Tag: नेकपा एमाले

  • ओलीको सूची सदर, यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    ओलीको सूची सदर, यस्तो बन्यो एमालेको पदाधिकारी टिम

    काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

    ओली खसेको मतको तीन चौथाई भन्दा बढी मत प्राप्त गरेर दोस्रोपटक अध्यक्षमा निर्वाचित हुँदा उनीपछिको दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।

    दुई पटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने प्रतिस्पर्धाविहीन भए । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

    ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।

    उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

    निर्वाचित उम्मेदवारले पाएको मत परिणाम औपचारिक रूपमा एकैपटक सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बताए ।

  • प्रस्तावित सूची अश्वीकार गर्दै उम्मेदवार बनेका चारै नेता पराजित

    प्रस्तावित सूची अश्वीकार गर्दै उम्मेदवार बनेका चारै नेता पराजित

    काठमाडौं । नेकपा एमालेको प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्की पराजित भएका हुन् ।

    महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले आ-आफ्नो उम्मेदवारी दिएका थिए ।

    मतगणना सकिँदा चारैजना पराजित भए पनि उनीहरुले प्राप्त गरेको मत केहीबेरमा आधिकारिकरूपमा सार्वजनिक गरिने निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    आयोगले आधिकारिक निर्वाचन परिणाम केहीबेरमै सार्वजनिक गर्दैछ । नेपाल प्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

  • भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

    भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

    काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

    चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

    एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८३७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

    पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

    एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।

    निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

  • एमाले लेखा आयोगमा डा. कँडेलको ह्याट्रिक !

    एमाले लेखा आयोगमा डा. कँडेलको ह्याट्रिक !

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रा.डा. पुष्पराज कँडेल एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक) को रेकर्ड कायम गरेका छन् ।

    कँडेल यसअघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएका छन् ।

    डा. कँडेल पाँचौं र छैठौं मा सदस्य, सातौंमा सचिव र आठौं, नवौं र दशौंमा निर्वाचित अध्यक्ष हुन् । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेरहद कायमै रहे आगामी एघारौं महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउँनेछन् ।

    त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेल केपी ओली नेतृत्वको पचिल्लो सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । लेखाआयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो । यसले पार्टीको आर्थिक अनुशासन र नियमनकारी निकायको भूमिका निर्वाह गर्दछ । पार्टीको पाँचौ महाधिवेशनबाट आयोगको सुरूआत भएको हो ।

    पार्टीको लेखाप्रणालीलाई व्यवस्थित गर्नका लागि तत्कालीन महासचिव मदनकुमार भण्डारीले आयोग गठन गरेका थिए । पाँचौं महाधिवेशनमा तीन जनाबाट सूरु भएको सो आयोग दशौं महाधिवेशनमा पुग्दा २५ सदस्यीय पुगेको छ । सो आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्यहरु केन्द्रीय कमिटी सदस्य सरहको मान्यता हुन्छ ।

    दशौ महाधिवेशनमा आयोगमा उपाध्यक्ष विष्णु पन्थी , सचिवमा शिव अधिकारी र सदस्यहरुमा क्रमशः इश्वरीप्रसाद खरेल, कोमल भट्टराई, खटक बहादुर (पिबी) गोले, खम्बबहादुर खत्री, घनेन्द्रराज घिमिरे, धनबहादुर विश्वकर्मा, भीमलाल पौडेल, मस्तबहादुर गरन्जा, मिनराज कडेँल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकरबहादुर कार्की खुल्लातर्फ निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै महिलातर्फ कल्पना लिम्वु, जसमाया गजमेर, पद्मा जिसी श्रेष्ठ, वसुन्धरा रोकाय, मालतीकुमारी लिम्बु, विजया धिताल, विमला केसी, शान्ति पाख्रिन र सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

  • योगेशको दाबी- फलानो उम्मेदवारलाई मत नदिनू भनेर पर्चा बाँडिएको थाहा छैन (भिडिओ)

    योगेशको दाबी- फलानो उम्मेदवारलाई मत नदिनू भनेर पर्चा बाँडिएको थाहा छैन (भिडिओ)

    चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईलाई कुनै उम्मेदवारलाई मत नदिनू भनेर पर्चा बाँडिएको बारे आफूहरूलाई जानकारी नभएको बताएका छन् ।

    मतदान सकिएपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले कुनै उम्मेदवारको पक्ष र विपक्षमा पर्चा बनाइएकोबारे आफूलाई जानकारी नभएको र मतदानस्थलमा त्यस्तो पर्चा नभेटेको दाबी गरे ।

    पत्रकारले पर्चा त भेटियो भन्ने प्रश्न गर्दा भट्टराईले भने, ‘त्यस्तो हामीलाई थाहा छैन । तपाईंहरूले अहिले भन्नुभयो हामीले नोटिसमा लियौं । तर, त्यसरी बाँडिएको थाहा छैन ।’

    महाधिवेशनस्थलमा मतदान गर्नु नपर्ने भनी केही उम्मेदवारको नाम समावेश भएको पर्चा वितरण भएको थियो । त्यसप्रति अध्यक्षका उम्मेदवार भीम रावलले आपत्ति जनाएका थिए ।

     

  • एमाले महाधिवेशन : ३९ जनाले गरेनन् मतदान

    एमाले महाधिवेशन : ३९ जनाले गरेनन् मतदान

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदान सकिएको छ । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

    सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन गरिएको हो । बिहान ४ बजेजेदेखि मतदान सुरू भएको थियो ।

    बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनाव गरिएको हो ।

    चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।

    वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् ।

    सदस्यहरुका लागि पनि मतदान भएको छ । अब केही समयपछि मतगणना सुरू हुनेछ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएकोले नतिजा पनि छिट्टै आउने छ ।

  • बिहान ४ बजेदेखि एमालेको मतदान, ओलीले भने- भोटिङ मेसिन सजिलो रहेछ (भिडिओ)

    बिहान ४ बजेदेखि एमालेको मतदान, ओलीले भने- भोटिङ मेसिन सजिलो रहेछ (भिडिओ)

    चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

    राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो ।

    अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति भोट हालिसके । विद्युतीय मेसिनमार्फत भोट हालेपछि ओलीले भने,’ मलाई त सजिलो लाग्यो मतदान ।’ ओलीले ८ मिनेटमा भोट हालिसकेका थिए । सँगै सुरू गरेपनि पहिला ज्ञवालीले मतदान गरिसके ।

    प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको छ । युवा वैज्ञानिक रामलक्ष्मणले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने बताइएको छ ।

     

  • खुला कोटाबाट एमालेका ५३ महिला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

    खुला कोटाबाट एमालेका ५३ महिला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी अर्चना गहतराजले फिर्ता लिएपछि बाँकी उम्मेदवार सर्वसम्मत भएका हुन् ।

    सर्वसम्मत हुने खुला महिलातर्फका केन्द्रीय सदस्यहरु यसप्रकार छन् :

