Tag: टप न्यूज

  • किसान श्रेष्ठको घरमा घुसेर सुधन गुरुङको ध्वाँस- काठमाडौंबाट एउटा बहुला आएको छ भन्दिनू !

    किसान श्रेष्ठको घरमा घुसेर सुधन गुरुङको ध्वाँस- काठमाडौंबाट एउटा बहुला आएको छ भन्दिनू !

    काठमाडौं । जेनजी आन्दोलनपछि यत्रतत्र हस्तक्षेपकारी भूमिका खेल्दै आएका सुधन गुरुङ हिजो बाराका निवर्तमान सांसद किसान श्रेष्ठको घरभित्र अनाधिकृतरुपमा प्रवेश गरे । बिहान करिब ११ बजे बिनाअनुमति घरभित्र घुस्दा उनीसँग ३-४ युवा र युट्युबरसमेत थिए ।

    श्रेष्ठको जितपुर सिमरा-४ औराहीमा रहेको ठूलो कम्पाउण्डसहितको घरमा गत जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । अहिले घरभित्र जिर्णोद्दारको काम भइरहेको छ । इन्जिनियर चिरञ्जीवी झासहित ३-४ जना कामदार घरभित्र थिए । गेटमा एउटा कुकुर थियो । अपरिचितलाई देखेर कुकुर भुक्न थाल्यो, तर गुरुङले च्व च्व… गर्दै सम्हाले र सरासर भित्र पसे ।


    सार्वजनिक भिडिओमा भित्र पसेको र बाहिरिएको दृश्य मात्रै कैद छ । गुरुङले घरमा रहेका मानिसहरूसँग गरिएको संवाद भने खिचिएको छैन ।

    इन्जिनियर झाका अनुसार गुरुङले गुण्डागर्दी शैलीमा आएर थर्काएका थिए । किसान श्रेष्ठलाई घरमा नभेटेपछि आफूलाई नै धाकधम्की दिएर हिँडेको उनको भनाइ छ ।

    घटना विवरण सुनाउँदै झा यसो भन्छन्:

    हामी घरभित्र काम गर्दै थियौं । ११ बजेतिर एक्कासि गेटबाट ४-५ जना क्यामरासहित आउनुभयो । एक जना छिमेकी भाइ पनि थिए । पत्रकारहरू आउनुभयो कि के हो ? भन्ने लाग्यो । उहाँहरू नजिक आउनुभयो । तर हामीले चिनेनौँ । एकजनाले मतिर आएर ‘तपाईँ यहाँको आधिकारिक व्यक्ती हो ?’ भनेर सोध्नुभयो । मैले आफ्नो परिचय दिएँ । त्यसपछि भन्नुभयो कि किसान श्रेष्ठलाई खबर पुर्‍याइदिनु, काठमाडौंबाट एउटा बहुला आएको छ । यो भाइलाई सिमराभरिमा कसैले पिट्यो वा हातपात गर्‍यो भने ठिक हुँदैन । अस्ति घरमा मात्रै आगो लाग्यो अर्कोचोटि मान्छेलाई पनि आगो लाग्न सक्छ । पछाडि प्लटिङमा पनि खोजतलास गर्छौँ ।

    झाका अनुसार गेटभित्र आउँदा क्यामराले खिचिरहेको भए पनि आफूहरूसँग कुरा गर्दा गुरुङले क्यामरा बन्द गर्न भनेका थिए ।

    गुरुङले आफूसँग लगेका स्थानीय युवक शेख सफिक हुन् । सफिकले आफूमाथि प्रहरीकै अगाडि हातपात भएको दाबी गरेका छन् । उनले प्रहरीबाट पनि सुरक्षा महसुस नगरेर सुदन गुरुङलाई गुहारेको बताए । कसले हातपात गरेको हो भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

    घटनापछि आफूले लगेका युट्युबरसँग बोल्दै गुरुङले किसान श्रेष्ठको घरमा गएर ‘सम्झाई बुझाइ गरेको’ बताएका छन् ।

    उनले भने, ‘यो भाइको गाउँ पनि यहीँ रहेछ । बार-बार आएर थर्काउने यसो यसो गर्दो रहेछ । मेन्टल टर्चर पनि दिएछन् । यही विषयमा घरमा गएर सम्झाई बुझाइ गरेका हौं । यस्तो काम नगर्नुहोला भनेर उहाँको म्यासेन्जरमा सन्देश पठाइदिएका छौँ ।’

    घटनापछि नेता श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आफू पार्टी कामको सिलसिलामा काठमाडौं आएको मौका छोपी गुरुङ आफ्नो घरमा प्रवेश गरेर धाकधम्की दिएको बताएका छन् ।

    उनले भनेका छन्, ‘जेनजीको कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाको घोर भर्त्सना गर्दछु ।’

    उनले जेनजीको नाममा भइरहेको अराजकता र आतंक रोक्न सरकार र स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

    जिप्रका बाराका डीएसपी विजयराज पण्डितले यो विषयमा प्रहरी संवेदनशील रहेको र घटनाको विश्लेषण गरिरहेको प्रतिक्रिया दिए ।

  • आजका मुख्य सवाल- न चुक्न मिल्छ सरकार, न त झुक्न मिल्छ अख्तियार

    आजका मुख्य सवाल- न चुक्न मिल्छ सरकार, न त झुक्न मिल्छ अख्तियार

    सेप्टेम्बर विद्रोह आफैँमा सामान्य घटना थिएन । किनकि, उक्त विद्रोहले नेपालमा विश्व इतिहासको रेकर्ड तोड्दै दुई दिनमै सत्ता पलट गराइदियो । तर, विद्रोहको जगमा निर्मित ‘नागरिक सरकार’ निर्माणको करिब दुई महिनामै सरकारका प्रति नागरिक तहबाटै दर्जनौँ प्रश्न जन्मिन थालेका छन् ।

    स्कुले बालबालिकाको कुर्बानीबाट निर्मित सरकारले भोलि जनतालाई आफूमाथि उठेका यावत प्रश्नका जवाफ दिनै पर्छ । सरकार निर्माणमा कुर्बानी दिने जेन–जी पुस्ता आज सरकारसँग भदौ २३–२४ को नरसंहार, दर्जनौँ चर्चित भ्रष्टाचारका घटना तथा अकूत सम्पत्तिको छानबिनका बारे प्रश्न गर्दैछ । तर, सरकार भने ‘संविधानले बाँधिएकाले’ केवल एक थान निर्वाचनबाहेक अन्यत्र प्रवेश गर्नै नसक्ने बताएर लाचारी प्रकट गर्दैछ ।

    संविधानले नरसंहार, अकूत तथा चर्चित भ्रष्टाचारको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउन रोकेकै हो भने विद्यमान संविधानले सुशीला कार्की सरकार निर्माणमा चाहिँ कहाँनेर बाटो खोलेको छ ? यो प्रश्न सतहमै देखा परेको छ ।

    खै सम्पत्ति विवरण ?

    हिजो नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन विद्रोही माओवादी, एमाले फुटेर निर्माण भएको एकीकृत समाजवादी, रास्वपा, राप्रपा र मधेसवादी दलले जनचाहना बुझ्न सकेनन् । बुझ्न पनि चाहेनन् । तर, आज निकै ठूलोमात्र नभई अभूतपूर्व विद्रोहबाट निर्मित सरकारलाई हिजोका परम्परागत दललाई झैँ चुक्ने सुविधा छँदै छैन । तर, सरकार सरकार निर्माणको दुई महिने अवधि कटिसक्दा पनि मन्त्री तथा प्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । कानुनले भन्छ- पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्दछ । तर, सरकार यो सवालमा चुकिसक्यो ।

    हिजोका मितिका सरकार तथा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गरी टुंगोमा पुर्‍याउनुपर्ने सरकार आफैँ पारदर्शीताको प्रश्नमा घेरिनु दुःखद पाटो हो । जेन–जी आन्दोलनको मूल मर्म भनेको ‘सुशासन’ थियो । सुशासनको जगमा भएको विद्रोहबाट निर्मित सरकारबाटै सम्पत्ति विवरण सार्वजनिक नहुनुले सरकारका बारे प्रश्न उठ्नुलाई असामान्य मान्न मिल्दैन । किनकि, हिजो विभिन्न समयमा गठित सरकारका शब्दकोशमा ‘ठीक र बेठीक’ भन्ने नै थिएन । तर, आजको सरकारमाथि भने प्रश्न उठ्ने ठाउँ सरकार आफैँले दिने छूट आजको ‘नागरिक सरकार’ लाई छैन ।

    डोल्मा कर छूट प्रकरण

    ट्याक्स हेभेन देश मौरिससमा दर्ता भएर नेपालमा विभिन्न कम्पनीमार्फत लगानी गर्दै आइरहेको डोल्मा ईम्याट फण्ड अहिले चर्चाको विषय बनेको छ । उक्त कम्पनीले ‘नागरिक सरकार’ समेतलाई प्रभावमा पारी करिब १ अर्ब बराबर राजस्व छल्न सफल हुँदै गरेको प्रकरण स्मरणीय छ । त्यस मामिलामा वर्तमान सरकारको उपल्लो तहसम्म बिचौलियाको प्रवेश सहज हुँदै गरेको अनुमान लगाउन कठिन छैन ।

    बेलायती नागरिकले विभिन्न ठाउँमा शेयर लगानी गरी बिक्रीबाट आर्जित पुँजीगत लाभकर छली गर्न सरकार तथा सरकारका विभिन्न निकायलाई प्रभावमा पारेर कर छूटको निर्णय मन्त्रिपरिषदबाटै गराएबाट सरकारमाथि प्रश्न उब्जिएको हो ।

    २०८१ असारमै आन्तरिक राजस्व विभागबाट अस्वीकृत गरिएको कर छूटको विषय एकाएक हालको सरकारका समयमा उठेर मन्त्रिपरिषदबाट समेत निर्णय हुनुलाई सरकार झुक्किएको रूपमा मात्र बुझ्न मिल्दैन ।

    आयकर ऐन २०५८ र सर्वोच्च अदालतले विभिन्न मितिमा प्रतिपादन गरेको नीतिविपरीत नेपालका विभिन्न कम्पनीमा शंकास्पद रूपमा लगानी गर्दै आइरहेको कम्पनीलाई कर छूटका नाममा दिइएको र यसरी दिइने सुविधाले राज्य कोषमा जम्मा हुने अर्बौँ रुपैयाँ स्वभावैले घट्न पुग्दछ । मुलुकको राज्य कोषमा जम्मा हुने रकम घट्ने त छँदैछ, छुट दिन तयार महानिर्देशकदेखि राय दिने महान्यायाधिवक्ता हुँदै निर्णय नै गर्न उद्धत ‘नागरिक सरकार’ कै बारे पनि जनस्तरबाट गम्भीर प्रश्न उठ्ने निश्चित नै छ ।

    किन पनि प्रश्न स्वाभाविक छ भन्दा, मन्त्रिपरिषद्बाट कर छूट दिने निर्णय विवादको घेरामा परेपछि सरकारले कानुन मन्त्रालयसँग राय मागेको विषय सार्वजनिक हुन पुग्यो । यसले देखाउँछ, सरकार उल्टो बाटोमा लागिसक्यो ।

    थप तोडिउन् ठेक्का

    सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ७ मा ठेक्का तोड्नसक्ने सम्बन्धी व्यवस्था छ भने उपदफा ८ मा ठेक्का तोडिएपश्चात् बाँकी हुने काम गराउन लाग्ने रकमसमेत निर्माण कम्पनीबाट सरकारी बाँकीसरह असुल गर्ने व्यवस्था छ ।

    दफा ७ मा भनिएको छ, ‘सार्वजनिक निकायसँग खरिद सम्झौता गर्नेले सम्झौताबमोजिम काम शुरु नगरेमा, काम सुरु गरी बीचैमा छाडेमा, वा सम्झौताबमोजिम कामको प्रगति नगरेमा सार्वजनिक निकायले त्यस्तो सम्झौता जुनसुकै बखत अन्त्य गर्न सक्ने छ ।’ त्यस्तै, उपदफा ८ मा थप भनिएको छ, ‘उपदफा ७ बमोजिम सम्झौता अन्त्य भएमा सो कामबापत राखिएको पूरै जमानत जफत हुनेछ ।’

    सँगै भनिएको छ, ‘सम्झौता अन्त्य भएको कारणले सम्झौताबमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे–जति रकम आवश्यक पर्छ, सो रकम त्यसरी सम्झौताबमोजिम कार्य नगर्ने बोलपत्रदाताबाट सरकारी बाँकीसरह असुल उपर गरिनेछ ।’

    यहाँ उदाहरणका रूपमा उल्लेख गरौँ, निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहले लिएको ठेक्काबारे । झापादेखि सुदूरपश्चिमको लाइफलाइन मानिएको हुलाकी राजमार्ग, उक्त राजमार्गमा पर्ने झापाको कन्काई नदीको पुल पूर्व सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन र महासंघका अध्यक्ष सिंहको महादेव खिम्ती जेभीले २०६८ जेठ ३१ मा ठेक्का पाएको थियो । २०७२ को जेठ २९ मा सम्पन्न गर्ने गरी सम्झौता भयो । ४ वर्षमा सम्पन्न गर्ने गरी प्राप्त गरेको ठेक्काको काम १४ वर्षसम्म पनि अधुरै छ ।

    २०८० सम्मका लागि पाँचौँ पटक म्याद थपिए पनि सम्पन्न नगरिएको उक्त पुलका ठेकेदारद्वय सिंह र रौनियारले छैठौँपटक म्याद थप गरिदिए । २०८४ सम्म उक्त पुल निर्माण सम्पन्न गर्ने बताउँदै म्याद थपका लागि निवेदन दिए ।

