Tag: नेकपा एमाले

  • विज्ञप्तिको वास्तविकता : भीम आचार्यको ड्राफ्ट, झलनाथको ‘फाईनल टच’

    विज्ञप्तिको वास्तविकता : भीम आचार्यको ड्राफ्ट, झलनाथको ‘फाईनल टच’

    काठमाडौं । नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यलाई लिएर माधव नेपाल-झलनाथ खनाल समूहका नेताहरुले हस्ताक्षर दुरुपयोग भएको भनेपछि तरंग उत्पन्न भएको छ ।

    खनालले बुधबार दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा धैर्य र संयमका साथ पार्टी एकता जोगाउन प्रयत्न गरे सफल हुने भन्दै विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गरेका थिए ।

    खनालको सो वक्तव्य उनी स्वयंको विचारविरुद्ध आएको भन्दै जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेताले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको बताएका छन् । तर खनाल नर्भिक अस्पतालबाट त्रिभुवन विमानस्थलतर्फ जानुअघिसम्म उनीसँगै रहेका एमाले नेता तथा निकट सहयोगी होम बुढाथोकीले भने पार्टी एकताबारे खनालले जारी गरेको विज्ञप्ति ‘एक लाख प्रतिशत आधिकारीक’ भएको दावी गरेका छन् ।

    एमाले केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका बुढाथोकी परिवारका सदस्यसँगै अस्पतालमा थिए । खनालको हस्ताक्षरमा उनकै आधिकारिक फेसबुक पेजबाट जारी भएको विज्ञप्तिबारे कुनै आशंका नरहेको भन्दै बुढाथोकीले विज्ञप्तिमा हस्ताक्षर गर्दा पनि आफू सँगै रहेको बताए ।

    विज्ञप्तिको पृष्ठभूमि

    खनालको आधिकारिक पेजबाट एकताको पक्षमा विज्ञप्ति आउनुअघि नै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा र महासचिव ईश्वर पोखरेललाई अस्पतालमै पुगेका बेला पार्टी मिलाउन आग्रह गरेको समाचार आइसकेका थिए ।

    खनालको सचिवालय स्रोतका अनुसार उनले आफू उपचारका लागि दिल्ली जानुअघि एकताको पक्षमा अपिल गर्ने इच्छा देखाए । विज्ञप्ति मस्यौदा गर्ने जिम्मा उनले नेता भीम आचार्यलाई दिएका थिए ।

    आचार्यले मस्यौदा गरेका विज्ञप्तिमा केही शव्द उनले थपघट गरेपछि स्वकीय सचिव कृष्ण भट्टराईले छाप लगाएका थिए । खनालको हात कामेर हस्ताक्षर गर्न गाह्रो भएपछि आधिकारिक हस्ताक्षरको छपा लगाइएको थियो ।

    भीम आचार्य पछिल्लो समय पार्टी एकताको पक्षमा सक्रिय छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग भेटपछि उनले दोस्रो तहका नेताहरुसँग वार्तामा सहभागिता जनाइरहेका छन् ।

    प्रदेश १ को सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित गर्ने सन्दर्भमा पनि आचार्यले मुख्यमन्त्री शेरधन राईसँग वार्तापछि सरकारलाई सघाएको भन्दै नेपाल पक्षका केही नेताले आशंकाको नजरले हेरेका छन् ।

  • झलनाथको विज्ञप्तिमा नेपाल समूहका दुई नेताको आशंका

    झलनाथको विज्ञप्तिमा नेपाल समूहका दुई नेताको आशंका

    काठमाडौं । स्वास्थ्य उपचारका लागि भारत जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जारी गरेको विज्ञप्तिले माधव नेपाल समूहलाई तरंगित बनाएको छ । विज्ञप्तिमार्फत नेता खनालले सबैले रीस, राग, अहंकार र बदलाको भाव त्यागेर एमाले एकताका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् ।

    नेपाल-खनाल पक्षका २ जना केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमार्फत सो विज्ञप्तिको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् ।

    एमाले नेता डा. विजय पौडेलले ट्वीटमार्फत खनालको नाममा अरुले नै वक्तव्य जारी गराएको आरोप लगाएका छन् । ‘झलनाथ कमरेडको नाममा आफ्नो वक्तव्य निकालेछन्, यस्तो फटाइ नगरेको वेश’, पौडेलको ट्वीट छ ।

    त्यस्तै अर्का एमाले नेता जगन्नाथ खतिवडाले फेसबुकमार्फत नेता खनालको नाममा हस्ताक्षर दुरुपयोग गरि वक्तव्य जारी भएको आरोप लगाएका छन् । विज्ञप्तिमा उल्लेख भएको विचार खनालको विचारसँग मेल नखाने भन्दै खतिवडाले खनालको वक्तव्यका नाममा चालबाजी भएको बताएका छन् ।

    ‘श्वासप्रश्वासमा समेत गार्‍हो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन । वक्तव्यमा उल्लेखित विचार क. झलनाथ खनालको विचारसँग मेल खादैन । उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ’ खतिवडाले भनेका छन् । नेता खनालको बिरामी अवस्थालाई राजनीतिक स्वार्थको घैटौ भर्न प्रयोग नगर्न समेत खतिवडाले आग्रह गरेका छन् ।

    खनालको नाममा जारी भएको वक्तव्य भने उनकै नाममा आधिकारी फेसबुक अकाउण्टबाट आज सार्वजनिक भएको थियो ।

  • उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    काठमाडौं । बाढीपहिरोपीडितको उद्धार तथा राहतको लागि नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको टोली सिन्धुपाल्चोकतिर हिँडेको छ ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । उनीहरूले सिन्धुपाल्चोकको बाढीपीडित परिवारका लागि २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट लिएर गएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बिदाई गर्दै एमाले महासचिव ईश्वर पोखरेलले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग गर्न आव्हान गरेका छन् ।

  • दिल्ली जानुअघि ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    दिल्ली जानुअघि ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् ।

    ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका छन् ।

    शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग खनालले पार्टी मिलाउनुस् कमरेड भनेर आग्रह गरेको खनालसँगै रहेका एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले नेपाल प्रेसलाई बताए ।

    खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने, ‘हिजो के-के भयो सबै तीता-मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’

    आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए । ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् ।

    खनालले आफूलाई हेट्न आएका महासचिव पोखरेललाई ‘तपाईं यो पार्टी बुझेको र भविष्य भएको नेता हो’ भन्दै मिलाउन आग्रह गरेको बुढाथोकीले जानकारी दिए । हातमै समातेर पोखरेललाई आग्रह गर्दा खनालको आँखामा आफूले आँशु देखेको उनले बताए ।

  • कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक जारी, ज्वाला पनि सहभागी

    कर्णाली प्रदेश : एमाले संसदीय दलको बैठक जारी, ज्वाला पनि सहभागी

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । बैठक बिहान ८ बजे बस्ने भनिएकोमा समूहगत छलफलले ढिला भएको हो ।

    बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला पनि सहभागी छन् । नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार सांसदको पुनर्वहालीले सदनमा एमाले सांसदको संख्या २० पुगेको छ । बैठकमा ज्वालाको उपस्थितिले एमाले कर्णालीका कार्यकर्ता पार्टी एक हुनेमा आशावादी बनेका छन् ।

    बैठकले सरकारको नीति तथा कार्यक्रमबारेको धारणासँगै बजेटबारे आवश्यक सल्लाह गर्ने प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

  • कर्णालीमा एमाले संसदीय दल बैठक बस्दै, पुनर्वहाली भएका ४ सांसदलाई पत्र

    कर्णालीमा एमाले संसदीय दल बैठक बस्दै, पुनर्वहाली भएका ४ सांसदलाई पत्र

    सुर्खेत । एमालेको कर्णाली संसदीय दल वैठक अहिले बिहान ८ बजे बस्दैछ । नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बस्न लागेको हो ।

    हिजो पुनर्वहाली भएका चार संसदलाई पनि संसदीय दलको वैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेको छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि सरकार अल्पमतमा परिसकेको अवस्थामा आपसी सल्लाह गर्न वैठक बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले बताए । यसका लागि चारैजना माननीयलाई पत्र पठाइसकेको उनले जानकारी दिए ।

    शाहले नेपाल प्रेससँग भने, ‘प्रदेश सभाभित्र दलको संख्या हेर्दा हाम्रो बीस पुगेको छ । विपक्षमा २० पुग्दा सत्तारुढ दलको संख्या १८ मात्रै छ । त्यस मानेमा आज बस्ने दलको हाम्रो वैठकले कसरी अघि बढने भन्ने बारेमा आवश्यक सल्लाह गर्नेछ ।’

    बदलिएको परिस्थितिमा पार्टीभित्र सल्लाह गर्नकै लागि प्रदेशसभा वैठक आज १ बजे बस्नेगरी प्रदेशसभा स्थगित भएको उनको भनाइ छ ।
    एमालेमा पुनर्वहाली भएका चार जना सांसदलाई निम्तो गरिएको भन्दै उनले उनीहरु सबै सहभागी हुने आशा गरे ।

    वैठकमा आइसकेपछि हामी कसरी अघि बढने भनेर सल्लाह गर्नेछौं । संसदमा हाम्रो दलका नेताले स्पष्ट बोल्नु भएको छ,’ उनले भने ।

    उनले थपे, ‘एमालेमै गएर बस भन्ने आदेशलाई उहाँहरु आफैंले आएर स्वीकार गर्नुपर्ने हो । हामीले चिठी पठाएका छौं, निमन्त्रणा गरेका छौं । मलाई विवश्वास छ, अहिले बस्ने वैठकमा उहाँहरु आउनुहुनेछ । विगतमा जे जस्तो भए पनि अब नयाँ शिराबाट जाऔं । उहाँहरुप्रति कुनै पनि आग्रह-पूर्वाग्रह राखिने छैन । तपाईहरु निशंकोच आउनुस्, मज्जाले छलफल गरेर अघि बढौं ।’

  • सुदूरपश्चिममा माधव पक्षद्वारा ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन निलम्बन

    सुदूरपश्चिममा माधव पक्षद्वारा ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन निलम्बन

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहमुमतमा रहेको माधव नेपाल पक्षले ओली पक्षका सात सांसदमाथि कारवाही गरेका छ ।

    उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन् ।

    विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको हो । यस्तै बलदेव र रेग्मी लिलाधर भट्टराई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र नेपाली चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ ।

    संसदीय दलको ह्वीप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पनि ‘हुन्न’ भनेकाले कारवाही गरिएको विकले बताइन् ।

  • प्रदीप ज्ञवाली भन्छन् – अदालतको आदेशले संविधानको आधारशीला भत्किने खतरा भयो

    प्रदीप ज्ञवाली भन्छन् – अदालतको आदेशले संविधानको आधारशीला भत्किने खतरा भयो

    काठमाडौं । सर्वोच्च अदालतले केही दिनअघि ४ जना प्रदेश सांसदलाई पुनर्वहाली गर्न दिएको आदेशलाई लिएर एमालेले असन्तुष्टि जनाएको छ । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको आदेशबाट संविधानको आधार स्तम्भ नै भत्किने खतरा औंल्याउँदै यसको कानूनी प्रतिवाद गरिने बताए ।