    १ः अम्बिका थापा

    २ः इन्दु कडरिया

    ३ः उषाकिरण तिम्सिना

    ४ः श्रीमाया थकाली

    ५ः कोमल वली

    ६ः गीता अधिकारी

    ७ः गुमा आचार्य

    ८ः गौरी कुमारी वली

    ९ः जानुका सिम्खडा

    १०ः टुका हमाल

    ११ः डा.शिवमाया तुम्बाहम्फे

    १२ः तुलसा कुमारी दाहाल

    १३ः थममाया थापा

    १४ः दक्षिणा शाही

    १५ः दीपा शर्मा

    १६ः नविना लामा

    १७ः निरु दर्लामी कुँवर

    १८ः निरुदेवी पाल

    १९ः निर्मला देवकोटा

    २०ः प्रतीक्षा तिवारी

    २१ः प्रभा बराल

    २२ः बालिका गिरी

    २३ः विमला घिमिरे

    २४ः बुधनीदेवी महतो

    २५ः भगवती चौधरी

    २६ः भारती पाठक

    २७ः भगवती न्यौपाने

    २८ः मनकुमारी जिसी

    २९ः ममता गिरी

    ३०ः मीना उप्रेती

    ३१ः मैनाकुमारी भण्डारी

    ३२ः लक्ष्मी गौतम

    ३३ः लीलाकुमारी भण्डारी

    ३४ः विद्या भट्टराई

    ३५ः विना राई

    ३६ः विन्दा ढुंगाना

    ३७ः विन्दा पाण्डे

    ३८ः शर्मिला कार्की

    ३९ः शान्ता चौधरी

    ४०ः शान्तिदेवी ढकाल

    ४१ः शोभा ज्ञवाली

    ४२ः सम्झना देवकोटा

    ४३ः सकुन्तला बस्नेत

    ४४ः सरस्वती बस्नेत

    ४५ः सरिता न्यौपाने

    ४६ः सिता गिरी वली

    ४७ः सीता न्यौपाने

    ४८ः सीता पौडेल

    ४९ः सिर्जना काफ्ले

    ५०ः सीताकुमारी सुन्दास

    ५१ः सुजिता शाक्य

    ५२ः सुनिता बराल

    ५३ः सुशीला नेपाल

  • कर्णालीबाट शाहीको उम्मेदवारी फिर्ता, केन्द्रीय सदस्यमा ६ जना नै निर्विरोध

    कर्णालीबाट शाहीको उम्मेदवारी फिर्ता, केन्द्रीय सदस्यमा ६ जना नै निर्विरोध

    सौराहा । नेकपा एमाले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा छ जना निर्विरोध चयन भएका छन । ओलीको सूचीमा नअटाएका योगेन्द्रबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

    उम्मेदवारी फिर्तासँगै गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य र विष्णु रिजाल निर्विरोध भएका छन् ।

    कर्णालीबाट केन्द्रीय सदस्यमा तीनजना महिला पनि निर्विरोध भएका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

  • ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ?

    ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातमा महाधिवेशनको बन्दसत्र हलमा केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्दा विशाल भट्टराई र पदम गिरीको नाम नआएपछि धेरै महाधिवेशन प्रतिनिधि अचम्मित भए ।

    संसदीय दलको प्रमुख सचेतक र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भट्टराई अध्यक्ष ओलीको रोजाइका नेता हुन् । तर, उनी किन छुटे ? धेरैले ठम्याउनै सकेनन् ।

    भट्टराईजस्तै संसदीय भूमिकामा अब्बल साबित भएका र सबैभन्दा कान्छो प्रत्यक्ष निर्वाचित सांसद पदम गिरी केन्द्रीय सदस्यको प्रबल दाबेदार थिए । युवा पुस्ताबाट उनी केन्द्रीय सदस्यको रुपमा इन्ट्री हुने निश्चित हुँदा हुँदै कसरी छुटे ?

    गिरी आफैं पनि छक्क परे । स्रोतका अनुसार उनी केही सहयोगीसहित सोमबार अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । गिरीको नाम केन्द्रीय सदस्यको सूचीमा नदेख्दा आफू पनि दुःखित भएको भन्दै ओलीले ‘यसपटक मिस भएछ’ भन्दै मनोनयनलगायतका अन्य प्रक्रियाबाट समेट्ने संकेत गरेका छन् ।

    पर्वतबाट पदम गिरी केन्द्रीय सदस्य नपरेपछि जिल्ला नै खाली भएको छ । जिल्ला कमिटीको निर्वाचित अध्यक्ष रहेका युवा नेता गिरी पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका प्रभावशाली नेता हुन् ।

    विशाल भट्टराई भने एमालेको प्रदेश १ को अध्यक्ष बन्ने लगभग निश्चित भएको छ । एमालेको विधानमा केन्द्रीय कमिटीपछि प्रदेश कमिटीलाई कार्यकारी मानिन्छ । प्रदेश कमिटीको अध्यक्ष केन्द्रीय कमिटीको पदेन सदस्य हुने भएकाले उनी केन्द्रीय कमिटी सदस्य नपरे पनि असन्तुष्ट छैनन् ।

  • कर्णालीबाट महिलातर्फका केन्द्रीय सदस्यमा तीनैजना निर्विरोध

    कर्णालीबाट महिलातर्फका केन्द्रीय सदस्यमा तीनैजना निर्विरोध

    काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना उम्मेदवार निर्विरोध केन्द्रीय कमिटीमा पुगेका छन् ।

    केन्द्रीय निर्वाचनद्वारा सार्वजनिक प्रारम्भिक सूचीअनुसार कर्णालीबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल निर्विरोध भएका हुन् ।

    निर्विरोध महिला केन्द्रीय कमिटी सदस्यको घोषणा भने औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

    पुरुषतर्फका ६ जनाको कोटाका लागि सातजनाको उम्मेदवारी परेको छ ।

    जसअनुसार गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य, योगेन्द्रबहादुर शाही, विष्णु रिजालबीच ६ कोटाका लागि प्रतिस्पर्धा हुनेछ ।

    सातमध्ये एकजनाले पनि समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् भने कर्णालीमा पुरुष केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

  • एमाले केन्द्रीय सदस्यमा लुम्बिनीबाट ९ जना निर्विराेध (नामावलीसहित)

    एमाले केन्द्रीय सदस्यमा लुम्बिनीबाट ९ जना निर्विराेध (नामावलीसहित)

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।

    केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार लुम्बिनी प्रदेशको नाै वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नाै कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।

    लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नाै कोटामा नाैजनाको मात्रै उम्मेदवारी परेको छ । जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।

    महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुने भएका हुन् । एद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

  • निर्वाचित केन्द्रीय सदस्य सूचीमै परेनन्, सुरेन्द्र मानन्धरले दिए खुल्ला सदस्यमा उम्मेदवारी