    कन्काई पुलको ठेक्का प्रकरण त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । यस्ता करिब २ दर्जनभन्दा ज्यादा करोड मात्र नभएर अर्बौँका योजना छन्, जो पटक पटक आर्थिक चलखेलकै भरमा म्याद थपिएको छ । जेन–जी विद्रोहको जगमा निर्मित ‘नागरिक सरकार’ का भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले त्यस्ता अनियमितता भएका ठेक्का तोड्ने मनोबल देखाएका छन् । अब उनले कुनै पनि तह र प्रकारका प्रलोभनमा नपरी त्यस्ता ठेक्का तोडेर, तिनै ठेकेदारबाट सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाअनुसार रकम असुली गरी ठेक्का सम्पन्न गर्न लाग्नु नै श्रेयस्कर देखिन्छ ।

    बलियो अख्तियारको परिकल्पना

    बेथितिविरुद्धको विद्रोहबाट निर्मित सरकार अहिले प्रश्नहरूको चाङमा उभिएको छ । सम्पत्ति विवरण सार्वजनिक, किशोरीको डिम्ब तस्करी, राजदूत फिर्ता, नेपाल वायुसेवा निगमको अध्यक्ष नियुक्ति, लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्ति, डोल्मा कम्पनीको कर छूटजस्ता विषयमा ‘नागरिक सरकार’ चुकेको मात्र नभई कहीँ न कहीँबाट प्रभावित बन्न थालेको आशंका बलियो बनेको छ ।

    अझ शान्ति सुरक्षाका सन्दर्भमा सरकार चुक्दै जाँदा निर्वाचन सम्पन्न नै नहुने संशय यति बेला मजबुत बन्दै छ । यो सरकारमाथिको जनअपेक्षा भनेको पहिलो निर्वाचन सम्पन्न गर्ने, दोस्रो भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने र तेस्रो हो, सुशासन कायम गर्ने नै हो ।

    निर्वाचन सम्पन्न गर्ने सवालमा सरकारका कतिपय कमजोरी देखिएका छन् । त्यसलाई सुधारेर निर्वाचन सम्पन्न गर्ने दायित्वबाट चुक्ने छूट कार्की सरकारलाई छैन । भदौ २३–२४ को घटनाको जाँचबुझ गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएकोले उक्त आयोगको प्रतिवेदन कुर्नै पर्ने हुन्छ । तेस्रो, तर महत्त्वपूर्ण विषय हो, सुशासन ।

    सुशासनका सन्दर्भमा सरकारले यति बेला अख्तियारलाई बलियो बनाउन जरुरी छ । हिजोका सरकार र सरकारलाई नै प्रभावमा पार्न सक्ने बिचौलियाले संवैधानिक अंगका पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दा रहेको बताएर अख्तियारलाई मनोवैज्ञानिक दबाब दिँदै कमजोर बनाए । जेन-जी विद्रोहलाई नै बदनाम गराउन अख्तियारमा अभियोग भएकाहरूले त्यहाँ आगो लगाउन आफैँद्वारा पालित समूह पठाएर भिडियो लाइभ गर्न लगाए ।

    यी सबै हर्कतका बाबजुद पनि सम्भवतः आयोगमा अनुसन्धान र उजुरीका फाइल जीवित नै हुनुपर्दछ । सँगै, प्रेमकुमार राई, किशोरकुमार सिलवाल र डा.हरि पौडेलजस्ता विधि, पद्धति, सुशासन र कानुनसमेत बुझेका व्यक्ति आयोगमा विद्यमान छन् । उनैलाई निष्पक्ष र निर्भयतापूर्वक छानबिनका लागि बाटो खुला गरिदिँदा बिचौलियादेखि निर्णयकर्ताको विवरणसहित अभियोजन तयार गरी अभियोगलाई अदालतसम्म पुर्‍याउने हैसियत राख्न सक्छन् । त्यो उनीहरूको संवैधानिक दायित्व पनि हो ।

    आजकै मितिमा सुशासन कायमका सन्दर्भमा अख्तियारबाहेक संविधानले दोस्रो निकायको कल्पनासम्म पनि नगरेकाले आयोगलाई नै बलियो बनाएर यही आयोगमार्फत नै सुशासन कायम राख्न लाग्नु नै ‘नागरिक सरकार’ को दायित्व हो । जेन–जी विद्रोहको भावना पनि यही हो ।

    निष्पक्ष निर्वाचन, सुशासन कायममा निर्मम, राजनीतिक दलहरूसँग बिना पूर्वाग्रह समन्वय, हिजोका बेथिति र विसंगतिमाथि प्रहार, नरसंहारको निष्पक्ष छानबिन र दोषीउपर कारबाहीसँगै वैदेशिक लगानी भित्र्याउने र देशकै उद्यमीलाई पनि सुरक्षाको ग्यारेन्टी दिने काम नै ‘नागरिक सरकार’ को मूल दायित्व हो ।

    यो दायित्वबाट आजको जेन-जी विद्रोहबाट निर्मित वर्तमान सरकार पनि चुक्यो भने फेरि पनि ‘देश बन्दैन’ भन्ने भाष्य स्थापित हुने नै भयो । र, मुलुक पुनः अस्थिरताको दुष्चक्रमा फस्ने निश्चित प्रायः छ ।

  • सक्रियता बढाउने देउवाको तयारी, टिकटमा उनकै हस्ताक्षर हुने

    सक्रियता बढाउने देउवाको तयारी, टिकटमा उनकै हस्ताक्षर हुने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वको कार्यकारी भूमिकामा फर्कने तयारी गरेका छन् । गत असोज २८ गते कांग्रेस केन्द्रीय समिति बैठकमा लिखित मन्तव्य दिँदै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

    त्यसयता कांग्रेस केन्द्रीय समिति बैठक खड्काकै नेतृत्वमा बस्दै आएको थियो । सिंगापुरमा उपचार गराएर फर्किएपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएका सभापति देउवाले क्रमशः पुरानो जिम्मेवारीमा फर्कने तयारी गरेका हुन् ।

    उपसभापतिलाई कार्यवाहक जिम्मेवारी दिने निर्णयलाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेतले प्रशंसा गरेका थिए । कतिपयले देउवाले सक्रिय राजनीतिबाट विश्राम लिएको दाबी पनि गरेका थिए । समयक्रममा देउवा भने पुनः सक्रियताको खोजी गरिरहेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गरिँदैछ ।

    दल दर्ताकै क्रममा सम्बन्धित दलको उम्मेदवारलाई प्रदान गरिने चिठीमा आधिकारिक हस्ताक्षर कसको हुने भन्ने स्पष्ट पार्नुपर्ने हुन्छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनको आधिकारिक टिकटमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षर हुनेगरी दल दर्ता गर्दैछ । सभापतिकै हस्ताक्षरमा टिकट वितरण हुने विषयमा महामन्त्रीहरूसँग सहमति भइसकेको कांग्रेस केन्द्रीय कार्यालयले जनायो ।

    ‘हिजो कार्यवाहक सभापतिले महामन्त्रीहरूलाई हस्ताक्षरको विषयमा मनाइसक्नुभएको छ’, कांग्रेस कार्यालयका एक कर्मचारले भने ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विगतमा जे अभ्यास थियो सोही अनुसार राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता हुने स्पष्ट पारे ।

    ‘राष्ट्रियसभाका लागि दल दर्ता गर्दा उम्मेदवारको टिकटमा विगतमा जसको हस्ताक्षर हुन्थ्यो उसकै हस्ताक्षर हुनेगरी गर्छौँ’, महतले नेपाल प्रेससँग भने । उनले प्रतिनिधिसभाको निर्वाचनको टिकटमा कसको हस्ताक्षर हुन्छ ? भन्नेबारे खुलाएनन् ।

    ‘त्यसका लागि केही समय बाँकी छ । अहिले नै भन्न मिलेन’, महतले भने ।

    कार्यवाहक सभापतिको जिम्मेवारी पाएपनि उपसभापति खड्काले राष्ट्रियसभाको उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न नपाउने निश्चित भएको छ । संस्थापन पक्षले प्रतिनिधिसभाको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा टिकट वितरण गर्नेगरी तयारी गरिरहेको छ ।

    प्रतिनिधिसभाका लागि दल दर्ता गर्न मंसिर १० सम्मको समयसीमा छ । कांग्रेस केन्द्रीय समितिको बैठक नै मंसिर ११ मा राखिएको छ । त्यसअघि नै आयोगमा देउवाको हस्ताक्षर आधिकारिक हुनेगरी पार्टी दर्ता गराए चुनाव अघि महाधिवेशनको मुद्दा कमजोर हुने संस्थापन पक्षको आँकलन छ ।

    ‘राष्ट्रियसभा निर्वाचन माघ ११ मा हुँदैछ । पुस २३ मै उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । पुस २३ को उम्मेदवारी दर्तामा सभापति शेरबहादुर देउवाको हस्ताक्षर काम लाग्ने भएपछि प्रतिनिधिसभाको टिकट उहाँले बाँड्नुहुँदैन भन्ने आधार छैन’, देउवानिकट एक नेताले भने ।

    ती नेताका अनुसार निर्वाचनअघि महाधिवेशन हुने सम्भावना नभएकोले संस्थापन पक्षले सोही अनुसार कामहरू अगाडि बढाउनेछ ।

  • रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले दिए पदबाट राजीनामा

    रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले दिए पदबाट राजीनामा

    रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले दिए राजीनामा, भने- काम गर्ने फुर्सद भएन

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । यद्यपि उनले पार्टीबाट राजीनामा नदिएको बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै विष्टले भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको छु ।’

    राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।

    पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएको विष्टले बताए ।

    उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं- १० बाट उम्मेदवार थिए ।

  • विराटनगर एयरपोर्टमा महेश बस्नेत चढेको गाडीमाथि बेलुन प्रहार, दुई जेन-जी पक्राउ

    विराटनगर एयरपोर्टमा महेश बस्नेत चढेको गाडीमाथि बेलुन प्रहार, दुई जेन-जी पक्राउ

    विराटनगर । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले बेलुनमा पानी भरेर हानेका छन् ।

    सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी भरेको बेलुनले हानेको युवा संघका नेता अरुण गुरुङले बताए ।

    उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।

    इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् । बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

  • गलपासो बन्दै अधिक तरलता, बैंकर र व्यवसायी दुवै तनावमा

    गलपासो बन्दै अधिक तरलता, बैंकर र व्यवसायी दुवै तनावमा

    काठमाडौं । केही वर्षको अन्तरालमै नेपालको वित्तीय बजारले एक अनौठो चक्रको अनुभव गर्‍यो। केही वर्षअघि लगानीयोग्य रकम (तरलता) नभएर छटपटिएको नेपालको वित्तीय क्षेत्र अहिले अधिक तरलताका कारण तनावमा छ।

    कुनै समय कर्जा लिन आउनेहरूलाई रित्तो हात फर्काएको त्यही बैंकिङ क्षेत्र अहिले कर्जा लिन आउनुहोस् भन्दा पनि ग्राहक पाउन मुस्किलमा छ । हिजो पैसा नभएर तनावमा रहेकाहरू आज अधिक पैसा भएर तनाव झेलिरहेका छन् ।

    कुनै समय बैंक तथा वित्तीय संस्थाहरू तरलताको चरम अभावमा छटपटाएका थिए । कर्जाको माग उच्च थियो, तर बैंकसँग पैसा नहुँदा ऋण माग्नेहरू रित्तो हात फर्किनुपर्ने बाध्यता थियो। आज अवस्था ठीक उल्टो छ। प्रणालीमा खर्बौं रुपैयाँको अधिक तरलता थुप्रिएको छ, तर कर्जाको माग छैन।

    नेपालको बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। यस्तो रकम ११ खर्बभन्दा बढी छ। बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकले राखेको निक्षेपको तुलनामा कर्जाको माग निकै कम हुँदा खर्बौं रुपैयाँ निष्क्रिय बस्नु परेको छ।

    एकातिर बैंकहरू लगानीका लागि नयाँ क्षेत्र खोजिरहेका छन् भने अर्कोतिर बजारमा आर्थिक गतिविधि सुस्त हुँदा कर्जा लिनेहरूको संख्या घटेको छ। पैसा भएर पनि लगानी हुन नसक्दा अधिक तरलता अर्थतन्त्रका लागि गलपासो बन्ने जोखिम बढाएको छ।

    किन थुप्रियो पैसा ?