    कर्णाली प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेका ४ सांसदलाई एमालेले पार्टी र सांसदबाट हटाएको थियो । सो कारवाहीका विरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमा सुनवाइ गर्दै सर्वोच्चले उनीहरूलाई पुनर्वहाली गर्न अन्तरिम आदेश गरेको हो ।

    प्रवक्ता ज्ञवालीका अनुसार सर्वोच्चको आदेशमाथि भ्याकेटमा जाने तयारी एमालेले गरेको छ । दलहरूको आन्तरिक विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै उनले यसको कानूनी प्रतिवाद नगरे गलत नजिर बस्न सक्ने औंल्याए ।

    नेपाल प्रेससँग ज्ञवालीले व्याख्या गरे, ‘यदि त्यो नै अन्तिम फैसलाका रूपमा आउने स्थिति भयो भने संविधानको आधार स्तम्भ नै भत्किन्छ । किनकी हाम्रो संविधानको मुल चरित्र भनेको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली हो । त्यसको पिल्लर भनेका दलहरु हुन् । दल भनेको निश्चित विचारधारा र अनुशानमा स्वेच्छिकरुपमा बाँधिन तयार भएको संगठन हो । यस्तो दलले आफ्ना सांसदलाई निश्चित अनुशासनमा बाँध्न नसक्ने र जसले जे पनि गर्न मिल्ने हो भने दलीय सिस्टम सकिन्छ । संविधानको आधार भत्किन्छ ।’

    आफ्नो पार्टीलाई अप्ठेरो परेकोले भन्दा पनि गलत नजिर स्थापित हुने चिन्ताले भ्याकेटमा जान लागेको ज्ञवालीको भनाइ छ ।

  • भैंसेपाटीमा वामदेव गौतम र विष्णु पौडेलको ‘भलाकुसारी’

    भैंसेपाटीमा वामदेव गौतम र विष्णु पौडेलको ‘भलाकुसारी’

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेका नेता वामदेव गौतमसँग उनकै निवासमा पुगी भेटवार्ता गरेका छन् । गौतमको सचिवालयका अनुसार भेटवार्ता राजनीतिकभन्दा पनि व्यक्तिगत हो ।

    भैंसेपाटीमा बस्ने गौतम र पौडेल छिमेकी हुन् । पार्टी विवादका बीच पनि उनीहरूबीच व्यक्तिगतरुपमा राम्रो सम्बन्ध छ । आजको भेटवार्ता व्यक्तिगतस्तरमै भएको गौतमको सचिवालयले जनाएको छ ।

    गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘ठोस विषय केही थिएन । सामान्य भलाकुसारी भएको हो ।’ भेटघाट करिब एक घण्टा भएको उनले जानकारी दिए ।

    गौतम पछिल्लो समय एमालेलाई एक बनाउने अभियानमा छन् । यद्यपि, उनको झुकाव बढी मानव नेपाल पक्षतिर छ । सर्वोच्च अदालतले हालै एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशको मर्मअनुसार पार्टीमा जेठ २ गते अघिको स्थायी कमिटी वैठक बोलाउनुपर्ने पक्षमा गौतम छन् । पार्टी संस्थापनले सो बैठक बोलाएमा सहभागी हुने उनको तयारी छ ।

  • सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले आन्तरिक छलफलमा

    सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले आन्तरिक छलफलमा

    कैलाली । सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थालेका हुन् ।

    सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये  एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् ।

    सभामुख बाहेकका २४ जनामध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

    आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाए । अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एकताको लागि आन्तरिक छलफल सुरु भएकाे छ ।

    १३ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने आन्तरिक तयारी थालेको हाे । विगतमा माधव पक्षबाट संसदीय दलका नेता प्रकाश शाह वा पूर्व प्रमुख सचेतक तारा लामा तामाङलाई मुख्यमन्त्री बनाउने बिषयमा छलफल भएको थियो । उता ओली पक्षबाट पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । तर, दुबै पक्षले एकले अर्कालाई स्वीकार नगर्दा अहिलेसम्म एमालेको सरकार बन्न सकेन  ।

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने बिषयमा आन्तरिक छलफल भइरहेको एमाले स्रोतले बतायो ।

    ‘सभामुख थापा नेपाल पक्षका भए पनि ओली पक्षका सांसदहरू उनलाई स्वीकार गर्न तयार देखिएका छन्, यस बिषयमा नेपाल पक्षका केहफ सांसदहरू सकारात्मक देखिएका छन्,’ एमाले स्रोतले भन्यो, ‘सभामुख थापा मुख्यमन्त्री बन्ने अवस्था आयो भने मात्रै सुदूरपश्चिममा एमाले एकढिक्का हुन सक्छ ।’

    सभामुख थापाले राजीनामा दिएपछि एमालेका २५ सांसद गणना हुने छन् । जसपाका २ जना सांसदसहित २७ जानको बहुमतले सरकार बन्न सक्ने गरी छलफल भएको छ । जसपा भित्रका २ सांसद राजेन्द्र महतो निकट भएको हुँदा एमालेको गठबन्धनमा उनीहरूलाई पनि ल्याउन सहज हुने एमालेको बुझाइ छ ।

  • जेठ २ मा फर्किँदा एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)

    जेठ २ मा फर्किँदा एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट निष्कासनपछि प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चारजना नेतालाई पुनर्वहालीको अन्तरिम आदेश दिएपछि एमालेलाई २०७५ जेठ २ मा फर्काइदिएको व्याख्या समेत भइरहेका छन् ।

    यद्यपी अदालतले दिएको अन्तरिम आदेशमा एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीमाथि प्रश्न उठाइएको छ । एमालेलाई जेठ २ मा फर्काउने सन्दर्भमा केपी ओलीले हालैमात्र ६ बुँदे वक्तव्य दिइसकेकाले जेठ २ को विषय ठूलो विवादमा छैन ।

    जेठ २ मा फर्किने ओलीको वक्तव्यलाई माधव नेपाल पक्षकै मध्यमार्गी नेताहरूले समर्थन गरेकाले पनि एमालेमा एकपटक फेरि जेठ २ मा फर्किएका अवस्थामा के हुने भन्ने बहस चाहिँ चलेको छ ।

    जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

    विशेषगरी सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता यस अभियानमा छन् । अदालतको पछिल्लो अस्पष्ट आदेश र ओलीको अस्पष्ट आह्वानका बीचबाट अब पार्टीलाई जेठ २ बाट अघि बढाउन सकिने मत उनीहरूको छ ।

    जेठ २ मा फर्किँदाको अवस्थामा आजका एमालेभित्रका गुटहरू यथावत नरहन सक्छन् । तर, पनि नवौं महाधिवेशनबाट निर्वाचित २०७५ जेठ २ अघि मनोनयन प्रक्रियाबाट थपिएका २०१ सदस्यीय एमाले केन्द्रीय कमिटी ब्युँताएरै अघि बढ्दा पनि ओली सुविधाजनक बहुमतमा देखिन्छन् ।

    तर, एमालेको केन्द्रीय कमिटीमा माधव नेपालसँग बलियो हिस्सा छ । पदाधिकारी र स्थायी कमिटीमा बराबर शक्ति छ । जेठ २ मा फर्किँदा अहिले एकता प्रक्रियामा रहेका एकाध पदाधिकारी ओलीसँग हुनसक्छन् ।

    जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

    माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।

    एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सीता पौडेल प्रदेश प्रमुख , धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

    त्यस्तै रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली, प्रल्हाद गिरी जेठ २ अघि नै कारवाहीमा परेर निष्कासन भएका थिए ।

    बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली एकता अभियान चलाइरहेका छन् । प्रदिप नेपाल निष्क्रिय छन् भने राजबहादुर बुढा माधव नेपाल पक्ष छाडेर बीचमा बसेका छन् ।

    सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् । त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् ।

    यसबीचमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सोम मिश्र र गणेश पहाडी ओली पक्षमा लागेका छन् । तामाङ र पहाडी ओली पक्षमा लागेर मन्त्री समेत भइसकेका छन् ।

    यी बाहेकका केन्द्रीय सदस्यहरूमध्ये केपी ओलीको पक्षमा १०४ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८४ जना देखिएका छन् । वामदेव गौतम र हरि पराजुली अन्तिममा माधव पक्षमा उभिदा यो संख्या ८६ हुनेछ ।

    पदाधिकारीमध्ये अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिवव विष्णु पौडेल र सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा छन् । उपाध्यक्ष वामदेव माधव पक्षमा लाग्दा अन्य पदाधिकारीहरू उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट माधव पक्षमा छन् ।

    २०७५ जेठ २ अघि फर्किँदा एमाले केन्द्रीय कमिटीको समीकरण कस्तो हुनेछ ? तल दिइएको सूचीमा पदेन सदस्यहरूको समेत नाम रहेको छ । यद्यपि केन्द्रीय कमिटीमा अल्पमत र बहुमत हुँदा उनीहरूको मतदान अधिकार हुँदैन ।

    हेर्नुस् यो सूची:-

  • माओवादी सरकार जोगाउन साथ दिएका माधव पक्षका १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

    माओवादी सरकार जोगाउन साथ दिएका माधव पक्षका १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

    कैलाली । माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका माधव नेपाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

    समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता प्रकाश शाहसहित उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

    स्थायी कमिटीको निर्णय र सुदूरपश्चिम संसदीय दलको निर्णयविपरीत चलेको भन्दै ओली र माधव पक्षबाट एक अर्कालाई स्पष्टीकरण सोध्ने क्रम बढेको छ ।

  • योगेशको प्रश्न- एमालेका नेता आपसमा नमिल्ने तर विरोधीसँग मिल्न तयार हुने किन ?

    योगेशको प्रश्न- एमालेका नेता आपसमा नमिल्ने तर विरोधीसँग मिल्न तयार हुने किन ?

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन् ।

    पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि सघन छलफलमा रहेका भट्टराईले आज विहान आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताको समस्याका मूल जड भनेकै केपी ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका हुन् ।

    भट्टराईले भनेका छन्– कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

    कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।
    कस्ले, किन र के का लागि गर्दैछ यो सवै ?