    निर्वाचित केन्द्रीय सदस्य सूचीमै परेनन्, सुरेन्द्र मानन्धरले दिए खुल्ला सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको हलमा प्रस्तुत भएको केन्द्रीय सदस्यको सूचीमा समावेश नभएपछि युवा नेता सुरेन्द्र मानन्धर खुला प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सह-इन्चार्ज रहेका मानन्धरलाई अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावित सूचीमा नसमेटिएपछि उनले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    मानन्धरले ८१ औं नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् । आफू निर्वाचित केन्द्रीय सदस्य भएकाले प्यानलमा नपरे पनि खुल्ला प्रतिस्पर्धामा उत्रिएको र महाधिवेशन प्रतिनिधिले न्याय गर्ने विश्वास लिएको मानन्धरले बताए ।

  • एमाले केन्द्रीय सदस्यमा यी हुन् ‘बागी उम्मेदवार’(सूचीसहित)

    एमाले केन्द्रीय सदस्यमा यी हुन् ‘बागी उम्मेदवार’(सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुका लागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ ।

    गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिएका छन् ।

    ओलीले प्रस्ताव गरेको सूचीमा अइन्द्रविसुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थपित, खगेन्द्र राई, गोकुल घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिंह सम्बाहम्फे, अजय क्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापा मगर, विद्यासुन्दर शाक्य, सीपी घर्ती मगर, हरिबहादुर राजवंशी र हरिबहादुर राईको नाम छ ।

    सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले बागी उम्मेदवारी दिएकी छन् ।
    मधेशीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएकाबाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन् भने दलितमा ८ जना प्रस्ताव भएकोमा नरबहादुर विक र अनुभूति वम नेपालीले बागी दिएका छन् । थारुमा पनि जयप्रकाश थारुले बागी उम्मेदवारी दिएका छन् भने मुस्लिममा नजिर मियाले दिएका छन् ।

    पिछडिएको क्षेत्रबाट भरत राउद र लालवहादुर रावलले बागी उम्मेदवारी दिएका छन् ।

    खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

    खुल्ला महिलामा ५३ जना हलमा प्रस्तावितबाहेक अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले उम्मेदवारी मनोनयन गरेका छन् ।

    प्रदेशतर्फका बागी

    प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतवार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले उम्मेदवारी मनोयन गरेका छन् ।

    प्रदेश १ बाट हलमा प्रस्ताव भएका नाम किशोरकुमार अधिकारी, टंक आङ्बुहाङ, तिलकुमाार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भाष्कर काफ्ले हुन् ।

    त्यस्तै प्रदेश १ को खुल्लामा ६ जनाको मात्र उम्मेदवारी परेको छ भने वागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ ।

    अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना मगर, सरेश नेपालको नाम प्रस्ताव गरेका थिए ।

    गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरुले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका छन् ।

    सुदूरपश्चिमबाट हलमा प्रस्ताव गरिएका नाममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनी राना ,भैरवबहादुर सिंह र लीलाधर भट्ट छन् ।

    कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले प्रस्ताव गरेका नाम भने गुलावजंग शाह, धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, निरज आचार्य र विष्णु रिजाल हुन् ।

    त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिएका छन् ।

  • एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

    एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

    चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

    केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

    निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ ।

    पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोधलगायतका प्रक्रिया सुरू हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरू गर्ने निर्वाचन समितिले जनाएको छ । नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेपछि तोकिएको छ ।

  • एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, मतदान अवधि २ घण्टा घटाइयो

    एमाले महाधिवेशन : निर्वाचन तालिका संशोधन, मतदान अवधि २ घण्टा घटाइयो

    चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । निर्वाचन आयोगले केन्द्रीय कमिटी,अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

    नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेसम्मलाई छ । मतदानको समय आज राति ९ देखि सोमबार बिहान १ बजेसम्म निर्धारण गरिएको छ । यसअघि मतदानको समय बिहान ३ बजेबाट २ घण्टा घटाइएको हो ।

  • सूचीमा नपरेका विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन

    सूचीमा नपरेका विशाल भट्टराईलाई प्रदेश अध्यक्षको आश्वासन

    काठमाडौं । एमाले महाधिवेशनमा सहमतिका लागि केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ जनाको केन्द्रीय सदस्य सूचीमा विशाल भट्टराई परेका छैनन् ।

    प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएको बताइएको छ ।

    पदाधिकारीमा आकांक्षा देखाएका भट्टराईले उम्मेदवारी पनि दिएका छैनन् । नेताहरूसँगको कुराकानीपछि उनी प्रदेश अध्यक्ष बस्न तयार भएको एक नेताले बताए ।

  • ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

    ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

    चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

    आइतबार मध्यरात ओलीद्वारा सार्वजनिक केन्द्रीय कमिटीका ३०१ जनाको सूचीमा वलीको नाम खुला महिला समूहमा छ । मोती दुगडको नाम भने खुला जनजाति सूचीमा छ । दुगड एमालेलाई थापाथलीमा केन्द्रीय कार्यालय भवन मिलाइदिने व्यापारी हुन् ।

    सूचीमा महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलकी पत्नी सुजिता शाक्य पनि अटाएकी छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष नवीना लामादेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्मको नाम परेको छ ।

    काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितदेखि वर्तमान मेयर विद्यासुन्दर शाक्यसमेत अटाएका छन् । पत्रकार पृष्ठभूमिका सूर्य थापा र विष्णु रिजाल केन्द्रीय सदस्यमा परेका छन् । अर्का आकांक्षीद्वय गगन विष्ट र राजेन्द्र अर्याल भने सूचीमा छैनन् ।

  • एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध

    एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध

    काठमाडौं । नेकपा एमालेमा पाँचजना पदाधिकारी निर्विरोध भएका छन् ।

    बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध भएका हुन् ।

    निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

    अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।

    निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।

  • उमेरहदका कारण चार नेताको एमाले नेतृत्वबाट अवकाश

    उमेरहदका कारण चार नेताको एमाले नेतृत्वबाट अवकाश

    काठमाडौं । उमेरहदका कारण नेकपा एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिएका छन् । बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् ।

    एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् । उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन ।

    एमालेका पुराना नेता बोहरा पार्टी अनुशासन आयोगका अध्यक्ष थिए । उनी उमेरले ७३ वर्ष पुगेका उनले पार्टी नेतृत्वबाट अवकाश पाएका छन् । यसैगरी मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् । मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज थिए । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य थिए । यस्तै पाण्डे चीनका लागि राजदूत नियुक्त भएका थिए । उनलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।

    उमेरहदका कारण पार्टी नेतृत्वबाट बाहिरिएका नेताहरुले भविष्यमा पार्टीको सल्लाहकार वा विभन्न मञ्चहरुमा बसेर योगदान दिन सक्नेछन् । यसैगरि सरकारका विभिन्न राजनीतिक वा संवैधानिक नियुक्तहरूमा पनि उनीहरुलाई समेटिन सक्छ । एमालेभित्र उनीहरूको सक्रिय राजनीतमा भने पूर्णविराम लागेको छ ।

  • एमाले महासचिवमा शंकर पोखरेल निर्विराेध

    एमाले महासचिवमा शंकर पोखरेल निर्विराेध

    चितवन । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् । पोखरेललाई बधाई तथा शुभकामना साट्ने कार्यकर्ताको भीड लागेको छ ।

    निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

  • अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची बन्दसत्रबाट अनुमोदन

    अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची बन्दसत्रबाट अनुमोदन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ ।

    सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको हो ।

    केही नेताहरुले आफू छुटेको भन्द विरोध गरेकोपनि ओलीले उनीहरुलाई सल्लाहकारमा लैजाने आश्वासन ओलीले दिएका छन् ।

    शनिबारको बन्दसत्रले अध्यक्ष अ‍ोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको थियो । सोही अनुसार ओलीले सदस्यहरुको सूची तयार गरेर प्रस्ताव गरेका हुन् ।

  • होटल सफारीमा प्रिन्ट भयो घोषणा गर्ने सूची, ओलीले ‘फिनिसिङ टच’ दिँदै

    होटल सफारीमा प्रिन्ट भयो घोषणा गर्ने सूची, ओलीले ‘फिनिसिङ टच’ दिँदै

    काठमाडौं । नेकपा एमालेका नयाँ केन्द्रीय समितिका लागि प्रारम्भिक सूची तयार भएको छ । होटल सफारीमा उपमहासचिव विष्णु पौडेलले सूची प्रिन्ट गरेर लगेका थिए । बन्द सत्र भने अझै सुरू भएको छैन ।

    होटेल सेभेन स्टारमा बन्दसत्र स्थल भए पनि अध्यक्ष ओली र उनको कोर टिम भने होटेल सफारीमा होमवर्क गरिरहेको छ । ओलीसहित नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेताहरू होटेल सफारी पार्कमै छन् । यही टिमले सूची तयार पारेको हो ।

    पौडेल उक्त सूची बोकेर होटेलको तल्लो तलामा आएका थिए । त्यहाँ उनले सूची प्रिन्ट गर्दै पत्रकारसँग अनौपचारिक कुराकानी गरे । पार्टीमा भएको सहमतिबारे जानकारी भने दिएनन् ।

    पौडेलले यतिमात्र भने, ‘सबै राम्रो भइरहेको छ, राम्रो हुनेछ ।’

    स्रोतका अनुसार पौडेलले सूची प्रिन्ट गरेर लगेपछि ओलीले फाइनल रुजु गर्ने छन् । बन्द सत्र चाँडै सुरु हुने बताइएको छ । होटेल सफारीमा रहेका पृथ्वीसुब्बा गुरुङले पनि अब चाँडै महाधिवशेन सकिने बताएका छन् ।

  • डकुमेन्ट प्रिन्ट गर्दै विष्णु पौडेलको हँसिमजाक, पीएस भन्छन्- ९० प्रतिशत सहमति भइसक्यो (भिडिओ)

    डकुमेन्ट प्रिन्ट गर्दै विष्णु पौडेलको हँसिमजाक, पीएस भन्छन्- ९० प्रतिशत सहमति भइसक्यो (भिडिओ)

    चितवन । नेकपा एमालेको बन्दसत्र चलिरहँदा नेृतृत्व सहमतिको प्रयासमा छ । लगभग ९० प्रतिशत सहमति भएको भन्दै नेताहरूले आजै टुंगो लगाउने बताएका छन् ।

    बन्दसत्रमा जानुअघि पार्टीको डकुमेण्ट प्रिन्ट गर्न आएका विष्णु पौडेललाई पत्रकारले घेरे । हँसिलो मुद्रामा पेस भएका पौडेलले पत्रकारको राजनीतिक प्रश्नमा हल्काफुल्का जवाफ दिएर टारे । ‘सबै राम्रो भइरा’छ, राम्रो हुन्छ, राम्रो हुनेवाला छ ‘, उनले भने ।

    प्रिन्ट गरेको डकुमेन्टको जिज्ञासामा पौडेलले भने, ‘मिडियालाई पहिले सुनायो भने प्रतिनिधिले हाम्रो कुरा सुन्नुपर्थ्यो भन्ने हुन्छ नि ।’ सहमति भइसकेको हो हँसिलो देखिनुभाको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मेरो अनुहार हँसिलो नभा’ को कहिल्यै देख्नुभएको छ ?’

    अर्का नेता पृथ्वीसुब्बा गुरुङले ९० प्रतिशत सहमति भइसकेको बताए । आजै बन्दसत्रबाट टुंगो लगाइने भन्दै गुरुङले भने, ‘ भीम रावलबारे सहमति भएको छैन । त्यो भएपछि शतप्रतिशत पुग्छ ।’

    अध्यक्ष ओली परामर्शमा रहेकाले सकिएपछि बन्दसत्र सुरू हुने नेताहरूले बताएका छन् ।

  • बन्दसत्रबाट बाहिरिए रावल, आफू निकटसँग छलफलमा

    बन्दसत्रबाट बाहिरिए रावल, आफू निकटसँग छलफलमा

    चितवन । एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलले आफ्नो दाबी कायमै रहेको बताएका छन् ।

    केही बेरअघि बन्दसत्रस्थल पुगेका नेता रावल पुन: कोठा फर्किएका छन् । आफू बसेको होटलमा निकटस्थ कार्यकर्तासँग उनी छलफलमा रहेको स्रोतले बतायो । अहिलेसम्म संस्थापन पक्षसँग कुनै छलफल नभएको उनीनिकट एक नेताले नेपाल प्रेसलाई बताए ।

    अध्यक्ष केपी शर्मा ओली भने परामर्शमै छन् । बन्दसत्रअघि ओली-रावल भेट गराउन केही नेता लागि परेका थिए ।

  • ओली परामर्शमा, रावल बन्दसत्रमा

    ओली परामर्शमा, रावल बन्दसत्रमा

    काठमाडौं । एमाले महाधिवेशनको बन्दसत्रमा नेताहरू प्रवेश गर्ने क्रम सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली भने परामर्शमै छन् । उपाध्यक्ष भीम रावल बन्दसत्र हलमा प्रवेश गरेका छन् । बन्दसत्रअघि ओलीसँग भेटघाटका लागि पहल गरिए पनि सम्भव नभएको बुझिएको छ ।

    महासचिव ईश्वर पोखरेल अध्यक्ष ओलीसँग भेटघाट गरेर फर्केका छन् । उनी पनि बन्दसत्रमा प्रवेश गर्दैछन् । पोखरेलले पत्रकारसँग खासै प्रतिक्रिया दिन चाहेनन् ।

    युवा नेता महेश बस्नेत भने ओलीसँग भेट्न हिँडेका छन् । ओलीको परामर्श लम्बिँदा बन्दसत्र सुरु हुन ढिलाइ भएको छ ।

  • कर्णालीलाई पदाधिकारी माग्दै युवा टोली सौराहामा

    कर्णालीलाई पदाधिकारी माग्दै युवा टोली सौराहामा

    सौराहा । नेकपा एमालेको जारी महाधिवेशनमा एमालेले कर्णालीलाई एक पदाधिकारी दिनु पर्ने माग राख्दै राष्ट्रिय युवा संघका सचिवालय सदस्य एवं सुर्खेत जिल्ला अध्यक्ष कमल खड्का जुनिसहितको टोली सौराहा आएको छ ।