    बैंकमा लगानीयोग्य रकमको चाप छ। यसरी पैसाको थुप्रो लाग्नुको पछाडि धेरै कारण छन्: रेमिट्यान्स आप्रवाहदेखि सरकारले खर्च गर्न नसक्नुसम्मका कारणहरू छन्।

    रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको तीन महिनामै ५ खर्ब ५३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ। यो रकम बैंकिङ प्रणालीमा जम्मा हुँदा निक्षेप बढेको छ।

    तर, लगानी विस्तार हुन सकेको छैन। आर्थिक गतिविधि सुस्त हुँदा व्यवसायीहरूले कर्जा माग गरेका छैनन्। उद्योग, व्यवसाय र परियोजनाहरूमा लगानी विस्तार हुन सकेको छैन।

    सरकारले गर्ने पुँजीगत खर्च समयमा हुन नसक्दा पनि बजारमा पैसा जान सकेको छैन। त्यसबाहेक व्यापार घाटा उच्च हुँदा ठूलो मात्रामा नेपाली रुपैयाँ विदेशी मुद्रामा परिणत भएर बाहिरिने गरेको छ, तर सोही अनुरूप विदेशी मुद्रा भित्रिन सकेको छैन।

    यता बैंकहरूमा पैसा थुप्रिएपछि निक्षेप र कर्जा दुवैको ब्याजदर घटेको छ। यसले कर्जा लिन चाहनेहरूका लागि अवसर सिर्जना गरे पनि माग भने हुन सकेको छैन। कर्जा प्रवाह हुन नसक्दा र भएको कर्जा पनि उठाउन नसक्दा बैंकहरूको नाफामा प्रत्यक्ष असर परेको छ।

    अधिक तरलतालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणहरू प्रयोग गरिरहेको छ। रिभर्स रिपो र स्थायी निक्षेप सुविधामार्फत बजारबाट पैसा खिच्ने काम गरिरहेको छ। तर, यो दीर्घकालीन समाधान भने होइन। दीर्घकालीन समाधानका लागि लगानी नै बढाउनुपर्ने हुन्छ।

    लगानीको वातावरण खोज्दै निजी क्षेत्र

    अहिले सार्वजनिक कार्यक्रमदेखि विभिन्न फोरमहरूमा लगानीको वातावरण बनाउन माग हुँदै आएको छ। तरलताको समस्या समाधान गर्न सरकारले पुँजीगत खर्च बढाउनुपर्ने, निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने नीति ल्याउनुपर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउन ठोस कदम चाल्नुपर्ने औँल्याइएको छ।

    जबसम्म देशमा लगानीको वातावरण बन्दैन तबसम्म वित्तीय प्रणालीमा तरलता थुप्रिने क्रम बढिरहन्छ। आर्थिक गतिविधिले गति लिन सकेन भने बजार सुस्त हुने चक्र चलिरहन्छ। यस्तो समस्याले अर्थतन्त्रलाई नै कमजोर बनाउने देखिन्छ।

    अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक रहेको बताउँछन्, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल। उनी भन्छन्, ‘अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ। कतिपय आयोजनाहरू लगानी नभएर बेवारिसे छन्, जसले गर्दा आयोजनाहरूको लागत बढेको छ। यो अवस्थामा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ। त्यसका लागि लगानीको वातावरण तयार गर्नुपर्छ।’

    उनले बैंकमा ११ खर्बभन्दा बढी रकम त्यसै थुप्रिएकोले उक्त रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताए।

    आन्दोलनका नाममा अराजकता बढेको भन्दै त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ। आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ। घुसपैठीहरूलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने उनको भनाइ छ।

    सरकारले निजी क्षेत्रको सम्पत्तिको संरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता तर्किने स्थिति आउने उनले बताए। ‘सरकारले सुरक्षा दिन नसक्ने हो भने आउने दिनहरूमा यस्ता किसिमका घुसपैठहरू भइरहन्छन्, जसले व्यवसायीको मनोबल कमजोर हुँदै जानेछ,’ उनले भने।

    सुधारका कदम नचालेसम्म लगानी ल्याउने भन्दैमा लगानी नआउने उनको भनाइ छ। अध्यक्ष ढकालले भने, ‘लगानीको प्रोत्साहन नगरी भाषणमा मात्रै लगानी ल्याउने भनेर लगानी आउँदैन। लगानीका लागि सहज कानुन र त्यसको सहज कार्यान्वयन आवश्यक छ।’

    बैंकिङ प्रणालीमा यसरी पैसा थुप्रिनु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताउँछन्, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे

    वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको असर सरकारको राजस्वमा समेत पर्दै आएको उनले बताए। जबसम्म लगानी बढाउन सकिँदैन तबसम्म सुधारका कदम चाल्न गाह्रो रहेको उनको भनाइ छ।

    ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ। बैंकहरूमा लगानीयोग्य रकम छ। ब्याजदर एकल विन्दुमा छ। समग्र बजार माग बढ्न सकेको छैन। मागमा वृद्धि आउन नसक्दा पनि उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन्। मूल्यवृद्धि न्यून विन्दुमा छ। पैसा बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो संकेत होइन,’ अध्यक्ष पाण्डेले भने।

    उनका अनुसार लगानी अभिवृद्धि गराउन कर प्रणालीमा सुधार गर्न आवश्यक छ। यसलाई आयोगले दिएको सुझाव र कार्ययोजनाले समेत दिएको महत्त्वले पुष्टि गरेको छ। त्यसैले यथाशक्य चाँडो कर प्रणालीमा सुधार गर्न आवश्यक छ।

    ‘लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुन्छ। स्वदेशी लगानीकर्ताले मात्रै होइन विदेशी लगानीकर्ताले पनि करसम्बन्धी नीतिहरूको स्थायित्व हेरेर मात्रै लगानी गर्ने गरेका हुन्छन्। लगानीकर्ताको लगानीको आधारसमेत करसम्बन्धी नीति पनि हुने भएको हुँदा यसलाई गहन रूपमा ध्यान दिन अनुरोध गर्छु,’ उनले भने।

    केही दिनअघि लगानीकर्ताको मनोबल खस्किएको भन्दै नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग लगानीको वातावरण बनाइदिन माग राख्यो। जहाँ चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, करसम्बन्धी व्यवस्था, पुँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषयमा विभिन्न सुझाव प्रस्तुत गरे।

    अध्यक्ष अग्रवालले लगानीकर्ताहरूको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने माग राखे। जसरी विदेशी लगानीकर्ताहरू सुरक्षाको प्रत्याभूतिको लागि द्विपक्षीय लगानी प्रवर्द्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन्, त्यसैगरी स्वदेशी लगानीकर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्ब लगानी प्रवर्द्धन एवं सुरक्षा नीति ल्याउनुपर्ने उनको तर्क छ।

    जेन-जी (Gen Z) आन्दोलनपछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा बृहत् छलफल गर्न आवश्यक रहेको उनले सुझाए।

  • नेपालको ‘जेन जेड’ आन्दोलनमा गैरकानूनी बल प्रयोग भएको ह्युमन राइट वाचको प्रतिवेदन

    नेपालको ‘जेन जेड’ आन्दोलनमा गैरकानूनी बल प्रयोग भएको ह्युमन राइट वाचको प्रतिवेदन

    काठमाडौं । नेपालमा हालै भएको ‘जेन जेड’ युवा आन्दोलनको क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ ।

    रिपोर्ट अनुसार दुई दिनसम्म चलेको हिंसात्मक झडपमा कम्तीमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते र व्यापक निजी तथा सरकारी सम्पत्ति नष्ट भएको तथ्य औँल्याइएको छ । लुटपाट र आगजनीका क्रममा अझ धेरै मानिस मारिएका थिए ।

    सो संस्थाले सरकार र सुरक्षानियन्त्रण निकायको भूमिका बारे विश्वसनीय र स्वतन्त्र छानबिन गर्न तत्काल आग्रह गरेको छ। ह्युमन राइट वाचका अनुसार प्रदर्शन दबाउन प्रहरीले रबर बुलेट, वास्तविक गोली, अश्रुग्यास, र अत्यधिक बल प्रयोग गरेको दृश्यहरू अहिले पनि सामाजिक सञ्जालमा उपलब्ध छन् ।

    अनेकै भिडियो र प्रत्यक्षदर्शी कथनको विश्लेषणपछि सार्वजनिक सो प्रतिवेदनमा भनिएको छ-सुरक्षाकर्मीहरूले कानुनी रूपमा आवश्यकभन्दा धेरै बल प्रयोग गरेका छन्, केही घटनामा घाइते प्रदर्शनकारीहरूलाई समेत कुटपिट गरिएको देखिन्छ । धेरै क्षेत्रमा निहत्था युवामाथि नजिकबाट गोली हानिएको, मेडिकल टोलीलाई अवरोध गरिएको र घाइतेहरुलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढाएको थियो ।

    आन्दोलन सुशासनको पक्षमा युवाहरुले स्वस्फूर्त गरे पनि त्यसक्रममा केही समूहहरूले सङ्गठित हिंसा फैलाएको आशंका पनि प्रतिवेदनमा उठाएइको छ । आगजनी र लुटपाटका घटना भने योजनाबद्धरुपमा गराइएको समेत रिपोर्टमा उल्लेख छ । भदौ २४ को घटनाबारे अलग ढंगले अध्ययन हुनुपर्ने भन्दै सो संस्थाले त्यसदिन सुरक्षा निकायले त्यस्ता समूहलाई छुट दिएको जनाएको छ ।

    रिपोर्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही राजनीतिक समूहहरूको भूमिकाबारे विस्तृत अध्ययन भइरहेको बताइएको छ।

  • समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्र बैंकको डण्डा, दायित्व तिर्ने हैसियत गुमेपछि शेयरधनीको पुँजीमा कैँची

    समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्र बैंकको डण्डा, दायित्व तिर्ने हैसियत गुमेपछि शेयरधनीको पुँजीमा कैँची

    काठमाडौं । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकको भवन उस्तै छ, साइनबोर्ड उस्तै छ । तर, करिब एक वर्षदेखि यो बैंकको ‘साँचो’ भने सञ्चालकहरूको हातबाट खोसिएर नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ ।

    जब २०८१ पौष १० गते राष्ट्र बैंकले यसलाई ‘समस्याग्रस्त’ घोषणा गर्दै आफ्नो नियन्त्रणमा लियो, तब धेरैलाई लागेको थियो– राष्ट्र बैंकले मलमपट्टी लगाएर बैंकलाई निको पार्नेछ । तर, राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन समूहले जब बैंकको ‘ड्यु डिलिजेन्स अडिट’ (डीडीए) सुरु गर्‍यो, तब बाहिर चिटिक्क देखिने बैंक भित्रभित्रै कति खोक्रो भइसकेको रहेछ भन्ने डरलाग्दो तस्बिर बाहिर आयो ।

    डिडिए रिपोर्टले बैंक गम्भीर वित्तीय संकटमा रहेको देखायो । प्रतिवेदनमा बैंकको नेटवर्थ (खुद सम्पत्ति) दुई अर्ब ४६ करोड ७७ लाख ४४ हजार ऋणात्मक देखियो ।

    ‘ २०८१ पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणहरूले रु. १,९०७,३१७ हजार (ऋणात्मक) नेटवर्थ देखाएको छ । आवश्यक समायोजन र उचित मूल्याङ्कन पश्चात् नेटवर्थ अझ खस्किएर रु. २,४६७,७४४ हजार (ऋणात्मक) पुगेको छ । जसले गम्भीर वित्तीय संकटलाई संकेत गर्दछ’, डीडीए प्रतिवेदनमा उल्लेख छ ।

    बैंकको पुँजी पर्याप्तता अनुपात ९३.६५ प्रतिशत ऋणात्मक देखिएको छ । जुन विकास बैंकहरुका लागि तोकिएको ११ प्रतिशतको नियामकीय आवश्यकता भन्दा निकै कम हो ।

    सञ्चालक र व्यवस्थापकले १ अर्ब २७ करोड रुपैयाँ नगद अपचलन गरेको देखिएको छ । शंकास्पद कर्जा दुरुपयोग, अनधिकृत कर्जा प्रवाह र धितोको जालसाजीपूर्ण मूल्यांकनका धेरै घटनाहरू पहिचान गरिएका छन् । तिर्न नसकेका वा असल हुन नसक्ने कर्जाहरूका लागि ४३ करोड १५ लख २३ हजार रुपैयाँको थप कर्जा नोक्सानी व्यवस्था आवश्यक देखिएको छ ।

    बैंकले २०८१ पुससम्ममा कर्जा लगानी २ अर्ब ९३ करोड ६६ लाख गरेको थियो । जसमा कुल कर्जाको खराब कर्जाको अंश ७६ प्रतिशत छ । २ अर्ब २२ करोड खराब कर्जा रहेको रिपोर्टले देखाएको छ । त्यसमा पनि बैंकको कर्जामा लिइएको धितो बिक्री गर्दा आउने रकमले ५९ प्रतिशत मात्र कभर हुने देखाएको छ ।

    अडिट रिपोर्टले बैंकमा भएको अनधिकृत कारोबार समेत फेला पारेको छ । रिपोर्टको ‘शंकास्पद वित्तीय अनियमितता’ खण्डमा लेखिएको छ– ‘बैंकमा १ अर्ब ५० करोड २२ लाख ६७ हजार रुपैयाँ बराबरको हिनामिना र अनधिकृत कारोबार भेटिएको छ ।’ जसले बैंकको वित्तीय अवस्थामा उल्लेख्य असर पारेको छ ।

    यति मात्र होइन, अन्तर–बैंक कारोबारमा पनि १ करोड रुपैयाँभन्दा बढीको गोलमाल देखिएको छ । बैंकका धेरैजसो वित्तीय अभिलेख र फाइलहरू नै गायब छन् । जसले गर्दा विगतका कारोबारको अझै सत्यतथ्य पत्ता लगाउन हम्मेहम्मे परेको छ ।

    शेयरधनीको पुँजीमा कैँची   

    डिडिए रिपोर्टले बैंकको ढुकुटी रित्तिएको मात्र देखाएन, वर्षौँदेखि मालिक बनेर बसेका शेयरधनीहरूको लगानी नै ‘कागजी’ र अवैधानिक भेटायो । राष्ट्र बैंकको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहेको व्यवस्थापन समूहले अन्ततः त्यही ‘फेक’ पुँजीमाथि निर्मम प्रहार गरेको छ ।

    दायित्व तिर्ने हैसियत गुमेपछि शेयरधनीहरुको शेयरपुँजीमा कैँची लगाइएको छ । राष्ट्र बैंकको व्यवस्थापन समूहले बैंकका संस्थापक शेयरधनी र साधारण शेयरधनीको शेयरपुँजी घटाउने निर्णय गरेको छ ।

    संस्थापक समूहका शेयरधनीका नाममा रहेका २१ लाख ३६ हजार कित्ता शेयर २१ हजार ३६० कित्ता मात्र कायम रहनेछन् । जसमा राजेन्द्र वीर राय, पशुपति दयाल मिश्र, सुनौलो इन्भेष्टमेन्ट लगायत छन् ।