    नेता भट्टराईले यस विषयमा शीर्ष नेताबीच गम्भीर छलफल भएर साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन आग्रह समेत गरेका छन् ।

  • एकताबद्ध एमालेका लागि जेठ २ मा कायम बैठक बोलाउन वामदेवको आग्रह

    एकताबद्ध एमालेका लागि जेठ २ मा कायम बैठक बोलाउन वामदेवको आग्रह

     

    काठमाडौं । नेकपा एमाले एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

    गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

    गौतमले अध्यक्ष ओलीको पछिल्लो वक्तव्य कुटिल र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको भए पनि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्ने बुँदा सकारात्मक रहेको बताएका छन् ।

  • एमाले मिलाउने उपाय खोज्न दोस्रो तहका नेताहरु पुनः छलफलमा

    एमाले मिलाउने उपाय खोज्न दोस्रो तहका नेताहरु पुनः छलफलमा

    काठमाडौं । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू पुनः छलफलमा जुटेका छन् । यसअघि याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा वार्ता सुरू भएको छ ।

    यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् । आजको छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।

    अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अश्वीकार गरेको छ ।

    अब के गर्ने भन्नेमै छलफल केन्द्रित रहेको र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदबाट फिर्ता हुन नसकिने अडान माधव नेपाल पक्षले लिएकाले यीनै विषयमा छलफल भइरहेको छ ।

  • जोगिए माओवादीका दुवै प्रदेश सरकार, एमालेका के होलान् ?

    जोगिए माओवादीका दुवै प्रदेश सरकार, एमालेका के होलान् ?

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तरद्वन्द्व गहिरिँदा त्यसको प्रत्यक्ष फाइदा माओवादी केन्द्र र कांग्रेसलाई भएको छ । माओवादीले नेतृत्वको गरेका दुई प्रदेश सरकार ढल्नबाट जोगिएका छन् भने कांग्रेसका लागि ३ वर्षपछि सत्तामा उक्लिने बाटो खुलेको छ ।

    कर्णालीमा माओवादीका महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको सरकारलाई माधव नेपाल समूहले काँध थापेको थियो । अन्तिम समयसम्म सरकारको भविष्य अनिश्चित मानिएका बेला एमालेका माधवपक्षीय चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्रीका पक्षमा भोट हालेका थिए ।

    विश्वासको मत पाउनासाथ शाहीले मन्त्रिपरिषद्मा एमालेबाट फ्लोर क्रस गर्ने तीन सांसदलाई मन्त्री बनाएर पुरस्कृत गरे । यदि एमालेका सांसदले ह्वीप उल्लंघन नगरेका भए त्यहाँ एमालेको सरकार बन्ने निश्चित थियो ।

    कांग्रेसले पनि माओवादीका मुख्यमन्त्रीलाई समर्थन गरेपछि शाहीको सरकार सुरक्षित बनेको हो । एक वर्षपछि मुख्यमन्त्री आफूले पाउने अनौपचारिक सम्झौता गरी कांग्रेसले सरकारको पक्षमा भोट हालेको बताइन्छ । यद्यपि, तीन दिनअघि मात्रै शाही सरकारमा कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री शाहीले कांग्रेसका दुई सांसदलाई मन्त्री बनाएका छन् ।

    एमालेमा आएको विग्रहले प्रतिपक्षमा रहेको कांग्रेसलाई सत्ताको चिठ्ठा परेको छ । ३ वर्षअघि चुनाव हारेपछि सबैतिर प्रतिपक्षमा रहेको कांग्रेस पहिलोपटक कर्णाली प्रदेशमार्फत सरकारमा प्रवेश गरेको हो । अन्य प्रदेशमा पनि कांग्रेस मौका पाएसम्म सत्तामा उक्लिन आतुर देखिएको छ ।

    लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरु एमालेका हाइप्रोफाइल नेता मात्र होइनन्, ओलीका विश्वासपात्र पनि हुन् । त्यसैले पनि ती दुवै सरकार सुरक्षित राख्नु उनका लागि निकै महत्वपूर्ण छ । त्यसो त प्रधानमन्त्री ओली स्वयम् पनि समस्यामुक्त अवस्थामा छैनन् । सर्वोच्चले संसद पुन:स्थापनाको निर्णय लियो भने ओली सरकारको आयु अनिश्चित बन्छ ।

    माओवादी नेतृत्वको अर्को सुदूरपश्चिम सरकार पनि ढल्नबाट जोगिएको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनले ३० मत प्राप्त गर्दा विपक्षमा ९ मत मात्रै पर्यो । कांग्रेसले समेत मुख्यमन्त्रीको विपक्षमा भोट नहाली तटस्थ बस्यो ।

    सुदूरपश्चिम सरकार जोगाउनका लागि माओवादी अध्यक्ष प्रचण्डले हिजो काठमाडौंमा निकै दौडधुप गरेका थिए । एमाले अध्यक्ष ओलीले एकता आह्वान गरेसँगै त्यसको प्रभावले सुदुरपश्चिम एमालेले विपक्षमा भोट हाल्न सक्ने त्रास उनलाई थियो । प्रचण्डले शेरबहादुर देउवा र माधव नेपाललाई भेटेर भट्टको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

    आज यदि एमालेका सांसदहरुले सरकारको पक्षमा भोट नहाल्ने अवस्था आएको भए सरकारलाई काँध थाप्न कांग्रेस तयार भएको थियो । तर, माधव नेपाल समूहले समर्थन गर्ने निर्णय लिएसँगै कांग्रेसको भोट आवश्यक परेन । कांग्रेस मतदानमा तटस्थ बसेको छ ।

    गण्डकीमा धरमर

    एमाले र माओवादीबीच चुनावी गठवन्धन हुँदा दुईवटा प्रदेश सरकारको नेतृत्व माओवादीले पाएको थियो, जबकि ती दुवै प्रदेशमा उसको बलियो उपस्थिति थिएन । अहिले पार्टी विभाजनपछि फेरि कमजोर अवस्थामा पुगे पनि माओवादी नेतृत्वका दुवै सरकार माधव नेपाल समूहले जोगाइदिएको छ ।

    यता, एमालेले नेतृत्व गरेका ४ सरकारमध्ये दुईवटा सरकार भने अहिले पनि धरमरको अवस्थामा छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार जोगाउन सबै उपायहरु लगाइरहे पनि अहिलेसम्म सुरक्षित महसुस गर्न सकेका छैनन् ।

    गण्डकीका प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो वैशाखमै हुनुपर्थ्यो । विपक्षीको मागबमोजिम वैशाख १५ मा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेर वैठकसमेत बसेको थियो । तर, मतदानको ठीक अगाडि सभामुखले जनमोर्चाका एकजना सांसद हराएको बहानामा अधिवेशन नै स्थगित गरिदिएका थिए ।

    गत २७ वैशाखमा फेरि संसद अधिवेशन आह्वान गरेर मतदानको तयारी गरियो । त्यसको अघिल्लो दिन मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरे । तर, प्रदेश प्रमुखले दिएको समयभित्र कसैले पनि बहुमत सिद्ध गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा गुरुङ नै पुनः मुख्यमन्त्री नियुक्त भए ।

    संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ, जसका लागि अब पाँच दिन बाँकी छ । मुख्यमन्त्री गुरुङले २७ जेठमा विश्वासको मत माग्ने तयारी गरेका छन् । तर, अझैसम्म पनि विश्वासको सिनारियो अस्पष्ट नै छ ।

    गण्डकी सरकारको भविष्य जनमोर्चाको हातमा देखिन्छ । पार्टीको ह्वीप उल्लंघन गर्न खोजेको भन्दै जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापाले अदालतले पुनस्र्थापन गरेपछि गुरुङलाई केही राहत मिलेको छ । उनले आफ्नो पक्षमा मतदान गर्ने आशा गुरुङले गरेका छन् । जनमोर्चा केन्द्रले भने मुख्यमन्त्रीको विपक्षमा मत हाल्न निर्देशन गरेको छ ।

    ‘केपी ओलीको घमण्ड तोडेको’ भनेर माधव पक्षका हार्डलाइनर नेताहरु प्रफुल्लीत छन् । उनीहरुको यस्तो मनोदशालाई ओलीपक्षीय कार्यकर्ताले भने ‘सौताको रिसले पोईको काखमा फोहोर गर्ने’ उखानसँग दाँज्ने गर्छन् ।

    जनमोर्चाका तीन सांसदमध्ये अदालतबाट पुनर्वहाली गरेका थापाले ह्वीप नमान्ने निश्चित छ । अर्का खिमविक्रम शाही यसअघि अनुपस्थित भएका थिए । उनले के गर्छन् भन्ने अझै प्रष्ट छैन ।

    गण्डकीमा एमालेकाे माधव नेपाल पक्षका एकमात्र सांसद इन्द्रलाल सापकोटा छन् । जनमोर्चाका थापाले मत नदिएपछि विपक्षी गठबन्धनले बहुमत जुटाउने सम्भावना कम छ । सभामुखलाई राजीनामा गराउने चर्चा पनि चलिरहेको छ ।

    लुम्बिनीमा किचलो

    एमाले नेतृत्वको अर्को प्रदेश सरकार लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल भने अलग्गै रणनीतिमा छन् । विश्वासको मत पनि नमाग्ने र अविश्वास प्रस्ताव पनि सामना नगर्ने अडान उनको छ ।

    गत वैशाख ६ गते माओवादीले मुख्यमन्त्री  पोखरेललाई दिएको समर्थन फिर्ता लियो । त्यसलगत्तै कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे । तर, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चारैजना सांसदलाई पोखरेलले त्यही दिन मन्त्री बनाए । यसले सरकार बहुमतमा देखियो ।

    तर, जसपाको उपेन्द्र यादव पक्षले मन्त्री बनेका चारैजनालाई कारवाही गरी उनीहरुलाई सांसदबाट हटाउन पत्र पठायो । त्यसकै आधारमा प्रदेश प्रदेशसभा सचिवालयले उनीहरूलाई सांसदबाट हटायो । यही बेलामा विपक्षी दलको समावेदनका आधारमा १९ वैशाखमा प्रदेश प्रमुखले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरे ।

    प्रदेशसभाबाट अविश्वास प्रस्ताव पारित हुने देखिएपछि मुख्यमन्त्री पोखरेलले अर्कै खेल खेले । उनले वैठक बस्ने दिन बिहानै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाए । राजीनामापछि पोखरेलले एमालेका ४१ जना सांसदको हस्ताक्षरसहित आफूलाई बहुमतको मुख्यमन्त्री नियुक्त गर्न प्रदेशप्रमुख समक्ष दावी पेश गरे । त्यही दावीका आधारमा उनी दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

    तर, विपक्षीहरुले भने मुख्यमन्त्रीसँग ४१ जनाको समर्थन नरहेको बताउँछन् । यो सरकार गठन नै अवैध भएको उनीहरुको तर्क छ । मुख्यमन्त्री पोखरेलले दोस्रोपटक सपथ खानेबेला निकै लफडा भएको थियो । विपक्षी दलहरुको अवरोधबीच प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्रीलाई उनकै निवासमा पुगेर सपथग्रहण गराएका थिए ।

    बहुमतको मुख्यमन्त्रीका रुपमा सपथ खाए पनि मुख्यमन्त्री पोखरेल अहिले स्पष्ट अल्पमतमा रहेको विपक्षीको दावी छ । सरकार पक्षधर चाहिँ मुख्यमन्त्री बन्दा बहुमतको हस्ताक्षर पुर्‍याएकाले अब फेरि बहुमत देखाइरहनुपर्ने आवश्यकता नरहेको बताउँछन् ।

