Tag: पुरस्कार

  • एक लाख राशीको ‘शारदादेवी/ढुण्डीराज भट्टराई–नाफिज पुरस्कार’ घोषणा

    एक लाख राशीको ‘शारदादेवी/ढुण्डीराज भट्टराई–नाफिज पुरस्कार’ घोषणा

    काठमाडौं । आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले पुरस्कार घोषणा गरेको हो ।

    नाफिजले आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज भट्टराई – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।

    पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउनेछन् । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक पनि हस्तान्तरण गरेका छन्। १० लाख रुपैयाँ अक्षय कोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याज वापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाई छनौट गरी पुरस्कृत गरिनेछ ।

    हस्ताक्षर कार्यक्रममा भट्टराईले भने, ‘मेरो पुजनीय बुवा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखनवृत्तीका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु ।’

    नाफिज अध्यक्ष मोदनाथ ढकालले एक लाख राशीको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताए ।

  • कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

    कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको खोप लगाउने देशका प्रत्येक नागरिकलाई प्रोत्साहन स्वरुप १०० डलर प्रदान गर्न निर्देशन दिएका छन् ।

    खोप अभियानलाई प्रभावकारी बनाउँदै कोरोना विरुद्ध जित हासिल गर्ने रणनीतिस्वरुप उनले राज्य तथा स्थानीय सरकारहरुलाई यस्तो निर्देशन दिएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

    ‘राष्ट्रपतिले राज्य, क्षेत्रीय तथा स्थानीय सरकारहरुलाई प्रत्येक नयाँ भ्याक्सिन लगाउने अमेरिकीहरुलाई अतिरिक्त प्रोत्साहनस्वरुप १०० डलर भुक्तानी गर्न आह्वान गर्नुभएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘यसका लागि आवश्यक प्राविधिक सहायताका लागि मन्त्रालय तयार छ ।’

    देशका केही भागहरुमा कोरोना संक्रमणका कारण मानिसहरु अस्पताल भर्ना हुने क्रम बढेको अवस्थामा पनि खोप अभियान सुस्त भएपछि बाइडेनले सो निर्देशन दिएका हुन् । अहिलेसम्म ५७.१ प्रतिशत अमेरिकीहरुले कोरोनाविरुद्धको पूरा डोज खोप लगाइसकेका छन् ।

    यस वर्षको सुरुवातदेखि अमेरिकामा कोभिडका कारण मृत्यु भएका मध्ये ९९.२ प्रतिशत खोप नलगाएकाहरु रहेको तथ्यांकले देखाएको छ ।