    यस्तै १२ हजार ८८४ कित्ता शेयर भएका साधारण शेयरधनीको शेयर सङ्ख्या घटेर १२६ कित्ता मात्र रहने राष्ट्र बैंक व्यवस्थापन समूहले जनाएको छ ।

    यस बैंकको घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्र र सुपरिवेक्षणमा गएका नेपाल राष्ट्र बैंकका तत्कालीन कर्मचारी भुवन बस्नेतलगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध सवा तीन अर्ब रुपैयाँ बिगो दाबी गर्दै गरिएको मुद्दा उच्च अदालत तुलसीपुरमा विचाराधीन छ ।

    बैंक राष्ट्र बैंकको नियन्त्रणमा छ । प्राथमिकताको आधारमा निक्षेप भुक्तानी गरिरहँदा तरलता अभाव भएपछि निक्षेप भुक्तानी कार्य पनि स्थगित गरिएको छ । तरलता उपलब्ध भएपछि निक्षेप भुक्तानीको काम पुनः सुचारु गरिने नि.संयोजक विष्णु कुमार विश्वकर्माले जानकारी दिए ।

    मर्जरमा जानेदेखि पुँजी थप गर्न सुझाव

    बैंकको अस्तित्व नै संकटमा परेपछि अब मर्जरमा जानेदेखि पुँजी थप गर्न प्रतिवेदनले सुझाव दिएको छ । सुझावमा तत्काल सुधारका कदम चाल्न भनिएको छ ।

    पहिलो कदम कर्जा असुली रणनीति अपनाउन भनिएको छ । कानुनी कारबाही, धितो लिलामी÷बिक्री र पुनर्संरचना सम्झौताहरू मार्फत खराब कर्जाहरू असुल गर्न तत्काल कदम चाल्न आवश्यक छ ।

    पुँजी पुनर्संरचनामा शेयरधनीहरू, बाह्य लगानीकर्ताहरू वा वित्तीय संस्थाहरूबाट पुँजी थप गर्ने विकल्पहरूको खोजी गरिनुपर्ने, वित्तीय स्थायित्व पुनर्स्थापना गर्नका लागि लागत न्यूनीकरणका उपायहरू, सुदृढ आन्तरिक नियन्त्रण र सुधारिएको सुशासन संरचनाहरू अपरिहार्य रहेको सुझाव प्रतिवेदनमा उल्लेख छ ।

    सम्भावित राहतका उपायहरू, चरणबद्ध अनुपालन रणनीतिहरू र सम्भव भएसम्म नियामकीय छुटहरू खोज्नका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय तथा छलफल गर्न आवश्यक रहेको औँल्याइएको छ ।

    विद्यमान वित्तीय संकटलाई मध्यनजर गर्दै कुनै बलियो संस्थासँगको रणनीतिक मर्जर (गाभ्ने कार्य)लाई सक्रिय रूपमा विचार गर्न समेत सुझाएको छ ।

     

  • सम्भव होला १५ दिनभित्र दुर्गा प्रसाईं नेतृत्वको १० बुँदे कार्यान्वयन ?

    सम्भव होला १५ दिनभित्र दुर्गा प्रसाईं नेतृत्वको १० बुँदे कार्यान्वयन ?

    काठमाडौँ । शनिबार राति सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच सहमति भएपछि महाअभियानका आजदेखि हुने सबै आन्दोलन फिर्तासँगै सरकारसँग भएको सहमतिबारे पनि चासो शुरु भएको छ ।

    सरकारले महाअभियानका मागहरु पूरा गर्ने प्रतिवद्धतापछि नै आन्दोलन स्थगित हुँदा महाअभियानका मागहरुबारे पनि जानकार हुन जरुरी छ । यी मागहरु सरकारले पूरा गर्न सक्ला कि नसक्ला भन्ने विगतका सहमतिहरुबाट पनि नजिर बसेका छन् । सबै माग पूरा गर्ने भनेर सहमति गर्ने तर पछि पूरा भएन भनेर फेरि आन्दोलन हुने गरेका छन् ।

    यसपटक महाअभियानले नै सरकारसँग भएको सहमतिबारे खुलासा गरेपछि यो अरु चासोको विषय बनेको छ । किनभने सहमति कार्यान्वयनमा १५ दिने समयसीमा दिइएको छ र पूरा नभए अझ सशक्त आन्दोलन घोषणासहित वार्ता र सहमतिमा हस्ताक्षरकर्ता महाअभियानका सचिव प्रेमदीप लिम्बुले सहमतिका १० बुँदा सार्वजनिक गरेका छन् । उनले अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको बताएका छन् । उनले सार्वजनिक गरेका बुँदामा महाअभियानले उठाइरहेको मुद्दाकै विषय सम्बोधन भएको संकेतसँगै कार्यान्वयनमा नगए १५ दिनपछि नै आन्दोलन हुने बताएपछि सरकार पनि थप दबाबमा पर्ने देखिन्छ ।

    १० बुँदाः
    १, महाअभियानको तर्फबाट गत २६ गते सरकार समक्ष बुझाइएका २७ बुँदे माग पत्रको विषयमा सम्माननीय प्रधानमन्त्री, माननीय गृहमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकारहरू र अभियानका प्रतिनिधि बीचमा बुद्धगत रूपमा वृहत् छलफल भएको छ ।

    २, महाअभियानको तर्फबाट प्रस्तुत लघुबित्त र सहकारीमा भएको २० लाख रुपैयाँ भन्दा मुनिको ऋण मिनाहा गर्ने र सहकारी बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सन्दर्भमा सरकार, महाअभियान र सरोकारवाला निकाय र बचतकर्ताबीच संयन्त्र निर्माण गरी समस्या समाधान गर्ने ।

    ३, भूमिहीन, सुकुम्बासी र काठमाडौँ उपत्यकामा रहेका कवाडी व्यवसायीलाई दीर्घकालीन विकल्पसहित व्यवस्थापन गर्ने ।

    ४, महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँ ज्यूसँग सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीसहित वार्ता, संवाद, छलफल गरी तत्काल समाधान गर्न सकिने मागहरू तत्काल सम्बोधन गर्ने र राजनीतिक प्रकारका मागहरू राजनीतिक रूपमा सम्बोधन गर्ने ।

    ५, बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तबाट कालोसूचीमा परेका ठूला साना व्यवसायीलाई कालोसूचीबाट हटाउन नेपाल सरकार, महाअभियान र सरोकारवाला निकाय (राष्ट्र बैंक) बिच त्रिपक्षीय संयन्त्र निर्माण गरी समस्या समाधान गर्ने ।

    ६, जेन्जी विद्रोहपश्चात् पक्राउ परेका जेन्जी प्रदर्शनकारीहरूलाई रिहाइ गर्ने प्रक्रिया शुरु गर्ने ।

    ७, हिन्दू अधिराज्य, सङ्घीयता, राजसंस्थाका सन्दर्भमा जनमतसंग्रहको माध्यमबाट निर्णय लिन महाअभियानका संयोजक र सरकारको बीचमा हुने आगामी वार्तामा घनिभूत रूपमा छलफल गरी निर्णयमा पुग्ने ।

    ८, महाअभियानको तर्फबाट पूर्वघोषित आम हड्ताल तथा नेपाल बन्द जस्ता कार्यक्रमलाई तत्कालको लागि स्थगित गरी आन्दोलनको स्वरूप परिवर्तन गरी देशैभर जागरण सभा तथा खबरदारी सभा गर्ने ।

    ९, भूमिहीन, सुकुम्बासी, मजदुर, किसान, यातायात व्यवसायी, यातायात मजदुर लगायतका समस्यालाई सरकार समक्ष वार्ता संवाद गरी समस्याको दीर्घकालीन समाधानका लागि महाअभियानले नेतृत्व लिई वार्ता र संवाद मार्फत समस्याको समाधान गर्ने ।

    १०, माथिमा बुँदाहरूमा १५ दिन भित्र वार्ता, संवाद र छलफल मार्फत सरकार जिम्मेवारपूर्वक समाधान केन्द्रित नभए महाअभियानका तर्फबाट अझ सशक्त आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने ।

  • आज तीन नेताको पार्टी एकता हुँदै

    आज तीन नेताको पार्टी एकता हुँदै

    काठमाडौँ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वका पार्टी तथा घटकहरुले आज काठमाडौँमा एकता सभा गर्दैछन् ।

    भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहको एकता सभा हुन लागेको हो ।

    राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२ः३० बजे कार्यक्रम हुने र यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

    एकता घोषणापछि पार्टीमा थोरै समूहको अध्यक्ष परिषद् बनाइने भएको छ ।

    तीन पक्ष मिलेपछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुनेछ । पार्टी संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् भने माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छन् । पार्टीको चुनाव चिहृन आँखा हुने छ । दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

  • अवैध अण्डा आयात रोकिँदा किसानले पाए लागत मूल्य

    अवैध अण्डा आयात रोकिँदा किसानले पाए लागत मूल्य

    चितवन । अवैध अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाएका छन् । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको अण्डा रोकिएको छ । यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको हो ।

    किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ, ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।

    सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय सात दशमलब ८० रुपैयाँमा बिकेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो । कँडेलले भने, ‘नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो ।’ अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ दशमलब ५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उनले बताए ।

    नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताए । उनका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो । तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट पाँच सय ३० रुपैयाँ पुगेकामा क्रमशः चार सय रुपैयाँमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

  • हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

    हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

    काठमाडौँ । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेबल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ ।

    हाल २१ पुल निर्माणको चरणमा छन् । पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन् । आयोजनाअन्तर्गतका सडक कालोपत्रको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिनसकेको छैन । स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाले जनाएको छ ।

    निर्माणको क्रममा रहेका पुललाई शिघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्न निर्देशन दिएका छन् ।

    शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले ठेक्का सम्झौता भएको १४ बर्ष पुग्दासमेत पुल मिर्नाण हुन नसकेको, पुन नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएका थियो । सोही क्रममा उनले हुलाकी सडकतर्फका सडक तथा पुल निर्माणको प्रगतिका बारेमा चासो राख्दै शीघ्र कार्यान्वयन गर्न आवश्यक निर्देशन दिएका छन् । ठेक्का व्यवस्थापन गर्नुपर्नेलाई तत्काल प्रक्रिया अगाडि बढाउन र निर्मााणका क्रममा रहेका पुललाई शीघ्र निर्माण गर्न मन्त्रालयले आवश्यक तदारुकता देखाएको छ ।

    हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ । खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पुर्याउन सकिने आयोजनाले जनाएको छ ।

    योजना कार्यालयअन्तर्गत पूर्वपश्चिम तथा उत्तरदक्षिण गरी चार सय तीन दशमलव ६८ किलोमिटर सडक रहेको छ । त्यसमा दुई सय ९९ दशमलव ८० किलोमिटर नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने एक सय तीन दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदान रहेको छ । हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

    सिरहाको बलान कमला सडक (२९ दशमलव ९८ किलोमिटर) कालोपत्र भइसकेको छ । सिरहाको जम्दह लगडी गडियानी (२७ दशमलव ४६ किलोमिटर) सडक भने कालोपत्र हुनसकेको छैन ।

    धनुषाको कदमचौक कपतौल तीनकौरिया (३० दशमलव ५८ किलोमिटर) मध्ये २४ किलोमिटर कालोपत्र भएको छ । धनुषाकै यदुकुहा खजुरी महुवा सडक १० किलोमिटरमध्ये छ किलोमिटर कालोपत्र भएको छ । धनुषा र महोत्तरीको जनकपुर बसबिटी हर्दी पोखरी भिण्डा सङ्ग्रामपुर सडकको २० किलोमिटरमध्ये १८ किलोमिटर कालोपत्र भएको छ ।

    सर्लाहीको एमआरएम बाँके सङ्ग्रामपुर सडकको (२२ दशमलव ४८ किलोमिटर) मध्ये २० दशमलव ७७ किलोमिटर कालोपत्र भएको छ । सोही जिल्लाको फुलजोर त्रिभुवननगर २३ दशमलव दुई किलोमिटर पूरै कालोपत्र भएको छ । सर्लाहीकै सितलपुर मलङ्गवा खरैइयाटोल (पूर्वपश्चिम हुलाकी) सडकको (४० दशमलव ३७ किलोमिटर) मध्ये ३८ किलोमिटर कालोपत्र भएको छ ।

    सर्लाहीको नवलपुर–मलङ्गवा सडकको (२६ दशमलव ५९ किलोमिटर) नै कालोपत्र भएको छ । सोही जिल्लाको नयाँरोड–बरहथवा–मधुवनीको ४० दशमलव ५८ किलोमिटर नै कालोपत्र भएको छ । जिल्लाको गोडैता–महिनाथपुर–माधोपुर–जयनगर हनैर्या खण्डको १० किलोमिटर नै कालोपत्र हुन बाँकी रहेको छ ।

    भारतीय अनुदानतर्फको धनुषा खण्डको वीरेन्द्रबजार–यदुकुहा–महिनाथपुर सडकको (३२ दशमलव ३१ किलोमिटर)मध्ये ३१ किलोमिटर कालोपत्र भएको छ । जनकपुर–यदुकुहा सडकको (१६ दशमलव ६३ किलोमिटर) मध्ये १२ किलोमिटर कालोपत्र भएको छ । माईस्थान–गौशला सम्सी सडकको (२६ दशमलव ९४ किलोमिटर)मध्ये २६ किलोमिटर कालोपत्र भएको आयोजनाले जनाएको छ ।