    अर्कोतिर जसपाका चार सांसद पुनर्वहाली भएपछि अहिले संख्यात्मक हिसाबले पोखरेल वहुमतमा छन् । तर यहाँ पनि माधव नेपाल पक्षका दुई सांसद निर्णायक बने भने खेल अर्कै हुनसक्छ ।

    ओली पक्षलाई धक्का

    माओवादी नेतृत्वका दुई सरकार जोगाएर एमालेको माधव नेपाल समूहले पार्टी संस्थापनलाई गतिलो झट्का दिएको छ । कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गरी ४ सांसदले मुख्यमन्त्रीको पक्षमा भोट दिए भने सुदुरपश्चिममा एमाले केन्द्रकै निर्देशन अवज्ञा भयो ।

    माओवादीका दुई प्रदेश सरकार जोगाउँदा नेपाल पक्षले त्यसलाई आफ्नो जितका रूपमा लिएको छ । कर्णालीमा ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टीले निश्कासन गरे पनि उनीहरुले त्यसलाई ठूलो विषय ठानेनन् ।

    ‘केपी ओलीको घमण्ड तोडेको’ भनेर माधव पक्षका हार्डलाइनर नेताहरु प्रफुल्लीत छन् । उनीहरुको यस्तो मनोदशालाई ओलीपक्षीय कार्यकर्ताले भने ‘सौताको रिसले पोईको काखमा फोहोर गर्ने’ उखानसँग दाँज्ने गर्छन् ।

    यता संस्थापन पक्षले भने पार्टी विवादको निरुपण नगर्दासम्म एकपछि अर्को घाटा व्यहोर्नुपर्ने अवस्था देखिएको छ । माओवादी नेतृत्वको सरकार ढालेर थप दुई प्रदेश एमालेले नै लिने ओलीको प्रयास माधव नेपालले असफल बनाएका छन् । भविष्यमा एमाले नेतृत्वका दुई प्रदेशहरु पनि गुमाउनुपर्यो भने प्रधानमन्त्री ओलीका लागि गम्भीर धक्का हुनेछ ।

    लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरु एमालेका हाइप्रोफाइल नेता मात्र होइनन्, ओलीका विश्वासपात्र पनि हुन् । त्यसैले पनि ती दुवै सरकार सुरक्षित राख्नु उनका लागि निकै महत्वपूर्ण छ । त्यसो त प्रधानमन्त्री ओली स्वयम् पनि समस्यामुक्त अवस्थामा छैनन् । सर्वोच्चले संसद पुन:स्थापनाको निर्णय लियो भने ओली सरकारको आयु अनिश्चित बन्छ ।

    सम्भवत: यो सबै परिस्थिति महसुस गरेर अध्यक्ष ओलीले एकताका लागि आह्वान गर्दै लचिलो प्रस्ताव अघि सारेका छन् । तर, माधव नेपाल पक्षको हार्डलाइनर खेमा भने ओलीलाई ‘पाठ सिकाउन’ दृढसंकल्पित छ ।

  • सुदूरपश्चिम प्रदेश : माधव छाडेर सांसद रेग्मी ओली पक्षमा

    सुदूरपश्चिम प्रदेश : माधव छाडेर सांसद रेग्मी ओली पक्षमा

    कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले एमाले नेपाल समूहको साथ छोडेका छन् ।

    उनले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरे । बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिन्थे ।

    रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या सात पुगेको छ । मुख्यमन्त्रीको विपक्षमा एमालेका सात सांसदले मतदान गरेका थिए ।

    यस प्रदेशमा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिएका छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माधव पक्षको निर्णय, ओली पक्ष असहमत

    सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माधव पक्षको निर्णय, ओली पक्ष असहमत

    धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बहुमत पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    पार्टी निर्णयविपरित माधव नेपाल पक्षले वहुमतका आधारमा निर्णय गरेपछि केपी ओली पक्षका ७ सांसदले असहमति जनाएका छन ।

    एमालेका २४ जनामध्ये लिलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।

    माधव पक्षले बहुमतका आधारमा निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि अब एमाले संसदीय दल विभाजित भएको छ ।

    एमालेले सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीले कारवाही प्रक्रिया अघि बढाएको छ । ५२ सदस्यीय प्रदेश सभामा माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन् ।

  • सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक, बहुमतले निर्णय गर्ने माधव पक्षको तयारी

    सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक, बहुमतले निर्णय गर्ने माधव पक्षको तयारी

    धनगढी । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

    २५ सदस्यीय एमाले संसदीय दलमा सभामुख बाहेक २४ सांसद छन् । तीमध्ये माधव नेपाल पक्षमा १५ जना छन् भने केपी ओली पक्षमा ९ जना छन् ।

    माधव पक्षले बहुमतका आधारमा निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने तयारी गरेको छ । माधव पक्ष सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी छ ।

    सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीले कारवाही प्रक्रिया अघि बढाएको बेला संसदीय दलको बैठक बसिरहेको छ । ५२ सदस्यीय प्रदेश सभामा माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन् ।

    एमालेको माधव नेपाल पक्षले मात्र साथ दिँदा पनि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेछन् । कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने अनुमान गरिएको छ ।

    सोमवार कांग्रेस सभापति शेरवहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।

  • सुदूरपश्चिमका एमाले सचिवमाथि मन्त्रीबाटै हातपात !

    सुदूरपश्चिमका एमाले सचिवमाथि मन्त्रीबाटै हातपात !

    कैलाली । एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले आफूमाथि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले मन्त्रालयमै हातपात गरेको आरोप लगाएका छन् ।

    सोमबार साँझ मन्त्रीकै कार्यकक्ष भित्र हातपात भएको सचिव रावलको दावी छ । ‘मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन सहितको पत्र बुझाउन मन्त्रालय गएको थिएँ’ उनले भने, ‘मन्त्री एक्कासी आक्रमण गर्ने शैलीमा आउनु भयो, मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो ।’

    आफूसँग भएका अन्य पत्रहरूसमेत मन्त्री सोडारीले च्यातिदिएको उनले बताए । रावलले मन्त्री सोडारीविरुद्ध प्रहरीमा उजुरी गर्नेसमेत बताए ।

    यसैबीच एमाले सुदूरपश्चिम पार्टी अध्यक्ष कर्ण थापाले हातपात र दुर्व्यवहारको भर्त्सना गरेका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कारबाहीको माग गरेका छन् ।

    उता मन्त्री सोडारीले भने हातपात नगरेको बरु आफूमाथि मन्त्रालयमा अभद्र व्यवहार भएको दावी गरे छन् । ‘उहाँ मन्त्रालयमा आउनु भयो । जबरजस्ती ह्वीप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गर्दै हुनुहुन्थ्यो’ उनले भने, ‘मैले त्यो त्यस्तो नगर्नुस् भनेँ । उहाँले अभद्र व्यवहार देखाउनु भयो ।’

    मन्त्री सोडारीका स्वकीय सचिव ललित बहादुर बोहराले विज्ञप्ति जारी गर्दै मन्त्रीले रावलमाथि दुर्व्यवहार गरेको नभई रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यवहार गरेको दावी गरेका छन् ।

    मन्त्री सोडारी नेकपा एमाले माधव समूहका नेता हुन् भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन् ।

  • टोपबहादुरको प्रष्टोक्ति- विघटनको घोषणा गर्न बाँकी रहेको माओवादीमा फर्किदैनौं

    टोपबहादुरको प्रष्टोक्ति- विघटनको घोषणा गर्न बाँकी रहेको माओवादीमा फर्किदैनौं

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताएका छन् ।

    रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाएका छन् ।

    आफू माओवादीमा फर्किन लागेको भन्ने भ्रम प्रचण्ड पक्षबाटै फैलाइएको भन्दै उनले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको बताएका छन् ।

  • मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न सुदुरपश्चिम एमालेको निर्देशन

    मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न सुदुरपश्चिम एमालेको निर्देशन

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् ।

    माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान विश्वासको मत माग्दैछन् । त्यसमा विपक्षमा मतदान गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए । त्यस्तै प्रदेश कमिटीले सबै प्रदेश सभा सदस्यहरुलाई विपक्षमा मतदान गर्न निर्देशन दिँदै छुट्टछुट्टै पत्र काटेको छ ।

    १० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको आदेश अवज्ञा गर्दै १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम राख्ने निर्णय लियो । अहिले एमाले माधव पक्षका सांसदहरू सरकारमा सहभागी छन् ।

    प्रदेश सभामै एमालेका ओली पक्षका सांसद पठान सिंह बोहराले पनि अल्पमतमा परेका मुख्यमन्त्रीको राजीनामा मागेका थिए । अल्पमतमा परेको आरोप लागेपछि मुख्यमन्त्री भट्टले आइतबार साँझ विश्वासको मत लिने निर्णय गरेका हुन् ।

    एमालेको ओली पक्षले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने जनाए पनि माधव समूहले भने पक्षमा मतदान गर्ने दाबी गरेको थियो । पार्टीको ह्विप के गर्ने भन्नेबारे माधव समूहको आधिकारिक धारणा आएको छैन ।

    ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ । अहिले एमालेमा २५ माओवादीका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

    एमालेमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १५ र ओली पक्षमा ९ जना छन् । माधव समूहले पक्षमा मतदान गरे मुख्यमन्त्री भट्टको सरकार जोगिनेछ । नेपाली कांग्रेस र जसपाले भने अझै के गर्ने भन्ने निर्णय गरेका छैनन् ।

  • ओलीको आह्वान माधव पक्षलाई अमान्य, आजै लिखित जवाफ दिने

    ओलीको आह्वान माधव पक्षलाई अमान्य, आजै लिखित जवाफ दिने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

    माधव पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले बताए ।

    नेपाल पक्षको बैठकमा अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पछि हट्न नहुने बताएका छन् ।

    केही नेताले भने पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा ओली फर्किसकेकाले एकताको विपक्षमा उभिन नहुने धारणा राखेको बताइएको छ । आजै माधव नेपालले ओलीलाई लिखितरूपमा जवाफ फर्काउने समझदारी बैठकमा भएको छ ।

  • घनश्याम भुसालको टिप्पणी- हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो

    घनश्याम भुसालको टिप्पणी- हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरू माधव नेपाललाई छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला गलत रहेको प्रष्ट पारेका छन् । भुसालले आज स्पष्टीकरण दिँदै एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताएका छन् ।

    भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न गरेका छन् ।

    भुसालले भनेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

    अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि माधव नेपाल समूहमा दुई धार देखिएको छ ।

    यसबीचमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरू जेठ २ मा पार्टीलाई फर्काउन ओलीको प्रतिवद्धतापछि आन्तरिक छलफलमा छन् ।