    ‘हामी नीति निर्माण गर्ने तहमा हालसम्म पुग्न सकेका छैनौं । पार्टी नेतृत्वलाई दबाब दिन ब्यानरसहित यहाँ आएका हौं’, जुनि भन्छन, ‘कर्णालीलाई सम्मान गर्ने अपेक्षा छ ।’

    केन्द्रीय सचिवालय सदस्य किरण सापकोटा पनि सौराहा आइपुगेका छन् । उनी फरक क्षमताका हुन् । ‘हामीलाई अरु धेरै चाहिएको छैन । यामलाल कंडेललाइ सचिव बनाइ दिए हुन्छ । देशभरका प्रतिनिधिसँग कर्णालीलाई न्यायका लागि अनुरोध गर्छौं ।’

    नेता कंडेल कर्णालीबाट पदाधिकारीका एक्ला दाबेदार हुन ।

  • बन्दसत्र परिसरमा भीम रावलको पर्चा खोसियो

    बन्दसत्र परिसरमा भीम रावलको पर्चा खोसियो

    चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलको पर्चा खोसिएको छ । आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको जनाइएको छ ।

    रावल पक्षधरले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोसेका हुन् ।

    एमालेले महाधिवेशनमा चार बाइ चार इन्चभन्दा बढीका प्रसारसामग्री प्रयोग गर्न नपाइने आचारसंहिता बनाएको छ ।

    बन्दसत्रको दोस्रो दिन आज सर्वसम्मत नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ । हिजो बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार दिएको थियो ।

    उक्त निर्णयप्रति रावलले आपत्ति जनाइरहेका छन् । रावलले अहिलेसम्म आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।

  • सबैको नजर ओलीमा, ध्वनी मतबाट नेतृत्व घोषणा गर्ने तयारी !

    सबैको नजर ओलीमा, ध्वनी मतबाट नेतृत्व घोषणा गर्ने तयारी !

    चितवन । नेकपा एमालेको नयाँ नेतृत्वका लागि अन्तिम कसरत भइरहँदा चुनाव हुने सम्भावना टर्दै गएको छ । बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको हो ।

    हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो । त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ । अध्यक्षले

    हलमा नाम घोषणा गरेपछि प्रतिनिधीले ध्वनी मतबाट त्यसलाई सदर गर्ने संस्थापन पक्षका नेताहरु बताउँछन् ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संसदमाजस्तै ‘हुन्छ’ र ‘हुन्न’ भनेर प्रस्ताव लैजाने र हलले ताली पिटेर अनुमोदन गर्ने बताए । महाधिवेशन प्रतिनिधिहरुमा अधिकांस ओलीकै प्राधिकारको पक्षमा छन् । त्यसैले उनले नाम घोषणा गर्दा बदर हुने सम्भावना नगण्य देखिएको छ ।

    भीम रावलले अध्यक्षमा दावेदारी प्रस्तुत गरिरहेका छन् । कसैले उम्मेदवारी दिन चाहेमा निर्वाचन प्रक्रियामा जाने पार्टीको निर्वाचन आयोगले बताइरहेको छ । तर, पार्टी संस्थापनले भने कसैले उम्मेदावरी दिएमा त्यसलाई पनि ध्वनीमतबाटै टुंग्याउने रणनीति बनाएको बुझिएको छ । यस्तोमा रावलका पक्षमा बहुमत प्रतिनिधि नपुगेको भन्दै ओलीलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्ने सम्भावना पनि छ ।

    यतिबेला सबै नेता तथा कार्यकर्ता ओलीबाट आउने सूचीको पर्खाइमा छन् । अहिलेसम्मको परिदृश्य हेर्दा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेललाई ओलीले अघि सार्ने देखिएको छ । अन्य पदाधिकारीबारे अझै प्रष्ट खाका आइसकेको छैन ।

    पार्टीभित्र एकल वर्चश्व भएकाले ओलीलाई आफ्ना नीति, विचार र निर्णय अनुमोदनका लागि समस्या छैन । हिजोको बन्द सत्रले सर्वाधिकार दिएपछि उनी थप शक्तिशाली भएका छन् । अब सबै नेताहरु नेतृत्वमा समेटिनका लागि ओलीमै निर्भर छन् ।

    पदाधिकारी र केन्द्रीय सदस्य बन्न चाहेका धेरै नेताहरु अझै पनि अलमलमा देखिएका छन् । आफू पार्टीको कुन कमिटी र पदाधिकारीमा परिने हो भन्ने व्यग्रता उनीहरुलाई छ ।

    केन्द्रीय कमिटीमा दोहोरिन चाहेका एक सदस्यले भने, ‘को मान्छे कसरी समेटिन्छ भन्ने केही पनि थाहा छैन । अध्यक्षले चाहे केन्द्रीय कमिटीमा परिएला । हेरौं अध्यक्षले के ल्याउनुहुन्छ ।’

    महाधिवेशन स्थलामा भेटिएका यस्ता धेरै नेताहरु छन्, जसलाई आफू के हुन्छु भन्ने थाहा छैन् । ओलीले समेट्लान कि नसमेट्लान भन्ने प्रतीक्षा धेरैमा छ ।

    एमालेले १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र तीन आयोगका पदाधिकारी र सदस्य महाधिवेशनबाट चुन्नुपर्ने छ ।

  • एमालेमा फुकेन गाँठो, रावललाई समेट्न ओली ‘अनिच्छुक’

    एमालेमा फुकेन गाँठो, रावललाई समेट्न ओली ‘अनिच्छुक’

    चितवन । एमालेको दशौं महाधिवेशन आज समापन गर्ने तयारी भइरहेको छ, तर, नेतृत्व छनोटको मुख्य विषय निरुपण हुन बाँकी नै छ । महाधिवेशन हलले साविक अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय समितिको सर्वसम्मत नाम प्रस्ताव गर्न म्यान्डेट दिए पनि निर्वाचनको सम्भावना टरेको छैन ।

    पार्टी विभाजनका बेला माधव नेपालको साथ छाडेर एमालेमा रहेका ‘१० भाइ’लाई समेट्ने विषयमा ओलीको छनोटपूर्ण रणनीतिका कारण सर्वसम्मत नेतृत्व जटिल बनेको हो । १० भाइमध्ये अध्यक्षका भीम रावल र घनश्याम भुसालको व्यवस्थापनप्रति ओली सकारात्मक छैनन् । पछिल्लाे अवस्थामा भुसाललाई साविककै उपमहासचिव पद दिन तयार रहेको भए पनि रावललाई भने उनले पदाधिकारीमा समेट्न नचाहेको स्रोतको दावी छ ।

    विधान महाधिवेशनले एक जना मात्रै उपमहासचिव रहने व्यवस्था गरेको थियो । नेता व्यवस्थापन गर्न केन्द्रीय कमिटीको अन्तिम बैठकले दुई उपमहासचिव थप गर्ने निर्णय लियो । शनिवार उक्त निर्णय महाधिवेशनको बन्द सत्रले पारित गरिसकेको छ । तर, उपाध्यक्ष पद पाँचबाट सात बनाउँदा पनि रावल समेटिने सम्भावना कम देखिएको छ ।