    यस्तै जलेश्वर–हर्दी सडकको २८ किलोमिटर नै कालोपत्र भएको छ । आयोजनाका लागि चालु आवको असोज मसान्तसम्म सात करोड नौ लाख रुपैयाँ बराबर खर्च भएको छ । हुलाकी सडक तथा पुल निर्माणका लागि ५९ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जग्गा खरिद, सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भएकामा एक करोड तीन लाख ९० हजार रुपैयाँ खर्च भएको छ।

  • ६ दिनमै जनजीवन आतंकित पार्ने विपद्का घटना, आगलागी अत्यधिक, सावधानी अपनाउन अपिल

    ६ दिनमै जनजीवन आतंकित पार्ने विपद्का घटना, आगलागी अत्यधिक, सावधानी अपनाउन अपिल

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का घटना बढेको र यसमा आगलागी अत्यधिक देखिएकाले सावधानी अपनाउन आग्रह गरेको छ । दैनिक पिवद्का घटना बढिरहदा सावधानी अपनाउनु जरुरी देखिएको बताइएको छ ।

    मंसिर ६ गते
    शनिबार मात्रै देशभर विपद्का १८ घटना भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । १८ घटनामा आगलागीका मात्र १५ घटना भएका छन् । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना भएकाले थप सावधानी अपनाउनु पर्ने देखिएको छ ।

    मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो । मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो । विपद्का कारण दुई जना घाइते भए भने अनुमानित क्षति ५३ लाख सात हजार ५ सय ५० रुपैयाँ बराबर भएको छ ।

    मंसिर ५
    त्यसैगरी, मङ्सिर ५ गते पनि देशभर १९ वटा विपद्का घटना हुँदा १५ वटा आगलागीका थिए । त्यस दिन सुनसरी र पर्सामा दुई–दुईवटा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासीपूर्व र पाल्पामा आगलागी हुँदा भौतिक सम्पत्तिको क्षति भयो ।

    त्यस दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएकालाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइयो ।

    मंसिर ४
    प्राधिकरणका अनुसार मङ्सिर ४ गते देशभर २० विपद्का घटना हुँदा आगलागीका मात्र १३ वटा थिए । एकैदिन रुपन्देही र कास्कीमा तीन–तीनवटा आगलागीका घटना भए । झापमा दुई, मोरङ, सुनसरी, सिरहा, बारा, दाङमा आगलागीका कारण भौतिक क्षति भयो । विपद्का घटनामा परेर त्यस दिन ११ जना घाइते हुँदा अनुमानित क्षति १३ लाख ६५ हजार रुपैयाँ बराबर भयो । त्यस दिन जनावर आक्रमणका पाँच घटना भए । झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका घटना घटेका थिए ।

    मंसिर ३
    मङ्सिर ३ गते देशव्यापी रूपमा १६ विपद्का घटना घटेका थिए । त्यसमा आगलागीका मात्रै १२ घटना थिए । लेक लाग्ने तीन र जनावर आक्रमणका एक घटना घटेका थिए । विपद्का कारण दुई करोड ७६ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    मंसिर २
    प्राधिकरणको विवरण अनुसार मङ्सिर २ गते कुल १७ विपद्का घटना हुँदा आगलागीका १३ घटना भए । कञ्चनपुर, सुनसरीमा मात्रै दुई दुईवटा आगलागीका घटना भए । त्यस दिन झापा, उदयपुर, सप्तरी, सिरहा, तनहुँ, नवलपरासीपूर्व, रुपन्देही र अछाममा आगलागी भएको थियो । लेक लाग्नु, सर्पदंश, जनावर आक्रमणका एक–एक घटना भएका थिए । त्यस दिन विपद्मा परेर पाँच जना घाइते भए भने ३१ लाख १४ हजारबराबरको भौतिक क्षति भयो ।

    मंसिर १
    मङ्सिर १ गते कुल १० विपद्का घटना घटेकामा सबै आगलागीका थिए । आगलागीमा परेर दुई जना घाइते भए भने १४ लाख ९३ हजार रपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । प्राधिकरणको यो विवरणअनुसार कतिपय आगजनी असावधानीका कारण भएको छभने कतिपय अवस्थामा विद्युत् सर्ट भएको छ ।

    जनचेतनाको अभाव एवम् लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुनपुगेको छ । प्राधिकरणले आगो बाल्दा र ज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । सामान्य सावधानी अपनाउँदा पनि ठूलो मेहेनतले सृजना गरेको भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।

  • रामजानकी विवाह महोत्सवमा ‘मटकोर’को तयारी

    रामजानकी विवाह महोत्सवमा ‘मटकोर’को तयारी

    काठमाडौँ । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ । जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार शुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो । यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मङ्गलबार परेको छभने ‘मटकोर’ एक दिन पहिले सोमबार सम्पन्न गरिनेछ । सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन् ।

    मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ । त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

    ‘मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौँ,’ डा वैष्णव भन्छन्, ‘यसमा मटिहानी नगरवासी र नेपाल–भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।’ मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ । माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ ।

    भूमि पूजनको भाव भने पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् । यसरी खनेर ल्याइएको माटोले विवाह मण्डप, वेदी, चुल्हो बनाउनसँगै देवदेवीस्थल लिपपोत गरिन्छ । मिथिलामा यी सबै विधिमा माङ्गलिक गीत गाइन्छन् । त्रेतायुगमा श्रीराम र सीताजीको विवाहमा हालको मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउबाट यज्ञवेदी बनाइन माटो खनिएको विश्वास गरिन्छ ।

    मटिहानीमा ‘मटकोर’ उत्सवसँगै विवाह उत्सवमा सरिक हुन आउने भारतीय साधुसन्तको स्वागत, भोजन र आवास प्रबन्ध गरिन्छ । यहाँ भोलिपल्टको जनकपुरमा सम्पन्न हुने विवाह महोत्सवमा सरिक हुन भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्त मटिहानी बस्ने पुरानो चलन छ ।

    श्रीराम र सीताका बीच विवाह भएको सम्झनामा मनाइने यो महोत्सवमा पहिलो दिन ‘नगर दर्शन’ उत्सवको परम्परा छ । यो उत्सव श्रीराम, गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आइपुगेको सम्झनामा मनाइने गरिएको हो । यस दिन श्रीराम र लक्ष्मणले राजा जनकको दरबार परिसर र जनकपुर नगर अवलोकन गर्नुभएको सम्झनामा प्रतीकात्मक रूपमा मनाइन्छ । यस क्रममा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्रको भूमिकामा सजिएका पात्रहरूलाई राजा जनकका भारदारहरूले नगरको अवलोकन गराउँछन् ।

    महोत्सव शुरु भएसँगै सम्पूर्ण मिथिलाक्षेत्र उत्सवमय बन्दछ । खासगरी अयोध्या र भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको नेपाल प्रवेशद्वार महोत्तरीको जलेश्वरको भिठ्ठामोर र मटिहानी हुने हुँदा यहाँ यसको तयारी विशेष रूपमा गरिन्छ । भारततिरबाट महोत्सवका लागि साधुसन्त आउने क्रम मङ्सिर शुक्लपक्षको प्रारम्भसँगै शुरु भए पनि अधिकांश विवाहपञ्चमीको एक दिनअघि आउने चलन छ ।

    भारतबाट आउने साधुसन्त विवाहको एक दिनअघि मटिहानी बास बसेर भोलिपल्ट अर्थात् विवाहपञ्चमीका दिन जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन गर्दै महोत्तरीकै पिपरामा दिवा भोजन र केहीबेरको विश्राम गरेर जनकपुर रङ्गभूमिमा आयोजना हुने स्वयम्वर र रामजानकी विवाहमण्डपमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन पुग्ने गर्छन् ।

    रामजानकी विवाहको साताव्यापी महोत्सवमा पहिलो दिन जनकपुरमा नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन स्वयम्वर तथा विवाह र अन्तिम सातौँ दिन रामकलेवा विधिको परम्परा छ ।

    यी उत्सवको पहिलो दिन नगर दर्शनमा श्रीराम, लक्ष्मण र गुरु विश्वामित्र जनकपुर आइपुग्नु भएर उनहरूलाई नगर अवलोकन गराइएको, दोस्रो दिन फूलबारी लीलामा सीताजी फूल टिप्न सखीहरूका साथ फूलबारी पुग्दा श्रीरामसँग आमनेसामने देखादेख भएको, तेस्रो दिन धनुष यज्ञमा श्रीरामले शिवजीको धनुष भङ्ग गर्नुभएको, चौथो दिन श्रीरामले धनुष भाँचेपछि सीतासँग विवाहको टुङ्गो गरेर अठोट लागेपछि कन्यापक्षले वरपूजन गर्ने परम्पराको तीलकोत्सव प्रतीकात्मक रूपमा मनाइन्छ । त्यसैगरी, पाँचौँ दिनको स्वयम्वर तथा विवाहमा रङ्गभूमि मैदानमा स्वयम्वर र विवाह मण्डपमा विवाह विधि र सातौँ दिन अयोध्याका जन्ती बिदाइको ‘रामकलेवा’ विधि प्रतीकात्मक रूपमा सम्पन्न गरिन्छन् ।

    रामजानकी विवाह महोत्सवको मेला हेर्न सम्पूर्ण मिथिलाक्षेत्रमै केही दिन पहिलेदेखि तयारी गरिन्छ । यो सांस्कृतिक महोत्सव मिथिलाको विशिष्ट परम्परा रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण कर्ण बताउँछन् ।

  • दुर्गा प्रसाईं समूहसँग सहमति, अनिश्चितकालीन आमहड्ताल फिर्ता

    दुर्गा प्रसाईं समूहसँग सहमति, अनिश्चितकालीन आमहड्ताल फिर्ता

    काठमाडौं । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका प्रतिनिधिबिच बालुवाटारमा वार्ता भएको छ ।

    वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको छ।

    छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

    महाअभियानले २०८२ मङ्सिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको छ।

    वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ सहभागी थिए ।

    सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो।

    अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।

  • एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित

    एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

    विराटनगरले शनिबार भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित ग¥यो । विराटनगर किंग्सले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

    विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । लोकेश बलमे १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ र नरेन भट्टले २४ रनको योगदान दिए । शुभम रञ्जाने ६ र कप्तान सन्दीप लामिछाने ९ रनमा अविजित रहे । बलिङमा काठमाण्डुका शाहव आलमले २, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए ।

    उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे । वेन चाल्र्सवर्थले ३२, रिकार्डो वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेह्राड एरामसले १०, सन्तोष यादवले २६ रन बनाएर आउट भए । जोन सिम्पसन ७ रनमा अविजित रहे । बलिङमा विराटनगरका मार्चेन्ट डि लिङगेले २, शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

    पहिलो खेलमा विराटनगरल पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाण्डुले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

  • राजेन्द्र श्रेष्ठलाई प्रश्न- नेकपासँग एकता गर्ने तपाईँको सहमतिले पार्टी विभाजनतिर गएको हो ?

    राजेन्द्र श्रेष्ठलाई प्रश्न- नेकपासँग एकता गर्ने तपाईँको सहमतिले पार्टी विभाजनतिर गएको हो ?

    काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीसँग एकताको लागि वार्ता समितिको तर्फबाट ड्राफ्ट तयार पारिसकेको बताएका छन्।

    नेपाल प्रेससँग कुरा गर्दै आफूहरू सहमति गरेको भएपनि केन्द्रीय कार्यकारिणी समिति बैठक नराखेको कारणले अनुमोदन गराउन नपाएको बताए।

    उनले भने, ‘पार्टीको निर्णय अनुसार हामीले नेकपासँग कुरा गरेका हौँ। दुवै पक्षले दस्ताबेजहरू अध्ययन गरेर मिल्ने र नमिल्ने बिन्दुहरू छुट्यौँ। नमिलेका कुराहरूमा पनि वार्ता समितिको तर्फबाट छलफल गरेर टुङ्गाएको छौँ। हामीले बाँकी कुरा कार्यकारिणी समिति बैठकमा राखेर टुङ्ग्याउने भन्ने कुरा भएको हो। तर ५ दिनदेखि बैठक स्थगित गरेर राखिएको छैन। बैठक नराखेकै कारणले हामीले गरेको सहमति प्रस्तुत गर्न पाएका छैनौँ। कार्यदल समझदारी गरेर ड्राफ्ट तयार गरेका छौँ।’

    उनले आफूहरूले केन्द्रीय कार्यकारिणी समितिमा राखेर अनुमोदन गराउन चाहेको बताए। उनले थपे, ‘बैठक नराखेको कारणले अहिले पारित गर्न सकेका छैनौँ। हामीले बैठक राख्न भनिरहेका छौँ।’

    भनेपछि तपाईँहरूको पार्टी पनि विभाजनतिर जान लागेको भन्ने जिज्ञासामा उनले थपे, ‘अहिले नेपाली समाज ध्रुवीकृत भएको छ। राजनीति पनि त्यतै गइरहेको छ। सबै पार्टीभित्र ध्रुवीकृत भइसकेको छ। त्यसैले आफ्नो विचार अनुसार अगाडि बढ्न स्वाभाविक हो।’

    अध्यक्ष र महासचिव नगएपनि तपाईँको टिम नेकपासँग एकताबारे उनले थपे, ‘अहिले हामी त्यसमा प्रवेश गरेका छैनौँ। कार्यकारिणी समिति बैठक डाकियोस् भन्ने हाम्रो कुरा हो। वार्ताको रिपोर्ट लिनुपर्‍यो। पहिला बैठक डाक्नुपर्‍यो भन्ने हाम्रो माग हो।’

  • एमालेलक्षित गगनको टिप्पणी- जबरजस्ती देशमा उत्तेजना फैलाउने कामको नेतृत्व गर्दैछ

    एमालेलक्षित गगनको टिप्पणी- जबरजस्ती देशमा उत्तेजना फैलाउने कामको नेतृत्व गर्दैछ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै उत्तेजनाको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए।