  • शंकर पोखरेलको आग्रह – अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं

    शंकर पोखरेलको आग्रह – अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं

    काठमाडौं । एमालेलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि नेकपा एमालेका नेता शंकर पोखरेलले अब मन मिलाउने र पार्टी बनाउने कुरा गर्न आग्रह गरेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले त्यसका लागि नेतृत्वकै पहलको खाँचो औंल्याएका छन् । ओलीनिकट नेता पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीच हो । पहल गरौं ।’

  • ओलीको एकता आह्वानले माधव समूह तरंगित, नेताहरुको विभाजित प्रतिक्रिया

    ओलीको एकता आह्वानले माधव समूह तरंगित, नेताहरुको विभाजित प्रतिक्रिया

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेपछि माधव नेपाल समूहमा कम्पन पैदा भएको छ । एकता प्रस्तावलाई लिएर उक्त समूहका नेताहरु विभाजित देखिएका छन् ।

    अध्यक्ष ओलीले माधव समूहको आधारभूत माग पूरा गर्दै पार्टीलाई ३ जेठको अवस्थामा फर्काउने घोषणा गरेका थिए । साथै विगतका काम-कुरालाई लिएर पार्टीमा कसैलाई कारवाही नगर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

    माधव नेपाल समूहले ओलीको उक्त प्रस्तावमाथि औपचारिक छलफल गर्न बाँकी छ । तर, दोस्रो तहका नेताहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया हेर्दा समूहभित्रै फाटो आउनसक्ने देखिन्छ ।

    ओलीको वक्तव्य आएपछि युवा नेता योगेश भट्टराईले तत्काल प्रतिक्रिया दिँदै एकता प्रस्तावको स्वागत गरेका थिए । उनी पार्टी एकता हुनुपर्ने पक्षमा पहिल्यैदेखि अडिक छन् ।

    फेसबुकमा भट्टराईले लेखेका छन्, ‘एकता आह्वान मुलतः सकारात्मक छ । यसले पार्टीका शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु ।’

    यो वक्तव्यले कार्यदल स्तरको छलफललाई निरन्तरता दिन बाटो खुलेको उनले बताएका छन् ।

    माधव पक्षका हार्डलाइनर नेताहरु भने ओलीको वक्तव्यलाई सकारात्मक मान्न तयार छैनन् । अदालतमा आफूविरुद्धको मुद्दा कमजोर पार्नका लागि ओलीले ‘नयाँ चाल रचेको’ उनीहरुको ठहर छ ।

    केन्द्रीय सदस्य डा. विजय पौडेलले लेखेका छन्, ‘वक्तव्यको मूल उद्देश्य प्रतिगमनलाई सही हो भनेर स्वीकारिदिउन् भन्ने रहेछ । यो वक्तव्यको मूल आशय प्रतिगमन भाग-२ का पक्षमा वातावरण बनाउनु हो भन्ने प्रष्ट छ । यस्तो छली वक्तव्यलाई कुरा नबुझेर कतिपयले स्वागत गर्ने हतारो देखाएछन् ।

    अर्का नेता जगन्नाथ खतिवडाले पनि ओलीको वक्तव्य भ्रामक रहेको बताएका छन् । ओलीले जेठ २ भन्नुपर्नेमा जेठ ३ भनेर जाल गरेको समेत उनको प्रतिक्रिया छ ।

    ‘सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन लगाउने मात्रै उनको नियत देखिन्छ । अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन्,’ खतिवडाले लेखेका छन्, ‘यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन ।’

    एमालेका संस्थापनपक्षीय नेताहरुले भने पार्टी एकताका लागि ओलीले फराकिलो छाति देखाएको दावी गरेका छन् । सामाजिक सञ्जालमा पनि ओलीको वक्तव्यलाई लिएर सकारात्मक प्रतिक्रिया छ ।

  • सुदूरपश्चिममा एमाले सत्ता पक्ष कि प्रतिपक्ष ? संसद् सचिवालयमा दुवै पत्र दर्ता

    सुदूरपश्चिममा एमाले सत्ता पक्ष कि प्रतिपक्ष ? संसद् सचिवालयमा दुवै पत्र दर्ता

    कैलाली । आठौं अधिवेशनको दोस्रो बैठकमा शुक्रबार एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले आफूहरूलाई छुट्टै सिटको व्यवस्था गर्न माग गरे ।

    ‘एमालेले यो सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसेको छ,’ उनले भने, ‘नेकपा एमाले प्रतिपक्ष भएको छ । प्रतिपक्ष बेन्चमा बसाइको व्यवस्थापनको लागि पनि म आग्रह गर्दछु ।’

    बोहरा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद हुन् । त्यस लगत्तै माधव नेपाल पक्षीय सांसद अमर साउदले धारणा राखे । विशेष समयको पहिलो वक्ताका रूपमा एमाले संसदीय दलको प्रतिनिधिका हैसियतले प्रदेश सांसद अमरबहादुर साउदले मन्तव्य राखेका थिए ।

    उनले स्वभाविक रुपमा सांसद बोहराको भनाइलाई प्रतिवाद गरे । सांसद साउदले बोहराद्वारा व्यक्त धारणा आश्चर्यजनक भएको बताए । उनले भने, ‘हामीले संसदीय दलको आठौं बैठकबाट त्रिलोचन भट्टको वर्तमान सरकारलाई समर्थन कायमै राख्ने सर्वसम्मत निर्णय गरेका छौं,’ उनले थपे, ‘वर्तमान सरकार अझ प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ ।’

    प्रदेशसभा सचिवालयमा समर्थन र फिर्ताको दुवै पत्र दर्ता

    एमाले भित्रैका सांसदले पक्ष र विपक्ष रहेको बताउँदा प्रदेशसभा सचिवालयमा पनि अहिले अन्योलता छाएको छ । प्रदेशसभा सचिवालयमा एमालेले समर्थन कायम राखेको र फिर्ता लिएको दुबै पत्र दर्ता भएका छन् ।

    एमाले स्थायी कमिटीको जेठ १० मा बसेको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    एमाले अध्यक्ष ओलीले समर्थन फिर्ता लिएको जानकारीबारे प्रदेश कमिटीलाई पठाएको पत्रसहित प्रदेश कमिटीले सरकारलाई समर्थन नरहेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ ।

    प्रदेश अध्यक्ष कर्ण थापाद्वारा हस्ताक्षरित पत्र जेठ १३ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको छ । त्यसमा माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको र सरकारमा रहेका एमालेका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको समेत जानकारी गराइएको छ ।
    एमालेको एक पक्षले संसद् सचिवालयमा सरकारलाई समर्थन फिर्ता लिएको जानकारी गराउँदा संसदीय दलले भने यहि सरकारलाई समर्थन गरेको निर्णयसमेतको पत्र सचिवालयमा दर्ता गराएको छ ।

    जेठ १२ गते बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने मात्रै होइन सरकारमा सहभागिता वृद्धि गर्नेसमेत निर्णय गरेको थियो । त्यसको दुई दिन पछि एमालेले २ मन्त्री फिर्ता बोलाएर ६ मन्त्री सरकारमा थप्यो ।

    परामर्शमा सभामुख

    प्रदेश सभा बैठकमा एमालेका सांसदले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्ष भएको भन्दै प्रतिपक्षमा बस्न माग गरेपछि सभामुख अर्जुन बहादुर थापाले यस बिषयमा परमार्थ थालेका छन् ।

    आइतबार आफ्नै कार्यकक्षमा सांसदहरूलाई बोलाएर उनले यस बिषयमा सामान्य छलफल गरे । छलफलमा एमालेका सांसद पठानसिंह बोहरा, तारा लामा तामाङ र बलदेव रेग्मी थिए । कांग्रेसबाट दलका नेता रणबहादुर रावल र भरत खड्का थिए । माओवादीबाट प्रमुख सचेतक अक्कल रावल उपस्थित थिए ।

    उनीहरूसँग सभामुख थापाले एमालेका सांसदलाई प्रतिपक्ष भनेर राख्न मिल्ने कि नमिल्ने भन्ने बिषयमा छलफल गरेको छलफलमा उपस्थित एक सांसदले जानकारी दिए ।

    पार्टीको निर्देशन संसदीय दलले मान्नु पर्ने र संसदीय दल अनुसार संसदमा व्यवस्थापन हुने उपस्थित सबैजसो सांसदले सभामुख थापालाई राय दिएका थिए । सबैको सुझाव पछि सभामुख थापाले तत्काल एमालेका सांसदलाई प्रतिपक्षमा राख्ने बिषयमा सचिवालयलाई कुनै निर्देशन दिएका छैनन् ।

    सोमबार बिहान ९ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा पनि एमालेका सबै सांसद सत्ता पक्षमै बस्ने छन् ।

  • ‘हामीले विश्वासको मत दिएको भए ओलीले २ वर्षसम्म ओखलमा राखेर पेलिरहन्थे’

    ‘हामीले विश्वासको मत दिएको भए ओलीले २ वर्षसम्म ओखलमा राखेर पेलिरहन्थे’

    केपी ओली प्रवृत्तिसँग जुध्ने आँट बढेको पनि पाइएको छ । घटेको पनि पाइएको छ । आँट बढाउने तपाईंहरूको म प्रशंसा गर्छु । तपाईंहरूको उदाहरणबाट अरुले पनि सिक्न सकुन् । केपी ओलीका जो पक्षपोषक भएका छन् । एक प्रकारले भन्ने हो भने दासतालाई स्वीकार गरेका छन् । त्यस्तालाई हामी घृणा गर्छौं । अस्वीकार गर्छौं । निन्दा पनि गर्छौं । तर, जो अलमलमा पर्नुभएको छ । उहाँलाई हामी घृणा गर्दैनौ । हामी अपमानजनक शब्द प्रयोग गर्दैनौं । किनकि उहाँहरूलाई प्रष्ट पार्ने हाम्रो दायित्व हो । विश्लषेण बताएर सबै तथ्य प्रष्ट्याएर । मनमा रहेका अनेकौ खालका जिज्ञासा शान्त गरेर मूल पार्टीको क्रान्तिकारी स्प्रिटतर्फ आकर्षित गरेर उहाँहरूलाई सम्झाउन सक्दछौं । मार्क्सवाद हामीलाई विश्लेषण गर्न सिकाएको छ । यो विश्लेषणको जानकारी कम्युनिष्ट पार्टीमा लागेकाहरूले मात्र गर्दछन् । अरुले त्यस्तो व्यवस्थित, वस्तुगत र वैज्ञानिक विश्लेषण गर्दैनन् ।