    ‘रावल कामरेडले अध्यक्षमा उम्मेदवारी दिएपछि एकपल्ट पनि अध्यक्षज्यूले संवाद गर्न खोज्नु भएन,’ रावल निकट एक नेताले भने, ‘उहाँ कुनै पनि हालतमा रावललाई पदाधिकारीमा ल्याउने पक्षमा हुनुहुन्न ।’

    निर्वाचन हुने अवस्थामा रावलले अध्यक्षमा उम्मेदवारी दिए ओलीले व्यवस्थापन गर्न नसकेका अरू नेताहरूले पनि उम्मेदवारी दिने तयारी गरेका थिए । तर, शनिवार नाम प्रस्ताव गर्ने जिम्मा महाधिवेशन हलले ओलीलाई दिएपछि रावललाई थप संकट परेको हो ।

    केही नेताका अनुसार केन्द्रीय कमिटीको बैठकबाटै उक्त अधिकार ओलीलाई दिने तयारी गरिएको थियो । तर, केन्द्रीय कमिटीभन्दा बढी शक्तिशाली महाधिवेशन हुने भएको हुँदा ओलीले दोस्रो बाटो रोजेका हुन् । यसरी अधिकार प्रत्यायोजन गरिएपछि रावल थप रुष्ट बनेका छन् । उनले पार्टीले अलोकतान्त्रिक बाटो लिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    ‘विधान मिचेर कसैलाई अधिकार दिन मिल्दैन,’ उनले फरक मत राख्दै भनेका थिए, ‘मेरो उम्मेदवारी थियो, छ र रहने छ ।’

    उपाध्यक्ष रावल ब्याक नभएपछि पदाधिकारीमा सर्वसम्मत हुने सम्भावना क्षीण छ । तर, ओली निकटका केही नेताहरूले भने हलबाटै पदाधिकारी सर्वसम्मत हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

    संस्थापन पक्षका नेता शेरबहादुर तामाङ रावल उम्मेदवार बने पनि चुनाव नहुने बताउँछन् ।

    उनले भने, ‘भीम रावलजी उम्मेदवार हुनुभयो उहाँको पक्षमा कति हुनुहुन्छ हात उठाउनु होस् भन्ने, अनि केपी ओलीको पक्षमा कति हुनुहुन्छ भनेर टुङ्ग्याउने हो । अरू कुनै पनि सिटमा चुनाव हुँदैन । हामी १० मिनेटमा सबै सक्छौं ।’

    त्यसो त रावल पक्षलाई पनि निर्वाचन लड्दा जितिन्छ भन्ने कुरामा विश्वास छैन । केपी ओलीबाटै वरिष्ठ उपाध्यक्षको प्रस्ताव आए आफूहरुले रावललाई मनाउन प्रयास गर्ने उनी निकट एक नेताले बताए ।

    ‘हामीले यो अवस्थामा चुनाव जित्दैनौं,’ उनी टिकट रहेका एक नेताले भने, ‘कमजोर अवस्थामा निर्वाचन लड्नुभन्दा सहमतिमा जानु उपयुक्त हुन्छ । उहाँ (भीम रावललाई) वरिष्ठ उपाध्यक्ष दिने भए हामी पनि मनाउने थियौं ।’

    तर, ओली रावललाई वरिष्ठ उपाध्यक्ष दिन तयार देखिएका छैनन् । एक मात्र वरिष्ठ नेताको पदमा ईश्वर पोख्रेल र सुभाषचन्द्र नेंम्वाङको दाबी रहेको छ । शनिवार राति नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले आफू सहमतिको बाधक नबन्ने बताएका छन् ।

    ओलीलाई तीव्र दबाब आए रावललाई उपाध्यक्षसम्म राखिन सक्ने स्रोत बताउँछ । तर, ओली स्वयम् भने रावल इतरको पदाधिकारी टिम बनाउन चाहन्छन् । यस्तो अवस्थामा रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्य उपाध्यक्ष हुने करिब पक्का छ । युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने, महासचिवमा नअटाएका एक जनालाई उपाध्यक्ष बनाउने र नवौं महाधिवेशनमा झिनो मतले महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई पनि उपाध्यक्ष बनाउने सम्भावना बढेको स्रोतको दाबी छ ।

    यसरी चिसियो रावल-ओली सम्बन्ध

    एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलको सम्बन्धमा दरार आएको धेरै भएको छैन । नवौं महाधिवेशनमा रावल माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित भए पनि त्यसपश्चात ओलीसँग निकटमै रहेर काम गरेका थिए । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा रावलले उठाएका अधिकांश उम्मेदवारले टिकट पाए । त्यो बेलासम्म रावल ओलीका विश्वासपात्र झैं देखिएका थिए ।

    तत्कालीन एमाले सुदूरपश्चिम संयोजक रहेका रावलले सुदूरपश्चिम प्रदेशमा आफू निकटका नेताहरूलाई प्रत्यक्षमा भन्दा बढी समानुपातिकमा व्यवस्थापन गरे । तत्कालीन प्रदेश सहसंयोजक रहेका कर्ण थापालाई समानुपातिकको पहिलो नम्बरमा राखिए पनि प्रत्यक्षमा महिला उम्मेदवार नहुँदा सुदूरपश्चिममा आठजना समानुपातिक उम्मेदवारले प्रदेशसभामा पाइला टेके ।

    ओली र रावलको टकराव सुदूरपश्चिम सरकार सञ्चालनबाट बढ्दै गयो । केन्द्रमा पनि आफ्नै सरकारको विरोध मात्रै गर्ने गरेको आरोप झेलेका रावललाई सुदूरपश्चिममा ओली समूहलाई कमजोर पारेको, केन्द्रको निर्देशन नमानेको आरोप बढ्दै गयो ।

    सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य हुन् । त्यसमा सभामुख सहित २५ जना एमालेका सांसद थिए । जसपाका दुई पनि एमाले ओली निकट रहेका थिए । माओवादीलाई दिएको समर्थन फिर्ता गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने भनेको केन्द्रीय सर्कुलर उलंघन गर्न लगाएको, माओवादीको सरकारलाई सहयोग गरेको र एमाले ओली पक्षका सांसदहरुलाई कारबाही गरेको बिषयले पनि ओली–रावलको दुरी बढाउनमा काम गर्‍यो । रावलकै निर्देशनमा नेकपा प्रदेशको खातामा रहेको लाखौं रकम झिकेको आरोप पनि लाग्यो ।

    त्यसताका ओली र रावलको ‘वाक युद्ध’ नै चलेको थियो । धनगढीमा ओलीले रावललाई ‘अछामको केटो’ भन्दा त्यही ठाउँमा आयोजना गरेको कार्यक्रममा रावलले ओलीलाई ‘झापाको केटो’ भनेका थिए ।