    उनले भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, थप कतै प्रतिशोध र निषेधको भाव फैल्याउने काम भएको छ। देशलाई थप हिंसातर्फ लिएर जाने प्रवृत्तिहरू देखा परेका छन्। यस्ता गतिविधि जुन दल र समूहबाट भएपनि यो गलत छ भन्ने हाम्रो ठहर छ। हामी यसको विरुद्धमा हामी उभिन्छौँ।’

    उनले एमालेलाई लक्षित गर्दै कुनै घृणा र उत्तेजनताको भाषा प्रयोग नगर्न आग्रह गरे। राजनीतिक दलहरूले आफ्नो गतिविधि गर्न कुनै अवरोध हुन नहुने समेत बताए।

  • एनपीएल–२ः आदिलको आक्रामक ब्याटिङमा काठमाण्डुले दियो १३५ रनको लक्ष्य

    एनपीएल–२ः आदिलको आक्रामक ब्याटिङमा काठमाण्डुले दियो १३५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले विराटनगर किंग्ससामु १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनायो ।

    काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे । वेन चाल्र्सवर्थले ३२, रिकार्डाे वेस्कोन्सेलोसले ३, प्रतिक श्रेष्ठले २, गेर्हार्ड इरासमुसले १०, सन्तोष यादवले २६ रन बनाएर आउट भए । जोन सिम्पसन ७ रनमा अविजित रहे ।

    बलिङमा विराटनगरका मार्चेन्ट डि लिङगेले २, शुभम रञ्जाने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

  • कांग्रेस चुनावप्रति दृढ, सुरक्षाप्रति सशंकित (निर्णयसहित)

    कांग्रेस चुनावप्रति दृढ, सुरक्षाप्रति सशंकित (निर्णयसहित)

    काठमाडौं । नेपाली कांग्रेसले विद्यमान शान्ति-सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। असोज २८ गतेदेखि जारी बैठकले आज ५ बुँदे निर्णय गरेको हो।

    बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन ।’

    लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न नसकिने कांग्रेसको निष्कर्ष छ।

    निर्णयमा भनिएको छ, ‘अतः अहिले उत्तेजना होइन, संयम; निषेध होइन, संवाद; अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आव्हान गर्दछ ।’

    नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आव्हानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी भएको उल्लेख छ।

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको उल्लेख छ। निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न समेत माग गरेको छ।

    जेनजी प्रदर्शन मार्फत् परिवर्तनका लागि मुखरित आवाजको सम्वोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ।

  • प्रभु साहको आरोप : ओली-कार्कीले मुलुकलाई नियन्त्रित अस्थिरतामा फसाए

    प्रभु साहको आरोप : ओली-कार्कीले मुलुकलाई नियन्त्रित अस्थिरतामा फसाए

    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई योजनाबद्ध रूपमा नियन्त्रित अस्थिरतातिर धकेलेको आरोप लगाएका छन्।

    शनिबार सिन्धुपाल्चोकको चौतारामा सम्पन्न आजपा जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जेन-जी आन्दोलनका मर्म, भावना र उद्देश्यमा दुवै नेतृत्वले प्रहार गरेको दाबी गरे।

    शाहाले भने,‘जेन–जी आन्दोलन युवाको थियो, तर सुशीला, अर्याल र कुलमानले हाईज्याक गरे’। साहले भदौ २३ गतेको जेन–जी आन्दोलन वास्तविक जनआक्रोश हो भन्ने स्वीकार्दै थपे। आन्दोलन सही थियो, तर त्यसलाई कसले अपहरण गर्‍यो ? सुशीला कार्की, ओमप्रकाश अर्याल र कुलमान घिसिङले।”

    उनका अनुसार २४ भदौमा सुशीला कार्की, कुलमान र अर्यालको आकस्मिक र सक्रिय सडक उपस्थितिले नै आन्दोलनको नेतृत्व युवाहरूबाट अपहरण भएको दाबी गरे । ‘गृहमन्त्री लुते भएका कारण अराजकता फैलिएको हो।’

    पूर्वमन्त्री शाहाले वर्तमान सरकारका गृहमन्त्री लुते भएकाले एमाले लगायतका पार्टीहरुले अराजक गतिविधि गरिरहेको आरोप लगाए । शाहाले

    भने–“लुते गृहमन्त्री भएकोले एमालेका हिंसात्मक क्रियाकलाप नियन्त्रण हुन सकेको छैन।” उनले लुटिएका हतियार नियन्त्रण, फरारबन्दी समात्न नसक्नु, जेन–जी आन्दोलनमा दमन गर्नेलाई बयान लिन नसक्नु जस्ता कमजोरीले गृहमन्त्रीको राजीनामा मागिनु जायज भएको बताए।

    “रवि लामिछानेलाई सिंहदरबारमा बोलाएर बयान लिन सक्ने सरकारले भदौ २३ को दमन–हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई किन बयान लिन सकेन ?” भन्दै प्रश्न समेत गरेका छन् ।

    वर्तमान सरकारकार मन्त्री कुलमान घिसिङप्रति पनि शाह खनिए उनले भने‘निर्दलीय सरकारमै बसेर दल खोल्ने कुलमानको उद्देश्य के ?’ साहले कुलमान घिसिङले निर्दलीय सरकारमै बसेर नयाँ दल बनाएकोप्रति पनि प्रश्न उठाए । “राजनीति कै लागि दल खोल्ने हो भने जेन–जी आन्दोलनअघि किन नखोलेको ? अहिले किन खोलेको भन्दै प्रश्न गरे । उनले दल खोल्ने प्रवृत्ति चुनावी फेशन जस्तै भएको र यस्तो प्रवृत्तिले देशलाई केही नदिने आरोप लगाए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले दिनदिनै नाटक गरिरहेका शाहको आरोप थियो उनले भने ओलीले अहिले सडकमा नाटक गरिरहेका छन् अब पार्टीबाट पनि पछारिने डर’ ओलीलाई छ । एमाले अध्यक्ष केपी ओलीको हालको गतिविधि ‘तमासा’ भएको उल्लेख गर्दै साहले भने राज्यसत्ताबाट पछारिएका ओली अब पार्टी सत्ताबाट पनि हटाइने भयले दिनदिनै नाटक गर्न व्यस्त छन्।” उनले ओलीको दमनकारी भूमिकाले देश मुठभेडतिर धकेलिएको आरोप लगाए ।

    आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा आजपा सह अध्यक्ष एवं संविधान सभाका सभाषद तिलक थापामगर, बागमती प्रदेशका इन्चार्ज धनकुमारी मगर, वाग्मती प्रदेश अध्यक्ष पसाङ तामाङ, सचिवालय सदस्यहरु सुभाष साह, रन्जु साह, सिमा जैसवाल, बिन्दा कटुवाल, अन्जना तामाङ, सुनिता तामाङ, सुमन गुरुङ, कोशिला देवी साह लगायतको विशेष सहभागिता रहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

  • सुदन गुरुङले सिमरास्थित आफ्नो घरमा गएर धाकधम्की र ज्यानमाथि दागा धरेको किसान श्रेष्ठको आरोप

    सुदन गुरुङले सिमरास्थित आफ्नो घरमा गएर धाकधम्की र ज्यानमाथि दागा धरेको किसान श्रेष्ठको आरोप

    सिमरा । जेन–जी अगुवा सुधन गुरुङसहितका व्यक्तिले आफ्नो घर फेरि जलाउने धम्की दिएकोप्रति विघठित प्रतिनिधिसभाका सदस्य तथा एमाले नेता किसान श्रेष्ठले आपत्ति जनाएका छन् ।

    आफू पार्टी कामका सिलसिलामा काठमाडौंमा रहेको बेला शनिबार सिमरा, औराहास्थित उनको घरमै पुगेर पुनःनिर्माणमा सरिक कामदारलाई गुरुङले धम्क्याएको आरोप श्रेष्ठले लगाएका छन् ।

    विज्ञप्ति जारी गर्दै श्रेष्ठले भनेका छन्, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनःनिर्माण गर्ने मेरा कर्मचारी, कामदार लाई धम्क्याउने र घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोरभर्त्सना गर्दछु ।’

    एमाले नेता श्रेष्ठले जेन-जीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । उनले ३ र ४ गते सिमरामा भएको प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

  • एनपीएल-२: विराटनगरले काठमाण्डुविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

    एनपीएल-२: विराटनगरले काठमाण्डुविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रीकेट मैदानमा काठमाण्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

  • अब मंसिरभित्रै विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा

    अब मंसिरभित्रै विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन हुने दाबी गरेका छन्।

    सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको कार्यसमितिको म्याद थप नहुने बताए।

    उनले भने, ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ। केही साथीहरू सकिँदैन भन्नुहुन्छ। त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो। मंसिरको २७/२८ गते जुन दिन उपयुक्त हुन्छ विशेष महाधिवेशन गर्ने। र नयाँ नेतृत्व ल्याउने। विशेष महाधिवेशन नै निर्विकल्प हो।’

    उनले पुसभित्रमा नियमित पनि नगर्ने विशेष महाधिवेशनमा नजाने भन्ने कुरा स्वीकार्य नहुने बताए।

  • चुनावमा भाग लिने कांग्रेसको निर्णय

    चुनावमा भाग लिने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए।

    महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए।

  • प्रधानमन्त्रीप्रति ओलीको आक्रोश- तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्

    प्रधानमन्त्रीप्रति ओलीको आक्रोश- तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेका छन्।

    भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकारलाई जनताले नछानेको भएकाले हट्न तयार रहने चुनौती दिए।

    उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउने? तपाईँसँग चुनाव गराउनु कुनै अधिकार छैन। तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र।’

    उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए। उनले संसद् पुनर्स्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए।

  • भ्रष्टाचारविरुद्ध हामी लडिरहेका थियौँ, जेनजीको नाममा युवाहरूलाई भ्रममा पारियो : ओली

    भ्रष्टाचारविरुद्ध हामी लडिरहेका थियौँ, जेनजीको नाममा युवाहरूलाई भ्रममा पारियो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिनेको दाबी गरेका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकार गठनबारे सर्वोच्च अदालतले उचित फैसला गर्ने विश्वास व्यक्त गरे।

    तोडफोड, आगजनी र लुटपाटबाट यो सरकार बनेको भन्दै जनताको समर्थन नरहेको दाबी गरे। आफूहरूले देशमा भ्रष्टाचार अन्त्य गर्नको लागि काम गरिरहेको जिकिर गरे।

    उनले भने, ‘जेनजीको नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो। भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ। सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ। हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ।’

    उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा दुरुपयोग गरेर आन्दोलनमा उकासेको बताए। जेनजीको माग सबै कब्जा गरेर षड्यन्त्र गरेरै राज्यका संरचना, नेता कार्यकर्ताहरूको घर जलाइएको दाबी गरे।

  • तस्बिरमा हेर्नुस्- काठमाडौंमा एमालेको बागमती प्रदेशस्तरीय शक्ति प्रदर्शन

    तस्बिरमा हेर्नुस्- काठमाडौंमा एमालेको बागमती प्रदेशस्तरीय शक्ति प्रदर्शन

    काठमाडौं । भदौ २३ र २४ गतेको घटनालाई प्रतिक्रान्ति र त्यसपछिको संसद विघटनलाई प्रतिगमन भनेको नेकपा एमालेले शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ । त्यसअघि एमालेले रत्नपार्कलगायतका ठाउँका दशौं हजारको जुलुस निकालेका थियो ।

    बागमती प्रदेशका उपत्यका वरिपरिका जिल्लाबाट समेत एमालेका कार्यकर्ता सहभागी प्रदर्शन व्यवस्थित र भव्य थियो ।

    विरोध प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गरेका छन् । सभाको सञ्चालन एमालेका बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालले गरेका थिए ।

    एमालेको विरोध सभा र प्रदर्शनका केही प्रतिनिधिमूलक तस्बिर

  • मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा धेरै जनता सहभागी भएको सभा गर्दैछाैँ : शंकर पोखरेल

    मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा धेरै जनता सहभागी भएको सभा गर्दैछाैँ : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा प्रतिगमन भएको भन्दै एमालेले लोकतन्त्रको दिशामा अघि बढाउने बताएका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै जेनजी विद्रोहपछि भएको परिवर्तन जनताको नभएको दाबी गरे।

    उनले भने, ‘भदौ २३ र २४ गते जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मान्छे एमालेको एकल आह्वानमा सडकमा आइरहेका छन्। यो परिवर्तन जनताको परिवर्तन होइन। यो आतङ्क र हिंसाबाट गरिएको परिवर्तन हो।’

    उनले संविधानलाई क्रियाशील बनाउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताए। विध्वंसको जगमा खडा भएको सरकारले चुनाव गराउन नसक्ने बताए। उनले मंसिर २७ गते महाधिवेशन उद्घाटनमा भव्य बनाउने तयारी भइरहेको बताए।

    उनले भने, ‘महाधिवेशन उद्घाटन समारोह नेपालको इतिहासमै सबैभन्दा धेरै जनताको जमघट भएको समारोहका रूपमा देखाउन चाहन्छौँ।’

  • एनपीएल-२ : मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित

    एनपीएल-२ : मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको छ । लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

    कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे । ४४ बलमा वाटले ६ चौका र १२ छक्कासहित ११४ रनमा अविजित रहे । उनी एनपीएल-२ मा पहिलो शतक प्रहार गर्ने टोली बनेका छन् । प्रियांकन पञ्चाल १२ रनमा आउट हुँदा विल्लियम वोसिष्टो २९ रनमा अविजित रहे । लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बलमा २ छक्का र ४ चौका प्रहार गरे । रुवेन ट्रम्पलमनले आक्रमक फिनिसिङ गरे । उनी १४ बलमा २९ रन बनाएर अविजित रहे ।

