थपे, ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ ? कसैले दिन्छ ? यस्ता झुट्टा प्रचार भइराख्या छ ।’

    पत्रकारको अर्को प्रश्न थियो, ‘एमसीसी पारित भएन भने मलाई अप्ठेरो पर्छ भन्ने तपाईंले भन्नुभएको कुरा आयो नि ?’

    देउवाले झेक्किँदै जवाफ दिए, ‘कहाँ भन्या छु मैले ?’

    पत्रकारले भने, ‘बाहिर आएको कुरा हो ।’

    देउवाले जवाफ दिए, ‘होइन भनिसकेँ त मैले । फेरि भन्छु सुन्नु, होइन होइन होइन ।’

    एमसीसीको विषयमा प्रचण्डसँग सहमति भएको भन्ने कुरा चाहिँ के हो ?

    देउवाले भने, ‘होइन । प्रचण्डले सहयोग गर्छु भनेको छैन ।’

  • वैकल्पिक सरकारबारे देउवाले भने- बहुमत पुग्या छैन, के गर्ने ? (भिडियो)

    वैकल्पिक सरकारबारे देउवाले भने- बहुमत पुग्या छैन, के गर्ने ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका छन् । उनले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले यो विषय थाती रहेको उल्लेख गरे ।

    आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’

    पत्रकार सम्मेलनमा देउवाले कोरोनासँग सम्वन्धी विषयमा पार्टीको धारणा र विचारहरूबारे लिखित मन्तव्य पेस गरेका थिए । पत्रकारहरूले भने राजनीतिक विषयमा बढी चासो राखे । एक पत्रकारले सोधे, ‘अहिलेको सरकारले केही गर्न सकेन, तपाईंहरूको नेतृत्वमा वैकल्पिक सरकार आए यो समाधान हुन्थ्यो कि भन्ने जनताले अपेक्षा गरेका छन् । त्यो कति सम्भावना छ ?’ देउवाले झर्किँदै भने, ‘ए बाबा, हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ?’

    जसपासँग तपाईंको कुरा भएको छैन भन्ने पत्रकारको प्रश्नमा उनल जवाफ दिए, ‘कुरा त भइरहेको छ नि, तपाईंहरुलाई सबै कुरा किन भन्ने ?’ देउवाले एमसीसी सांसदबाट पारित हुनुपर्ने बताए । तर, यो विषयमा बाहिर आएजस्तो माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो कुनै सहमति नभएको उनको भनाइ थियो । ‘बाहिर आएको कुरा विल्कुल गलत हो, त्यस्तो भएको छैन,’ उनले भने ।