    यता केन्द्रमा माधव नेपाललाई बलियो साथ दिएर आफ्नै सरकार ढलाउन लागिपरेको भन्दै ओली चिढिएका थिए । अन्तिम समयमा रावल एमालेमा रहे पनि ओलीसँग भने निकट हुन सकेनन् ।

    ‘कयौंपटक भेट भयो, कुरा पनि भए तर, पहिलाको जस्तो सम्वन्ध हुन सकेन,’ रावल निकट एक नेताले भने, ‘अहिले त उहाँहरू प्रतिस्पर्धी नै हुनुभयो ।’

  • ईश्वर-विष्णु सहकार्यले ओलीलाई सहज, महासचिवमा सहमति गर्न पौडेल र पोखरेलबीच वार्ता हुँदै

    ईश्वर-विष्णु सहकार्यले ओलीलाई सहज, महासचिवमा सहमति गर्न पौडेल र पोखरेलबीच वार्ता हुँदै

    चितवन । नेकपा (एमाले) को १० औं महाधिवेशनको दोस्रो दिन बन्द सत्रको दिन थियो ।

    तोकिएको भन्दा ५ घण्टा ढिलो गरी सुरू भएकव बन्दसत्रको धेरैजसो समय विदेशी पाहुनाको शुभकामनामै बित्यो । बन्दसत्रको साँझतिरको समय भने निर्णायक रह्यो । हिजोको केन्द्रीय कमिटीबाट विधान संशोधन गर्न गरिएको निर्णयलाई बन्द सत्रले अनुमोदन गरेको थियो ।

    साथै पदाधिकारी र केन्द्रीय सदस्य छनोटको अधिकार ओलीलाई सुम्पिने प्रस्ताव अघि बढ्यो । यसमा महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहकार्य गजब देखियो । त्यो प्रस्तावलाई हलले पारित गर्‍यो ।

    यो निर्णयविरुद्ध आपत्ति जनाउँदै उपाध्यक्ष भीम रावलले फरक मत राखे । अध्यक्ष ओलीले विष्णु पौडेलले राखेको प्रस्तावको प्रतिरक्षा गरे ।

    यो सहकार्यले बरिष्ठ उपाध्यक्षमा पोखरेललाई नै ओलीले अघि सार्ने संकेत मिलेको केही नेताले बताएका छन् ।

    सहमतिअबन्दा आफू बाधक नबन्ने सुवास नेम्वाङको अभिव्यक्तिले पनि उनी दाबीबाट पछि हटेको र पोखरेललाई बरिष्ठ उपाध्यक्ष छोडिदिएको संकेत मिलेको छ ।

    बन्द सत्रमा देखिएको दृश्यले महासचिवमा विष्णु पौडेललाई ओलीले अघि सारेको संकेत मिल्थ्यो । यद्यपि यसबारे अझै एकिनसाथ भन्ने सकिने अवस्था छैन ।

    बरिष्ठ उपाध्यक्षमाथि आफ्नै समूहका दुई नेताको दाबीले ओलीलाई अप्ठ्यारो पारेको थियो । अब त्यो सकस हटेपछि महासचिवको विषयमा ओलीको ध्यान केन्द्रित हुनेछ । त्यही गाँठो फुकाउन पौडेल र शंकर पोखरेलबीच आजै रातिसम्म वार्ता गराउन लागिएको स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।

    वार्ताबाट महासचिव र अर्को कुनै पदमा एक-अर्कालाई व्यवस्थापन गर्ने सहमति बन्नेछ । महासचिवमाथिको आजै विवाद टुंग्याएर भोलि नै पदाधिकारी घोषणा गर्ने तयारी ओलीको छ ।

  • ओलीलाई अधिकार प्रत्यायोजनपछि के भन्छन् नेताहरू ?

    ओलीलाई अधिकार प्रत्यायोजनपछि के भन्छन् नेताहरू ?

    चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी आजको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ ।

    विष्णु पौडेलको त्यस प्रस्तावमा हलले समर्थन जनाएको थियो ।

    बन्दसत्रले अध्यक्ष ओलीलाई दिएको उक्त अधिकारप्रति उपाध्यक्ष भीम रावलले भने आपत्ति जनाएका छन् । उनले राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्माण गर्ने विधानको व्यवस्थाविपरीतको निर्णय भएको भन्दै फरक मत राखेका हुन् ।

    अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार प्रत्यायोजन र भीम रावलको फरक मतप्रति हामीले केही नेतासँग प्रतिक्रिया लिएका छौं ।

    कसले के भने उनीहरूकै शब्दमा :

    अष्टलक्ष्मी शाक्य

    म पार्टी फुटको पक्षमा हिजो पनि थिइन, आज पनि छैन र भोलि पनि हुने छैन । नेकपा एमाले हामीले दु:ख गरेर त्याग गरेका बनाएको पार्टी हो यसलाई जोगाउनु पर्छ बनाउनु पर्छ । फरक मत भीम रावलले मात्रै होइन सबैले राख्न पाउँछ । सबैको अधिकार छ । विधानले सबैलाई त्यो अधिकार दिएको छ ।

    सर्वसम्मतरूपले वा निर्वाचनको माध्यमबाट जसरी भए पनि नेतृत्व चयन हुन्छ । जहाँ-जहाँ सहमति हुँदै गयो त्यसलाई पास गर्दै गयो जहाँ सहमति भएन त्यसमा चुनाव गर्ने विधि विभिन्न प्रकारमा छन् । आम कार्यकर्ताहरूको भावना सर्वसम्मत नेतृत्व चयन गर्ने र विवाद नगर्ने भन्नेछ । तर, कसैले उम्मेदवारी दिन्छु भनेपछि नदिनुस् भन्न पाइँदैन ।

    ईश्वर पोखरेल

    विधान प्रस्तावको औपचारिक प्रस्ताव टेबल भएको हो । त्यो सर्वसम्मत रूपले पारित भएको हो ।

    शेरबहादुर तामाङ

    हामी निर्वाचन विधिमा जान सक्छौं । उहाँले (भीम रावलले) उम्मेदवारी दिन्छु भनेपछि मात्रै थाहा हुन्छ । कानून त हामी हुन्छ र हुन्नँ भनेर पारित गर्छौं । यहाँ पनि ताली पिटेर सक्छौँ ।

    भीम रावलजी उम्मेदवार हुनुभयो उहाँको पक्षमा कति हुनुहुन्छ हात उठाउनु होस् भन्ने अनि केपी ओलीको पक्षमा कति हुनुहुन्छ भन्ने अति टुंग्याउने हो ।
    अरू कुनै पनि सिटमा चुनाव हुँदैन । सर्वसम्मत विधि पनि निर्वाचन हो । हामी १० मिनेटमा सबै सक्छौँ ।

    झपट बोहरा

    आजको निर्णय लोकतान्त्रिक अध्यासभित्रै पर्ने उत्तम अभ्यासमध्ये एक हो । सहमति नहुने अवस्थामा विधानले दिएको प्रक्रिया र विधिमा गएर अघि बढिन्छ । यो चुनाव नै हुनुपर्छ वा सहमति हुनुहुँदैन भन्ने कुरा होइन ।