    डार्सी सर्ट १९, सन्दीप जोरा १, दिलिप नाथ ६, गुल्बदिन नइव ७, सुमित महर्जन ४ र समीर अलि १ रनमा आउट भए । शेर मल्ल ७ रनमा अविजित रहे । बलिङमा कर्णलीका नन्दन यादवले २, गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले एकएक विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाण्डु गोर्खाजबिच हुनेछ ।

  • चुनावमा भाग लिने निर्णय गर्ने कांग्रेसको तयारी, महाधिवेशनको मितिमा अझै मिलेन कुरा

    चुनावमा भाग लिने निर्णय गर्ने कांग्रेसको तयारी, महाधिवेशनको मितिमा अझै मिलेन कुरा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आज चुनावमा भाग लिने निर्णय गर्ने तयारी गरेको छ। असोज २८ गतेदेखि जारी बैठकले आज निर्वाचनमा भाग लिने निर्णय गर्न लागेको हो।

    केन्द्रीय समिति बैठक केहिबेरमा पार्टी कार्यालय सानेपामा बस्दै छ। बैठकअघि शीर्ष नेताहरूले आन्तरिक छलफल गरिरहेका छन्।

    कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद हुँदा बैठक अनिर्णयको बन्दी बन्दै आइरहेको थियो। आजको बैठकमा चुनावबारे निर्णय गरे पनि महाधिवेशनबारे अहिलेसम्म कुनै सहमति नबनेको एक नेताले बताए।

    माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगले भोलिसम्मको मिति तोकेकाले आज बाध्य भएर निर्णय गर्न लागेको हो। फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनको लागि आयोगले १० गतेभित्र दल दर्ता गर्न भनेको छ।

    निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनमा कुनै सहमति बन्न सकेको छैन। पुसभित्रमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरिएको भए पनि सहमति बन्न सकेको छैन।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षका नेताहरू अब नियमित महाधिवेशन सम्भव नभएको भन्दै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

  • संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

    संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

    काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो।

    जनसभा भृकुटी मण्डप हुँदै छ। सभाअघि मार्गमा जम्मा भएर र्‍याली निकालेको छ।
    प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुँदै छ। र्‍यालीमा एमालेका शीर्ष नेताहरू सहभागी छन्।

    जनसभामा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ।

    प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउने निर्णय गरेको एमालेले आज काठमाडौंको सडकमा शक्ति देखाएको हो।

  • एनपीएल-२ः लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

    एनपीएल-२ः लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बलमा २ छक्का र ४ चौका प्रहार गरे । रुवेन ट्रम्पलमनले आक्रमक फिनिसिङ गरे ।

    उनी १४ बलमा २९ रन बनाएर अविजित रहे । डार्सी सर्ट १९, सन्दीप जोरा १, दिलिप नाथ ६, गुल्बदिन नइव ७, सुमित महर्जन ४ र समीर अलि १ रनमा आउट भए । शेर मल्ल ७ रनमा अविजित रहे । बलिङमा कर्णलीका नन्दन यादवले २, गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले एकएक विकेट लिए ।

  • रावलले सम्हाले नेकपाको सुदूरपश्चिम कमाण्ड, मंसिर १२ लाई चन्दादेखि लेबीसम्मको यस्तो छ योजना

    रावलले सम्हाले नेकपाको सुदूरपश्चिम कमाण्ड, मंसिर १२ लाई चन्दादेखि लेबीसम्मको यस्तो छ योजना

    कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आगामी मङ्सिर १२ गते कैलालीको धनगढीमा आयोजना गर्ने पार्टी एकता सन्देश सभाबारे भीम रावलले कार्य योजनाको खाका प्रस्तुत गरेका छन् ।

    शनिवार बिहान धनगढीस्थित कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा अगुवा नेता तथा कार्यकर्ताको उपस्थितिमा विशेष निर्देशनको रूपमा प्रस्तुत गरिएको उक्त खाकामा चन्दा सङ्कलन गर्नेदेखि लेबी उठाउनेसम्मको निर्देशन जारी गरिएको छ ।

    माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलहरू मिलेर बनेको नेकपामा रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि मिसिएको थियो । एकतापछि पहिलो पटक धनगढीमा आयोजित छलफलमा उनले सन्देश सभा सफल बनाउन निर्देशन जारी गरे।

    ‘अब मोबाइल रेकर्ड बन्द गरिदिनुहोस्, पत्रकार साथीहरू पनि बाहिरै बसिदिनुहोस्’ पार्टी भित्रको आन्तरिक विषय उल्लेख गर्न थालेको भन्दै सबैलाई सुरुमै रावलले निर्देशन दिए । त्यसपछि नेपाली कम्युनिस्ट पार्टीको विशेष निर्देशन १ को मस्यौदा प्रस्तुत गरे ।

    जिल्ला कमिटीहरूले प्रदेशबाट निम्न बमोजिम तोकिएको लेबी मङ्सिर ११ गतेभित्र प्रदेशमा तोकिएको व्यक्तिलाई बुझाउन उनले निर्देशन दिए ।

    ‘सङ्क्रमण कालमा छौँ । प्रदेशको एउटा स्थायी स्रोत छैन ’ उनले भनेका थिए ‘लेबी थोरै तोकिएको छ सबैले मङ्सिर ११ भित्र बुझाउनु होला ।’

    रावलले कैलाली र कञ्चनपुर जिल्लालाई १/१ लाख लेबी सुनाए ।

    अछामलाई ३५ हजार, डडेल्धुरालाई २० हजार, डोटीलाई २५ हजार दार्चुला लाई २० हजार , बझाङलाई ३० हजार, बाजुरालाई २० हजार र बैतडी जिल्लालाई २५ हजार लेबी रावलले प्रस्ताव गरेका थिए ।

    ‘जिल्लाको कोटाबाट प्राप्त हुने रकम मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन, झन्डा ब्यानर र सचिवालयमा प्रयोग गरिने छ’ उनले प्रस्ट पारे ।

    अन्यमा सङ्घीय र प्रदेश सांसदलाई १५ हजार , सांसद नरहेका केन्द्रीय सदस्यहरूलाई ५ हजार, सांसद नरहेका केन्द्रीय निकायका सदस्यहरू ३ हजार, प्रदेश कमिटीका सदस्यहरूलाई ५ सय ,प्रदेश कमिटीका सल्लाहकारहरूलाई ३ सय, नगर प्रमुखलाई १२ हजार तोकिएको छ भने उपप्रमुखहरूलाई ८ हजार तोकिएको छ । गाउँपालिकाका अध्यक्षलाई ८ हजार , उपाध्यक्षहरूलाई ४ हजार र वडाध्यक्षलाई २ हजार लेबी निर्धारण गरेको उनले निर्देशनमा प्रस्तुत गरेका थिए ।

    ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्यहरूलाई स्वैच्छिक रहेको भन्दै राजनीतिक नियुक्तिमा रहेका व्यक्तिहरूलाई मासिक पारिश्रमिकको १० प्रतिशतले हुन आउने रकम दिनुपर्ने बताए । ‘१ लाख पारिश्रमिक भएकाले १० हजार दिनुपर्छ । त्यो त कम भयो नि हैन ’ उनले भनेका थिए, ‘अब कम नै गर्नु भन्नुभयो साथीहरूले ।’

    उक्त रकम सिधै खातामा पठाउने निर्देशन दिएका थिए । खाता नम्बर पछि उपलब्ध गराइने समेत बताए ।

    रावलको प्रस्तावमा प्रदेश, जिल्ला र नगरपालिका कमिटी नेतृत्वमा रहेकाहरूलाई मङ्सिर १२ गतेको पार्टी एकता सन्देश सभाको सफलताको लागि चन्दा, आर्थिक सहयोग गर्न चाहने उद्योग व्यवसायी तथा विभिन्न पेसमा संलग्न व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त गर्न र त्यसको जानकारी व्यवस्थापन समितिलाई दिन उल्लेख गरिएको छ ।

    यसको लागि एउटा रसिद तयार गर्ने विषयमा छलफल गर्ने रावलले बताएका थिए । रावलले कैलाली कञ्चनपुरबाट स्वयंसेवकलाई ८ गते भित्र नाम दिन निर्देशन दिएका थिए ।

    ‘देशको अवस्था सामान्य छैन । देखिहाल्नु भएको छ बारामा त्यस्तो घटना घटेको छ । त्यस कारण हाम्रो जुलुस व्यवस्थापन सभा व्यवस्थापन नेताहरूको सुरक्षा लगायतका कामहरू हामीले उल्लेखनीय रूपमा स्वयम सेवक परिचालन गर्नु पर्ने भएको हुँदा यो नामहरू आवश्यक छ’ उनले भने ‘ तिनलाई हामी प्रशिक्षण दिन्छौँ । ’

    सन्देश सभाको सफलताको लागि आफ्नै नेतृत्वमा रावलले मूल व्यवस्थापक समिति गठन गर्ने प्रस्ताव गरेका थिए ।

    त्यसमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका पदाधिकारीहरू, विघटित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरू, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय पदाधिकारीहरू प्रदेश कमिटीका सदस्यहरू, प्रदेश सल्लाहकारहरू विभागका सदस्यहरू जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरू, जिल्ला कमिटीका पदाधिकारीहरू कैलाली र कञ्चनपुर जिल्लाका जनसङ्गठनका पदाधिकारीहरू रहने उनले बताए ।

    मूल व्यवस्थापन समितिको १५ सदस्यीय कार्य सम्पादन समिति बनाइने उनले जानकारी दिए । उनले विभिन्न उपसमिति समेत प्रस्ताव गरेका थिए ।

    प्रचार प्रसार, आर्थिक, जनपरिचालन तथा यातायात, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन, अतिथि सत्कार, खाद्य व्यवस्थापन, आभास व्यवस्थापन विविध व्यवस्थापक,संस्कृति, सुरक्षा प्रशासन, स्वास्थ्य तथा सरसफाइ उपसमिति गठन गरिने रावलले छलफलमा बताएका थिए ।

    विभिन्न पार्टी परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी आउन चाहनेहरूको नाम तयार गरेर मूल व्यवस्थापन समितिलाई चाडै दिन निर्देशन दिए ।

    ‘ओली जिले सचिवालय बैठकमै र्याउर्याउ नगर केटाहरू र्याउर्याउ गर्ने भए छोडेर जानुस् भनिसक्नु भएको छ । यो महाधिवेशनमा म यसो दुई चार शब्द बोल्छु सक्यो नि भन्नुभएको छ, त्यो कुराको पाच्य नभएर एमालेको ठुलै पत्ति पाटी छोड्दै छन् भन्ने हामीले चर्चा सुनेका छौ ’ उनले भने, ‘तपाइहरूको गाउँ बस्तीमा को कोले छोड्दै छन् ती सबैलाई हार्दिक स्वागत गरेर तिनीहरूको नाम हामीलाई दिनुहोला हामी मङ्सिर १२ गते स्वागत गर्छौ। ’

    १२ गते धनगढीको पुरानो विमानस्थल क्षेत्र वा रङ्गशालाको पश्चिम क्षेत्र मध्ये एक ठाउँमा कार्यक्रम आयोजना हुने उनले छलफलमा जानकारी दिए ।

    ‘पूर्वबाट आउनेहरूलाई क्याम्पस रोडमा जम्मा भएर जुलुससहित आउने,पश्चिम उत्तर र दक्षिणबाट आउनेहरू सहिद गेटमा भेला भएर जुलुससहित आउने ’ उनको निर्देशमा उल्लेख गरिएको छ ।

    वडाबाटै आह्वान गरेर ५० हजार उतार्ने योजना उनले सुनाए । उनले मङ्सिर १२ गतेको कार्यक्रममा आम निर्वाचनमा पार्टीको भूमिका र स्थानलाई पनि प्रस्ट पार्ने स्पष्ट पारेका थिए । छलफलमा उनले खुलेर आफ्नो निर्देशनमा सुझाव दिन आह्वान गरेका थिए ।

  • आँखाभरि सजिएकी ‘मनाङकी मेनका’

    आँखाभरि सजिएकी ‘मनाङकी मेनका’

    शे–फोक्सुण्डो तालअघि नै तिलिचो ताल पुग्ने योजना थियो । तर, ठिक उल्टो भयो । पहिला शे–फोक्सुण्डो पुगियो । त्यसपछि तिलिचो । भ्रमणका लागि मलाई प्रेरणा दिने या उक्साउने कामको श्रेय भने प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइरालालाई जान्छ ।

    ‘म त तिहारलगत्तै एबिसी (अन्नपूर्ण बेस क्याम्प) को पदयात्रामा जाने हो । यदि तपाइ कुनै यात्रामा जाने हो भने तिहारअघि नै गएर आउनुस्’, छोरा सेफियन्स लम्सालको दबाब ।

    यसरी कपिलको प्रेरणा र सेफियन्सको ‘प्रेसर’ को परिणाम हो, मेरो तिलिचो यात्रा । जीवनकै यादगार पलका रूपमा मेरो मानसपटलमा सजिएको छ । किनकि, तिलिचो तालतर्फको यात्रामा प्रस्थान गर्नुअघि पनि म खासै स्वस्थ भने थिइनँ । तैपनि, पाँच सय फिटको हाइटसम्म जान सकिन्छ भन्ने विश्वास मनमा थियो । कपिल कोइराला र मुरारी सत्यालसँगै मुग्लिनबाट बाराका साथीहरू केन्द्रीय सदस्य रवीन्द्र सिंह र शेषनाथ यादव जोडिने योजना बन्यो ।