    हाम्रो पार्टी अहिले संकटको अवस्थामा उभिएको छ । र, यो संकटको अवस्था सिर्जना कसले गर्‍यो ? तपाईंहरूमा कुनै भ्रम र द्विविधा छैन भन्ने मैले ठानेको छु । हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाले केही दस्तावेजहरू पनि पारित गरेको छ । त्यो राजनीतिक डकुमेण्ट तपाईंहरूले पाइसक्नुभो होला । दुईवटा सर्कुलर पठाइसकेका छौं । अब छिट्टै अर्को सर्कुलर पनि पठाउँदै छौं । त्यो भेला किन गर्नुपर्‍यो भन्दा हामीले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने भयो । त्यो बेला हामीले भन्यौ- केपी ओलीले पार्टीलाई विसर्जनको दिशामा पुर्‍याउन लागे एकता जोगाउनुपर्ने भयो । नेपाल कम्युनिष्ट पार्टीलाई फुटाउने अदालतको जुन फैसला भयो त्यसबाट सबै कम्युनिष्टहरू चिन्तित र दु:खित हुनुपर्नेमा केपी ओलीका पक्षपोषकहरूले हर्कबडाई गरे । आफ्नो गुटको विजयको रूपमा लिए । अरुको पराजयको रूपमा लिए । त्योभन्दा ठूलो विडम्बना के हुन सक्दथ्यो ? पार्टीहरू एकतावद्ध हुने, उनीहरू रुपान्तरित गर्ने, उनीहरू क्रान्तिकारी बाटोमा लिएर जाने सबैलाई समेटेर लिएर जाने, अरुलाई पनि आकर्षित गर्ने यसले शक्ति वृद्धि हुने भएको हुनाले आगामी चुनावमा अझै धेरै सफलता हासिल गर्ने यसका निम्ति आफूसँग भएका कार्यकर्तालाई प्रशिक्षित गर्ने रुपान्तरित गर्ने यो सबै काम गर्नुपर्ने जुन चुनौतीको काम पनि हो । पार्टी निर्माणको काम अवश्य पनि चुनौतीको काम हो । पार्टी संचालनको काम अत्यन्तै चुनौतीको काम हो । यी सबै बुझेर पनि हामी अगाडि बढेका हौं । हामीलाई थाहा छ । परिवार चलाउने कुरा पनि सजिलो हुँदैन । समाजमा पनि कुनै जिम्मेवारी लिनु हुन्छ भने पनि सजिलो हुँदैन । तपाईंहरू पनि संगठन, कुनै संघसंस्थामा जिम्मेवारी बोक्नुभएको छ । त्यो पनि सजिलो हुँदैन । आँट भएकाहरूले मात्र त्यो क्षमता त्यो जिम्मेवारी सफलताले निर्वाह गर्दछन् । जसमा खुवी छैन क्षमता छैन त्यसको कार्यकालको संगठन ध्वस्त भएर जान्छ । हामीसँग त्यो क्षमता छ । त्यो खुबी छ । त्यसैले हामीले हात हालेको ठाउँमा हामी सफल हुन्छौं । जब हामी सतही रूपमा हेर्छौं । सफलता र असफलता विश्लेषण गर्दैनौं । त्यो भयो भने हामी अघि बढ्न सक्दैनौं ।

    भेलामा प्रस्तुत गरेको डकुमेन्ट हेर्नुहोला । त्यहाँ हामीले भनेका कुरालाई हाइलाइट मात्र गर्न चाहन्छौं जब केपी ओली पार्टीको अध्यक्ष हुनुभयो । निर्वाचनपछि प्रधानमन्त्री हुनुभयो । त्यसबेलादेखि नै सिंगो पार्टीलाई उहाँले दक्षिणपन्थी दिशामा लिएर जानुभयो । उहाँमा व्यक्तिवाद र अवसरवादी चिन्तन हुर्किएर आयो । र पार्टी आन्दोलनलाई विसर्जनको बाटोमा पुर्‍यायो । हामीले के भन्यौ भने- जनताले धेरै ठूलो आशा गरेका थिए अवसर दिएका थिए । त्यो अवसरलाई उहाँले दुरुपयोग गर्नुभयो । गुटवन्दीमा चुक्नुभयो । उहाँका ती कामलाई आँखा चिम्लिएर बाध्य भएर समर्थन गर्नुपर्‍यो भनेर हामीले भनिसकेका छौं । केपी ओलीका विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी विचार केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । उहाँले आफ्नो सत्ता जोगाउन जस्तोसुकै स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूसँग साँठगाँठ सक्ने हुनाले आगामी दिनमा वामपन्थमाथि संकट थपिन सक्छ । चैतमा हामीले गरेको विश्लेषण हिजो उहाँले गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।

    भारतको पूरै नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । त्यतिमात्र होइन उनीहरूको अभिव्यक्तिहरू राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । अहिले प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् । मान्छेको भावनामाथि खेलबाड गर्ने जातीय र धार्मिक द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ ।

    हामीले ३२ सालको जेठ महिनामा कम्युनिष्ट केन्द्रको स्थापना गर्‍यौं । चारजना अहिले छँदैछौ । कस्तो खुसीको कुरा म, जेएन खनाल, अमृत बोहरा र कमरेड मुकुन्द न्यौपाने यो विचार समूहमा एकतावद्ध छौं । हामी जोडिँदै-जोडिँदै गएर नवौं महाधिवेशन गरेर केपी ओलीको नेतृत्वमा आइसकेपछि पार्टीमा संकट देखा पर्न थाल्यो । पार्टीका बैठकहरू नहुने, बैठकको निर्णय पालना नहुने । एक्लै गुट बनाएर हिँड्ने, मदन भण्डारी फाउण्डेसन बनाएर त्यसको गतिविधिमा चल्ने अरुको लिडरसीपलाई स्वीकारै नगर्ने । एकलौटी निर्णय गरेर जम्मै सिष्टम भत्काएर लाने र उहाँका सबै क्रयाकलाप कम्युनिष्टको मेल नखाने । उहाँका यी कामले राष्ट्रलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । अहिले त उहाँले संविधान नै खानुभयो । पहिलोपटक प्रतिनिधिसभालाई भंग गर्नुभयो । दोस्रो पटक पनि भंग गर्नुभयो । उहाँ त यस्तो तानाशाह हुनुभएको छ । उहाँ कसैको कुरा सुन्नुहुन्छ । उहाँमा अहंकार बढेको छ । आफूभन्दा ठूलो संसारमा कोही छैन भन्ने ठान्नुभएको छ । उहाँले आफुलाई नै पार्टी र राष्ट्र ठान्नुहुन्छ ।

    यसले पार्टीमा समस्या खडा भयो । अब पार्टीलाई व्यक्तिवादी तरिकाले होइन संस्थागत तरिकाले चलाउनुपर्छ । सिद्धान्त, विधि र पद्धतिका आधारमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुपर्छ । विश्व दृष्टिकोण अँगालेको समाजप्रति प्रतिवद्ध र श्रमजीवि वर्गको पक्षमा उभिएको कम्युनिष्ट पार्टीले मात्र यस वैज्ञानिक समाजवादको यात्राको अगुवाइ गर्न सक्दछ । यी सबै कुराको निम्ति पार्टीमा एकता, पुनर्गठन र रुपान्तरण चाहिन्छ । राज्यका सबै अंग दुरुपयोग गर्ने काम अहिले भइरहेको हुनाले संविधान, लोकतन्त्र, राष्ट्रका हितका लागि अहिले राजनीतिक शक्ति र नागरिक समाजसँग सहकार्य गरेर हामीले अघि बढ्नुपर्छ ।

    त्यो बेला नै मैले के भनेको थिएँ- संघर्ष, रुपान्तरण अनि एकता कसैकसैले भनेजस्तो यो आत्मसमर्पण पनि होइन विद्रोह पनि होइन । होइन, यो विद्रोह नै हो । विद्रोह नगरेको भए प्यारालाल कमिटी नै बन्ने थिएन । केपी ओलीको कथित अनुशासनविरुद्धको विगुल फुकेको हो । विद्रोहको उद्घोष गरेको हो । जिल्लाजिल्लामा कमिटी बनाउनुस् तपाईंहरू । आफ्नो ठाउँमा जो अध्यक्ष हुनुन्छ त्यहाँ पुनर्गठन गर्नुस् । जहाँ अध्यक्ष हुनुन्न त्यहाँ अध्यक्ष भएर कमिटी बनाउनुस् । त्यो परदेशमा पनि गर्नुस्, निर्वाचन क्षेत्रमा गर्नुस्, नगरपालिकामा गर्नुस्, पार्टीमा मात्रै होइन जनवर्गीय संगठनमा गर्नुस् सबैतिर गर्नुस् भनेर भनेका हौं । यसलाई कतिपय साथीहरूले बुझ्नुभएको छैन भने प्रष्ट हुनुस् यो विद्रोह नै हो । यो कुन तहको विद्रोह हो । मैले भने संघर्ष, रुपान्तरण अनि एकता । यदि एकता भएन भने के गर्ने ? रुपान्तरण भएन भने एकता हुँदैन । संघर्षले प्रतिफल दिने भनेको रुपान्तरण भयो भने मात्र हो । रुपान्तरण भएन भने के हुन्छ संघर्ष, रुपान्तरण अनि निषेध । नोट गर्नुस् तपाईंहरू आफ्नो डायरीमा ।

    पार्टीमा संघर्ष चलिरहन्छ । तर एकताका लागि । रुपान्तरण गराउनका लागि । संघर्ष चलिरहन्छ रुपान्तरण भएन भने निषेध गर्नका लागि । केपी ओली अरुको भइदिए । आफ्नो भइदिएको भए माधव नेपाल जसले जसले बनाएको पार्टी हो उसको साधारण सदस्य पनि छैन । तर केपी ओलीको सदस्यता चाहिएको छैन । हाम्रो जेएन खनाल, मुकुन्द न्यौपाने, भीम रावल सदस्य पनि हुनुन्न । त्यति मात्र होइन ११ जना कमरेडहरूको सदस्यता एकैचोटी सबैको टाउको छिनालिदिनुभो उहाँले । तर, केपी ओलीले छिनालेको टाउको यत्तिकै छ, शीर ठाडै छ । केपी ओलीले हामीलाई छिनाल्न सक्दैनन् । मैले केपी ओलीलाई भनेको थिएँ- म व्यक्तिसँग डिल गर्दिन भन्दै हुनुथ्यो तर मलाई बोलाउनुभएको किन के व्यक्तिसँग डिल गर्न ? माधव नेपाल व्यक्ति हो कि शक्ति हो भन्नुस् तपाईंले । उहाँले भन्नु भो- ‘शक्ति हो, शक्ति हो ।’ र, संस्था पनि हो कि होइन । हो तपाईंले चाहे त पार्टी बनाउन सक्नुहुन्छ । तर तपाईं पनि बर्बाद हुनुन्छ । म पनि बर्बाद हुन्छु कम्युनिष्ट आन्दोलन सिद्धिन्छ । हो, त्यो चेत भएको छ भने तपाईंले जुन ढंगले अहंकारले ग्रसित भएर एकलौटी रूपमा फागुन २८ गते गुटको भेला गरेर सबैलाई पदबाट मुक्त गरेर मनपरी ढंगले विधान संशोधन गरेर जसरी जिल्लाजिल्लामा चल्नुभएको छ हामीसँग जोडिएका व्यक्तिहरूलाई निकाल्नुभएको छ । त्यो सबै कुरा फिर्ता लिनुस् । यो पछिल्लो भेट हो ।