    उहाँले आफ्नो कुरा राख्नुभएको छ । चित्त नबुझ्ने अवस्थामा सबै कुरामा सहमतिमै जानुपर्छ भन्ने होइन । तर, अहिलेको अवस्थामा सहमति हुन राम्रो हो । यदि भएन भने निर्वाचन हुने कुरा सामान्य हो । भोलि मनोनयन दर्ता हुन्छ त्यसपछि मात्रै थाहा हुन्छ कसरी र कुन पदमा सहमति वा निर्वाचन हुन्छ भन्ने कुरा । भोलि साँझसम्म पदाधिकारी र केन्द्रीय सदस्यको आकार बाहिर आउने सम्भावना हामीले देखेका छौँ ।

    नारदमुनि राना

    धेरै नेताहरूको विषयमा छलफल गरेर मलाई लाग्छ यो विषय टुंगो लागिसकेको हुनुपर्छ । एकाध नेताहरूलाई केपी ओलीको भाषा, निर्णय मन नपर्न सक्छ । तर, त्यो मन नपराउने व्यक्तिले मन नपराउँदैमा यो महाधिवेशनको सर्वसम्मत नेतृत्व चयन गर्ने विषयलाई केही फरक पार्दैन ।

    सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा सम्पूर्ण प्रतिनिधीहरुको माग हो । मुलुकको आवश्यकता र माग पनि त्यही हो । त्यस कारण हामी यसमा विवाद गर्न आवश्यक छैन । भोलि नेकपा एमालेले सबै पदमा सर्वसम्मत नेतृत्व पाउँछ ।

    निरु पाल

    अहिलेको नेकपा एमालेलाई सबै तर्फबाट घेराबन्दी गरिएको छ । यस्तो बेलामा हामीले स्थानीय तहबाटै सर्वसम्मत गर्दै ल्यायौँ ।

    महाधिवेशनमा पनि हामी सर्वसम्मत गर्नुपर्छ । अहिलेको आवश्यकता भनेको सर्वसम्मत हो भन्दा हिजै हामीले केन्द्रीय कमिटीमा अध्यक्षलाई अधिकार दिने भनेका थियौँ ।

    अध्यक्षले नै आज हलबाट लिने भन्नुभएको थियो । सबै साथीहरूले अध्यक्षलाई अधिकार दिइसक्नु भएको छ ।

    एक जना दुई जनाले विरोध गर्दैमा केही हुँदैन । हलभन्दा विपरीत कोही हुन सक्दैनन् । भोलि एमालेले नयाँ नेतृत्व पाउँछ । ९९ प्रतिशत सर्वसम्मत हुन्छ जस्तो लाग्छ मलाई सबै पदमा ।

    भीम रावललाई उपाध्यक्षमै राखेर व्यवस्थापन गर्ने भनिएकै छ ।

  • सहमतिको अन्यौलबीच एमालेमा निर्वाचनका लागि बुथ तयार (तस्बिर)

    सहमतिको अन्यौलबीच एमालेमा निर्वाचनका लागि बुथ तयार (तस्बिर)

    चितवन । नेकपा एमालेकाे १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सहमतिबाट नै नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । तर निर्वाचन समितिले सहमति नजुटे चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न आफ्नो तयारी पनि जारी राखेको छ ।

    समितिले निर्वाचनका लागि मतदान बुथ तयार गरिसकेको छ । तयार भएको बुथमा एकैपटक ९२ जनासम्मले मतदान गर्न पाउनेछन् । एकजनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ ।

     

    तस्बिरहरू : उमेश कार्की

  • एमाले प्रतिनिधिद्वारा मतदानको अभ्यास (तस्बिरहरू)

    एमाले प्रतिनिधिद्वारा मतदानको अभ्यास (तस्बिरहरू)

    चितवन । नेकपा एमालेको जारी महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिले विद्युतीय मेसिनबाट नमूना मतदानको अभ्यास थालेका छन् ।

    सहमतिको प्रयास भइरहेको नेताहरूले बताइरहेका छन् । तर, उम्मेदवारीको घोषणासँगै आकांक्षीहरूले भोट माग्न थालेपछि निर्वाचनको सम्भावना पनि उत्तिकै छ । युवा वैज्ञानिकद्वय राम-लक्ष्मणले बनाएको विद्युतीय मतदान मेसिनमा प्रतिनिधिले नमूना मतदान गरेका हुन् ।

    मेसिनको प्रयोगले मतदान, गणना प्रक्रिया सहज र छिटो हुने भन्दै एमालेले महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको थियो ।

    धनुषाका महाधिवेशन प्रतिनिधि तेजनारायण यादवले महाधिवेशन प्रविधिमैत्री भएकोमा खुसी जनाए ।

    तस्बिरहरू : शेरबहादुर थापा ।

  • एमाले महाधिवेशन : कर्णालीमा थपिँदै आकांक्षी

    एमाले महाधिवेशन : कर्णालीमा थपिँदै आकांक्षी

    चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा उम्मेदवारी घोषणासँगै आफूलाई जिताउन लबिङ बढ्न थालेको छ ।

    बन्दसत्र सुरू हुनै लाग्दा कर्णाली प्रदेशबाट आकांक्षी बढेका छन् । कर्णालीबाट हाल ११ केन्द्रीय सदस्य छन् । तीबाहेक पदमा खड्का, मिनासिन्ह रखाल, दल रावल, सीपी घर्ती, दानसिङ्ग परियार, हिक्मत विक, गोपाल नेपालीले उम्मेदवारी घोषणा गरेका छन् ।

    यीबाहेक, विनोदकुमार शाह, कौशिल्यावती खत्री, ध्रुवकुमार शाही, योगेन्द्र शाही, नागेन्द्र शाही नेश्नल, गगन सुनारले पनि निर्वाचन भएको खण्डमा उम्मेदवारी दिने नेपाल प्रेसलाई बताए ।

    ‘२३५ बढी महाधिवेशन प्रतिनिधिमा अधिकांश उम्मेदवार बन्ने योजनामा छन । धेरैको रुचि भूगोलकेन्द्रित छ’ नेता पदम माझीले भने, ‘कर्णालीले बढीमा ९ जना केन्द्रीय सदस्य पाउन सक्ला । सबै उम्मेदवार बनेर केन्द्रीय सदस्य बन्ने योजनामा छन् ।’ कर्णालीबाट कम्तीमा एकजना सचिव बनाउनुपर्नेमा आफूहरूको जोड रहने उनले बताए ।

    एमाले नेता गोरख बोगटी बरिष्ठताको हिसाबमा कर्णालीबाट यामलाल कंडेललाई कम्तीमा पदाधिकारीमा समेट्नुपर्ने नेताहरूसँग माग राखिएको बताउँछन् ।

    एमाले नेता एवं कर्णाली सहसंयोजक यामलाल कंडेलले केन्द्रीय सदस्यका हकमा छलफल नभएको बताए । उनले पदाधिकारी कर्णालीले पाउनुपर्छ भनेर लबिङ भइरहेको बताउँदै सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको जनाए ।