    काठमाडौंबाट पर्यटक बसमा चढेर अघि बढ्दा मलाई भिन्न अनुभूति भयो । लामो दूरीको यात्रामा बस चढ्नै परे उही तीव्र गतिका रात्रि बसहरू चढिन्थ्यो । धेरै भएको रहेछ, मैले पर्यटक बस नचढेको । बिहान ७ बजे काठमाडौंबाट हिँडेको खण्डमा तीन–चार घण्टामा मुग्लिन पुगिहालिन्छ भन्ने आँकलन गरेर मैले साथीहरूलाई १० बजे मुग्लिन बोलाएको थिएँ । तर, हल्लाउन पनि नमिल्ने, दौडाउन पनि नमिल्ने त्यो पर्यटक बस दिउँसो २ बजे मात्र मुग्लिन पुग्यो ।

    मुग्लिङमा खाना खाइवरी मित्रहरूलाई पिकअप गरेर हामी पृथ्वी राजमार्गमा सलल गुड्दै, तनहुँको डुम्रे हुँदै उत्तरतर्फ लाग्यौँ । डुम्रे बेसीशहर सडक बडो उत्तम रहेछ । ४२ किलोमिटरसम्मै कालेपत्रे । ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने ट्राफिक सन्देश शीरोपर गर्दै मन्द गतिमा आरामका साथ लमजुङको बेशीशहर पुग्दा अपराह्नको पाँच बजिसकेको थियो ।

    बेशीशहरमा टुप्लुक्क भेटिए, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल । अध्यक्षसँग केहीबेर भलाकुसारी र चियापानपछि हामी त्यसै साँझ मनाङ गएर बस्ने सुर कस्यौँ । साथीहरूले मनाङ जान त्यति सजिलो नभएको र साँझ सात बजेपछि हिँड्न नपाइने जानकारी गराए । तर, सुरक्षाकर्मीसँग अनुरोध गरेर भए पनि गन्तव्य छिचोल्ने साहस बटुल्दै हामी लम्कियौँ । दुस्साहस भनौँ या एडभेञ्चरको लालसा, हामी हिँडिरह्यौँ ।

    हामीसँग स्कोरपियो गाडी थियो, फोरह्वील नभएको । अप्ठेरो बाटोमा ठूल ठूला ढुँगाहरु । तैपनि भारतीय नम्बर प्लेटको त्यो स्कोरपियो प्रायः तराईका समथर भूमिमा चलाउँदै आएका चालक रामबाबुले त्यो कष्टकर पहाडी बाटोमा बडो कुशलतापूर्वक चलाए, हामीलाई राति धारापानी भन्ने ठाउँसम्म पुर्‍याए ।

    धारापानीबाट मनाङ, चामे, माथिल्लो मनाङ र थाङसार भन्ने ठाउँसम्म यात्रा गर्न के कति समय लाग्छ भन्नेबारे यथेष्ट जानकारी हासिल गरेपछि राति ११ बजेतिर होटल ‘गोरखा इन’ मा मीठो परिकारसँगै हामी विश्रामतर्फ लाग्यौँ ।

    भोलिपल्ट बिहानै उठेर हामी माथि चामे उक्लियौँ, जहाँ लमजुङ घर भएका, तर उतै बसेर काम गरीरहेका पत्रकार जिबी घिमिरेसँग जम्काभेट भयो । स्थानीय साथीहरूसँग भेटघाटसँगै खाना खाइरहँदा त्यहाँका प्रहरी इन्चार्ज डीएसपी हरि पौडेलसँग पनि भेटघाट भयो । अबको यात्रामा आइपर्ने अल्टिच्यूड समस्या र अन्य सुरक्षा चुनौतीबारे डिएसपी सा’बसँग सल्लाह लियौँ ।

     

    साथीहरूले त्यसै दिन वेश क्याम्पसम्म पुग्न सकिने सल्लाह त दिएका थिए, तर यात्राको प्रारम्भ नै कसिलो र धपेडीयुक्त भएकाले वेशक्याम्प पुग्ने हतारो गर्दा अर्को दिन त्यसपछिको उकालो चढ्न नसकिने हो कि भन्ने लाग्यो र हामी मनाङ ङिस्याङ गाउँपालिका– ९, खान्सारमै अडियौँ । बेशीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर र चामेदेखि खाङसारसम्मको दूरी ३१ किलोमिटर छ ।

    मनाङ, ङिस्याङ गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ रहेछ । यसै गाउँपालिकामा तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेक, मम्छो ताल, ग्रीन लेक, घले राजाको दरबार, याक खर्क, थोराङलापास, काङलापास, मेसोकान्तपास, ने गुफा, मिलेरेपा गुम्बा, मनाङ गुम्बालगायतका कैयौँ गुम्बा रहेको जानकारी भयो । तर, छोटो अवधिको भ्रमण भएकाले खान्सारमा हामीले एउटा तालको मात्र भ्रमण गर्‍यौँ र केहीबेर मनाङ बजार भ्रमण गर्‍यौँ ।

     

    पहिला पहिला विदेशी पर्यटक मात्र आउने मनाङमा अचेल आन्तरिक पर्यटकको पनि चाप बढेको देखियो । मनाङबाटै लमजुङ, अन्नपूर्ण, मनास्लु, जुलुलगायतका हिमशृंखलालाई नजिकैबाट आँखाभारी सजाउन पाइने भएकाले पनि यो क्षेत्र अहिले आन्तरिक र वाह्य पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो । ताल र उपत्याका, गुम्बा र बुद्ध मन्त्र लेखिएका शीलाहरु, माटोको छानाका घर देख्दा जोकोहीको मन अल्हादित हुन्छ । ५,४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्लापाससमेत यहीँ भएकाले यस क्षेत्रले साहसी पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ । मनाङ क्षेत्रमा पदयात्री विशेष गरेर थोराङ्लापास, लार्केपास, कालापास, विश्वकै अग्लो स्थान (४,९१९ मिटर) मा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् ।

     

    हामी खाङसारको होटल नोर्वुमा बसेका थियौँ । बेडका हिसाबले पाँच–सात सय जनाभन्दा बढी पर्यटक नधान्ने त्यो ठाउँमा हामी पुग्दा पर्यटनको ओइरो लागेको दुई दिन भएको रहेछ । मौसमले पनि निकै साथ दिएकाले होटलमा पर्यटकको चाप थियो । डाइनिङ रुममै साठी–सत्तरी जना सुतिरहेका देखिन्थे । होटल सञ्चालकहरु सिंगल÷सिंगल तीन बेडलाई पनि ‘यो त हाम्रो सात बेडको हो’ भन्दै जोडेर सात जनालाई सुताउन पछि परिरहेका थिएनन् । तर, हामी ६ जनालाई चाँही होटलले डबल÷डबल बेडका दुईवटा र एउटा सिंगल बेड दियो । त्यसमै हामी एडजस्ट भयौँ ।

     

    अर्को दिन गाडी त्यहीँ छोडेर हामी पैदल यात्रातर्फ लाग्यौँ । श्रीखर्क हुँदै हावा चल्दा पनि ढुंगा खस्ने स्थानमा पुग्यौँ । त्यस पहिरोमा हावा चल्यो कि माथिबाट ढुंगा खसिरहेका हुन्थे । त्यस क्षेत्र पहिरो गइरहने स्थान रहेछ । बाटोमा भरिया, घोडा, खच्चड र पर्यटकको लामो क्याराभान, कतै ब्रेक नभएको । सामान्यतया चारदेखि पाँच घण्टा लाग्ने भए पनि हामीलाई खाङसारवाट तिलिचो बेसक्याम्प पुग्न सात घण्टा लाग्यो । तिलिचो बेसक्याम्पमा पर्यटकका खातिर १२ वटा होटल रहेछन् । ती होटलको ‘हस्पिटालिटी क्यापेसीटी’ धेरै त थिएन, तर त्यहाँ पनि करिब तीन हजार पाहुना खचाखच देखिन्थे । हामी पनि एउटा होटलमा गएर बस्यौँ ।

    त्यहाँ बसेका पर्यटक अर्को दिन बिहान २ बजे नै उठेर तिलिचो तालतिर जाँदा रहेछन् । त्यसको कारण भनेको उही १२ बजेपछि बेस्सरी चल्ने बतास । हामी पनि बतास छल्न बिहान ३ बजे उठेर हिँडेका थियौँ । बाइस घुम्तीसम्म त हामी आरामले गएका थियौँ, तर हाम्रा बाराका दुई जना साथी त्यहाँबाट फर्किए । मैले पनि बाइस घुम्तीभन्दा माथि हिँडेरै जाने आँट गरिनँ । घोडा हायर गरेँ । कपिल र मुरारी मुस्किलले हिँडेर तिलिचो पुगेँ ।

     

    अहो, घोडा भने अचाक्ली महँगो । उकालोमा जम्मा २० मिनेट बोकेको ४ हजार रुपैयाँ । घोडाले जहाँनेर छाड्यो, त्यहीँबाट तिलिचोको हिउँ क्षेत्र शुरु भयो । हिउँमा लडीबुडी गर्दै हामीले धीत मरुञ्जेल तिलिचो ताललाई नियाल्यौँ ।

    समुद्र सतहदेखि करिब ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल करिब ४ किलोमिटर लामो र करिब १ दशमलव २ किलोमिटर चौडा छ । गहिराई भने करिब ८५ मिटर । हुन त धेरैले तिलिचो ताललाई नै मर्स्याङ्दी नदीको मुहान भन्दा रहेछन्, तर त्यहाँबाट कुनै पनि हिम नदि बगेको देखिएन । शे–फोक्सुण्डो तालबाट ठूली, सानी भेरी नदी निस्किएको देखिन्छ, तर तिलिचोमा भने ताल निकासको कुनै प्राकृतिक धारा प्रवाहित नभएको, बरु ताल बन्दखालको देखियो ।

     

    जे होस्, विश्वका सर्वाधिक अग्लो स्थानमा रहेका तालमध्ये अन्नपूर्ण हिमालको छेउमा रहेको तिलिचो ताल पनि एक हो । हिन्दू धर्मावलम्बीले तिलिचो ताललाई एउटा पवित्र स्थान मान्दछन्, जसको वर्णन रामायणमासमेत भएको पाइन्छ । रामका भाइ भरतले यस क्षेत्रमा आउँदा तिलिचो तालमै स्नान गरेको रामायणमा उल्लेख छ । यसैगरी स्थानीय थकाली, गुरुङ र लामा समुदायले पनि यो ताललाई धार्मिक र सांस्कृतिक हिसाबले गहिरो तादात्म्यता राख्दा रहेछन् ।

    भ्रमणका क्रममा हामीले के थाहा पायौँ भने, खान्सारबाट श्रीखर्कसम्म गुम्बा बनाउन ट्रयाक खोलेर ट्रयाक्टर चलाइएको रहेछ । तर, हामी पुग्दा त्यो बन्द रहेछ । खाङसारबासीले नै त्यो बन्द गराएका रहेछन् । खान्सारबाट श्रीखर्कसम्म मोटरबाटो सुचारु गर्ने हो भने तिलिचो तालसम्मको ‘एक्सेस’ अझ बढी सहज र छिटो हुन्थ्यो र पर्यटकीय सम्भावना अझ चुलिन्थ्यो । तर, शे–फोक्सुण्डो तालमा दुनैबाट यात्रीलाई हिँडाइएझैँ.त्यहाँ पनि मोटर र मोटरबाटोले पदयात्राका अन्य लाभ खोस्ला भन्ने डरले स्थानीयवासिन्दा मानिरहेका देखिँदैनन् ।

     

    हामी त्यसै दिन फर्केर बेस क्याम्प आयौँ । साँझ खान्सार पुगेर खाना खाइवरी सुत्यौँ । राति सुतिरहँदा मनमा केही कुराहरु खेले– तिलिचो तालसम्म सहज यात्रा मार्गको विकास गर्ने हो भने बेस क्याम्पसम्मै खोला किनारै किनार आरामले मोटर बाटो जाने देखिन्छ । त्यहाँबाट उता चार पाँच घण्टासम्म हिँडेर तालसम्म जान सकिने सम्भावनाहरु छन् । यदि तालसम्मको यात्रा सहज बनाउने हो भने भारतीयलगायत अन्य देशका पर्यटकको समेत ओइरो लाग्नसक्ने देखिन्छ ।

     

    अर्को कुरा, पर्यटकका लागि होटलका रुम सस्ता छन् । १५ सय रुपैयाँमा दश जनासम्म सुत्न मिल्ने रुम पाइन्छ । खानपिन महँगो, सादा खानाकै करिब १ हजार रुपैयाँ । तिलिचो तालस्थित चिया पसलमा हामीले एउटा चाउचाउ उमालेर खाएको मात्र ५ सय रुपैयाँ तिरेका थियौँ । थर्मसमा तातो पानीको व्यवस्था त थियो, तर एक ग्लास तातो पानीको डेढ १०० रुपैयाँसम्म ठटाइयो । शायद वस्तुको भन्दा पनि त्यो ठाउँ, त्यो उचाइ र त्यो सौन्दर्यसहितको मूल्य जोडिएको हुनसक्छ भनेर मन बुझाइयो ।

    जे होस्, तिलिचो तालको भ्रमण गरेपछि मैले राजा महेन्द्रलाई सम्झिएँ । राजाले रारा तालको सौन्दर्य देखेपछि उतिबेलै ‘राराकी अप्सरा’ शीर्षकमा कविता नै रचेका थिए । म त रारा र तिलिचो दुवै तालको भ्रमण गरिसकेको पत्रकार । मलाई लाग्यो, राजा महेन्द्र कतै तिलिचो भ्रमणमा नगएका रहेछन् कि ? यदि बाह्रै महिना हिउँको शुभ्र घुम्टो ओढिरहने हिउँवाला तिलिचोलाई देखेर राजाले लेख्ने थिए, ‘मनाङकी मेनका’ ।