    अहिले हामी पार्टीको घोषणा किन गर्न सक्दैनौं भने हामीले सांसदको हैसियतमा हस्ताक्षर गरेर सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । यो बेलामा अर्को पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुन पुग्छौं । एमालेको सांसद रहँदैनौं । अहिले नै त्यहाँ पार्टी दर्ता गर्न कागजातदेखि सबै तयारी गर्नुपर्छ ।

    केपी ओली अगाडि बढिसकेपछि फर्किन जान्दैन यो उहाँकै शब्द हो । अहंकार बढ्नुको कारण केपीवाद, बाले बिगारेको हो । अहिले साइबर स्यालहरूले दिने गरेको एक-एक चिज हेर्नुस् त । यस्तो खालका दास मनोवृत्ति भएकाका पछि जान सकिँदैन । विद्रोहको चेत दिनुपर्छ । यसको मतलव हामी ध्वंस बढाउने होइन । न्यायको निम्ति विद्रोहको चेत दिन्छौं । जसमा आँट छैन त्यो नेता हुन सक्दैन । नेता त्यो हो जसले अरुलाई गाइड र उत्साहित गर्छ । अहिले पार्टी स्थायी कमिटी, केन्द्रीय कमिटीभित्र तपाईंहरूलाई नेतृत्व गर्ने नेता हुनुन्छ । अवश्य कसै कसैलाई लागेको कोसिस गरौं न त सुध्रिन सक्नुहुन्छ । हुन्छ कोसिस गरौं मैले वामदेव कमरेडलाई त भनेको थिएँ- कोसिस गर्नुस् न त्यही बालुवा पेलेर तेल निस्किन्छ कि । विचरा वामदेव कामरेड पेल्दा-पेल्दा गर्नुहुन्छ । तेल नै निस्किँदैन । म त निष्कर्षमा पुगिसकेको छु- कि बालुवा पेलेर तेल निस्कनेवाला छैन । यो पार्टीको निम्ति वामदेव कामरेड यति महत्वपूर्ण मान्छे हो । म उहाँलाई अहिले पनि स्यालोट गर्छु । माओवादीसँग त्यो बेला जोखिममा वार्ता गर्ने मान्छे वामदेव हो ।

    हामी सबैले त्याग गर्नुपर्छ । कर्णालीका कमरेडले कारवाही भोग्नुभएको छ । तपाईंलाई थाहा छ । त्यत्रो संकटको बेलामा चुनौतीको सामना गर्दै वागमती प्रदेशमा भएको राष्ट्रियसभा चुनावमा केपी ओलीको उम्मेदवार बादललाई हराउनुभयो । हाम्रो उम्मेदवारको रूपमा खडा गरिएको खिमलाल देवकोटालाई जसरी जिताउनुभयो उहाँहरूलाई भुल्न सक्दैनौं । लुम्बिनीमा पनि हाम्रो गठबन्धनको उम्मेदवार जो पहिलेको एमालेकै थिए । उहाँलाई जिताउने काममा भूमिका खेल्नुभयो उहाँलाई विर्सदैनौं । ७ नं प्रदेश (सूदूरपश्चिम) मा समर्थन फिर्ता लिने केपी ओलीको आदेशलाई अवज्ञा गरेर त्यहाँको दलको बहुमतबाट सरकारमाथिको समर्थन कायम राखेर मन्त्रिमण्डल पुनर्गठन गर्नुभयो उहाँहरूलाई हामी भुल्न सक्दैनौं । २ देखि ७ नम्बर प्रदेश यी सबै ठाउँमा केपी ओलीको हार । अहिले केपी ओली केही लचिलो भएको हो कि भन्ने हामीलाई परेको पनि छ । यो लचिलो होइन । सय होइन डेढ सय प्रतिशत मेरो निष्कर्ष हो केपी ओली सुध्रिदैनन् । हामी निष्कर्षमा पुगे पनि कार्यकर्ता पुगे कि पुगेनन् । जनता निष्कर्षमा पुगे कि पुगेनन् । त्यो पर्खिनुपर्छ । यदि तपाईंहरू निष्कर्षमा पुग्नुभएको छ भने पर्खिने होइन । आफ्नो आफ्नो ठाउँको कार्यक्षेत्रमा पुगेका छैनन् भने पर्खिने । तर, पर्खिँदाखेरि माझीहरूको सल्लाहले सात गाउँ डुबेजस्तै डुब्ने स्थिति बन्न दिनु हुँदैन । अनि मान्छे मरिसकेपछि डाक्टर बोलाको कुनै अर्थ हुँदैन । तपाईंहरूलाई छाडेर गइँदैन । व्यवस्थापनको काम गरिनेछ ।

    नेता कार्यकर्ताहरूलाई पार्टीको संसदीय र राजकीय कार्यक्षेत्रमा आग्रह/पूर्वाग्रहबिना जिम्मेवारी दिने । एमालेलाई नवौं महाधिवेशनको कार्यदिशाअन्तर्गत संचालन गर्ने, पार्टी र सरकाबीच समन्वय गर्न संयन्त्र बनाउने । यी निर्णयलाई सहमति गरेकै दिन स्थायी कमिटी बैठकबाट निर्णय गर्नुपर्छ । केपी ओली र माधव नेपालको सहमतिमा स्थायी कमिटी बैठक डाकि महाधिवेशनलगायतका निर्णयहरू गर्न कार्यदल बनाई ७ दिनभित्र प्रतिवेदन तयार गर्नुपर्ने र त्यसलाई तलतलसम्म छलफलमा लैजानुपर्छ । दुवै पक्षबाट भएगरेका कमिकमजोरीलाई महसुस गरी आगामी दिनमा पार्टीलाई विधि, विधान र पद्धतिमा संचालन गर्ने र देशको विषम परिस्थितिमा प्रतिनिधिसभाको निरन्तरता आवश्यक भएकोले त्यसको विघटनलाई सच्याउनुपर्छ । प्रतिनिधिसभा पूरा कार्यकाल चलाउने भन्ने हाम्रो माग पुर्‍याउन पाएको छैन केपी ओलीबाट एकपछि अर्को कारवाहीबाट हामीलाई साधारण सदस्यबाटै निकालिदिए । भएको के छ भने केपी ओली पहिलो फायर गर्छन् । हामी डिफेन्सिभ मात्र हुन्छौं । हामीले अनावश्यक कुरा गरेर पहिले कुनै निहुँ खोजेका छैनौं ।

    हामीले सहमतिको प्रस्ताव राख्यौं । उहाँले वार्ताको नाटक गर्नुभयो । वार्तामा दुईवटा उद्देश्य लुकेको थियो । एउटा त बादललाई हराउँछन् कि क्या हो भनेर । उहाँले एकतिर दुई निसान लगाउन खोज्नुभयो । एउटा त केपी ओलीले जसको टाउकामा हात राख्छ सदा विजयी भव । बादललाई उठाएको थिएँ । जिताइदिएँ । माधव नेपाललाई फकाइदिएँ । सबैलाई मिलाएँ भन्नलाई । यत्ति खुबी छ कि उहाँमा । त्यतिबेला मिलाएँ भन्ने अनि देख्यौ माधव नेपाललाई मुर्ख बनाएँ भन्ने । अनि दोस्रो, हेर्‍यौ ! खिमलाल जी माधव नेपालको उम्मेदवार बन्न जानुभएको थियो । पाउनुभो स्वाद । अनि शेरबहादुर देउवालाई फोन गरेर उहाँले भन्नुहुन्थ्यो – माधव नेपाल माधव नेपाल भन्नुहुन्थ्यो पाउनुभो स्वाद चाख्नुभो । प्रचण्डलाई फोन गर्नुहुन्थ्यो- लीलामणीलाई उम्मेदवार बनाउन खोज्नुभएको थियो । माधव नेपालले दिएनन् । आफ्नै उम्मेदवार भनेर ल्याए अनि तपाईंलाई बाटोमै नांगो बनाइदिए । त्यो सबै मैले बुझेको थिएँ । उनले राष्ट्रियसभाबारे कुरा गर्दा यो पहिलै भइसकेको कुरा हो भनेर मैले इफ एण्ड बट केही सुन्न चाहँदिन भने । पछि रामबहादुर थापा आएर तपाईंको व्यक्तित्व र प्रतिष्ठामा आँच आउने कुरामा मैले केही भन्न मिलेन । तपाईंले नै उम्मेदवार उठाइसकेपछि पछि हट्दा तपाईंको प्रतिष्ठामा आँच आउँछ । उहाँले नै भन्नुभयो । सबै मान्छेहरूलाई स्वविवेक प्रयोग गरौं भन्नुभो । तर, उहाँको सचिवालयबाट माधव नेपाललाई बादललाई साथ दिने भनी गलत प्रचार भो हामीले तत्काल त्यसको खण्डन गर्यौं । त्यो दाउमा ओली फेल खाए ।

    हामीले सहमतिको प्रस्ताव राख्यौं । उहाँले वार्ताको नाटक गर्नुभयो । वार्तामा दुईवटा उद्देश्य लुकेको थियो । एउटा त बादललाई हराउँछन् कि क्या हो भनेर । उहाँले एकतिर दुई निसान लगाउन खोज्नुभयो । एउटा त केपी ओलीले जसको टाउकामा हात राख्छ सदा विजयी भव । बादललाई उठाएको थिएँ । जिताइदिएँ । माधव नेपाललाई फकाइदिएँ । सबैलाई मिलाएँ भन्नलाई ।

    फेरि संसदमा विश्वासको मत लिने उनको इच्छा थियो । हामीलाई अलमल्याउन खोजिरहेका थिए । हामी एक ढिक्का भएर अलमलिन चाहेनौं । त्यहाँ हामी उपस्थित भएको भए महन्थ ठाकुरले समर्थन गरेर यीनलाई २ वर्षसम्म कसैले छुन सक्ने थिएन । त्यसपछि त हामीलाई झन् ओखलमा राखेर पेलेको पेलै । राष्ट्रपतिकोमा पनि जाँदैनन् भन्ने ठानेका थिए गयौं । अदालतमा त नजालान् भने गयौं । त्यसपछि २ गते मान्छु म । मैले भने पहिले क्याबिनेट बसेर प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुस् । १३६ को बहुमत पुग्नेमा १४६ जनाको हस्ताक्षर भयो । केपी ओली चिलमिलाए । इण्डियासँग उनको साँठगाँठ जो चलिरहेको थियो त्यो देखियो नागरिकतासँगको विषय, दलाल पुँजीवादको चंगुलमा फसेको देखियो चुरे फाँडेर नेपालको तराईलाई मरुभूमि बनाउने कुरा पनि देखियो । कोरोना महामारीमा जनता तड्पिरहेका छन् । यसलाई उनी मतलब राख्दैनन् । केपी ओली सबै कोणबाट गलत ठाउँमा पुगेका छन् । पतनको दिशामा पुगिसकेका छन् ।

    कम्युनिष्ट पार्टीलाई जोगाउनु छ भने, लोकतन्त्रको रक्षमा गर्नुछ भने, कम्युनिष्ट आन्दोलनलाई जोगाउनु छ भने नयाँ शीराबाट अघि बढ्नुको विकल्प छैन । जबसम्म केपी ओलीले ११ जनालाई निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण फिर्ता लिँदैनन् भने उनीसँग औपचारिक वार्ताको कुनै अर्थ छैन । हिजो र अस्तिको छलफलमा केपी चालबाज हुन् भन्ने सबै निष्कर्ष थियो । कुनै नेतामाथि आरोप-प्रत्यारोप नगर्नुहोला । मनोबल बलियो बनाइदिनुहोला । हामी एकता नै चाहन्छौं । तर अनिश्चितकालसम्म वार्ता भनेर नअलमलिएर निश्चित समयभित्र टुंग्याउने गरी अघि बढ्नुपर्छ । तपाईंहरूलाई निर्देशन दिन चाहन्छु – वार्ड र टोलटोलसम्म कमिटी बनाउनुस् । अहिले कोरोना महामारी भएकोले भर्चुअल रूपमा बैठक र छलफल अघि बढाउनुस् । तर, पर्‍यो भने सडकमा उत्रनुपर्ने पनि हुनसक्छ ख्याल गर्नुहोस् । अरू पार्टीहरूसँग जुन सहकार्य गर्दै आएका छौं । लोकतन्त्र, संविधानको रक्षाको निम्ति पनि यो सहकार्यलाई अझ सशक्त बनाएर जानुपर्ने हुनसक्छ । कार्यकर्ताको मनोबल उच्च राख्नुपर्छ । केपी ओलीका सबै गलत निर्णयको खबरदारी गर्नुपर्छ । यी सबै कुराहरूमा हाम्रो केन्द्रीय कमिटीको एकमत रहनुपर्छ ।

    हिजो जुन क्याबिनेट पुनर्गठन गरेको छ । काम चलाउ सरकारले यो संसदीय अभ्यास र असंवैधानिक काम गरेको छ । यो निन्दनीय छ । को-को साथीहरू किन छाडेका हुन् किन हटाइएका हुन् । थाहा छैन मलाई । थाहा नभएको कुरा भन्न सक्दिन । भित्र अन्तरविरोध छ कि छैन । यो अन्तरविरोध पनि रोएरै बस्ने खालका हुन् कि विद्रोह गर्ने मनस्थितमा पुगेका हुन् कि । (राजाको शासनको कथा) । उहाँहरू सबैको मुटु र नाडी कस्तो छ आगामी दिनमा थाहा होला । तर हामी एक्लै धातुले बनेका क्रान्तिकारी भएको हुनाले त्यो हिसाबले अघि बढौं ।

    कतिपय ठाउँमा बेलामा कदम चाल्ने कुरामा कमजोरी भयो होला । तर मेरो सोच सिंगो विचार समूह हो हाम्रो । यो विचार समूहको भावना दह्रो र दृढताका साथ अघि बढ्ने खालको छ । चैत ४ र ५ बाटै विद्रोह शुरू गरिसकेका छौं । संघर्ष अनि रुपान्तरण । त्यो पनि भएन भने निषेध । निषेधको दिशामा जाने कि नजाने भन्ने केपी ओलीको हातमा छ । अन्तिम चोटी हामी हेर्नेछौं ।

    अहिले हामी पार्टीको घोषणा किन गर्न सक्दैनौं भने हामीले सांसदको हैसियतमा हस्ताक्षर गरेर सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । यो बेलामा अर्को पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुन पुग्छौं । एमालेको सांसद रहँदैनौं । अहिले नै त्यहाँ पार्टी दर्ता गर्न कागजातदेखि सबै तयारी गर्नुपर्छ । कसरी-कसरी जिल्ला प्रदेश र केन्द्र कमिटी बनाउने भनेर तपाईंहरू जिल्लामा हामी केन्द्रमा तयारी गर्नेछौं । गृहकार्यहरू धमाधम भइरहेको छ । एकता भयो भने के भएन भने के जस्तोसुकै संकटको बेलामा अघि बढ्ने गरी हामी तयार हुनुपर्छ । सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ । नत्र हामी घर न घाटको हुनेछौं ।

    अडियो सुन्‍नुहोस्:-

     

    (२२ जेठ २०७८ मा आफूपक्षीय जिल्ला कमिटीका पदाधिकारीसँग भएको भर्चुअल बैठकमा नेता नेपालको सम्बोधनको सम्पादित अंश ।)

  • समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

    समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

    सुर्खेत । नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ ।

    माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला कमिटिको आजको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

    शाहीका अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई विज्ञप्ति जारी गर्ने, आन्दोलनको आव्हान गर्ने र आफ्नो नेतृत्वमा एमाले जिल्ला कमिटी घोषणा गरी पार्टी विधानविपरीत गतिविधि गरेकोले उनलाई पदमुक्त गरिएको हो ।

    त्यस्तै पार्टी एकता र भावनाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।

  • एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

    एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।

    अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् ।

  • सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई ओलीको ४८ घण्टे स्पष्टीकरण

    कैलाली । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।

    बिहीबार अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए । यसअघि उनलाई प्रदेश कमिटीले पनि स्पष्टीकरण सोधेको थियो । शाह केन्द्रीय सदस्य भएको हुँदा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले स्पष्टीकरण सोधेका हुन् ।

    जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो । तर, प्रदेश संसदीय दलले भने नेतृत्वको निर्देशन अटेर गरेको भन्दै कारवाही प्रक्रिया थालिएको छ ।

    शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ? भन्ने सोधिएको छ । त्यस्तै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको छ ।

    अध्यक्ष ओलीले शाहलाई एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने ? भन्दै चित्तबुझ्दो जवाफ मागेका छन् ।

  • माधव पक्षको बैठक आज पनि, जेठ २ मा फर्किँदैमा एकता हुने वा नहुनेमा दुईखाले मत

    माधव पक्षको बैठक आज पनि, जेठ २ मा फर्किँदैमा एकता हुने वा नहुनेमा दुईखाले मत

    काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका केन्द्रीय सदस्यहर”को बैठक आज पनि जारी छ । बिहान ११ बजेबाट शुरू बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ ।

    बैठकमा प्रष्ट रूपमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो समूहका बटमलाइन सुनाउने सम्भावना छ । माधव नेपालको पक्षमा सधैँ खडा हुँदै आएका नेताहरुले २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने विचार व्यक्त गरेका छन् ।
    त्यो विचारको नेतृत्व भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडाजस्ता नेताहरूले गरिरहेका छन् ।

    अर्कोतिर विशेषगरी माधव नेपालसँग नवौं महाधिवेशनबाट जोडिएका नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ । यो विचारमा गोकर्ण विष्ट पनि सहमत छन् । आजको बैठकमा विष्टले पनि बोल्दैछन् ।

    पार्टी एकताको लागि प्रयत्न गरिरहेका नेता ठाकुर गैरेले जेठ २ को विन्दूबाट पार्टीका सबै संरचनाहरुलाई अघि बढाएपछि सबै समस्याहरु आफैं समाधान हुँदै जाने र पार्टी एकढीक्का रहने बताए । उनले वैठकमा कसैले पनि एकताको विरोध नगरेको दावी गरे ।

    एकता वा विद्रोह जे गर्ने हो तत्कालै गर्न नेपालमाथि दबाब छ । धेरै सदस्यहरुले जे २ मा फर्किने भनेर ओलीबाट फेरि छलछाम र धोखा हुने आशंका गरेका छन् । ओलीले एकतर्फी रुपमा जेठ २ मा फर्किएको घोषणा गरे आफ्नो समूहको धारणा के हुने ? भन्ने प्रश्न पनि बैठकमा उठेको छ ।

    बैठकमा ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको नेता झपट रावलले बताए ।

  • प्रधानमन्त्री र महन्थबीच राति अबेरसम्म वार्ता, जसपा आजै सरकारमा सहभागी हुने सम्भावना

    प्रधानमन्त्री र महन्थबीच राति अबेरसम्म वार्ता, जसपा आजै सरकारमा सहभागी हुने सम्भावना

    काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आजै सरकारमा सहभागी गराउने तयारी भएको छ । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने भएका छन् ।

    अहिले प्रधानमन्त्रीले पार्टीका मुख्य नेताहरुसँग छलफल गर्दैछन् ।

    जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।

    यसअघि विहीवार राति अबेरसम्म जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग वार्ताका लागि बालुवाटारमा थिए । जसपाको संसदीय दलमा बहुमतमा रहे पनि कार्यकारिणी समितिमा वहुमत नभएकाले सत्ता सहभागिता केही दिन लम्बिएको थियो ।

    अहिले जसपा विवाद निर्वाचन आयोगमा पुगेकाे छ ।

  • झलनाथ र माधवलाई चार नेताको चेतावनी- ओलीको पछि लागे घर न घाटको हुनेछौं (पूर्णपाठ)

    झलनाथ र माधवलाई चार नेताको चेतावनी- ओलीको पछि लागे घर न घाटको हुनेछौं (पूर्णपाठ)

    काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका चारजना प्रभावशाली नेताले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा केपी ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी दिएका छन् ।

    एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा,विजय पौडेल र राजेन्द्रकुमार राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिदै आजको पहिलो शर्त केपी ओली सरकारको वहिर्गमन र राजनीतिक दलहरुको सहयकार्य नै रहेको प्रष्ट पारेका छन् ।

    चार नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी र माधव नेपाल समूहमै फुट ल्याउने षडयन्त्र भन्दै यस्ता वार्ताका नअल्मलिन समेत सुझाव दिएका छन् ।

    उनीहरुले पेश गरेको ९ बुँदे लिखित सुझावमा भनिएको छ- रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो । तसर्थ मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुनेछ भनी सचेत गराउन चाहान्छौं ।

    उनीहरुले यदि एमाले मिले पनि आगामी दिनमा हुने सबै तहको निर्वाचनमा टिकट वितरणको प्रक्रिया नै धेरै पक्षपातपूर्ण,विभेदकारी,पुर्वाग्रही र अन्तरघातमय हुने भन्दै केपी ओलीको आँखामा कम्फरटेबल हुने पात्र मात्र रोजाइमा पर्ने बताएका छन् ।

    माधव नेपाल पक्षधर यी चार नेताले यदि एमाले मिले पनि आगामी दशौं महाधिवेशन निष्पक्ष नहुने भन्दै ओलीको शब्दजाल र चालमा पर्न नहुने सुझाव दिएका छन् ।

  • माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

    माधव नेपाल पक्षधर १७ भ्रातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए पार्टी विसर्जन

    काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।

    बुधबारको बैठकपछि बीहीबार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको भन्दै उनीहरूले ती सबै खारेजयोग्य रहेको दावी गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।

    उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।